19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपालका अनमोल मणि ज्ञानमणि

व्यक्तित्व / कृतित्व गायत्रीकुमार चापागाईं July 2, 2026, 11:01 am
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

१. विषय प्रवेशः– भोजपुर जिल्लाको सिक्तेलकोट वितलवमा वि.सं. १९८९ सालको माघ शुक्ल श्रीपञ्चमी (सरस्वती पूजा) का दिन जन्मेका ज्ञानमणि नेपाल नेपालको इतिहास, साहित्य, कला, संस्कृति तथा पूर्वीय वाङ्मयका अन्वेषक हुनुहुन्छ । आफ्नो स्वाध्यायनलाई निरन्तरता दिँदै खोज अनुसन्धानमा नै व्यस्त रहने र स्पष्ट मतलाई जाहेर गर्ने उहाँको बौद्धिकता र प्रतिभाको सबैले प्रशंसा गर्दछन् । त्यसमाथि हामी भोजपुरबासीहरू उहाँको नाम लिँदासमेत गौरवबोध गर्दछौं । यस्ता सरस्वतीपुत्र, विशिष्ट विद्वान् तथा साधक यही आउँदो माघ शुक्ल पञ्चमीका दिन ८६ वर्षको वय पूरा गरी ८७ वर्षमा प्रवेश गर्दै हुनुहुँदो रहेछ । सो कुराको जानकारी दिने विद्वान् न्यायमूर्ति शेषराज शिवाकोटीको सन्देश मैले प्राप्त गरेँ । सत्सङ्गतको फल उत्प्रेरक हुने ठानेर दूरभाषबाट सम्पर्क राख्ता कलङ्की मन्दिरबाट दक्षिणपट्टि ओरालो झर्दा एउटा स्कुल भेटिने अझै तल झर्दा उहाँको निवास पुगिने जानकारी मिल्यो । सम्पर्कको क्रममा आफू त्यो दिन एउटा लेख लेख्न व्यस्त रहेकाले ४ बजेपछि मात्र आउन उहाँको आग्रह रह्यो । कलङ्की, कालीमाटीको सडक, जाममा फसिएला भनेर आधा घण्टा अघि नै हिँडियो । घरमा पुग्दा ज्ञानमणिजी बाहिरै हुनुहुँदो रहेछ । आफूले जिम्मा लिएको काम अत्यन्तै कुशलतापूर्वक वहन गर्ने बानी रहेकाले लेख पूरा गर्न कम्प्युटरमा बाबा बाहिर रहनु भएको कुरा बुहारीले छोरीजस्तै प्रेमपूर्वक बताइन् । खुला छानामा कुर्सी, टेवल रहेछन् । टेवलमा पत्र–पत्रिकाको चाङ । हिउँदका सूर्य पश्चिममा राता किरण फ्याँक्दै थिए । पत्रिकामा अलमलिदै गर्दा सरस्वतीपुत्रको दर्शन प्राप्त भयो । आफ्नो उद्देश्य बताउने बित्तिकै नम्र र भद्रस्वरमा जे–जति जिज्ञासाहरू मेरा थिए तिनैलाई लिपिबद्ध गरेर यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।
‘फलेको वृक्षको हाँगो न झुकेको कहाँ छ र ?’ लेखनाथको यो कवितांश यहाँ किन प्रस्तुत गरेँ भने – मैले उहाँलाई त्यस्तै विनम्रतापूर्वक झुकेको पाएँ ।

२. पुर्ख्याैली:–
पूर्वी नेपाल समृद्ध छ भनेर आजीविकाको खोजी गर्दै आफ्ना पुर्खाहरू काभ्रेको सिपामण्डन छाडेर भोजपुर खाल्ले गुठीमा बसाइँ सरे । वेदपाठी गोपाल नेपालले कुशबिर्ता आर्जन गरेर सिक्तेल कोटमा बसे । गोपालका नाति देवऋषिका सात भाइ छोरा थिए । माहिला बलभद्रका कान्छा छोरा वैयाकरण ज्ञानमणिका हजुरबुबा हुन् । वैयाकरण र गुरूमहाराज षडानन्दले सँगसँगै पुराण वाचन गरेका प्रसङ्गहरूबारे ज्ञानमणिले लेख्नु भएको केही प्रसङ्गहरू मैले पढेको छु तर मैले अरूबाट पनि यसबारे धेरै कुराहरू सुनेको थिएँ । मेरा जिज्ञासामा उहाँको कथन थियो – ‘त्यतिबेला सप्ताह नवाह पुराणमा पण्डितहरूलाई लिने डोलेहरू पठाउनुपथ्र्यो । पण्डितहरू पनि पाइँदैनथेँ । हाम्रा हजुरबुबा वैयाकरणले काठमाण्डौमा पनि राम्रो शिक्षा नपाएकाले काशी गएर पढ्नु भएको थियो । शुक्ल यजुर्वेदको चालीसै अध्याय कण्ठ गर्नु भएको थियो रे, ज्योतिषमा त्यस्तै घगडान विद्वान् । अष्टाध्यायी, भागवत सबै शिक्षा लिएर घर फर्केपछि धेरै ठाउँ षडानन्द गुरूसँग भागवत पुराण भन्नु भएको कुरा मैले सुनेको छु । षडानन्द नैष्ठिक ब्रह्मचारी शास्त्रका कुरा सोध्दा वैयाकरणलाई सोध भन्नुहुन्थ्यो रे आफू षडानन्द चाहिँ भागवत पाठ मात्र गर्ने अवतारिकाको अर्थ चाहिँ आफैं भन्नु हुन्थ्यो रे । मैले त सुनेको मात्र हूँ । हजुरबुबा वैयाकरण वि.सं. १९७९ मा बित्नुभयो । म त त्यसको दसवर्षपछि जन्मेको हूँ ।’ यहाँ स्मरणीय कुरा के छ भने शिक्षा तथा संस्कृतिप्रेमी षडानन्दको जन्म वि.सं. १८९२ मार्ग शुक्ल पञ्चमी हो । यता वैयाकरण (१९१२) षडानन्दभन्दा २० वर्ष कान्छा देखिन्छन् । दुवैको शिक्षाध्ययन केन्द्र काशी नै हो । कान्छै भए पनि विद्वत्ता र शिक्षाको कदर गर्ने भएकाले षडानन्द गुरूले वैयाकरणसँगै एकै व्यासासनमा बसेर पुराण वाचन गरेका प्रसङ्गले दिङ्ला र सिक्तेलको सुसम्बन्ध गाँसिएको देखिन्छ । यता ज्ञानमणिजीले पनि षडानन्दद्वारा स्थापित शीलालेखसहित मठ, मन्दिर, पाठशाला, जात्रा, पर्व, पुराणवाचन आदिका प्रसङ्गहरूबारे धेरै लेख्नु भएको छ । षडानन्दको मृत्यु पचलीघाट काठमाण्डौंमा १९७३ जेठमा भएको छ भने वैयाकरणको ६ वर्षपछि १९७९ कार्तिकमा जनकपुरमा अर्थात् स्वदेशमा नै भएको छ ।
साहित्यिक क्षेत्रमा वैयाकरणका धेरै व्यवहारोपयोगी सामग्रीहरू रहेका छन् । रामायणको किष्किन्धा काण्डको अनुवाद गर्नुका साथै उहाँका पुण्य शिक्षा (व्रत शिक्षा), शालिहोत्र (अश्वलक्षण), तरकारीकल्प, टक्सारवर्णन, विराट वर्णन, लङ्कावर्णन र केही कूटपद्यहरू उल्लेख्य छन् । यही आनुवंशिक गुण ज्ञानमणिजीमा सरेको छ । यस्तै हजुरआमा पद्मादेवीले सुनाइएका कथाहरू, तीर्थयात्रा, मधेश यात्रा आदिका संस्मरणहरूको प्रभाव पनि उहाँमा दीर्घकालसम्म रहेको छ । हजुरआमाको स्मरण शक्ति अद्वितीय छ । यो आनुवंशिक गुण ज्ञानमणिजीमा पनि सरेकाले अहिलेसम्म सबै पुराना कुराहरू सम्झनु हुँदोरहेछ ।

३. शिक्षा–दीक्षा:-
ज्ञानमणिजीका पिता भानुभक्त नेपालले मिथिला प्रदेशको मटियानीमा शास्त्रीय शिक्षा लिई पण्डित हुनु भएको थियो । ५ वर्षकै उमेरमा पिताजीबाटै अक्षरारम्भ गर्नु भएका ज्ञानमणिले बुबाबाटै प्राप्त पहिला किताब कण्ठ पार्नु भएछ । त्यसको १ वर्षभित्रै चण्डी कण्ठ पारेर घोकिसक्नु भएछ । त्यतिवेलाको शिक्षा नै घोकन्ती थियो । भानुभक्तको भाषामा लेखिएको रामायणको गुटिकाका दुई काण्ड आफूले कण्ठ पारेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ – ‘मैले ८ वर्ष नपुग्दै चाणक्य नीति, समयोचित पद्यमालिका (सूक्ति) हिन्दीको ब्रह्मानन्द भजनमाला र अध्यात्म्य रामायण पढिसकेको थिएँ । धेरैजसो कण्ठै आउँथ्यो ।’

‘मेरो शिक्षामा बडाबाका छोरा पं. वासुदेव नेपालको ठूलो हात छ । उनी मेरा प्रेरणाका स्रोत हुन् । उनी भन्थे – ‘शास्त्र अनन्त छन्, व्याकरण पढ्न १२ वर्ष न्याय पढ्न १२ वर्ष र साहित्य पढ्न १२ वर्ष लााग्दछ । त्यसैले पढेर सकिदैन । सारमात्र पढ्नु पर्दछ । पाणिनीको अष्टाध्यायी कण्ठ गरेपछि सबै आफै आउँछ ।’ यस्तै पञ्चतन्त्रको शिक्षा पनि मैले वासुदेव दाजुबाटै पाएँ । केही न केही पढेरै बस्नुपर्छ भन्ने दाजुको र बाको शिक्षालाई मैले आजसम्म पालना गरेको छु । यस्तै एकजना सज्जन राईबाट प्राप्त दयानन्द सरस्वतीले लेखेको ‘सत्यार्थप्रकाश’ भन्ने पुस्तकको प्रभाव मेरो हृदयमा गढेर बसेको छ ।’

छोराको ८ वर्षको उमेरमा ब्रतबन्ध गरिदिने परम्परित प्रचलन अनुसार ज्ञानमणिजीको पनि उपनयन कर्म भएछ । सो कर्मपछि ८÷१० महिला टक्सारको भाषा पाठशालामा पढ्न जानु भएछ । गुरू रहे छन् पं. ध्रुवलाल खतिवडा । ज्ञानमणिजीको योग्यता र प्रतिभा देखेर होला, उनी लोभिएछन् । आफ्नी छोरी लक्ष्मीलाई बिहे गरेर दिने कुरा सम्धिसँग मिलाएछन् । आफूभने विद्वान भएर मात्र बिहे गर्ने संकल्पमा भए पनि बाबु र ससुराको सम्झौता अगाडि बालहठले काम गरेनछ । बाल वयको बिहेको विरक्ति उत्पन्न भए पनि ३३ वर्षकै उमेर आमा अन्नपूर्णादेवीको मृत्यु पश्चात् लक्ष्मीले घर समालेकोले उनीप्रति दयाभाव उत्पन्न भएको पनि रहेछ । यस्ती पत्नी लक्ष्मी आफू काठमाण्डूमा अध्ययन रहँदा सन्निपातको बिमारले २००५ सालमा बितेको दुःखद घटनाको शोक उहाँले खप्नु परेको रहेछ । यी घटनाले त्यतिवेलाको स्वास्थ्य स्थिति कस्तो थियो भन्ने देखाउँछ ।

शिक्षाको क्रममा मामा पं. जयदेव अधिकारी जो गोगने पाठशालाका अध्यापक थिए, उनको स्मरण गर्दै ज्ञानमणिजी भन्नुहुन्छ – ‘जयदेव गुरूलाई पढे जति सबै कण्ठ आउँथ्यो । आँखा चिम्लेर पठाउने, टीका नहेर्ने विद्वान् हुनुहुन्थ्यो ।’ मैले
स्वाध्यायनबाटै यी ग्रन्थहरू कण्ठ गरेको थिएँ । ती थिए:-
१. कालिदासको रघुवंश महाकाव्य – साहित्यमा
२. पाणिनीको अष्टाध्यायी – व्याकरणमा
३. अमरकोश – कोशकाव्यमा
४. भट्टकाव्य – व्याकरणको प्रयोगमा
५. वाण भट्टको – हर्षचरित
मध्यमासम्मको दक्षता हासिल गरेपछि परीक्षा दिनुपर्ला भन्ने सोचले २००४ सालमा ज्ञानमणिजी काठमाण्डू जानु भएको रहेछ । काठमाण्डूमा त्यो समयमा ३ किसिमका पाठशालाहरू रहेछन् ।

१. शेषराज रेग्मी गुरूको पाठशाला जहाँ गुरूले साहित्य पढाउनु हुन्थ्यो र विद्यार्थीलाई लगेर बनारसमा परीक्षा दिलाउनुहुन्थ्यो ।
२. रानीपोखरीको सरकारी पाठशाला, जहाँ गुरूहरू विषयगत पुस्तकहरू पढाउनुहुन्थ्यो । परीक्षा दिन चाहिँ बनारसै जानुपथ्र्यो ।
३. नयराज पन्त गुरूको पाठशाला, जहाँ ज्योतिष, साहित्य, व्याकरणको पढाइ हुन्थ्यो । परीक्षा दिनु पर्दैन, गुरूलाई बुझाएपछि पुग्छ भन्ने गुरूको विचार थियो । परीक्षाले विद्या नष्ट हुन्छ । काशीमा पण्डितले शिक्षा बिगारे भन्ने पन्त गुरूको कथन रहेछ ।
ज्ञानमणिजीले नयराज गुरूको पाठशालामा शिक्षा लिनु भएछ । नयराज गुरू भन्नुहुन्थ्यो रे – ‘मैले १६ जनालाई आचार्यसम्मको शिक्षा दिएँ । अरू त कति आए, गए । कसैले वास्ता गरेनन् । तिमीमात्र एउटा असल चेलो छौ, जो मेरै अनुशरण र अनुगमन गर्छौ ।’ यो गुरूको कथनले ‘एकश्चन्द्र तमोहन्ति’ भन्ने भनाइलाई पुष्टि गरेको देखिन्छ । गुरूको सद्भक्ति र आशीर्वादको अन्योन्याश्रित सुसम्बन्धले नै उहाँ शिखरमा पुग्नु भएको हो । आफ्ना सहपाठी धनवज्र वज्राचार्य, देवराज पौडेलको स्मरण गर्दै उहाँ भन्नुहुन्छ – ‘देवराजले बनारस गएर परीक्षा दिए । उनीपछि विद्यावारिधि गर्ने डा. पनि भए । धनवज्र गुरूको दीक्षाअनुरूपको आचरणमा बस्न सकेनन् ।’ यो भनाइबाट के बुझिन्छ भने गुरूको शिक्षा र दीक्षालाई एकरति नछोड्ने समकालीन सहपाठीमा उहाँ मात्र एकजना हुनुहुन्थ्यो ।

४. कार्य :-
जीवनको पूर्वार्धमा आफूले सम्पन्न गरेको कार्यको स्मरण गर्दै ज्ञानमणिजी भन्नुहुन्छ – ‘म कविराज हरिप्रसाद खकुरेलको घरमा डेरा गरेर बस्थेँ । उनी योगीनरहरिनाथको गोरखपीठ ब्रह्मचर्य आश्रमका संरक्षक रहेछन् । आश्रमका अध्यक्ष योगीनरहरिनाथ । त्यहाँ शिक्षक चाहिएछ । म पढे पनि प्रमाणपत्र नभएको मान्छे अर्का भोलानाथ पौडेल परीक्षा पास भएर प्रमाणपत्र प्राप्त गरेका । हाम्रो मौखिक परीक्षा लिइयो । योगीजीले दुइटा संस्कृत श्लोकको अर्थ गर्न मलाई भन्नुभयो । मैले अर्थ गरिदिएँ । उहाँ त आसनबाट उठेर आफैंले लगाएको माला मलाई लगाइदिनुभयो । एउटा दुनामा पैसा दिनुभयो । मैले लिन अस्वीकार गरेँ । यो पुरस्कार हो लिनैपर्छ भने पछि मैले स्वीकारेँ । यसरी गोरखपीठमा बिहान बेलुका पढाउने काम पाएँ । दिउँसो नयराज गुरूसँग पढ्न जान्थेँ ।’

‘त्यतिवेलै बनारस र अयोध्याबाट संस्कृतमा पत्रिकाहरू प्रकाशित हुन्थे । मैले गद्य र पद्यमा संस्कृतमा लेखेर पठाएको लेख रचनाहरू प्रकाशित भएका छन् । मेरो लेख रचनाबाट प्रभावित भएर सम्पादककले ‘विद्या विशारद’ भन्ने पदवी सहित अभिनन्दन पत्र पनि पठाएका थिए । त्यो पत्र नयराज गुरूले पहाडमा मलाई पठाइ दिनु भएको थियो ।’

५. लेखन कार्य:-
वि.सं. २००९ सालदेखि ज्ञानमणिजीले लेख्न थाल्नु भएको रहेछ । त्यतिबेला पुस्तक छपाउन बनारस नै जानु पर्दो रहेछ । त्यसको स्मरणमा उहाँ भन्नुहुन्छ – ‘मेरो जीवन संघर्षको कथा छाप्न बाँकी नै छ । लेख्न त मैले २१÷२ दर्जनजति पुस्तक लेखेँ । २०३५ देखि २०५२ सम्म १७ वर्ष एशियाली अनुसन्धान केन्द्र (सिनास) मा काम गर्दा १३ वटा पुस्तक लेखेको थिएँ तर यी पुस्तकहरू सो संस्थाले छापेन । कति त पाण्डुलिपि नै हराए । मेरो कार्य वालुवामा पानी हाले सरह भयो ।’ नयराज गुरूको इतिहास संशोधन मण्डलीमा रहेर लिच्छवीकालीन इतिहास, मध्यकालको इतिहास लेखियो । आधुनिक कालको ‘नेपालको महाभारत’ जसमा पृथ्वीनारायण शाहदेखि कोतपर्वसम्मको इतिहास छ, त्यो साझा प्रकाशनले छापेको छ ।’
२०१२ सालमा आफ्नो अध्ययन पूरा गरेपछि ज्ञानमणिजीले केही समय काठमाण्डू छाड्नु भएछ । २०१४ सालमा सिक्तेलमै पाठशाला खोलेर केही समय अध्यापन गरेर अनुभव पनि उहाँले सँगाल्नु भएको रहेछ । यता गाउँमा बसेर आफ्नो लेखन र प्रकाशन नहुने भएकाले पुनः केन्द्रसँगै जोडिन पुग्नु भएछ ।

लेखनको क्षेत्रमा आफैं सरह कामगर्ने सधर्मीहरूबारे उहाँ भन्नुहुन्छ – ‘मेरो ख्याति देखेर आरिस गर्छन्, खुट्टा तान्न खोज्छन् त्यति मात्र कहाँ हो र ? चोरी नै पो गर्छन् त ! यति भएर पनि पाठकहरूले मप्रति राखेको सद्भाव, दिएको सम्मान र पूजामा म अत्यन्तै खुशी छु ।’ प्रामाणिक लेखन, निर्भीकतापूर्वक व्यक्त गरिने अभिव्यक्ति, स्पष्ट तथा खँदिलो लेखन, स्वाध्यायनमा रमाइरहने ज्ञानमणि नेपालकै अनमोल मणि हुन् । यस्ता प्रतिभाको कदर गरेर उहाँका कृतिहरू प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन जस्ता सरकारी निकायले खोजी गरेर छपाउनु पर्नेमा उल्टै हराएको सुन्दा हाम्रो शैक्षिकस्तर कति पछि छ भन्ने स्पष्ट हुन्छ । त्यसमाथि आफ्ना कृतिहरू आगलागीमा परेर नष्ट भएको पीडा पनि उहाँले छातीभित्र लुकाउनु भएको रहेछ ।

६. उपसंहार
गुरूकुलको शिक्षा ग्रहण गरी स्वाध्यायनबाट विश्वविद्यालयका विद्वान्सँग टक्कर लिन सक्ने एक मात्र विद्वान् ज्ञानमणिलाई राष्ट्रले चिन्न सकेन तर यस्ता अनमोल मणि धेरै साहित्यकारहरूमा हृदयमा लाहा छाप ठोकेसरहको प्रभाव पार्न सफल हुनुहुन्छ । उहाँ प्रेरणापुञ्ज हुनुहुन्छ, उहाँले देखाएको मार्गमा हिड्ने व्यक्तिले सुयश नै कमाउँछ । पारिवारिक रूपमा आमाको ३३ वर्षमै मृत्यु, पहिली पत्नी लक्ष्मीको १५ वर्षकै अल्पायुमा मृत्यु, दोस्री पत्नी जयन्ती पोखरेलसँग २००५ सालमा वैवाहिक बन्धनमा बाँधिए पनि उहाँको समेत २०५५ सालमा मृत्यु भै एकल विधुर जीवन व्यतीत गर्दै आउनु भएका ज्ञानमणिजीले इतिहास, धर्म, संस्कृति, साहित्यलाई नै आफ्नो जीवनसाथी बनाउनु भएको देखिन्छ । यस्ता महामना विद्वान् जो ८७ वर्षमा पदार्पण गर्दै हुनुहुन्छ, शुभकामना सहित यति नै भन्छु – ‘शतन्जीवेम् शरद शतम् ।’ उहाँसँग छुट्टिन मन थिएन । सत्सङ्ग पूरा गर्न बाँकी नै थियो तर दिनले बास बस्ने बेला खोज्दै थियो । उहाँको प्रभाव र स्मरणशक्ति देखेर मेरो हृदय पग्लनसम्म पग्लेको थियो । गह्रौ मनले पुस्तकका कोसेलीहरू साटासाट गर्दै विदा भयौं । अनमोलमणिले दीर्घकालसम्म यस्तै छाप लगाइरहन सकून् । यही हार्दिक शुभेच्छा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।