२०८० सालको आश्विन १२ गते शुक्रबार पूर्णिमाको दिन, अङ्ग्रेजी तारिख २०२३ सेप्टेम्बर २९ । दिनको ठीक सवा तीन बजे हामीले घर छाड्यौँ । एयरपोर्ट पु¥याउने दुइटा गाडी । ठूला–साना गरेर आठ वटा सुटकेस । बोक्ने झोलासहित हामी यात्री चार जना छौँ । ज्वाइँ कृष्ण र गुरुजी एयरपोर्ट पु¥याउन तयार हुनुहुन्छ । एयरपोर्टमा खुट्टा राख्ने ठाउँ छैन । स–स्यानो बजार जत्तिकै भीडभाड छ । कोही सामान जोखेर मिलाउँदै छन् । कोही आफन्तसँग बिदाइ माग्दै फोटो खिच्तै छन् । यहाँको निस्सासिने भीडमा आफ्ना सामान ट्रलीमा गुडाउँदै हिँड्दै छौँ । प्रहरी टिकट, पासपोर्ट हेरेर कोठाभित्र छिराउँदै छन् । डोरी टाँगेको निश्चित बाटो छ । यहाँको भीड देख्दा यस्तो लाग्छ – ‘अब नेपालमा बस्ने मनस्थितिमा कोही होलान् र ?’ रोजगारीका निम्ति, पठनपाठनका निम्ति, आफन्त भेट्न, सुत्केरी स्याहार्न, घुम्न, भेटे उतै काम गर्न जस्ता अनेकौँ उद्देश्य भएका मानिसहरू भेटिन्छन् । दिङ्लाको शनिबारे हाटको झझल्को आउँछ । “हामी त भर्जिनिया जाने” भन्दैछन् एकजोर दम्पती । एउटी महिला भन्दैछिन्, “मसँग त केही साथी छैनन्, ह्विलचेयर लिनुपर्ला ।” एकल, अशक्तलाई दिइने यो सुविधाको खोजी गर्नेहरू कान ठाडो पारेर नाम टिप्दैछन् । अर्का दम्पत्तीहरू भन्दैछन्, “हाम्री छोरी पढ्न हिँडेकी, हामी पु¥याउन आएका । साथै लगिदिनुस् है !”
कटार एयरवेजको तल्लै तलामा रहेको काउण्टरमा हाम्रा सामानहरूको नापजाँच भयो । ज्वाइँ कृष्ण र डा. छोरी सेनीले बोर्डिङ कार्ड र सामानको ट्याग लिने काम तमाम गरे । ज्वाइँ फर्कनुभयो । हामी माथिल्लो तलामा रहेको अध्यागमनको कक्षतिर उक्लियौँ । हामी पुग्दा त्यहाँ त्यति भीड थिएन तर आधा घण्टामा नै त्यहाँ उस्तै भीड देखियो । लाइनमा बसेकाहरूको खुट्टा लत्याकलुतुक भइसके तर लाइन सर्दैन, कारण रहेछ – ‘सरवरले काम गरेन रे नेट चलेन रे !’ कस्तो लाजमर्दो कुरा – यहाँ हामी स्वदेशी मात्र छैनौ, लाइनमा हजारौँ विदेशी यात्रीहरू पनि छन्, तिनीहरूलाई कस्तो लाग्दो हो ? हाम्रो व्यवस्थापनको कमजोरीले मन अमिलो भो ।
लाइनमा बीस–बाईसे उमेरका एक जोडी केटाकेटी छन् । ती पहिले खाडी मुलुकमा गएका रहेछन् अहिले क्यानाडा जाने रे ! मैले ठानेँ– ‘पहिले वर्कपर्मिटमा गएका यिनीहरू अहिले अध्ययन भिसामा जाने भएकाले यिनीहरूलाई छाड्ने, नछाड्ने द्विविधामा कर्मचारी छन् कि कसो ?’ अहिले खाडी मुलुकमा दलालहरूले महिलालाई पठाएर दुख्ख पाएका घटनाहरू सार्वजनिक भइरहेको छ । केटाको अनुहार रुन्चे देखिन्थ्यो । आधा घण्टाको कुराइपछि ‘खुल्यो, खुल्यो’ भन्ने आवाज सुनियो । अनि फटाफट लाइन अगाडि बढ्यो । हामी समूहमा भएकाले धेरै प्रश्न सोधेनन् । छोरीले अस्पतालको कार्डसहित त्यहाँ पाएको फेलोसिपको कागजात देखाएपश्चात् जाने अनुमतिको छाप लगाइदिए । रोजमेली, सेनी र म त पार भयौँ । आमाको पालामा भनेँ फेरि नेट रोकिएछ । उनको हडबडाउने बानी छ, हामी प्रहरीको चेकजाँचमा नगई त्यहीँ स्यानो चेपमा पर्खेर बसिरह्यौँ । पन्ध्र बीस मिनेटपछि उनी पनि हाँस्तै आइन् ।
सुरक्षाकर्मीले जुत्ता पनि खोलेर बास्केटमा राख्न लगाए । पर्स, गहना, घडी, औँठी, झोला त बास्केटमा राखेकै हो तर टोपी–जुत्ता पनि खोल्नुपर्ने नियम बनेछ । सुरक्षाको घेरा नाघेर हामी सिधै जहाजको प्रस्थान कक्षमा छि¥यौँ । छ बजेको उडान तालिका । बोलाइहाले । तीन लहरका तीनजना बस्ने सिट । हामी दम्पत्तीसँग सेनी एउटै लहरमा प¥यौँ । रोजमेली पछाडिको सिटमा परिछन् । जामका कारण उडान समय ढिला हुन भएको जानकारी पाइयो । हाम्रो जहाजको नजिकै कोरियन जेटबाट मानिसहरू उत्रदै गरेको मात्र होइन प्रवेश गर्दै गरेको दृश्यसम्म देख्न पाइयो । प्रतीक्षाको घडी कम कष्टकर हुँदैन । बल्ल छ बजेर ५५ मिनेटमा जहाजले आफ्ना पङ्खा उचालेर आकाशतर्फ पखेटा फिँजायो । हामीले नजिकैका पशुपतिनाथलाई सम्झेर ढोग ग¥यौँ ।
साँझको काठमाडौँको दृश्य, आकाशबाट ताराहरू सर्लक्कै झरेर झिलिमिली पारेझैँ रङ्गीन बत्तीहरूले ढपक्कै ढाकेको, सडकमा उस्तै बत्ती बालेर कुदिरहेका गाडीहरू । झुरूपप बस्तीका घरहरू । बीचमा नदी । उपत्यकाको यो झिलिमिली दृश्य आँखैमा राखौँ जस्तो तर मिलिक्कै पहाडको हरियाली पार गरेर जहाज त बुटवल निक्लियो । त्यसपछि त पोखरा, दाङ, नेपालगञ्ज, धनगढी हुँदै भारतको दिल्ली राय बरेलीतिर मोडियो । यता विमान परिचारिकाहरू मुस्कानसहित चुच्चे टोपी लगाएका राता पोशाकमा ठूल्ठूला फ्रिज गुडाउँदै पहिले पेय पदार्थ र पछाडि खानेकुरा लिएर ओहोरदोहोर गर्न थाले । हामी शाकाहारी भएको लिस्ट उनीहरूसँगै रहेछ – त्यहीअनुसार हामीलाई खोज्दै प्याकेटहरू दिए । स्तरीय मीठो भोजन । सेवा उस्तै अत्युत्तम ।
मलाई यस्तो लामो यात्रामा आफ्नो अगाडि राखिएको कम्प्युटरको स्व्रिmनमा जहाज उडेको बाटो तथा स्थानबारे जानकारी लिने इच्छा हुन्छ । हेर्नेहरू सिनेमा हेर्छन्, गेम खेल्छन्, गीत सुन्छन् । सबैको आ–आफ्नो सोख हो । हरियो ओढ्ने दिएका छन्, सिरानी पनि छ । सुत्न सक्नेहरू सुत्छन् पनि तर आफूलाई भने पटक्कै निद्रा लाग्दैन । छटपटी लाग्छ । उठेर खुट्टा तत्काउँदै शौचालय पनि पुग्छु । केही प्रौढ व्यक्तिहरू यस्तै छटपटीमा देख्छु ।
जहाज दक्षिणपट्टि कराँची उत्तरपट्टि काबुललाई देखाउँदै बीचबाट सिन्धु उपत्यका छिरेको छ । एशियाको सभ्यताको विकासस्थल मानिने यो ठाउँ हाम्रो पुर्खाहरूको प्राथमिक स्थान हो । यतैबाट बसाइँ सर्दै पूर्वतिर लागेका पुर्खाहरूका हामी सन्तान आज विश्वव्यापी भएर छरिएका छौँ । यो ठाउँलाई मनबाटै नमन गर्ने इच्छा जाग्यो तर जहाज भने इरान, इराकको मरुस्थल पार गरेर संयुक्तराज्य इमिरेट्सको अवुधावी शारजहाँमा बलेका अनेकौँ रङ्गीन बत्तीहरूको झिलिमिलीमा रमाउन थाल्यो । क्याप्टेन उत्साहपूर्वक दुवई शहरमा रहेको बुर्ज खलिफासहितका टावरहरूमा बलेका बत्तीहरूको मजा लिन र त्यहाँको दृश्यमा रमाउन आग्रह गर्दै थिए । त्यही समयमा परिचारिकाहरू चिया, जुस, कफी, मनपसन्द पेय पदार्थ लिन आग्रह गर्दै थिए । जहाज अरब सागरभित्र प्रवेश ग¥यो । चार घण्टा ३० मिनेटको समय जहाजमै बितिसकेको थियो । यता काठमाडौँको समयमा तीन घण्टाको अन्तर भइसकेछ । कारण १५० देशान्तर बराबर एक घण्टाको अन्तर हुन्छ । प्रति देशान्तर रेखाको चार मिनट समय अन्तर हुन्छ । मैले भूगोल पढाउँदा सिकाएको सूत्रको आज प्रत्यक्ष अनुभव भयो । हामी पश्चिममा काठमाडौँ पूर्वमा । अरब सागरको किनारै किनार उडिरहेको जहाज दोहा शहरको झिलिमिली बत्ती बलिरहेकै हमाद विमानस्थलमा अवतरित भयो । यो विमानस्थल यात्री सुविधाका निम्ति मात्र होइन भित्री सजावटमा संसारकै सुन्दर विमानस्थलका निम्ति चम्किएको मानिन्छ ।
हामी बाहिरियौँ । विमानबाट यात्रुहरू ओसार्न बसहरू खडा थिए । यात्रुहरू खाँदाखाँद कोचिएपछि बस हिँड्यो । उत्रने अरू यात्रीका निम्ति अर्को बस तयार थियो । बसले विमानस्थलको तल्लो तला पु¥यायो । स्वचालित लिफ्टबाट माथिल्लो तलामा उत्रियौँ । कम्प्युटरको स्व्रिmनमा वाशिङ्टन डि.सी. जाने अर्को कनेक्ट उडानको तालिका खोज्यौँ । कनेक्ट फ्लाइट जाने बाटोको निर्देशन हे¥यौँ । ऋ को १० नम्बर कोठामा जानुपर्ने रहेछ । त्यहाँ जानुअघि नै आफ्ना सामग्रीको सुरक्षा जाँच गराउनुपर्ने रहेछ । अधिकांश सुरक्षाकर्मी कृष्णवर्णका, देख्दै डरलाग्दा तर कम्प्युटरबाट चेक गरेर सामान फटाफट छाडिदिए । आफ्ना सामान गुडाउँदै स्वचालित स्क्याभेटर, लिफ्टबाट घुम्ती बाटो हुँदै दौडिरह्यौँ । बल्ल निर्देशित कोठा फेला प¥यो । यात्रीहरू भने शून्य । अझै उडान समय तीन घण्टाभन्दा बढी रहेकोले काउण्टर खुलेकै रहेनछ । हाम्रो प्रतीक्षाको घडी चार घण्टाको थियो तर काठमाडौँबाट नै जहाज एक घण्टा ढिलो उडेकोले उतै एक घण्टा सकियो । प्रतीक्षालयमा रहेकी एउटी युवतीले सोधिन्, “तपाईंहरू कहाँ जाने ?”
“वाशिङ्टन डि.सी.” हाम्रो प्रत्युत्तरले उनी ढुक्क भइन् । शायद उनी पनि नयाँ ठाउँमा झुक्किएँ कि भन्नेमा थिइन् क्यारे !
माथिल्लो तलामा रेल ओहोरदोहोर गरेको आवाज आइरहन्थ्यो । रातको समय तर यहाँ निदाउने समय कहाँ छ र ? सबै दौडादौड, भागाभागमा हत्तारिदै गरेका देखिन्छन् । रात भए पनि दिङ्ला बजारमा लाग्ने रामनवमी, सद्मी बजार जस्तै । फरक यत्ति यहाँ हाक्पारे गाउनेहरू छैनन् ।
दुई घण्टापश्चात् काउन्टर खुल्यो । चेक आउटपछि पुनः सुरक्षाकर्मीको चेक हुने रहेछ । दुई पटक कम्प्युटरमा सामान राख्दै निकाल्दै । नेपालीहरू पनि यहाँ कार्यरत देखिए । अफ्रिकी नागरिकहरू पनि धेरै थपिए । शायद उनीहरू अफ्रिकाबाट नै यहाँ कनेक्ट फ्लाइटमा जोडिएका होलान् । गोराहरू त काठमाडौँदेखि नै हाम्रा साथमा थिए । रातको ११ बजेतिर ठूलो ढ्वाँङको सुरुङ मार्गमा हामीले प्रवेश पायौँ । त्यही नै विमान प्रवेशको बाटो रहेछ ।
विमानको अगाडि विजनेस कक्ष अगाडि यात्रु सङ्ख्या न्यून देखियो । तीन लहरमा तीन जनाकै सिट । यो अघिल्लो विमानभन्दा ठूलो एयर बस । अनुमान गर्दा १५० भन्दा बढी यात्रु सङ्ख्या । कतै कतै खाली सिट पनि देखिए । अघिल्लो उडानभन्दा यो जहाजको उडान समय तेब्बर बढी १४ घण्टाको ।
कटार देश, यसको केही भाग अबर सागर पुरेर बनाइएको छ । जहाज उड्यो । समुद्रकै किनारै किनार शहरको झिलिमिली बत्तीमा बलेका सेता, राता, हरिया, पहेँला रङ्गीचङ्गी बिजुलीको चहकमा धपक्क बलेको शहरी दृश्यले आँखै तिर्मि¥याउँथ्यो त्यसमाथि रातको निद्रा । पूर्ववत् यात्रीहरू आ– आफ्ना धूनमा मस्त रहे । म भने कम्प्युटर स्व्रिmनमै रमाइरहेँ ।
पश्चिमतिर बढेको हाम्रो विमान अरब मरुस्थल पार गरेपछि ‘रेड सी’लाई पछ्याउँदै उत्तरतिर पो लाग्यो । अफ्रिका प्रवेश गरेन । मैले चार वर्षअघि बेलायत जाँदा पनि यही मार्ग अवलम्बन गरेको सम्झिएँ । साइप्रस, टर्कीको छेउ हुँदै भूमध्य सागरमाथि जहाज उड्न थाल्यो । यो फलफूलको बगैँचा मानिने क्षेत्र । युरोपको मध्य भागमा रहेको ग्रिस, बुल्गेरिया, सर्भिया, स्लोभाकिया, चेक गणतन्त्र, हङ्गेरी, पोलाण्ड, जर्मनी, डेनमार्क हुँदै नर्वेको दक्षिणी भाग छोएर ‘नर्थ सी’बाट जहाज आन्ध्र महासागरमाथि हामफाल्यो । जहाज पश्चिम उत्तर किन लागेको होला ? मसँग उत्तर थिएन । हावाको चाप पेटीले हो कि ? अनुमान मात्र गर्न सकेँ । ‘नर्थ सी’बाट आन्ध्र सागर छोए पनि उता आइसलैण्ड, ग्रीनलैण्डको दक्षिण लागेको देखिन्थ्यो । कुइरो रुवाको सिरक ओढेर सागरमाथि टम्म ढलिमली गरेझैँ लाग्दथ्यो ।
यता परिचारिकाहरू औपचारिक पोशाकमा आफ्ना गाडीहरू गुड्काउँदै पेय पदार्थ, खानेकुराहरू बाँडेर यात्रुहरूलाई भुलाउँदै थिए । सेवकहरू महिला पुरुष सरावरी देखिन्थे । हामीलाई सेवा दिने गोरा युवक अत्यन्त जागरुक सहयोगी थियो । एक पटक मात्र होइन उनीहरूले सन्ध्याकालीन भोजन र बिहानीपखको ब्रेकफास्ट पनि गराइसके । समय बित्तैन । यता जमिनमा रहेका हाम्रा आफन्तलाई लाग्दो हो – उड्दा कति मजा हुन्छ तर त्यो सकसपूर्ण क्षणको यात्रा गर्ने यात्रीलाई मात्र थाहा हुन्छ – खुट्टा कति कुँजिन्छ, ढाड कति दुख्छ, मन कति अतालिन्छ । उठ्तै, बस्तै अनिँदो अवस्थामा आँखा मिच्तै शौचालय धाउँदै गर्दाको मानसिक तनाव, के बयान गर्नु र ?
बिहानीपख कपासजस्तै फैलिएको कुइरो हटेको बेला तल जमिन देखियो । हरियाली गाउँ, खेतीपातीको हराभरा जमिन । न्यू ह्याम्पसायर, म्यासाच्यूसेड, न्यूयोर्क, न्यूजर्सीका अग्ला भवनहरू मात्र होइन, नदीहरूको फैलावटको क्षेत्र पनि देखियो । बिहानको ८ः३८ बजे शनिबार वाशिङ्टन डि.सी. को ड्युल्स विमानस्थलमा विमान अवतरण हुँदा हामी खुशीले फुलेल भयौँ । यता १२ घण्टाको समय हामीले हराइसकेका थियौँ । कारण पश्चिमी देशान्तरको अन्तर थियो । हाम्रो समयभन्दा यहाँको समय ढिला भएकाले यस्तो भएको हो ।