पुस्तक समीक्षा साहित्यिक संसारको एक महत्त्वपूर्ण बौद्धिक विधा हो। यसले पाठकलाई पुस्तक छनोट गर्न मार्गदर्शन गर्नुका साथै कृतिको साहित्यिक, वैचारिक, भाषिक र कलात्मक मूल्यबारे निष्पक्ष दृष्टिकोण प्रदान गर्छ। समीक्षा लेखक, पाठक र समाजबीचको बौद्धिक संवादको सेतु पनि हो। त्यसैले यसको आधार अध्ययन, निष्पक्षता, प्रमाण र बौद्धिक इमानदारी हुनुपर्छ। विश्वका विकसित साहित्यिक परम्परामा समीक्षाले साहित्यिक मापदण्ड निर्माण गर्ने, उत्कृष्ट कृतिको पहिचान गर्ने तथा सिर्जनात्मक बहसलाई समृद्ध बनाउने महत्वपूर्ण भूमिका खेलेको छ।
तर पछिल्ला वर्षहरूमा नेपाली साहित्यमा पुस्तक समीक्षाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। कतिपय समीक्षा गहिरो अध्ययन र विश्लेषणभन्दा व्यक्तिगत सम्बन्ध, आग्रह पूर्वाग्रह, समूहगत प्रभाव, अत्यधिक प्रशंसा वा अनावश्यक आलोचनाबाट निर्देशित भएको आरोप लाग्ने गरेको छ। फलस्वरूप समीक्षा कहिलेकाहीँ समालोचनात्मक विवेचनाभन्दा प्रचारात्मक लेख वा प्रतिशोधात्मक टिप्पणीजस्तो देखिन थालेको छ। यस्तो अवस्थाले पाठकलाई भ्रमित बनाउने, उत्कृष्ट कृतिलाई ओझेलमा पार्ने तथा औसत कृतिलाई अनावश्यक चर्चा दिलाउने जोखिम बढाएको छ। यससँगै साहित्यिक आलोचनाप्रति पाठकको विश्वास क्रमशः कमजोर हुँदै गएको छ।
यस्तो परिवेशमा पुस्तक समीक्षाको उद्देश्य, सिद्धान्त, नैतिक दायित्व र विश्वसनीयताको मापदण्डबारे पुनर्विचार गर्नु समयको आवश्यकता बनेको छ। अध्ययन, निष्पक्षता, प्रमाणमुखी विश्लेषण र बौद्धिक इमानदारीमा आधारित समीक्षा संस्कृतिको विकास गर्न सके मात्र साहित्यिक मूल्याङ्कनलाई विश्वसनीय, उत्तरदायी र दीर्घकालीन बनाउन सकिन्छ।
मानिसले पुस्तक किन्छ। तर ऊ पुस्तक मात्र किन्दैन। ऊ समय किन्छ। ऊ विचार किन्छ। ऊ अनुभव किन्छ। ऊ आफ्नो चेतनाको विस्तार किन्छ। एउटा असल पुस्तकले मानिसको जीवन बदल्न सक्छ। एउटा खराब पुस्तकले उसको समय मात्र होइन, उसको बौद्धिक दिशासमेत भ्रमित बनाउन सक्छ। त्यसैले पुस्तक खरिद गर्नु आर्थिक निर्णयभन्दा बढी बौद्धिक निर्णय हो। यही कारण संसारभरका पाठक पुस्तक छान्नुअघि विश्वासयोग्य समीक्षाको खोजी गर्छन्। समीक्षा सूचना होइन। यो विवेकको प्रकाश हो। यो पाठक र पुस्तकबीचको नैतिक अनुबन्ध हो। जब यो अनुबन्ध कमजोर हुन्छ, पाठकको विश्वास टुट्छ। विश्वास टुटेपछि साहित्यिक संस्कृतिको आधार नै हल्लिन्छ।
कुनै पनि सभ्यताको बौद्धिक स्तर त्यसका महान् लेखकले मात्र निर्धारण गर्दैनन्। त्यसका महान् समीक्षकले पनि निर्धारण गर्छन्। सिर्जना र समीक्षा एउटै सिक्काका दुई पाटा हुन्। एउटा सत्यको सृजनात्मक खोज हो। अर्को सत्यको विवेकपूर्ण परीक्षण हो। सिर्जनाले प्रश्न उठाउँछ। समीक्षाले प्रश्नको गहिराइ नाप्छ। सिर्जनाले अनुभूति दिन्छ। समीक्षाले त्यस अनुभूतिको अर्थ खोल्छ। त्यसैले समीक्षा साहित्यको परजीवी होइन साहित्यिक सभ्यताको सहनिर्माता हो।
टी. एस. इलियटले साहित्यिक आलोचनालाई व्यक्तिगत रुचिको अभिव्यक्ति नभई साहित्यिक परम्पराको निरन्तर संवाद मानेका थिए। उनका अनुसार कुनै पनि नयाँ कृतिको मूल्याङ्कन त्यसलाई सम्पूर्ण साहित्यिक परम्परासँग जोडेर मात्र गर्न सकिन्छ। यसले समीक्षकको दायित्वलाई अत्यन्त कठिन बनाउँछ। उसले एउटा पुस्तक मात्र पढेको हुनु पर्याप्त हुँदैन। उसले साहित्यको इतिहास पढेको हुनुपर्छ। दर्शन पढेको हुनुपर्छ। संस्कृति बुझेको हुनुपर्छ। अन्यथा समीक्षा प्रतिक्रिया मात्र बन्छ, समालोचना बन्दैन।
म्याथ्यु आर्नोल्डले आलोचनाको उद्देश्य संसारमा सोचिएका र लेखिएका उत्कृष्ट विचारलाई निष्पक्ष रूपमा बुझ्नु र बुझाउनु हो भनेका थिए। यस भनाइले समीक्षाको नैतिक चरित्र स्पष्ट गर्छ। समीक्षा लेखकको पक्ष वा विपक्षमा उभिने काम होइन। समीक्षा सत्यको पक्षमा उभिने अभ्यास हो। जहाँ सत्यभन्दा सम्बन्ध ठूलो हुन्छ, त्यहाँ समीक्षा समाप्त हुन्छ। जहाँ सम्बन्धभन्दा प्रमाण ठूलो हुन्छ, त्यहाँ समालोचना जन्मिन्छ।
प्राचीन अरिस्टोटलले पोएटिक्स मार्फत साहित्यिक मूल्याङ्कनका आधारहरू निर्धारण गरे। कथानक, संरचना, पात्र, भाषा, विचार र कलात्मक प्रभाव उनका मूल मापदण्ड थिए। दुई हजार वर्षभन्दा बढी समय बितिसक्दा पनि विश्वका विश्वविद्यालयहरूले साहित्यिक आलोचनाको आधार यही परम्पराबाट लिएका छन्। यसले एउटा गम्भीर तथ्य स्थापित गर्छ समीक्षा व्यक्तिगत मनोदशा होइन यो विधिसम्मत बौद्धिक अनुशासन हो।
बीसौँ शताब्दीका प्रभावशाली समालोचक नर्थ्रोप फ्राइले आलोचनालाई साहित्यको व्यवस्थित ज्ञान प्रणाली माने। उनका अनुसार आलोचना यदि केवल व्यक्तिगत प्रतिक्रिया बन्यो भने त्यो ज्ञान रहँदैन। त्यो टिप्पणी मात्र हुन्छ। वास्तविक समीक्षा भने साहित्यभित्र रहेका संरचना, प्रतिमान, मिथक, सांस्कृतिक संकेत र अर्थका तहहरूको वैज्ञानिक अध्ययन हो। यसले समीक्षा भावनाको होइन, विवेकको अभ्यास भएको प्रमाणित गर्छ।
रोलाँ बार्थले लेखकको मृत्युको अवधारणा प्रस्तुत गर्दै कृतिलाई लेखकभन्दा स्वतन्त्र अस्तित्वका रूपमा पढ्न आग्रह गरेका थिए। यसको अर्थ समीक्षकले लेखकको राजनीतिक विचार, व्यक्तिगत सम्बन्ध, सामाजिक प्रतिष्ठा वा लोकप्रियताको प्रभावबाट मुक्त भएर पाठको विश्लेषण गर्नुपर्छ। पुस्तकको मूल्य लेखकको अनुहारले होइन, पुस्तकको अन्तरवस्तुले निर्धारण गर्छ।
टेरी ईगलटनका अनुसार साहित्यिक आलोचना समाज, इतिहास, राजनीति र संस्कृतिको अन्तरसम्बन्ध बुझ्ने बौद्धिक प्रक्रिया हो। कुनै कृति भाषिक संरचना मात्र होइन। त्यो आफ्नो समयको सामाजिक दस्तावेज पनि हो। त्यसैले समीक्षकले भाषा मात्र होइन, समय पनि पढ्नुपर्छ। पात्र मात्र होइन, परिवेश पनि बुझ्नुपर्छ। कथावस्तु मात्र होइन, त्यसभित्र लुकेको विचारधारात्मक संरचना पनि देख्न सक्नुपर्छ।
उम्बेर्तो एकोले पाठलाई अर्थहरूको खुला प्रणाली माने। उनका अनुसार एउटै पुस्तकले विभिन्न तहका अर्थ दिन सक्छ। तर सबै अर्थ समान रूपमा सही हुँदैनन्। सही अर्थ पाठभित्र रहेका प्रमाणबाट स्थापित हुनुपर्छ। यही कारण समीक्षा कल्पनाको स्वतन्त्र उडान होइन। यो प्रमाणद्वारा निर्देशित बौद्धिक स्वतन्त्रता हो।
आजको नेपाली साहित्यमा यही ठाउँमा सबैभन्दा ठूलो संकट देखिन्छ। समीक्षा धेरै छन्। तर अनुसन्धान कम छ। प्रशंसा धेरै छ। तर विश्लेषण कम छ। आलोचना धेरै छ। तर प्रमाण कम छ। सम्बन्ध धेरै छन्। तर निष्पक्षता कम छ। शब्द धेरै छन्। तर दृष्टि दुर्लभ छ। परिणामस्वरूप समीक्षा पाठकका लागि मार्गदर्शक बन्न नसकी कहिलेकाहीँ भ्रमको स्रोत बन्न पुगेको छ। समीक्षा जब अध्ययनभन्दा आग्रहमा आधारित हुन्छ, तब साहित्यिक मूल्याङ्कनभन्दा साहित्यिक राजनीति बलियो हुन्छ।
पाठकले समीक्षा पढेर पुस्तक किन्छ। यदि समीक्षा पक्षपाती भयो भने पाठक आर्थिक रूपमा ठगिँदैन। ऊ आफ्नो समय गुमाउँछ। बौद्धिक ऊर्जा गुमाउँछ। साहित्यप्रतिको विश्वास गुमाउँछ। अन्ततः समीक्षा पढ्ने संस्कार नै कमजोर बन्छ। लोकतान्त्रिक समाजमा स्वतन्त्र पत्रकारिता जति आवश्यक हुन्छ, त्यत्तिकै स्वतन्त्र साहित्यिक समीक्षा पनि आवश्यक हुन्छ। किनकि दुवैको आधार सत्य हो।
हारोल्ड ब्लुमले साहित्यिक क्यानन निर्माणमा आलोचनाको निर्णायक भूमिका रहेको बताएका छन्। कुनै कृति इतिहासमा टिक्ने कि हराउने भन्ने कुरा बजारले निर्धारण गर्दैन। निष्पक्ष आलोचनाले पनि निर्धारण गर्छ। यदि आलोचना कमजोर भयो भने इतिहासमा औसत कृति स्थापित हुन सक्छ र उत्कृष्ट कृति ओझेलमा पर्न सक्छ। त्यसैले समीक्षक इतिहासप्रति पनि उत्तरदायी हुन्छ।
एडवर्ड सइदले आलोचनाको पहिलो धर्म स्वतन्त्रता हो भनेका छन्। सत्ता, विचारधारा, संस्थागत दबाब, व्यक्तिगत सम्बन्ध वा आर्थिक प्रभावबाट मुक्त नभएसम्म आलोचना स्वतन्त्र हुन सक्दैन। यही सिद्धान्त पुस्तक समीक्षामा पनि उत्तिकै लागू हुन्छ। खामबन्दी पारिश्रमिक, व्यक्तिगत निकटता, समूहगत निष्ठा वा प्रतिशोधको भावनाले निर्देशित समीक्षा साहित्यिक इमानदारीको होइन, नैतिक पतनको संकेत हो।
साहित्यमा सबैभन्दा ठूलो पूँजी पुरस्कार होइन। बिक्री पनि होइन। विश्वास हो। यही विश्वास समीक्षकले निर्माण गर्छ। यही विश्वास समीक्षकले नष्ट पनि गर्न सक्छ। जब पाठकले समीक्षकमाथिको विश्वास गुमाउँछ, उसले एउटा लेखकमाथि होइन, सम्पूर्ण साहित्यिक संस्थामाथि विश्वास गुमाउन थाल्छ। यही कारण समीक्षा कुनै सामान्य लेख होइन। यो सार्वजनिक बौद्धिक उत्तरदायित्व हो।
दार्शनिक दृष्टिले हेर्दा समीक्षा विवेकको अभ्यास हो। विवेक भनेको सत्य र भ्रम, गुण र दोष, स्थायित्व र क्षणिकता, सौन्दर्य र सतहीपनबीचको भिन्नता छुट्याउने क्षमता हो। विवेकविहीन समीक्षा अन्धो न्याय हो। अन्धो न्यायले साहित्यिक इतिहासलाई विकृत बनाउँछ। उत्कृष्ट कृति ओझेल पर्छ। औसत कृति चर्चित हुन्छ। अन्ततः समाजको सौन्दर्यबोध नै कमजोर बन्छ।
यसैले समीक्षा केवल पुस्तकको मूल्याङ्कन होइन। यो सभ्यताको बौद्धिक स्वास्थ्यको परीक्षण हो। जहाँ समीक्षा स्वतन्त्र हुन्छ, त्यहाँ साहित्य स्वतन्त्र हुन्छ। जहाँ साहित्य स्वतन्त्र हुन्छ, त्यहाँ विचार स्वतन्त्र हुन्छ। जहाँ विचार स्वतन्त्र हुन्छ, त्यहाँ लोकतन्त्र बलियो हुन्छ। र जहाँ सत्यप्रति निष्ठावान् समीक्षा जीवित रहन्छ, त्यहाँ इतिहासले अन्ततः उत्कृष्ट साहित्यलाई नै सम्मान गर्छ।
समीक्षाको पहिलो र अपरिहार्य शर्त अध्ययन हो। अध्ययनबिना समीक्षा सम्भव छैन। पुस्तक एकपटक सरसर्ती पढेर समीक्षा लेखिँदैन। प्रत्येक कृतिको आफ्नै आत्मा हुन्छ। त्यसलाई भेट्न धैर्य चाहिन्छ। लेखकको उद्देश्य बुझ्नुपर्छ। कृतिको ऐतिहासिक र सांस्कृतिक सन्दर्भ बुझ्नुपर्छ। विधाको विकासक्रम बुझ्नुपर्छ। भाषाको लय, शैलीको विशेषता, पात्रको मनोविज्ञान, कथाको संरचना, प्रतीक, विम्ब र अन्तर्ध्वनिसम्म पुग्नुपर्छ। एउटा पुस्तकलाई त्यसअघि र त्यसपछि लेखिएका समान प्रकृतिका कृतिसँग तुलना गर्नुपर्छ। तुलनात्मक अध्ययनबिनाको समीक्षा दिशाविहीन हुन्छ। अध्ययनबिनाको निष्कर्ष अनुमान मात्र हुन्छ। अनुमानलाई विद्वत्ता भन्न सकिँदैन। ज्ञानको पहिलो आधार जिज्ञासा हो भने विद्वत्ताको पहिलो आधार गहिरो अध्ययन हो।
विश्वप्रसिद्ध समालोचक नर्थ्रोप फ्राइले साहित्यिक समालोचनालाई ज्ञानको व्यवस्थित संरचना भनेका थिए। उनका अनुसार आलोचना व्यक्तिगत प्रतिक्रियाबाट होइन, अध्ययनबाट जन्मिनुपर्छ। अध्ययनले दृष्टि दिन्छ। दृष्टिले विवेक दिन्छ। विवेकले मात्र निष्पक्ष निर्णय सम्भव बनाउँछ। त्यसैले समीक्षकको सबैभन्दा ठूलो योग्यता लेख्ने क्षमता होइन, पढ्ने क्षमता हो।
समीक्षाको दोस्रो शर्त निष्पक्षता हो। निष्पक्षता न्यायको आत्मा हो। न्यायबिना समीक्षा सम्भव छैन। समीक्षकले पुस्तक खोल्नुअघि आफ्नो मनको ढोका सफा गर्नुपर्छ। मित्रता, वैरभाव, राजनीतिक आग्रह, वैचारिक झुकाव, जातीय वा क्षेत्रीय पहिचान, व्यक्तिगत सम्बन्ध र पूर्वधारणालाई पुस्तकको बाहिरै छोड्नुपर्छ। पुस्तकभित्र केवल पाठ हुन्छ। समीक्षा पनि त्यही पाठभित्र सीमित रहनुपर्छ। लेखकको अनुहार होइन, लेखनको अनुहार देख्नुपर्छ। व्यक्तित्व होइन, पाठको व्यक्तित्व पढ्नुपर्छ। किनभने साहित्यको मूल्य लेखकको परिचयले होइन, कृतिको गुणले निर्धारण हुन्छ।
समीक्षा साहित्यको शल्यक्रिया हो। शल्यक्रिया गर्ने चिकित्सकले बिरामीसँग माया गर्छ। तर ममताले शल्यक्रिया गर्दैन। रिसले पनि गर्दैन। लोभले पनि गर्दैन। उसले विज्ञानले प्रमाणित गरेका विधि र उपकरण प्रयोग गर्छ। समीक्षकले पनि त्यही नैतिक अनुशासन अपनाउनुपर्छ। पुस्तकको संरचना, कथाविन्यास, पात्रको विकास, भाषिक सौन्दर्य, शैलीगत विशिष्टता, दर्शन, प्रतीक, विम्ब, लय, अन्तर्ध्वनि, वैचारिक गहिराइ र समग्र प्रभावलाई सूक्ष्म रूपमा विश्लेषण गर्नुपर्छ। समीक्षा भनेको दोष खोज्नु मात्र होइन। गुणको वास्तविक उचाइ मापन गर्नु पनि हो। कमजोरी देखाउनु मात्र होइन। सम्भावनाको प्रकाश देखाउनु पनि हो।
असल समीक्षक न्यायाधीशभन्दा बढी अनुसन्धानकर्ता हुन्छ। ऊ अभियोजक होइन। ऊ सत्यको अन्वेषक हो। त्यसैले समीक्षा कुनै व्यक्तिको पक्ष वा विपक्षमा लेखिने दस्तावेज होइन। यो साहित्यिक सत्यको वैज्ञानिक, सौन्दर्यपरक र नैतिक अनुसन्धान हो। जहाँ अध्ययन हुन्छ, त्यहाँ विवेक जन्मिन्छ। जहाँ विवेक हुन्छ, त्यहाँ निष्पक्षता सम्भव हुन्छ। जहाँ निष्पक्षता हुन्छ, त्यहाँ इमानदारी कायम रहन्छ। र जहाँ यी तीन गुण एकसाथ उपस्थित हुन्छन्, त्यहीँबाट कालजयी समीक्षा जन्मिन्छ।
राम्रो समीक्षा आफैँमा अर्को साहित्यिक रचना हुन्छ। त्यसमा पनि भाषा हुन्छ। लय हुन्छ। सौन्दर्य हुन्छ। चिन्तन हुन्छ। नयाँ दृष्टि हुन्छ। पाठकले समीक्षा पढेर मात्र पनि बौद्धिक आनन्द प्राप्त गर्न सक्नुपर्छ। यदि समीक्षा कथावस्तुको पुनर्कथन बन्यो भने त्यो पुस्तक परिचय मात्र रहन्छ। यदि प्रशंसाको सूची बन्यो भने त्यो विज्ञापन हुन्छ। दोषको सूची बन्यो भने त्यो अभियोगपत्र हुन्छ। समीक्षा यी सबैभन्दा माथि उठ्नुपर्छ।
समीक्षामा अनुसन्धानको आत्मा हुनुपर्छ। उद्धरण हुनुपर्छ। पाठगत प्रमाण हुनुपर्छ। सिद्धान्तको सन्तुलित प्रयोग हुनुपर्छ। तर सिद्धान्त पुस्तकमाथि थोपरिनु हुँदैन। पश्चिमी सिद्धान्तलाई नेपाली यथार्थसँग संवाद गराउन सक्नुपर्छ। स्थानीय अनुभूति र वैश्विक चिन्तनबीच सन्तुलन कायम गर्नुपर्छ। यही मौलिक समीक्षा हो।समीक्षकको स्वतन्त्रता पनि उत्तिकै आवश्यक छ। लोभले बाँधिएको कलम स्वतन्त्र हुँदैन। धम्कीले डराएको चेतना स्वतन्त्र हुँदैन। सम्बन्धले निर्देशित विवेक स्वतन्त्र हुँदैन। स्वतन्त्रता हराएपछि समीक्षा पनि हराउँछ। त्यसैले समीक्षकको सबैभन्दा ठूलो सम्पत्ति उसको नैतिक साहस हो।
आज पुस्तक पनि बजारको वस्तु बनेको छ। बजारमा प्रतिस्पर्धा स्वाभाविक हो। तर साहित्यलाई व्यापारमा सीमित गर्न मिल्दैन। पुस्तक वस्तु हुन सक्छ। विचार वस्तु हुन सक्दैन। समीक्षा बजारको प्रचारक होइन। विचारको संरक्षक हो। यसले बिक्री बढाउनेभन्दा बढी सत्य उजागर गर्ने काम गर्नुपर्छ।
समीक्षाले लेखकलाई पनि शिक्षित बनाउँछ। राम्रो समीक्षा लेखकका लागि दर्पण हो। त्यसले कमजोरी देखाउँछ। सम्भावना पनि देखाउँछ। यही कारण आलोचना विकासको शत्रु होइन। विकासको आधार हो। आलोचनालाई अपमान ठान्ने संस्कृतिले सिर्जनशीलतालाई कमजोर बनाउँछ।
समीक्षा पाठकलाई पनि शिक्षित बनाउँछ। कुन पुस्तक किन पढ्ने भन्ने विवेक विकास गर्छ। साहित्यिक रुचि परिष्कृत बनाउँछ। सौन्दर्यबोधलाई उचाइ दिन्छ। यही अर्थमा समीक्षा साहित्यिक लोकतन्त्रको आधारशिला हो।
विश्वसनीय समीक्षा निर्माण गर्न तीन पक्ष जिम्मेवार छन्। पहिलो, समीक्षक। उसले अध्ययन, निष्पक्षता र इमानदारी अपनाउनुपर्छ। दोस्रो, लेखक। उसले आलोचना सहने संस्कार विकास गर्नुपर्छ। तेस्रो, सञ्चारमाध्यम र प्रकाशक। उनीहरूले विज्ञापनलाई समीक्षा र समीक्षालाई विज्ञापन बन्न दिनु हुँदैन।
दार्शनिक रूपमा सत्य कहिल्यै लोकप्रियताको बन्दी हुँदैन। धेरैले प्रशंसा गरे भन्दैमा कुनै पुस्तक महान् हुँदैन। धेरैले आलोचना गरे भन्दैमा कुनै कृति कमजोर पनि हुँदैन। समय नै अन्तिम समीक्षक हो। तर समयसम्म पुग्ने बाटो वर्तमान समीक्षकले तयार गर्छ। त्यसैले वर्तमान समीक्षकको जिम्मेवारी असाधारण छ।
आजको आवश्यकता प्रशंसक होइन, विवेचक हो। विरोधी होइन, विश्लेषक हो। प्रचारक होइन, सत्यका अन्वेषक हो। समीक्षा तब मात्र साहित्यको मेरुदण्ड बन्न सक्छ, जब त्यसमा अध्ययनको गहिराइ, दर्शनको उचाइ, नैतिकताको दृढता, भाषाको सौन्दर्य र सत्यप्रतिको निष्ठा एकैसाथ उपस्थित हुन्छ।
पुस्तक समीक्षा समाजको बौद्धिक संस्कृतिको पनि परीक्षा हो। जहाँ समीक्षा स्वतन्त्र हुन्छ, त्यहाँ साहित्य जीवित हुन्छ। जहाँ साहित्य जीवित हुन्छ, त्यहाँ विचार स्वतन्त्र हुन्छ। जहाँ विचार स्वतन्त्र हुन्छ, त्यहाँ सभ्यता निरन्तर विकसित हुन्छ। त्यसैले समीक्षा समाजको चेतनाको पनि परीक्षण हो। समीक्षा ज्ञान, सत्य, विवेक र जिम्मेवारीको उच्चतम साहित्यिक साधना हो।