19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मिहिनेतको मदानी

कथा विमल लामिछाने July 3, 2026, 4:38 pm
विमल लामिछाने
विमल लामिछाने

बिहानको कलिलो घामले पहाडी गाउँको टाकुरालाई चुम्नुअघि नै तेजमानको घरको अँध्यारो कुनाबाट एउटा परिचित र मिठो धुन गुञ्जिन्थ्यो ।

घनन... घनन...। घार...घुर...घार...घुर...। त्यो मिठो धुन थियो, काठको बुट्टेदार ठेकीभित्र दही मथिरहेको मदानीको संगित । जसले निदाएको सिंगो गाउँलाई प्रत्येकदिन ब्युँझाउँथ्यो । तेजमानका बलिया पाखुराहरूले सुनपाटलाई बाटेर बनाएको डोरी अर्थात मदानीको नेती फन्काउँदै दायाँ तान, बायाँ छोड.. । दही मथिएर घिउ ननिस्किँदा सम्ममा उनको निधारबाट पसिनाका थोपाहरू तप्किएर ठेकीको वरिपरि मोतीका दाना झैँ छरिएका हुन्थे । ठेकीको वरिपरी भूइँमा दही फिटिँदा उछिट्टीएका सेता थोपाहरुले भूइँनै सेताम्य भएको थियो ।

रातभरि भैँसीको दूधलाई चुलोको मन्द आगोमा उमालेर जमाइएको त्यो दही, घिउ बन्ने अन्तिम पर्खाइमा ठेकीको भित्रिभागमा फन्का लगाइरहेछ । तेजमानको एउटै ध्येय थियो, आफ्नो कडा मिहिनेतबाट नौनी निकाल्नु र त्यसलाई तातेको कराइमा खारेर सुगन्धित घिउ बनाउनुमा उनको पौरखी हातमा आफ्नै पसिनाप्रतिको अगाध भरोसा थियो ।

उनी असिन तसिन भइरहेका थिए । ठिक त्यही समयमा, गाउँको चौतारीमा बसेर अर्काको कुरा काट्न तम्सिने बक्रप्रसाद (जसलाई गाउँलेहरू ‘बक्रराज’ भन्थे) हातमा एउटा बाँसको रित्तो ढुङ्गो बोकेर तेजमानको आँगनमा टुप्लुक्क आइपुग्थ्यो । आफू भैँसी नपाल्ने, वनपाखा धाएर घाँस काट्न अल्छी गर्ने र श्रमबाट भाग्ने बक्रराजको बानी नै अरूले पारेको मोही माग्न लुसुक्क ढोका चियाउनु थियो ।

तेजमानले सदाझैँ आफ्नो श्रमको आर्जनमा कञ्जुस्याइँ गरेनन् । उनले बक्रराजको ढुङ्ग्रो टन्न भरिने गरी मोही हालिदिए । तर धन्यवाद दिनुको साटो मुख बिगार्दै बक्रराजले भन्यो, ‘घाँटीमै अड्किने जस्तो गन्ध पो आइरहेछ त ! कस्तो अमिलो मोही ! धत्, तेजमान भाइ, अलिकति स्वादिलो पार्न जान्दैनौ ?

तेजमानले केही बोलेनन्, ओठमा एउटा मन्द मुस्कान मात्र सजाए । उनलाई त आफ्नो भैँसीको सुसारो गर्न, गोठको काम भ्याउन र नौनी खार्न नै फुर्सदै थिएन ।

केही समयपछि गाउँमा एउटा ठूलो विपत्ति आइलाग्यो । वर्षाको भेलले सहर जोड्ने गाउँको एक मात्र ओरालो बाटो भत्काएर सखाप पारिदियो । गाउँलेहरू चौतारीमा भेला भएर आफ्नो भाग्य र सरकारलाई धिक्कार्दै बसिरहेका थिए । बक्रराज त्यहाँ पनि ठूला–ठूला कुरा छाँटिरहेको थियो, ...‘यो बाटो खन्ने इन्जिनियरको नै दिमाग रहेनछ, यहाँबाट बाटो लैजानु नै गाउँको दुर्भाग्य हो ।’ प्वाक्क बोलिहाल्थ्यो ।

तर तेजमानले त्यो निरर्थक गफमा आफ्नो समय फालेनन् । उनले कुटो, कोदाली, झम्पल र गैँची बोके । काँढैकाँढाले भरिएको झाडी, भिरपहरा र ठूला चट्टानहरू भएको नयाँ ठाउँबाट उनले एक्लै गोरेटो खन्न सुरु गरे । ढुंगामा गैँची बजारिँदा आगोको झिल्का निस्किन्थ्यो, मानौँ तेजमानको संकल्पले ढुंगालाई पनि पगालिरहेको थियो । आफ्नो ज्यान जोखिममा राखेर, काँढाको चोट सहँदै उनले केही दिनमै गाउँलेका लागि एउटा नयाँ गोरेटो तयार पारे । जब बाटो बन्यो, बक्रराज र उसका साथीहरू त्यही बाटो भएर गाउँ–सहर, लेक–बेँशी गर्न थाले । हिँड्दा हिँड्दै पनि बक्रराजले खोट निकाल्न छोडेन, ‘बाटो त बनाएछ तेजमानेले, तर अलि बढी नै घुमाउरो पारेछ । मोडमा ढुंगा राम्रोसँग मिलाएको छैन, न पानी कट्ने नाला छ, तरपनि हिँड्न चाहीँ दुःख सुख काम चल्ने भयो ।’

तेजमानले बाटोको छेउमा बसेर आफ्नो पसिना पुछ्दै सोचे, ‘अरुले बनाइदिएको बाटोमा हिँड्नु संसारकै सजिलो काम हो । गाह्रो त नयाँ बाटो खन्नुमा छ । अरुको काममा खोट लगाउन जो पनि सिपालु हुन्छ, तर आफ्ना लागि आफैँले बाटो बनाउनु कति कठिन छ, त्यो खन्नेलाई मात्र थाहा हुन्छ ।’

तेजमानको जाँगर यतिमा मात्र रोकिएन । गाउँको चौतारीमा सबैजना बस्ने एउटा काठको फलैँचा पुरानो भएर भाँचिएको थियो । तेजमानले वनबाट राम्रो काठ ल्याएर, आफ्नै हातले ताछेर, सुन्दर बुट्टा कोरेर एउटा नयाँ फलैँचा बनाए । फलैँचा निकै आकर्षक बनेको थियो । तर मानिसहरूको मनस्थिति बुझ्नका लागि उनले त्यो फलैँचाको छेउमा एउटा अँगार र सादा पाटी राखिदिए अनि लेखे– ‘भाइबहिनी तथा दाजुभाइहरू, यो फलैँचा हेरेर यसमा के–के कमजोरी छन्, कृपया पाटीमा लेखिदिनु होला ।’

साँझपख हेर्दा त बक्रराज र गाउँका अन्य कुरा काट्नेहरूले त्यो पाटीमा सयौँ गल्तीहरू लेखिसकेका थिए । कसैले ‘यसको बस्ने ठाउँ मिलेन’ भनेका थिए, कसैले ‘बुट्टा भद्दा भयो’ त कसैले ‘काठ नै कमसल पर्यो’ भनेका थिए । कसैले उचित ठाउँमा बनाएको भएपो... आदि ।

भोलिपल्ट तेजमानले त्यो पाटीमा लेखेको कुरा मेटिदिए र नयाँ नोटिस लेखे– ‘दाजुभाइहरू, फलैँचामा जहाँ–जहाँ कमजोरी छन्, छेउमा बन्चरो र बसिला राखिएको छु, कृपया आफैँ सच्याइदिनु होला ।’

दिन बित्यो, हप्ता बित्यो, महिना दिन बित्यो । तर त्यो फलैँचा सच्याउन कोही पनि अगाडि सरेन । बन्चरो र बसिला जस्ताको त्यस्तै खिया लाग्ने अवस्थामा पुगे । मानिसहरू आउँथे, त्यो सूचना पढ्थे र टाउको कन्याउँदै सुटुक्क हिँड्थे । तेजमानले बल्ल मानव प्रवृत्तिको एउटा तितो सत्य बुझे, कुनै चिजको दोष र गल्ती देखाउन मानिस जति अगाडि सर्छ, त्यो गल्ती आफैँ सुधार्न पर्यो भने ऊ उति नै पछि हट्छ । आफैँ पसिना बगाउन नसक्नेहरूकै मुखमा अर्काको निन्दा गर्ने भाषा बढी झुन्डिएको हुन्छ ।

अर्को एक वर्षपछि गाउँमा कडा खडेरी पर्यो । अनिकाल र संकटले गाउँलेहरू निराश भएर आशा मार्न थाले । मानिसहरू हतास भएका बेला तेजमानले गाउँलेहरूलाई जम्मा पारे र एउटा दार्शनिक कथा सुनाए ः

‘एकचोटि दुइटा भ्यागुता झुक्किएर दूधको ठूलो घ्याम्पामा खसेछन् । घ्याम्पोको मुख साँघुरो थियो र बाहिर निस्किने कुनै सहारा थिएन । पहिलो भ्यागुतो निराश भयो र आफ्नो भाग्यलाई सराप्दै सोच्यो, आखिर मर्नु त छँदैछ, किन बेकारमा हातखुट्टा चलाउनु ? उसले आश मार्यो र केही क्षणमै दूधमा डुबेर मर्यो ।

तर दोस्रो भ्यागुतोले हिम्मत हारेन । उसले सोच्यो– ‘मर्नु नै छ भने पनि अन्तिम घडीसम्म प्रयास किन नगर्ने ? उसले दूधमा जोड–जोडले पौडी खेल्न र हातखुट्टा चलाउन सुरु गर्यो । ऊ निरन्तर संघर्ष गरिरह्यो । केही घण्टापछि उसको लगातारको प्रयासले गर्दा दूध मथिएर माथि नौनीको एउटा दरो डल्लो बन्यो । त्यो भ्यागुतो त्यही नौनीको डल्लामाथि चढेर बस्यो र जब भोलिपल्ट किसानले घ्याम्पोको बिर्को खोल्यो, ऊ बुरुक्क उफ्रिएर बाहिर निस्कियो अनि आफ्नो ज्यान बचायो ।’ (यो वाक्यांस पहिलेका किम्बदन्तीहरुमा पनि पाइन्छ ।)

तेजमानले गाउँलेहरूको आँखामा हेर्दै गम्भीर स्वरमा भने– ‘हाम्रो गाउँमा पनि यी दुई भ्यागुता जस्तै मानिस छन् । कोही संकट आउनासाथ हातखुट्टा छोडेर लम्पसार पर्छन्, कोही अरूको कुरा काट्दै बस्छन् र नासिन्छन्, कोही दुःखको बेलामा पनि आफ्नो मिहिनेतको मदानी चलाएर नौनी जस्तै उज्यालो भविष्य आफैँ निर्माण गर्छन् । समस्या आउँदा कुरा काट्ने होइन, समाधान खोज्नेहरू नै असल मान्छे हुन् ।’

तेजमानका यी मर्मस्पर्शी शब्दहरूले बक्रराजको मनमा चस्स बिझ्यो । उसले आफ्नो रित्तो ढुङ्ग्रोतिर हेर्यो र आफैँसँग लज्जित भयो । उसले बुझ्यो कि अरूले दुःख गरेर बनाएको मोही खाएर ‘कस्तो अमिलो !’ भन्दै टिप्पणी गर्नुमा कुनै बहादुरी छैन । वास्तविक सुख त आफ्नै पौरखले भैँसी पाल्नुमा, आफ्नै हातले मदानी घस्याउनुमा र आफ्नै श्रमको चोखो नौनी खार्नुमा छ ।

त्यस दिनदेखि गाउँको चौतारीमा बस्ने, अर्काको आलोचना गर्ने र रमिता हेर्ने नकारात्मक संस्कृति बिस्तारै हराउन थाल्यो । अब गाउँलेहरू अरूले बनाएको बाटोमा हिँड्ने मात्र होइन, समाजको काम सामूहिक रुपमा नै गर्ने, छिमेकमा मिलेर बस्ने, आफ्नो सन्तति हिँड्ने भाग्यको बाटो आफैँ खन्ने भरपर्दा सहयात्री बन्न थालेका थिए ।

प्रत्येकको घर–घरबाट अब बिहानै एउटै जीवन्त र उर्जाशील धुन आउन थालेको छ– ‘घनन... घनन...घार.. घुर...।’ मिहिनेतको त्यो मदानीले सिंगो गाउँको चेतना बदलिँदैछ, र गाउँ अब समृद्धिको नयाँ नौनी निकाल्ने ‘पौरखीहरूको उर्जाशिल नमूना गाउ’ँ बनेको छ । जसको नाम हो– ‘आमचोक’ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।