"हेल्लो..."
"भन्नुस् न।"
उतापट्टिबाट युवकको स्वर कानमा ठोकियो।
"ए... सरी! झुक्किएर फोन लागेछ।"
"झुक्किएर लागेका फोनहरूले घरिघरी नौलो र नयाँ कुरा लिएर आउने गर्छन्।"
"तपाईं अपरिचित मान्छेसँग पनि यति धेरै बोल्नुहुन्छ?"
"अहिले त अपरिचित नै हो। तर समयले चिनायो भने?"
"तपाईं अलि बढी गफ गर्दै हुनुहुन्छ।"
"यदि मेरो कुरा बढी लाग्यो भने क्षमा पाऊँ। तर मैले सत्य भनेको हुँ।"
"कुन सत्य?"
"तपाईंको स्वर मिठो रहेछ।"
"तपाईंलाई हरेक अपरिचित युवतीसँग यस्तै भन्न मन लाग्छ?"
"लाग्दैन। आजसम्म कसैलाई भनेको छैन।"
"विश्वास लागेन।"
"विश्वास दिलाउने मौका त दिनुपर्यो नि।"
"मलाई त्यस्तो मौका चाहिँदैन।"
"त्यसो भए आजको लागि यत्तिमै रोकौँ।"
"त्यही राम्रो।"
फोन काटियो। मोबाइलको स्क्रिन अँध्यारो भयो। तर त्यो सानो संवादले दुवैको मनमा एउटा अनौठो छाप छोडिसकेको थियो।
...
दीपा डिप्लोमा अध्ययन गर्ने विद्यार्थी थिइन्। पढाइ, साथीहरूसँगको हाँसो, कलेजका साना–ठूला कुराहरू नै उनको दैनिक जीवनका हिस्सा थिए। त्यो दिन उनी आफ्नै साथीलाई फोन गर्न खोज्दै थिइन्। नम्बर थिच्दा औँला गलत नम्बरमा पुगेको थियो। एउटा सामान्य गल्तीले एउटा अनौठो मान्छेसँग बोलचाल भयो।
फोन राखेपछि उनले आफैँसँग भनिन्—
"कस्तो मान्छे रहेछ! अपरिचित भएर पनि यस्तो कुरा गर्ने।"
केही बेरपछि फेरि अर्को विचार आयो—
"तर उसले त माफी मागेको थियो। खराब मान्छे जस्तो पनि लागेन।"
उनी आफ्नै सोचमा मुस्कुराइन्।
...
उता अङ्कित पनि शान्त थिएन। उनी कानुनी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी थिए। किताबका धारा, तर्क र कानुनी सिद्धान्तहरूबीच दिन बिताउने अङ्कितलाई त्यो अपरिचित स्वरले अनौठो गरी छोएको थियो।
उसले मोबाइलमा त्यो नम्बर हेर्यो।
"फेरि फोन गरूँ कि नगरूँ?"
मनले सोध्यो।
"अपरिचितलाई किन सम्झिरहेको छु?"
अर्को मनले जवाफ दियो—
"किनकि त्यो आवाजमा केही आत्मीयता थियो।"
साँझपख उसले अन्ततः नम्बर थिच्यो।
दुई घण्टीमै फोन उठ्यो।
"हेल्लो।"
उही स्वर।
"फोन त चाँडै उठाउनुभयो त।"
"हातमै मोबाइल थियो।"
"मलाई लाग्यो, सायद उठाउनुहुन्न होला।"
"किन?"
"पहिलो दिन अलि धेरै बोलेँ कि जस्तो लाग्यो।"
"तपाईंलाई आफैँ थाहा रहेछ।"
"त्यसो भए माफी दिनुभयो?"
"हेर्नुपर्छ।"
"कसरी?"
"फेरि धेरै गफ नगर्नुहोस्।"
"त्यो त गाह्रो कुरा भयो।"
"किन?"
"किनकि तपाईंले नै कुरा गर्न थाल्नुभयो।"
"मैले?"
"हो।"
"तपाईंले त मलाई बोल्नै दिनुभएको छैन।"
दीपाको स्वरमा हल्का हाँसो मिसियो।
अङ्कित केही क्षण चुप लाग्यो।
"बोल्नुभएन त! चुप किन?"
"तपाईं हाँस्नुभयो।"
"त्यसमा के भयो?"
"राम्रो लाग्यो।"
"तपाईं अनौठो हुनुहुन्छ।"
"हुन सक्छ।"
"तपाईं के गर्नुहुन्छ?"
"सत्य बोलूँ कि ढाँटूँ?"
"तपाईंको विचार।"
"कानुन पढ्दै छु।"
"ओहो! त्यसो भए तर्क गर्न जान्नुहुन्छ होला।"
"तर तपाईंलाई जित्न गाह्रो रहेछ।"
"अहिले नै हार मान्नुभयो?"
"कहिलेकाहीँ हार्नुमा पनि आनन्द हुन्छ।"
...
त्यसपछि उनीहरूको कुरा गर्ने क्रम बढ्दै गयो। सुरुमा केही मिनेट। त्यसपछि आधा घण्टा। अनि कहिलेकाहीँ समय बितेको पत्तै नहुने गरी।
उनीहरू एकअर्काको दिन बुझ्न थाले।
"आज कलेज कस्तो भयो?"
"ठिकै।"
"ठिकै भनेको राम्रो कि नराम्रो?"
"तपाईं कानुन पढ्नुहुन्छ, हरेक कुराको व्याख्या खोज्नुहुन्छ।"
"तपाईं डिप्लोमा पढ्नुहुन्छ, तर कुरा गर्नमा त निकै सिपालु हुनुहुँदो रहेछ।"
"तपाईंले नै सिकाउनुभयो।"
"मैले?"
"हो।"
"म त शिक्षक होइन।"
"तर सिकाउने कला रहेछ।"
...
एक दिन अङ्कितले भन्यो—
"व्हाट्सएप छैन?"
"छ।"
"त्यसो भए त्यतै कुरा गरौँ।"
"त्यहाँ त मान्छेको अनुहार देखिन्छ नि।"
"अनुहार त हेर्ने नै चिज हो।"
"हेर्नुभन्दा सुन्नु राम्रो लाग्छ।"
"किन?"
"किनकि आवाजले मन चिनाउँछ।"
अङ्कित केही बेर मौन रह्यो।
"दीपा।"
"हजुर?"
"तपाईंले आज ठूलो कुरा भन्नुभयो।"
"के?"
"अरूले आँखाले देखेर मन पराउँछन् होला।"
"अनि?"
"हामीले त आवाज सुनेर मन चिनेका छौँ।"
दीपाले केही भनिनन्। तर त्यो वाक्य उनको मनमा बसेर गहिरोसँग रह्यो।
❀❀
समय आफ्नै गतिमा बगिरहेको थियो। कहिले बिहानको घामसँगै दिन सुरु हुन्थ्यो, कहिले साँझको चिसो बताससँगै उनीहरूको संवाद सुरु हुन्थ्यो। मोबाइल अब केवल कुरा गर्ने साधन रहेन। त्यो त दुई अपरिचित मनलाई नजिक ल्याउने एउटा पुल बनेको थियो।
दीपा कहिलेकाहीँ कलेजबाट फर्किएपछि सबैभन्दा पहिले मोबाइल हेर्थिन्।
"आज फोन आउँछ कि आउँदैन?"
उनलाई आफैँ आफ्नो यो प्रतीक्षामा अचम्म लाग्थ्यो।
"पहिले त मोबाइल साथीहरूसँग कुरा गर्नका लागि मात्र थियो। अहिले किन एउटा नम्बरको प्रतीक्षा हुन थालेको छ?"
उनी आफैँसँग प्रश्न गर्थिन्।
तर मनका केही प्रश्नहरूको उत्तर शब्दले होइन, अनुभूतिले दिन्छ।
...
अङ्कितको अवस्था पनि फरक थिएन। कानुनी क्याम्पसका पुस्तकहरू अगाडि हुन्थे, तर कहिलेकाहीँ अक्षरहरूभन्दा बढी एउटा स्वर सम्झनामा आउँथ्यो।
उसका साथीहरूले कहिलेकाहीँ सोध्थे—
"के हो, अङ्कित, आजकाल मोबाइल धेरै हेर्न थालेछौ नि?"
अङ्कित मुस्कुराएर भन्थ्यो—
"केही होइन।"
तर उसलाई थाहा थियो, त्यो "केही होइन" भित्र एउटा पूरा कथा लुकेको छ।
...
एक साँझ बाहिर हल्का पानी परिरहेको थियो। टिनको छानोमा परेका पानीका थोपाहरूले आफ्नै किसिमको संगीत बनाइरहेका थिए। दीपा झ्यालछेउ बसेर पानी हेरिरहेकी थिइन्। भिजेको माटोको सुवासले उनलाई गाउँको सम्झना दिलाइरहेको थियो। टाढाको डाँडामाथि कुहिरो बिस्तारै फैलिँदै थियो। रुखका पातहरू पानीले धोएर अझ हरिया देखिएका थिए।
त्यही बेला मोबाइल बज्यो।
अङ्कित।
"हेल्लो।"
"आज तपाईंको स्वर अलि फरक लाग्यो।"
"कस्तो?"
"जस्तो वर्षासँगै आएको शान्ति।"
"तपाईंलाई हरेक कुरामा कविता नै किन भेटिन्छ?"
"किनकि तपाईं बोल्नुहुन्छ।"
"म बोल्दा कवि बन्नुहुन्छ?"
"सायद।"
"अनि म नबोल्दा?"
"त्यो बेला प्रतीक्षा गर्ने मान्छे बन्छु।"
दीपा केही क्षण चुप लागिन्।
बाहिर वर्षा झन् बढिरहेको थियो।
"अङ्कित।"
"हजुर।"
"तपाईंले कहिल्यै सोच्नुभएको छ, हामी कसरी यति नजिक भयौँ?"
"सोचेको छु।"
"के उत्तर पाउनुभयो?"
"सायद केही सम्बन्धहरू परिचयबाट होइन, अनुभूतिबाट सुरु हुन्छन्।"
"अनि हाम्रो?"
"एउटा गलत नम्बरबाट सुरु भएको सही सम्बन्ध।"
दीपा मुस्कुराइन्।
...
दिनहरू अझै अगाडि बढे। उनीहरूबीच धेरै कुरा हुन थाले। बाल्यकालका सम्झना। भविष्यका सपना। सानो कुरामा हाँसो। कहिलेकाहीँ सामान्य विषयमा पनि लामो बहस।
"तपाईं धेरै जिद्दी हुनुहुन्छ।"
"तपाईं पनि कम हुनुहुन्न।"
"म त ठीक छु।"
"त्यही त, आफू ठीक छु भन्ने कुरामा पनि तपाईं अडिनुहुन्छ।"
"अनि तपाईं?"
"म तपाईंलाई जिताइदिन्छु।"
"किन?"
"किनकि तपाईं खुसी हुनुहुन्छ भने मेरो हार पनि जित हुन्छ।"
...
तर जीवन सधैँ एउटै लयमा चल्दैन। कहिलेकाहीँ बादल नआउँदा पनि मौसम बदलिन्छ।
त्यस्तै एउटा दिन आयो।
दीपाको फोन कम हुन थाल्यो। पहिले साँझ नियमित आउने आवाज अब कहिलेकाहीँ मात्र सुनिन थाल्यो।
पहिलो दिन अङ्कितले सोच्यो—
"व्यस्त होलिन्।"
दोस्रो दिन पनि त्यही सोच्यो।
तेस्रो दिन मनमा एउटा सानो प्रश्न जन्मियो—
"के भयो होला?"
...
त्यो समयमा दीपाको जीवनमा केही पारिवारिक व्यस्तता आएको थियो। पढाइको चाप पनि बढेको थियो। मोबाइल सधैँ हातमा राख्ने अवस्था थिएन।
तर अङ्कितलाई त्यो थाहा थिएन।
उसलाई केवल मौनता देखिएको थियो।
र मौनताले कहिलेकाहीँ मनमा अनेक कुरा जन्माउँछ।
...
एक साँझ अङ्कित क्याम्पसबाट फर्किँदै थियो। आकाशमा घाम अस्ताउन लागेको थियो। डाँडाको टुप्पोमा फैलिएको रातो उज्यालो बिस्तारै हराउँदै थियो। बाटोछेउका रूखहरू लामो छायाँ बनेर उभिएका थिए।
उसले मोबाइल निकाल्यो।
दीपाको नम्बर हेर्यो।
औँला फोन गर्ने ठाउँमा पुग्यो।
तर रोकियो।
"कतै म नै बढी सोचिरहेको त छैन?"
मनले भन्यो।
फेरि अर्को विचार आयो—
"तर उनको आवाज नसुनेको पनि त धेरै भयो।"
...
त्यो रात चन्द्रमा बादलभित्र लुक्दै र निस्कँदै थियो। अङ्कित झ्यालबाट बाहिर हेरिरहेको थियो।
उसलाई लाग्यो—
"प्रकृतिमा पनि कहिलेकाहीँ उज्यालो र अँध्यारो सँगसँगै आउँछन्।"
सायद सम्बन्धहरूमा पनि त्यस्तै हुँदो रहेछ।
...
उता दीपा पनि शान्त थिइनन्। उनले मोबाइल खोलिन्। अङ्कितको नम्बर देखिन्। पुराना संवादहरू सम्झिइन्।
पहिलो "हेल्लो"।
पहिलो हाँसो।
पहिलो पटक आफूलाई कसैले ध्यान दिएर सुनेको अनुभूति।
उनको आँखामा हल्का आँसु रसाए।
"उसले के सोचिरहेको होला?"
उनले मनमनै भनिन्।
तर परिस्थितिले उनलाई तुरुन्त फोन गर्न दिएन।
...
दिनहरू बित्दै गए। मौनता केही लामो भयो। तर त्यो मौनताभित्र पनि दुई मनले एकअर्कालाई सम्झिरहेका थिए।
अङ्कितले बुझ्न थालेको थियो— आफूलाई फोनको प्रतीक्षा होइन रहेछ। उसलाई त त्यो आवाजको प्रतीक्षा रहेछ, जसले उसको दिनलाई सहज बनाउँथ्यो।
दीपाले पनि महसुस गरिन्— कुनै मानिस जीवनमा आउँदा उसको उपस्थितिको मूल्य थाहा हुँदैन। तर उसको अनुपस्थितिले धेरै कुरा सिकाउँछ।
❀❀❀
एक बिहान।
वर्षापछिको आकाश सफा थियो। डाँडाहरू नुहाएर चम्किरहेका थिए। चराहरूको चिरबिर आवाजसँगै नयाँ दिन सुरु भएको थियो।
दीपाले मोबाइल हातमा लिइन्।
यसपटक उनले निर्णय गरिन्—
"आज म आफैँ फोन गर्छु।"
तर त्यही क्षण मोबाइल बज्यो।
अङ्कित।
उनले तुरुन्तै उठाइन्।
"हेल्लो।"
उताबाट केही क्षण मौनता आयो। त्यो मौनतामा केही दिनको प्रतीक्षा, चिन्ता र आत्मीयता सबै मिसिएको थियो।
"दीपा..."
"हजुर, अङ्कित।"
"तपाईं ठिक हुनुहुन्छ?"
यो प्रश्नमा गुनासोभन्दा धेरै चिन्ता थियो।
दीपाको स्वर नरम भयो।
"म ठिक छु।"
"मलाई लाग्यो..."
"के?"
"सायद तपाईं टाढा हुनुभयो।"
केही क्षण दुवै मौन भए। र त्यही मौनताबाट उनीहरूको सम्बन्धले नयाँ अर्थ पाउन थाल्यो।
"सायद तपाईं टाढा हुनुभयो।"
अङ्कितको स्वरमा गुनासो थिएन। केवल एउटा डर थियो— कतै आफूले मनभित्र राखेको आत्मीयता एकतर्फी त भएन?
दीपा केही क्षण चुप रहिन्।
बाहिर बिहानको घाम आँगनमा बिस्तारै फैलिँदै थियो। रातको शीतले भिजेका फूलहरूमा घामका किरणहरू पर्दा तिनीहरू झन् उज्याला देखिन्थे। तर दीपाको मनमा भने केही दिनदेखि जम्मा भएको एउटा भारीपन थियो।
"अङ्कित।"
"हजुर।"
"म टाढा भएकी थिइनँ।"
"तर तपाईंको आवाज टाढा भएको थियो।"
"परिस्थिति टाढा भएको थियो, मन होइन।"
यो सुनेर अङ्कित केही क्षण मौन रह्यो।
अङ्कितले नै मौनता तोड्यो—
"कहिलेकाहीँ एउटा सानो वाक्यले लामो प्रतीक्षाको पीडा बगाइदिन्छ।"
"मलाई डर लागेको थियो, दीपा।"
"के कुराको?"
"कतै त्यो पहिलो दिनको झुक्किएको फोनजस्तै हाम्रो सम्बन्ध पनि झुक्किएर आएको र झुक्किएरै हराउने त होइन?"
दीपाको स्वर भावुक भयो।
"अङ्कित, सबै संयोगहरू क्षणिक हुँदैनन्। केही संयोगहरू जीवनभरको सम्झना बन्छन्।"
...
त्यो दिन उनीहरूले धेरै कुरा गरे। केही दिनको मौनता लामो संवादले पूरा भयो। कहाँ व्यस्त भइन्, किन फोन गर्न सकिनन्, अङ्कितले के–के सोच्यो— सबै कुरा खुलेर भयो।
त्यसपछि उनीहरूबीच एउटा कुरा स्पष्ट भयो—
सम्बन्धलाई टाढाले कमजोर बनाउँदैन, मनमा राखिएको कुरा नबोल्दा कमजोर हुँदो रहेछ।
...
दिन फेरि पुरानै लयमा फर्किए। तर अब उनीहरूको सम्बन्ध पहिलेभन्दा परिपक्व भएको थियो।
पहिले उनीहरू एकअर्काको स्वर सुनेर खुसी हुन्थे। अब उनीहरू एकअर्काको मौनता पनि बुझ्न थालेका थिए।
एक साँझ अङ्कितले भन्यो—
"दीपा।"
"हजुर।"
"तपाईंलाई एउटा कुरा थाहा छ?"
"के?"
"पहिले मलाई तपाईंको स्वर मन पर्थ्यो।"
"अहिले?"
"अहिले त्यो स्वरभित्रको मान्छे मन पर्छ।"
दीपा केही क्षण चुप रहिन्।
"अङ्कित।"
"हजुर।"
"पहिले मलाई लाग्थ्यो, अनुहार नदेखी कसरी कसैसँग यति नजिक हुन सकिन्छ र?"
"अनि अहिले?"
"अहिले लाग्छ, आँखाले देखेको कुरा मात्र सत्य हुँदैन रहेछ।"
"अनि?"
"कहिलेकाहीँ एउटा आवाजले पनि मनको ढोका खोलिदिन्छ।"
...
समय फेरि अगाडि बढ्यो।
एक दिन अङ्कितले अलि गम्भीर स्वरमा भन्यो—
"दीपा।"
"हजुर।"
"अब एउटा कुरा बाँकी छ।"
"के?"
"हामीले धेरै कुरा गर्यौँ।"
"हो।"
"धेरै सपना बाँड्यौँ।"
"हो।"
"तर एउटा कुरा अझै बाँकी छ।"
दीपाले बुझिन्। तर पनि सोधिन्—
"के?"
"तपाईंलाई पहिलो पटक आँखाले हेर्ने क्षण।"
केही क्षण दुवै मौन भए। त्यो मौनतामा लाज पनि थियो, उत्साह पनि।
"अङ्कित।"
"हजुर।"
"मलाई पनि भेट्न मन छ।"
"साँच्चै?"
"साँच्चै।"
...
उनीहरूले धेरै सोचेर एउटा दिन तय गरे।
"शनिबार।"
"समय?"
"बिहान दस बजे।"
"कहाँ?"
"क्याम्पस नजिकको पुरानो चौतारीमा।"
"त्यही पिपलको रुख भएको ठाउँ?"
"हो।"
दीपाले सोधिन्—
"तपाईं पहिले पुग्नुहुन्छ? म आउन अलि ढिलो पो हुने हो कि!"
"म कुर्न सक्छु।"
"कति बेर?"
"जबसम्म त्यो आवाजलाई आँखाले देख्दिनँ।"
दीपाको ओठमा मुस्कान आयो।
"अङ्कित।"
"हजुर।"
"एउटा कुरा सम्झनुहोस्।"
"के?"
"हामी पहिलो पटक भेट्दैछौँ, तर हामी पहिलो पटक चिनिँदै छैनौँ।"
अङ्कित मुस्कुरायो।
"किनकि हामीले एकअर्कालाई पहिले नै मनले चिनिसकेका छौँ।"
...
शनिबारको बिहान आयो।
आकाश सफा थियो। पहाडको काखमा फैलिएको हल्का कुहिरो बिस्तारै हट्दै थियो। चिसो बतासले वातावरणलाई ताजा बनाएको थियो। पिपलका पातहरू हल्का हावासँगै हल्लिरहेका थिए, मानौँ ती पनि कुनै पुरानो प्रतीक्षाको अन्त्य हेर्न आतुर थिए।
अङ्कित चौतारीनजिक उभिएको थियो। उसको हातमा मोबाइल थियो।
अब त्यो मोबाइल मात्र थिएन। त्यो त एउटा कथाको सुरुवात सम्झाउने चिनो थियो।
एउटा गलत नम्बर।
एउटा मिठो स्वर।
एउटा अनौठो संयोग।
र दुई मनको यात्रा।
पहिले उनीहरूका बीच केवल एउटा अपरिचित नम्बर थियो। आज त्यही नम्बर एउटा आत्मीय सम्बन्धको परिचयको साधन बनेको थियो।
तर आज उसले मोबाइलमा नम्बर हेर्न खोजेको थिएन।
आज ऊ त्यो आवाजको मालिकलाई हेर्न आएको थियो।
उसले देख्यो, अलि परतिरबाट उनी आइरहेकी थिइन्।
उनले पनि उसलाई देखिन् क्यारे!
उनका कदमहरू तेज हुँदै थिए।
केही समयपछि दुवै आमनेसामने उभिएका थिए।
दुवैको नजर जुधिरहेको थियो।
केही क्षण कुनै शब्द आएन।
किनकि कहिलेकाहीँ लामो प्रतीक्षापछि भेटिएका मानिसहरूबीच पहिलो वाक्यभन्दा पहिले भावना बोल्छ।
अन्ततः अङ्कित मुस्कुरायो।
"हेल्लो..."
दीपा पनि मुस्कुराइन्।
"भन्नुस् न।"
दुवै हाँसे।
त्यो हाँसो दुवैको मन मिलेको पूर्वसंकेत झैँ लाग्थ्यो।
...
"अङ्कित।"
"हजुर।"
"तपाईंलाई थाहा छ?"
"के?"
"पहिले अरूले आँखाले देखेर मन पराउँछन् भन्ने सुनेकी थिएँ।"
"अनि?"
"हामीले त आवाज सुनेर मन चिनेका रहेछौँ।"
अङ्कितले पिपलका पातहरूतिर हेर्दै भन्यो—
"सायद त्यसैले हाम्रो कथा अरूभन्दा फरक भयो।"
"किन?"
"किनकि यो अनुहारबाट सुरु भएको होइन।"
"अनि?"
"एउटा स्वरबाट सुरु भएको हो।"
...
साँझ पर्न थाल्यो।
घाम डाँडाको पछाडि हराउँदै थियो।
"दीपा! तिम्रो चाहले भेटपछि तिमीलाई के भन्यो?"
"मेरो चाह, मेरै अधीनमा रमाउँछ रे..."
अङ्कितले आफ्ना दुवै पाखुरा फैलाइदियो।
दीपा मुस्कुराउँदै एक कदम अगाडि बढिन्।
त्यो दृश्य देखेर प्रकृति पनि लजाउँदै थिइन्।