19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फिक्कलसम्म

नियात्रा दुर्गा राई ‘चामलिङ’ July 3, 2026, 4:44 pm
दुर्गा राई ‘चामलिङ’
दुर्गा राई ‘चामलिङ’

केही यात्राहरू छोटा भए पनि अत्यन्त रमाइला हुन्छन्। केही यात्राले जीवनभर साथ दिने सम्झनाहरू छोडेर जान्छन्। ती क्षणहरू दीर्घकालसम्म स्मृतिपटलमा अमिट बनेर रहन्छन्। वास्तवमा मानव जीवन पनि त्यस्तै एउटा निरन्तर यात्रा नै हो—जन्मदेखि मृत्युसम्म चलिरहने।

यसपटक हाम्रो गन्तव्य थियो पूर्वी नेपालको सुन्दर पहाडी ठाउँ फिक्कल। त्यहाँ किरात राई यायोक्खा नगर कार्य समिति, सूर्योदय नगरपालिका, इलाम द्वारा आयोजित बृहत् साकेला प्रदर्शन कार्यक्रम–२०२६ (यलेदोङ ५०८६) भव्य रूपमा सम्पन्न हुने निश्चित भएको थियो। उक्त कार्यक्रममा सहभागी हुन डुवर्सका राई समाजलाई पनि निमन्त्रणा प्राप्त भएको थियो।

डुवर्स किरात राई समाज संस्कृति साहित्य समितिको प्रतिनिधित्व गर्दै प्रशान्त थुलुङ, दुर्गा राई थुलुङ, विकास बान्तवा, सन्तोष राई बान्तवा र म सहभागी हुने निश्चित भएको थियो। पूर्वनिर्धारित सर सल्लाहअनुसार ३० मे २०२६, शनिबार बिहान ४ बजे नै घरबाट निस्कने योजना बनाइएको थियो।

जेठ महिनाको गहिरो निद्रा अझै अँध्यारो कोठाको काखमै अल्झिएको थियो। बिहान ठीक तीन बजेर चालिस मिनेट जाँदा दुर्गा राई थुलुङ बुबु (दाजु) को फोन आयो। मोबाइलमा चार बजेको आलार्म सेट गरेको थिएँ, तर आलार्म बज्ने समय भएकै थिएन । किन हो कुन्नि, मन त्यसै आतिएर आयो । निर्धारित समयभन्दा ढिलो पो हुने हो कि भन्ने चिन्ताले मनलाई अलिक आतुर बनायो।

घरभित्र आमा भने उठिसक्नुभएको थियो। उहाँ भान्साकोठामा व्यस्त हुनुहुन्थ्यो। म हतार–हतार दाँत माझेर नुहाइधुवाइ सकेँ। त्यसबेलासम्म आमाले तातो पानी तयार गरिसक्नुभएको रहेछ। एक कप तातो पानी पिएर शरीरलाई केही ताजगी दिएँ। आवश्यक सामानहरू मिलाएर चाँडै तयारी पूरा गरेँ र केही उज्यालो हुन बाँकी नै रहेको त्यो बिहानको शान्त वातावरण चिर्दै घरबाहिर निस्किएँ।

दुर्गा राई थुलुङ बुबु र विकास बान्तवा बुबु मलाई लिन आउँदै हुनुहुन्थ्यो। म पनि उनीहरूतर्फ लम्किएँ। एसबीआर एडभेन्चर पार्कको छेउमा पुग्दा गाडी आइपुग्यो र म त्यसमा चढेँ। केही ढिलो भएको कारण दुर्गा बुबुको अनुहारमा हल्का मलिनता देखिन्थ्यो।

त्यसपछि हामी प्रशान्त सरलाई लिन उहाँको घरअगाडि पुग्यौँ। केही क्षणको प्रतीक्षापछि उहाँ पनि हामीसँगै यात्रामा सहभागी हुनुभयो। अब गाडीभित्र हामी चार जना भयौँ। विस्तारै गाडीले आफ्नो गति समात्न थाल्यो।

स्टेयरिङमा विकास बान्तवा बुबुका हातहरू कहिले दायाँ त कहिले बायाँ सहज रूपमा मोडिँदै थिए। उहाँको कुशल चालकत्वमा मारुति डिजायर एसियन हाइवेमा मस्त गतिमा अगाडि बढिरहेको थियो। त्यस क्षण मनमा एउटा अनौठो अनुभूति जाग्यो-मानौँ हाम्रो सम्पूर्ण यात्राको जिम्मेवारी मात्र होइन, केही समयका लागि हाम्रो जीवनको भरोसा पनि उहाँकै हातमा रहेको त्यो स्टेयरिङमा अडिएको थियो।

अगाडिको सिटमा प्रशान्त सर बस्नुभएको थियो भने म र दुर्गा बुबु पछाडिको सिटमा थियौँ। बिहानको शीतल वातावरण, सुनसान सडक र यात्राको उत्साहले मनभित्र छुट्टै उमङ्ग भरिरहेको थियो। गाडी आफ्नो गतिमा दौडिरहेकै थियो, अनि हामी पनि नयाँ अनुभवहरूको खोजीमा अघि बढिरहेका थियौँ।

गाडीले हाँसीमारा फ्लाइओभर पार गर्दै मदारीहाट, शिशुबारी र रङ्गालीमाजना हुँदै आफ्नो यात्रा निरन्तर अघि बढाइरहेको थियो। बिहानको सुनसान सडकमा गाडीभित्रको मधुरो गति र झ्यालबाहिरका दृश्यहरूले यात्रालाई अझ रमाइलो बनाइरहेका थिए। केही समयपछि हामी वीरपाडाको चोकमा पुगेर रोकियौँ। त्यहाँबाट सन्तोष राई बान्तवा बुबुलाई साथ लिनुपर्ने थियो।

हामी पुगेको केही बेरपछि उहाँ आउने अपेक्षा गरेका थियौँ, तर कुनै कारणवश उहाँ अलिक ढिलो हुनुभयो। त्यसैले हामीले चोकमै केही समय प्रतीक्षा गर्नुपर्‍यो। प्रतीक्षाका ती क्षणहरूमा यात्राका योजना, गन्तव्यका कुरा र हल्का ठट्टामजाकले समय बितिरहेको थियो।

केही बेरपछि सन्तोष बुबु मुस्कानसहित आइपुग्नुभयो। उहाँ गाडीमा चढ्नासाथ यात्राले पूर्णता पाएजस्तो अनुभूति भयो। अब हाम्रो टोली अझ पूर्ण र उत्साहित बनेको थियो। गाडी फेरि आफ्नो गतिमा अघि बढ्यो ।

बिहान साढे चार बजे घरबाट निस्केको हामी काकडभिट्टा पुग्दा करिब ८ बजिसकेको थियो। त्यहाँ आवश्यक भन्सार प्रक्रिया पूरा गर्यौँ। एक दिनका लागि नेपाली भन्सार शुल्क छ सय नेपाली रूपियाँ लाग्ने रहेछ। सबै प्रक्रिया पूरा गरेपछि हामीले टासी होटलमा खाजा खायौँ। खाजा सकेर बिहान साढे आठ बजे फिक्कलतर्फको यात्रा पुनः आरम्भ गर्यौँ।

यात्राका क्रममा गाडीभित्र वर्तमान राजनीति, सामाजिक अवस्था, साहित्य, जातीय संस्कार तथा संस्कृतिबारे रोचक छलफल चलिरह्यो। बिहान ९ बजेतिर हामी चारआली पुग्यौँ। त्यसपछि बुधबारे, बुर्ने र पिपलचोक पार गर्दै अघि बढ्यौँ।

बाटोभरि मौसमी फल आँपका रुखहरू लटरम्म फलेका देखिन्थे। ती दृश्यहरूले यात्रालाई अझ रमाइलो बनाइरहेका थिए। रोङ गाउँपालिका हुँदै उकालो चढ्दै हामी कुटीडाँडा पुग्यौँ। त्यहाँबाट सानो पाथीभरा मन्दिर जाने बाटो रहेछ।

कुटीडाँडाको मनोरम दृश्यले हामी सबैलाई मोहित बनायो। चोकमा राखिएको “कुटीडाँडा” लेखिएको विशाल अक्षर अगाडि हामीले पालैपालो तस्वीर खिच्यौँ। क्यामेरामा कैद गरिएका ती क्षणहरू अब सम्झनाका अमूल्य निधि बनेर रहनेछन्।

हामी तस्वीर खिच्दै गर्दा त्यहाँ सुनिल राई चामलिङ सँग भेट भयो। उहाँ पूर्णतः अपरिचित व्यक्ति हुनुहुन्थ्यो। तर उहाँको मिठो बोली, आत्मीय व्यवहार र मुस्कानले हामीलाई आफ्नै मानिसझैँ अनुभूति गरायो। उहाँको घर कुटीचोक नजिकै रहेछ। बिदा हुँदै उहाँले भन्नुभयो, “फेरि आउनुभयो भने मेरो घरमा अवश्य आउनुपर्छ है।”

त्यस आत्मीय भेटपछि हामीले स्थानीय रूपमा उत्पादन गरिएका छुर्पी तथा केही अन्य सामग्री किन्यौँ। सामान खरिद गरिसकेपछि फेरि यात्रा अघि बढायौँ।

जिन्दगी पनि यस्तै रहेछ— केही क्षणहरू, केही ठाउँहरू र केही प्रिय वस्तुहरू मन पराउँदा–पराउँदै पनि छोडेर अगाडि बढ्नुपर्छ। हामीले कुटीडाँडाको अनुपम सुन्दरतालाई पछाडि छोड्यौँ, तर त्यहाँ बिताएका अविस्मरणीय पलहरू र मिठा सम्झनाहरूलाई भने हृदयको गहिराइमा सँगालेर यात्रालाई निरन्तरता दियौँ।

केही समयपछि हामी कन्याम भ्यु पोइन्ट पुग्यौँ। त्यहाँ हामीजस्तै असङ्ख्य पर्यटकहरूको चहलपहल देखिन्थ्यो। स्वदेश तथा विदेशबाट आएका पर्यटकहरू प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनोरम दृश्यहरूलाई आफ्ना क्यामेरा र मोबाइलमा कैद गर्न व्यस्त थिए। लाग्थ्यो, उनीहरू ती अनुपम क्षणहरूलाई स्मृतिको झोलाभित्र सुरक्षित राख्न चाहिरहेका छन्, ताकि भविष्यमा आफ्ना आफन्त, साथीभाइ तथा प्रियजनहरूसँग ती सुन्दर अनुभूतिहरू बाँड्न सकून्। कन्यामको मोहक परिवेशले जो–कोहीलाई केहीबेर भए पनि त्यहीँ अलमलिएर प्रकृतिसँग संवाद गर्न बाध्य बनाइरहेको थियो।

हामी पनि त्यही पर्यटकहरूको भीडमा मिसियौँ। आफ्नै शैलीमा केही तस्बिरहरू खिच्यौँ र कन्यामको मनोरम सौन्दर्यलाई आँखाभरि सजायौँ। हरियाली चियाबगान, शीतल हावा र वरिपरि फैलिएको प्राकृतिक सौन्दर्यले मनलाई लोभ्याइरहेको थियो। केही क्षण त्यही रमणीय वातावरणमा बिताएपछि हामी पुनः आफ्नो गन्तव्यतर्फ लाग्यौँ।

आयोजक पक्षले कार्यक्रममा सहभागी सबैलाई आ–आफ्नो जातीय पहिरन लगाएर उपस्थित हुन विशेष अनुरोध गरेको थियो। उक्त अनुरोधलाई सम्मान गर्दै मैले पनि आफ्नो ब्यागमा दौरा–सुरुवाल, कोट र सायाबुङ(फेटा) बोकेको थिएँ। गाडीभित्रै पोसाक परिवर्तन गरी म पूर्ण रूपमा कार्यक्रमका लागि तयार भएँ। आफ्नै सांस्कृतिक पहिचान झल्काउने पहिरनमा सजिँदा मनमा छुट्टै गर्व र उत्साहको अनुभूति भइरहेको थियो।

अब हाम्रो गन्तव्य धेरै टाढा थिएन। शीतलचोक बजार पार गर्दै करिब बिहान १०:३० बजेतिर हामी फिक्कल बजार पुग्यौँ। त्यतिबेला कार्यक्रमस्थलको मञ्चअगाडि केही आयोजकहरूबाहेक खासै भीडभाड देखिएको थिएन। वातावरण शान्त थियो, तर कार्यक्रमको तयारी भने तीव्र गतिमा चलिरहेको अनुभूति हुन्थ्यो।

दुर्गा बुबुले आयोजक समितिका रमिला राईज्यूसँग सम्पर्क गर्नुभयो। उहाँले आत्मीयतापूर्वक स्वागत गर्दै हामीलाई माथि रहेको साकेला थानतर्फ आउन आग्रह गर्नुभयो। त्यसपछि हामी कार्यक्रमस्थलको वास्तविक केन्द्रतर्फ उकालो लाग्यौँ, जहाँ साकेला उत्सवको रौनक विस्तारै फैलिन थालेको थियो।

कार्यक्रम सुरु हुन अझै केही समय बाँकी रहेको अनुमान गर्दै हामी नजिकै रहेको एउटा फूल नर्सरीभित्र प्रवेश गर्यौँ। त्यहाँ विभिन्न प्रजातिका रङ्गीचङ्गी फूलहरू फुलेका थिए। सबै फूल बिक्रीका लागि राखिएका थिए। नर्सरीकी सञ्चालिका श्रेष्ठ थरकी भएकीले त्यसको नाम ‘श्रेष्ठ नर्सरी’ रहेछ।

त्यहाँका फूलहरू यति आकर्षक थिए कि केही किन्ने इच्छा जाग्यो। तर यात्रा लामो भएकाले फूल सुरक्षित रूपमा लैजान कठिन हुने सोचले चाहेर पनि किन्न सकेनौँ। अन्ततः ती फूलहरूको सुन्दरता मनमा सजाएर हामी पुनः ओरालो झर्यौँ।

कार्यक्रमस्थलभन्दा करिब दुई किलोमिटर अगाडि किरात माङखिम रहेछ। हामी त्यही माङखिमको मैदानमा पुग्यौँ। त्यहाँ टाढाटाढाबाट आएका किराती समुदायका दाजुभाइ तथा दिदीबहिनीहरू ढोल, झ्याम्टा र अन्य परम्परागत बाजागाजासहित भेला भइरहेका थिए। सबैले आफ्नो क्षमता र रुचिअनुसार जातीय भेषभूषा धारण गरेका थिए।

केही बेरपछि ढोल र झ्याम्टाको तालसँगै साकेला सिली नाच्दै विशाल र्‍याली सुरु भयो। सडक नै ढाक्ने गरी अघि बढेको त्यो सांस्कृतिक प्रदर्शन अत्यन्त भव्य देखिन्थ्यो। ढोल–झ्याम्टाको गुञ्जायमान आवाजले वातावरणलाई उत्साहले भरिदिएको थियो। एकछिन त यस्तो अनुभूति भयो, मानौँ हामी कुनै सांस्कृतिक कार्यक्रममा होइन, बरु कुनै ऐतिहासिक अभियान वा विजययात्राको तयारीमा जुटेका छौँ।

र्‍याली कार्यक्रमस्थलमा पुगेपछि सबै सहभागीहरू गोलबद्ध भई सामूहिक रूपमा साकेला नाच्न थाले। त्यो दृश्य यति मनमोहक थियो कि आज पनि सम्झँदा मनमा उत्साहका तरङ्गहरू उर्लेर आउँछन्। केही समयको सामूहिक नृत्य प्रदर्शनपछि औपचारिक कार्यक्रम सुरु भयो।

कार्यक्रमको सभापतित्व जयकुमार राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा दुर्गा बराल उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा चर्चित गायिका तथा कलाकार अलिशा राई, सोनाम याल्मो, शरण राई, लोकबहादुर चाम्लिङ, सन्तोष राई तथा बलेन्द्र भारद्वाज आदि रहनुभएको थियो।

प्रमुख अतिथिद्वारा बिरुवामा पानी हालेर तथा माङ्पा (विजुवा)- हरूबाट मुन्धुम वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। नकुल राई, डम्बरबहादुर राई र अरुणकुमार राई (माङ्पा)हरूले मुन्धुम पाठ गर्नुभएको थियो। उनीहरूको वाचनले सम्पूर्ण वातावरणलाई आध्यात्मिक तथा सांस्कृतिक गरिमाले भरिदिएको थियो।

कार्यक्रमका क्रममा ज्ञानबहादुर राईसँग परिचय गर्ने अवसर मिल्यो। उहाँ लुङ्खिम राई समाजको कार्यालय निर्माणका लागि जग्गा दान गर्ने समाजसेवी व्यक्तित्व हुनुहुँदो रहेछ। उहाँको योगदानबारे सुन्दा समुदायप्रतिको उहाँको समर्पणप्रति सम्मान जागेर आयो।

किरात राई यायोक्खा समितिले हरेक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसएलसि) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने परम्परा पनि कायम राखेको रहेछ। यस वर्ष उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा अलिशा राईलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

समितिको यो निर्णय साँच्चिकै मन छुने लाग्यो। विद्यार्थीहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्ने यस्तो कार्यले समाजमा शिक्षा र प्रतिस्पर्धात्मक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।

त्यसपछि कार्यक्रममा विभिन्न प्रकारका साकेला सिलीहरूको आकर्षक प्रदर्शन गरियो। सम्मान कार्यक्रम सम्पन्न भयो। सम्पूर्ण वातावरण सांस्कृतिक उत्साह, आत्मीयता र सामुदायिक एकताको भावनाले भरिपूर्ण बनेको थियो।

साकेला सिली नृत्यको मोहक प्रस्तुति र त्यसले सिर्जना गरेको उत्साहपूर्ण वातावरणले सम्पूर्ण कार्यक्रमस्थललाई जीवन्त बनाएको थियो। प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका प्रेरणादायी मन्तव्यहरूले उपस्थित सबैको मन हर्षित बनाएको थियो। मन्तव्य दिने क्रममा चर्चित गायिका तथा कलाकार अलिशा राईले पनि आफ्ना विचार व्यक्त गरे। उहाँको बोलीमा मिठास थियो, व्यवहारमा आत्मीयता थियो र कलामा अद्भुत आकर्षण थियो।

अलिशा राईलाई हामीले यसअघि विभिन्न सामाजिक सञ्जालमार्फत देखेका, सुनेका र फलो गरेका थियौँ। यस कार्यक्रमभन्दा पहिले सिक्किमको साप्टेन माङखिममा उहाँसँग भेट्ने अवसर मिलेको थियो। फिक्कलको यस बृहत् साकेला उत्सवमा पुनः उहाँलाई भेट्न पाउनु सुखद संयोग थियो। अझ रमाइलो त एउटै मञ्च साझा गर्ने अवसर पनि प्राप्त भयो।

राष्ट्रिय स्तरकी कलाकार हुँदाहुँदै पनि उहाँ अत्यन्त सरल, विनम्र र मिलनसार हुनुहुन्थ्यो। सबैसँग हाँसेर बोल्ने, आत्मीय व्यवहार गर्ने उहाँको स्वभावले नेपालीपनको सुन्दर संस्कार झल्काउँथ्यो। कलाकारिता मात्र होइन, मानवीय सम्बन्धमा पनि उहाँ उत्तिकै धनी देखिनुहुन्थ्यो।

यस्ता विशाल कार्यक्रमहरूमा हजारौँ मानिसहरूको उपस्थिति हुन्छ। भीडभाड हुन्छ, धक्का–मुक्का हुन्छ, कोलाहल पनि हुन्छ। तर यिनै भीडहरूको बीचमा कतै–कतै आत्मीयताका सुन्दर सम्बन्धहरू पनि जन्मिने गर्छन्। फिक्कल यात्राले हामीलाई त्यस्तै आत्मीय सम्बन्धको मधुर अनुभूति गरायो।

हामीलाई विशेष आत्मीयताका साथ निम्त्याउने व्यक्तित्व थिइन् रमिला राई। उहाँ रिसिया क्रिएसनकी संस्थापक हुनुहुँदो रहेछ। पहिलो भेटमै उहाँको सरल व्यवहार, आत्मीय स्वागत र संस्कृतिप्रतिको समर्पणले हामीलाई प्रभावित बनायो। उहाँसँगको भेटले अपरिचित स्थानमा पनि आफ्नोपनको अनुभूति दिलायो।

उहाँको पसलमा विभिन्न जातीय भेषभूषा, गरगहना तथा विशेषगरी राई–किराती समुदायका पर्व, उत्सव र सांस्कृतिक अनुष्ठानहरूमा आवश्यक पर्ने सामग्रीहरू व्यवस्थित रूपमा राखिएका थिए। ती सामग्रीहरू केवल व्यापारका वस्तु मात्र थिएनन्, बरु समुदायको इतिहास, संस्कृति र पहिचानका जीवित प्रतीकजस्ता लाग्थे।

आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनप्रति उहाँले देखाएको समर्पण साँच्चै प्रेरणादायी थियो। आधुनिकताको तीव्र प्रभावबीच पनि आफ्नो सांस्कृतिक जरोप्रति यति गहिरो माया र प्रतिबद्धता देख्नु आफैँमा गौरवको विषय थियो। उहाँजस्ता व्यक्तिहरूका कारण नै समुदायका मौलिक संस्कार, परम्परा र सांस्कृतिक सम्पदाहरू जीवन्त रहन सकेका छन् भन्ने अनुभूति भयो।

हामीलाई उहाँले आफ्नै माइतीझैँ सम्मान र स्वागत गर्नुभयो। हामी त्यहाँ अतिथि मात्रै थिएनौँ, मानौँ आफ्नै घरका सदस्य भएका थियौँ। उहाँ चेली हुनुहुन्थ्यो, हामी माइती। त्यो आत्मीय सम्बन्धको न्यानोपन आज पनि मनमा ताजै छ। आगामी दिनहरूमा पनि यस्तै सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास छ।

यस सम्पूर्ण यात्राको व्यवस्थापन र समन्वयमा दुर्गा राई थुलुङ बुबुको भूमिका उल्लेखनीय थियो। उहाँकै पहल र सम्बन्धका कारण हामी फिक्कलको त्यो विशाल सांस्कृतिक उत्सवसँग अझ निकट हुन सकेका थियौँ। हजारौँको भीडमा पनि हामीले अपनत्व महसुस गरेका थियौँ। कार्यक्रमस्थलमा डुवर्सको नाम उच्चारण गरिँदा हाम्रो छाती गर्वले फुल्यो। आफ्नै भूगोल र समुदायको प्रतिनिधित्व गर्दै त्यहाँ उपस्थित हुन पाउनु आफैँमा एउटा सुखद अनुभूति थियो। औपचारिक कार्यक्रम सम्पन्न हुँदासम्म बेलुकाको चार बजिसकेको थियो। दिनभरिका गतिविधिहरूले शरीर थाकेको भए पनि मन भने उत्साह र सन्तुष्टिले भरिएको थियो।

त्यही क्रममा नौलो ठाउँमा पनि आफ्नै आफन्तझैँ लाग्ने अशोक चामलिङज्यूसँग भेट गर्ने अवसर मिल्यो। पहिलो भेट भए पनि उहाँको आत्मीय व्यवहारले पुरानो चिनजानको अनुभूति दिलायो। केहीबेर हामी उहाँसँग विविध विषयमा रमाइला कुराकानीमा व्यस्त रह्यौँ। यात्राका यस्ता आकस्मिक भेटघाटहरूले कहिलेकाहीँ मनमा गहिरो छाप छोडिदिँदा रहेछन्।

त्यसपछि कार्यक्रमस्थलभन्दा केही परतिर रहेको एउटा सानो पसलमा पुग्यौँ। त्यहाँबाट हामीले छुर्पी र केही स्थानीय मिठाईहरू किन्यौँ। पसलकी सञ्चालिका अर्चना प्रधान रहिछिन्। कुराकानीका क्रममा थाहा भयो, कक्षा १२ उत्तीर्ण गरेपछि उहाँले उच्च शिक्षाको बाटोभन्दा व्यापार–व्यवसायलाई आफ्नो कर्मक्षेत्र बनाउने निर्णय गर्नुभएको रहेछ। सानै उमेरमा आत्मनिर्भर बन्दै आफ्नै मेहनत र लगनशीलताले व्यवसाय सञ्चालन गरिरहेको देख्दा उहाँप्रति सम्मान जाग्यो।

जीवनका सबै सफलताहरू विश्वविद्यालयका प्रमाणपत्रले मात्र नाप्न सकिँदैनन् भन्ने अनुभूति त्यही क्षण भयो। आत्मविश्वास, परिश्रम, दृढ इच्छाशक्ति र कर्मप्रतिको निष्ठा पनि सफलताको महत्वपूर्ण आधार रहेछन्। अर्चना प्रधानको संघर्ष, साहस र आत्मनिर्भरताले यही सत्यलाई जीवन्त रूपमा प्रस्तुत गरिरहेको थियो। उहाँलाई देखेर लाग्यो—आफ्नो कामप्रतिको समर्पण र निरन्तर प्रयास नै सफल जीवनको वास्तविक परिचय हो।

अब हामीसँग पर्याप्त समय थियो। त्यसैले घर फर्किने निर्णय गर्यौँ। खाना खाइसकेपछि यात्राको अर्को चरण सुरु भयो। विकास बान्तवा बुबुले फेरि गाडीको स्टेयरिङ सम्हाल्नुभयो र हामी डुवर्सतर्फ लाग्यौँ।

फर्किने क्रममा मनभरि फिक्कलका सम्झनाहरू सल्बलाइरहेका थिए। रमिला राईज्यू तथा किरात राई यायोक्खाका सम्पूर्ण आयोजक टोलीप्रति कृतज्ञता व्यक्त गर्दै हामी घरतर्फ अघि बढ्यौँ।

बाटोभरि इलामका हरिया चियाबारीहरू, थुम्काथुम्की डाँडाडाडा र खुल्ला बादलले हामीलाई बिदाइ गरिरहेका जस्ता लाग्थे। मानौँ ती दृश्यहरूले भनिरहेका थिए—“फेरि अर्कोचोटि आउनु है !”

पश्चिम क्षितिजतिर घामले लाली छर्दै बिस्तारै अस्ताउन थालेको थियो। हामीलाई भने डुवर्सको भूमिमा फर्किनु थियो। मनमा साकेला सिलीका दृश्यहरू नाचिरहेका थिए। कानभरि अझै पनि ढोल, झ्याम्टा र झ्यालीका मधुर धुनहरू गुञ्जिरहेका थिए।

बाटोमा ठाउँ–ठाउँमा रोकिँदै केही अर्गानिक तरकारीहरू किन्यौँ। रमाइला दृश्यहरू क्यामेरामा कैद गर्यौँ। गफैगफमा यात्रा यति रमाइलो बन्यो कि समय बितेको पत्तै भएन।

अन्ततः रातको करिब एक बजेतिर हामी आ–आफ्नो घर पुग्यौँ। शरीर थकित थियो, तर मन भने फिक्कलको त्यो भव्य साकेला उत्सव, आत्मीय सम्बन्ध, सांस्कृतिक गौरव र अविस्मरणीय यात्राका सम्झनाले भरिएको थियो।

यसरी फिक्कलसम्मको यात्रा केवल एउटा गन्तव्यसम्मको यात्रा मात्र रहेन, यो त संस्कृति, सम्बन्ध, आत्मीयता र स्मृतिहरूसँगको एउटा सुन्दर भेट बन्यो।


डुवर्स, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।