जहाजबाट उत्रेर जता मानिसहरूको हुल जान्छ त्यतै जाँदैछौँ । नयाँ सपनाको मुलुकमा हाम्रा पाइलाहरू चल्दै छन् । जुलुसजत्तिकै छ हुल । ‘महाजनो येन गता स पन्थाः’ भनेझैँ । तल्लो तलाको घुमाउरो बाटो पार गरेर अर्को घर अगाडि लाइनमा उभिन पुगेका छन् मान्छेहरू । दुई लाइन छ । एउटा स्वदेशी पासपोर्ट भएकाहरूको हो रे ! हामी विदेशीहरूको बेग्लै लाइन छ । स्वदेशी लाइनमा अधिकांश कृष्णवर्णी अफ्रिकी मूलका छन्, तिनीहरूको काम फटाफट भै रहेछ । हाम्रो ढिलो । एक घण्टा लाइनमा बसिसकियो तर लाइन सरेको छैन । वल्ल गार्डले इसारा गरे । सेनी अघि सरिन् र हामीलाई इसारा गरिन् । चारै वटा पासपोर्ट देखायौँ – हँसिली अधबैँसे महिला काउण्टरमा थिइन् – सेनीले हामीहरू आउनाको कारण बताइन् । मुसुक्क मुस्कुराउँदै भनिन्, “रमाइलो गर्नुस्, तपाईंहरूको यात्रा सुखद रहोस् ।” पासपोर्टमा छाप ठोकिदिइन् । बाहिर निक्लियौँ । काठमाडौँमा लागेका ट्याकसँग हाम्रा सुटकेसहरू पाङ्ग्रे चक्कामा फलफनी घुमिरहेका रहेछन् । चिन्दै ट्याक मिलाउँदै लियौँ । ट्याक बुझ्ने कोही थिएन ।
बाहिर निस्कने बाटो खोज्दै पार्किङ एरियामा आइपुग्यौँ । हामीलाई लिन वाल्टिमोरबाट दीपेन्द्र भट्टराई आउनेवाला थिए । उनी जेठी छोरीका देवर नाताका मान्छे हुन् । पढ्न आएका तर पढाइपछि अस्पतालमा काम गर्छन् रे साथैसाथै घरघडेरीको व्यापारमा पनि संलग्न छन् रे । फोन गर्दा कफी शपमा छु, तुरुन्तै आउँछु भने । आए । उनको पछाडि खुला सामान राख्न मिल्ने गाडी रहेछ । सुटकेस, झोलाहरू मिलाएर उनैले पछाडि राखे । हाम्रा हातमा एक÷एक फूलका गुच्छाहरू दिँदै भने, “तपाईंहरूलाई अमेरिकामा स्वागत छ ।” हामी अलमल्ल प¥यौँ । हामीले यस्तो स्वागत हुन्छ भन्ने अपेक्षा गरेकै थिएनौँ । फूलको बुके लिएर फोटो खिच्नुपथ्र्यो तर खिचिएन । पछुतो भइरहेको छ । ड्युल्सबाट जङ्गली एरियामा गाडी सरर्र गुड्न थाल्यो । चार लाइने सडक चौडा फराक । सनन्न चिप्लिएको गाडी सरर चल्नुपर्ने तर ट्राफिक जाम धेरै रहेछ । ठाउँ ठाउँ रोकिनुपर्दा दीपेन्द्र भन्दै थिए, “आज जाम बढी रहेछ ।” जङ्गलको हरियाली कटेपछि कतै–कतै स–स्याना शहरहरू पनि फुत्त फुत्त निक्लन्थे । यही हो भर्जिनिया भन्दै थिए – दीपेन्द्र । उनी धार्मिक प्रवृत्तिका मान्छे रहेछन् । एउटा इस्कन मन्दिरको एरिया औँल्याउँदै भने, “एक पटक तपाईंहरूलाई पनि यहाँको अवलोकन गराउने छु ।” आफू विद्यार्थी हुँदा भोगेको मार्मिक घटनाहरूको पनि उनले जानकारी गराए ।
वाल्टिमोर शहरका छेउछाउका बस्तीहरू चिनाउँदै १२.३० बजे जोप्पा रोडस्थित विष्णु भट्टराईको एपारमेण्टको ग्यारेजमा गाडी रोक्दै उनले भने, “मैले आजको तपाईंहरूको बिहानको भोजनको व्यवस्था यहीँ मिलाएको छु । आज यहाँ नेपाली कम्युनिटीको भेला छ । म त्यहाँ जान्छु । तपाईंहरू भोजन पश्चात् आराम गर्नुहोला । म पछि आउँछु र तपाईहरूको डेरामा पु¥याउँछु ।”
उनी विष्णुको गाडी लिएर हिँडे । हामी एपारमेण्टको माथिल्लो तलामा चढ्यौँ । विष्णु पाँच वर्षदेखि यहाँ बस्तै आएका रहेछन् । उनी पनि जेठी छोरीकै देवर नाताका मान्छे । उनकी श्रीमती सपना चितवनकी रहिछन् । एक वर्ष भएछ अमेरिका आएको । रसिली, फरासिली, मिलनसार । बाहिर वरण्डामा दुईचार फूल र तुलसी पनि गमलामा रोपिएको । एकैनासे घरहरू प्रायः दुई तले । सबै घरहरूको अगाडि फूलबारी र पार्किङ । बाहिर र भित्र दुवैको एकसरो निरीक्षणपछि केहीबेर उनीहरूको बैठकमा हामी सुस्तायौँ ।
दुईजना घरमूली चारजना हामी पाहुना । केही अलमलमा थिए – जोईपोइ । एक घण्टापछि
खानाको निम्तो दिए । टेवलमा बस्यौँ । झरका थाल, बटुका, थकाली होटलकै जस्तो नेपालीपन । हरियो साग, काउली, कालो दाल र भात अचार । सलादमा गाँजर, काँव्रmा । स्वाद मानीमानी स्वादिलो भोजन ग्रहण ग¥यौँ ।
खानपिनपछि बेलुकीको खानाका निम्ति तरकारी, खानेपानी र मोबाइलको सिम खोज्न सेनी र मेली विष्णुलाई लिएर हिँडे । हामी सपनासँग गफिएर बस्यौँ । उनी बिहान चार बजे नै काममा पुग्दिरहिछन् । दिउँसो दुई बजे फर्कने । विष्णु अमेजन कम्पनीको काम गर्दा रहेछन् । खाली समयमा उभर पनि चलाउँदा रहेछन् । उभर भनिदो रहेछ यहाँ हाम्रोमा ‘पठाउ’ जस्तै । दिउँसो ३ः३० बजे विष्णुले दीपेन्द्रको घर टाउसनमा पु¥याए । एकतले घर बाहिर फूलबारीसहितको हरियो चउर । अर्कोपट्टि तरकारी बारी । भित्र बैठकमा मन्दिर, मूर्तिहरू । नेपालीपन झल्कने । हेर्दै, घुम्दै रमाइलो गर्दै थियौँ – दीपेन्द्र आइपुगे । फ्रिजबाट झिकेर गाडीमा फलफूल, ड्राइफुड र दूधको जर्किन नै हालिदिए । हामी छक्क अनि दङ्ग प¥यौँ ।
विष्णु र दीपेन्द्र दुवै आ–आफ्ना गाडीहरू हाँकेर हामीलाई पु¥याउन हिँडे । आफ्नाको महŒव विदेशमा नै बढी हुने रहेछ । उनीहरूको अतिथि सत्कारले हामी धन्य मात्र भएनौँ, आफूहरूलाई भाग्यमानी पनि ठान्यौँ । आधा घण्टामा नै गल्ली÷बस्तीहरू देखाउँदै जोन हप्किन्स अस्पतालको एरियामा प्रवेश ग¥यौँ । नजिकै रहेछ – हामीले बुक गरेको १९२१ नं. को घर । घर अगाडि नै गाडी पार्किङ गर्न मिल्ने रहेछ, सडक किनारामा । मेलमा दिइएको नम्बर मिलाएर चाबी खोलियो । प्रवेश ग¥यौँ । बत्ती बालेर सामानहरू झिकेर राखिदिए । कोठाको तापव्रmम मिलाए । खानेपानी उमालिदिए । यो ठाउँ र घर सुरक्षित एरियामा रहेछ, ढुक्क भएर बस्नुस् भन्ने सङ्केत दिएर उनीहरू हिँडे । हामीले सबै निरीक्षण ग¥यौँ ।
– बैठक कोठा
– भान्साको कोठा, टेवल
– पाइखाना
– अण्डरग्राउण्डमा लुगा धुने, सुकाउने दुई वटा मेसिन
– शयन कक्ष – दुई
छोरीहरूले होचो, ठिक्कको ओछ्यान भएको कोठा रोजे । हाम्रो अग्लो ओछ्यान – चढ्न गाह्रो हुने । घरपट्टि फ्रान्सिस्को दाइ सोधिखोजी गर्न आएनन् । यहाँ बस्छन् कि बस्तैनन्, केही थाहा भएन । आएको जानकारी मेलबाट दियौँ । बेलुका हल्का भोजन गरेर सुत्यौँ । दुई दिनको निद्रा कति मीठो– बयान गरेर साध्य नै छैन ।
०००
अमेरिकाको दोस्रो दिन
आज अक्टुबर एक आइतबार । सेनीले आजै अस्पताल जानुपर्ने हो तर आइतबार र शनिबार बिदा हुने रहेछ । बिहानको खाना खाएर सुतेकी जेठी छोरी उठ्न नै सकिरहेकी थिइनन् । शायद जेट लागेको हो क्यारे ! दिउँसो तीन बजेतिर इनर हार्वरतिर घुम्न जाने विचार ग¥यौँ । हिँडेर जाँदा २० मिनेट लाग्ने जानकारी नेटबाट प्राप्त भयो । यो पर्यटकीय आकर्षणको केन्द्र रहेछ । प्याट्याप्स्को नदी आन्ध्र महासागरमा मिसिएको यो ठूलो दोभान क्षेत्र रहेछ । यस्तो दोभानमा प्राय द्विप बन्नुपर्ने तर यहाँ त समुद्रकै जत्तिको पानी नै पानीको फैलावट । ठूलठूला पानीजहाज, स–स्याना वाटर ट्याक्सीहरूको ताँती । किनारामा होटल रेस्टुरेन्टहरू । किनारामा इँटा छापेको राम्रो बाटो । ठाउँ–ठाउँमा बस्ने चौतारा, कुर्सीहरू । पानीको भित्रसम्म जाने फलेकको पुल । जहाजहरू ओहोरदोहोर गरिरहेका । स–स्याना बोटहरू किनारमा साङ्लीले बाधेर राखिएका दर्जनौँ । हरियाली पार्क ठाउँ–ठाउँमा । स–स्याना बुट्यान ।
केही मान्छेहरू बाटामा दौडदै छन् । यहाँ जुन समयमा पनि फुर्सद पाउनासाथ दौडने चलन रहेछ । रेस्टुरेन्टमा सङ्गीत बजिरहेको छ । पिउने, खानेहरू रेस्टुरेन्टको बाहिर भित्र सराबरी छन् । हाँस, पानीचरा, परेवाहरू पानीमा डुबुल्की मार्दै छेउमा बनाइएका खोरमा खर्किरहेका छन् । अक्वेरियम–सामुद्रिक जीवजन्तु हेर्ने ठाउँ रहेछ । डुल्दै पुग्यौँ । केहीबेर आनन्द लियौँ ।
छोटो समय समुद्रको पानीमा रमाउन स–स्याना बोटहरूमा चढ्नेहरू लाइनमा पर्खिरहेका देखिन्थे । घाम चर्को लागे पनि हावा चिसो चलिरहेकै थियो ।
एउटा हरियो चउरमा बसेर थकाइ मार्दै थियौँ अलिक परबाट नाकै पोल्ने गरी गाँजाको गन्ध आयो । यसो नियालेर हेरेको त एकजना गोरा युवक दङदङती गन्हाउने गरी धुँवा उडाउँदै रहेछन् । अमेरिकी स्वतन्त्रता यही होला । बाटामा पनि नसामा मस्त जोगीजस्ता परिधानमा नखरा गर्दै बसेका व्यक्तिहरू नभेटिएका होइनन् । यहाँका कुन सडकमा त्यस्ता व्यक्तिहरू भेटिन्छन् त्यसको जानकारी नेटमा खोज्दा पाइने रहेछ ।
जमेको जस्तो पानी, त्यति सफा देखिदैन । सामुद्रिक छाल आएको पनि देखिएन । पानीभित्रै बनेका घरहरूमा रेस्टुरेन्टहरू देखिए । कतै कतै पानीमा फोहोर कागजहरू पनि तैरिरहेका । समुद्र भन्ने खालि जहाजहरूको आवत–जावतबाट महसुस गरिने । नजिकै डाउन टाउन । यहाँ शहरको मुख्य भागलाई डाउन टाउन भनिँदो रहेछ । यस्तो टाउनमा घरहरू केही अग्ला, पसल, कफी सप, कपडाका दोकानहरू, फलफूल, सबै प्रायः भेटिने रहेछ तर सब्जीमण्डी देखिएन । कार सफा गर्नेहरू बाटैमा विज्ञापन गर्दै बस्ता रहेछन् । घरवारविहीन अलपत्रे मगन्ते, काला–गोरा सबै खाले मानिसहरूको भीड यत्रतत्र । फर्कदा एकैनासे घरहरू, सडकपेटी, केटाकेटीहरूको स्कुल, चर्च हेर्दै फर्कियौँ ।
फर्कदा अर्कै बाटो रोज्यौँ । सडकमा हिँड्ने मानिस एकदमै न्यून । सडकको दुवैपट्टि फुटपाथ । प्रायः घरसँगै जोडिएका । घरहरू बाहिरपट्टिबाट हेर्दा इँटा र सिमेन्ट जोडिएका पक्का जस्ता लाग्ने तर भित्र काठैकाठका एकैनासे । भित्तामा प्रायः हल्का फोम जोडिएको हुन्छ । यसो गर्नाको कारण तताउन मिल्ने । दुई अढाई तल्लाका मात्र घरहरू । घरको बलेसीमा प्रायः रुख रोपिएको । कतै–कतै फोहोर फाल्ने कन्टेनरहरू पनि देखिए । करेसामा गमलामा फूलहरू रोपिएका । यो अक्टुबर महिनाको अन्त्यमा ‘हेलीवीन’ भन्ने पर्व मनाइँदो रहेछ । यो पर्व मृतात्मा फर्कन्छन् भन्ने विश्वासमा मनाइने चाड हो रे, प्रायः घरका ढोकामा दुवैतिर पाकेका फर्सी राखिँदो रहेछ । कतै–कतै प्लास्टिकको शरीरका नर–कङ्काल माथि बिजुलीका वल्बहरू पनि राखिएका । भूत दिवसजस्तो लाग्ने । आङ देख्दै फुल्दो रहेछ । जति नै विकसित देश भए पनि अन्धविश्वास त उस्तै रहेछन्
।
हाम्रो घर मास्तिर र तल्तिर पनि चर्च रहेछ तर मानिस भने शून्य । यी पुराना चुच्चे आकृतिका परैबाट चिनिने । आफ्नो घर आइपुग्ने निसाना–तिनीहरूलाई नै मान्दा हुने भयो ।
प्याटरसन पार्क
हाम्रो डेराबाट पन्ध्र बीस मिनेटको हिँडाइमा पुगिने प्याटरसन पार्क हाम्रा लागि बिहान
बेलुका फुर्सदको समयमा समय बिताउने, मनोरञ्जन तथा हल्का व्यायाम गर्ने स्थल रह्यो । १३७ एकड क्षेत्रफलमा फैलिएको यो कम्युनिटीबाट सञ्चालित पार्क रहेछ । वाल्टिमोर शहरको डाउन टाउनबाट दुई कि.मि. उत्तर पूर्वमा छ । हामी बसेको ठाउँबाट त्यहाँ पुग्दा त्यहाँको गेट प्रवेशपछि एउटा सानो फूलबारीमा गुलाबसहित सिजनल फूलहरू फुलिरहेका देखिए । सानो पोखरीमा पानी फोहोरा फाल्दै । नजिकै टावर–घर रहेछ तर मर्मत गरिँदै गरेको सूचना टाँगिएको । यसको माथिबाट त पूरै शहर देखिन्छ जस्तो लाग्यो । यो ठाउँ नै अलिक उचाइमा छ । फूलबारीमै तोप र टोपधारी सैनिकका मूर्तिहरू देख्ता कुनै समय यो सैनिक प्रयोजनका लागि थियो कि ? भन्ने अनुमान गर्न सकिन्छ । लेख्न त बोडमा केही लेखिएकै थियो तर राम्ररी बुझिएन ।
हरियो चउर भिराले जमिनमा फैलिएको, बीचमा हिँड्ने साना–ठूला बाटाहरू । वरिपरि पक्की सडक तर गाडीहरू निषेध । हरिया जात–जातका रुखहरू । ती रुखका फेदमा बसेका केही मानिसहरू ल्यापटप खोलेर पढिरहेका । कुकुर र स्याना नानीहरू डुलाउन, भुलाउन यहाँ ल्याउनेहरू धेरै देखिए । दौडने उस्तै । कुकुरले दिसा ग¥यो भने प्लास्टिकमा हातमा पञ्जा लगाएजस्तै गरी उठाएर निर्धारित ठाउँमा विसर्जन गर्दा रहेछन् । अमेरिकीहरूको कुकुर प्रेम आफ्नै बच्चासरहको हुँदो रहेछ । उसलाई चाहिने खानेकुरा आफूलाई चाहिने खाद्यान्न किन्ने ठाउँमै खरिद गरेर ल्याउँदा रहेछन् ।
हिँड्दै जाँदा तल खेल मैदान देखियो । ठूलो टारमा फुटबल ग्राउण्ड त तीन–चार वटा । इनडोर गेमका निम्ति घरहरू ठूलठूला देखिए । नानीहरू खेल्ने, खेलाउने पार्क बेग्लै रहेछ । पीङ, चिप्लेटीको ढ्वाँङ जस्ता विविध सामग्री भए पनि खेल्ने केटाकेटी अत्यन्तै कम ।
ठूलो पोखरी, हाँसहरू तैरिरहेका थिए । त्यसको वरिपरि झाडीजस्ता रुखहरू लगाइएको । काठको फलेक ओछ्याएर हिँड्ने बाटो ठाउँ–ठाउँ बनाइएको सुन्दर मनोरम । दिनभर डुल्दा पनि नसकिने, थाकिने । जति सकिन्छ त्यति नै घुमेर डुलेर आनन्द लिनसम्म लिइयो ।
पार्कको एकातिर सरसफाइ गर्ने, गोडमेल गर्ने औजारसहितको घर देखियो । त्यहीँ बोटबिरुवा फूलको नर्सरी पनि रहेछ । यी मर्मतवालाका गाडी बाहेक पार्कमा अरूका निजी गाडी पस्न नपाउने रहेछन् ।
कम्युनिटीका मानिसहरूले विशेष चाडपर्व वा उत्सवमा माथिको पटाङ्गिनीमा पाल टाँगेर भोजभतेर, पार्टी दिने काम गर्दा रहेछन् । खानपिन यहीँ नै गराउन सकिने रहेछ । नाचगान, सङ्गीत सबैको व्यवस्था हुँदो रहेछ । एक दुईवटा यहाँ रहँदा यस्ता उत्सवहरू मनाएको देखियो । आमन्त्रित व्यक्तिहरू मात्र सामेल हुन पाउने पर्वमा हामी रमिते मात्र हुन पायौँ । तर सरोकारवालाबाहेक अरूले यस्ता कुराहरूमा खासै रुचि राख्दा रहेनछन् । हाम्रो भने नाचगान, सङ्गीतसँगै जता पनि बगिदिने चलन
छ ।
अक्टुबरको सुरुमा हरियो देखिएका रुखपातहरू जाडो बढ्दै जाँदा व्रmमशः पहेँला, राता हुँदै झर्दा रहेछन् । पहेँलो, रातो देख्ता रुख नै फुलेको आभास हुँदो रहेछ । ती रुखहरू जाडो, हिउँ पर्न सुरु भएपछि नाङ्गा हुँदा रहेछन् । तीन महिनासम्म नाङ्गिने सङ्केत देख्ता नरमाइलो लाग्दो रहेछ । उजाड, फुस्रो ।
एकदिन एउटा कृष्णवर्णी ठिटो सानो ठेलुवा गाडीमा नानी ठेल्दै भुत्भुताउँदै थियो – “त्यो गोरी केटीले मेरो जीवन यस्तै फुस्रो बनाई ।” प्रकृतिसँग उसको जीवनको तुलना कति मर्मस्पर्शी र भावुक बनाउने थियो ।
ठाउँ–ठाउँमा बस्ने बेञ्चीहरू छन् । सुस्ताउन पाइन्छ । ट्रेलमा साइकल कुटाउन पाइँदो रहेछ । साइकलवालाहरूले टोपीचाहिँ हेल्मेट पाराकै लगाउँदा रहेछन् ।
व्यायामशालामा हल्का व्यायाम गर्न पनि सकिन्छ । उचाल्ने, पछार्ने, हातखुट्टाले चलाउने औजारहरू छन् । मानिसहरू घुमफिर गरे पनि त्यतातिर त्यति देखिएनन् । पार्कको छेउबाट मस्जिद जस्तो देखियो तर त्यो चर्च वा गुरुद्वारा हुनसक्छ । शहर त वरिपरि नै फैलिएको छ । त्यहाँ आउँदा जाँदा एउटा घरको बाहिर चौतारामा एउटी महिला सधैँ देखिन्थिन् । उनी खुट्टाको कारणले त्यसरी पेटीमै बस्तिरहिछिन् । उनका साथमा एक दुई अरू मानिसहरू देखिन्थे । त्यो बाहेक अरू मानिसहरू घर अगाडि कहिल्यै देखेनौँ । उनीभने सधैँ हात हल्लाउँथिन् । एकदिन फर्कदा चर्को आवाजमा गाडीको हर्न बजेको सुनियो । एउटा केटो फुत्त घरबाट निक्लियो र हामीलाई रोकिन आग्रह ग¥यो । ऊ चिच्याउँदै गयो । हामीले ठान्यौँ – ‘अब झगडा गर्ने भो ।’ तर उसको गाडीले मोडमा हिँड्ने बाटो नराखी पार्किङ गरेको रहेछ । केटो गाडीमा चढ्यो र गाडी फर्कायो । हर्न बजाउने चालक सरक्क गयो । कुनै अप्रिय घटना घटेन । हामीले सुनेका थियौँ – यस्तो अवस्थामा गोली पनि चल्न सक्छ । जोन हप्किन्स युनिभर्सिटी तथा अस्पताल
दुई अक्टोबर १९२३ । बिहान ७ बजे अस्पतालको मूल गेटमा भेट्न सेनीलाई उनका निर्देशक डा. निकोलस माहुनीले निर्देशन दिएका थिए । बिहान छ बजेर ४५ मिनेटमै म सेनीलाई छोड्न गएँ । गेटमा हजारौँ मानिसहरूको आवतजावत भैरहन्छ । कसरी उनलाई चिन्नु ? भित्र पसेर चिल्ड्रेन वार्डको अगाडि एउटा खाली वेञ्चमा बस्यौँ । सेनीले आफू त्यहाँ आइपुगेको जानकारी नेटबाट दिइन् । तुरुन्तै उनको जवाफ फर्काए– ‘म गाडी पार्किङ गर्दैछु, त्यहीँ आउँछु ।’ कत्रो बडो जिम्मेवारी बोध । नभन्दै आए र उनलाई लिएर गए । म भने अस्पताल र युनिभर्सिटीको एरिया घुम्न थालेँ ।
अस्पतालका भवनहरू सडक वारि र पारि । व्रmस गर्ने पुल । तलसम्म घरैघर । कति फ्याकल्टी हुँदा हुन् । यो वाल्टिमोर शहरकै गहना रहेछ । सडकको किनारामा एकै किसिमका रुखहरू छन् । ठूलो भवन अगाडि हरियो चौर, फूलबारी छ । सिन्दूरे रङको माथि गोलाकारको सुन्दर भवन । मेडिकल स्कुलका विद्यार्थीहरू, नर्स डाक्टरहरू आफ्नो ड्युटी सकेर कोही फर्कदै छन्, कोही आउँदै छन् । सेक्युरिटी गार्डहरू मूल सडकमै ड्युटी गर्दैछन् । दीपेन्द्र भन्दैथे – “यहाँका अरू घरहरू पनि पछि यही अस्पतालले लिँदै जानेछ ।” एरिया झन्डै एकसय एकड बराबरकै हुनुपर्छ ।
अस्पतालका अन्य भवनहरू एकैनासका छन् । कर्मचारीहरूलाई ल्याउने, पु¥याउने बसहरू हिँडिरहेकै छन् । अण्डर ग्राउण्ड रेलमार्ग पनि छ रे ! जमिनमुनिबाट फुत्त–फुत्त मानिसहरू निक्लिरहेको देखिन्छ । जता हे¥यो त्यतै रमाइलो बिहानको दृश्यावलोकन गर्दै डेरामा फर्किएँ । डेरा अगाडि बारबेर गरेको हरियो चउर छ ।
साँझमा सेनी फर्किइन् । आज दुइटा मेजर अप्रेसन रहेछ । त्यही देखाउन डा. निकोलसले सेनीलाई साथैमा राखेछन् । अर्की फेलोसिप गर्ने डा. साजिया यहीँकी नागरिक रहिछन् । सहयोगी र मिलनसार छिन् रे । जाँदा र आउँदा मोबाइलमा लगइन गर्नुपर्नेमा सेनीले फर्कदा लगइन गर्न बिर्सिछन् । फेरि जानुपर्ने भो । हामी पुनः सडकको किनारै किनार अस्पताल पुग्यौँ – दुई ठाउँमा सडक व्रmस गर्नुपर्ने ।
तल्लै तलामा रहेका सहयोगी डेस्कका महिलाहरूले हाम्रो समस्या सुनेर कम्प्युटरमा फोटो खिच्तै परिचयपत्र बनाइदिए । त्यही छातीमा टाँसेर माथिल्लो तला उक्लियौँ । कोठै–कोठा, बाटैबाटो कता जाने कम्ती अलमल भएन । बल्ल फेरि अर्को सोधपुछको डेस्कमा पुग्यौँ । जाने बाटोसहितको पुग्ने कोठाको म्याप नै दिए । त्यहाँ त पुग्यौँ तर ढोका खुलेन । चाबी चाहिने रहेछ । के गर्ने भन्ने दोधारमा थियौँ, एउटी चाबीको झुत्तै भिरेकी प्रौढ महिला आइपुगिन् । अनुरोध गर्नासाथ उनले ढोकामा चाबी छिराएर खोलिदिइन् । भित्र रहेकी अर्की महिलाले “ल हुन्छ भोलिदेखि नबिर्सनु, म लगइन गरिदिन्छु” भनेर तुरुन्तै गरिदिइन् । यसो गर्दा आफूले काम गरेको समयको रेकर्ड बन्दो रहेछ ।
हेलीकेप्टरबाट बिरामी ल्याएको देखियो । यस्तै एम्बुलेन्स त कति हो कति ? यहाँ बेरामी धेरैजसोले बीमा गराएका हुँदा रहेछन् । ती बीमा कम्पनीले नै उपचारको सोधभर्ना भरिदिने रहेछन् । बीमा नभए पनि उपचार गर्दा पहिले रकम चाहिँदो रहेनछ । पछाडि प्रतिमहिना थोरै भए पनि तिर्दै जाने सुविधा रहेछ । हाम्रो र त्यहाँको उपचार पद्धतिमा कत्रो फरक । नागरिकप्रतिको उत्तरदायित्व वहन गर्ने सरकार र अस्पतालको भूमिका कति प्रशंसनीय । हाम्रो देशमा त पैसा नभएर उपचार नपाउँदा मर्ने कति छन् कति ।
साँझमा पनि एकपटक अस्पताल र युनिभर्सिटीको फेरो मारियो । यही अस्पताल वरिपरिको वस्ती सुरक्षित एरियामा पर्दोरहेछ । यहाँका धेरैजसो घरहरू एयर बि. एण्ड बि. को सुविधा प्रदान गर्दा रहेछन् । बेरामी, कुरुवा, विद्यार्थी र यस्तै फेलोसिप तथा यहाँको भ्रमणमा आउनेहरूका लागि कति सजिलो । सडक किनारमा गुलाफका बोटहरूमा फूल फुलिरहेको । सुन्दर । उल्के विद्यार्थीजस्ता केटाहरूले फूल टिप्तै च्यातेको देख्ता राम्रो लागेन ।
फेडरिल हिल
मित्र गुरूप्रसाद राईले हामी वाल्टिमोरमा रहेको थाहा पाउनासाथ सल्लाह दिँदै हुनुहुन्थ्यो – “फेडरिल हिल जानुहोला ।” अग्लै हिल होला भन्ने सोचेर विष्णु, सपनालाई बुबाको तिथि श्राद्धको दिन खाना खाने निम्तो दिएका थियौँ । दुई बजे नै उहाँहरू आइपुग्नु भयो । अर्का तीर्थ पाण्डे आइपुग्नु भएको थिएन । फेडरिक हिलबारे चर्चा भो । विष्णुले भने, “उतै उहाँलाई बोलाऔँ । हामी पनि जाऊँ ।”
इनर हार्वर, डाउन टाउनकै बाटो पर्दो रहेछ । विष्णु, सपना, हामी चारजना, विष्णुकै गाडीमा
सरर गयौँ । गाडीमा बाटो निर्देशन गर्ने यन्त्र जोडिएको छ । उसैले दायाँ–बायाँ र दूरी कति छ ? बताउँदै जान्छ । ट्राफिक जाम छ । ट्राफिक बत्तीहरू झिलिकमिलिक गर्दै आँखा झिम्काइरहेका छन् । हामीहरू बाहिरको दृश्यमा रमाइरहेका छौँ । विष्णुजी आफू पहिले आउँदा काम गरेको ठाउँ औँल्याउँदै हुनुहुन्छ । बिहानै काम गर्न आउँदा बस चढ्ने चौतारामा सुतिरहेका घरबार विहीनहरूको डरले आफू थुरथुर कामेको संस्मरण बताउनु हुन्छ । सपना भन्नुहुन्छ, “एक वर्ष भो म यहाँ आएको, यो क्षेत्र त हेरिएकै रहेनछ ।”
पुल तर्नु पर्ला कि नपर्ला भन्ने तर्क गर्दागर्दै किनारै–किनार बाटो अलिक उकालियो । एउटा स–स्यानो हरियो चौरी र फट्याकफुटुक रुखहरू रहेको ठाउँमा पु¥याउँदै विष्णुले भने, “यही हो – फेडरिक हिल ।” हामी उत्रियौँ । विष्णुजी पार्किङ स्थल खोज्न हिँड्नुभयो । चाँडै फर्कनुभयो ।
यो केही अग्लो ठाउँ रहेछ । प्याटरसन पार्कसँग तुलना नै नहुने सानो ठाउँ । सैनिकका मूर्ति र टोपका फलामे नमूनाहरू छेउमा । तोपमा चढेर सपनाले मात्र होइन अरूले पनि फोटाहरू खिच्यौँ । पोखरातिरका एकहुल नेपालीहरू आइपुगे । घाम पहेँला भइसकेका थिए । एकअर्काका फोटाहरू खिच्न आलोपालो ग¥यौँ । कुराकानी भयो । हामी त जनवरीमा फर्कन्छौँ भन्दा उनीहरूले पत्याएनन् । भन्दैथे, “यहाँ आएर किन फर्कने ?” यसको अर्थ गहिरो थियो ।
तल शहर फैलिएको । तलको ग्राउण्ड मैदानमा पहिले सैनिकहरूको परेड खेल्ने ठाउँ थियो रे । सैनिक क्याम्प पनि । तीर्थजी आइपुग्नुभयो । उहाँले गाडी अलिक टाढै पार्किङ गर्नुभएछ ।
पार्कमा बस्ने बेञ्चीहरूमा केही कृष्णवर्णी युवायुवतीहरू अलिक उत्ताउलो गरी बसेका मात्र होइनन् गाँजाको गन्ध पनि छाड्दै रहेछन् । खाली बेञ्च कमै थिए । हामी अलिक तल्तिरको घुमाउरो बाटोमा नाच्दै, रमाउँदै फोटाहरू खिच्न थाल्यौँ । वरिपरि घुम्ने मजाको पक्की बाटो थियो ।
शहर, शहरसँगै टाँसिएको समुद्रको पानीको भाग, त्यहाँ हिँडिरहेका बोट, जहाजहरूको दृश्य, अग्ला भवन टाढा–टाढासम्म देखिने, सूर्यास्त हुन लागेको पहेँलो घाम, हेरिरहूँजस्तो दृश्यलाई मनमा कैद गर्दै हामीहरूले यो हिललाई छाड्यौँ ।
डेरामा फर्केर आगन्तुक पाहुनाहरूलाई पुरी, खिर, तरकारी, अचारको खाना खुवायौँ । खानापश्चात् तीर्थजी केही मेरो पुस्तकहरू कोसेली लिएर हिँड्नुभयो । जानुअघि भन्नुभयो, “म तपाईंहरूलाई वाशिङ्टन डि.सी. र एनापोलिस घुमाउने छु ।” विष्णुजीलाई अह्राउनुभयो – “अर्को शनिबार फोन गर्नू, फुर्सद मिलाउनू, एनापोलिस जानुपर्छ ।”
तीर्थजी – विष्णुजीहरूका बाबुहरू नै मितेरी साइनोमा गाँसिनु भएको व्यक्ति हुनुहुँदो रहेछ । पुख्र्यौली थलो वैतडी । यता आउनुभएको बीसौँ वर्ष भइसकेको रहेछ । यसपटकको दशैँ मान्न
सानेपा, काठमाडौँ बस्ने आमा यहीँ आउनुभएको रहेछ । तीर्थजीको तीन वटा पुस्तकहरू प्रकाशित छन् रे । लेखक नै हुनुहुँदो रहेछ । केही नेपाली पुस्तकहरू छन् – पढ्न मन भए, भन्नुभयो । एउटा नेपाली रेस्टुरेन्ट चलाउनुभएको रहेछ ।
बेलुकीपख ग्रोसरी खोज्दै विष्णुसहित हामीहरू फिलाडेल्फिया रोडसम्म पुग्यौँ । खाद्यान्न, सागसब्जी किन्न गाडी नभै नहुँदो रहेछ । टाढा खोज्दै जानुपर्ने । भनेको सामान नपाइने । हाम्रोमा त घरबाट निस्कनासाथ चोकमै सबैथोक पाइन्छ तर यो अमेरिकामा त वालमार्ट, ग्रोसरी खोज्न टाढा–टाढा भौँतारिनुपर्ने रहेछ । धन्न विष्णु भाइ नजिकै थिए र हाम्रो खाँचो टारिदिए । बेलुका नौ बजेतिर डेरा आइपुग्यौँ । सपना र विष्णु आफ्नै एपारमेन्टतिर लागे ।
मेरील्याण्ड राज्यको राजधानी एनापोलिस
शनिबारको छुट्टीको दिन । विष्णु र सपना आइपुगे । हामी तयारी अवस्थामा नै थियौँ । दिन अलिक ढल्की नै सकेको थियो । विष्णुकै गाडीमा चढेर डाउन–टाउन हुँदै समुद्रमाथिको पुल तरेर राजमार्गतिर लाग्यौँ । विष्णुले तीर्थजीको रेस्टुरेन्टमा पु¥याए । दशैँको मङ्गलधून बजिरहेको थियो । तीर्थजीले कफी या चिया पिएर मात्र हिँड्ने प्रस्ताव राख्नुभयो । एक घण्टा जति त्यहीँ नै अलमल भो । रेस्टुरेन्टमा साँझमा मात्र मानिसहरू आउँछन् कि कसो ? काम गर्ने मानिसहरूबाहेक अरू देखिएनन् ।
तीर्थजीले गाडी निकाल्नुभयो । हामीहरू बाँडियौँ । दुइटा गाडीहरू सरर राजमार्गमा हुरुरु उड्न थाले । यस्ता मार्गमा ट्राफिक लाइटहरू हुँदा रहेनछन् । म तीर्थजीकै गाडीमा परेँ । उहाँ भन्दै हुनुहुन्थ्यो, “यस्ता जङ्गली एरियामा गोराहरू मात्र बस्तछन्, काला यहाँ छैनन् । यो सुरक्षित एरिया हो । यहाँ जङ्गल पनि सुरक्षित छ ।” गफ गर्दागर्दै उहाँको फोन बजिरहन्थ्यो । एउटा रेस्टुरेन्ट बिव्रmीमा रहेछ । त्यो बेच्न तीर्थजीहरू कुनै इन्डियन पार्टीसँग डिल गर्दै हुनुहुन्थ्यो । आफूले पहिले यहाँ आउँदा भोगेका अनुभव पनि सुनाउनुहुन्थ्यो । यहाँको विश्वविद्यालयको डिग्री नभएसम्म काम नपाइने भएकोले सपना र विष्णुलाई पनि फुर्सदको समयमा एक घण्टा भए पनि पढ्न जाने अनुरोध गरेको छु भन्नुहुन्थ्यो । उहाँले एनापोलिसमा एक–दुई घण्टा स्वयम् सेवकको रूपमा विदेशीहरूको सहयोग गर्ने संस्थामा काम गर्दैछु भन्न पनि भ्याउनुभयो ।
मूल सडकबाट दायाँ–बायाँ जाने सडकमाथि नै व्रmसब्रिजहरू रहेछन् । सडक चिल्ला । चार लाइन जाने चार लाइन आउने । कतै सडक दुर्घटना भए मात्र जाम हुँदो रहेछ । सडकमै एउटा ठूलो जातको मृग लडिरहेको देखियो, हुनसक्छ कुनै गाडीको ठक्करले ढलेको होला ।
सानो चिटिक्क परेको शहर रहेछ । घरहरू पनि दुई तले मात्र । एकै किसिमका । यहाँ अग्ला घरहरू बनाउन सरकारले नै प्रतिबन्ध लगाउँछ रे । पुरानो ऐतिहासिक महŒवलाई जीवन्त राख्न यसो गरिएको हो रे । खै हाम्रातिर त माटाका घर, झिँगटी छानो, हरियो गोबरले लिपेको आँगन, सिकुवा, रातो माटो र कमेरो पोतेका घर व्रmमशः मासिदै छन् । हामी आफ्नोपन र पहिचान त खोज्छौँ तर केमा त्यो पन छ, थाहा नै पाउँदैनौँ ।
यहाँको डाउन–टाउनमा पनि अग्ला घरहरू रहेनछन् । सडकको वारिपारि कफी शप, रेस्टुरेन्ट, केही पसलहरू देखिए । हामी सरासर क्यापिटल हाउसतिर लाग्यौँ । सांसद भवनमा मर्मत सम्भारको काम हुँदै रहेछ । रङ्गरोकनका लागि बारबेर गरेर माथिसम्म उठाइएको । भवनभित्र प्रवेश गर्नासाथ सेक्युरिटीको निम्ति गार्डहरू तैनाथ थिए । हामी माथि जान चाहन्छौँ भनेर तीर्थजीले भन्नुभयो । पाँच बजेपछि बन्द हुने रहेछ । अर्कोपटक आउँला भन्दै तीर्थजी बाहिरिनु भयो । हामी अगाडिको फूलबारी सहितको गार्डेनमा पस्यौँ । त्यहाँ खम्बामा धेरै जनाका मूर्तिहरू राखिएको रहेछ । सांसद भवनकै सामुन्नेमा गभर्नरको अफिस रहेछ ।
तीर्थजीले नेपालका राजनीतिज्ञ र यहाँका राजनीतिज्ञमा पाइने अन्तर बताउनुभयो । यहाँ राजनीति सेवाको हिसाबले गरिन्छ । राजनीति गर्नेहरू निश्चित समयपछि आफ्नै पेसामा फर्कन्छन्, तर नेपालमा राजनीति गर्नेहरू आजीवन झुन्डिरहन्छन् अझ पुस्तैनी बनाउन खोज्छन् । फरक यही हो । यहाँ आफूले गरेको काममा एक रूपैयाँको फरक पाइयो भने पनि माफी मागेर पद छोड्नुपर्छ तर नेपालमा भने भ्रष्ट, गनाएका मान्छेकै हालीमुहाली देखिन्छ । जति कुरा ग¥यो त्यति मन अमिलो हुने ।
समुद्रको किनारतिर गयौँ । त्यहाँ पनि फलेक छापेर बनाइएको पानीमाथिको पुलको बाटो मर्मत हुँदै रहेछ । छेउ–छाउ पर–परसम्म डुलेर फोटाहरू खिच्तै रमाइरह्यौँ । अरू केही विदेशी पाहुनाहरू पनि डुल्दै भेटिए ।
चोकमा एउटा सुन्दर फूलबारीमा एउटा ठूलो कृत्रिम फर्सी, दुरुस्तै देखिने, त्यसैको छेउमा फोटाहरू खिच्यौँ । अलिक पर गुरुकुलको झझल्को आउने गरी गुरु र चेलाका मूर्तिहरू राखिएको देख्यौँ । आकर्षक लागेर त्यहीँ एकछिन टहलियौँ । डुल्दै जाँदा सैनिकहरूका छोराछोरी पढाउने एउटा विद्यालय रहेछ । त्यसको गेट अगाडि त्यस्तै जात–जातका फूलहरू फुलिरहेका ।
बेलुका एउटा इटालियन शाकाहारी भोजनालयमा तीर्थजीले लानुभयो । सेवक गोरा युवक थिए । उनैले गेडागुडी, सागपात, मूलाका चानासहितको काँचो सलाद र पिज्जा अर्डर अनुसार ल्याइदिए । मीठो मानेर खायौँ ।
अमेरिकाका सबै राज्यहरूका राजधानीमा रहेका क्यापिटल भवनहरू एकै किसिमका डिजाइनका छन् । गुम्बज आकृति । बाहिरबाट मात्र हेरेर सन्तोष लिइयो । साँझमा गएकै बाटो फर्कियौँ । तीर्थजीलाई रेस्टुरेन्टमा छोडेर डेरामा पुग्दा दस बजिसकेको थियो । सपना र विष्णु आफ्नै एपारमेन्टतिर लागे ।