19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली लघुकथा लेखनमा शैल्पिक स्खलनः कारण, प्रवृत्ति र चुनौतीहरू

विचार प्रा.डा. विदुर चालिसे July 3, 2026, 5:07 pm
प्रा.डा. विदुर चालिसे
प्रा.डा. विदुर चालिसे

[नेपाली लघुकथा आधुनिक नेपाली साहित्यको लोकप्रिय र प्रभावकारी विधा हो । सीमित आकारभित्र जीवन, समाज, राजनीति, संस्कृति तथा मानवीय संवेदनाका जटिल आयामहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु यसको मूल विशेषता रहेको छ । विशेषतः वि. सं २०४० पछिको अवधिमा नेपाली लघुकथाले उल्लेखनीय विकास गरेको देखिन्छ । यद्यपि यसका सङ्ख्यात्मक वृद्धिसँगै गुणात्मक प्रश्नहरू पनि उठेका छन् । लघुकथामा कथातत्त्वको अभाव, अनावश्यक उपदेशात्मकता, व्यङ्ग्यको कृत्रिम प्रयोग, पात्र तथा परिवेशको अपर्याप्त निर्माण, भाषिक असावधानी, संरचनागत कमजोरी तथा सामाजिक सञ्जालको प्रभावका कारण शैल्पिक स्खलनका विभिन्न रूपहरू देखा परेका छन् । प्रस्तुत लेखमा नेपाली लघुकथाको विकासक्रमको संक्षिप्त समीक्षा गर्दै शैल्पिक स्खलनका प्रमुख कारणहरूको विश्लेषण गरिएको छ । साथै समकालीन लघुकथा लेखनमा देखिएका चुनौतीहरू र सुधारका सम्भावित उपायहरूको पनि चर्चा गरिएको छ ।]

कुञ्जी शब्दहरू: लघुकथा, शिल्प, शैली, शैल्पिक स्खलन, कथातत्त्व, समकालीन नेपाली साहित्य

१. परिचय
लघुकथा साहित्यको त्यस्तो विधा हो, जसले न्यूनतम शब्दमा अधिकतम प्रभाव सिर्जना गर्ने क्षमता राख्छ । आकारमा सानो भए पनि यसको भाव, अर्थ र प्रभाव व्यापक हुन सक्छ । आधुनिक जीवनको तीव्र गति, समयको अभाव र पाठकीय रुचिको परिवर्तनसँगै लघुकथा आजको युगको सर्वाधिक प्रासङ्गिक विधामध्ये एक बनेको छ । नेपाली साहित्यमा लघुकथाको विकास विशेषतः बीसौँ शताब्दीको उत्तरार्धदेखि तीव्र रूपमा भएको पाइन्छ । प्रारम्भिक चरणमा नैतिक शिक्षा, सामाजिक चेतना र व्यङ्ग्यप्रधान विषयवस्तुहरू प्रमुख रहे तापनि पछि यसले मनोवैज्ञानिक, अस्तित्ववादी, नारीवादी, वर्गीय तथा उत्तरआधुनिक चेतनासम्म आफ्नो क्षेत्र विस्तार गरेको छ । तर साहित्यिक विकासको यो यात्रामा गुणात्मक चुनौतीहरू पनि देखिएका छन् । पछिल्लो समयमा प्रकाशित धेरै लघुकथाहरूमा कथात्मकता कमजोर हुँदै गएको, संरचनागत अनुशासन भङ्ग भएको तथा कलात्मकताको स्थानमा सतही सन्देश हावी भएको आरोप सुनिन्छ । यही अवस्थालाई यहाँ ‘शैल्पिक स्खलन’ को अवधारणाअनुसार अध्ययन गरिएको छ ।

२. नेपाली लघुकथाको अवधारणा
लघुकथा कथा साहित्यको लघुतम रूप हो । यसमा सीमित पात्र, सीमित घटना, सीमित परिवेश र एकीकृत प्रभावको अपेक्षा गरिन्छ । यसको उद्देश्य केवल घटना सुनाउनु मात्र होइन, पाठकको चेतनामा तीव्र प्रभाव सिर्जना गर्नु पनि हो । लघुकथाको सफलताको आधार यसको आकार होइन, प्रभाव हो । एउटा सफल लघुकथाले अन्तिम वाक्यपछि पनि पाठकलाई लामो समयसम्म सोच्न बाध्य बनाउँछ । यस अर्थमा लघुकथा ‘सानो संरचनामा ठूलो अर्थ’ को कला हो । कथावस्तु, पात्र, परिवेश, दृष्टिबिन्दु, भाषा-शैली, व्यञ्जना, प्रभावपूर्ण अन्त्य जस्ता लघुकथाका प्रमुख तत्त्वहरू हुन् (चालिसे, २०८०, पृ. २३१-२३३) । यिनै तत्त्वहरू बीचको संसक्ति सोयोजन र सिर्जनाधाराको प्रयोग सन्तुलन नै लघुकथाको शैल्पिक अवधारणा हो ।

३. शिल्प र शैलीको सैद्धान्तिक अवधारणा
साहित्यमा ‘शिल्प’ भन्नाले रचनाको निर्माण पद्धति बुझिन्छ भने ‘शैली’ भन्नाले अभिव्यक्तिको विशिष्ट तरिका बुझिन्छ । कथावस्तु र विचारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने सम्पूर्ण संरचनात्मक संयोजनलाई शिल्प भनिन्छ । लघुकथामा शिल्पको महत्त्व झन् बढी हुन्छ किनभने यहाँ प्रत्येक शब्दको भूमिका निर्णायक हुन्छ । अनावश्यक वर्णन, अतिरिक्त संवाद वा कमजोर अन्त्यले सम्पूर्ण रचनालाई प्रभावहीन बनाउन सक्छ । शैली भनेको लेखकको व्यक्तित्वसँग सम्बन्धित पक्ष हो । कुनै लेखक व्यङ्ग्यात्मक शैलीमा लेख्छ भने कुनै प्रतीकात्मक शैलीमा वा कुनै यथार्थवादी शैलीमा लेख्छन् । तर जुनसुकै शैली अपनाए पनि शिल्पगत अनुशासन अनिवार्य हुन्छ ।

४. नेपाली लघुकथाको विकासक्रम
नेपाली लघुकथाको आरम्भबारे विद्वानहरूबीच केही मतभिन्नता पाइन्छ । प्रारम्भिक चरणमा कथा, दृष्टान्त, नीति-कथा र व्यङ्ग्यात्मक गद्यरचनामा लघुकथाका बीज तत्त्वहरू भेटिए पनि आधुनिक लघुकथाको व्यवस्थित विकास पछिल्लो चरणमा भएको हो । विशेष गरी २०४० सालपछि आधुनिक नेपाली लघुकथा आन्दोलनले गति प्राप्त गर्‍यो (अश्क, २०८१, पृ. १०१) । विभिन्न पत्रपत्रिका, साहित्यिक मञ्च तथा संस्थाहरूले लघुकथा प्रकाशनलाई प्रोत्साहन गरे । यस अवधिमा सामाजिक विसङ्गति, राजनीतिक विकृति, लैङ्गिक विभेद, वर्गीय असमानता तथा मानवीय संवेदनालाई केन्द्रमा राखेर उल्लेखनीय लघुकथाहरू सिर्जना भए । समकालीन चरणमा लघुकथाको लोकप्रियता अझ बढेको छ । सामाजिक सञ्जाल, अनलाइन पत्रिका र डिजिटल माध्यमले यसको पहुँच विस्तार गरेका छन् । तर यही विस्तारसँगै गुणस्तरीयताको प्रश्न पनि उठ्न थालेको छ ।

५. शैल्पिक स्खलनको अवधारणा
साहित्यिक कृतिमा अपेक्षित कलात्मक गुण, संरचनागत अनुशासन र सौन्दर्यात्मक प्रभाव कमजोर हुँदै जानुलाई शैल्पिक स्खलन भनिन्छ । ‘कथा नभई केवल विचार प्रस्तुत हुनु’, ‘पात्रहरूको जीवन्तता हराउनु’, ‘अन्त्य अप्रभावकारी हुनु’, ‘अत्यधिक उपदेशात्मकता हुनु’, ‘भाषागत कमजोरी देखिनु’, ‘संरचना खुकुलो हुनु’, ‘प्रतीक र व्यञ्जनाको अभाव हुनु’ नै नेपाली लघुकथामा देखिने शैल्पिक स्खलनका अवस्थाहरू हुन् (चालिसे, २०७९, पृ. ४७१) । जब रचनामा कलाभन्दा सन्देश प्रधान बन्छ, तब लघुकथा निबन्ध, टिप्पणी वा फेसबुक स्टाटस जस्तो बन्न थाल्छ । यही अवस्था शैल्पिक स्खलनको प्रमुख संकेत हो ।

६. नेपाली लघुकथा लेखनमा शैल्पिक स्खलनका कारणहरू
आजको नेपाली लघुकथा लेखनमा लेखकहरूले लेखिरहेका लघुकथाको स्तरलाई शैल्पिक स्खलनका दृष्टिले हेर्दा उत्कृष्ट विधागत स्वरूपको रचना निर्माण गर्नका लागि निम्नअनुसारका कारणहरू प्रधान समस्याका रूपमा देखिन्छन्:
(१) विधागत ज्ञानको अभावःशैल्पिक स्खलनको सबैभन्दा ठूलो कारण विधागत ज्ञानको अभाव हो । धेरै लेखकहरूले लघुकथालाई केवल छोटो कथा ठान्ने प्रवृत्ति देखिन्छ । लघुकथा छोटो कथा मात्र होइन, विशिष्ट संरचनात्मक अनुशासन भएको स्वतन्त्र विधा हो । कथानक, द्वन्द्व, संकेत, व्यञ्जना र प्रभावको सन्तुलनबिना लघुकथा सफल हुन सक्दैन । विधागत अध्ययन नगरी लेखिएका धेरै रचनाहरू घटना-वर्णन वा विचार-प्रस्तुतिमा सीमित हुने गर्छन् ।
(२) सामाजिक सञ्जालको प्रभावः फेसबुक, ब्लग र अन्य डिजिटल माध्यमले लेखनलाई लोकतान्त्रिक बनाएको छ । तर यसले गुणस्तरमा सधैं सकारात्मक प्रभाव पारेको छैन । आजकल धेरै लेखकहरूले लेखिसकेपछि सम्पादन नगरी तुरुन्तै सामाजिक सञ्जालमा प्रकाशित गर्ने गर्छन् । प्रतिक्रियाको लालसाले पनि लेखनलाई हतारो बनाएको छ । यसले गर्दा- ‘भाषा अशुद्ध हुन्छ’, ‘संरचना कमजोर हुन्छ’, ‘विषय दोहोरिन्छ’ तथा ‘कलात्मकता हराउँछ’ सामाजिक सञ्जालमा धेरै ‘लाइक’ प्राप्त हुनु र साहित्यिक दृष्टिले उत्कृष्ट हुनु एउटै कुरा होइन ।
(३) अत्यधिक उपदेशात्मकताः नेपाली लघुकथाको एउटा पुरानो समस्या नै उपदेशात्मकता हो । कतिपय लेखकहरू लघुकथामार्फत जीवनदर्शन सिकाउन चाहन्छन् । परिणामतः कथा कलात्मक सिर्जना नभई नैतिक पाठ बन्न पुग्छ । सफल लघुकथाले पाठकलाई सोच्न बाध्य बनाउँछ, तर निष्कर्ष थोपर्दैन ।
(४) कथातत्त्वको अभावः अहिले प्रकाशित धेरै लघुकथाहरूमा कथा नै भेटिँदैन । केवल विचार, टिप्पणी वा प्रतिक्रिया प्रस्तुत गरिएको हुन्छ । कथा भन्नु भनेको परिवर्तनको प्रक्रिया हो । कुनै घटना, द्वन्द्व वा अनुभूति बिना कथा निर्माण हुन सक्दैन । कथातत्त्वको अभावले लघुकथालाई साहित्यिक रचनाभन्दा सामाजिक टिप्पणीमा रूपान्तरण गरिदिन्छ ।
(५) प्रभावशाली अन्त्यको अभावः लघुकथाको आत्मा प्रायः यसको अन्त्यमा केन्द्रित हुन्छ । तर आजकल धेरै लघुकथाहरू पूर्वानुमेय अन्त्यमा टुङ्गिन्छन् । पाठकले सुरुमै अन्त्य अनुमान गर्न सक्छ भने प्रभाव कम हुन्छ । अन्त्य चकित पार्ने मात्र नभई अर्थपूर्ण पनि हुनुपर्छ ।
(६) भाषिक असावधानीः भाषा लघुकथाको प्रमुख साधन हो । छोटो आकारमा प्रत्येक शब्दको मूल्य हुन्छ । तिनै भाषिक मूल्यका कारणले नै लघुकथालाओई स्तरो र प्रभावकारी बनाउन सहयोग गर्दछ । तर धेरै रचनाहरूमा- ‘अनावश्यक शब्द’, ‘व्याकरणिक त्रुटि’, ‘अस्पष्ट वाक्य’ तथा ‘कृत्रिम संवाद’ जस्ता कमजोरीहरू देखिन्छन् । भाषागत असावधानीले सम्पूर्ण रचनाको प्रभाव घटाउँछ ।
(७) अनुकरण प्रवृत्तिः कुनै चर्चित लेखकको शैली लोकप्रिय भएपछि धेरै नयाँ लेखकहरूले त्यसैको अनुकरण गर्न खोज्छन् । पाश्चात्य साहित्यका दार्शनिक एरिष्टोटलको अर्थमा अनुकरण गर्नु भनेको साहित्य कलागत ‘नव-सिर्जना’ हो, फोटोकपि गर्नु होइन । त्यसैले लघुकथामा गरिने अनुकरण ‘नव-सिर्जना’ नभई हुबहु साभारवाद हो । तसर्थ अन्धानुकरणबाट हरेक रचनाको मौलिकता हराउँछ । एउटै प्रकारका प्रतीक, एउटै प्रकारको व्यङ्ग्य र एउटै प्रकारका अन्त्यहरूको पुनरावृत्तिले लघुकथा एकरूप समेत बन्दै जान्छ ।
(८) सम्पादन संस्कृतिको अभावः नेपाली लघुकथा लेखनमा शैल्पिक स्खलनको अर्को महत्त्वपूर्ण कारण सम्पादन संस्कृतिको अभाव हो । साहित्यिक सिर्जना पहिलो मस्यौदामै पूर्ण हुँदैन । विश्व साहित्यका अधिकांश उत्कृष्ट लेखकहरूले आफ्ना रचनालाई पटक-पटक परिमार्जन गरेका छन् । यसलाई परिष्कारवादी शैली भनिन्छ । तर नेपाली लघुकथाको वर्तमान अभ्यासमा लेख्ने बित्तिकै प्रकाशन गर्ने प्रवृत्ति बढेको छ । सम्पादनले अनावश्यक शब्द हटाउँछ, भाषालाई कसिलो बनाउँछ, लघुकथाको गति मिलाउँछ र अन्त्यलाई प्रभावकारी बनाउँछ । सम्पादनबिना प्रकाशित लघुकथामा अनावश्यक संवाद, दोहोरिएका वाक्य, कथानकको असन्तुलन तथा भाषिक त्रुटिहरू देखापर्छन् । फलतः रचनाको कलात्मक प्रभाव कमजोर हुन्छ ।
(९) कथातत्वभन्दा विचारतत्वलाई प्राथमिकताः लघुकथा विचार अभिव्यक्त गर्ने माध्यम अवश्य हो, तर विचारलाई लघुकथा बनाएर प्रस्तुत गर्नुपर्छ । समकालीन नेपाली लघुकथामा कतिपय लेखकहरूले कथाभन्दा आफ्नो वैचारिक धारणा वा राजनीतिक मतलाई बढी महत्त्व दिएको पाइन्छ । यस्ता रचनामा पात्रहरू स्वतन्त्र रूपमा बाँच्दैनन्, लेखकका विचार बोल्ने माध्यम मात्र बन्छन् । परिणामस्वरूप कथा कृत्रिम, उपदेशात्मक र एकाङ्गी हुन्छन् । साहित्यको शक्तिद्वारा नै पाठकलाई निष्कर्ष सोच्न प्रेरित गर्नु हो, निष्कर्ष थोपर्नु होइन ।
(१०) कृत्रिम प्रतीक र बिम्बको प्रयोगः लघुकथामा प्रतीक र बिम्बले अर्थलाई गहिरो बनाउँछन् । तर तिनको प्रयोग स्वाभाविक हुनुपर्छ । पछिल्ला दिनमा लेखकहरूले लेखेका केही लघुकथामा जटिल देखिनका लागि अनावश्यक प्रतीक प्रयोग गरिएको पाइन्छ । प्रतीक भन्नाले पाठकलाई अर्थको नयाँ तहसम्म पुर्‍याउने माध्यम हो, अर्थ नै अस्पष्ट बनाउने उपकरण होइन । अत्यधिक प्रतीकात्मकताले रचनालाई बोझिलो बनाउँछ र सामान्य पाठकबाट टाढा लैजान्छ ।
(११) पाठकीय मनोविज्ञानको बेवास्ताः लघुकथाले पाठकलाई एकै बसाइमा प्रभाव पार्ने विधा हो । त्यसैले लेखकले पाठकको ग्रहणशीलता, संवेदना र बौद्धिक सहभागितालाई ध्यान दिनुपर्छ । कतिपय लेखकले केवल आफ्नै वैचारिक सन्तुष्टिका लागि लेख्ने हुँदा पाठकसँग संवाद स्थापित हुन सक्दैन । अत्यधिक जटिल भाषा, अस्पष्ट संकेत र अव्यवस्थित संरचनाले पाठकलाई लघुकथा छोड्न बाध्य बनाउँछ ।
(१२) साहित्यिक अध्ययनको कमीः राम्रो लेखक बन्न राम्रो पाठक हुनु आवश्यक हुन्छ । तर पछिल्लो पुस्ताका केही लेखकहरूमा अध्ययनभन्दा लेखनमा बढी रुचि देखिन्छ । नेपाली तथा विश्व-साहित्यका उत्कृष्ट लघुकथाहरूको अध्ययन नगरी लेखिएका रचनाहरूमा मौलिकता, गहिराइ र कलात्मकता कमजोर हुने सम्भावना बढी हुन्छ । साहित्यिक इतिहास, सिद्धान्त, समालोचना र अन्य भाषाका उत्कृष्ट लघुकथाको अध्ययनले लेखकलाई विधागत चेतना प्रदान गर्छ । यस्तो अध्ययनको अभावले शिल्पमा स्खलन ल्याउँछ ।


७. समकालीन नेपाली लघुकथामा देखिएका शैल्पिक प्रवृत्तिहरू
समकालीन नेपाली लघुकथामा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रवृत्तिहरू देखिन्छन् । तथापि साहित्यमा जब नकारात्मकताको प्रक्षेप जति बढी हुन्छ, त्यति नै त्यस्तो साहित्यिक लेखन शास्त्रीय हिसाबले दोषयुक्त साहित्यको रूपमा रहेको मानिन्छ । आजका सकारात्मक प्रवृत्तिका लघुकथाहरूमा पाइने ‘सामाजिक यथार्थप्रति संवेदनशीलता’, ‘नारी, दलित, जनजाति तथा सीमान्तकृत समुदायका आवाजको समावेश’, ‘भाषिक सरलता, प्रतीकात्मक अभिव्यक्तिको विकास’ तथा ‘समकालीन राजनीतिक तथा सामाजिक चेतनाको विस्तार’ जस्ता प्रवृत्तिहरूले नेपाली लघुकथालाई विषयगत रूपमा समृद्ध बनाएका छन् । यसका साथै नकारात्मक प्रवृत्तिका लघुकथाहरूमा पाइने ‘फेसबुक-केन्द्रित लेखन’, ‘साहित्यिक सम्पादनको अभाव’, ‘मौलिकताको कमी’,
‘अन्त्यमा कृत्रिम ‘ट्विस्ट’ ल्याउने प्रयास’ तथा ‘भावुकताको अतिरेक कथाभन्दा सन्देशमा जोड’ जस्ता कारणहरूले लघुकथाको कलात्मक स्तरमा प्रश्न उठिरहेका पाइन्छन् ।

८. प्रतिनिधि प्रवृत्तिहरूको उदाहरणात्मक विश्लेषण
अधुनिक नेपाली लघुकथाको सिर्जनाको क्षेत्रमा आमरूपले हेर्दा लघुकथाहरू प्रायः उपदेशप्रधान, व्यङ्ग्यप्रधान तथा फेसबुक शैलीका लघुकथाहरू निम्नअनुसार पाइन्छन्:
(१) उपदेशप्रधान लघुकथाः यस्ता प्रकारका लघुकथामा लेखक सुरुदेखि नै पाठकलाई कुनै नैतिक शिक्षा दिन चाहन्छ । लघुकथा केवल त्यस्तो शिक्षा व्यक्त गरिदिने माध्यम बन्छ । जसद्वारा उपदेशप्रधान लघुकथाहरूमा ‘पात्र जीवन्त नहुनु’, ‘द्वन्द्व कृत्रिम हुनु’ तथा ‘अन्त्य पूर्वानुमेय’ हुनु जस्ता कमजोरीहरू पाइन्छन् ।
(२) व्यङ्ग्यप्रधान लघुकथाः व्यङ्ग्य नेपाली लघुकथाको सशक्त पक्ष हो । तर व्यङ्ग्य स्वाभाविक हुनुपर्छ । केवल कटाक्ष गर्नका लागि बनाइएको व्यङ्ग्य प्रभावकारी हुँदैन । जब व्यङ्ग्य कथाको स्वाभाविक परिणाम हुन्छ, तब त्यसले गहिरो प्रभाव पार्छ । तर जब व्यङ्ग्य उद्देश्य मात्र हुन्छ, कथा कमजोर हुन्छ ।
(३) फेसबुक शैलीका लघुकथाः आजकल दुई-तीन अनुच्छेदको कुनै पनि भावनात्मक लेखनलाई लघुकथा भन्ने चलन बढेको छ । यस्ता लेखाइमा प्रायः कथानक हुँदैन, पात्र हुँदैन, द्वन्द्व पनि हुँदैन, केवल अन्तिम वाक्यमा सन्देश मात्रै हुन्छ । यसले लघुकथाको विधागत पहिचानलाई कमजोर बनाइरहेको देखिन्छ ।

९. नेपाली लघुकथाको शिल्पलाई बलियो बनाउन आवश्यक पक्षहरू
नेपाली लघुकथाको शिल्पलाई बलियो बनाउनका लागि लेखकले नेपाली तथा विश्व साहित्यका उत्कृष्ट लघुकथाहरू अध्ययन गर्नुपर्छ । ‘विधागत अध्ययन’ विना यसको शैल्पिक अधारलाई मजबूत बनाउन सकिँदैन । यस्तै पहिलो मस्यौदा नै अन्तिम नहुने हुँदा पटक-पटक परिमार्जन गर्दा मात्र रचना परिपक्व हुन्छ । त्यसैले यसको शिल्पलाई बर्लियो बनाउन ‘पुनर्लेखन’को आवश्यकता पर्दछ । यस्तै भाषिक अनुशासन पनि यसको अर्को महत्वपूर्ण पक्ष हो । त्यसैले लघुकथामा प्रत्येक शब्द आवश्यक मात्र हुनुपर्छ । अनावश्यक विशेषण, वर्णन तथा संवाद हटाउनुपर्छ । रचनामा लेखकको निजी मौलिकतालाई जोगाउनका लागि अरूको शैलीको अनुकरणभन्दा आफ्नै अनुभव र दृष्टिकोणलाई प्राथमिकता दिनुपर्छ । यसो गर्दा लेखकको आफ्नै ‘मौलिकता’ रचनामा कायम हुन पुग्छ । लघुकथाको शैल्पिक पक्षलाई जीवनसँगको निकटताअनुसार जोडेर लघुकथाको रचना गर्दा कृत्रिम घटनाभन्दा जीवनबाट आएका अनुभूतिहरू बढी प्रभावकारी हुन्छन् । त्यसैले जीवन सापेक्षता नै यसको बलियो आधार हो । सारमा पाठकलाई सोच्न बाध्य बनाउने खुला अन्त्य धेरै प्रभावकारी हुने हुँदा लघुकथाको शिल्पलाई बलियो बनाउन ‘लघुकथामा खुला अन्त्यको प्रयोग’ अनिवार्य हुनु पर्दछ ।

१०. समकालीन चुनौतीहरू
भविष्यमा नेपाली लघुकथाले सामना गर्नुपर्ने प्रमुख चुनौतीहरू निकै तरङ्गित भएका देखिन्छन् । जसमा ‘कृत्रिम बुद्धिमत्ता (AI) बाट सिर्जित लेखनसँग गुणस्तरीय लेखन प्रतिस्पर्धा’, ‘सामाजिक सञ्जालको तात्कालिक लोकप्रियताको दबाब’, ‘साहित्यिक आलोचनाको कमजोरी’, ‘सम्पादन परम्पराको अभाव’, ‘अध्ययनशील लेखकको कमी’ तथा ‘व्यावसायिक प्रकाशन संस्कृतिको अभाव जस्ता चुनौतीहरूलाई सम्बोधन नगरे नेपाली लघुकथाको सङ्ख्या बढे पनि गुणस्तरमा अपेक्षित विकास हुन कठिन देखिन्छ ।

११. प्रतिनिधि लघुकथाहरूको शिल्पगत विश्लेषण
नेपाली लघुकथाको समग्र मूल्याङ्कन गर्दा एउटै निष्कर्ष निकाल्न सकिँदैन । एकातिर उच्च कलात्मकता भएका उत्कृष्ट लघुकथाहरू सिर्जना भइरहेका छन् भने अर्कोतिर विधागत अनुशासनको कमी भएका रचनाहरू पनि बढिरहेका छन् । समकालीन अध्ययनहरूले नेपाली लघुकथामा सामाजिक यथार्थ, व्यङ्ग्य, प्रतीकात्मकता र अभिघात (impact) का माध्यमबाट प्रभावशाली अभिव्यक्ति विकसित भएको देखाएका पाइन्छः
(१) सामाजिक यथार्थवादी लघुकथाः यस प्रकारका लघुकथाले गरिबी, बेरोजगारी, वर्गीय विभेद, लैङ्गिक असमानता, राजनीतिक विसङ्गति तथा सामाजिक विकृतिलाई सूक्ष्म ढङ्गले प्रस्तुत गर्छन् । सफल सामाजिक यथार्थवादी लघुकथामा घटना सानो भए पनि त्यसले व्यापक सामाजिक अर्थ दिन्छ । ‘न्यून पात्र’, ‘जीवन्त संवाद’, ‘यथार्थपरक परिवेश’ ‘व्यञ्जनात्मक अन्त्य’ तथा ‘सामाजिक आलोचना’ जस्ता विषयका केही लेखकहरूले सामाजिक यथार्थ देखाउने क्रममा समाचारजस्तो विवरण मात्र प्रस्तुत गरेको पाइन्छ । त्यहाँ लघुकथात्मकताभन्दा बढी सूचना मात्रै हुने गरेको पाइन्छ । त्यसैले यही अवस्थाबाट नै शैल्पिक स्खलन सुरु हुने गर्दछ ।
(२) प्रतीकात्मक लघुकथाः ‘प्रतीक’ लघुकथाको प्रभाव विस्तार गर्ने महत्त्वपूर्ण उपकरण हो । एउटा रूख, एउटा ऐना, एउटा ढोका, एउटा चरा वा एउटा बत्तीले समेत गहिरो सामाजिक अर्थ व्यक्त गर्न सक्दछ । तर प्रतीक स्वाभाविक हुनुपर्छ । कथाबाट स्वतः उत्पन्न भएको प्रतीकले मात्र पाठकलाई प्रभाव पार्छ । कृत्रिम प्रतीक प्रयोग गर्दा अर्थ अस्पष्ट हुन्छ र कथा जटिल बन्न पुग्दछ (अर्याल, २०७८, पृ. ६३) ।
(३) व्यङ्ग्यात्मक लघुकथाः नेपाली लघुकथामा व्यङ्ग्यको प्रभावशाली परम्परा विकसित भएको छ । भ्रष्टाचार, सत्ता, सामाजिक ढोंग तथा नैतिक पतनमाथि व्यङ्ग्य गर्ने लघुकथाहरू उल्लेखनीय छन् । समकालीन अध्ययनहरूले पनि व्यङ्ग्य, अन्योक्ति र अन्त्योत्कर्षलाई नेपाली लघुकथाको प्रमुख कलात्मक विशेषता मानेका छन् । तर व्यङ्ग्य केवल हँसाउने साधन होइन, यसले सोच्न बाध्य बनाउनु पर्छ (अर्याल, २०७८, पृ. ५९) भने कटाक्षका लागि मात्र कटाक्ष गरिएका रचनामा कलात्मक गहिराइ कम हुन्छ ।

१२. नेपाली लघुकथामा समालोचनाको भूमिका
साहित्यको विकासमा सिर्जनासँगै समालोचना पनि आवश्यक हुन्छ । जहाँ स्वस्थ समालोचना हुँदैन, त्यहाँ गुणस्तर मापन गर्ने आधार कमजोर बन्छ । नेपाली लघुकथाको क्षेत्रमा अनुसन्धान र समालोचना विगत केही दशकमा विस्तार भएको छ। विभिन्न विश्वविद्यालयीय शोधहरूले लघुकथाको युगचेतना, संरचनात्मक स्वरूप, सामाजिक यथार्थ र विशिष्ट लघुकथाकारहरूको योगदानको अध्ययन गरेका छन् । जसमा ‘निष्पक्ष समालोचनाको कमी’, ‘मित्रवत् प्रशंसाको प्रवृत्ति’, ‘गहिरो शिल्पविश्लेषणको अभाव’ तथा ‘विधागत मापदण्डको असमान प्रयोग’ जस्ता कारणले कमजोर रचना पनि उत्कृष्ट भएको भ्रम सिर्जना हुन गएको पाइन्छ । त्यसैले नेपाली लघुकथामा समालोचनाको भूमिका अत्यन्त आवश्यक देखिन्छ ।

१३. अनुसन्धानले देखाएका प्रमुख प्रवृत्तिहरू
त्रिभुवन विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा सम्पन्न अनुसन्धानहरूले नेपाली लघुकथामा केही साझा प्रवृत्तिहरू औँल्याएका देखिन्छन् । जसमा ‘सामाजिक यथार्थको सशक्त उपस्थिति’, ‘व्यङ्ग्यात्मक चेतनाको विकास’, ‘प्रतीकात्मक अभिव्यक्तिको प्रयोग’ तथा ‘उत्तरआधुनिक विषयवस्तुको विस्तार’ जस्ता विषयले मात्रै संरचनात्मक कसिलोपन सफल लघुकथाको प्रमुख विशेषता हुनु हो भन्ने मान्यता राखेको पाइन्छ । यसका साथै पछिल्ला समालोचनात्मक लेखहरूले लघुकथामा बढ्दो सतहीपन, सामाजिक सञ्जालमुखी लेखन र विधागत अनुशासन कमजोर हुने प्रवृत्तिप्रति पनि अनुसन्धानमुखी संस्थाहरूले चिन्ता व्यक्त गरेका पाइन्छन् ।

१४. शैल्पिक स्खलन न्यूनीकरणका उपाय
नेपाली लघुकथाको गुणस्तर अभिवृद्धिका लागि विधागत प्रशिक्षण नहुनु, सम्पादन संस्कृतिको विकास नहुनु, अध्ययनशील लेखक निर्माण नहुनु, स्वस्थ समालोचना नगर्नु, डिजिटल माध्यमको प्रयोग रहनु तथा अनुसन्धानको विस्तार नदेखिनु समस्याहरू रहेका देखिन्छन् । यस्ता समस्याहरूको निराकरण गर्नका लागि लघुकथाको सिद्धान्त, संरचना तथा विश्व साहित्यका उत्कृष्ट नमुनाहरूको अध्ययनलाई प्रोत्साहन गर्नुपर्छ भने रचना लेखेपछि कम्तीमा दुई-तीन पटक पुनर्लेखन गर्ने अभ्यासलाई आवश्यक ठानेर लेखकले प्राथमिकीकरण गर्नु पर्दछ । साहित्यिक पत्रिका तथा प्रकाशकहरूले पनि कडा सम्पादकीय मापदण्डलाई अपनाउनुपर्छ । लेखकले नेपाली मात्र होइन, हिन्दी, अङ्ग्रेजी तथा अन्य भाषाका उत्कृष्ट लघुकथाहरू पनि पढ्नु अनिवार्य छ । अध्ययनले मौलिकता र कलात्मक दृष्टिले दुवै पक्षको विकास गर्छ । प्रशंसा मात्र होइन, तर्कसंगत समीक्षा र शिल्पगत मूल्याङ्कनलाई पनि प्रोत्साहन गर्नुपर्छ । सामाजिक सञ्जाललाई प्रारम्भिक प्रकाशनस्थलका रूपमा प्रयोग गर्न सकिए पनि अन्तिम साहित्यिक रूप दिनुअघि आवश्यक परिमार्जन गर्नुपर्छ । विश्वविद्यालयहरूमा लघुकथामाथि थप अनुसन्धान, गोष्ठी र सेमिनार सञ्चालन गर्नुपर्छ । यसले विधागत चेतना बलियो बनाउँछ ।

१५. निष्कर्ष
नेपाली लघुकथामा देखिएको शैल्पिक स्खलन कुनै एक कारणले मात्र उत्पन्न भएको होइन । विधागत ज्ञानको अभाव, सम्पादन संस्कृतिको कमी, सामाजिक सञ्जालको प्रभाव, कथाभन्दा विचारलाई प्राथमिकता दिने प्रवृत्ति, भाषिक असावधानी तथा अध्ययनको कमी जस्ता अनेक पक्षले यसलाई प्रभावित गरेका छन् । तथापि यी समस्या सुधारयोग्य छन् । अध्ययन, अभ्यास, समालोचना र साहित्यिक अनुशासनलाई प्राथमिकता दिए नेपाली लघुकथाले अझ उन्नत कलात्मक रूप प्राप्त गर्न सक्छ । नेपाली लघुकथा आज नेपाली साहित्यको सशक्त र लोकप्रिय विधाका रूपमा स्थापित भइसकेको छ । यसले समाज, राजनीति, संस्कृति र मानवीय जीवनका जटिल पक्षहरूलाई छोटो तर प्रभावकारी संरचनामा अभिव्यक्त गर्न सफल भएको छ । तथापि यसको विकाससँगै शैल्पिक स्खलनका चुनौतीहरू पनि देखिएका छन् ।
विधागत ज्ञानको कमी, सम्पादन संस्कृतिको अभाव, सामाजिक सञ्जालको प्रभाव, कथाभन्दा सन्देशलाई प्राथमिकता दिने प्रवृत्ति, भाषिक असावधानी, कृत्रिम प्रतीक प्रयोग तथा मौलिकताको कमी शैल्पिक स्खलनका प्रमुख कारण हुन् । यी समस्याहरू समाधान गर्न अध्ययन, अनुसन्धान, पुनर्लेखन, समालोचना र साहित्यिक अनुशासनको विकास अपरिहार्य छ । भविष्यमा नेपाली लघुकथाको सफलता यसको सङ्ख्याले होइन, गुणस्तरले निर्धारण गर्छ । जब लेखकले जीवनको सूक्ष्म अनुभवलाई कसिलो शिल्प, जीवन्त भाषा र गहिरो व्यञ्जनासहित प्रस्तुत गर्न सक्षम हुन्छन्, तब नेपाली लघुकथा विश्वस्तरमा पनि आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सकछ ।

सन्दर्भ-सूची
अर्याल, लक्ष्मण. (२०७८). लघुकथा विदर्शन. चितवनः वाल्मीकि साहित्य सदन ।
अश्क, गोपाल. (२०८१). लघुकथा प्रक्रिया र पाठ. चितवनः नमस्ते आधुनिक लघुकथा मञ्च ।
गौतम, लक्ष्मणप्रसाद. (२०७२). लघुकथाको रचनाविधान. काठमाडौँ: लघुकथा समाज ।
चालिसे, विदुर. (२०७९). लघुकथालय. चितवनः नमस्ते आधुनिक लघुकथा मञ्च ।
चालिसे, विदुर. (२०८०). लघुकथाकल्प. चितवनः नमस्ते आधुनिक लघुकथा मञ्च ।
भट्ट, पुष्करराज. (सन् २०१७) नेपाली लघुकथामा युगचेतना (अप्रकाशित शोधप्रबन्ध). काठमाडौः त्रिभुवन विश्वविद्यालय, नेपाली
विभाग ।
पोखरेल, ईश्वरीप्रसाद. (सन् २०२२). ‘समकालीन साहित्यमा नेपाली लघुकथाको प्रभाव’ कलादर्पण. रूपन्दहीः बुटबल बहुमुखी
क्याम्पस
पौडेल, शालिकराम. (सन् २०२३). ‘कपिल लामिछानेको लघुकथाकारिता’ प्रज्ञान. पाल्पाः त्रिभुवन बहुमुखी क्याम्पस ।
सुवेदी, इन्दिरादेवी. (सन् २०१८). कल्याण पन्तका लघुकथाको अध्ययन (अप्रकाशित शोधप्रबन्ध). त्रिभुवन विश्वविद्यालय ।
शर्मा, गीता. (२०१३) 'नगर सभाको पाँचौँ दिन' लघुकथासङ्ग्रहको अध्ययन (अप्रकाशित शोधप्रबन्ध). त्रिभुवन विश्वविद्यालय ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।