19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देवीथाने ढुङ्गो

कथा विमल लामिछाने July 7, 2026, 12:17 am
विमल लामिछाने
विमल लामिछाने

‘देवीथाने ढुङ्गो’ भनेपछि गाउँमा नचिन्ने कोही थिएनन् । वारीपारी सबैलाई देवीथानले कमसेकम पनि वर्षमा दुईपटक आकर्षण गथ्र्यो । देवीथानमा कोही फूलपाती चढाउँथे त कोही बोका, कुखुरा, परेवा आदिको बली चढाउँथे । उँधौली र उँभौली गरी वर्षमा दुइपटक देवीथानमा आउ–जाउ गर्न मुस्किल हुने भिड लाग्थ्यो ।

गाउँको शीरमा ठिङ्ग उभिएको त्यो विशाल पहरो पुस्तौँदेखि गाउँको रक्षक र साक्षी दुवै थियो । त्यसै पहराको कन्दरामा अहिल्यै झरिहाल्छ कि जस्तै अवस्थामा अढेस लागेको हेमानको ढुङ्गो मुनीपट्टी ओडार बनाएर अचम्मले अढेको थियो । त्यही ढुङ्गामा प्राकृतिक रुपले त्रिसुल, शंख र तुल आकारमा कोरिएका जस्ता देखिने संकेतहरु र विच विचमा विभिन्न भगवानका रुप जस्ता आकृतिहरु प्रष्टसँग देखिन्थे । त्यसको नजिकै एउटा पुरानो मन्दिर थियो, मन्दिरभित्रपनि ढुंगाकै चिल्ला तर कोही काला कोही सेता, कोही बैजनी रङ्गका शिला स्थापित थिए । मानिसहरू त्यसलाई पूर्खादेखि पुजेको ‘बुढा देवताको भिर’ भन्थे र बडो श्रद्धा गर्थे । तर मन्दिरका मुख्य पुजारी घनश्यामका लागि भने त्यो ढुङ्गाको पहरो केवल पेट पाल्ने र सोझा गाउँलेहरूबाट भेटी संकलन गर्ने माध्यम मात्र थियो । उनका सहयोगी सुवास र गाउँका ठालु मुखिया मानबहादुरका लागि पनि त्यो देवस्थल आस्थाको केन्द्र नभएर आफ्नो स्वार्थ सिद्ध गर्ने थलो बनेको थियो । भाकल गरे मनोकामना पूरा हुन्छ, निसन्तानहरुले श्रद्धा गरे सन्तान प्राप्ति हुन्छ । पापीहरु मोक्ष हुन्छन्, प्रेमी प्रेमिकाहरुको मनकामना पूरा हुन्छ, आदि आदि फल प्राप्त हुने प्रचारले भक्तजनहरुको भिड नै लाग्थ्यो ।

एक वर्ष गाउँमा अभूतपूर्व खडेरी पर्यो । पाखाहरू सुके, पानीका मुहानहरू सुके र गाउँमा महामारी फैलिन थाल्यो । पीडाले छटपटाएका गाउँलेहरू रोइकराइ गर्दै मन्दिरको आँगनमा जम्मा भए । मुखिया मानबहादुरले जुँगामा ताउ लगाउँदै भने, ‘हेर्नुस् गाउँले हो, देवता रिसाएका छन् । अब ठूलै पूजा गर्नुपर्छ, सबैले गच्छेअनुसारको सुनचाँदी र भेटी चढाउनूस् । पुजारी घनश्यामले पनि मुखियाको कुरामा थपडी मार्दै देवीस्थान र मन्दिरका अनेकौँ काल्पनिक महात्म्य सुनाउन थाले र भेटीको डालो अगाडि सारे । तर दिनहरू बित्दै जाँदा पनि संकट टरेन । पानीपर्ने संकेत सम्म पनि गरेन ।

त्यसपछि गाउँलेहरूको आक्रोश बढ्न थाल्यो । एक रात, मन्दिरको एकान्तमा घनश्याम, मुखिया मानबहादुर र सहयोगी सुवास मात्र थिए । बाहिर गाउँलेहरूको चित्कार सुनिन्थ्यो । घनश्यामले दिक्क हुँदै देवीस्थानको अगाडि थुकेर भने, ‘यो साला निर्जीव ढुङ्गाले गर्दा आज हाम्रो साख जाँदै छ ! न यसले बोल्छ, न त गाउँलेलाई चमत्कार देखाउँछ । यो त सिर्फ एउटा ढुङ्गो त हो नि ! मुखिया मानबहादुरले पनि हिक्क हिक्क हाँस्दै थपे, ‘हो त नि पुजारी जी, हामीले त यसकै नाममा दुनियाँ लुट्यौँ, तर आज यसले हाम्रो नाक काट्ने भयो । यो नबोल्ने ढुङ्गाको के भरोसा !’ सहयोगी सुवासले पनि उनीहरूको कुरामा हो मा हो मिलायो ।

ठीक त्यही बेला, देवीस्थानको वातावरण अचम्मसँग चिसियो । गर्भगृहको हावा जम्मिए जस्तो भयो र पानी दर्कियो । बाहिरको वातावरण एकाएक शान्त भयो । तर, देवस्थलको मध्यभागमा रहेको त्यो कालो शिलाबाट एउटा गम्भीर, भारी र प्रतिध्वनित आवाज निस्कियो । त्यो आवाज बाहिरबाट आएको थिएन, बरु उनीहरूको आफ्नै चेतनाको गहिराइलाई चिर्दै निस्किएको त्यो आवाजले उनीहरूको मस्तिस्कमा कम्पन दिइरहेको थियो ।

यतिकैमा पुजारी थरथराउँदै काम्न थाले । उनको सरिरमा अनौठोको कम्पन उत्पन्न भयो, मानौ धामीहरुले बके झै उनी बर्वराउन थाले – ‘ म देवी हुँ, देवी.... हे सोचाइका बुझक्कड–स्वाँठहरू !’ त्यो आवाजको कम्पनले मन्दिरका दिवारहरू हल्लिए जस्तो भयो, ‘तिम्रो सोचाइ र बुझाइलाई धिक्कार छ ! तिमी मलाई निर्जीव सोच्छौ ? एक फेर तिम्रो मनको मैलो पखालेर, आँखाको खैरो मिल्काएर ठन्डा दिमागले सोचेर त हेर ।’

पुजारीले आफै र आफूहरुलाई नै गाली गर्दै बकेको देखे र सुनेपछि मुखिया र सुवास डरले लगलगाउँदै भुइँमा थचक्क बसे । आवाज फेरि गुञ्जियो, ‘मन्दिरका दिवार पल्टाऊ, घरका भित्ताहरू उक्काऊ, पथ र पाखा जहाँ–जहाँ जाऊ तर मेरै नाम सुन्छौ, मेरै सुगन्ध पाउँछौ । म त सिर्फ एक ढुंगा हुँ, ...ढुंगा । म एक तर मेरा काम अनेक, जे लगाऊ, जसरी गराऊ, घरका भित्तामा लगाउ, खेतको आलिमा लगाउ, खोलाको भेल थुन्नमा लगाउ जहाँ लगाउ ठ्याक्कै मिलिहाल्छु । तिमीले संसारलाई फलाक्ने इतिहास मेरै छातीमा कोरिएर ‘शिलालेख’ भएको छ । म अलिकति चिल्लो र लामो रुपको भेटिएँ कि ‘शिवलिङ्ग’ भनेर पुज्नेको कमि छैन । आध्यात्मिक भएर हेर्छौ भने म भगवानको रुप हुँ । आधुनिक भएर हेर्छौभने म विज्ञानको रुप हुँ, अणु र प्रमाणुसम्म टुक्रिन सक्छु । तिम्रा नसा–नसा मेरै कुना–कन्दरा रसाएर भिजेका छन्, जसबाट पल–पल तिमी सास फेरेर गज्किरहेका छौ । तर तिमी आफूलाई पुजारी र महामानव ठान्छौ !’

धुप ध्वार गरे, हे भगवान तिमी को हौं ? सत्य बताइदेउ, घनश्यामले हात जोड्दै काँपेको स्वरमा सोधे, ‘यदि तिमी सजीव हौ भने अहिलेसम्म किन बोलेनौ ? किन हाम्रो दुःख हेरिरह्यौ ?’

पहरामा शिलाबाट निस्किएको झन् कडा स्वर गुञ्जियो, ए.. मूर्ख मनुवा ! ‘नबोल्दैमा कोही निर्जीव हुँदैन । गाम्भीर्यको गहिराइले आवाज नआएको हुन सक्छ, अथवा तिम्रा कमसल कानले मेरो भाषा ग्रहण नगरेको हुन सक्छ । प्रकृतिका हरेक बस्तुको आफ्नै भाषा हुन्छ तर बुझ्न सक्नु र नसक्नुमा फरक पर्ने हो । मूर्ति बनाएर होस् वा शालिग्रामको लोभ देखाउँदै, तिमीहरू दुनियाँबाट भेटी उठाउँछौ । भेटीकै खातिर मूर्तिका सारा महात्म्य सुनाउँछौ, गुणगान गाउँछौ । तर फेरि, मूर्ति र शालिग्राम ढुङ्गा हुन् भन्ने भुल्छौ र आफूलाई सजीव महामानव देखाउँदै आज तिम्रो स्वार्थ पूरा नहुँदा मलाई तिरस्कार गर्छौ । के तिम्रो र मेरो सम्बन्ध सामुन्ने आइलागेको दौलतले तिम्रो गर्जो टार्नु र तिम्रो अहँकार पूरा हुनुको मात्र थियो र ?’

मुखिया मानबहादुर र सुवास पहराको नेपत्थ्यबाट आएको आवाजको डरले कोठाको कुनामा कोचिए । उनीहरूले बुझिरहेका थिए कि जसलाई निर्जीव सम्झेर खेलबाड गरिरहेका थिए, त्यो त प्रकृतिको, सृष्टिको र यो धर्तीको परम आधार रहेछ ।

ढुङ्गाको आवाज अझ तेज भयो– ‘प्रकृति मानव जीवनका लागि ‘जीवन्त फोक्सो’ हो । मानव शरीरलाई क्षणक्षणमा चाहिने अक्सिजन वनस्पति र जंगलले नै उत्पादन गर्छन् । तिमीले फेर्ने प्रत्येक सासमा प्रकृतिको प्रत्यक्ष गुण हुन्छ । यदि प्रकृतिमा रहेका बोटबिरुवा र समुद्री वनस्पति नहुने हो भने वायुमण्डलमा अक्सिजन र कार्बनडाइअक्साइडको सन्तुलन बिग्रन्छ । यी बनस्पतिलाई पर्खाल बनेर अढ्याउने काम मैले नै गरेको छु ।

मानव जीवनको अस्तित्व प्रकृतिमा रहेका साना–ठूला जीवजन्तु, कीरा फट्याङ्ग्रा जसको परागसेचन विना संसारका अधिकांश अन्नबाली र फलफूल उत्पादन हुन सक्दैनन् । ति जीवजन्तु र कीराफट्याङ्ग्रा मेरै ओतलागेर बसेका छन् ।

पानी नै जीवन हो, र यो जलचक्र पूर्ण रूपमा प्रकृतिमा निर्भर छ । हिमाल, नदी, ताल र जंगलले गर्दा नै पृथ्वीमा शुद्ध पिउने पानीको निरन्तर आपूर्ति भइरहेको हुन्छ, त्यो पानीको मुहान मेरै गर्भबाट सिर्जित छ । प्रकृतिले पानीलाई फिल्टर गर्ने र पुनः भण्डारण गर्ने काम गर्छ । यदि प्रकृति सुरक्षित भएन भने जलस्रोतहरू सुक्छन् र मानव सभ्यता तिर्खाले नै समाप्त हुन्छ । प्रकृतिले सित्तैमा दिने यो अमूल्य उपहारविना मानव जीवनको कुनै पनि आर्थिक, सामाजिक वा शारीरिक प्रणाली चल्नै सक्दैन मूर्ख मनुवा... ।

तर, आवाज यतिमै रोकिएन । अब एउटा महाविनाशको चेतावनी जस्तै सुनिन थाल्यो, ‘सायद तिमीहरूलाई थाहै होला, परमाणविक बम पनि आवाजविहीन नै हुन्छ । तर उसको आवाज जब तिमीले सुन्ने अवस्थामा पुग्छ, कसै गरी पनि त्यसलाई निस्तेज गर्न सक्ने छैनौं । तिमीहरूले सामना पनि गर्न सक्नेछैनौ । जति उफ्रे पनि, तिमी भागे पनि, तिमी केवल डढेलोका बीचको सुकेको वृक्ष हुनेछौ । त्यसैले सोच, मेरो ढुङ्गारुपी शरिर टुक्रिएर उछिट्टिएको एउटा सानो चोइटाले नै पनि ठुलै बज्रपात लगाउँछ, यदि पहरै पल्टिनु परे के होला ? ख्याल गर, म तिमीले सोचेको जस्तो बगरका किनारिएको गिटी होइन, जसलाई चाहियो, उसले सरक्क उठाएर लान सक्ने । म त पहरामा अडेको पर्वतीय ढुङ्गा हुँ, त्यसैले मलाई परापूर्वकाल देखिनै पर्वतकी देवी’ भनेर पूजा गर्ने गरेका छन् ।

भोलिपल्ट बिहान मन्दिरमा पुनः सन्नाटा छायो । बिहानीको झुल्के घामका किरणहरू पहरामा ठोक्किँदै मन्दिरभित्र छिरे । गाउँलेहरूले मन्दिरको ढोकामा एउटा अनौठो दृश्य देखे । पुजारी घनश्याम, मुखिया मानबहादुर र सुवास मन्दिरको ढोका अगाडि भुइँमा टाउको राखेर थरथर काम्दै रोइरहेका थिए । तर उनीहरूको हातमा अब भेटीको डालो थिएन । उनीहरूले मन्दिरको मूर्तिमा मात्र होइन, गाउँको त्यो विशाल पहरो, बाटोका गिटी र धर्तीको हरेक कणमा साक्षात शक्तिको रूप देखिसकेका थिए ।

मानवको अहँकारले जब प्रकृति र अस्तित्वको अपमान गर्छ, तब शान्त रहेको देवीस्थानको ढुङ्गा पनि पहरो बनेर प्रत्युत्पादक हुन सक्छ भन्ने सत्य बुझेपछि उनीहरूले अहँकार त्यागे, माफि मागे र धुपधुवार गरे । अनि हृदयदेखिनै प्रकृतिको पूजा गर्न थाले । त्यस दिनदेखि गाउँमा प्रकृतिको साँचो आदर सुरु भयो, अनौठो गरी एकाएक खडेरी हट्यो । केही दिनमै पहराका कन्दराहरूबाट स्वच्छ पानीका मुहानहरू भुल्भुलाउन थाले ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।