चराचुरुङ्गीको चिरविर चिरविर आवाजले शान्त वातावरणलाई बिथोलिरहेको थियो । मेरो आँखामा उसको मुहार नाचिरहेकाले बाहिरी वातावरणको मनमोहक दृश्यले मलाई आकर्षित गर्न सकिरहेको थिएन । प्रिय वस्तु टाढा भएपछि मानिसको मनलाई बिथोल्न काफी हुँदोरहेछ । साँच्चै मेरो मन पनि उसको पर्खाइमा बेचैन हुँदै थियो । मेरो बेचैनीलाई कसले बुझ्ने ! आफ्नै मान्छेले नबुझेपछि ! म यो कुरा कसैसँग साझा गर्न पनि सक्दिनँ र सक्ने कुरा पनि भएन। मेरी आमा मेरो सबैकुराको साझेदार हुँदाहुँदै पनि मेरो र उसको माया–प्रेमका कुरा सुनाउन सकिरहेकी थिइनँ । मेरी आमाले उसलाई पनि निकै माया गर्नुहुन्थ्यो, गाउँको असल केटा ठानेर । हामी एउटै क्याम्पसमा पढ्दै थियौँ । बि.ए.को दोस्रो वर्षमा । आज उसले मलाई बेतना सिमसार बोलाएको थियो ।
सिमसारको गेटले मलाई पनि अरूलाई जस्तै उभिएर स्वागत गरिरहेको थियो । म टिकट काटेर भित्र प्रवेश गरेँ । गोरेटो बाटोको दायाँबायाँ विभिन्न जातका फूलहरू फुलेका देखिँदै थिए । नजिकै रहेको सभाहलमा आउने–जाने मानिसहरूको दोहोरो क्रम चलिरहेको थियो । अगाडि बढ्दै मैले हातमा रहेको मोबाइलमा आँखा डुलाएँ । म आइपुगेको तीस मिनेट बितिसकेको रहेछ । प्रतीक्षाले मान्छेमा बेचैनी बढाउँदो रहेछ । छटपटीले धैर्यता गुमाउँदो रहेछ । मेरो बेचैन मन ऊसँग क्रोधित हुँदै थियो । अवश्य आउनेछ भन्ने भरोसाले ऊप्रति क्रोधित भएको मेरो मनलाई सान्त्वना दिइरहेको थियो ।
म अलिकता माथितिर लागेँ । छेकेर बनाइएको पोखरीमा माछाहरू खेलिरहेका देखिँदै थिए । पोखरीको डिलमा बसेर माछाहरूको नृत्य हेर्न म व्यस्त भएकी थिएँ । उसको प्रतीक्षामा छटपटिएको मेरो मनलाई पोखरीमा आहाराको खोजीमा सल्बलाइरहेका माछाको मनमोहक दृश्यले शान्ति प्रदान गरिरहेको थियो । पोखरीको पल्लो किनारतिर पानीहाँसको बथान पानीमा डुबुल्की मारेर रमाउँदै खेलिरहेका थिए । पोखरीको मध्यभागमा बनाइएका सारस चराहरूलाई म बसेको स्थानबाट कृत्रिम हुन् भनेर छुट्याउनु सहज थिएन । पोखरीको पश्चिमतिर बनाइएको कालो कमिला झन् मनमोहक र आकर्षक देखिन्थ्यो । पारी जानका लागि पानीमाथि बनाइएको छानोवाला काठेपुल अति मन लोभ्याउने खालको थियो । मन खुसी पोखरीको डिलतिर निस्किएर केही कछुवाहरू झार खाँदै घाम तापिरहेका देखिँदै थिए । वयस्क र अभिभावकसँग केटाकेटीहरू पैडलवाला प्लास्टिक नाव पोखरीमा चलाउन व्यस्त थिए । कतैकतै युवायुवतीहरू जोडीजोडी बसेर गपशप गरेको देखिँदै थियो ।
यो बेतना सिमसारमा दैनिक मानिसहरूको आवतजावत ठूलो संख्यामा भइरहेकै हुन्थ्यो । अलिक माथितिर मानिसको भीड देखिँदै थियो । स्टेन्डवाला क्यामराअगाडि नृत्य हुँदै थियो । त्यहाँ फिल्म सुटिङ हुँदैछ भन्ने जोकोहीले पनि सहजै अनुमान गर्न सकिन्थ्यो । बेतना सिमसारको प्रवेशद्वार नजिक रहेको सभाहलबाट साउन्ड बक्सको आवाज आइरहेको थियो । कुनै कविता लयात्मक तरिकाले वाचन भइरहेको सुनिँदै थियो । त्यो सभाहलमा हप्ताको एक–दुई पटक साहित्यिक गोष्ठी, सेमिनार, चित्रकला प्रदर्शनी हुने गर्थ्यो । आजचाहिँ साहित्यिक कार्यक्रम चलिरहेको रहेछ । एक–दुई पटक रूपेशसँग म पनि साहित्यिक कार्यक्रममा भाग लिन आएकी थिएँ । बनभोज खानेहरूको उस्तै भीडभाड देखिन्थ्यो । मानिसहरू आवतजावत गरिरहेका थिए । यस्तो रमणीय स्थानको अवलोकनले केही समय मनको पीडाबाट मुक्ति मिल्दोरहेछ । साँच्चै मान्छेको मन पनि बिछट्टको हुँदोरहेछ । म मनमनै बुद्बुदाएँ— "जता आकर्षित भयो उतै रमाउने ।"
माछाको चारो भुजा घरबाट ल्याएकी थिएँ । मैले हालेको चारो खान माछाहरू तँ छाड म छाड गरिरहेका थिए । त्यो दृश्यले सहजै मानव मनलाई आकर्षित पार्थ्यो । आखिर म पनि त कोमल मन भएकी मान्छे नै हुँ, त्यसबाट बच्न सक्ने कुरै भएन । आखिर मभित्र पनि मासुको कोमल मन थियो । त्यो मनमोहक दृश्यावलोकनले समय व्यतीत भएको मलाई हेक्कै भएन ।
अचानक आफ्ना आँखा कसैका हातले पछाडिबाट उभिएर छोपिदिएकाले म झस्किएँ । छोप्नेका हातहरूलाई छामेँ । हातहरू चिनेझैँ लाग्यो । असाध्यै मलाई माया गर्ने उही मेरो मायालु रूपेश पो रहेछ ।
मैले बिस्तारै आफ्ना आँखाबाट उसका दुवै हात हटाउँदै झर्किंदै हातमा रहेको मोबाइलमा टाइम हेर्दै भनेँ— "कस्तो लाज नभएको निर्दयी मान्छे.....दुई दुई घण्टा अर्कालाई कुर्न लगाउने ।"
"ननिरासाऊ न प्यारी... आमाले घरायसी सामग्री खरिदका लागि बजार पठाउनु भयो र पो ढिलो भयो । तिमीसँग भेट्नु छ भन्न मिलेन !" उसले मेरो छेउमा बस्दै मायालु स्वर ओकल्यो ।
"कति समयसम्म हाम्रो प्रेमको कुरा लुकाउने ! एकदिन त भन्नै पर्छ ।" म ठुस्स परेर रिसाएझैँ गरेँ । ममा पनि परिवारलाई उसको र मेरो माया–प्रीतिको कुरा सुनाउने आँटचाहिँ थिएन । यो सत्य हो, सत्यलाई पाठकसमक्ष लुकाउन चाहन्नँ र लुकाउँदिन पनि ।
मेरो हातमा खुल्ला रहेको भुजाको पोकोबाट भुजा निकाल्दै पोखरीका माछालाई ऊ चारो हाल्न थालेको थियो, एकाग्र भएर । हाम्रो प्रेम यति झाङ्गिसकेको थियो कि हरेक दिन एकपटक एकअर्कासँग बोल्न पाएनौँ भने मणि हराएको सर्पजस्तो हुने गर्थ्यौँ । यसलाई के भन्ने ! आसक्ति या उपासनीय प्रेम ।
माया, प्रेम भन्ने शब्दको बखान गर्न म कसरी सकूँली ! हजारौँ जिब्रोले परिपूर्ण भएको शेषनागलाई पनि हम्मेहम्मे होला ! मान्छेले प्रेमको परिभाषामा घण्टौँसम्म बहसमा समय बिताउन सक्लान् र म पनि केही समयसम्म तर्क गरौँली । कुरा कतापो बरालिएछ ।
म र रूपेशबीच त्यो दिन धेरै समयसम्म प्रेमको कुरा भयो । प्रेमी–प्रेमिकाले समय व्यतीत भएको होस नै पाउँदा रहेनछन् । हामीलाई पनि त्यस्तै भएको थियो । अर्को शनिबार फेरि घुम्न आउने वाचाका साथ मन नलागी नलागी घरतिर लागेका थियौँ ।
हाम्रो प्रेमको बारेमा क्याम्पसमा धेरैजसो विद्यार्थीलाई थाहा थियो । कतिपय शिक्षकले पनि लख काटेका हुन सक्छन् । रूपेशले पनि त्यो महसुस गरेको हुनुपर्छ । किनकि सबैको सामु ऊ मसँग धेरै कम बोल्न थालेको थियो । घरीघरी लाइब्रेरीमा म एक्लै भएको मौकामा ऊ नजिक आउँथ्यो, पुस्तक पढ्ने बहानामा । यदाकदा कोही नभएको मौका छोपेर म उसको गालामा म्वाइ खाइदिन्थेँ ।
"धत्... के गरेको ! अरूले देख्छन्.... त्यसै त कुरा काट्नेको संख्या बढिरहेको छ ।" मेरो नाक निमोठ्दै ऊ मुस्कुराउँथ्यो ।
म पनि मस्किँदै भनिदिन्थेँ— "डर छेरुवा...।"
"नकच्चरी..." यति भन्दै ऊ मलाई अँगालो मारेर आफ्ना ओठ मेरा ओठमा जोडिदिन्थ्यो । म अत्तालिँदै उसलाई घचेटेर आनन्दको अनुभूति गर्दै त्यहाँबाट भागेर बाहिरिने गर्थेँ । मैले ऊसँग पौँठेजोरी नखेलेको भए उसमा यति ठूलो साहस उत्पन्न हुँदैनथ्यो । म आफूले आफैँलाई दोषी मान्दै मनमनै मुस्कुराउँथेँ । प्रेम पनि विचित्रको हुँदोरहेछ ! मायालुको गल्तीचाहिँ नदेख्ने । त्यसैले "प्रेम अन्धो हुन्छ" भनिएको रहेछ क्यारे...! कथन जन्मदातालाई मनमनै धन्यवाद दिएकी थिएँ ।
यसैगरी आनन्दसाथ दिनहरू बितिरहेका थिए ।
मेरो यो खुसी सुखी जीवनमा अचानक ग्रहण लागेपछि आँखामा निन्द्रा, पेटमा भोक थिएन । आमा र मेरा साथीहरूले बारम्बार सोधिरहेका थिए— "के भयो आजकल तिमिलाई ?"
"........"
मसँग उनीहरूको प्रश्नको जवाफमा बोल्ने शब्द नै थिएनन् । म केवल असमञ्जस भावले उनीहरूलाई टुलुटुलु हेरिरहन्थेँ । भनौँ कसरी ! त्यो कुरा सर्वव्यापक भयो भने ! मनमा त्यो विचार उब्जनासाथ हातखुट्टा लुलिन्थे, डरले शरीर थरथरी काम्थ्यो । मभित्रको चञ्चलता तुसारोले कठ्याङ्ग्रिन्थ्यो । सायद रूपेशलाई पनि मेरैजस्तो भइरहेको होला । डरले मानिसलाई भित्रभित्रै गलाउँदो रहेछ । डर मनको भ्रम भन्ने गर्छन् कोही–कोहीले । म यसलाई मान्ने र स्वीकार्ने पक्षमा उभिन सकिनँ ।
ओछ्यानमा पल्टिएको निकैबेर हुँदाहुँदै पनि आँखामा निन्द्रा आउन सकिरहेको थिएन । रूपेशसँग त्यतिबेला जिस्कनु, इत्रिनु, छिल्लिनु जे गरियो, त्यो अहिले मेरा लागि अभिशाप बनिरहेको थियो । अभिशप्त जीवन के जीवन हो र ? आफ्नै शरीर आफूलाई बोझ लाग्ने । बोझ लागे पनि जिन्दगी जिउनु नै पर्दोरहेछ । जीवन खेर फाल्ने वस्तु होइन । तर पनि मानिसले यदाकदा आत्महत्या जस्तो निन्दनीय कार्यद्वारा जीवनलाई खेर फालेको घटना सुन्दा शरीर सिरिङ्ग भएर आउँथ्यो । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले त त्यस्तो काम गरौँला भन्ने कल्पनासम्म गर्दिनथेँ । मेरो दिमागले आज आत्महत्या भन्ने शब्दलाई बारम्बार सम्झिरहेको थियो ।
"धत् ! यस्तो नचाहिदो कुरा दिमागमा नखेलाऊ ।"
मेरो मनले मलाई धिक्कार्दै थियो । मैले आफ्नो टाउको झडकारेँ त्यो विचार हटाउनका लागि । हप्ता दिनदेखि भोकभोकै बसेकाले हिँडडुल गर्न गाह्रो हुँदैथियो । भोक लागेर मात्रै खान सकिँदैन रहेछ । खानका लागि भित्रैबाट रुचि जागेर आउनु पर्दोरहेछ । आत्तिएको मनमा रुचिको बास हुँदैन भन्छन् । साँच्चै हो रहेछ । म भर्खर यो सत्यलाई अनुभव गर्दैछु । पढेर आर्जन गरेको ज्ञानभन्दा अनुभवद्वारा आर्जित ज्ञान दुई गुणा असल हुँदोरहेछ ।
फोनको घण्टीले मेरो तन्द्रा भङ्ग भयो । सिरानीमुनिको मोबाइल ढल्केको अवस्थामै उठाएँ । रूपेशको फोन रहेछ ।
"हेल्लो ! तिमी निदाएकी छैनौ ?"
उताबाट आएको रूपेशको बोझिलो स्वर कानमा ठोक्कियो ।
"उहुँ....।"
मेरो असजिलो स्वर कोठाभरि छरियो ।
"विक्रान्तलाई भोलि एउटा मोबाइल किनिदिनुपर्ला ! त्यो जस्तो जोरीखोजासँग सहज रूपमा पिण्ड छुटाउन सकिँदैन । मसँग भएकोले पुग्दैन होला । तीन हजार तिमीसँग छ ?"
"त्यति त पुग्छ होला ।"
भयभीत मान्छे मुक्तिका लागि झट्ट तयार हुँदोरहेछ । हामीलाई मुक्ति चाहिएको थियो अनि त्यसको बदलामा विक्रान्तलाई मोबाइल । विक्रान्त फटाहा स्वभावको थियो र उसका साथीहरू पनि त्यस्तै थिए । हामी गाईप्राणी कसरी उनीहरूसँग भिडन्त गर्न सक्थ्यौँ ! डरले मान्छे काँतर हुँदोरहेछ । बलवानले मौका मिलाएर कमजोरसँग फाइदा उठाउँदो रहेछ । विक्रान्तले पनि हामीसँग फाइदा लिइरहेको थियो । मनले नमान्दा–नमान्दै पनि हामी लाचार थियौँ, विक्रान्तको फरमाइस पूरा गर्न ।
खुसुक्क विक्रान्तले लाइब्रेरीमा पसेर रूपेश र म जिस्कनु, इत्रिनु गरिरहेको अवस्थाको फोटो र पाँच सेकेन्डको भिडियो बनाउन भ्याएछ । जसमा रूपेशले मेरा ओठमा म्वाइ खाइरहेको लाजमर्दो दृश्य प्रस्टै देखिन्थ्यो । त्यही भिडियो र फोटो देखाएर ऊ हामीलाई धम्क्याउँदै थियो । सिधै भनौँ, ऊ हामीलाई ब्ल्याकमेल गरिरहेको थियो ।
रूपेश र मैले विक्रान्तसँग असङ्ख्य पटक बिन्तीभाउ गर्यौँ, ऊसँग भएको हाम्रो फोटो र भिडियो डिलिट गरिदिनु भनेर । कसाईको अगाडि बाख्राको आँसुको के अर्थ ! सामाजिक सञ्जाल, बाबुआमाको मेसेन्जरमा लगाइदिने भन्दै ऊ झन्–झन् हामीलाई धम्क्याउने गर्थ्यो । पटकपटकको बिन्तीभाउपछि उसले एउटा राम्रो मोबाइल दिएमा डिलिट गरिदिने वचन दिएको थियो ।
बाजको पञ्जामा परेको परेवाले जस्तो अनुभव गर्थ्यो, त्यस्तै अनुभूति हामी दुवैलाई भइरहेको थियो । मोबाइल दिँदा दुष्टको पञ्जाबाट छुटकारा पाउने झिनो आशाले मेरो मनको एउटा कुना रमाएको थियो । सायद रूपेशले पनि शान्तिको सास फेर्न थालेको होला ! यो मेरो अनुमान मात्र थियो । जीवनमा आफूले गरेका धेरै अनुमानमध्ये कतिपय अनुमान यथार्थमा परिणत भएका थिए । झिनो यही आशाको त्यान्द्रोको सहाराले हिमालयको उचाइ छिचोल्दै सुख स्थापित गर्ने इच्छा बोकी अर्कोतिर फर्केकी थिएँ, निदाउने उपक्रम गर्दै...
कोही–कोही मान्छे बिछट्ट धूर्त हुँदा रहेछन्— "मुखमा रामराम, बगलमा छुरा ।" विक्रान्त पनि हाम्रा लागि त्यस्तै साबित भयो । हामीबाट मोबाइल हात पारेपछि फोटो र भिडियो डिलिट गर्न आलटाल गर्यो । वचन पूरा गर् भनेर हामीले कर गर्दा उल्टै धम्की दिन्थ्यो ।
"अरे बाबा... दुईचार दिनभित्र गरिदिन्छु । रडाको मच्चाउने हो भने सबैतिर साझा गरिदिन्छु ।"
इमानदारीको पहिचान शिष्टतासँग जोडिएको हुन्छ भन्ने ज्ञान त्यो दिन मलाई पलाएको थियो । अभद्र मान्छे कसरी इमानदार हुन्छ !
"अर्काको भर, भोकभोकै मर ।"
यो उखान मेरो जीवनमा पहिलोपटक चरितार्थ भएको थियो । विक्रान्तलाई हाम्रो फोटो र भिडियो दुहुना गाई भएको थियो । ऊसँग वैरभाव बढाउने पक्षमा पनि थिएनौँ । उसको कुरा स्वीकार्नु नै हाम्रा लागि हितकर थियो । हामीलाई दोहन गर्न पाउँदासम्म उसले हाम्रो कमजोरी सार्वजनिक गर्दैन भन्नेमा हामी आशावादी थियौँ । उसको धूर्त्याइँ प्रतिदिन बढिरहेकाले हामी आजित भइसकेका थियौँ । लाजमर्दो कुरामा साथी र आफन्तलाई सुनाएर सरसहयोग लिन सक्ने स्थिति पनि थिएन । रूपेश लोग्नेमान्छे भएकाले म जति डराएको थिएन होला ! तर मेरोचाहिँ नौनारी गलेको थियो, मस्तिष्कमा यही कुराले डेरा जमाएकाले ।
आज शरीरभरि आलस्य छाएकाले म क्याम्पस जाने मुडमा थिइनँ । आमाले मेरो लामो केश सुम्सुम्याउँदै औधी मायालु स्वरमा सोधिरहनुभयो— "आजकाल तिमिलाई के भएको छ भनेर ?"
आमाको स्नेहले म भित्रभित्रै क्रमिक रूपमा पग्लँदै थिएँ । अधमरो भएको मेरो शरीरभरि केही ताजापन महसुस हुँदै थियो । आमा घरी मेरो केश त घरी पिठ्युँ सुम्सुम्याइरहनुभएको थियो । आमाको ममता साँच्चिकै शक्तिशाली हुँदोरहेछ । शक्ति प्रदानकर्ता आमाको सामुन्ने म निष्ठुरी हुन सक्ने अवस्थामा थिइनँ । आखिर अतीतमा मेरा सबै कुराको साझेदार र प्रिय परामर्शदाता उहाँ नै हुनुहुन्थ्यो । झन् अप्ठ्यारो परिस्थितिमा असल सल्लाहकार हुन नसक्ने कुरै भएन ।
म आमालाई झ्याम्मै अँगालो मारेर क्वाँ क्वाँ रुन थालेँ । उहाँले पनि मलाई छातीमा टाँसेर स्नेहपूर्ण ढङ्गले मेरो पिठ्युँ सुम्सुम्याइरहनुभयो । केही क्षणको रुवाइपछि मैले आमालाई रूपेशसँगको प्रेम र विक्रान्तले हामीमाथि गरेको सबै अत्याचारको आद्योपान्त वर्णन गरेँ ।
"रूपेश तिम्रो लागि योग्य नै छ । आखिर तिमीहरू एकअर्कासँग प्रेम गर्दछौ । माया गर्नेबीच त्यतिको छेडछाडलाई स्वाभाविक मानिन्छ । जहाँसम्म विक्रान्तको कुरा छ, तिमीहरू डराउँदासम्म उसले तिमीहरूलाई धम्क्याइरहन्छ । डरले मान्छेलाई कायर बनाउँछ । कायरता मुक्तिको उपाय होइन । तिमी क्याम्पस जान तयार होऊ । म कानूनविद्सँग सल्लाह गरेर विक्रान्तको पञ्जाबाट तिमीहरूलाई छुटकारा दिलाउनेछु । ममाथि भरोसा राख ।"
आमा मलाई सान्त्वना दिँदै भान्सातिर लाग्नुभयो । आमाको आश्वासनपछि मभित्रको डर केही मत्थर भएकाले क्याम्पस जाने तयारीमा जुटेँ ।
आफूलाई आइलागेको आपत बाबुआमालाई सुनाउँदा समाधानका उपाय स्वयम् आफूभित्र स्वस्फूर्त उत्पन्न हुँदारहेछन् । क्याम्पस जाँदा आजचाहिँ मेरो मन हल्का र फुर्तिलो भएको अनुभूति हुँदै थियो ।
रूपेश र म हतारमा कक्षाकोठातिर लाग्दै थियौँ । अचानक विक्रान्तले बाटो छेक्दै जिस्क्यायो ।
"के छ त प्रेमीहरू ! आज त टिफिनमा नास्ता खुवाउने हैन ?"
"अर्काको के आस गर्छौ... आफू किनेर खान सक्दैनौ ! हुतीहारा.....।" मैले झर्कँदै जवाफ दिएँ ।
"जो चोर उसको ठूलो स्वर ! नत्र फेरि..." ऊ हातमा भएको मोबाइल हामीलाई देखाउँदै थियो ।
उसको ठूलो स्वरलाई उछिन्दै म झन् कड्किएँ— "के गर्छौ ? हाम्रो भिडियो र फोटो तिमीसँग छ भनेर धम्क्याएको ! अब तिम्रो धम्कीले हामी डरिनेवाला छैनौँ ।"
यति भन्दै चितुवाको वेगले झम्टेर विक्रान्तको हातको मोबाइल खोसेर पिच सडकमा वेगले पछारेँ । हेर्दाहेर्दै मोबाइल चकनाचुर भएर छरपस्ट भयो । उसले कल्पनासम्म नगरेको घटना मबाट घटिसकेको थियो । ऊ विस्मित हुँदै घरी मलाई, घरी मोबाइलका यत्रतत्र छरिएका टुक्राटुक्रीलाई हेरिरहेको थियो ।
उसलाई म चोरीऔँला ठड्याउँदै सिंहले झैँ गर्जिएँ—
"विक्रान्त ! तैंले अझै हामीलाई र हाम्रा साथीहरूलाई यस्तो दुःख दिइस् भने साइबर क्राइमअन्तर्गतको मुद्दामा तँलाई जेलनेल ठोक्नेछौँ । हाम्रो परिवारलाई रूपेश र मेरो प्रेमको बारेमा जानकारी छ । निकट भविष्यमा हाम्रो विवाह हुँदैछ । निम्तो गरौँला, आउन मन लागे आउनु ।"
क्रोधले म 'तिमी'बाट 'तँ'मा उत्रिसकेकी थिएँ । मेरो शरीर थरथर कामिरहेको थियो । सासको गति तीव्र भएकाले स्वा... स्वा... हुँदै थिएँ ।
विक्रान्त कालोनिलो हुँदै शिर निहुराएर असहाय तरिकाले उभिएको थियो । सायद मेरो परिवर्तित रूपबाट ऊ चकित भएको थियो क्यारे । उसको च्याँखे मैले अचानक मारेकामा ऊ हताश देखिँदै थियो ।
दुईचार जना विद्यार्थीहरूले हामीलाई गोलाकार रूपमा घेरेर घटनालाई उत्सुकतासाथ हेरिरहेका थिए । घटना उत्सुकता जन्माउने खालकै भइरहेको थियो । उभिएर हेर्नेहरूको आँखामा मेरो लागि स्याबासी झल्किरहेको देखिन्थ्यो । हेर्नेहरूले विक्रान्तलाई "खुच्चिङ !" भनेर केवल मुख फोर्न सकेका थिएनन् झैँ भान हुन्थ्यो ।
मेरो पिठ्युँमा धाप मार्दै रूपेशले हर्षित स्वरमा भन्यो—
"क्या बात..! मेरी सिंहनी... हिम्मतवाली...! क्लास लागिसक्यो होला ! अब ढिला नगरौँ ।"
विक्रान्त शिर निहुराएर उभिएको उभिएकै थियो । ऊ विरोधमा बोल्ने र हाम्रो बाटो छेक्ने कुनै काम गर्न सकिरहेको थिएन । ऊ कमजोर भएको छ भन्ने त्यहाँ उपस्थित सबैले मापन गरिसकेका थिए ।
मैले सरसर्ती रूपेशलाई हेरेँ । उसका ओठमा मुस्कान नाचिरहेको थियो । साहसले बौरिएको खुसी सङ्गाल्दै म पनि रूपेशको हात समाएर कक्षाकोठातिर लागेँ, मनमनै रमाउँदै...........