दार्जिलिङ मङपू निवासी वरेण्य स्रष्टा उदय थुलुङ भारतीय नेपाली साहित्यका एकजना प्रतिष्ठित लेखक हुन्। उनि साधारण विषयहरूलाई लिएर असाधारण कथा लेख्न सक्छन्। आफ्नै वरिपरि, गाउँघरमा दैनन्दिन घटिरहने घटनाहरूमाथि आफ्नो लेखकीय विचक्षण दृष्टि राख्दछन् कथाकार उदय थुलुङ। साहित्य उनको साधना हो। उनको “एकान्तवास” कथा संग्रहका लागि २०१२ सनको साहित्य अकादेमी पुरस्कार प्राप्त गरेका थिए। “एकान्तवास” पछि उनको दोश्रो कथा संग्रह हो “अक्षरेखा”। कथाहरूले समकालीन जीवनका विविध सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक पक्षहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्। वर्तमान समाजका बदलिँदा मूल्य, उपभोक्तावाद, सञ्चारमाध्यमको प्रभाव, मानवीय सम्बन्ध, सत्ता, पहिचान तथा व्यक्तिको आन्तरिक द्वन्द्वलाई विभिन्न कोणबाट चित्रण गरेका छन्। कथाकारले यथार्थ र प्रतीकात्मकताको संयोजन मार्फत पाठकलाई समाजप्रति गंभीर रूपमा सोच्न बाध्य बनाएका छन्।
“सपना आतङ्क” कथाले मानिसका सपना, आकाङ्क्षा र यथार्थबीचको द्व्न्द्वलाई प्रस्तुत गरेको छ। सपना मानिसलाई अघि बढ़ाउने शक्ति भए पनि सामाजिक असुरक्षा, हिंसा र भयका कारण त्यही सपना कसरी आतङ्कमा रूपान्तरित हुन्छ भन्ने कुरा कथामा प्रभावकारी ढंगले चित्रण गरिएको छ। मनोवैज्ञानिक पक्षको सूक्ष्म प्रस्तुति यसको विशेषता हो। “होर्डिंङ” कथाले उपभोक्तावादी संस्कृतिको तीव्र विस्तार र विज्ञापनले निर्माण गरेको कृत्रिम संसारप्रति कथाकारको व्यङ्ग्य दर्शाउँछ। होर्डिङमा देखाइने आकर्षक संसार र वास्तविक जीवन बीचको दूरीलाई कथाले उजागर गर्छ। आधुनिक समाजमा मानिस वस्तुभन्दा पनि बजारको उपज बन्दै गएको यथार्थ कथाको मूल मर्म हो। “पखेटा” कथा स्वतन्त्रता, आकाङ्क्षा र आत्मपहिचानको खोजलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको कथा हो। पखेटाले केवल उडानको अर्थ नदिई मानिसको सम्भावना, स्वतन्त्र सोच र सीमाभन्दा माथि उठने चाहनालाई प्रतिनिधित्व गर्छ। भाषाशैलीमा काव्यात्मकता र प्रतीकात्मकता दुवै पाइन्छ। “केन्द्रीय वस्तु” कथाले समाजको केन्द्रमा देखिने विषय र वास्तवमा उपेक्षित रहिरहेका प्रश्नबीचको अन्तरलाई कथाले उजागर गर्छ। कथाकारले समाजका प्राथमिकताहरू कसरी परिवर्तन भइरहेका छन् भन्ने प्रश्न उठाएका छन्। यसले सामाजिक तथा वैचारिक विमर्शलाई अघि बढाउने क्षमता राख्छ। “डमी केटी” कथा बजारबाद, सौन्दर्य चेतना र महिलामाथिको वस्तुकरणप्रति केन्द्रित कथा हो। डमी केटी केवल पसलको सजावट होइन, आधुनिक समाजमा महिलालाई हेर्ने दृष्टिकोणको शक्तिशाली प्रतीक बनेर आएको छ। कथाले नारी अस्मिता, आत्मसम्मान र सामाजिक दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। “समाचार” कथाले सञ्चार माध्यमको भूमिका, समाचारको निर्माण प्रक्रिया र सत्यको प्रस्तुतीकरणमाथि केन्द्रित कथा हो। समाचार कसरी तथ्यभन्दा प्रभाव र व्यापारसँग जोडिन पुग्छ भन्ने यथार्थलाई कथाले उजागर गरेको छ। कथाकारको व्यङ्ग्य चेतना यस कथामा विशेष रूपमा प्रकट भएको छ। “लोडसेडिङमा पुकार सर” कथा सामान्य घटनाबाट गहिरो सामाजिक अर्थ निकाल्न सक्ने कथा हो। अन्धकार, अभाव र मानवीय सम्बन्धको न्यानोपनलाई कथाकारले प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्। लोडसेडिङ केवल विद्युत् अभावको संकेत नभई सामाजिक अन्योल, असुरक्षा र मानवीय संवेदनाको प्रतीक बनेर आएको छ।
दोश्रो भागमा “अदालत” कथाले न्याय प्रणाली, सत्य र अन्यायबीचको द्व्न्द्वलाई केन्द्रमा राखेको छ। कानुनी निर्णय र नैतिक न्याय सधैँ एउटै हुँदैनन् भन्ने गम्भीर प्रश्न कथाले उठाउँछ। शक्ति, पहुँच र सामाजिक असमानताका कारण न्याय कसरी प्रभावित हुन्छ भन्ने यथार्थलाई कथाकारले प्रभावकारी रूपमा चित्रण गरेका छन्। कथा सामाजिक आलोचनाका दृष्टिले निक्कै सशक्त छ। “इन्बक्स मेसेज” डिजिटल युगका सम्बन्ध, आभाषी निकटता र वास्तविक दूरीलाई विषय बनाइएको कथा हो। सामाजिक सञ्जालले मानिसहरूलाई जोडेजस्तो देखिए पनि भावनात्मक रूपमा टाढा बनाइरहेको विडम्बनालाई कथाले मार्मिक ढङ्गले प्रस्तुत गर्छ। छोटो सन्देशभित्र लुकेका गहिरा भावना र मौन पीडाको चित्रण कथाको प्रमुख उपलब्धि हो। “आधा अर्थ” कथा मानिसले सुन्ने, बुझ्ने र व्याख्या गर्ने प्रक्रियामा अर्थ कसरी अपूर्ण वा विकृत बन्छ भन्ने विषयमा केन्द्रित कथा हो। सम्बन्धमा उत्पन्न हुने गलतफहमी, संवादहीनता र अधुरो बुझाइका कारण जीवनमा आउने जटिलतालाई कथाकारले सूक्ष्म रूपमा चित्रण गरेका छन्। शीर्षक स्वयं कथाको मूल भावलाई सफलतापूर्वक व्यक्त गर्छ। “तल्लो घर” कथा सामाजिक वर्गीय विभाजन, उपेक्षा र मानवीय सम्बन्धको कथा हो। तल्लो घर केवल भौतिक स्थानको संकेत नभई सामाजिक हैसियत, आर्थिक अवस्था र अवसरको असमानताको प्रतीकका रूपमा प्रस्तुत भएको छ। “हाइवेको एउटा सानो कथा” हाइवेको आधुनिक विकास, तीव्र गतिशीलता र यात्राको प्रतीक हो। यस कथामा यात्राका क्रममा भेटिने सामान्य मानिस, साना घटनाहरू र तिनले बोकेका गहिरा जीवनसत्यलाई कथाकारले कलात्मक रूपमा प्रस्तुत गरेका छन्। सानो घटनाभित्र ठूलो सामाजिक यथार्थ खोज्ने कथाकारको क्षमता यहाँ स्पष्ट देखिन्छ। “आगोथेरापी” कथाले आगो विनाशको मात्र होइन, शुद्धीकरण र पुनर्जन्मको प्रतीक पनि हो भन्ने कुरो स्पष्ट पार्दछ। यस कथामा आगोलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै पीडा, आक्रोश, मानसिक बोझ र आत्ममुक्तिको प्रक्रियालाई प्रस्तुत गरिएको छ। मनोवैज्ञानिक गहिराइ र प्रतीकात्मक शैलीका कारण यो कथा सङ्ग्रहका उल्लेखनीय रचनामध्ये एक मानिन्छ। अन्तिम कथा “रामकथा”ले परम्परागत मिथकलाई समकालीन दृष्टिबाट पुनर्पाठ गर्ने प्रयास गरेको छ। रामकथाका परिचित पात्र र घटनाहरूलाई वर्तमान सामाजिक यथार्थसँग जोडदै कथाकारले न्याय, नैतिकता, सत्ता र मानवीय मूल्यबारे नयाँ प्रश्न उठाएका छन्। मिथकीय पुनर्व्याख्याका कारण कथा वैचारिक रूपमा प्रभावशाली बनेको छ।
कथाहरूमा भाषा सहज, परिमार्जित र प्रवाहपूर्ण छ। कथाकारले संवाद, प्रतीक, व्यङ्ग्य, आत्मसंवाद र मनोविश्लेषणात्मक शैलीको सन्तुलित प्रयोग गरेका छन्। कथानक अनावश्यक विस्तारबाट मुक्त छ भने पात्रहरू स्वाभाविक र विश्वसनीय छन्। समकालीन जीवनका विविध पक्षलाई कलात्मक रूपान्तरण गर्ने कथाकारको क्षमता यस संग्रहमा स्पष्ट देखिन्छ।
यस सङ्ग्रहमा सामिल कथाहरू समकालीन नेपाली समाजका सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक र नैतिक प्रश्नहरूको गम्भीर कलात्मक अभिव्यक्ति हो। यी कथाहरूले पाठकलाई मनोरञ्जन मात्र होइन, जीवन, सम्बन्ध, न्याय, प्रविधि, असमानता र मानवीय अस्तित्वबारे गहिरो तवरले सोच्न प्रेरित गर्दछन्। विषयवस्तुको विविधता, शिल्पगत परिपक्वता, प्रतीकात्मक गहिराइ र समकालीन चेतनाका कारण यी कथाहरू नेपाली कथासाहित्यमा महत्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गर्न सकिन्छ।