छवि वैरागी घिमिरे नेपाली साहित्यमा दार्शनिक, व्यङ्ग्यात्मक र शास्त्रीय काव्य–परम्परालाई आधुनिक चेतनासँग जोड्ने विशिष्ट कवि हुन्। भोजपुरमा जन्मिएका उनी पूर्वीय दर्शन, संस्कृत छन्द र समकालीन सामाजिक यथार्थलाई एउटै काव्यिक धारमा समेट्ने दुर्लभ प्रतिभा मानिन्छन्। हाल मोरङको सुन्दरहरैंचा बिराटचोकमा बसोबास गर्दै उनले साहित्यिक साधनालाई निरन्तरता दिइरहेका छन्। उनका कवितामा गहिरो दार्शनिक चिन्तन, सामाजिक आलोचना र आत्मजागरणको स्वर पाइन्छ। नेपाली साहित्यमा शार्दूलविक्रीडित जस्ता शास्त्रीय छन्दलाई आधुनिक विषयसँग पुनर्जीवित गर्ने उनको प्रयास अत्यन्त प्रशंसनीय छ। उनी समकालीन नेपाली काव्यमा विचार र चेतनाको सेतुका रूपमा स्थापित हुँदै गएका छन्।
यो कविता मानव चेतनाको आत्म–संवाद हो। यसले सभ्यताको सतही चमकभन्दा भित्र लुकेको नैतिक दरारलाई उजागर गर्छ। शार्दूलविक्रीडित छन्दमा संरचित भएकाले यसको ध्वनि मात्र काव्यात्मक होइन, दार्शनिक पनि छ जहाँ प्रत्येक पंक्ति एउटा प्रश्नझैँ उठ्छ र पाठकको अन्तर्मनमा गुञ्जिन्छ। “मान्छे गिर्यो मुन्तिर” भन्ने वाक्य यहाँ चेतनाको कम्पन हो, जसले मानव आत्म छविमा प्रश्न उठाउँछ।
मानवले आफूलाई प्रकृतिको शिखर ठान्छ। उसले बुद्धि, सभ्यता र विकासको गर्व गर्छ। तर यही गर्वभित्र अहंकार, विभाजन र आत्म–केन्द्रितताको एक अदृश्य पतन लुकेको हुन्छ। कविता यही विरोधाभासको अध्ययन हो। बाहिरी प्रगति र भित्री अवनतिको बीचमा उभिएको मानव अस्तित्व यहाँ स्पष्ट देखिन्छ।
यो रचना आत्मपरीक्षणको निमन्त्रणा हो। किनकि मानव आफूलाई उच्च ठान्दै गर्दा नै भित्रभित्रै तल झर्दै गएको हुन्छ। यही नै कविताको मूल दार्शनिक पीडा हो।कविताको पहिलो श्लोक सम्पूर्ण रचनाको दार्शनिक आधारभूमि हो। यहाँ सूर्य, चन्द्र, वृक्ष र नदीलाई विनम्रता, कर्तव्य र मौन सेवाका प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। सूर्य र चन्द्रले संसार उज्यालो बनाउँछन्, तर कहिल्यै आफ्नो महिमा गाएर हिँड्दैनन्। वृक्षले फल र छाया दिन्छ, तर घमण्ड गर्दैन। नदीहरू निरन्तर बग्दै सागरमा पुग्छन्, तर आफ्नो यात्राको प्रचार गर्दैनन्। प्रकृतिका यी सबै तत्त्वहरूले निष्काम कर्म र विनम्रताको आदर्श देखाउँछन्। तर मानव भने सानो स्वार्थ र अहंकारमा अल्झिएर झगडा र विभाजन सिर्जना गर्छ। यही विरोधाभासले मानव सभ्यताको नैतिक विडम्बनालाई उजागर गरेको छ।
कवि भन्छन्,
उठ्दैनन् किन सूर्य चन्द्र कहिले हामी उज्याला भनी
गर्दैनन् तरुले घमण्ड फलको छाया दिँदा त्यो पनि।
पुग्छन् सागरमा सधैँ नदनदी बोल्दै नबोली कतै
मान्छे मात्र रहेछ मूर्ख झगडा गर्ने यहाँ सर्वतै।। १
यो श्लोकलाई वर्तमान राजनीतिक सन्दर्भमा हेर्दा यसको व्यङ्ग्य अझ तीखो र सान्दर्भिक देखिन्छ। जनताले विश्वास गरेर प्रतिनिधि सभामा पठाएका जनप्रतिनिधिहरूबाट नीति, विचार र समाधानको अपेक्षा गरिन्छ। तर जब संसद् बहसको थलो नभई दैनिक झगडा, आरोपप्रत्यारोप र अवरोधको रंगमञ्च बन्छ, तब कविताको “मान्छे मात्र रहेछ मूर्ख झगडा गर्ने यहाँ सर्वतै” भन्ने पंक्ति अत्यन्त अर्थपूर्ण भएर उभिन्छ। सूर्य, चन्द्र, वृक्ष र नदीले आफ्नो कर्तव्य मौन रूपमा पूरा गर्छन्, तर जनताको सेवक बन्नुपर्ने प्रतिनिधिहरू अहंकार र दलगत स्वार्थमा अल्झिँदा लोकतान्त्रिक मर्यादा नै कमजोर बन्छ। कविताले यही राजनीतिक विडम्बिमाथि गम्भीर प्रश्न उठाएको छ।
कवितामा प्रकृति मौन छ, तर यही मौनता नै यसको सबैभन्दा गहन शिक्षा हो। नदी सागरमा पुगेर पनि गर्व गर्दैन। सूर्य उज्यालो बाँडेर पनि आफूलाई श्रेष्ठ ठान्दैन। चन्द्रमा शान्त रहँदा पनि संसारलाई उज्यालो दिन्छ। यो मौनता कुनै कमजोरी होइन, यो आत्म–अनुशासन हो, आन्तरिक सन्तुलन हो। यही कारण प्रकृति स्वयं एक दार्शनिक पाठशाला जस्तो देखिन्छ।
संस्कृत काव्य परम्परामा कालिदासले प्रकृतिलाई चेतनाको सहयात्री बनाए। मेघदूतमा बादल प्रेमको सन्देशवाहक बन्छ। कुमारसम्भवमा हिमाल स्वयं तपस्या र स्थिरताको प्रतीक हुन्छ। तर यहाँ प्रस्तुत कवितामा प्रकृति अझ गुरु बनेको छ।ऊ बोल्दैन, तर मानवलाई निरन्तर प्रश्न गर्छ। भारवि जस्ता कविहरूले प्रकृतिलाई शक्तिको सन्दर्भमा प्रयोग गरे, तर यहाँ प्रकृति नै नैतिक मापदण्ड बनेको छ।
अङ्ग्रेजी साहित्यमा विलियम वर्ड्सवर्थले प्रकृतिलाई सदाचारको गुरु भने। उनका लागि प्रकृति आत्माको उपचार थियो। तर यस कवितामा प्रकृति उपचार मात्र होइन, न्यायाधीश पनि हो। शेलीले प्रकृतिमा विद्रोह र परिवर्तन देखे, तर यहाँ प्रकृति स्थिर सन्तुलन हो, जसको अगाडि मानव अस्थिर देखिन्छ। टेनिसनको “इन मेमोरियम”मा प्रकृति मौन रहस्यमय शक्ति हो, तर यहाँ त्यो मौनता स्पष्ट नैतिक संकेत हो।
संस्कृत दर्शनमा उपनिषद्ले भन्छ “यत् पिण्डे तत् ब्रह्माण्डे।” प्रकृति र मानव एउटै संरचनाका अंश हुन्। तर वैरागी भन्छन, प्रकृति आफ्नो धर्ममा अडिग छ, मानव आफ्नो धर्मबाट विचलित छ। यही विचलनले असन्तुलन जन्माउँछ। बौद्ध दृष्टिमा पनि प्रकृति “धम्म” अनुसार चल्छ, तर मानव तृष्णामा अल्झिन्छ।प्रकृति यहाँ शान्त सन्तुलन हो, जबकि मानव अस्थिर आवाज हो। प्रकृति कम बोल्छ तर अर्थपूर्ण छ, मानव धेरै बोल्छ तर खाली हुन्छ। यही अन्तरले कवितालाई नैतिक मानचित्र बनाउँछ, जहाँ मौनता नै सर्वोच्च दर्शन बनेको छ।
दम्भ यस कविताको केन्द्रबिन्दु मात्र होइन, सम्पूर्ण मानव चेतनाको अदृश्य रोग हो। यो देखिँदैन, तर यसको प्रभाव दीर्घकालीन हुन्छ। दम्भले मानवलाई बाहिरी रूपमा बलियो देखाउँछ, तर भित्री रूपमा कमजोर बनाउँछ। यही विरोधाभास कविताको दार्शनिक शक्ति हो।
संस्कृत परम्परामा दम्भलाई अहंकारको सूक्ष्म रूप मानिन्छ। भगवद्गीतामा स्पष्ट रूपमा चेतावनी दिइएको छ अहंकार नै पतनको मूल कारण हो। यहाँ सूर्य र चन्द्रको उदाहरण उत्कृष्ट छ। तिनीहरू विशाल छन्, तर घमण्ड गर्दैनन्। यो नै सात्त्विक शक्तिको संकेत हो। शक्ति र विनम्रता सँगै रहन सक्छन् भन्ने दर्शन यहाँ प्रकट हुन्छ।
पश्चिमी दर्शनमा नीत्शेले विल टु पावरको कुरा गरे, तर उनले पनि चेतावनी दिएका छन् शक्ति जब आत्मनियन्त्रण बिना हुन्छ, तब विनाशमा बदलिन्छ। यो कविताको दम्भसँग मिल्दोजुल्दो दृष्टि हो। दम्बले सम्बन्ध तोड्छ, समाज विभाजन गर्छ र अन्ततः आत्म–विनाशतर्फ लैजान्छ।
मनोविज्ञानको दृष्टिले हेर्दा दम्भ एक डिफेन्सिभ इलुजन(आफूलाई बचाउन बनाइएको भ्रम) हो। मानव आफ्नो कमजोरी लुकाउन अहंकारको आवरण बनाउँछ। तर त्यो आवरण नै उसको पतनको कारण बन्छ। यही कारण कविले यसलाई भित्री विष भनेका छन्। विष बाहिरबाट होइन, भित्रबाट फैलिन्छ।
स्टोइक दर्शनमा सेनेका र मार्कस अरिलियसले विनम्रतालाई सर्वोच्च गुण माने। उनीहरूका अनुसार, वास्तविक शक्ति आफूलाई नियन्त्रण गर्न सक्ने क्षमतामा हुन्छ। दम्भ भने आत्मनियन्त्रणको अभाव हो।
कवितामा देखिएको पशु विश्वको चित्रण मानव सभ्यताको नैतिक पुनर्संरचना हो। यहाँ पशुहरूलाई आदर्श बनाउनु मानवको असंगत व्यवहारमाथि गरिएको दार्शनिक प्रश्न हो। कमिला, गिद्ध, बाघ र बाँदर यी सबै प्राकृतिक नियममा अडिग रहने चेतनाका प्रतीक हुन्।
कमिला एकताको प्रतीक हो। उसले व्यक्तिगत अहंकार होइन, सामूहिक अस्तित्व रोज्छ। यो बौद्ध संघ (संघ–भाव) जस्तै हो, जहाँ व्यक्तिगत म हराएर सामूहिक हामी बन्छ। गिद्धले मृत्यु स्वीकार्छ। यो अस्तित्वको यथार्थप्रतिको स्वीकृति हो, जुन स्टोइक दर्शनसँग मिल्छ।जे अपरिहार्य छ, त्यसलाई स्वीकार गर्नु नै बुद्धिमत्ता हो। बाघ स्पष्ट छ। उसको हिंसा सीधा छ, ढोंग छैन। यो नै नैतिक पारदर्शिता हो, जसको तुलना मानवको छद्म व्यवहारसँग हुन्छ। बाँदरको समूह जीवन सामाजिक एकताको प्रतीक हो, जहाँ अलगाव होइन, सहअस्तित्व हुन्छ।
यसको विपरीत मानव आफूलाई सभ्य ठान्छ, तर उसको सभ्यता भित्र र बाहिरको विभाजनमा आधारित छ। यही द्वैधता कविताको मुख्य आलोचना हो। पूर्वीय दर्शनमा यसलाई माया भनिन्छ जहाँ वास्तविकता र आभास फरक हुन्छ। मानव बाहिर ज्ञान देखाउँछ, तर भित्र अहंकार र अस्थिरता बोकेको हुन्छ।
पश्चिमी विचारमा जाँ–जाक रूसोले पनि यस्तै प्रश्न उठाएका थिए मानव सभ्य भए पनि प्राकृतिक रूपमा भ्रष्ट हुन्छ। तर प्रकृति निर्दोष रहन्छ। यही विचार यहाँ कवितामा पुनः प्रकट हुन्छ, जहाँ पशुहरू नै सन्तुलित देखिन्छन्।
यो उल्टो दृष्टि अत्यन्त महत्वपूर्ण छ। सामान्यतया मानवलाई सर्वोच्च मानिन्छ, तर यहाँ नैतिक सर्वोच्चता प्रकृतिमा सारिएको छ। यो चेतावनी हो। जब चेतना आफ्नो मूल सन्तुलन गुमाउँछ, तब सभ्यता नै विकृति बन्छ। कविता मानव श्रेष्ठताको मिथकलाई भत्काएर नयाँ नैतिक संरचना प्रस्ताव गर्छ, जहाँ सत्यता झूटोपनभन्दा ठूलो हुन्छ र प्राकृतिक सरलता कृत्रिम महानताभन्दा उच्च देखिन्छ।
कविताले उठाएको प्रश्न मानव चेतना उच्च हो कि विनाशकारी शक्ति हो यो संस्कृत काव्य परम्पराको अत्यन्त पुरानो दार्शनिक तनावसँग जोडिन्छ। कालिदासदेखि भवभूति, भारवि र माघसम्मका कविहरूले मानव चेतनाको गौरव गाएका छन्, तर साथसाथै यसको नैतिक अस्थिरता पनि संकेत गरेका छन्।
कालिदासमा मानव चेतना प्रकृतिसँग सामञ्जस्यमा रहन्छ। अभिज्ञानशाकुन्तलम्मा पनि प्रेम, करुणा र स्मृति चेतनाको सौन्दर्य हुन्। तर प्रस्तुत कवितामा चेतना विभाजनको स्रोत बनेको छ। जहाँ कालिदासमा चेतना संवाद हो, यहाँ चेतना संघर्ष हो।
भारविको किरातार्जुनीयम्मा अर्जुनको चेतना तपस्या र अहंकारबीच संघर्ष गर्छ। त्यहाँ चेतना परीक्षणमा छ, तर अन्ततः धर्मतर्फ उन्मुख हुन्छ। तर यस कवितामा चेतना स्थिर छैन। यो निरन्तर पतनतर्फ झुकिरहेको छ। यही भिन्नता आधुनिक दार्शनिक निराशा र शास्त्रीय आशावादबीचको दूरी हो।
भवभूतिको उत्तररामचरितमा मानव भावनाको गहिराइ करुणामय छ। “एको रसः करुण एव” भन्ने उनको दृष्टि अनुसार चेतना एकतर्फी करुणामा केन्द्रित छ। तर यहाँ चेतना द्वैतमा फसेको छ प्रेम र घृणा, निर्माण र विनाश, सत्य र भ्रम।
संस्कृत दर्शनमा उपनिषद्ले चेतनालाई साक्षी मान्छ जो देख्छ तर प्रभावित हुँदैन। तर कवितामा चेतना साक्षी होइन, सहभागी बनेको छ। यही यसको संकट हो। चेतना अब निरीक्षक होइन, सक्रिय विनाशकर्ता बनेको छ। कवि भन्छन्,
धर्ती खन्न सिपालु सूक्ष्म कमिला छन् एकतामा भर
आहारा जति दूरमा किन नहोस् पुग्छन् घिसार्दै घर।
हामी मानव हाँक गर्न कसियौँ खोजेर आडम्बर
बन्दैछौँ अब घाटको न घरको तोडेर आफ्नो घर।।६
“हामी मानव हाँक गर्न कसियौँ” भन्ने पंक्ति भारविको वीररससँग तुलना गर्दा उल्टो व्यङ्ग्यजस्तो देखिन्छ। जहाँ भारविमा वीरता धर्मसँग जोडिन्छ, यहाँ वीरता नै आत्मविनाशतर्फ संकेत गर्छ। यो नै आधुनिक चेतनाको विडम्बना हो।
कविताले उठाएको चेतनाको द्वैत उच्चता र विनाश संस्कृत महाकाव्य परम्परा र फ्रान्सेली दार्शनिक परम्पराको बीचमा एउटा गहन संवाद खोल्छ। यहाँ चेतना नैतिक जोखिम पनि हो। यही बिन्दुमा पूर्वीय धर्मयुक्त चेतना र पश्चिमी संदेहयुक्त चेतना एकअर्कासँग टकराउँछन्।
संस्कृत परम्परामा कालिदास, भारवि र भवभूतिले चेतनालाई मूलतः समन्वयात्मक शक्ति मानेका छन्। कालिदासमा चेतना प्रकृतिसँग एकाकार हुन्छ। भारविमा चेतना तपस्या र धर्मको माध्यमबाट शुद्ध हुन्छ। भवभूति करुणालाई चेतनाको सर्वोच्च रस मान्छन्। उपनिषद्मा चेतना साक्षी हो निरपेक्ष, शान्त र अविकारी। यहाँ चेतनाको लक्ष्य स्पष्ट छ धर्म, सन्तुलन र आत्म–अनुभूति।
तर यो कवितामा चेतना स्थिर छैन। यो विभाजक शक्ति बनेको छ। प्रेम र घृणा, निर्माण र विनाश एकै चेतनाबाट निस्किन्छ। यही अस्थिरता फ्रान्सेली आधुनिक दर्शनसँग मिल्छ।
डेसकार्ट्सले चेतनालाई “कोगिटो एर्गो सुम”(सोचाइ नै अस्तित्वको प्रमाण हो) बाट प्रमाणित गर्छन्।सोच्ने क्षमताले अस्तित्व पुष्टि गर्छ। तर यही चेतना पूर्ण सत्य होइन, केवल प्रारम्भिक निश्चितता हो। रुसोले चेतनालाई सभ्यताले बिगारेको प्राकृतिक सरलताको विरोधमा राख्छन्। उनका अनुसार मानव स्वाभाविक रूपमा राम्रो छ, तर समाजले उसलाई विभाजित बनाउँछ। यहाँ कविताको दम्भ र विभाजनसँग समानता देखिन्छ।
पास्कलले चेतनालाई सोच्ने तर कमजोर नली मान्छन्। मानव महान पनि छ, तर नाजुक पनि। यही द्वैत कवितामा पनि छ—चेतना उच्च छ, तर विनाशकारी पनि हुन सक्छ।
नीत्शेले यसलाई अझ तीव्र बनाउँछन्। उनी भन्छन्, चेतना शक्ति इच्छाको माध्यम हो। यदि नियन्त्रण बिना भयो भने, यो विनाशमा बदलिन्छ। कवितामा “मानव नेतृत्व गर्छ तर विनाशतर्फ” भन्ने संकेत यही नीत्शेवादी जोखिम हो।
यो कविताले उपनिषद् र गीतामा निहित उच्च आध्यात्मिक आदर्शलाई मानव व्यवहारको यथार्थसँग मुठभेड गराउँछ। उपनिषद्को “अहं ब्रह्मास्मि” आत्मविस्तारको घोषणा हो। तर जब यही बोध अहंकारसँग मिसिन्छ, तब ब्रह्मचेतना म केन्द्रित भ्रममा पतन हुन्छ। कविताले यही विडम्बनालाई देखाउँछ मानव आफूलाई ब्रह्म ठान्छ, तर उसको व्यवहारले करुणा, संयम र सन्तुलन गुमाएको छ।
यो विरोधाभास गीताको शिक्षामा पनि स्पष्ट देखिन्छ। “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” भन्ने सूत्रले कर्मलाई शुद्ध क्रियाका रूपमा बुझ्न सिकाउँछ। तर कवितामा मानव कर्मलाई फल, प्रतिस्पर्धा र श्रेष्ठताको दौडमा सीमित गरिएको छ। यही आसक्ति नै मानसिक अशान्तिको मूल कारण बन्छ। जब कर्म उद्देश्यबाट टुटेर परिणाममा अड्किन्छ, तब जीवन संघर्ष होइन, तनाव बन्छ।
कवितामा देखिएको विचलन वास्तवमा आध्यात्मिक केन्द्रबाट हटेको चेतना हो। उपनिषद्ले चेतनालाई एकता र सर्वव्यापकताको अनुभव भन्छ, तर यहाँ चेतना विभाजनको स्रोत बनेको छ। गीता जसले समत्वलाई जीवनको आधार मान्छ, त्यसको विपरीत यहाँ असमत्व, तुलना र दम्भले शासन गर्छ।
बौद्ध दर्शनको दृष्टिले यो कविता दुःखउत्पत्तिको मनोवैज्ञानिक नक्सा जस्तै देखिन्छ। यहाँ दम्भलाई चेतनाको विकृत विस्तारका रूपमा प्रस्तुत गरिएको छ। बौद्ध मतअनुसार तृष्णा नै संसारिक दुःखको मूल कारण हो र यस कवितामा दम्भ त्यही तृष्णाको सामाजिक, राजनीतिक र मानसिक रूप बनेर प्रकट हुन्छ।
म भन्ने भावना यहाँ केन्द्रमा छ। यो सानो शब्द भए पनि यसको प्रभाव विशाल छ। म ठूलो, म सही, म अगाडि यी तीन अभिव्यक्तिहरू वास्तवमा अहंकारको तीन तह हुन्। पहिलो तुलना हो, दोस्रो आग्रह हो र तेस्रो हिंसा हो। यही क्रमले मानव सम्बन्धलाई प्रतिस्पर्धामा बदल्छ र अन्ततः समाजलाई द्वन्द्वको संरचनामा रूपान्तरण गर्छ।
बुद्धले “अनत्ता” को शिक्षा दिए। स्थायी म भन्ने कुनै ठोस अस्तित्व छैन। तर मानव चेतना यस भ्रममा बाँच्छ कि म स्थायी, केन्द्र र सर्वोच्च हो। यही भ्रमले तृष्णा जन्माउँछ। र तृष्णाले असन्तोष जन्माउँछ। कवितामा देखिएको झगडा, विभाजन र दम्भ यही असन्तोषको बाहिरी रूप हो।
पशुहरूको उदाहरण यहाँ प्रतीकात्मक छ। पशुमा म को बौद्धिक निर्माण हुँदैन, त्यसैले तुलना पनि हुँदैन। जहाँ तुलना हुँदैन, त्यहाँ ईर्ष्या हुँदैन। जहाँ ईर्ष्या हुँदैन, त्यहाँ द्वन्द्व कम हुन्छ। यही कारण उनीहरूलाई कविताले सन्तुलित देखाएको छ। तर यो पूर्ण आदर्शीकरण होइन, बरु मानव असन्तुलनमाथिको आलोचना हो।
स्टोइक दर्शनसँग तुलना गर्दा पनि समानता देखिन्छ। मार्कस अरिलियसले अहंको विघटनलाई आन्तरिक शान्तिको आधार मानेका थिए। बौद्ध अनत्ता र स्टोइक आत्मनियन्त्रण दुवैमा “म” को विस्तारलाई नियन्त्रण गर्नुपर्ने कुरा जोडिन्छ।
टागोर, कालिदास र नेपाली काव्य परम्पराको बीचमा यो कविता एउटा असामान्य मोडमा उभिन्छ। कालिदासले प्रकृतिलाई भावनात्मक सहअस्तित्वका रूपमा देखाए। उनका पात्रहरू प्रकृतिसँग संवाद गर्छन्। मेघदूतको बादल, शकुन्तलाको वन, ऋतुसंहारको ऋतु सबैमा प्रकृति करुणा र सौन्दर्यको विस्तार हो। यहाँ मानव पतन होइन, समन्वय प्रमुख हुन्छ।
टागोरले अझ गहिरो रूपमा मानव चेतनालाई ब्रह्मसँग जोड्छन्। उनका लागि मानव आत्मा विभाजित होइन, सार्वभौमिक चेतनाको अंश हो। “जहाँ मन भयबाट मुक्त छ” जस्तो दृष्टिमा मानव सम्भावनाको उच्चतम रूप देखिन्छ। तर यस कवितामा त्यो सम्भावना उल्टिन्छ। यहाँ मानव ब्रह्मसँग जोडिँदैन, बरु आफ्नै अहंकारमा फस्छ।
नेपाली काव्य परम्परामा भूपि शेरचनले व्यङ्ग्यलाई सामाजिक आलोचनाको हतियार बनाए। गोपालप्रसाद रिमालले विद्रोह र अस्तित्वगत पीडा व्यक्त गरे। यो कविता ती दुवै धारको संगम हो । वैरागीको यो कवितामा भूपिको व्यङ्ग्यात्मक धारिलोपन र रिमालको आन्तरिक असन्तोष एकै ठाउँमा भेटिन्छ।
“मान्छे गिर्यो मुन्तिर” भन्ने वाक्य यहाँ आत्मिक रूपक हो। पतन बाहिरी होइन, भित्री हो। मानव करुणा, सत्य र विनम्रताबाट माथि उठ्न सक्थ्यो। तर अहंकारले त्यो बाटो बन्द गर्यो। करुणा हटेपछि सम्बन्धहरू टुटे। सत्य मौन भएपछि भ्रमले ठाउँ लियो।
यो पतन देखिँदैन, किनकि यो शरीरको होइन, चेतनाको पतन हो। बाहिर मानव उस्तै देखिन्छ, तर भित्रको केन्द्र खसिसकेको हुन्छ। यही नै कविताको सबैभन्दा गहिरो दार्शनिक निष्कर्ष हो। पतन सधैं दृश्य हुँदैन, कहिलेकाहीँ त्यो चेतनाको मौन भित्र हुन्छ।
यो कवितामा उठाइएको मौनता र हल्लाको द्वन्द्व चेतना दर्शनको मूल संरचना हो। प्रकृतिको मौनता निष्क्रियता होइन, गहिरो उपस्थितिको संकेत हो। नदी मौन भएर पनि निरन्तर बगिरहन्छ। सूर्य मौन भएर पनि सम्पूर्ण जीवनलाई चलायमान बनाउँछ। यही मौनतामा स्थिरता छ, समग्रता छ र आत्म–नियन्त्रण छ। त्यसैले मौनता ज्ञानको प्रतीक बन्छ।
यसको विपरीत मानवको हल्ला ज्ञानको होइन, अस्थिर मनको अभिव्यक्ति हो। धेरै बोल्नु यहाँ विचारको गहिराइ होइन, बरु आन्तरिक शून्यताको भरपाई हो। पूर्वीय दर्शनमा यसलाई “अविद्या” सँग जोड्न सकिन्छ जहाँ शब्द धेरै हुन्छन् तर बोध कम हुन्छ। उपनिषद्को परम्परामा वास्तविक ज्ञानी मौन हुन्छ, किनकि उसको अनुभूति शब्दभन्दा पर हुन्छ।
आत्म–पहिचानको संकट यस कविताको अर्को गहिरो तह हो। मानव आफूलाई निरन्तर कोइलीको शुद्धता, डाँफेको स्वतन्त्रता, प्रकृतिको सौन्दर्य जस्ता बाहिरका प्रतीकहरूमा खोज्छ । तर ऊ यी सबैको बाहिरी रूप मात्र नक्कल गर्छ, भित्री सार बुझ्दैन। यही कारण उसको पहिचान खण्डित हुन्छ।
कविताको अन्त्यमा आएको संकेत सभ्यताको नैतिक निदान हो। यहाँ झगडा, प्रतिनिधित्वको विकृति र संस्थागत अस्थिरता कुनै एक देशको असफलता होइन, मानव सभ्यताको साझा संकट हो। जब बहस संवाद बन्न छोड्छ र मतभेद शत्रुतामा रूपान्तरित हुन्छ, तब लोकतन्त्र मात्र होइन, सम्पूर्ण सामाजिक चेतना विखण्डित हुन्छ।
यहाँ कविले देखाएको कुरा गहन छ। संस्था बाहिर स्थिर देखिन सक्छ, तर भित्र चेतना अस्थिर भयो भने संरचना आफैं कमजोर हुन्छ। यही कारण कवितामा संकट बाह्य होइन, आन्तरिक देखिन्छ। मानवले बनाएको व्यवस्था होइन, मानवको मनोवृत्ति नै मूल समस्या हो।
“घाट र घर” को प्रतीकात्मकता यस कविताको दार्शनिक शिखर हो। घर स्थायित्व, सुरक्षा र करुणाको प्रतीक हो। घाट अन्त्यको संकेत हो, तर साथसाथै रूपान्तरणको पनि प्रतीक हो। यी दुईबीचको दूरी भौतिक होइन, नैतिक हो।
यदि अहंकार बढ्छ भने घर पनि घाट बन्छ किनकि सम्बन्धहरू टुट्छन्, विश्वास हराउँछ र संरचना केवल खाली ढाँचा बन्छ। तर यदि करुणा बढ्छ भने घाट पनि शान्तिको स्थान बन्छ किनकि त्यहाँ अन्त्य पनि स्वीकारमा रूपान्तरित हुन्छ। यही पूर्वीय दर्शनको दृष्टि हो, जहाँ अन्त्य पनि अर्थपूर्ण हुन्छ।
कविताले एउटा प्रश्न छोड्छ मानवले बनाइरहेको संसार वास्तवमा स्थायित्वतर्फ जाँदैछ कि विघटनतर्फ? घरको नाममा यदि अहंकार निर्माण भइरहेको छ भने त्यो ढिलो छिटो घाटमै परिणत हुन्छ। यही चेतावनी यस कविताको अन्तिम दर्शन हो।
यो कविताको अन्त्य आत्म–जागरणको ढोका हो। “मान्छे गिर्यो मुन्तिर” भन्ने वाक्य यहाँ पुनर्जन्मको संकेत हो। पतन त्यस बेला अन्त्य हुन्छ जब चेतना त्यसलाई स्वीकार गर्छ। र स्वीकारपछि नै रूपान्तरण सुरु हुन्छ। यही कारण कविताको अन्त्यले पाठकलाई अन्धकारमा छोड्दैन, बरु भित्री प्रकाशतर्फ फर्काउँछ।
आध्यात्मिक रूपमा हेर्दा विनम्रता यहाँ पहिलो सीढी हो। अहंकार घटेपछि मात्र आत्मबोध सम्भव हुन्छ। शान्ति कुनै बाहिरी उपलब्धि होइन, यो भित्री मौनता हो। प्रकृति पहिले नै सन्तुलित छ, त्यसैले समस्या सृष्टिमा होइन, दृष्टिमा छ। जब दृष्टि शुद्ध हुन्छ, त्यतिबेला पतन पनि शिक्षामा बदलिन्छ। यही रूपान्तरण कविताको गहिरो आध्यात्मिक सन्देश हो।
छवि वैरागी घिमिरेको काव्यसाधना यसै परम्परामा उभिन्छ जहाँ संस्कृत काव्यको शास्त्रीय अनुशासन र नेपाली कविताको समकालीन सामाजिक चेतना एकै ठाउँमा भेटिन्छ। उनी शार्दूलविक्रीडित जस्तो छन्दलाई आधुनिक सामाजिक यथार्थसँग जोड्छन्, जसले परम्परा र वर्तमानबीच संवाद सिर्जना गर्छ। संस्कृत काव्यमा जस्तै दार्शनिक गहिराइ र नेपाली साहित्यमा जस्तै व्यङ्ग्यात्मक सजीवता उनको शैलीमा मिसिन्छ।