19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गाईजात्रा

लघुकथा गायत्रीकुमार चापागाईं July 9, 2026, 12:27 am
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

बेरामी छोरालाई सिभिल हस्पिटलमा जँचाएर सवारी साधन खोज्दै हिँडेका हिक्मतप्रसादले वानेश्वर चोकमा ठूलै भीड देखे । छोराले भन्यो, ‘जाऊँ न हेर्न बुबा त्यहाँ के रहेछ ?’
‘हुँदैन बाबु । यो शहरमा जिउ जोगाउनु पर्छ, चुटाइ खाइन्छ ।’
छोरो डोर्याउँदै उनी टेम्पो खोज्न थाले । पुलिसले लाठी बर्सायो । भीड तितरबितर भयो । प्रदर्शनकारीमध्ये एकजना माइकबाट चर्कोस्वरमा चिच्याउँदै थियो, ‘साथीहरू ! पछाडि हट्नु हुँदैन । हामीले अझ सशक्त आन्दोलन गर्नुपर्छ ।’ भीडमा कसैले फुस्फुसायो, ‘यो अस्थायी मास्टरको जुलुस हो ।’
भीडमा हिक्मतप्रसादले गाउँकै सिंहवीर मास्टरलाई देखे । ऊ गाउँबाट आन्दोलन गर्न राजधानी जाने भन्दै चन्दा उठाउँदै हिँडेको पनि उनले देखेका थिए । मनमनै हिक्मतप्रसादले गमे, ‘सरकारले स्थायी गर्न न्यूनतम पास अङ्क तोक्यो । त्यो पनि ल्याउन नसक्नेको हो आन्दोलन । यस्तालाई जागिर दिएर देश कसरी समृद्ध होला ? यस्ताले पढाएका विद्यार्थी कस्ता होलान् ?’
उनको मन अमिलो भयो । टेम्पो भेटे । चढे । माइती घर मण्डलामा पुगे । त्यहाँ अर्को जुलुस । सवारी साधनको जाम । व्यानरमा लेखिएको थियो – ‘पशु अधिकारको संरक्षण गरौँ ।’ माइक बोल्दै थियो, ‘पशुलाई भीरबाट खसाएर मार्न पाइँदैन । कुकुरलाई यातना दिएर मार्न हुन्न ।’
उनी सोचमग्न भए । ‘यहाँ मान्छे सुरक्षित छ र ? पशुका कुरा ।’ दण्डहीनता, ज्यानमारालाई उन्मुक्ति, बलात्कारीलाई लुकाउने खेल, अन्यायको राज । तस्कर, भूमाफिया, ठेकेदार र कालोबजारियाको कालो धनले पालिएको सरकार । उनले पत्रिकामा पढेका कुराहरू सम्झे । ‘कतै यो पशुको कुरा उठाउने पनि विदेशी त होइनन् ।’ मनमा कुरा खेलाउँदै उनी रत्नपार्क पुगे । टेम्पोबाट उत्रँदा पारिपट्टि एक डेढसय मान्छेको भीडमा माइक कराउँदै थियो, ‘यी भ्रष्टले देश सखाप पारे, अब राजालाई ल्याउनुपर्छ ।’ यहाँको जनसङ्ख्या नियाले । आधाउधि सवारी साधन पर्खने मान्छे । त्यसो भए अझै राजाको हन्डी खानेहरूको अवशेष बाँकी नै रहेछ । यै भीडबाट पनि भ्रष्टहरू तर्सेकै छन् । बस खोज्दै गर्दा बेरामी छोराले भन्यो, ‘बुबा शहरमा गाईजात्रा निक्लन्छ भन्नुहुन्थ्यो । यही हो गाईजात्रा ।’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।