19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमाको अंगालोदेखि अस्पतालको भित्तासम्म

संस्मरण/स्‍मृति कुलध्वज बम्जन 'किरण प्रगाण' July 9, 2026, 12:38 am
कुलध्वज बम्जन 'किरण प्रगाण'
कुलध्वज बम्जन 'किरण प्रगाण'

गाउँको बगरमा माटोले खुट्टा चिल्लो पार्दै हुर्केको एउटा किशोर आफ्नो संसारलाई पछाडि छोडेर सहरतिर चिप्लिँदै थियो। काँधमा किताबको झोला थियो, मुटुभित्र भविष्यको नक्सा र आँखाभरि आमाबुबाले रोपिदिएको अटुट विश्वास। उसका पैतालाले ती बगरमा बाल्यकालका अनगिन्ती अक्षरहरू लेखेका थिए । जहाँ खोल्साका पानीले औँलामा खेल्दै बोल्न सिकाएको थियो । कान्लाका उकालाहरूले लडेर फेरि उठ्न सिकाएको थियो। आज ती सबै दृश्यहरू उसको पछाडि छुटिरहेका छन्। माँनौ खोल्साले उसलाई बोलाउन छाडेको थिएन, तर उसले भने आफ्नो आवाजलाई भविष्यको खोजीमा सहरतिर मोडेको थियो।

त्यो दिन उक्त किशोरको एक यात्राको आरम्भ मात्र थिएन । एउटा परिवारले आफ्ना सपनाहरू एउटा झोलाभित्र राखेर पठाएको दिन थियो। त्यतिबेला उसको अनुहार गणितको कुनै जटिल समीकरणजस्तै देखिन्थ्यो। प्रश्नहरू धेरै थिए, उत्तरहरू थोरै। तर ती उत्तरहरूमध्ये एउटा उत्तर सधैँ एउटै थियो आशा। त्यही आशा कहिले बुबाको कठोर अनुशासनभित्र लुकेको नरम उपदेश बनेर बज्थ्यो त कहिले आमाको ममताले बनाएको मौन बाँसुरीबाट मधुर स्वरझैँ निस्कन्थ्यो।

“जा... राम्रोसंग पढ्नु। मौसमले तिमीलाई अल्मल्याओस्, तर रोक्न नसकोस्। चराहरूले गीत सुनाऊन्, तर बाटो नबिर्साऊन्। बादलले छायाँ दिऊन्, तर लक्ष्य नढाकोस्।” बुबाका यी शब्दहरू उसका लागि बिदाइ मात्र थिएनन्, जीवनभर साथ दिने दिशासूचक थिए। सदरमुकाम पुगेपछि जीवनले एकाएक नयाँ अनुहार देखायो। डेराको साँघुरो कोठा । स्टोभको बाफमा पाक्ने भात र कुकरको सिटीसँगै गुञ्जिने आमाको याद। सहरले उसलाई भीड दियो तर आत्मीयता दिएन। कोठाका भित्ताहरू मौन थिए । तर उसले तिनै भित्ताहरूमा आफ्नी आमाको स्वर टाँसिदिएको थियो “खानु पर्छ नि बाबु...” “पढ्नु पर्छ नि बाबु...” घरबाट आउँदा आमाले साथमा पठाइदिनुभएको त्यो न्यानो मान्द्रो उसका लागि अब ओछ्यान मात्र बनेन, उसको लागि त्यो घरको गन्ध थियो। आमाको अँगालो थियो। बगैँचामा त्यो मान्द्रो ओछ्याएर पढ्दै, आफैसंग कुरा गर्दै कहिलेकाँही जब ऊ आकाशतिर हेर्थ्यो उसलाई लाग्थ्यो कि सपनाहरू पनि बीउजस्तै हुन्छन्। तर माटोमा होइन, विश्वासमा उम्रन्छन्। पर्खालका न्याउरीमुसा र लोखर्केहरू निस्सासिएर हेरिरहन्थे, मानौँ तिनीहरू पनि एउटा किशोरको मौन सङ्घर्षका साक्षी हुन्।

त्यही डेरामा एक बिहान अप्रत्याशित रूपमा उसको बुबा आइपुग्नुहुन्छ। त्यो आगमन भेटघाटमा मात्र सीमित थिएन सायद । त्यो एउटा मौन परीक्षा थियो-छोरो आफ्ना सपनासँग कति इमानदार छ भन्ने कुराको। बुबाहरू सायद धेरै बोल्नुहुन्न। उहाँका कतिपय मौन शब्दहरू धेरै गहिरा थिए। केही बेरपछि उहाँले उसको हातमा एउटा साइकलको ह्यान्डल थमाइदिनुभयो। त्यो साइकल फलामको साधारण संरचना थियो तर त्यो बुबाको विश्वास थियो। मेरो लागि स्वतन्त्रताको पखेटा थियो। दूरीसँग हार नमान्ने एउटा नयाँ खुट्टा थियो। घरमा हरेक साँझ चल्ने पारिवारिक बैठक, जहाँ विगतका दुःखहरू स्मरण गरिन्थे । वर्तमानका सङ्घर्षहरू विश्लेषण गरिन्थे र भविष्यका योजनाहरू बनाइन्थे । त्यस दिन बुबाले त्यो बैठकलाई डेराकै त्यो सानो कोठामा ल्याइदिनुभयो। तर यसपटक सभा ठूलो थिएन। एउटै सदस्य थियो, एउटै श्रोता, एउटै वक्ता। त्यस दिन उसले पहिलो पटक बुझ्यो कि कठोर देखिने बुबाको अनुहारभित्र पनि एउटा नदी बगिरहेको रहेछ । जसले कहिल्यै आफ्नो आवाज ठूलो बनाउँदैन, तर जीवनभर आफ्ना सन्तानलाई सिञ्चिरहन्छ। सायद त्यही साँझदेखि उसको मन एकपटक घर फर्किनको लागि बिदाको पर्खाइमा रहे। बाहिर ऊ सहरमा थियो। तर भित्रभित्र ऊ अझै आमाको अँगालोमै निदाइरहेको थियो।

बुबा गाउँ फर्किनुभयो । समय बित्दै गयो । त्यो साइकल डेराको आँगनमा टेको लगाएर उभिएको छ। साँझ पर्दै थियो। अस्ताउँदै गरेको घामले त्यसको ह्यान्डलमा सुनौलो रेखा कोरिरहेको थियो। ऊ डेरा घरको छतमा चुपचाप उक्लियो। त्यहाँबाट धेरै टाढा, पहाडहरूका पछाडि कतै उसको गाउँ थियो। त्यही गाउँ, जहाँ अहिले सायद आमाले चुल्होमा आगो सल्काइरहनुभएको होला। बुबाले साँझको बैठकका लागि दादा दिदीहरूलाई बोलाइरहनुभएको होला। गोठमा गाईबस्तुले घाँस चपाइरहेका होलान्। खोल्साले आफ्नै लयमा बगिरहेको होला। तर ऊ ती सबैबाट धेरै टाढा थियो। आकाश एउटै थियो, तर अँगालो फरक थियो। उसले टाढा क्षितिजतिर हेर्दै बस्यो। आँखा गाउँतिर पुग्न सकेनन्, तर मन पुगेको थियो। धेरै बेरसम्म थामेर राखिएका आँसु अन्ततः आफ्नै बाटो रोजे। ती आँसु शरीरको कमजोरी थिएनन्। ती त मनले आमाको काख खोज्दै गरेको मौन यात्रा थिए। त्यो रात निकै लामो भयो। घडीको सुई अघि बढिरह्यो, तर निद्रा भने ढोकाबाहिरै बसिरही। ऊ बारम्बार निदाउन खोज्थ्यो, तर हरेक पटक आमाको स्वरले बिउँझाइदिन्थ्यो ।"खानु पर्छ नि बाबु...""थाकेको होला...""घर आउँदा खबर गरिहाल्नु..."

भोलिपल्ट बिहान कुनै ठूलो घोषणा भएको पनि होइन। कुनै परामर्श भएको पनि होइन। कुनै योजना कोरिएको पनि थिएन। तर उसले केवल आफ्नो मनसँग एउटा निर्णय गर्‍यो । "यो बिदामा म साइकलमै घर जान्छु।" त्यो निर्णय आवेग थिएन। त्यो एउटा छोराले आमाको अँगालोसम्म पुग्न बनाएको बाटो थियो। एकदिनको कुरा हो । बिहानको उज्यालोसँगै यात्रा सुरु भयो। सिन्धुलीका उकालाहरूले पहिले त उसको उत्साहको परीक्षा लिए। तर जवान सपनाहरूलाई उकालोले कहिल्यै रोक्न सक्दैन। त्यसपछि बिस्तारै बाटो ओरालो लाग्यो। हावा तातिन थाल्यो। बर्दिबासतिर पुग्दा चैत्र–वैशाखको घामले आफ्नो असली परिचय दिन थालिसकेको थियो। सडक तातेर आगोजस्तै बनेको थियो। तर उसका हरेक पाइला, हरेक पेडल, हरेक सास एउटै दिशातिर दौडिरहेका थिए-आमाको अँगालोतिर।

घामले अनुहार पोल्थ्यो। पसिनाले कपडा भिजाउँथ्यो। हातका नसाहरू ह्यान्डलसँगै कडा बन्थे। तर उसलाई लाग्थ्यो यी सबै थकाइहरू आमाको एउटा मुस्कानसँग साट्न मिल्ने भए यो मूल्य निकै सस्तो हुन्थ्यो। बर्दिबास पार हुँदासम्म शरीरले कुनै गुनासो गरेको थिएन। किनकि त्यतिबेलासम्म मन नै शरीरको चालक थियो। तर लालबन्दीतिर लागेपछि बाटोको स्वर फेरियो। बस्तीहरू क्रमशः पातलो बन्दै गए। पसलहरू हराए। सडकका दुवैतिर फैलिएको जंगलले यात्रुलाई आफ्नै मौनताभित्र निल्न खोजेजस्तो लाग्थ्यो। चर्को घाम माथिबाट पोलिरहेको थियो भने तलबाट सडकले तातो सास फ्याँकिरहेको थियो। प्यासले घाँटी सुकाउँदै लग्यो।

त्यसै बेला, जंगलको बीचमा एउटा सुरक्षा क्याम्प देखापर्छ। उसले साइकल रोकेर पानी माग्यो। एक सुरक्षाकर्मीले गिलासभरि चिसो पानी थमाइदिए। उसले एकै सासमा पानी रित्यायो। सुरक्षाकर्मी केही क्षण उसलाई हेर्दै रहे। त्यसपछि आश्चर्यले मुस्कुराउँदै सोधे "सिन्धुलीदेखि यहाँसम्म... साइकलमै?" उसले केवल मुस्कुराएर टाउको हल्लायो।सायद ती सुरक्षाकर्मीको आँखामा त्यो यात्रा हनुमानले समुद्र पार गरेको साहसजस्तै देखिएको थियो। तर उनीहरूलाई एउटा कुरा थाहा थिएन। यो यात्रा अझ सकिएको थिएन।लालबन्दीबाट उत्तरतर्फ चुरेको उकालो काट्दै अझ करिब ३० किलोमिटर भित्री मधेश छिचोल्न बाँकी थियो।

ती सुरक्षाकर्मीले दूरी देखेका थिए। उसले भने गन्तव्य देखिरहेको थियो। उनीहरूले पसिना देखेका थिए। उसले भने आमाको अनुहार देखिरहेको थियो। उनीहरूले एउटा किशोरलाई साइकलमा देखेका थिए। तर त्यो किशोर आफूलाई साइकल चलाइरहेको ठानिरहेको थिएन। उसलाई लागिरहेको थियो - आमाको मायाले नै आफूलाई अघि धकेलिरहेको छ। त्यो दिन उसले एउटा गहिरो सत्य पनि अनुभव गर्‍यो मानिसको शरीर कहिलेकाहीँ थाक्छ, तर प्रेमले हिँडिरहेको मन कहिल्यै थाक्दैन। सुरक्षाकर्मीको हातबाट पिएको त्यो एक गिलास पानीले तिर्खा केही बेरका लागि मेटायो। तर शरीरले अब आफ्नो सीमा सम्झाउन थालिसकेको थियो। गोडाहरू बिस्तारै भारी बन्दै गए। तिघ्राका मांसपेशीहरू तन्किएर दुख्न थाले। हथेलीमा ह्यान्डलको कठोरता छापिएर बसिसकेको थियो। तर मन? ओहो! मन अझै उद्दण्ड थियो। त्यो शरीरको आदेश मान्न तयार थिएन। लालबन्दी पार गरेपछि ऊ आफ्नी दिदीको घर पुग्यो। त्यहाँको केही क्षणको विश्राम र दिदीको अनुहारले थकानलाई केहीबेरका लागि बिर्साइदियो। परदेशमा बसेकी चेली अचानक आफ्नो भाइलाई ढोकामै उभिएको देखेर पुलकित भइन्। उता भाइले पनि त्यो क्षणमा केवल दिदीलाई भेटेको थिएन, उसले घरको एउटा टुक्रा भेटेको थियो। कुनै खबर थिएन। कुनै पूर्वसूचना थिएन। तर कहिलेकाहीँ सम्बन्धहरू खबरले होइन, हृदयले एकअर्काको ढोका खोल्छन्।

केहीबेरको विश्रामपछि यात्रा फेरि सुरु भयो। बाटो छोटिँदै थियो। मन अझ हतारिँदै थियो। अन्ततः करिब ११ घण्टाको निरन्तर साइकल यात्रापछि, साँझको उज्यालो बिस्तारै गाउँका डाँडामाथि ओर्लिन थालेको बेला, ऊ आफ्नो घरको आँगनमा पुग्यो। त्यो घर... जहाँ प्रत्येक भित्तामा आमाको गन्ध मिसिएको थियो। जहाँ प्रत्येक खाँबोमा बुबाको पसिना सुकेको थियो। जहाँ प्रत्येक ढुङ्गाले उसको बाल्यकालको एउटा कथा सुरक्षित राखेको थियो। ढोकामा उभिएकी आमाले पहिलो पटक केही बोल्न सक्नुभएन। शायद शब्दहरूभन्दा पहिले आँखा बोलिरहेका थिए। उहाँले छोराको अनुहार हेर्नुभयो। त्यसपछि साइकल हेर्नुभयो। फेरि पैतालातिर दृष्टि झार्नुभयो। उसले साथमा केही ल्याएको थिएन। न मिठाई, न कपडा, न कुनै बजारको उपहार। उ आफैँ सबैभन्दा ठूलो कोसेली बनेर आएको थियो। पसिनाले भिजेको एउटा शरीर र त्यस शरीरका प्रत्येक रेखामा लेखिएको एउटा साहसको कथा। आमाले उसका पैताला आफ्नो काखमा राख्नुभयो। पेडलले घिस्रिएका साना ठेला र उप्किएका छालाहरू आमाको नजरमा राताम्य घाउ बनेका थिए। आमाको आँखाभित्र असंख्य प्रश्नहरू रोइरहेका थिए।

भान्साबाट मेथी पड्किएको सुगन्ध आयो। आमाले तोरीको तेल तताउनुभयो। बिस्तारै उसका पैतालामा तेल दल्न थाल्नुभयो। उसका लागि उहाँका हातहरू औषधि थिए। उहाँको स्पर्श मलम थियो। त्यो तेल बजारका ल्युब्रिकेन्टभन्दा हजारौँ गुणा कोमल थियो। सदरमुकाममा हुँदा उही फर्सीको मुन्टो देखेर नाक खुम्च्याउँदै आधा थाल छोडेर आएको ऊ, त्यस दिन आमाले थपीदिएको त्यही परिकार बारम्बार मागेर खाइरहेको थियो। फर्सी फेरिएको थिएन, न त भात, न त नुन फेरिएको थियो। किनकी त्यो खाना आमाले आफैलाई पकाएर दिएको प्रेमको हिस्सा थियो । त्यो रात ऊ धेरै दिनपछि आफ्नै घरको छानामुनि निदायो। बाहिर चन्द्रमा आफ्नै गतिमा हिँडिरहेको थियो। भित्र उसको मन धेरै दिनपछि स्थिर भएको थियो। उ निदाएको थिएन। ऊ आफ्नै बाल्यकालको अँगालोभित्र फेरि एकपटक हराएको थियो।

समय नदीजस्तै हो। उसले एउटै पानीलाई दोस्रोपटक बगाउँदैन। हेर्दाहेर्दै करिब १२ वर्ष बितिसकेका थिए। त्यो काँधमा झोला बोकेर साइकल चलाउने किशोर अब सरकारी सेवामा थियो। शिरमा टोपी, काँधमा जिम्मेवारी। सरकारी कामको सिलसिलामा कहिले चारपाङ्ग्रे साधन, कहिले दुईपाङ्ग्रे मोटरसाइकल, ऊ बारम्बार त्यही महेन्द्र लोकमार्ग हुँदै यात्रा गरिरहन्थ्यो। उही सडक। उही बर्दिबास। उही लालबन्दी। उही जंगल। कुनै दिन यही सडकले उसको पसिना बोकेको थियो। आज यही सडकले उसको पहिचान बोकेको थियो।

हरेक पटक त्यो बाटो पार गर्दा उसको मन अनायासै विगततिर फर्किन्थ्यो। त्यही साइकल सम्झिन्थ्यो। सुरक्षाकर्मीले दिएको एक गिलास पानी सम्झिन्थ्यो। आमाको अनुहार सम्झिन्थ्यो। मेथीको सुगन्ध सम्झिन्थ्यो। उ मुस्कुराउँथ्यो। उसलाई लाग्थ्यो "सायद यही यात्रा नै मेरो जीवनको सबैभन्दा ठूलो विश्वविद्यालय थियो।" त्यहाँ कुनै प्रमाणपत्र थिएन। तर धैर्य सिकाइएको थियो। त्यहाँ कुनै उपाधि थिएन तर जिम्मेवारी पढाइएको थियो। त्यहाँ कुनै दीक्षान्त समारोह थिएन तर जीवनले मौन रूपमा सफलताको टोपी पहिराइदिएको थियो।

मोटरसाइकलको गति साइकलभन्दा धेरै तीव्र थियो। तर उसले एउटा कुरा बारम्बार महसुस गर्थ्यो कि साधनसँग गति बढेको थियो तर यात्रासँग आत्मीयता घटेको थियो।साइकलमा थकाइ थियो तर त्यो थकाइभित्र आमाको अँगालो थियो। मोटरसाइकलमा सहजता थियो तर त्यस सहजताभित्र त्यो न्यानोपन भेटिँदैनथ्यो। कहिलेकाहीँ जीवनले गति दिन्छ। तर बदलामा यात्राको मिठास खोसिदिन्छ। संयोगहरू कहिलेकाहीँ यति विचित्र हुन्छन् कि कथा लेख्ने लेखक पनि अचम्म मान्छ। त्यही बाटो... जसले कुनै दिन एउटा किशोरलाई सपनातर्फ डोहोर्‍याएको थियो... त्यही बाटो... एक दिन उसको जीवनको सबैभन्दा ठूलो परीक्षाको मैदान बन्यो। रौतहटको चन्द्रनिगाहपुरबाट उसको सरुवा भर्खरै पर्सा राष्ट्रिय निकुञ्जमा भएको थियो। घरबिदामा ऊ सिन्धुलीतिर फर्कँदै थियो। अघिल्लो रात गैँडाटारमा आफन्तको घरमा विशेष कामले बितेको थियो। त्यही रात ऊ आफ्ना बुबा, आमा र ठूलोबुबाहरूसँग धेरै दिनपछि सँगै बसेको थियो। कुराकानी भयो। हाँसो बाँडियो। भविष्यका सामान्य योजनाहरू पनि बने। बिहान सबैजना गाउँ फर्किने तयारीमा थिए। उसको क्वाटर दुर्गा मन्दिरको छेउमै थियो । उसले आफ्ना सामानहरू मिलायो। अनि आमाबुबालाई भन्यो "यी सामानहरू लिएर तपाईंहरू घर जाँदै गर्नुहोस्। म एउटा काम सकेर भोलि आउँछु।" आमाले सहजै मान्नुभएन। "सँगै जाऔँ न बाबु..."त्यो स्वरमा आमाको स्वभाविक चिन्ता थियो। तर उसले हाँस्दै आश्वस्त पार्‍यो। "चिन्ता नगर्नुस्। भोलिसम्म म पनि आइहाल्छु। "कसैलाई थाहा थिएन कि जीवनले भोलिको पाना अर्कै मसीले लेखिसकेको रहेछ।

भोलिपल्ट बिहान ऊ मोटरसाइकलमा निस्कियो। बाटैमा पौराइबाट आफ्नी जेठीसासु दिदीका दुई साना छोराहरू—युकेश र मनिष धेरै दिनदेखि मामाघर जान्छु भनेर जिद्दी गरेर बसेका रहेछन् । तिनीहरूलाई पनि सँगै लिएर अगाडि बढेँ। एउटा अगाडि अर्को पछाडि। तीन जनाको त्यो यात्रा हाँसोले भरिएको थियो। बालापनका प्रश्नहरू, बाटाका रूखहरू, बजारहरू, जंगलहरू.....। कहिलेकाहीँ जीवनले सबैभन्दा सुन्दर दृश्य देखाउँछ, ठीक त्यसअघि जब ऊ सबैभन्दा कठिन अध्याय खोल्न लागेको हुन्छ। मोटरसाइकल आफ्नै गतिमा अघि बढिरहेको थियो। उता जनकपुरतर्फबाट वीरगञ्ज जाँदै गरेको एउटा प्लास्टिक ट्याङ्की बोकेको ट्रक पनि आफ्नै यात्रामा थियो। दुवैलाई आफ्नो गन्तव्य थाहा थियो। तर नियतिले उनीहरूको भेट हुने ठाउँ पनि पहिले नै तय गरिसकेको थियो। लालबन्दी र बर्दिबासको बीचमा... त्यही जंगल...त्यही सडक आसपास...र करिब १२ वर्षअघि जहाँ एउटा सुरक्षाकर्मीले उसलाई एक गिलास पानी दिएको थियो । त्यसैको वरिपरि... जीवनले अचानक ब्रेक लगायो।

भगवानको कृपा! युकेश सकुशल रहे । भाइ निमेश चाँहीको खुट्टा भाँचियो । भाग्यवश उनीहरू ट्रकको ठोकाइबाट बीच सडक भन्दा पनि झाडीतिर उछिट्टियो । उसको दाहिने काँध भाचियो । शरीर सडकको पेटीमा निस्पन्द थियो। चेतनाले आफूलाई शरीरबाट अलग गरेको जस्तो अनुभव गरिरहेको थियो। वरिपरि मानिसहरूको भीड थियो, तर कुनै आवाज स्पष्ट सुनिँदैनथ्यो। समय आफैँ रोकिएर उसको सास गनिरहेको जस्तो लाग्थ्यो। तर नियतिले कहिलेकाहीँ मृत्यु र जीवनको सीमारेखामै आफ्नै मानिसहरूलाई उभ्याइदिन्छ। करिब १२ वर्षअघि त्यही नजिकैको सशस्त्रको सुरक्षा क्याम्पमा एउटा थाकेको साइकलयात्रीले एक गिलास पानी मागेको थियो। समयले घुमेर फेरि त्यही ठाउँ रोज्यो। यसपटक पानी माग्ने हात थिएनन्, सडकमा लडेको एउटा अचेत शरीर थियो। संयोगले त्यस गौशाला क्षेत्रको कमाण्डमा हुनुहुँदो रहेछ प्रहरी तर्फको आर. पी. राउत सर। उहाँसँग उसको परिचय आजको थिएन। सात वर्षअघि उहाँ उनकै स्थानीय कपिलाकोट इलाका प्रहरी कार्यालयमा कार्यरत रहँदा वहाँ उसका बुबाका पाहुनाका रूपमा उसको घर पुग्नुभएको थियो। त्यतिबेला भएको सामान्य भेटले भविष्यमा यस्तो अर्थ बोकेर फर्किनेछ भन्ने न उहाँलाई थाहा थियो, न उसलाई। उहाँले सडकमा लडेको शरीरलाई चिन्नुभएको थिएन। तर घाइते मानिसलाई चिन्नका लागि नाम आवश्यक पनि कहाँ पर्छ र? उहाँको तत्परता, संवेदनशीलता र तत्कालको निर्णयले उसलाई समयमै बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल पुर्‍यायो। दुर्घटनापछिका केही मिनेटहरू जीवनसँगको अन्तिम सम्झौताजस्ता हुन्छन्। त्यस दिन ती अमूल्य मिनेटहरू उहाँले जीवनतर्फ मोडिदिनुभयो।

जीवनको एउटा सुन्दर सत्य यही रहेछ हामी सम्झन्छौँ, हामीले कसलाई सहयोग गर्यौँ भनेर। तर जीवनले सम्झिरहेको हुन्छ, कुन दिन कसलाई हाम्रो सामु उभ्याउने भनेर। कतिपय सम्बन्धहरू तत्काल देखिँदैनन्। ती समयको गहिराइमा गाडिएका बीउजस्ता हुन्छन्। वर्षौँपछि जब जीवनमा आँधी आउँछ, त्यही बीउ विशाल वृक्ष बनेर हाम्रो शिरमाथि छायाँ दिन आइपुग्छ। त्यस दिन आर. पी. राउत सर केवल प्रहरी हुनुहुन्नथ्यो। उहाँ जीवन र मृत्युको बीचमा उभिएको एउटा जिम्मेवार, संवेदनशील र मानवीय अनुहार हुनुहुन्थ्यो। अझ अर्को संयोग पनि कम अद्भुत थिएन। त्यही समयमा उसको पुरानो कर्मथलो जिल्ला समन्वय समिति, सिन्धुलीका समन्वय प्रमुखज्यू आफ्नो टोलीसहित त्यही सडक हुँदै यात्रा गरिरहनुभएको रहेछ। केही पर दुर्घटना भएको खबर सुनेर उहाँहरू रोकिनुभयो। घाइते व्यक्तिको परिचय सोध्नुभयो। तर कसैले परिचय दिन सकेन। घाइतेहरूलाई अस्पताल लगिसकेको हुन्छ । मन भारी पार्दै उहाँहरू अगाडि बढ्नुभयो। केहीबेरपछि मात्र थाहा भयो-सडकमा रहेका रगतहरू त आफ्नै सहकर्मीको रहेछ। जीवनले यस्ता दृश्यहरू कुनै उपन्यासकारको कल्पनाभन्दा पनि गहिरो गरी लेख्दोरहेछ। जब उसले अस्पतालको सेतो कोठामा बिस्तारै आँखा खोल्यो, उसले एउटा सत्य बुझ्यो कि दुर्घटनामा केवल हड्डीहरू मात्र भाँचिएका रहेनछन्। त्यही दिन मानिसहरूबीचको प्रेम, सम्बन्ध, कर्तव्य र सद्भावको वास्तविक बल पनि उसको अगाडि पूर्ण आकारमा उभिएको थियो।

अस्पतालको सेतो भित्ताभित्र समय घडीले होइन, सासले नापिँदो रहेछ। त्यहाँका बिहानहरू सूर्यले होइन, नर्सको पाइला र डाक्टरको मुस्कानले उज्यालो बनाउँदो रहेछ। रातहरू निद्राले होइन, पीडाले लामो बनाउँदो रहेछ। तर ती रातहरूमा ऊ कहिल्यै एक्लो भएन। कसैले ढोका ढकढकाउँदै भेट्न आयो, कसैले काँधमा हात राखेर मौन ढाडस दियो, कसैले फोनबाट शब्दको न्यानोपन पठायो। तब उसले महसुस गर्‍यो- मानिस जीवनमा धनले धनी हुँदैन, उसलाई सम्झने मानिसहरूको सङ्ख्याले धनी बनाउँछ। यस कठिन घडीमा सिन्धुलीबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय माननीयज्यू, बागमती प्रदेशका पूर्वमन्त्री एवम् माननीय सभासद्, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख/उपप्रमुख तथा सम्पूर्ण परिवार त्यसै गरी मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका लगायतका जनप्रतिनिधिहरू, सहकर्मी, साथीभाइ, आफन्तजन र गाउँघरका इष्टमित्रहरूको आत्मीय उपस्थिति केवल औपचारिक भेट मात्र नभई ती प्रत्येक भेट जीवनप्रतिको विश्वासका हस्ताक्षर थिए। प्रत्येक शुभेच्छा एउटा औषधि थियो, जसले शरीरभन्दा पहिले आत्मालाई निको पारिरहेको थियो। त्यसैले उसले आफ्नो आँसु धेरैपटक लुकायो। किनभने ती आँसुहरू पीडाका थिएनन्। ती आँसुहरू प्रेमले अझै पनि मानिसलाई धनी बनाउँछ भन्ने प्रमाणका थिए।

डाक्टरहरूले उसको काँधभित्र स्टिल राखिदिए। सायद हड्डीहरू फेरि जोड्ला। तर उसले बिस्तारै बुझ्यो कि मानिसलाई उभ्याउने धातु स्टिल होइन रहेछ। मानिसलाई उभ्याउने धातु त सम्बन्ध रहेछ। विश्वास रहेछ, प्रेम रहेछ, कृतज्ञता रहेछ। त्यो धातु शरीरभित्र होइन, आत्माभित्र गाडिएको हुँदो रहेछ। एक बिहान अस्पतालको ढोका बिस्तारै खुल्यो। अगाडि उनको जीवनसङ्गिनी थिइन्। पछिपछि साना पाइला टेक्दै आइरहेका थिए उस्तै फरियामा सजिएका उसका दुई कुसुमहरू। उनीहरूले अस्पताल देखेनन्, स्टिल देखेनन्, घाउ देखेनन्। उनीहरूले केवल आफ्नो बाबा देखे। उनीहरू दौडिएर छातीमा टाँसिँदा सावधानीपूर्वक राखिएको शरीर एकछिनका लागि चिकित्सा विज्ञानभन्दा बाहिर निस्कियो। त्यहाँ न एक्स–रे थियो, न एमआरआई, न शल्यचिकित्साको भाषा। त्यहाँ मात्र प्रेमको स्पर्श थियो। एउटीले काँधतिर हेरी बिस्तारै सोधी, "बाबा, अब दुख्दैन नि?" अर्कीले केही बोलिन। केवल आफ्नो सानो हात उसको हातमाथि राखी। संसारका सबै औषधिभन्दा प्रभावकारी उपचार सायद त्यही स्पर्श थियो। चिकित्सकहरूले शरीरभित्र स्टिल जडिदिएका थिए, तर ती नानीहरूको अँगालोले आत्माभित्र फेरि जीवन जडिदियो। छेउमै उभिएकी उसकी जीवनसंगिनीको आँखामा निद्राविहीन रातहरूको कालोपन थियो। तर त्यो अनुहारमा कुनै गुनासो थिएन। केवल एउटा मौन अठोट थियो कि "तिमी उठ्नुपर्छ, हामी अझै धेरै बाटा सँगै हिँड्न बाँकी छ।" उसले त्यतिबेला पहिलोपटक महसुस गर्‍यो जीवनलाई टिकाइराख्ने धातु हड्डीभित्र राखिएको स्टिल होइन रहेछ। जीवनलाई टिकाइराख्ने धातु त विश्वास रहेछ। प्रेम रहेछ, परिवार रहेछ, त्याग रहेछ। मान्छेले मान्छेलाई नछोड्ने प्रतिज्ञा रहेछ।

आज उसको काँधभित्र स्टिल छ। तर त्यो स्टिलभन्दा धेरै बलियो उसको आत्मा छ। उसले दुर्घटनाबाट एउटा कुरा सिक्यो कि सडकले कहिलेकाहीँ शरीर लडाउँछ, तर प्रेमले आत्मालाई कहिल्यै ढल्न दिँदैन। अब ऊ फेरि हिँड्नेछ। सायद पहिलेजस्तो वेगमा होइन, तर पहिलेभन्दा धेरै गहिरो अर्थ लिएर। किनकि उसले बुझिसकेको छ कि जीवनको सबैभन्दा ठूलो सुरक्षा हेल्मेट होइन । सबैभन्दा ठूलो इन्धन पेट्रोल होइन । सबैभन्दा ठूलो उपचार औषधि पनि होइन। मान्छेलाई अन्तिमसम्म जीवित राख्ने शक्ति भनेको उसलाई पर्खिरहेका मानिसहरूको प्रेम हो। त्यसैले आज ऊ सबैप्रति नतमस्तक छ। जसले अस्पतालसम्म बोके, जसले रगतभन्दा न्यानो शब्द दिए, जसले मौन प्रार्थना गरे, जसले हात समाते, जसले फोनको अर्को किनाराबाट पनि आशा पठाए। ती सबैप्रति ऊ जीवनभर ऋणी रहनेछ। किनकि दुर्घटनाले उसको एउटा काँध भाँच्यो, तर त्यही दुर्घटनाले उसलाई देखाइदियो कि ऊ कति धेरै मानिसहरूको प्रेमले बनेको मान्छे रहेछ। र यही बोध नै उसका लागि नयाँ जीवनको वास्तविक पुनर्जन्म बन्यो।

सिन्धुली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।