19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समयले धेरै कुरा सिकायो तर समयमै सिकाएन

कविता गोविन्द सुबेदी July 9, 2026, 12:40 am
गोविन्द सुबेदी
गोविन्द सुबेदी

समय गुरु बनेर आयो
हातमा चक थिएन,
अनुहारमा करुणा थिएन,
पाठहरू अप्ठयारा थिए—
ढिलो बुझिने,
ढिलो बोल्ने,
ढिलो नै आत्मसात हुने ।

उसले मलाई धैर्य सिकायो
जब सहनै नसक्ने पीडा थुप्रिए,
उसले मौन सिकायो
जब बोल्नुपर्ने बेला
आवाज हराइसकेको थियो ।

समयले मित्र चिनायो
तर विश्वास भत्किएपछि,
आफन्तको मूल्य बुझायो
तर सम्बन्धहरू चिसिएपछि ।

उसले प्रेमको अर्थ सिकायो
तर प्रेम गुमेपछि,
आत्मसम्मान सिकायो
तर अपमानको हद नाघेपछि ।

समयले भन्यो—
“सबै कुराको उत्तर भित्रै हुन्छ,”
भित्र खोज्न थालेँ
त्यतिबेला जब
बाहिरका सबै ढोका बन्द भइसकेका थिए ।

सही र गलत छुट्याउन सिकायो
तर गल्तीहरू जीवनको कापीमा
मसी सुकिसकेपछि ।

समयले जीवन के हो बुझायो
तर जवानी थाकिसकेपछि,
समयले सपना कति मूल्यवान छन सिकायो
तर सपना बेचेर
जिम्मेवारी किनेपछि ।

समय निर्दयी थिएन,
ऊ त केवल निष्पक्ष थियो—
उसले कहिल्यै रोकेन,
न त फर्केर आयो ।

आज बुझ्छु,
समयले धोका दिएको होइन,
हामी नै ढिला सिक्ने विद्यार्थी थियौँ ।

तर पनि,
यति धेरै सिकेर पनि
मनमा एउटा प्रश्न बाँकी छ—
यदि समयमै सिकाएको भए,
के जीवन यति अप्ठयारो हुन्थ्यो ?

सायद हुन्थेन ।
किनकि
ढिलो सिकिएका पाठहरू
आत्मामा लेखिन्छन,
मेटिँदैनन्
जीवनभर पढिरहन्छौँ ।

गैंडाकोट–२, नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।