19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मापदण्ड

लघुकथा खगराज बराल July 9, 2026, 11:28 pm
खगराज बराल
खगराज बराल

खादाको थुप्रोले बेहुलाका बाबु रुद्रको काँध छोपिँदै थियो । एउटा खादा मिलाउन नपाउँदै अर्को पाहुनाले बधाई दिँदै घाँटीमा थपिदिन्थ्यो । श्रीमतीले हातभरि बुँकी सम्हाल्दै मुस्कुराइरहेकी थिइन् ।
"धन्यवाद, हजुर । आउनुभयो, खुसी लाग्यो ।"
मञ्चमा बेहुला–बेहुली क्यामेराको फ्ल्याससँगै मुस्कान फेरिरहेका थिए । तल भोज हलमा प्लेटहरू खनखनाइरहेका थिए ।
"रुद्र सर, बिहेको त सुइँकोसम्म पाइएन नि!" एक पाहुनाले हाँस्दै सोधे, "एकैचोटि भोज?"
रुद्रले कोटको बटन मिलाए ।
"छोराको पाँच वर्षदेखिको प्रेम हो । गतिलो घरको छोरी । कलेज पढ्दाखेरि प्रेमिकालाई घुमाउन मोटरसाइकल किनिदिएको थिएँ । माइतीले नमानेपछि दुवैले मन्दिरमा बिहे गरिहाले ।"
"वाह! प्रेमको जित भनेको यही हो," कसैले ताली ठोक्यो ।
"हामी त डराएकै थियौँ," उनले गिलास उठाउँदै भने, "असफल भए केटाकेटीले के गरिदिन्छन्, ठेगान हुँदैन ।"
"त्यो त हो," अर्कोले सहमति जनायो, "अहिलेका बच्चालाई सम्झाउन गाह्रो छ ।"
"तर तपाईंले छोरालाई साथ दिनुभयो, राम्रो गर्नुभयो," एक महिलाले भनिन् ।
उनले गर्वले टाउको हल्लाए ।
अर्कोले भन्यो, "यिनीहरूको प्रेम सक्सेस भयो ।"
"तपाईंकी कान्छी बहिनी देखिनुभएन त?" कसैले सोध्यो ।
"बेहुलीका माइती उनका आफन्त रहेछन् । नजानू भनेछन् ।"
"अनि... छोरी?"
उनको मुस्कान एकाएक ओइलायो ।
"त्यसको कुरा नगर्नुहोस्," उनले प्लेट टेबलमा राखे, "आमाबाबुलाई थाहै नदिई आफूखुसी बिहे गरेर हिँड्ने छोरीलाई म यो घरको ढोकाभित्र छिर्न दिन्नँ ।"
"छोरीको पनि प्रेमविवाह?" बिस्तारै प्रश्न आयो ।
"प्रेम भनेर सबै कुरा जायज हुँदैन," उनले मुख फर्काए ।
क्षणभर सन्नाटा छायो।
एक वृद्ध पाहुनाले पानीको गिलास टेबलमा राख्दै भने, "न्याय त घरबाटै सुरु हुनुपर्छ नि ।"
"हो त," अर्काले सुस्केरा हाल्यो, "माया छोराछोरी छुट्याएर नाप्ने चिज होइन ।"
कसैले सुस्त स्वरमा थप्यो, "सन्तानको खुसीको मापदण्ड बदलिनु हुँदैन, एउटै आँखाले हेर्न सक्नुपर्छ।"
सबैले एकअर्काको अनुहार हेरे । कसैसँग बोल्ने शब्द थिएन ।
अघिसम्म 'प्रेमको जित' भन्दै ताली बजाउने ती पाहुनाले दाँतबिच अड्किएको खानाको रेसा सिन्काले निकाल्दै सोधे, "एउटै घरमा छोराको प्रेम साहस, छोरीको प्रेम अपराध कसरी भयो?"
रुद्रले कुनै जवाफ दिएनन् ।
डेजर्ट काउन्टरमा मिठाई थपिँदै थियो । मिठासको लाइन लामै थियो; तितोपन भने कसैको घाँटीमुनि झरेको थिएन ।

पोखरा, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।