19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बासीभात

कथा बद्री अधिकारी July 9, 2026, 11:29 pm
बद्री अधिकारी
बद्री अधिकारी

सहरी विकास मन्त्रालयको एयरकन्डिसन कोठा। टेबलमा इलामको नक्सा, फाइलको थुप्रो र चियाको कप थियो। बाहिर काठमाडौँको कोलाहल थियो, भित्र भने फाइल पल्टाउने आवाज।

मन्त्रीले नक्सा तान्दै सहज ढङ्गले बसेर भने, "भ्रमण त गर्छु धीरजजी। तर पहिले योजना र बजेटको कुरा पक्का गरौँ। त्यहाँ अहिलेको अवस्था के छ? नीति अनुसार त्यो ठाउँ 'अति दुर्गम' को सूचीमा पर्छ त?"

धीरजले विस्तारै सुनायो, "बाटो छैन मन्त्रीज्यू। केवल गोरेटो मात्र छ। वर्षामा तीन दिनसम्म गाउँ सम्पर्कविहीन हुन्छ। राष्ट्रिय मापदण्ड अनुसार 'बाटो नपुगेको बस्ती' को मात्र सुनिन्थ्यो।

मन्त्रीले फाइलबाट आँखा उठाएर सोधे, "तपाईंले जमुनाबारी नै रोज्नुको कारण?"

धीरजले पक्का स्वरमा भन्यो, "मन्त्रीज्यू, जमुनाबारी यति विकट ठाउँ हो। जहाँ म हुर्किएको थिएँ।"

मन्त्रीले अलिक अगाडि सरेर भने, "तपाईं आफ्नो गाउँको विकास गर्न चाहनुहुन्छ कि के हो? व्यक्तिगत स्वार्थ त छैन?"

धीरजले टेबलतिर हेर्दै भन्यो, "त्यसो होइन मन्त्रीज्यू। मलाई मेरो गाउँको मात्रै माया होइन, देशैभरिको माया छ। तर त्यो गाउँ यति विकट छ, एकपटक आफै गएर हेर्नुस्। कागजमा लेखेको भन्दा माटोको पीडा फरक हुन्छ।"

परिभाषामा ठ्याक्कै पर्छ।"

मन्त्रीले कलम घुमाउँदै सोधे, "खानेपानी र विद्यालयको अवस्था कस्तो छ? कानुनले भन्छ—स्वास्थ्य र शिक्षाको न्यूनतम पहुँच नभएको ठाउँलाई प्राथमिकता दिनुपर्छ। त्यो प्रमाण छ तपाईँसँग?"

"प्रमाण त मेरो आँखा हो मन्त्रीज्यू। खानेपानीको लागि महिलाहरू दुई घण्टा तल खोलामा ओर्लनुपर्छ। 'जनज्योति प्राथमिक विद्यालय' को छानो चुहिन्छ। हिउँ पर्दा बालबालिका एक हप्ता पढ्न पाउँदैनन्। कानुनी रूपमा भन्नुपर्दा, त्यो विद्यालय 'सुरक्षित भवन मापदण्ड' मै पर्दैन।"

मन्त्रीले केही क्षण मौन बसेर खाका हेरे। त्यसपछि फाइल बन्द गर्दै भने, "हुँ। तपाईंको तथ्याङ्क र कानुनी आधार दुवै बलियो रहेछ। तर बजेटको स्रोत? सङ्घीय अनुदानको प्रक्रिया लामो छ। प्रदेश र पालिकासँग समन्वय मिल्छ त?"

धीरजले तयार पारेको कागज अघि सार्दै भन्यो, "पहिलो प्राथमिकता गोरेटो। दोस्रो खानेपानी। तेस्रो विद्यालयको पक्की भवन र स्वास्थ्य चौकी। यो खाका तीनै तहको कानुन पढेर बनाएको हुँ। बजेटको बाँडफाँड पनि नीति अनुसारै छ। यो पैसाले गाउँको नियति बदलिन्छ, मन्त्रीज्यू।"

मन्त्रीले खाका हेरे। नीति, कानुन र माटोको पीडा—तीनै कुरा मिलेको देखे। गाउँपालिका र प्रदेश को सिफारिसहरूलाई पनि ध्यान दिएर हेरे।अनि टाउको हल्लाउँदै भने, "तपाईंको काम देखेर म प्रभावित भएँ धीरजजी। नीति कागजमा मात्र होइन, माटोसम्म पुर्‍याउने मान्छे चाहिन्छ। ल योजना पक्का गरौँ। हेलिकप्टरको व्यवस्था मिलाउँछु। म आफै गएर हेर्छु जमुनाबारी।"

कोठाबाट निस्किँदा उसको मनमा एउटा मात्र कुरा थियो—जमुनाबारीको माटोले दिएको ऋण तिर्ने मौका नजिकिँदै छ।

धीरज सलाम गर्दै कोठाबाट बाहिर निस्कियो। उसको शरीर निकै फुर्तिलो भयो। आफ्नो गाउँको विकास हुने कुरा र त्यहाँका बासिन्दाको हित हुने कुरामा आफ्नो पनि केही सामान्य सहयोग हुने भएकोमा खुसी देखिन्थ्यो।

❀❀

हिमालयको काखमा टाँसिएको गाउँको नाम थियो, इलामको सुन्दकपुर गाउँपालिका, जमुनाबारी गाउँ। मेची क्षेत्रको त्यो पहाडी बस्ती सभ्यताको मूलधारबाट टाढा थियो। बाटो थिएन, केवल गोरेटो थियो। घरहरू ढुङ्गा र माटोका। छाना खरले छाएका। जाडोमा हिउँले सेताम्मे हुन्थ्यो, गर्मीमा ढुङ्गा घामले पोल्थ्यो। वर्षा लागेपछि सम्पूर्ण गाउँ बादलको काखमा हराउँथ्यो।

त्यही बस्तीको एक छेउमा धीरजको घर थियो। दुई कोठे माटोको घर। एउटा कोठा भान्सा र सुत्ने कोठा दुवै थियो। अर्को कोठा बाख्राको खोर थियो। बिहान उठ्दा खोरको तीतो गन्ध सम्पूर्ण घरमा फैलिन्थ्यो। धीरजलाई त्यो गन्ध मन पर्दैन थियो। बिस्तारै ऊ त्यसमा बानी पर्दै गयो।

उसको परिवारको अवस्था दयनीय थियो। बुवा भीमबहादुर जङ्गलमा दाउरा काटेर, अरूको बारीमा ज्याला गरेर जीवन धान्थे। आमा पार्वती अरूको घरमा भाँडा माझ्थिन्, जनबनिको काम गर्थिन्। जुन श्रम भेटियो त्यही श्रम गरेर उनीहरूले छोराको भविष्यको दियो बाल्न चाहेका थिए।

धीरज एक्लो सन्तान थियो। उसको बाल्यकालको साथी थियो—भोक। गाउँको 'जनज्योति प्राथमिक विद्यालय' मा उसले अक्षर चिन्यो। टिनको छानो मुनि, काठको बेन्चमा बसेर उसले वर्णमाला कोर्दै जीवनको पहिलो पाठ पढ्यो।

तर प्रत्येक बिहान उसको खाजा एउटै हुन्थ्यो—अघिल्लो रातको बासीभात। त्यो भातमा आमा नुन मिसाइदिन्थिन्, पानी छर्किदिन्थिन्। कोलाको पातमा बेरेर झोलामा राखिदिन्थिन्।

"छोरा, यही खाएर पढ्न जाऊ। विधाताले एकदिन अवश्य हेर्छन्," आमाको स्वरमा अभावको कठोरता र ममताको कोमलता दुवै मिसिएको हुन्थ्यो।

धीरजलाई बासी भात घाँटीमा अड्किन्थ्यो। पानीले निल्थ्यो। कहिले भात अमिलो भइसकेको हुन्थ्यो, कहिले बालुवा मिसिएको हुन्थ्यो। तर उसको जिब्रोले कहिल्यै गुनासो गरेन। साथीहरूले तरकारी र अचार ल्याएका हुन्थे। त्यो देख्दा लालच उत्पन्न हुन्थ्यो तर कसैलाई केही भन्दैनथ्यो। उसले आफ्नो बासीभात मिठो मानेर खान्थ्यो। अनि त्यही बासीभातलाई शक्तिमा बदल्ने अभिष्ट चाह कापीका पानामा अक्षर बनेर कोरिन्थे।

उसका गुरुहरूले उसको प्रतिभा चिन्थे। विशेष गरी ज्ञानबहादुर सर। उनी धीरजको कापी हेरेर भन्थे, "यस बालकको अक्षरमा मोतीको चमक छ। यसले एकदिन आफ्नो नियति आफैँ लेख्नेछ।"

वर्तमानबाट भविष्यको आकलन गर्ने हो। सबै आकलन सत्य नै हुन्छन् भन्ने पनि छैन। धीरजको नियति क्रूर पनि थियो। एक साँझको घटना हो। तीनैजना एउटै थालमा बसी बासीभात खाँदै थिए। बुवा थकित हुनुहुन्थ्यो। छिटोछिटो खाँदा भातको ठूलो गाँस घाँटीमा अड्कियो। उहाँको अनुहार रातो भयो। श्वास रोकिन लाग्यो। आमा चिच्याइन्। धीरजले लोटाको पानी खुवाईदियो। छिमेकी जम्मा भए। लामो सङ्घर्षपछि मात्र बुवाको प्राण बाँच्यो।

त्यो रात धीरजको निद्रा हरायो। उसले छानाका काठ गन्दै रात बितायो। "भोकले अब कसैको प्राण लिन पाउने छैन। म पढ्छु। म आफ्नो मात्र होइन, यो गाउँको नियति पनि बदल्छु।"

हाइस्कुल गाउँबाट तीन घण्टाको पैदल टाढा थियो। धीरज बिहानै निस्कन्थ्यो। झोलामा कोलाको पातमा बेरिएको बासीभात हुन्थ्यो। दिउँसो 'श्री महेन्द्र माध्यमिक विद्यालय' मा पढ्थ्यो। बिहान र बेलुका ऊ आफूभन्दा साना बालबालिकालाई अक्षर सिकाएर थोरै शुल्क लिन्थ्यो। त्यो शुल्कले कहिले कापी किन्थ्यो, कहिले आमाको लागि नुन। कहिलेकाहीँ त्यो दिन बासीभात खानु पर्दैनथ्यो। आमाले आलुको झोल पकाइदिन्थिन्। त्यो दिन धीरजलाई लाग्थ्यो, स्वर्गको अमृत पनि यही होला।

गाउँको प्रकृतिसँग उसको बाल्यकाल गाँसिएको थियो। बिहान जमुनाबारी गाउँको शिखरमा पहिलो घाम पर्थ्यो। त्यसका सुनौलो रेखाले बिस्तारै गाउँका खरका छानालाई चुम्बन गर्थ्यो। साँझमा सल्लाको वनबाट बग्ने हावाको स्वर कुनै प्राचीन ऋषिको मन्त्र जस्तो लाग्थ्यो। वर्षामा गोरेटो हिलो हुन्थ्यो। धीरज हिलोमा लड्थ्यो, उठ्थ्यो, र अझ दृढ भएर अगाडि बढ्थ्यो।

हाइस्कुलको अन्तिम परीक्षा उत्तीर्ण भएपछि उसको सामु एउटा प्रश्न उभियो—अब कहाँ? उच्च शिक्षाको लागि काठमाडौँ जानुपर्‍यो। बुवाले खच्चड बेचे। आमाले आफ्नो एक मात्र चाँदीको बाहिँ र कल्ली बेचिन्। त्यो सानो पुँजी लिएर धीरज काठमाडौँ लाग्यो।

काठमाडौँ उसको लागि अपरिचित संसार थियो। पक्की सडक, बिजुलीको बत्ती, मान्छेको भीड। त्यसमा देखिने पीडा रोदन र हाँसो। उसले सामाखुशी नजिक एउटा साँघुरो कोठा भाडामा लियो। चार हात चौडा, छ हात लामो। भुइँमा एउटा सिरानी र कम्बल मात्र थियो।

भोलिपल्टै उसले एउटा क्याफेमा काम पायो। भाँडा माझ्ने, ग्राहकको सेवा गर्ने काम। बिहान ६ देखि राति १० सम्म। त्यसको बदलामा मालिकले दुई छाक खाना र थोरै पारिश्रमिक दिन्थ्यो। खाना मुस्किलले पुग्थ्यो, तर पेट रित्तो भने रहँदैनथ्यो। गाउँको जस्तो बासीभातमा नुन मिसाएर खानु पर्ने अवस्था थिएन। उसलाई बाबुआमाको सम्झनाले सताइरहन्थ्यो।

क्याफेको काम र कलेजको पढाइबीच उसको दिनचर्या बाँडियो। श्रम गर्थ्यो। राति कोठामा फर्किँदा शरीर थकाइले भारी हुन्थ्यो। सिरानीमा टाउको राख्दा आँखा बन्द हुन्थे। गाउँको सम्झना आउँथ्यो, आमाले कोलाको पातमा बेरेर दिएको बासीभातको सम्झना। तर त्यो सम्झना पीडाको मात्र थिएन, त्यो उसको प्रेरणा थियो।

काठमाडौँको सहर उसलाई अनौठो लाग्यो। भीड थियो, गाडीको आवाज थियो। गाउँको झैँ एक अर्काप्रति माया, सद्भाव, सहयोग थिएन। सबै मान्छे एक्ला थिए। धीरजले गाउँको सल्लाको हावाको स्वर सम्झन्थ्यो।

❀❀❀

सहरको बीचमा उभिएका मन्दिरहरूले उसलाई तान्थे। काठमाडौँ दरबार क्षेत्रको काष्ठमण्डप। शालको काठबाट बनेको तीन तले मन्दिर। काठको झ्याल, ढोकामा कलात्मक कलाकृति। रातको बत्तीमा त्यो मन्दिरको काठ टल्किए जस्तो लाग्थ्यो। धीरज सोच्थ्यो, "काठलाई कुँदेर यति सुन्दर बनाउन सक्ने हातले, मान्छेको भाग्य किन बनाउन सक्दैन?"

स्वयम्भूको सेतो गुम्बज र माथि कोरिएको आँखा। ती आँखाले तलको सम्पूर्ण उपत्यका हेरिरहेको हुन्थ्यो। धीरज त्यहाँको चिसो ढुङ्गामा बसेर सोच्थ्यो, "यी आँखाले मेरो गाउँको भोक पनि देख्छन् होला।"

पशुपतिनाथको बागमतीको किनारमा साँझ बत्ती बल्थ्यो। बत्तीहरू दुनामा राखेर बालेर बगाएको देखिन्थ्यो। धीरजले बागमतीको चिसो पानी छोएर मनमनै प्रार्थना गर्थ्यो। "हे शिव, मलाई शक्ति दिनुहोस्। म आफ्नो मात्र होइन, मेरो गाउँको अभावलाई पनि हराउन चाहन्छु।"

यही श्रम र पढाइको बीचबाट ऊ लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भयो। सहरी विकास मन्त्रालयमा अधिकृत पद पायो। आज ऊ त्यही मन्त्रालयको उच्च पदमा छ। टेबलमा फाइल सँगै, चियाको कप छ। तर उसको चेतनामा गाउँको बासीभातको स्वाद अझै ताजा छ। त्यो स्वादले उसलाई हरेक दिन सम्झाउँछ—ऊ कहाँबाट आएको हो।

वर्षौँपछि धीरज हेलिकप्टरबाट इलामको सुन्दकपुर गाउँपालिका, जमुनाबारी गाउँमा ओर्लियो। साथमा सहरी विकास मन्त्री थिए। सचिव, इन्जिनियर र स्थानीय पदाधिकारीहरू पनि थिए। हेलिकप्टरको हावाले गाउँका खरका छाना हल्लायो। बालबालिका कौतुहलले दौडिएर हेर्न आइपुगेका थिए। क्षणभरमै मेला लागे जस्तै भयो।

भलिबल कोर्टको छेउमा प्लास्टिकको कुर्सी राखेर सबै बसे। अगाडि चियाको कप र केही बिस्कुट राखिएको थियो। मन्त्रीले वरिपरि हेरेर सोधे,

"अधिकृत ज्यू, यही हो तपाईंको गाउँ?"

धीरजको आँखा भिज्यो। अतीतका परिदृश्यहरू उसका आँखा अगाडि नाच्न थाले। उसले ढुङ्गाको घर, सल्लाको वन, त्यही गोरेटो हेर्‍यो। खास केही परिवर्तन जस्तो देखिएको थिएन। सहरमा धेरै परिवर्तन भइसक्यो। तर गाउँ जस्ताको तस्तै देखिँदै थियो। अनि उसले झोलाबाट एउटा सानो सुक्खा कोलाको पात निकाल्यो। टेबलमा राख्यो। भित्र केही थिएन।

मन्त्रीले आँखीभुइँ उठाएर हेरे, "यो के हो?"

धीरजले विस्तारै भन्यो, "हजुर, मेरो बाल्यकालको खाजा यही थियो।"

छेउमा बसेका सचिवले चासो दिएर सोधे, "बाल्यकालको खाजा? कोलाको पातमा?"

"हो सर। आमाले कोलाको पातमा बेरेर दिनुहुन्थ्यो—अघिल्लो रातको बासीभात। नुन मिसाएको, पानी छर्किएको। म त्यो घाँटीमा अड्किँदा पानीले निलेर विद्यालय जान्थेँ।"

एकजना इन्जिनियरले चियाको कप तल राखे। सबैको ध्यान धीरजतिर गयो।

मन्त्रीले सोधे, "त्यति मात्र थियो खाजा?"

"हजुर। कहिले अमिलो भइसकेको हुन्थ्यो, कहिले बालुवा मिसिएको। तर गुनासो गर्ने हिम्मत थिएन। किनकि आमा भन्नुहुन्थ्यो—'विधाताले एकदिन अवश्य हेर्छन्'।"

धीरजको आँखा अलि परतिर उभिएकी एउटा पाँच छ वर्षकी बालिकातिर गएर स्थिर भयो। ती बालिकाको दायाँ हातको पन्जाले बासी भातको डल्लो पकडिरहेको थियो। उनी घरी उनीहरूलाई हेर्थिन्, भातको डल्लोलाई मुखमा लगाएर कोपर्दै।

"अधिकृत ज्यू तपाईं कता हराउनुभयो?"

मन्त्रीको स्वरले धीरज वर्तमानमा आइपुग्यो। उसले मन्त्रीलाई गम्भीर ढङ्गले हेर्‍यो। अनि दाहिने हातको चोर औँलाले ती बालिकातिर औँल्यायो।

"मेरो बाल्यकाल र यी बालिकाको बाल्यकालको समयमा धेरै समयको अन्तर भए पनि जीवन बिताउने कुरामा म खासै अन्तर देखिरहेको छैन।"

मन्त्री र अरू उपस्थित सबैको ध्यान धीरजले औँल्याएतिर गएर स्थिर भयो। सबैको मुहार गम्भीर देखिन्थ्यो।

केही क्षण मौनताले वातावरणलाई घेर्यो।

मन्त्रीले उतिर प्रश्नवाचक दृष्टि फ्याँके।

त्यसपछि उसले क्रमैसँग सुनायो। बाल्यकालका दुःखहरू। बुवालाई भात अड्किएको बेला आतिएको क्षण। भोकले मान्छेको प्राण पनि लिन्छ भन्ने सत्य बोधसँग आफ्नो पहिलो जम्काभेट भएको कुरा।

सचिवले मुखामुख गरे। मन्त्रीले चियाको कप समात्दै सोधे, "त्यसपछि?"

"त्यसपछि प्रतिज्ञा गरेँ। पढ्छु भनेर। गाउँबाट तीन घण्टा हिँडेर हाइस्कुल जानुपर्‍यो। बिहान र बेलुका साना केटाकेटीलाई अक्षर सिकाएर कापी किन्थेँ। आमाको लागि नुन किन्थेँ।"

मन्त्रीले गहिरो सास लिए, "र काठमाडौँ?"

"काठमाडौँ पुगेपछि सामाखुशीमा एउटा साँघुरो कोठा भाडामा लिएँ। चार हात चौडा, छ हात लामो। भोलिपल्टै क्याफेमा भाँडा माझ्ने काम पाएँ। बिहान छ देखि राति दश बजे सम्म। मालिकले दुई छाक खाना दिन्थ्यो। मुस्किलले पुग्थ्यो, तर भोकै सुत्नु परेन। त्यो श्रम र कलेजको पढाइबीचबाट लोकसेवा पास भएँ।"

छेउमा बसेका एकजना युवा अधिकृतले बिस्तारै भने, "हामीले फाइलमा मात्र गाउँको तथ्याङ्क पढेका थियौँ। आज बुझ्यौँ, तथ्याङ्कको पछाडि यस्तो जीवन हुन्छ।"

धीरजले फेरि कोलाको पातलाई औँलाले छोयो।

"हजुर, काठमाडौँमा मैले काठको कलाकृति हेरेँ। पशुपतिनाथको बागमतीमा दीप बग्दै गरेको देखेँ। तर मेरो गाउँका बालबालिकाले आज पनि त्यही बासीभात खानुपर्छ। जुन यथार्थ दृश्य अघि भर्खरै तपाईंहरूले पनि देख्नुभयो।" धीरजले केही क्षणपछि आफ्नो कुरा जोड्यो।

"मन्त्रीजी तपाईं र हामी सबै मिलेर अब यो बदल्नुपर्छ।"

मन्त्रीले कुर्सीमा अलिक अगाडि सरेर भने, "विकास भनेको इँटा र सिमेन्ट मात्र होइन, अधिकृत ज्यू। विकास भनेको तपाईंको जीवन पनि हो।"

धीरजले सडक, विद्यालय, खानेपानी, स्वास्थ्य चौकीको खाका सुनायो। सबैले ध्यान दिएर सुने। चियाको कप सबैको हातमा रोकिएको थियो।

धीरजको भावुक स्वरले वातावरणलाई चिरहेको थियो।

"जमुनाबारी गाउँको शिखरमा पहिलो घाम पर्छ। सल्लाको वनबाट बग्ने हावाको स्वर वैदिक मन्त्र जस्तो लाग्छ। तर मान्छे अभावमा छ। अब हाम्रो पालो हो, हजुर।"

मन्त्रीले टाउको हल्लाए। "ठिक भन्नुभयो।"

त्यसपछि जमुनाबारी गाउँको नियति बदलियो। डोजर आयो, गोरेटो फराकिलो भयो। विद्यालयको नयाँ भवन बन्यो। धीरजले आफ्नो पहिलो तलबबाट गाउँमा 'बासीभात पुस्तकालय' स्थापना गर्‍यो।

उद्घाटनको दिन उसले पुस्तकालयको ढोकामा उभिएर गाउँलेका छोराछोरीलाई बोलायो। टेबलमा कापीको थुप्रो थियो। नयाँ पेन्सिलको बन्डिल थियो। रङ्गीन झोला थिए। धीरजले एकएक गरेर सबै बालबालिकालाई बोलायो। कसैको टाउकोमा हात राखेर माया गर्थ्यो, कसैको गालामा हात छुवाउँथ्यो। उसको स्पर्शमा शब्द थिएन, तर ममता थियो।

बच्चाहरूलाई मायाले सुमसुम्याउँदै उसले कसैकसैलाई भन्थ्यो, "तिमीहरूले म जस्तो बासीभात खाएर स्कुल जानु नपरोस्। तिमीहरूले स्वस्थ र पौष्टिक आहार खाएर पढ्न पाऊ। भविष्यमा तिमीहरूलाई असल नागरिक बन्ने सफलता मिलोस्।"

उसले कापी र पेन्सिल दिँदा भन्थ्यो, "यी कापीमा तिमीहरूले आफ्नो सपना लेख्नू। यो पेन्सिलले तिमीहरूको भाग्य कोर्नू। यो झोला बोकेर विद्यालय जाऊ। अब हिलोको डर छैन, भोकको डर पनि कम हुँदै जानेछ।"

बच्चाहरूको आँखामा नयाँ चमक थियो। अभिभावकहरू टाढैबाट हेरिरहेका थिए। सबैको आँखा रसाएका थिए।

परतिर उभिएकी ती निश्चल पवित्र आत्मा भएकी बालिका भातको डल्लो दायाँ हातले मुखमा राखेर कोपरिरहेकी थिइन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।