दशवर्षअघि नै समिर र सुनिता प्रेम विवाहमा बाँधिएका थिए । उनीहरु सानैदेखिका परिचित साथी हुन् । विवाह पछिपनि उनीहरुको जोडि खुब प्रशंसनीय थियो । जीवन जिउन उनीहरुले गरेको मिहिनेत देखेर ‘संघर्षमा उपलब्धी र एकतामा बल हुन्छ, भन्ने बुझेका जोडी’ भन्थे सबैले ।
हुनपनि के गरेनन् सडकदेखि सहरसम्मका हरेक ब्यवसायलाई उनीहरुले सानो र ठूलो सम्झिएनन् । कयौ रात सडकका पेटीमा बास हुँदापनि एकले अर्कोलाई हातेमालो गर्न छाडेनन् । जिन्दगीभर सँगै बाँच्ने र मर्दापनि सँगै मर्ने बाचा थियो उनीहरुको ।
समय घर्किदै गयो । समयसँगै उनीहरुको एकताको यात्रामा म्यूजिक बदलिएको छ । बदलिएको म्यूजिकमा उनीहरुले लय भर्न सकेका छैनन् । विस्तारै आर्थिक अवस्थापनि खच्किँदै गएको छ । उनीहरुको कमाइले ब्यवहार चल्न कठिन हुँदै गएको छ । अहिले उनीहरुको जोडीमात्रै छैन । छोराछोरीपनि हुर्किदै गएका छन् । जति परिवार बढ्दै जान्छ उति उति समस्याले पनि गाँज्दै गएपछि मिहिनेतको कमाईमा पनि शुर र ताल नमिलेको गीत जस्तै बहकिएका छन् दुबै । समिरभनदा सुनिता अझैबढी बेचैन भएकी छन् ।
हुनत यी दुबै संयोग र वियोगका कथा नबुझेका पात्र भने होइनन् । सानैदेखि सुनितालाई प्रेमकथा सुन्न बहुत मन पथ्र्यो । अरु कथा छिट्टै विर्सिएपनि प्रेमकथा चाहीँ एकपटक सुनेपछि दोहोरिएर आउने सपना जस्तै लाग्थ्यो । सुनितालाई बाल्यकालमा हजुरआमाले सुनाउनु भएको एउटा प्रेममा आधारित लोककथा बारम्बार याद आउँछ । ‘एउटा हरियो, सुगन्धित रुख थियो, जहाँ न्याउली चरीले आफ्नो सुन्दर संसार बसाएकी थिई । रुख र चरीको प्रेम यस्तो निश्चल थियो कि रुखका पातहरू चरीलाई शीतल दिन हावासँगै नाच्थे । तर, एक साल गाउँमा भयानक खडेरी प¥यो । रुखका पातहरू ओइलाएर झरे, उसको अन्तरकुन्तरको रस पनि सुक्यो । जब चरीले रुखलाई आफ्नो सामीप्यता र न्यानोपन दिन खोज्थी, रुखका नाङ्गा हाँगाहरूले चरीका कोमल प्वाँखहरू चिथोरे झै लाग्थ्यो । रुख अब आश्रय होइन, एउटा बिझाउने उजाड काँडेभिर जस्तै बनेको जस्तो ।’
यतिबेला सुनिताको जीवनमा समिर त्यही खडेरी लागेको काँडेभिरको स्याक्रे रुख बराबर बनेको छ । घरखर्च चलाउन, रित्तिँदै गएको खुसीको घैँटो भर्न र समिरको महत्वकांक्षा पूरा गर्न अन्ततः सुनिताले एउटा कठीन निर्णय लिइन् । ‘दुईजना मध्ये एकजना अब वैदेशिक रोजगारीमा जानैपर्छ ।’ अरु विकल्प पनि थिएन उनीहरुसँग । सुरुमा त समिरले अलिकति इच्छापनि राखेको थियो, अलिपछि आनाकानी गरेजस्तो लागेपछि सुनिता आफै तयार भइन् । दुवैको सहमति भयो ।
परदेशको कामका लागि सजिलो होस् भनेर सुनिताले आफ्नो कम्मरसम्म आउने त्यो फरर उडेको रेशमी लामो कपाल छोटो पारेर आफैँ काटिन् । जसलाई समिरले विवाह अघिका प्रेमिल दिनहरुमा मग्न भएर दिनदिनै सुम्सुम्याउँथ्यो । ‘यसलाई त म्युजियममा सजाएर राख्नुपर्छ प्यारी, कति सलक्क परेको कपाल, यसैले तिमीलाई भरपुर सुन्दरता दिएको छ । अहा, कति राम्री ।’ उ तारिफ गथ्र्यो । त्यही रेसमी कपालमा कैँची चल्दा सुनितालाई लागेको थियो कि ‘म आफ्नो प्रेमको एउटा बलियो हाँगा आफैँ काटिरहेकी छु ।’ तर उनले मनलाई धर्य गरिन् र मनमनै सम्झिन् –‘मानौँ पिँजडाको चरी आफैँ उडेर चारोको खोजिमा जाँदैछे ।’ समिरले पनि कुनै रोकछेक गरेनन् । बरु सुनिताले समिरको आँखामा एउटा रहस्यमयी चमक देखिन् । फेरि नियालेर हेर्दा समिरको मन हल्का धुमिल भएको हो कि जस्तो चाहीँ सुनितालाई लागेको थियो ।
भोलीपल्ट, विमानस्थलको चिसो र कोलाहलपूर्ण भुइँमा उभिएर आँसु पुछ्दै सुनिताले भनिन् –‘म छिट्टै फर्कनेछु समिर, हाम्रो भत्किन लागेको घरको छानो टाल्नु छ, हाम्रा असिम अधुरा चाहनाहरु पूरा गर्नुछ ।’ धर्य गर, नानीबाबुको ख्याल राख, आई लभ यू ।
समिरले बाध्यात्मक हाँसोको औपचारिकता निभायो र भन्यो– ‘तिमीपनि आफ्नो ख्याल राख्नू, लभ यू ।’ तर त्यो बिदाइमा कतै पनि विवाह अघि र हनिमुन पिरियडको जस्तो न्यानोपन थिएन । समिर त केवल एउटा जहाज उडेको हेरिरहेको तटस्थ यात्रुजस्तो मात्र देख्थ्यो सुनिताको आँखाले ।
दुईदिनपछि...सुनिता गन्तब्यमा पुगिन् । विदेशको कठोर भूमिमा सुनिताले पसिना मात्र बगाइनन्, आफ्नो वय र वैँशका रहरहरू पनि बगाइन् । बाह्र–पन्ध्र घण्टाको कडा श्रम, मालिकको कचकच, र घरको न्यास्रो । तर हरेक महिना कमाएको पैसा समिरको खातामा पठाउँदा उनको मन हल्का हुन्थ्यो । उनलाई लाग्थ्यो– ‘म मेरै सुखको घर बलियो बनाउँदैछु ।’
सुरु सुरुमा त समिरले फोनमा अलिअलि कुरा गथ्र्यो, तर बिस्तारै उसको आवाजमा हिउँ जम्दै गएको आभाष सुनितालाई हुन थाल्यो । कहिले व्यस्त छु भन्थ्यो, कहिले नेटवर्क छैन भन्दै पन्छाउँथ्यो । त्यो एउटा सुरुवाती बिन्दु थियो, जहाँबाट अगाध प्रेमको साम्राज्य भत्किन सुरु गरेको रहेछ । ऊ बेलाको प्रेमलिला र विवाहपछि हनिमुनका ती स्वर्णिम, मादक र सुगन्धित पलहरू कति चाँडै एकादेशको कथा बन्दै गए, सुनितालाई पत्तै भएन ।
विवाह अघिदेखि सौन्दर्यको सोखमा पालेका र विदेशी बगरमा भाँच्चिएका नङ, टुक्रिएका कपाल र भ्यागुत्ताको छाला सरह भएको हात, बयालिस डिग्रीको घाममा डढेको अनुहार ऐनामा हेर्दा सुनिताको मन कटक्क भएर कुडिन्थ्यो ।
सुनिता विगत र समिरलाई पल पल सम्झिन्छिन्– कोमल हातहरु चुम्दा ओठमा रसाएर निस्किएको प्यार, समिरको अँगालोमा बेरिँदा बढेको धढ्कन सम्झिँदा मनभरी प्रश्न तेस्रिन्छ, ‘ति दिनहरु त केवल एउटा झाँकी मात्र थिए कि क्या हो ?’ विस्तारै समिरको व्यवहार हिउँदको सुक्खा मरुभूमि जस्तै फुस्रो, कर्कश र रूखो हुँदै गएको जस्तो उनलाई भित्रि मनको एउटा कुनामा उब्जिएपनि ब्यक्त गर्न साहस पुग्दैनथ्यो, फेरि मनको अर्को कुना झट्ट बोलिहाल्थ्यो धत.. कहाँ समिर त्यस्तो कमसल मान्छे हो र ।
सुनिता आफैसँग झस्किन्छिन् र भित्र पस्छिन् । उनले कोठाको कुनामा एउटा माकुरा देख्छिन् । काम गर्ने घरको कुनामा एउटा माकुराले दिनरात मेहेनत गरेर एउटा कलात्मक जालो बुन्दै रहेछ । दिनहुँ उनका आँखा त्यही माकुराको जालोमा ठोकिन्थे । माकुरालाई लाग्थ्यो, यो जालो नै उसको साम्राज्य हो, उसको सुरक्षा हो । तर एकदिन एउटा हावाको बेगवान् झोक्का आयो र जालोको मुख्य त्यान्द्रो नै चुँडाइदियो । माकुरा अझै पनि त्यही चुँडिएको जालोमा झुण्डिएर अर्को कुनाको आशा गरिरहेको हुन्थ्यो । घरिघरी सुनितालाई लाग्यो अब उनको अवस्था पनि त्यस्तै हुन के बेर ? समिरको कहिलेकाहीँ आउने ओभानो फोनले उनलाई लाग्थ्यो– ‘ होइन, म गलत सोचिरहेछु, संसार अझै बाँकी नै छ क्यार !
यसरी नै समयको नदी अनवरत बगिरह्यो, सुनिता विदेशिएको पनि झण्डै सात वर्ष भएछ । सात वर्षपछि, सुनिताले अब सधैँका लागि मातृभूमि फर्कने निधो गरिन् । उनले समिरलाई अचम्मित र खुसी पार्न आफू आउने कुरा पहिल्यै बताइनन् । हातमा सुटकेस र मनमा अनेकौँ मीठा सपना बोकेर उनी आफ्नो गाउँको माटोमा आइपुगिन् ।
गाउँको चौतारीमा आइपुग्दा केही चिनिएका अनुहारहरू गफिइरहेका थिए । सुनितालाई देख्ने बित्तिकै उनीहरूका आँखामा अचम्म र एक किसिमको गहिरो तर प्रश्नले भरिएको सहानुभूति देखियो । गाउँकी काकीले पानीको गाग्री भुइँमा राख्दै भनिन्, –‘अरे सुनिता ! तिमी आयौ ? समिरलाई आउने खबर गरिनौ ?’
‘छैन काकी, सरप्राइज दिऊँ भनेर..।’ सुनिताले थकित मुद्रामा मुस्कुराउँदै भनिन् । तर त्यो मुस्कानमा कताकता अज्ञात डरको कम्पन भरिएको थियो । चौतारीमा बसेका गाउँलेहरू आपसमा आँखा झिम्काउँदै खासखुस गर्न थाले । सुनिताको मन चिसो भयो । छिमेकी रामबहादुर दाइले चुरोटको धुवाँ आकाशतिर उडाउँदै, लामो सुस्केरा हालेर भने– ‘सुनिता बहिनी, तिमी त धन कमाउन विदेश गयौ, तर यहाँ तिम्रो घरको जगै हल्लिसक्यो । धेरै कुरा बदलिएको सुनिँदैछ... ।’
‘के भन्नुभएको दाइ ? मैले त बुझिनँ नि, बुझ्ने गरी भन्नुस् न ।’ सुनिताको मुटुको धड्कन अझ बढ्यो । काकीले अगाडि बढेर सुनिताको श्रमले खस्रो भइसकेको हात समातेर भनिन्, ‘कस्तो निठुरी रहेछ त्यो समिर ! तिमीले विदेशमा रगत–पसिना बगाएर पैसा पठायौ, उता त्यसले गाउँ छिमेक पनि नभनि प्रियंकाको हाँसीखुसी चलिरहेको घरबार उजाड बनायो । प्रियंकाको बुढो खै कुनी कुन देश पो भन्थे, विदेशमै छ, यता समिरले त्यसलाई फकाएर अनेक लीला र काण्ड गरेर आफ्नो जालमा पारेछ । अहिले प्रियंकाको डिभोर्स हुने अवस्थामा पुगेको छ । समिर तिम्रो घरमा हिजोआज अर्कै स्वास्नीमान्छेसँग रमाइरहेको गाउँले सबैले देखेकै छन् ।’
यो सुनेर सुनिताको खुट्टा मुनिको जमिन एकैचोटि भासिएझैँ भयो । उनको हातबाट त्यो गह्रौँ सुटकेस भुइँमा खस्यो । विवाह अघिका प्रेमिल दिनहरु हनिमुनको त्यो रवाफ, समिरले उपहार दिएका मोतीको माला, दुःखले जोडेका गरगहना र ती मीठा प्रशंसाका शब्दहरू उनको कानमा स्यालको हुइयाँजस्तै तिखो व्याङ्ग्य बनेर गुञ्जन थाले ।
सुनिता सिधै आफ्नो घर पुगिन् । घरको ढोका खुल्लै थियो । भित्रबाट एउटा नौलो हाँसो र अपरिचित सुगन्ध हावामा तैरिरहेको थियो । ढोका ढ्याक ढ्याक बनाउँदा समिर बाहिर निस्कियो । सुनितालाई अगाडि देख्दा उसको अनुहारको रङ यसरी उड्यो कि, मानौँ उसले मध्य रातमा कुनै जिउँदो प्रेत देख्दैछ । भित्र सोफामा अर्कै महिला मख्ख परेर बसिरहेकी थिइन्, जसको हातका नङमा समिरले पहिले सुनितालाई लगाइदिएकै जस्तै गाढा नेलपोलिस लगाइदिइरहेको रहेछ । ठीक त्यस्तै, जस्तो कुनै समय सुनिताको नङमा फुँ–फुँ गर्दै मायाले लगाइदिन्थ्यो ।
‘सुनिता ! तिमी... तिमी कहिले आयौ ? आउँछु भनिनौ त, ‘समिर थक्थकायो । उसको आवाजमा लज्जासँगै डर लुकेको स्पष्ट देखिन्थ्यो ।
सुनितालाई लाग्यो, उनी एउटा यस्तो ऐनाको अगाडि छिन्, जसलाई उनले वर्षौंसम्म सफा गरिरहिन्, तर ऐनाको अर्को पट्टि त एउटा कुरूप ढुंगा मात्र लुकेको रहेछ । जब ऐना फुट्छ, त्यसले सत्य त देखाउँछ, तर हेर्ने मान्छेको आत्मसम्मानलाई पनि टुक्रा–टुक्रा पारिदिन्छ । समिर त्यही ढुंगा थियो, जसले सुनिताको सात वर्षको त्याग र तपस्यालाई एकै झट्कामा फुटाइदियो र असली भित्रिरुप देखाइदियो ।
सुनिताले कुनै नाटकीय रुवाबासी गरिनन्, न त कुनै चिच्याहट नै गरिन् । उनको आँखामा आँसु थिएन, मात्र एउटा गहिरो शून्यता, दृढता र घृणा थियो । उनले भित्रको कोठामा हेरिन्, जहाँ उनको पसिना र रगतसँग साटेको पैसाले किनेका विलासी सामानहरू सजाइएका थिए ।
सुनिताले एकदमै शान्त, गम्भीर तर दृढ स्वरमा भनिन्,–‘मैले त केवल एउटा छोटो सरप्राइज दिन चाहेकी थिएँ समिर । तर, तिमीले मलाई जीवनभरिको सबैभन्दा ठुलो र कुरूप ‘सरप्राइज गिफ्ट’ दियौ । कस्तो विडम्बना !
समिरले सफाइ दिने कोसिस गर्दै हात अगाडि बढाउन खोज्यो, ‘होइन सुनिता, तिमीले सोचेजस्तो...केही होइन । ‘बस ! सुनिताले आफ्नो कठोर हात उठाइन् र भनिन्– ‘अब यो म्युजियमको कपटी नाटक बन्द गर ! तिमीलाई मबाट र मलाई यो विषाक्त सम्बन्धबाट मुक्ति चाहिएको छ ।’
सुनिताले पलभर पनि ढिला नगरी कानुनी बाटो रोजिन् । गाउँलेहरूको अकाट्य गवाही र समिरको प्रमाणित कर्तुतका कारण डिभोर्सको प्रक्रिया टुंगिन धेरै समय लागेन । डिभोर्स पेपरमा हस्ताक्षर गर्दा सुनिताको हात कत्ति पनि कापेन । त्यो हस्ताक्षर समिरका लागि उसको पापको सजाय थियो भने सुनिताका लागि एउटा तीतो यथार्थ । अदालतको ढोकाबाट बाहिर निस्कँदै गर्दा सुनिताले आकाशतिर हेरेर लामो र हलुका श्वास फेरिन् । अनि समिरतिर फर्किर भनिन्– ‘समिर, नविन यात्रा सफलताको शुभकामना ।’
दमक, झापा