कवि मीना लामा राईकृत ‘मौनभित्रको कोलाहल’ उनको गहिरो साहित्य साधनाको उपज हो। उनले यो पुस्तकलाई जन्मदात्री माता स्वर्गीय कुन्साङ लामा र पिता पाल्देन लामाप्रति समर्पण गरेकी छन्। ज्ञानकुञ्ज बुक्स खरसाङद्वारा प्रकाशित यो पुस्तक मीना लामा राईको पहिलो प्रकाशित कृति हो। यस कृतिको भूमिका लेखेका छन् साहित्य अकादेमी युवा पुरस्कारले सम्मानित कवि कर्ण विरहले। उनि आफ्नो भूमिकामा लेख्दछन्- “कवि मीना लामा राईको यस काव्यकृतिको प्रमुख विशेषता यसको कलात्मकता र भावनात्मक प्रामाणिकता हो। जीवनका सानासाना क्षणहरूलाई पनि अर्थपूर्ण बनाउँदै कविले पाठकलाई सोच्न, अनुभूत गर्न र आफ्नै जीवनसँग तुलना गर्न प्रेरित गर्छन्। यही विशेषताले यस कृतिलाई केवल पढ़ने वस्तु मात्र नभई अनुभूति गर्ने यात्रा बनाएको छ।“
कवि मीना लामा राई आफ्नो भनाईमा कविताबारे आफ्नो अनुभूतिहरू यसरी राख्दछिन- “कविता गहिरो पीड़ा र अनुभूतिको स्वर हो- भनेर पारिजातले भन्नु भएझैं ‘मौनभित्रको कोलाहल’भित्रका कविताहरू पनि उनै मौन क्रन्दनका स्वरहरू हुन्, जसले कहिले प्रेम, कहिले पीड़ा, असन्तोष, विद्रोह त कहिले आशाका असीम भावहरू व्यक्त गर्दछन्। मानिसलाई बाहिरबाट मौन देखिए तापनि भित्र अनेकौं दुःख, पीड़ा, द्वन्द्व र अभिलाषाहरू खहरेझैं उर्लिरहेका हुन्छन्। यी सबैथोक मानिसले कहाँ सहजै व्यक्त गर्न सक्छन् र! आफूभित्र गुम्साएर राखेका यस्तै पीड़ाका दुखाइहरू, संघर्ष र परिवर्तनका चाहनाहरू कोलाहल बनेर गुञ्जिरहेको आभाष कविताहरूमा व्याप्त छन्।“
यस संग्रहभित्र खण्ड़ एकः भावना र देशप्रेम अन्तर्गत समाविष्ट कविताहरूले मानवीय संवेदना, आत्मसंघर्ष, मातृत्वप्रतिको श्रद्धा, जीवनको पीड़ा तथा राष्ट्रप्रेमलाई सशक्त रूपमा अभिव्यक्त गरेका छन्। कवियत्री मीना लामा राईले व्यक्तिगत अनुभूतिलाई सामाजिक तथा राष्ट्रिय चेतनासँग जोडदै पाठकलाई भावनात्मक र वैचारिक दुवै स्तरमा प्रभावित पार्न सफल भएकी छन्। पहिलो कविता “आमाको यादमा रोएको रात” आमाको वियोगबाट उत्पन्न गहिरो पीड़ा, स्मृति र भावनात्मक शून्यतालाई केन्द्रमा राखेर लेखिएको मार्मिक र आत्मपरक रचना हो। कवितामा कविले आमाको अनुपस्थितिलाई केवल एउटा व्यक्तिको अभावका रूपमा होइन, जीवनको सबैभन्दा ठूलो भावनात्मक आधार हराएको अनुभूतिका रूपमा प्रस्तुत गरेकी छन्। त्यसैले कविताको प्रत्येक पंक्तिमा विरह, ममता, करूणा र स्मृतिको गहिरो स्वर गुञ्जिएको छ। ‘आत्मा रोएको बेला’ कवितामा बाह्य हाँसोभित्र लुकेको आन्तरिक पीड़ा, जीवनका असफलता र मनको मौन व्यथालाई अभिव्यक्ति दिएको छ। मानिसको अदृश्य मानसिक संघर्षलाई कविताले संवेदनशील भाषामा उजागर गरेको देखिन्छ। ‘आत्मविनाश’ आधुनिक समाजमा बढ़दै गएको निराशा, आत्मकेन्द्रित सोच र मानवीय मूल्यहरूको ह्रासप्रति कविको गहिरो अनुभूतिलाई प्रकट गरेको छ। ‘वीरताको प्रतीक मेजर दुर्गामल्ल’ ऐतिहासिक तथा राष्ट्रवादी चेतनाले ओतप्रोत कविता हो। शहीद मेजर दुर्गामल्लको साहस, देशभक्ति र बलिदानलाई स्मरण गर्दै कवयित्रीले राष्ट्रका लागि समर्पित जीवनको उच्च आदर्श प्रस्तुत गरेकी छन्। यस कविताले विशेषतः युवा पुस्तामा राष्ट्रिय गौरव र देशप्रेमको भावना जागृत गराउने सशक्त सन्देश दिन्छ। “बादलले छेकिएको घाम” जीवनदर्शन, संघर्ष र आशाको द्वन्द्वलाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको एउटा चिन्तनपरक कविता हो। कविताले मानिसको दैनिक जीवन, श्रम, अपेक्षा र यथार्थलाई प्रतीकात्मक भाषामा अभिव्यक्त गर्दै जीवनको वास्तविक स्वरूपमाथि गहिरो विमर्श गर्दछ। कृतिको पहिलो खण्डमा राष्ट्रिय, सांस्कृतिक र मानवीय चेतनासँग जोड़िएका विषयहरूले प्राधान्य पाएका छन्। ‘भानु एक दृष्टान्त’ नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्तप्रतिको श्रद्धाञ्जलि मात्र नभई भाषिक तथा सांस्कृतिक पहिचानको स्मरण पनि हो। ‘सुनाखरी फूल’ कविताले प्रकृतिको सौन्दर्य र कोमल अनुभूतिलाई स्पर्ष गरेको छ भने ‘असहाय दुख्दैछ विश्व धरोहर’ मा पर्यावरण, संस्कृति अथवा विश्वसम्पदामाथि बढ़दो संकटप्रति कविले गहिरो चिन्ता प्रकट गरेकी छिन्। ‘सन्देहभित्र वीरगति’, ‘स्थायित्व प्रभुसत्ता फुलाउन चाहन्छु’ र ‘प्रेमको प्रतीक’ कविताहरूले राष्ट्र, अस्तित्व, आदर्श, प्रेम र मानवीय मूल्यबोधका विविध आयामलाई समेटेका छन्।
दोश्रो खण्ड़ जीवन र अनुभूति यस कृतिको सबैभन्दा आत्मपरक र दार्शनिक पक्ष हो। ‘बादलले छेकिएको घाम’, ‘बाँझो धरती’, ‘दुख्नुको परिभाषामा जिन्दगी खोज्दैछु’ र ‘बाँच्नुको क्रम’ जस्ता कविताहरूले जीवनका संघर्ष, निराशा र आशाबीचको द्वन्द्वलाई अभिव्यक्त गर्दछन्। ‘उद्वेग’, ‘मन’, ‘पर्खाइको घड़ी’ र ‘बुढ़ो खोकी’ कविताले मानिसको मनोविज्ञान, समय, बुढ्यौली, प्रतीक्षा र जीवनका सूक्ष्म अनुभूतिहरूलाई काव्यात्मक अभिव्यक्ति दिएका छन्। ‘पोर्ट्रेट फोटोग्राफी खिच्ने रहर’ र ‘सड़क किनारा’ कविताहरूले आधुनिक जीवन, समाजको बदलिँदो स्वरूप र सामान्य मानिसका अनुभवलाई नयाँ दृष्टिले हेर्ने कविको प्रवृत्तिलाई देखाउँछन्।
तेश्रो खण्ड़ समाज र परिवर्तन कृतिको सामाजिक चेतनाको प्रतिनिधि खण्ड़ हो। ‘परिवर्तन किन?’ कविताले विद्यमान सामाजिक संरचना र सोचमाथि प्रश्न उठाउँछ। ‘नारी अस्मिता’ र ‘नारी सृष्टि’ हुन् कविताले महिलाको सम्मान, समानता, अस्तित्व र समाजमा उनको अपरिहार्य भूमिकालाई केन्द्रमा राखेको छ। यसबाट कवि समतामूलक समाजको पक्षधर र सामाजिक न्यायप्रति प्रतिबद्ध रहेको अनुभूति गराउँदछ। ‘लक्ष्मणरेखा’, ‘वास्तविक कथाहरू मैले लेख्नैपर्छ’, ‘म विदेशिएको मान्छे’, ‘चियाबारीको अभिशप्त जीवन’, ‘सुस्केरा’ र ‘अन्योलताको पर्दाभित्र दशैं’ कविताहरू समकालीन समाजका विविध यथार्थसँग प्रत्यक्ष रूपमा जोड़िएका छन्। लक्ष्मणरेखाले सामाजिक मर्यादा, सीमारेखा अथवा नैतिकताको प्रश्न उठाउँछ भने वास्तविक कथाहरू मैले लेख्नै पर्छ कविताले सत्य बोल्ने र यथार्थ लेख्ने स्रष्टाको नैतिक जिम्मेवारीलाई उद्घाटित गर्दछ। म विदेशिएको मान्छे कविताले प्रवास, विस्थापन, पहिचान र घरप्रतिको सम्झनालाई केन्द्रमा ल्याउँछ। ‘चियाबारीको अभिशप्त जीवन’ श्रमिक वर्गको शोषण, अभाव र संघर्षको प्रतिनिधि कविता हो, जसले समाजका उपेक्षित वर्गप्रति कविको गहिरो संवेदनशीलता झल्काउँछ। ‘सुस्केरा’ कविताले चिया बगानका श्रमिकहरूको पीड़ालाई अभिव्यक्ति दिएको छ। ‘अन्योलताको पर्दाभित्र दशैं’ ले उत्सवभित्र लुकेका आर्थिक, सामाजिक अथवा मानसिक द्वन्द्वलाई संकेत गर्दै परम्परागत पर्वलाई नयाँ दृष्टिले हेर्ने लेखकीय दृष्टिलाई संकेत गरेको छ।
खण्ड़ चार पर्यावरण र प्रकृति ले कविको पर्यावरणीय चेतनालाई उजागर गर्छ। ‘लकड़ाउन आँखीझ्यालबाट’ कविताले महामारीको समय, एकान्त, आत्मचिन्तन र प्रकृतिको पुनर्जीवनलाई याद दिलाउँछ। ‘चित्कार’, ‘प्रकृतिको सन्देश’ र ‘विश्वम्भरा’ कविताले मानव र प्रकृतिबीचको सम्बन्धलाई गहिरो रूपमा अभिव्यक्त गरेको छ। ‘तिमी युगौंयुग बाँचिरहनु’ कविताले जीवन, प्रकृति अथवा कुनै महान मूल्यप्रतिको दीर्घजीवी कामना व्यक्त गर्दछ। ‘स्वप्नद्रष्टा’, ‘अस्थिरता’ र ‘उसको पर्खाइमा’ कविताले परिवर्तनशील समय, मानवीय आकाङ्क्षा र प्रतीक्षाका भावनालाई प्रकृतिसँग जोड़दै जीवनदर्शनको अर्को आयाम प्रस्तुत गर्दछ।
कृतिको अन्तिम खण्ड़ युद्ध र शान्ति यसको सबैभन्दा व्यापक मानवीय दृष्टिकोण प्रस्तुत गर्ने खण्ड़ हो। ‘समानान्तर’, ‘युद्धको विभीषिका र शान्तिवार्ता’, ‘विश्वशान्तिको शङ्खनाद’, ‘युद्ध र शान्ति’ तथा ‘शान्तिका पाइलाहरू’ कविताहरूले कवि केवल आफ्नो समाज वा देशको चिन्तामा सीमित नभई सम्पूर्ण मानव सभ्यताको भविष्यप्रति चिन्तित रहेको स्पष्ट पार्दछन्। युद्धले निम्त्याउने विनाश, विस्थापन, पीड़ा र मानवताको संकटप्रति कविको गहिरो असहमति छ। शान्ति, सह-अस्तित्व, संवाद र मानवतावादी मूल्यहरूलाई उनले आफ्नो काव्यचेतनाको केन्द्रमा राखेकी छिन्।
‘मौनभित्रको कोलाहल’ एक बहुआयामिक विषयवस्तु समेटिएको काव्यसंग्रह हो। यसमा आत्मानुभूति, सामाजिक यथार्थ, प्रवासी जीवन, श्रमिकको पीड़ा, पर्यावरणीय संकट, सास्कृतिक चेतना र विश्वशान्तिको आकाङ्क्षा एउटै काव्य यात्रामा समाहित भएका छन्। कविले जीवनका साना घटनादेखि विश्वव्यापी प्रश्नसम्मलाई संवेदनशील र विचारोत्तेजक ढ़ङ्गले प्रस्तुत गर्ने प्रयास गरेकी छिन्। यो केवल भावनात्मक कविता संग्रह होइन, यो समकालीन समाज, प्रकृति र मानव सभ्यताका जटिल प्रश्नहरूमाथि कविको जिम्मेदार हस्तक्षेप पनि हो। विविध विषय, मानवीय संवेदना र परिवर्तनप्रतिको आशावादी दृष्टिकोणका कारण यो कृति समकालीन नेपाली कवितामा विचार र अनुभूतिको एक सशक्त अभिव्यक्तिका रूपमा स्थापित भएको छ। यी कविताहरूले व्यक्तिगत अनुभूतिलाई सामाजिक यथार्थसँग र सामयिक यथार्थलाई मानवीय मूल्यसँग जोड़दै पाठकलाई केवल कविता पढ़ने होइन, जीवनलाई नयाँ दृष्टिले सोच्ने प्रेरणा पनि प्रदान गर्दछ।