19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आदिकवि भानुभक्तको व्यक्तित्व र कृतित्व

व्यक्तित्व / कृतित्व गायत्रीकुमार चापागाईं July 11, 2026, 8:43 pm
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

भानुभक्त आचार्य (१८७१–१९२५) नेपाली भाषा साहित्यको क्षेत्रमा धेरैले चर्चा गरिएका विशिष्ट प्रतिभाशाली व्यक्तित्व हुन् । उनका बारेमा लेख्दा आजभन्दा २०० वर्ष पूर्वको नेपालको राजनैतिक तथा सामाजिक परिस्थितिलाई बुझ्नुपर्ने हुन्छ । भानुभक्त पूर्व नै पृथ्वीनारायण शाह, बहादुर शाह तथा राजेन्द्रलक्ष्मीले स–साना टुव्रmे राज्यहरूको एकीकरण गर्ने अभियानलाई चरम उत्कर्षमा पु¥याइसकेका थिए । नेपाली भूभागको एकीकरण भए पनि भाषा तथा संस्कृतिको एकीकरण, उन्नति र फैलावट भएको थिएन । पढे लेखेका मानिसहरू एकदमै कम थिए । साहित्य लेखनको अवस्था त बिहानको मिरमिरे उज्यालो जस्तै मात्र थियो । छापाखानाको युगमा भाषा साहित्यले प्रवेश पाएकै थिएन । समाज अशिक्षा, अज्ञानको अन्धकारमा रूमल्लिएको थियो । अन्धविश्वास, रूढिवादको विकृति र विसङ्गतिमा पिल्सिएको समाजमा चेतनाको शङ्खघोष गरिएकै थिएन । प्राथमिककालीन केही कविहरूले युद्धवर्णन, वीरगाथाको वन्दना, नैतिक अर्ती उपदेशसहित शासकहरूको स्तुतिगान गरेर वीरधाराका छिटपुट रचनाहरू गरेका थिए । सुवानन्द दास, उदयानन्द अज्र्याल, शक्ति वल्लभ अर्याल, राधावल्लभ, सुन्दरानन्द बाँडाजस्ता यस धाराका कविहरूले देशप्रेमी भावना, व्यङ्ग्य चेतना र आत्मबिनोदी भावानुभूतिलाई काव्यमा पस्केर वीरताको वर्णनमा ध्यान केन्द्रित गरेका थिए । प्राकृतिक भू–धरातलमा संसारकै विशिष्ट स्थान ओगटेको यो मुलुकको विस्तृततालाई अर्थात् फैलावटलाई भारतमा शासन गरिरहेका अङ्ग्रेजहरूले बव्रmदृष्टि लगाए । फलतः वि.सं. १८७१ देखि अङ्ग्रेज नेपाल युद्ध सुरू भयो । सुरूमा नेपाली स्वाभिमान सैनिकहरूले साहसिक युद्धले अङ्ग्रेजहरूलाई हावा–कावा खेलाए पनि अन्ततः आधुनिक हतियार र ठूला फौजको अगाडि घुँडा टेक्नै प¥यो । परिणामतः केही भूभाग गुमाएर सुगौली सन्धि (१८७३) गर्न बाध्य हुनै प¥यो । यो सन्धिले नेपालीहरूको स्वाभिमान त चोट लाग्यो नै आफ्नो विस्तृत भूभाग गुमेकोले नेपाली हृदय आहत पनि भयो । यही पीडालाई बिर्सन त्यतिबेलाका कवि, लेखकहरू ईश्वरीय शक्ति र भक्तिका पछि लागे । फलतः वीरधाराबाट सुरू भएको नेपाली प्राथमिक साहित्यले भक्तिधारालाई अँगाल्न पुग्यो । दैवीलीला, पौराणिक, धार्मिक ग्रन्थका आख्यानमा रमाएका कविहरू कृष्ण भक्तिधारा, राम भक्तिधाराका उपधाराहरूमा विभाजित भए । भानुभक्तको उदय यही पृष्ठभूमिमा भएको हो ।

भानुभक्तको जन्म तनहुँको सम्भ्रान्त ब्राह्मण परिवारमा भएको थियो । उनका बाबु धनञ्जय आचार्य कहलिएका पण्डित थिए । उनै बाजेबाट शिक्षित र दीक्षित हुन पाएका भानुभक्त बाजेजस्तै कुशल पुराणवाचक पण्डित पनि भएका थिए । वि.सं. १९०७ मा पाल्पा पल्टनमा बाबुको बिँडो थाम्दै भानुभक्तले पनि खरदारको जागिर पाएका थिए । त्यसबेला त्यो पदमा आसीन हुनु सौभाग्यको कुरा ठहथ्र्यो । भानुभक्तले लेख्ने प्रेरणा भने घाँसीबाट पाएका हुन् भन्ने मानिन्छ । घाँस काट्दै आय–आर्जन गरेर आफ्नो कीर्ति पछिसम्म रहोस् भनेर कुवा खनाउने घाँसीको इच्छाशक्तिप्रति स्वयम् कविले यसरी लेखेका छन् –
‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ? मो भानुभक्त धनी भैकन आज यस्तो । मेरा इनार न त सत्तल पाटी क्यै छन् जो धन् र चिजहरू छन् घरभित्र नै छन् ।’
कविकै उक्त स्वीकारोक्तिबाट उनी सम्भ्रान्त परिवारका थिए र घाँसीकै प्रेरणाले आफ्नो कीर्ति अक्षुण्ण राखी अमरत्व प्राप्त गर्ने ध्येयले उनले व्यास ऋषिद्वारा रचित ‘अध्यात्म रामायण’ को भावानुवाद गरेका हुन् भन्न सकिन्छ । कतिपय लेखकहरूले घाँसीले घाँस काटेर बेच्ने गरेको प्रसङ्ग त्यतिबेलाको समय सन्दर्भ नमिल्ने कुरा हो भनेर तर्क पनि गरेका छन् । यथार्थमा कविले ‘घाँसी’ शब्द नै प्रयोग गरेर कविता लेखे पनि घाँसी पशुपालक गोठालो हो जो पशुधनबाट आर्जित सम्पत्ति खर्च गरेर कुवा खनाएर आफ्नो कीर्तिलाई पुस्तौँसम्म जीवित राख्न चाहन्थ्यो । उसैबाट भानुभक्तमा पनि अमर हुने लोभ जागेको हो । घाँसी घाँस बेच्ने व्यक्ति मात्र नभई दूध, घीउ, पशुधन बेचेर आय–आर्जन गर्ने मेहनती र परिश्रमी व्यक्ति थियो ।
भानुभक्त पूर्वका कविहरू बढी कृष्ण भक्तिधारामा लहसिएका थिए । वसन्त शर्मा, यदुनाथ पोखरेल, इन्दिरस, वीरशाली पन्त, विद्यारण्य केशरी, छविलाल नेपाल आदि कृष्ण भक्तिधाराका कवि थिए भने भानुभक्त आचार्य, रघुनाथ पोखरेल, पतञ्जलि गजु¥याल आदि राम भक्तिधारालाई प्राथमिकता दिने कविहरू थिए । यीमध्ये केन्द्रीय प्रतिभा भानुभक्त नै ठहर्छन् । भानुभक्तले त आाफ्नो जीवनकालमा लेखेर मात्र छाडे । उनका कृतिहरूलाई धेरै पछि मोतीराम भट्टले खोजीमेली गरी प्रकाशित गरिदिएका हुन् । विवाहको बेला जन्तीहरू र पण्डितहरू रामायणको श्लोकमा जुवारी लेखेको सुनेपछि यस्तो राम्रो कविताका श्लोकहरू लेख्ने को रहेछन् ? भन्ने जिज्ञासाले मोतीराम भानुभक्तप्रति आकर्षित भए । आकर्षित पनि किन नहुन् ? अध्यात्म रामायणको भावानुवाद गरेर सङ्क्षेपीकरण गरिएको, मौलिकता र अनुवादको दोसाँधमा रहेको, नेपाली भाषा जनजीवनको झझल्को दिन सक्ने यो कृति प्रकाशित हुन नपाएको ३० वर्ष भैसके पनि धेरैले हातैले सारेर गाउँ–गाउँ पु¥याएका र कण्ठस्थ पारेर जुवारी खेल्ने गरेकोले लोकप्रिय भैसकेको थियो । अत्यन्त सरल, संवेद्य तथा विभिन्न छन्दमा लेखिएको, साङ्गीतिक ध्वनियुक्त लक्षण लगाइ–खुवाइ, बाजागाजा आदिका प्रसङ्गमा प्रशस्तै नेपालीपन देखाउने मौलिकता झल्किएकोले पनि यो लोकप्रिय भएको हो । कतिपय विद्वानहरूले पूर्वीय महाकाव्यका लक्षणीय सूत्रहरूभित्र यो पर्दैन भनी लेखेको पाइन्छ । भानुभक्तले स्वयम् महाकाव्य लेखेका होइनन् उनलाई महाकाव्य लेख्ने रहर पनि थिएन । उनले रामको आदर्श गाथा गाएर समाजलाई नैतिक तथा आदर्शताको पाठ पढाउने लोभ मात्र थियो त्यसैले यो काव्यको भावानुवाद गरेका हुन् । जहाँसम्म मौलिकताको प्रश्न छ – यो काव्यको मूल कथावस्तु छाडिएको पनि छैन, हुबहु अनुवाद पनि गरिएको छैन । ८–१० श्लोकसम्मको भावलाई एउटै श्लोकमा सङ्क्षेपीकरण गरिएको छ । त्यसले यो मौलिकता र अनुवादको दोसाँधमा रहेको भनिएको हो । महाभारत र रामायणलाई पूर्वीय काव्य परम्परामा उपजीव्य काव्य मानिएको छ । यी आर्ष महाकाव्य हुन् । धेरै कवि लेखकहरूले यी ग्रन्थका अंशबाट अन्य काव्यहरूको रचना गरेका छन् । श्लोक सङ्ख्या दृष्टिले (१३१९ श्लोक) आदर्श नायक तथा खलनायक एवम् प्रकृतिवर्णनको विवरण, रस तथा अलङ्कार, सौष्ठव भाषाशैली आदिलाई हेर्दा यो काव्यलााई महाकाव्यमा दर्ता नगर्दा अन्याय हुन्छ । भानुभक्तले रचना गरेका अरू काव्यभन्दा यही नै अत्युत्तम काव्य हो र उनलाई लोकप्रिय बनाएर उचाल्ने पनि यही नै हो भन्दा अत्युक्ति हुने छैन । मोतीराम भट्टले वि.सं. १९४८ मा भानुभक्तको जीवनी छापेर उनलाई आदिकविको उपाधिले विभूषित गरिदिए । उनी लेख्छन्, “नेपाली भाषामा हुन ता धेर नामी कविहरू भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्य कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।” यस्तै अर्को “भक्तिरसमा त अब उप्रान्त भानुभक्त बराबर कौनै कवि हुन सक्दैनन् भन्ने मेरा मनमा लाग्छ तर ईश्वरको सृष्टि हो भइगयो भने इनीका बराबरै हुनन्, इनीभन्दा बढ्ता पक्का कोई हुने छैनन् भनी ठोकी लेखी दिञें ।” मोतीरामको यो ठोकाइले प्राथमिक कालमा यिनी बराबरका अरू कविहरू थिएनन् भन्ने स्पष्ट हुन्छ । मोतीरामले कविहरूको वर्गीकरण गर्दै लेखेका छन् – “पैल्हा स्वाभाविक तथा सहज कवि दोस्रा संसर्गी अर्थात् कृत्रिम कवि । स्वाभाविक कविका बराबर कृत्रिम कवि कदापि हुन सक्दैन । सहज कविका कविताका बराबर संसर्गी कविता कैल्यै हुन्न ।” यसरी मोतीरामले भानुभक्तलाई सहज कवि मान्दै उनको उच्च मूल्याङ्कन गरेका छन् । उनले दिएको आदिकवि उपाधिमाथि तर्क–वितर्क गरिए पनि आजसम्म उनको मत खण्डित हुने प्रमाण जुटेको छैन । अतः उनलाई आदिकवि, आशुकवि, व्यङ्ग्यकवि सहज कवि, भाषा चेतनाका प्रथम कवि, जातीय कवि, महाकवि जे उपाधिले सम्मानित गरे पनि उचितै ठहर्छ ।

पृथ्वीनारायण शाहले भूगोलको एकीकरणको अभियान थाले भने नेपाली भावना, संस्कृतिको विकास, भाषाको एकीकरणको अभियान भानुभक्तबाटै थालिएको मान्नुपर्दछ । भाषाप्रतिको मोह, आशक्ति र अनुरागको विगुल उनैले फुके । फलतः भाषाको ख्याति र सम्मान नेपालबाहिर दार्जिलिङ, खर्साङ्, देहरादून, आसाम, वर्मा हुँदै नेपाली सैनिकहरूले वेलायतसम्म पु¥याए । आज शिक्षा, रोजगारीका निमित्त नेपाली व्यक्ति संसारकै विभिन्न राष्ट्रहरूमा छरिएको छ । यसले आफूसँगै आफ्नो भाषिक पहिचान सँगै बोकेर लगेको हुन्छ । संचारका माध्यमले आजको नेपाली साहित्य हङकङ, खाडी मुलुक, अमेरिका, युरोप,, अष्ट्रेलिया, अफ्रिका सबैतिर पुगेको देखिन्छ । भानुभक्तको जन्म–जयन्ती ती देशहरूमा पनि मनाइएको खवर सुनिन्छ । रूसमा भानुभक्तको सालिक राखिएको छ । यी राष्ट्रमा मानिएको व्यक्ति अन्तर्राष्ट्रिय क्षेत्रमा फैलदा भानुभक्तको आदिकवित्वमाथि प्रश्नचिन्ह उठाउने दीनानाथ सापकोटा, त्यसैलाई पछ्याउँदै आदिकविको पद खोस्ने हृदयचन्द्र सिंह प्रधान, आदिकवि पदलाई नचाहिदो र अवैज्ञानिक देख्ने तारानाथ शर्मा अनि उनको चरित्र र व्यक्तित्वमाथि खरो रूपमा उत्रने रामकृष्ण शर्मा सबै अहिले वाल्ल पर्दा हुन् । ‘भक्त भानुभक्त’ नाटक लेखेरै सम्मान व्यक्त गर्ने बालकृष्ण सम, मिल्टनसँग समभाव देख्दै धन्य धर्मकवि ठान्ने पारसमणि प्रधान, चौखरसँग दाँज्ने रूपनारायण सिंह अनि रामरस फैल्याउने नेपाली भाषाका आदिकवि भनेर सम्मान गर्ने जुद्ध शमसेर, मोतीराम भट्ट बाँचेकै भए जुँगामा ताउ लगाउने थिए होलान् । दयाराम श्रेष्ठ भने यी हरफ लेख्दाको क्षण सम्झेर गौरव गर्दा हुन् – “भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । यिनलाई आदिकवि मान्दा परम्परावादी ठहरिएको मानिदैन । यिनीभन्दा अघि प्रशस्त कविहरू देखिएका भए तापनि यिनीहरूको प्रयास यिनैमा आएर मूर्तिन पुगेको छ ।” भानुभक्तको व्यक्तित्व र चरित्रको चर्चा गर्दा कतिपय लेखकहरूले उनी आदर्श व्यक्ति थिएनन् बरू व्रmोधी र लोभी थिए भन्दै उनको खरो मिजासको चर्चा गरेका छन् । गिरीधारी भाटसँग झैझगडा हुँदा यिनले ‘भाट’ शब्दसँगै घृणा व्यक्त गर्न आफ्नो घरका छानाका भाटाहरू फ्यालेका थिए रे भन्ने मानिन्छ । यस्तै उनलाई कट्टर बाहुनवादी सिलोके कवि, अनुवादक कवि, नारी स्वतन्त्रताका विरोधी आदि विशेषण भिराएर उपहास गर्न खोजेको पनि देखिन्छ । जे भने पनि उनी स्पष्टवादी र निर्भीक थिए । उनको व्यङ्ग्य चेतना र आशु कवित्व बेजोड थियो । यसको प्रमाण उनका फुटकर कविताहरूले दिन्छन् । केशवप्रसाद उपाध्यायको यो भनाइ यहाँ सान्दर्भिक देखिन्छ – “यी अधीर, केही धर्मभीरू, केही बिनोदी, केही व्रmोधी, केही, केही असहिष्णु र केही भावुक थिए ।” कविको कवित्वको मूल्याङ्कन चरित्रभन्दा कार्यबाट खोजिनु उपयुक्त हुन्छ ।

भानुभक्तले आफ्नो जीवनकालमा लेखेका निम्निलिखित उपहारहरू नेपाली साहित्यलाई दिएर गएका छन् । तिनको सङ्क्षिप्त परिचय निम्नानुसार दिइएको छ :–
१. भानुभक्तको रामायण :– यसको चर्चा माथि नै गरिएको छ । यो भावानुदित काव्य भानुभक्तले एकैपटक पूरा नगरी विभिन्न कालखण्डमा पूरा गरेर सातै काण्डको अनुवाद गरेका हुन् । यो कृति मौलिकता र अनुवादको दोसाँधमा रहेको छ ।

२. प्रश्नोत्तर :– यो कृति पनि शङ्कराचार्यद्वारा लिखित ‘मणिक रत्नमाला’ को अनुवाद हो । यो कृतिमा रामको मात्र नभएर कृष्ण, विष्णु, शिवसम्मको भक्ति तथा तत्व दर्शनसमेत उल्लेख गरिएको पाइन्छ । सांसारिक मायाजालबाट उम्केर स्वर्गप्राप्तिको बाटो देखाइएको यो कृतिमा स्त्री–निन्दा गरिएको छ । प्राचीन धर्मग्रन्थका यी विचारहरू शङ्कराचार्यका हुन् ।

३. भक्तमाला :– यो भानुभक्तको मौलिक कृति हो । पहिले २२ श्लोक प्रकाशित भएको पछि मधुपर्कमा हरिहर भट्टराईद्वारा श्लोक सङ्ख्या ४१ पु¥याइएको छ । यसमा हरिभजनलाई महत्व दिई सांसारिक भौतिक सम्पत्ति, सुखसयल, मानमर्यादा, कीर्ति सबैलाई छाडेर एकदिन सबैले जानुपर्दछ तसर्थ हरिभजनमा मन दिऊँ, हरिको कृपादृष्टि नभै हुन्न भन्ने भाव कविको रहेको छ ।

४. वधू शिक्षा :– यो काव्य कविको मौलिक कृति हो । आफ्ना मित्र तारापतिका घरमा बास बस्न जाँदा महिलाहरूको गृह–कलहले आफू सुत्न नसकी यो काव्यको
रचना गरिएको कुरा कवि यसरी व्यक्त गर्दछन् :
‘एक्थोक भन्छु नमान्नु दुख्ख मनमा हे मित्र तारापति ! तिम्रा ती घरका जहानहरू ता जुध्न्या रह्या छन् अति सुन्यौ दन्तबझान आज घरको कर्कर् गर्याको जसै भर् रात् जाग्राम झैँ भयो मकन ता लागेन आँखा कसै ।”

यो कृतिका माध्यमबाट कविले धर्मद्वारा अनुशासित मर्यादाको परिधिमा बुहारीहरू बाँधेका छन् भन्ने दयाराम श्रेष्ठको मत रहेको छ । यो कृति लेखकको आशुलेखन शक्तिको उपज हो भनिन्छ । ‘वेश्या हुने हाँस्तछन्’ जस्ता नारीका विषयमा धेरै विवादित कुराहरू यस कृतिभित्र छन् । ती तत्कालीन समाजको सोचाइभित्र रहेका कुरा हुन् ।

५. रामगीता :– यो पनि मौलिक रचना नभै अनूदित कृति हो । यसमा पनि राम भक्ति मार्गकै गायन गरिएको छ ।

६. फुटकर कविताहरू :– भानुभक्तका ३९ वटा फुटकर कविताहरू प्रकाशित भएका छन् । विविध विषयवस्तु समेटिएका, भिन्न भिन्न परिस्थिति र परिवेश लेखिएका यी कविताहरूमध्ये केही अत्यन्तै चर्चित र लोकप्रिय पनि छन् । हास्य, व्यङ्ग्य बिनोदी, कतै प्रकृतिको सुन्दर वर्णन र कतै स्वदेशगान एवम् भोलिवादी प्रवृत्तिप्रतिको विरोध आदि विविधतापूर्ण कविताहरू लेखिएका छन् । वि.सं. १८९६ उनी काठमाण्डू आए । त्यहीबेला अलकापुरी–कान्तिपुर नगरी, बालाजु वर्णन जस्ता देशप्रेमी कविताहरू उनले लेखे । यस्तै उनी जागिरे हुँदा कागजपत्र दुरस्त राख्न नसकेको अभियोगमा कुमारी चोकमा नजरबन्द हुँदा रचिएका बिन्ति डिठ्ठा विचारी, रोज् रोज् दर्शन पाउँछु जस्ता व्यङ्ग्यपूर्ण कविताहरू चर्चित छन् । रामायणको अन्तिम भाग पनि उनले यही समयमा अनुवाद गरेका थिए ।

भानुभक्तका काव्यप्रवृत्ति र विशेषताहरूलाई निम्नानुसार केलाउन सकिन्छ ।
१. मूलतः भानुभक्त आध्यात्मिक आदर्श र नैतिकतालाई पछ्याउने कवि हुन् । उनको रामायण, वधूशिक्षा, प्रश्नोत्तर तथा केही फुटकर कविताहरूले असल चरित्र निर्माण, आचरण तथा सदाचारलाई नै महत्व दिएका छन् । नैतिक चेतना फैल्याउने कविको उद्देश्य नरहे पनि औपदेशिक रूपमा यो मूल प्रवृत्ति कविमा रहेको छ ।

२. देशप्रेम तथा प्रकृतिप्रेम दर्शाइएका गौरवमय राष्ट्रिय भावनाले ओतप्रोत भएका कान्तिपुर नगरी, बालाजु वर्णन जस्ता कविताले उनको राष्ट्रपेमी प्रवृत्तिलाई उजागर गरेको छ । उनी आफ्नो जन्मस्थानको गान गर्न पनि पछि परेका छैनन् ।

३. सामाजिक प्रशासकीय अविवेकी न्यायप्रणालीप्रति भानभुक्तले व्यङ्ग्यात्मक अभिव्यक्ति पस्केका छन् । जस्तै घर झगडा, खानपिन, अतिथि अभ्यागतको स्वागतमा भएको कमी, बिहे ब्रतबन्ध आदिका सामाजिक पक्षलाई कतै आलोचना गर्ने, कतै प्रशंसा गर्ने र कतै औपदेशिक सल्लाह दिने कार्य गरेर स्वधर्म र कर्मको बोध गराउन उनले सकेका छन् । यो सामाजिक प्रवृत्ति उनको काव्यगत विशेषता भएर छरिएको छ ।

४. रसमय तथा विषयवस्तुमा विविधता यिनको अर्को प्रवृत्ति हो । यिनले भिन्न भिन्न परिस्थिति र परिवेशमा लेखेका फुटकर कविताहरूमा विविधताको झलक पाइन्छ । यस्तै करूण, हास्य तथा शान्त रसको परिपाकमा यिनी सिद्धहस्त छन् । हास्यव्यङ्ग्य त उनको अतिप्रिय प्रवृत्ति नै हो । विविध विषयवस्तुलाई समेट्न सक्नु उनको विशेषता हो ।

५. श्रृङ्गार वृत्तिमा यिनी वासनामा अनुरक्त देखिदैनन् र शिष्ट श्रृङ्गारिक भावमा केही कविताहरू यिनका देखिन्छन् ।

६. छन्द/अलङ्कार : यिनले वर्णमात्रिक विविध छन्दमा कविता लेखेका छन् । रामायणमा १२ वटा छन्दको प्रयोग गरिएको छ । यति भएर पनि उनले शार्दूलविव्रmीडित छन्दलाई लोकप्रिय बनाए । कविताहरूमा उपजाति, शिखरिणी, मालिनी, वंशस्थ, वसन्ततिलका, मन्दाव्रmान्ता जस्ता छन्दहरूको संयोजन अत्यन्तै प्रभावकारी ढङ्गले गरिएको छ । उक्तिमय वक्तोक्ति, स्वभावोक्ति, उपमा, आलङ्कारिक तथा अनुप्रासयुक्त लेखन उनको विशेषता हो । श्लोकमा गाउन सक्ने कविता लेख्नु यिनको अर्को विशेषता हो । जो सजिलै कण्ठस्थ हुन्थ्यो । छन्दलाई छमछम नचाउन सक्ने उनको कलममा जादू थियो ।

७. आशुलेखन : कुनै घटनाले प्रभावित हुनु बित्तिकै उनी त्यसलाई सुन्दर कवितामा ढाल्न सक्थे । गजाधर सोतीकी घर बूढी, वधू शिक्षा, बिन्ती डिठ्ठा उनका आशुलेखनका प्रमाण हुन् ।

८. भक्तिधारामा राम भक्तिधारा उनको विशेष रूचिको विषय हो । यो धाराको नेतृत्व यिनैले गरेका छन् । उनका धेरैजसो कृतिहरू भक्तिमार्गमै हिँडेका छन्, रमेका छन् ।

९. उनको भाषाशैली अत्यन्त सरल, झर्रो, रोचक प्रभावकारी र पठनीय छ । छन्दमा भाव र शब्द नचाउन उनी खप्पीस छन् । लोकभाकामा कर्णप्रिय, सुमधुर र सबैले सजिलै बुझ्ने रचना गर्न सक्नु उनको विशेषता हो । यसैले उनी लोकप्रिय भए ।

नेपाली साहित्यको क्षेत्रमा धेरै लेखकहरूले कलम चलाएर कतै प्रशंसा र कतै गाली गरिएका सम्भवतः भानुभक्त आचार्य नै हुन् । उनी जन्मेको दुई सय वर्ष बितिसक्ता पनि अझै उनको बारेमा हामीहरू लेखी नै रहेछौँ । यस्ता चर्चित लेखकले घाँसी झैँ अमरत्व प्राप्त गरेकै हुन् । उनले जग हालेको नेपाली साहित्यको फाँट अझ विस्तृत र फराकिलो बन्दै गइरहेको छ । यसलाई अझ मजबुत बनाएर समुद्रमा पुल हाली लङ्का पार गराउनु र विदेशी साहित्यको दाँजोमा आदर्शमय र नैतिक बनाउनु यस क्षेत्रमा लाग्ने सबै साहित्यकारहरूको दायित्व हो । भलै भानुभक्त व्रmान्तिकारी प्रगतिशील नदेखिएलान् तर भानुभक्तले हालेको जग लरतरो क्रान्तिकारी ठहर्दैन । उनी विद्रोही होइनन् र उनले थालेको भाषिक एकीकरण र फैलावटलाई विद्रोहकै आँखाले हेर्दा के फरक पर्ला ? उनको जयगान गाउनु, उनका सुकर्मको अनुशरण गर्नुलाई पुरातन पन्थी भनिए भनियोस् तर म भने भन्ने नै छु – जय भानुभक्त ।

सन्दर्भ ग्रन्थ सूची
१. भट्ट, मोतीराम, कवि भानुभक्तको जीवन चरित्र, ते.सं. (ललितपुर, सा.प्र. २०३९)
२. श्रेष्ठ, दयाराम, प्रारम्भिक कालको नेपाली साहित्य, इतिहास र परम्परा (काठमाडौँ पा.वि.के. वि.सं. २०३८)
३. उपाध्याय, केशवप्रसाद, प्राथमिककालीन कवि र काव्य प्रवृत्ति (ललितपुर, सा.प्र. २०५८)
४. शर्मा ताना, नेपाली साहित्यको इतिहास, दो.सं. (काठमाडौँ, संकल्प प्रकाशन, २०३९)
५. आचार्य कृष्णप्रसाद, पूर्व आधुनिक नेपाली साहित्य, लोक साहित्य र आधुनिक निबन्ध, प्र.सं. (काठमाडौँ, क्षितिज प्रकाशन २०६३)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।