19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि कृष्णभूषण बललाई सम्झदा

संस्मरण/स्‍मृति गायत्रीकुमार चापागाईं July 11, 2026, 9:02 pm
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

विद्यालयहरूमा +२ को अवधारणासँगै माध्यमिकस्तरको शिक्षक हुनु कम्तीमा एम्.ए. उत्तीर्ण हुनैपर्ने सरकारी नीति बन्यो । यही नीतिअनुरूप ढिलै भए पनि एम्.ए. पढ्न करै लाग्यो । मन लागेर भनौँ या नलागेरै पनि हामी एकै उमेरका केही पाका शिक्षकहरू आफ्ना छोराछोरीहरूसँगै क्याम्पस जान बाध्य भयौँ । पढ्ने व्रmम जीवनभर नसकिँदो रहेछ । धेरै वर्षको अन्तरकालपछि पढ्न सुरू गरे पनि अन्ततः परिणाम भने राम्रो निक्लियो । एम्.ए. दोस्रो वर्षको दशौँ पत्रमा शोध वा सिर्जनामध्ये एउटाको चयन गर्ने व्रmममा आफू सानैदेखि साहित्यप्रति आकर्षित हुनाले सिर्जना कार्य गनै गर्ने सोच राखेँ । गुरूहरूले यो कार्यका निम्ति आफ्ना प्रकाशित कृति वा रचनाहरूको, सूची देखाए मात्र स्वीकृति दिने कुरा गर्नुभयो । मेरा केही रचनाहरू प्रकाशित भए पनि ती सङ्गृहीत थिएनन् । आफ्नो स्वभाव पनि अन्तर्मुखी, झट्टै अगाडि देखा पर्न पनि हिचकिचाउने । केही टिपोटमा भएका पुराना डायरी लिएर उपप्राध्यापक भरतराज शर्मा सरलाई देखाएँ । सरले सरसर्ती हेरेर भन्नुभयो, “तपाईँ सिर्जना कार्य गर्न सक्नु हुने रहेछ । एकपटक विभागीय प्रमुख चव्रmपाणि खनाल सरलाई भेट्नुहोला ।” वहाँले पनि सुझाव दिँदै भन्नुभयो, “जसले सिर्जना कार्य गर्छ, त्यो समाजमा पनि त्यही रूपमा स्थापित हुनुपर्छ । तसर्थ तपाईं वाणी प्रकाशन तथा विराट साहित्य सङ्गमले आयोजना गर्ने साहित्यिक गोष्ठीहरूमा जाने गर्नुहोस् र आफ्ना रचनाहरू पनि प्रकाशित गर्दै गर्नुहोस् ।” यस्तै गुरूहरूका सत्प्रेरणा र सदिच्छाले नै साहित्यिक गोष्ठीको खोजी गर्दै वाणीमा पुग्दा कवि कृष्णभूषण बलसँग मेरो प्रथमपटक भेट भएको हो ।

कृष्णभूषण बल आफू वाणी प्रकाशनको अध्यक्ष भए पनि प्रायः कवि गोष्ठीहरूमा आफ्नी श्रीमती शोभा लामासहित स्रोता दीर्घामा बसेर कविता सुन्न मन पराउनु हुँदोरहेछ । गोष्ठीको अध्यक्षता गर्न अर्कै व्यक्तिलाई चयन गर्ने परम्परा बसाइएको रहेछ । यदा–कदा वहाँका रचना र विचारहरू सुन्ने अवसर पाइयो । यस्तै वाणीकै गोष्ठीबाट स्थापित भै सक्नुभएका अन्य कविहरूसँग पनि सरसङ्गत बढाउने मौका मिल्यो । कविताबारे वहाँको विचार थियो – “धेरै लेख्नु पर्दैन जति लेखिन्छ त्यो स्तरीय र बिम्बात्मक चाहिँ हुनुपर्छ । कविताको पुस्तक बिक्दैन, सडकमा फ्यालिदिए पनि कसैले उठाउँदैन ।” वहाँलाई कवितामा खेलाची गरेको मन पर्दोरहेनछ । धेरै नबोल्ने, गम्भीर र शान्त प्रवृत्तिका मानिस भए पनि कवि व्यक्तित्वको पहिचान गर्न, प्रस्तुत गरिएका कविताहरूको मर्म पहिल्याउन, प्रस्तुत कविताहरूको, अंश मिले÷नमिलेको ठ्याक्कै ठम्याएर उचित सल्लाह र सुझाव दिन वहाँ खप्पीस हुनु हुँदोरहेछ । यस्तै आफूले जिम्मा लिएको काम अत्यन्तै जिम्मेवारीपूर्वक पूरा गर्ने, व्यक्तिगत तथा संस्थागत सरसहयोग पु¥याउने, बाहिरबाट आएका कवि तथा कलाकारहरूसँग यहाँका कवि, लेखकहरूलाई निमन्त्रणा नै गरेर सम्पर्क बढाउन लगाउने काममा कुशलतापूर्वक आफ्नो भूमिका पनि निभाउनु हुँदोरहेछ । काठमाण्डूको मन्डला थिएटरको टोलीले ल्याएको नाटक हेर्न, कोशी काव्य–यात्राको अन्तिम यात्रा विसर्जन गर्दा गुरूकुल आरोहणमा भाग लिन, भयवादका हर्ष सुब्बा हुन् वा गणितज्ञ कविताका सूत्रधारको स्वागत गर्न यस्तै मोमिला जोशी, ज्ञानु पाण्डे, मणि लोहनी, ठाकुर बेलवासे, धीरेन्द्र पे्रमर्षिहरूले सम्पादन गरको राष्ट्र, राष्ट्रियताका सवालमा भएको सङ्गीतमय कविता गोष्ठीमा उपस्थित हुन, राजेन्द्र सुवेदी, श्रवण मुकारूङ आदि लेखकहरूले उठाएका विचार गोष्ठीहरूमा भाग लिन आफू पनि कृष्णभूषण दाइकै निम्तो पाएर सहभागी हुन पाएको कुराले अहिले पनि खुशी लागिरहेको छ । दाइको मनपेट बुझ्न चाहिँ धेरैलाई हम्मे–हम्मे पर्दोरहेछ । साङ्केतिक रूपले मात्र आफ्नो विचार थोरै शब्दमा व्यक्त गर्ने, हम्मेसी कलम नसमाउने, समाएपछि असाध्यै खिपेर मन छुने गरी लेख्ने, वहाँको प्रभावकारी शैली रहेछ । गोष्ठीमा स्तरीय र मर्मस्पर्शी कविताहरू पाठ गरिँदा वहाँ प्रफुल्लित भएको पनि मैले पाएँ । एकपटक गोष्ठी लामै समयसम्म चल्यो । रचनाहरू अत्यन्तै राम्रो । गोष्ठी सकिएपछि मतिर फर्कदै भन्नुभयो, “भन्नुस् त चापागाईंजी, आजको गोष्ठीमा कसको चाहिँ कविता कविताजस्तो थिएन ।” मैले सम्झदै भने, “एउटालाई छोडेर आजका पाठ गरिएका सबै कविताहरू साँच्चिकै कविता थिए ।” दुवैका विचार मिलेकोमा हामी मुखामुख गरेर हाँस्यौँ । यसरी हामी छिट्टै घुलमिल भयौँ ।

कोशी काव्य–यात्राको सिलसिलामा अभि सुवेदी यहाँका केही साहित्यकार
हरूसहित वहाँ पनि मेरो जन्मस्थान दिङ्ला पुग्नु भएछ । त्यहाँको प्राकृतिक वातावरण, गुरू षडानन्दले निर्माण गर्नु भएको शिक्षाको फूलबारी एवम् स्थापित देवालय तथा स्थानीय कवि मित्रहरूसँगको लामो छलफल तथा स्वागत कार्यले टोलीका सबै सदस्यहरू प्रभावित हुनु भएको रहेछ । त्यहाँबाट फर्केपछि आफ्नो जन्मस्थान इलामबारे लेखिएको कविता सुनाउँदै आफ्नो कविता सङ्ग्रह ‘भोलि बास्ने बिहान’मा धेरैजसो कविताहरू पहाडकै बिम्ब र अभिव्यक्ति रहेको चर्चा गर्नुभयो । यस्तै आफ्नो बाल्यकालमा भोगेका दुःख दर्दका केही संस्मरणहरू पनि सुनाउनु भयो । पहाड छोड्नु परेको अन्तर पीडा मजस्तै वहाँमा पनि रहेछ ।

आरोहण गुरूकुलले विराटनगरमा पहिलोपटक सशुल्क एकल कवितावाचनको थालनी पनि कृष्णभूषण बलबाटै सुरू ग¥यो । त्यो भव्य समारोहमा वहाँको सुन्दर प्रस्तुति, बालकृष्ण गुरूले वहाँप्रति देखाएको सद्भाव, अन्य कवि मित्रहरूको हल भरिने गरी भएको उपस्थिति, वहाँको कवितामा बिम्बहरूको प्रयोगबारे समीक्षकहरूले दिएको अभिव्यक्ति, वहाँका कविताहरू अङ्ग्रेजीमा अनुवाद गरिएका चर्चा आदिले धेरैलाई प्रभाव पारेर छाडेको अनुभूति भयो । यो एकल वाचन पछि वहाँ दोस्रो कविता सङ्ग्रह प्रकाशन गर्न आफ्ना छरिएका रचनाहरू सङ्कलन पनि गर्दै हुनुहुन्थ्यो । मैले सङ्गम अभियानमा प्रकाशित ‘नानीहरू’ भन्ने शीर्षक कविताको फोटोकपी वहाँलाई पुर्याई दिएको थिएँ । वहाँले आफ्नो जीवन कालमा दोस्रो कविता सङ्ग्रह प्रकाशित गर्न नभ्याए पनि यो जिम्मेवारी वहाँकै नाममा स्थापित प्रतिष्ठानको काँधमा सरेको छ जसले वहाँको इच्छालाई पूर्णता दिन सकोस् ।
मेरो पहिलो कविता सङ्ग्रह ‘काव्यवाटिका’को प्रकाशनको अभिभारा वाणी प्रकाशनले नै लिइ दिएहुन्थ्यो भन्ने विचार वहाँसँग प्रस्तुत गरेँ । वाणी प्रकाशनका केही अनिवार्य नियमहरू बताउँदै वहाँले मिटिङमा राख्दै गरौँला, हुन्छ भन्नुभयो । प्रकाशकीय लेखिदिन अनुरोध गरेँ । दुवैले सल्लाह गरेर सँगै बसेर लेखौँ भन्नुभयो । यति मात्र होइन विमोचन पनि भव्य–समारोह गरेर सम्पन्न गर्ने सल्लाह दिनुभयो । ब्यानर बनाउन वहाँ र म सँगै गयौँ । साथीभाइहरूलाई जम्मा गर्न, पुस्तक सजाउन, चियापान आदि सबैको व्यवस्था आदिमा वहाँ र शोभा भाउजू दुवैले सहृदयतापूर्वक सम्पन्न गरिदिनुभयो । गुरू बालकृष्ण सरलाई दुवैले विमोचनका लागि अनुरोध गर्यौँ तर गुरूले आफूलाई आशौच भएकाले यो शुभ कार्य नगरौँ होला भन्नु भएकोले साहित्यकार गङ्गा सुवेदीको प्रमुख आतिथ्यतामा कृष्णभूषण दाइकै हातबाट विमोचन कार्य भयो । यो मेरो लागि जीवनभर नबिर्सने संस्मरण भएको छ ।

इटहरीमा कवि मनु मञ्जिलको ‘ल्याम्पपोष्टबाट खसेको जून’ कविता सङ्ग्रहबारे फाइन आर्टले एउटा सभा गरेर कविताको हस्ताक्षरसहितको अन्तरव्रिmया कार्यव्रmम राखेको रहेछ । हामी सँगसँगै त्यहाँ गयौँ । त्यसपछि इलाममा राष्ट्रियस्तरको साहित्यिक कार्यव्रmम हुँदैरहेछ वाणी प्रकाशनलाई पनि निम्ता छ, त्यहाँ पनि सँगै जाऔँ है भनेर दाइले आग्रह गर्नु भएकै थियो । यस्ता कार्यव्रmमहरूमा वहाँ नेपाल मात्र होइन दार्जिलिङ, आसामतिर पनि गैरहनुहुन्थ्यो । आफूचाहिँ अन्यत्रै बाँधिएकोले त्यस्तो शुभ अवसरबाट वन्चित हुनुप¥यो ।
खै के कारणले हो, कवि तथा कथाकार विवश पोखरेल वाणी प्रकाशनमा प्रायः आउँदैनथे । एउटा यस्तो कार्यव्रmमको संयोजन वाणीमा भयो जसमा टिप्पणीकारका रूपमा विवशजी त्यहाँ नआइ भएन । मलाई के सम्झना छ भने त्यहाँ उनले ‘मैले हारेँ, मेरो अहमता हा¥यो, दाइले जित्नु भयो’ भनेर कृष्णभूषण बलसँग क्षमायाचना मागे । धन्न उनले दाइकै जीवन कालमा वहाँसँगै क्षमा माग्न भ्याए, यस कुराले उनलाई पनि गौरवबोध भएकै हुनुपर्छ । मनमै यो कुरा राखेर त्यहाँ नगएको भए उनलाई ठूलो पश्चाताप हुने रहेछ ।
केही समय नागरिकको पूर्वेलीमा वहाँका पूर्व संस्मरणका निबन्धहरू प्रकाशित भएका छन् । तिनीहरूलाई पनि सङ्गृहीत गरेर एकै ठाउँमा ल्याउन सके वहाँप्रतिको सच्चा सम्मान हुनेछ ।

एकपटक मैले वाणीमा पाठ गरेको ‘नदी’ शीर्षकको कविता सुनेर वहाँले भन्नुभयो, “लौ यो त देवकोटीय शैलीको कविता पो रहेछ । यसलाई जति सक्नुहुन्छ, तन्काएर लामो पार्नुहोस् अनि छापौँला ।” मैले त्यो आठ श्लोकको कवितालाई तन्काएर झण्डै ५० श्लोक बनाएको कुरा वहाँलाई सुनाएँ । त्यसपछि मलाई पृष्ठपोषण दिँदै भन्नुभयो– ‘माझी’ । नदीसँग धेरै सङ्गत गर्ने माझी नै हुन्छन्, होइन त ? वहाँको आशय माझीसँग नदीको सामीप्यता जोडेर बढाउँदै लगे यो कविता खण्डकाव्य बन्न सक्छ भन्ने रहेछ । दुर्भाग्य नै भनौँ– वहाँ रहँदै मैले यो कार्यलाई पूर्णता दिन सकिन । एक जना मोटरसाइकल यात्री युवाले हिँड्दाहिँड्दै एकदिन बेलुकीपख वहाँलाई जनआन्दोलन चोक नजिकै ठक्कर दिएर भागेछ । सडकमै ढल्नु भएका दाइलाई अस्पताल पु¥याउँदा खुट्टाको हड्डी भाँच्चिएकोले प्लास्टर गर्नु परेछ । वाणीमा जाँदा बेडरेस्टमा बस्नु भएका दाइलाई भेट्न हामी केही साहित्यकारहरू घरमै पुग्याँै । बूढेसकालमा खुट्टा दुःखेको पीडा त छँदैछ, त्यसमाथि एकान्तमा एक्लै समय गुजार्नु पर्दाको दुःखद अवस्था र असहजताबारे चर्चा गर्नुभयो । भाउजू शोभा अस्पतालको कार्यकर्ता, छोराबुहारी अमेरिकामा, यहाँ रहेका छोरीज्वाइँले पो सेवा पु¥याइरहेका रहेछन् । वहाँको कोठाभरि सम्मान–पत्रहरू टाँगिएका थिए – विभिन्न संघसंस्थाहरूले दिएका । छिट्टै स्वास्थ्य लाभ होस् भन्दै हामी निक्कैबेर बसेर फर्कियौँ । अर्कोपटक जाँदा त डाक्टर तथा नर्सको सल्लाहबिनै वहाँले त हँसियाले आफै प्लास्टर काट्नु भएछ । चिलाएर खप्नै सकिन, कति अप्ठ्यारोसँग बस्नु, काटिदिएँ, दाइको सहज उत्तर । वहाँको यो साहसी कार्यलाई हामीले प्रशंसा गरे पनि स्वास्थ्यकर्मीहरूले यसलाई दुस्साहस भन्दा हुन् । खुट्टो खोच्याउँदै भए पनि अलिअलि दुःखाइ सहँदै भए पनि वहाँ वाणीमा आउन थाल्नु भएको थियो ।

एकदिन मोर्निङवाकबाट फर्केर बाथरूममा नुहाउने तरखर गर्दागर्दै बेहोस हुनुभएछ । लड्न चाहिँ लड्नु भएन, आफैले सहारा दिएर अस्पताल पु¥याएको कुरा भाउजूबाट थाहा भयो । दौडेर न्यूरो अस्पताल पुग्दा भाउजू आशावादी भए पनि अस्पतालका कर्मचारीहरूचाहिँ निराशावादी भएको पाएँ । धेरै साहित्यिक मित्रहरूले आलोपालो भाउजूलाई साथ दिइरहनु भएको थियो । आखिरमा मस्तिष्कघातबाटै वहाँ अस्पतालमै बित्नुभयो ।

वहाँको अन्तिम विदाइ घरबाट मात्र होइन आरोहण गुरूकुलमा लगेर सबै यस क्षेत्रका कलाकार, साहित्यकार, बुद्धिजीवी, प्राध्यापक, शिक्षकहरू समेतले गर्नुपर्ने भन्ने कुरा उठ्यो । नभन्दै त्यहाँ झण्डै १ घण्टा लगाएर लामै लाइनमा बसेर सबैले अन्तिम श्रद्धाञ्जली अर्पण ग¥याँै । गुरू बालकृष्ण पोखरेलले भन्नुभयो, “मैले दिदी देवकुमारी थापाको पनि यस्तै प्रकारको सम्मान र विदाइ होस् भन्ने चाहेको थिएँ तर भएन । धन्य यिनको यो सम्मान र विदाइ पाएँ, म सन्तुष्ट छु ।” गुरूको आशय साहित्य–साधकहरूलाई यसप्रकारको अन्तिम विदाइ गर्ने परम्परा बसोस् भन्ने रहेछ । यसको सुरूवात पनि दाइकै विदाइबाट बस्यो । बेला बेलामा दधिराज सरलाई ज्यादै बाठो मान्छे भनेर दाइले व्यङ्ग्य गर्दै परोपकार घाटमा पुराण लगाउँदा हामी भोटे÷भोटेनीलाई बोलाएर माला लगाइ दिँदै अतिथि बनाएको र त्यस वापत एघार हजार चन्दा दिनु परेको अभिव्यक्ति बडो रोचक ढङ्गले प्रस्तुत गर्नुहुन्थ्यो । आखिर त्यही घाटमा दाइलाई सेलाउनु प¥यो । प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसमेत समवेदना सन्देश लिएर त्यहाँ आइपुगे । दधिराज सुवेदी, उपेन्द्र पागल, केशव आचार्य आदिले शोक मन्तव्य भावविह्वल हुँदै दिए । झापा, मोरङ, सुनसरी, धनकुटादेखिका साहित्यकारहरू त्यहाँ उपस्थित भए । यी सबैले एउटा कुशल साहित्यकार कत्तिको जनप्रिय हुन सक्तो रहेछ भन्ने कुरा देखाउँछ । वहाँको व्यक्तित्वले पनि धेरैलाई नजिक पारेको रहेछ ।

विराटनगरका सबै संघसंस्थाहरूले मिलेर दाइको स्मृतिमा आरोहण गुरूकुलमा समवेदना व्यक्त गर्ने र मृतात्माप्रति शान्तिको कामना गर्ने कार्यव्रmम पनि बन्यो । यसमा धेरै साहित्यिक तथा अन्य समाजसेवी संस्थाहरू पनि सम्मिलित भए । मैले व्यक्तिगत रूपमा कविलाई ‘श्रद्धासुमन’ कविताले सम्झेँ । धेरै दिनसम्म दाइसँग सम्बन्धित संस्मरण र दाइका उच्चस्तरका कविताहरू पत्र–पत्रिकाले छापिइ रहे । यसबाट पनि वहाँको योगदान र उचाइ कति बढेको रहेछ भन्ने थाहा हुन्छ । धेरै दिनसम्म भाउजूका आँखाबाट आँसु गिरिरहेको देखिन्थ्यो । पछि त कविता पनि लेख्न थाल्नु भएको छ ।

शोकलाई शक्तिमा बदल्ने प्रेरणा वहाँबाट मिलोस् । यही भगवानसँग प्रार्थना ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।