बाटो म खन्छु सजिलै तिमी हात देऊ
माटो म बन्छु मलिलै तिमी साथ देऊ
रोपौँ न अक्षर सबै दरिलो हलैले
संसार रम्य बनियोस् कुसुमाक्षरैले ।
जो अन्नका दिउल छन् यहीँ अङ्कुराउन्
जो घामका किरणमा अझ मुस्कुराउन्
यी चन्चला जल नदी बिजुली छिनैले
चम्केर धन्य बनियून् कुसुमाक्षरैले ।
बाला विभिन्न थरका भरियून् गरामा
माला गँसेर हरमा उनियून् धरामा
माली उठून् रहरले बल तागतैले
साहित्यको सर फुलोस् कुसुमाक्षरैले ।
संसारको नजर खिच्नु छ दृष्टि पारी
अन्सारको प्रकृतिको रुप रङ्ग भारी
यी मानवीय रसमा भर भावनैले
खारेर कथ्य सजियोस् कुसुमाक्षरैले ।
आकाशका भर परी कति मेघमाला
बर्सन्छ गीत लहडी बढि बेगचाला
उस्तै सहन्छ फुलले अनि–काल कैले
यो सृष्टि सार रचियोस् कुसुमाक्षरैले ।
आफ्नै छ राग दुनियाँ रस प्रेम आफ्नै
खाँचो पवित्र मनको जुन भाव आफ्नै
त्यो भेदभाव रहितै फुल एकतैले
सप्रिन्छ प्रेम रसले कुसुमाक्षरैले ।
उच्छाल चाल ननिको सरि जाल जस्तो
छाला नहेर रङको मन शुभ्र जस्तो
विश्वासको भर परी बन स्वच्छतैले
संसार रम्य बनियोस् कुसुमाक्षरैले
घुम्दैछ मृत्यु भयमा भुँवरी छ छाल
रच्तैछ विश्व प्रकृति नव चालढाल
संकष्टको जलनमा नव सिर्जनैले
भावी त जीवन दिने कुसुमाक्षरैले ।
(वसन्ततिलका छन्द)