मणिकर्णिकाले सुसज्जित छन्
स्वर्गारोहण सोपानका पाइटाहरु
माटोका कणहरु हाँसेको हुनाले
यहाँका गालामा स्याउ फलेका छन्
र स्याउहरु गालाबाट ओर्लेर रुखमा चढेका छन्
बालुवाका कणहरु मुस्कुराएका छन्
र बालुवाका कणसंगै मुस्कुराएका छन्
बारीमा रुखहरुमा खुर्पानी
पहराको मन हाँसेको छ
झरनाको पानी नाँचेको छ
र नाँचेको छन् हरियो बैंशालु मनका उज्याला आँगनहरु
‘ग्राण्ड क्यानन’ सदृश यो भौगोलिक महामण्डप
अक्षुण्ण अध्यात्मिक प्रकम्पनले रङमगाएको छ
हे ! मुक्तिराम, मुक्तिनाथको आशिर्वाद लेउ
‘अप्प दीपो भवः’ अखण्ड दीप प्रज्वलित भै
ज्योतिर्मय बनेको छ ज्योतिपुञ्ज
‘ॐमणि पद्मे हुँ’ ध्वनिका मानिहरु घुमिरहेछन् पृथ्वी सदृश
घामका किरणहरु डुबुल्की मारेर फर्कन्छन्
कालीगण्डकीका स्निग्ध जलविन्दु चुहाउँदै
जून सुटुक्क ओर्लेर डुबुल्की मार्छ हृदयाकार डुम्बा तालमा
रङहरुले
अध्यात्मिक रङ उडाएर
हरेक मौसममा फागू पूर्णिमा मनाइरहन्छन्
टेथिज सागरीय जीवावशेष
जीवनवृत्त हुन खोजिरहेछन् ठिनीका भूगोलहरुमा
अमृताञ्जली झैं फैलिएका छन् नीलगिरीका बाहु
कैलाश सदृश कल्याणमयी शिव
भगीरथीलाई अँगालोमा लिएर ओर्लन्छन्
छैरो गुम्बामा छेउछाउ हुँदै
फोटाका काखमा बसेको स्याङ
धूपीको धूपमा रङमगाएको छ
पद्मसम्भव धैलुङ उतिर ध्यानस्थ छन्
चिमाङका इन्द्रबहादुर थकाली
चेतनाको उज्यालो जीवनभर बाँडेर
पसिनामा बुँदमा लालीगुराँस फुलाएर हाँसेका छन्
जड र चेतनको हाँसखेल छ
प्रकृति र पुरुष नृत्यमय छन्
घरपझोंङ थकाली थालीमा नवरसमयको सौन्दर्य पस्किरहेछ
कर्मरत छन्
यहाँका माटिकोरे
स्याङका भित्ता कोतरेर नवसिर्जनाका जून खेलाइरहेछन्
सिपाही झैं अनुशासित कमिलाहरु
आफ्नै कर्ममा लीन हुँदै
घामका उज्याला किरणहरुसंग आँखा जुधाइरहेछन्
भीरको अक्केरामा कर्मरत भीरमाहुरी
मधुपर्क थालीमा सजाएर
देवाव्हान गरिरहेछन्
हिउँ फुल्ने गाउँमा
हिउँ फुल्नु पहिल्यै
र हिउँका फूलहरु झरेपछि
मार्फा इन्द्रधनुषी द्वार सजाएर
थालीमा फूल, टीका र खाता लिएर उभिएको छ
‘अतिथि देवो भव ‘ गगनतिर मधुर ध्वनी गुञ्जायमान छ !