२०८१ साल कार्तिकको कुरा ।
हाम्रो यही ६ गते ३ बजेको बुद्ध एयरको फ्लाइट थियो— जनकपुरबाट घर फर्किने । जनकपुर जानु र जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र गंगासागर नजानु कसरी हुन सक्थ्यो र ! कौशु विराटनगरबाटै घर आउन चाहन्थिन् । महिलाको बढी चिन्ताको विषय हुने रहेछ– घर, परिवार । महिलाले चिन्ता लिई दिने भएकाले होला; हामी पुरुषहरू चै यस्ता विषयमा निश्चिन्त जस्तै हुँदा रहेछौं । विराटनगरबाटै घर फर्किने सवालमा मैले कौशुलाई जनकपुरबाट फर्किनेमा कसैगरी मनाएको थिए्ँ । मैले उनलाई जनकपुरको फ्लाइटका लागि राजी गराउने आधारहरू थिए— १) वर्दिवासको टुक्रा जग्गा २) टुटेश्वरको मामाघर तथा त्यहाँकै टुटेश्वर महादेवको दर्शन ३) जानकीमन्दिरको दर्शन ।
जनकपुरसंग हाम्रो परिवारको विशेष लगाव पनि छ ः हाम्रो कान्छो छोरो यहीको जनकपुर अञ्चल अस्पतालमा जन्मिएको हो ।
कौशुलाई बनाउन अतिरिक्त उपाय सोच्नै परेन ।
मेरो आफ्नै भने कुरा यति मात्र नभएर अलिक फरक पनि थियो ।
मेरो एक निकट दोस्त– शुभचन्द्र झा । एक कालखण्ड हामीले एउटै कार्यालयमा काम गर्यौं । मानिसको अचेतन मन सधैं आफूसंग रसायन मिल्ने मान्छेको खोजीमा रहन्छ क्यार; परिचय भएको केही दिनमै हामी दोस्तीमा पर्यौं ।
त्यहाँ हामी डेरामा थियौं ।
“मेरो घर हिड्” भन्ने एउटा साथीको आत्मीय आग्रहलाई मान्छेले कतिन्जेल धान्न सक्छ र ! उहाँको कुम्हौडास्थित घरमा म पटकपटक गएको÷बसेको छु । मैथिल भान्साघर र सत्कार एवम् परिकारसंग पटकपटक परिचित हुन पाएको छु ।
अहिले जनकपुरको वजरंग चोकमा उहाँको बसोबास । भेटघाट नभएको कत्ति भयो कत्ति ! हामी फेसबुकमा छौं । जहिल्यै झा सर भन्नु हुन्थ्यो— ‘मेरो स्वास्थ्य अवस्था यात्राका लागि अनुकूल छैन । तिमीहरू आउँदैनौ । र, भेटघाट यही फोनमा भयो भने भयो । अब भौतिक भेटघाट हुन्छ जस्तो लाग्दैन ।’
यही आत्मीय गुनासोको सन्दर्भमा मैले ‘तीन महिनाभित्र म कुनै पनि हालतमा भेट गर्न आउँछु’ भनेर वचन दिएको थिएँ ।
म यो वचन पालना गर्न चाहन्थें ।
तर भयो के भने मेरो फोनको चार्जर विराटनगरमै छुटेछ । बाटैमा फोन स्वीचअफ भै हाल्यो । र, त्यही फोनमा म्यासेज गरेको थियो छोराले— प्लेनको टिकट ।
कार्तिक ५ गते बेलुका हामी टुटेश्वरस्थित मामाघर आई पुग्यौं । भोलिपल्ट एक बिहान हामीले चार्जर खोज्न यताउता दौडिदै टुटेश्वरमै बितायौं । खाना खाएर मात्र निस्किनु पर्छ भन्ने मामामाइजूको आग्रहलाई भने हामीले ‘खाना खाएर के मन्दिरमा दर्शन गर्नु’ भन्ने अड्को तेस्र्याएर साम्य पारेका थियौं ।
टुटेश्वरमा मिल्दो चार्जर पाइएन ।
फेरि टुटेश्वर पुगेपछि टुटेश्वर महादेवको दर्शन नगरी हिड्ने कुरा पनि भएन । म कौशुलाई दिएको बचनमा पनि चुक्न चाहन्नथें । अनि महादेव मन्दिरतिर लाग्यौ— हामी । मेरो आफ्नो अवस्था भने फोन स्वीचअफ भएकाले घरमा ढोकामा ताल्चा नलगाई पुराण सुन्न हिडेकी महिलाको जस्तै थियो । म टुटेश्वर पटकपटक गएको छु; टुटेश्वर महादेवको मन्दिरमा भने गएको थिइनँ । बगरबाट पूर्वतर्फ थोरै उक्लिएपछि छिपछिपे जङ्गलका बीचमा रहेछ— यो मन्दिर । सफा र शान्त वातावरण । चराहरूको चिरबिर । ढुङ्ग्याइलो बाटो । भव्य मन्दिर संरचना ।
मन्दिर परिसरमा प्रवेश गरेपछि मैले चार्जरको चौचौ र जनकपुर पुग्ने हतारो दुबै बिर्सिएँ ।
भाइ सन्तोषले हामीलाई महादेव मन्दिर पनि लग्यो र वर्दिवास ल्याई पनि दियो । वर्दिवासमा उसले मोबाइल चार्जको व्यवस्था पनि मिलाई दियो । तर मोबाइल चार्ज गर्नु भनेको कुवामा पानी उबाउनु जस्तो कुरा थिएन; पर्खिनु परी हाल्यो । अब काम चल्छ भन्ने स्तरमा चार्ज भएपछि हामी सडकमा आयौं ।
एउटा जनकपुर जाने नै बस आयो । आएको बसलाई छाडेर अर्को बस पर्खिने कुरा हुन सक्दैनथ्यो । तर बस परेछ— लोकल । हामीलाई हतार छ भन्दैमा त्यो एक्सप्रेस हुन सक्दैनथ्यो ।
बस घ्याँच्च घ्याँच्च रोकिन्थ्यो । हामी यो बसबाट उत्रिएर अर्को बसमा जानु पर्छ क्यारे भन्ने सल्लाह पनि गथ्यौंं; सल्लाह निचोडमा नपुग्दै बस स्टार्ट हुन्थ्यो । बस भाडा बसमा चढ्नासाथ तिरेका थियौं ः भाडा फिर्ता माग्नु झन्झटमा फस्नु हुन्थ्यो; फिर्ता नमाग्दा दोहोरो भाडा तिर्नु पथ्र्यो ।
हामीले यो बस छाड्न सकेनौं ।
जनकपुरमा हामी बसबाट उत्रिदा लगभग १२ बजेको थियो । अब पहिले मन्दिर दर्शन गर्नु प¥यो, फोटो खिच्नु प¥यो र खाना खानु प¥यो । हामी जानकी मन्दिर, जनक मन्दिर, गंगासागर र राममन्दिर मात्र गएका हौं । यिनै मन्दिरको दर्शनपछि हामीले खाना खायौं । यी काम सक्दा १ ः ३० भई हाल्यो । अनि अटोमा वजरंग चोकका लागि दौडियौं— हामी । प्राप्त सूचनामा स्पष्ट हुन नसक्दा केही समय यताउता दौडिएर बितायौं— हामीले । अनि झा सरलाई नै चोकमा बोलाइयो । उहाँका घर जाने बाटो छाडेर हामी केही उत्तर गइसकेका रहेछौं । फर्किनु प¥यो । वजरंग चोकस्थित उहाँको घर पुग्दा दुई बज्न छ सात मिनेट मात्र बाँकी थियो ।
यहाँ घरमा झा सर र म्याडम गरी दुईजना मात्र । छोराछोरी सबै बाहिर । ‘आउँछन्, बस्छन् र जान्छन् । प्लेटफर्म जस्तै भएको छ— घर ।’ उमेरको र स्वास्थ्य अवस्थाको एक सिंडीमा पुगेपछि यस्ता कुराले रमाइलो संचार नगर्ने रहेछन्, गम्भीर बनाउने रहेछन् ।
खुशी के लाग्यो भने, फोनमा आफ्नो स्वास्थ्य अवस्थाको अतिरंजित व्याख्या गरेर झा सरले हामीलाई अत्याइ दिनु भएको रहेछ । मैले त भनें पनि— “तपाईले बुढो हुन बिर्सिनु भएछ; अहिले पनि उस्तै हुनुहुँदोरहेछ ।”
हामीले केही फोटाहरू खिंच्यौं; अनि चिया खायौं; विस्कुट खायौं अनि झा सरको खप्की खायौं— “एक दिन पनि नबस्ने गरी के आगो माग्न आएको ?”
समयको यो चापाचापलाई लिएर हामी आफै पनि सन्तुष्ट थिएनौं । हामीले हिड्न हतार गर्नै पथ्र्यो ।
प्रजातन्त्र पुर्नस्थापनापछि २०४९ देखि २०५१ सम्मको समय मैले सपरिवार जनकपुरमा बिताएको छु । (ती दिन ठूलो छोरो सम्यक सानै थियो । सार्थक त त्यही कालखण्डमा त्यहीँको जन्मिएको हो ।) जनकपुरका ती दिनमा हामी साथी मात्र भएनौं; साहित्यिक मित्र पनि भयौं । झा सर कविता गर्नुहुन्थ्यो– मैथिलीमा पनि र नेपालीमा पनि । अहिले पनि गर्नु हुन्छ । तर छपाउने सन्दर्भमा उदासिन । गोष्ठीसोष्ठीमा जान सुनाउन पनि खासै मन नगर्ने । अन्तरङ्ग साथी नै हुनु पर्ने– झा सरलाई कविको रूपमा पहिचान गर्न; उहाँका कविताको रसास्वादन गर्न ।
ती दिन समीक्षा पत्रिकामा पठाउँथें— म आफ्ना रचना । ‘मान्छेहरू आज पनि भोकै सुते’ भन्ने कवितामा परेको एउटा हरफ उहाँ पटकपटक दोहो¥यउनु हुन्थ्यो— ‘तपाई झकाउन लाग्नु भएको होला । तपाईको प्रिय पत्रिकाको हेडलाइनभन्दा फरक एउटा खबर— मान्छेहरू आज पनि भोकै सुते ।’
म भोक मानिसको आदिम समस्या हो भन्ने सोच्थें र कुनै पनि राजनीतिक परिवर्तन कुनै न कुनै रूपमा मानिसको यो मुख्य समस्या सम्बोधन गर्ने दिशामा देखिनु पर्छ भन्ने मान्यता राख्थें । स्वाभाविक रूपमा कवितामा मेरो आक्रोश सोझै प्रकट भएको थियो । र, यो नग्न–आक्रोश उसलाई रुचिकर लागेको थियो ।
हामी दुवै सुर्ती खान्थ्यौं । (मैले सुर्ती खान पटकपटक छाडें र २०५५ सालबाट साँच्चै छाडें । यही भेटमा थाहा भयो— सुर्ती खान उहाँले अझै छाड्नु भएको रहेनछ ।) जनकपुर बसाइका तिनै दिनमा उहाँले अर्को थपी दिनुभयो— पान । म मिठ्ठा पत्तामा मिठ्ठा पान खान्थें । मिठ्ठा पान नाम जस्तै मिठो । जो सुकैले खान सक्ने; खाने । अनि म मिठ्ठा पत्तामा सादापान खान थालें । सादा त शब्द पनि कस्तो कस्तो लाग्दो रहेछ । म सादा पानमा खासै अडिन सकिनँ । सुर्ती खाने÷च्याप्ने मान्छेलाई जर्दा पान पनि सहज हुने रहेछ । एकदुईपटक खाएपछि लाग्यो– ’ममा जर्दा पान पचाउन सक्ने योग्यता छ ।’ आफ्नो योग्यताभन्दा कममा किन चित्त बुझाऊँ!
ती दिनमा म पानको झन्डैझन्डै अम्मली नै भइसकेको थिएँ ।
तर हाम्रो अम्मल मात्र होइन; मनको रसायन पनि मिल्थ्यो । यस्तै यस्तै केही कुरा थियो; जसले मलाई यसपटक जनकपुर पु¥याएको थियो र सहृदयी मित्र शुभचन्द्र झाको घरसम्म पु¥याएको थियो ।
बोझेपोखरी, ललितपुर