रातभरि परेको पानी भर्खरै थामिएको थियो। बिहानको आकाश पूर्ण रूपमा खुलिसकेको थिएन। पहाडका काखहरूमा कुहिरो यसरी अल्झिएको थियो, मानौँ प्रकृतिले आफ्ना अधुरा स्वप्नहरू सेता तन्तुमा बेरेर राखेको होस्। सल्लाघारीबाट टप्… टप्… गर्दै झर्ने पानीका थोपाहरूले गाउँको निस्तब्धतालाई झन् गहिरो बनाइरहेका थिए। चिसो हावाले बारीका सुकेका मकैका पातहरू हल्लाउँदा एउटा उदास सङ्गीत निस्किन्थ्यो—जीवनको थकान बोकेको, समयको भारले दबिएको।
त्यही बिहान, घरको पुरानो आँगनमा एउटा ढुङ्गामाथि टेकिएर बसिरहेका थिए—तेजबहादुर। उनका हातमा हलोको पुरानो फाल थियो। त्यसलाई उनी चुपचाप कपडाले पुछिरहेका थिए। त्यो फाल अब खेत जोत्नुभन्दा बढी उनको जीवनको प्रतीकजस्तो बनेको थियो—घिस्रिएको, थाकेको, तर अझै नटुटेको।
घरभित्रबाट जमुनाको खोकी सुनियो। भान्साबाट उठेको धुवाँ कुहिरोसँग मिसिँदै आकाशतिर हराइरहेको थियो। तेजबहादुरले गोरेटोतिर आँखा डुलाए।
“अझै उठेन कि अभय?” उनले मधुरो स्वरमा सोधे।
“राति अबेरसम्म पढेको थियो,” जमुनाले भित्रैबाट उत्तर दिइन्।
केही क्षणपछि उनी फेरि बोलिन्—
“हिजो पनि मध्यरातसम्म बत्ती बलिरहेको थियो। कहिलेकाहीँ त मलाई उसको स्वास्थ्यकै चिन्ता लाग्छ।”
तेजबहादुरले हल्का सास फेरे।
“दुःख नगरी सुख कहाँ पाइन्छ र, जमुना? तर हो, शरीर पनि जोगाउनुपर्छ।”
“तपाईंले पनि सधैँ पढ्, पढ् भनेर मात्रै भन्नुहुन्छ,” जमुनाले मुस्कुराउँदै भनिन्, “केटो कहिलेकाहीँ थाक्दो हो।”
तेजबहादुर केहीबेर मौन रहे। त्यसपछि आकाशतिर हेर्दै बिस्तारै बर्बराए—
“भगवान्! मेरो जीवन यसैमा सफल होस्।”
त्यो “यसै” भनेको उनका एक्ला छोरा—अभय—थियो।
अभय गाउँकै विद्यालयमा पढ्थ्यो। ऊ सानैदेखि तेज थियो। शिक्षकहरूले उसको उत्तर सुनेपछि प्रायः भन्ने गर्थे—
“यो केटो एकदिन ठूलो मान्छे बन्छ।”
“पढाइमा यस्तै लागिरह्यो भने गाउँको नाम राख्छ।”
विद्यालयबाट फर्कँदा कतिपय छिमेकीहरू पनि उसलाई देखेर भन्थे—
“अभय, तिमीले धेरै पढ्नुपर्छ है, बाबु।”
“तिमी सफल भयौ भने गाउँकै इज्जत बढ्छ।”
तर ती शब्दहरू सुन्दा अभयलाई गर्वभन्दा बढी बोझ महसुस हुन्थ्यो। उसलाई लाग्थ्यो, ऊ आफ्नो इच्छा अनुसार होइन, अरूका अपेक्षाअनुसार बाँचिरहेको छ।
तेजबहादुरले बाल्यकालदेखि नै उसलाई एउटै कुरा बारम्बार सुनाएका थिए—
“निम्नवर्गीय परिवारको एक्लो छोरो बिग्रिनु हुँदैन, बाबु। तिमी चिप्लियौ भने हाम्रो घर मात्र होइन, आउने पुस्ताको भाग्य पनि अन्धकारमा डुब्नेछ।”
कहिलेकाहीँ अभयले प्रतिप्रश्न गर्न खोज्थ्यो।
“बाबु, म यति धेरै दबाबमा किन बस्नुपर्छ?”
तेजबहादुर केही क्षण चुप लाग्थे। त्यसपछि गम्भीर स्वरमा भन्थे—
“किनभने मैले अभाव देखेको छु, बाबु। अभावले मान्छेको सपना कसरी चुँडाउँछ, त्यो आफ्नै आँखाले भोगेको छु।”
“तर म त अझै बच्चै छु नि,” अभयले एकपटक भनेको थियो।
तेजबहादुरको स्वर नरम बनेको थियो।
“हो, तिमी बच्चै हौ। त्यसैले त आजैदेखि बाटो देखाइरहेको छु। भोलि जीवनले सिकाउँदा धेरै ढिलो भइसक्न सक्छ।”
अभय त्यो सुन्दा चुप लाग्थ्यो। तर मनभित्र कतै त्यो वाक्य काँडाझैँ बिझ्थ्यो।
एक साँझ ऊ बारीको कान्लामाथि बसेर अस्ताउँदै गरेको घाम हेरिरहेको थियो। पश्चिमतिरको आकाश रगतजस्तै राताम्मे भएको थियो। पर कच्ची सडकमा गाईवस्तु फर्कँदा उडेको धुलो सुनौलो प्रकाशमा तैरिरहेको थियो।
त्यही बेला उसका दुई साथीहरू नजिकैबाट गुज्रिरहेका थिए।
“ए, अभय! फेरि एक्लै बसेर के सोचिरहेको?” एकजनाले हाँस्दै सोध्यो।
“केही होइन,” अभयले छोटो उत्तर दियो।
“तिमी सधैँ यस्तै भन्छौ,” अर्को साथीले भन्यो, “कहिले त निश्चिन्त भएर हाँस पनि।”
अभय मुस्कुराउन खोज्यो, तर त्यो मुस्कान अधुरै रह्यो। साथीहरू अगाडि बढे। ऊ फेरि एक्लै भयो।
उसले सोच्यो—
“किन मेरो जीवन सधैँ जिम्मेवारीको भारीले मात्रै नापिन्छ? म पनि त कहिलेकाहीँ हलुका हुन चाहन्छु।”
हावाले सल्लाका टुप्पाहरू हल्लायो। कतैबाट काँगहरूको एक हुल कराउँदै पश्चिमतिर उड्यो। त्यो दृश्य हेर्दा उसलाई अचानक लाग्यो—ऊ पनि कुनै अदृश्य डोरीले बाँधिएको चरा हो।
★★
एसईपछि अभय काठमाडौं आयो। सहर उसले कल्पना गरेभन्दा फरक थियो। यहाँ मानिसहरू अनुहारभन्दा घडी हेरेर बढी हिँड्थे। बिहानको सूर्यभन्दा मोबाइलको स्क्रिन चाँडो उज्यालिन्थ्यो। रात यहाँ कहिल्यै पूर्ण रूपमा निदाउँदैनथ्यो।
बसपार्कमा पहिलोपटक झर्दा उसले चारैतिर नियालेर हेरेको थियो। मानिसहरूको भीड यति बाक्लो थियो कि कसैलाई कसैको वास्ता थिएन। सबै आ–आफ्नो गतिमा दौडिरहेका जस्ता देखिन्थे।
उसले मनमनै सोचेको थियो—
“यही सहरले मेरो भविष्य बनाउने हो।”
ऊ एउटा साँघुरो कोठामा बस्न थाल्यो। दिनमा कलेज, बेलुका स्टेशनरी पसलमा काम। सुरुका दिनहरूमा उसलाई संघर्ष रोमाञ्चक लाग्थ्यो। बिहानको हतार, नयाँ साथीहरू, नयाँ वातावरण र आफ्नै बलमा केही गर्ने उत्साहले उसका दिनहरू भरिएका थिए।
स्टेशनरी पसलका मालिकले पनि एकदिन भनेका थिए—
“पढ्दै काम गर्ने केटाहरू मलाई मन पर्छन्। दुःख गर्न जान्ने मान्छे एकदिन सफल अवश्य हुन्छ।”
त्यो सुन्दा अभयको मनमा नयाँ ऊर्जा जागेको थियो।
तर बिस्तारै सहरले उसको भित्री उज्यालो सोस्न थाल्यो। दिनहरू लामो र रातहरू झन् लामो हुन थाले। काम, पढाइ र खर्चको चापले उसको मन थाक्न थाल्यो।
एकदिन कलेज सकिएपछि केही साथीहरूले उसलाई घेरे।
“अभय, आज बेलुका फुर्सद छ?” एकजनाले सोध्यो।
“छ त, किन?”
“यसरी किताब र काममै जिन्दगी बिताएर हुन्छ?” अर्को साथी हाँस्यो—
“जीवनलाई यति गम्भीर बनाएर बाँचिन्छ र? अलिकति रमाउन पनि सिक।”
अभय मुस्कुरायो।
“रमाइलो भनेको?”
“आज हामीसँग आऊ, आफैँ बुझ्छौ।”
त्यो “रमाइलो” को अर्थ उसले चाँडै बुझ्यो—चुरोट, मदिरा र रातभरको आवारागर्दी।
पहिलोपटक चुरोट समात्दा उसका औँलाहरू काँपेका थिए। उसलाई बाबुको अनुहार सम्झियो—घामले डढेको निधार, पसिनाले भिजेको ढाड, अनि त्यो पुरानो उपदेश—
“तिमी बिग्रियौ भने हाम्रो भविष्य पनि बिग्रिन्छ।”
उसले चुरोट फाल्न खोज्यो।
“छोड यार, के बच्चाजस्तो गरिरहेको?” एक साथीले भन्यो।
“एक सर्को तानेर को बिग्रेको छ र?” अर्कोले थप्यो।
“मलाई मन लागिरहेको छैन,” अभयले बिस्तारै भन्यो।
त्यसको जवाफमा साथीहरू हाँसे। त्यो हाँसोले उसको आत्मसम्मानलाई छोयो। उसलाई लाग्यो, यदि अहिले पछि हट्यो भने सबैले उसलाई कमजोर ठान्नेछन्।
उसले सर्को तान्यो।
धुवाँ छातीभित्र पस्दा उसलाई लाग्यो, ऊ केवल चुरोट होइन, आफ्नै आदर्श जलाइरहेको छ।
त्यो रात कोठामा फर्केर ऊ धेरैबेर झ्यालछेउ उभिरह्यो। बाहिर पानी परिरहेको थियो। सडकबत्तीको उज्यालो भिजेको कालोपिचमा काँपिरहेको थियो।
“म आखिर कता जाँदैछु?” उसले आफैँलाई सोध्यो।
तर उत्तर आएन।
समयसँगै ऊ बदलिन थाल्यो। पढाइमा ध्यान घट्दै गयो। खर्च बढ्न थाल्यो। घरबाट आएको फोन उसलाई बोझ लाग्न थाल्यो।
कहिलेकाहीँ जमुनाको फोन आउँथ्यो।
“खाना समयमै खान्छस् नि, बाबु?”
“खान्छु, आमा।”
“धेरै दुःख नगर है।”
“हुन्छ।”
उत्तर छोटो हुन्थ्यो, तर फोन काटिएपछि उसको मन लामो समयसम्म भारी भइरहन्थ्यो।
एकदिन तेजबहादुरले फोनमा भने—
“बाबु, पढाइ कस्तो चलिरहेको छ?”
“ठिकै छ।”
“शरीरको ख्याल राखेको छस्?”
“राखेको छु।”
केही क्षण दुवै चुप रहे।
त्यसपछि तेजबहादुरको गम्भीर स्वर सुनियो—
“बाबु, थाकिस् भने केही दिन घर आऊ। सहरले मानिसलाई धेरै छिटो सुकाउँछ।”
“सुकाउँछ” भन्ने शब्दले अभयलाई अनौठो गरी छोयो। मानौँ बाबुले उसको अनुहार होइन, आत्मा देखेका हुन्।
ऊ दशैँमा गाउँ फर्कियो। गाउँ उस्तै थियो—त्यही गोरेटो, त्यही सल्लाघारी, त्यही माटोको गन्ध। तर बाबु भने केही बूढा देखिन्थे। उनको ढाड पहिलेभन्दा बढी निहुरिएको थियो।
घर पुगेपछि जमुनाले उसको अनुहार समाउँदै भनिन्—
“दुब्लाएको रहेछस्, बाबु।”
“त्यस्तो केही होइन, आमा।”
“आमाको आँखाबाट के लुक्छ र?”
तेजबहादुर टाढैबाट मुस्कुराएर हेरिरहेका थिए। तर उनका आँखामा चिन्ताको हल्का छाया अझै बाँकी थियो।
राति खाना खाइसकेपछि तेजबहादुर आँगनमा बसेर आकाश हेरिरहेका थिए। तारा असाध्यै टल्किएका थिए। टाढाको खोल्साबाट पानी बगेको मधुरो आवाज आइरहेको थियो।
अभय पनि नजिकै गएर बस्यो। केहीबेर दुवै मौन रहे।
अचानक तेजबहादुर बोले—
“थाहा छ, बाबु, म तिम्रो उमेरमा हुँदा सपना देख्न पनि डराउँथेँ।”
अभय चुपचाप सुनिरह्यो।
“किन, बाबु?” उसले बिस्तारै सोध्यो।
तेजबहादुर हल्का मुस्कुराए।
“गरिब मानिसले ठूलो सपना देख्यो भने भोकले जिस्क्याउँछ।”
केही क्षण मौनता छायो।
त्यसपछि उनले फेरि भने—
“तर तिमीलाई हेर्दा लाग्छ—सायद हाम्रो पुस्ताले दुःख सहेको अर्थ खेर जाने छैन।”
अभयका आँखा बाबुतिर गए।
“मलाई कहिलेकाहीँ लाग्थ्यो, तपाईं ममाथि धेरै कठोर हुनुहुन्छ,” उसले पहिलोपटक मनको कुरा खोल्यो।
तेजबहादुरले गहिरो सास फेरे।
“कठोर होइन, बाबु। डराएको थिएँ।”
“डर?”
“हो। तिमी पनि मझैँ अभावले थिचिने हो कि भन्ने डर।”
त्यो वाक्य सुन्दा अभयको मनभित्र केही भत्कियो। उसले पहिलोपटक बाबुको कठोर उपदेशभित्र लुकेको भय बुझ्न थाल्यो।
त्यो नियन्त्रण होइन रहेछ; एउटा बाबुको असुरक्षा रहेछ—"मेरो छोरो पनि मझैँ नथिचियोस्।"
त्यो रात अभय सुत्न सकेन। बाहिर सिमसिम पानी परिरहेको थियो। छानोमाथि खस्ने थोपाहरूको आवाज सुन्दा उसलाई लाग्यो—प्रकृति पनि कहिलेकाहीँ मानिसझैँ चुपचाप रोइरहेकी हुन्छे।
उसले आँखा बन्द गर्यो।
“म किन भागिरहेको छु? संघर्षबाट? कि आफ्नै जिम्मेवारीबाट?”
प्रश्नहरू मनभित्र बारम्बार गुञ्जिरहे।
दशैँका बाँकी दिनहरूमा अभय धेरै बोल्दैनथ्यो। बाबुको प्रत्येक शब्द मनभित्र कतै गहिरो गरी बसिसकेको थियो। गरिबको छोरो बिग्रनु हुँदैन भन्ने बाबुको जीवनभरको विश्वासलाई अब उसले सार्थक बनाउनुपर्छ।
★★★
काठमाडौं फर्किएपछि अभय एकाएक बदलिएको थिएन। परिवर्तन बिस्तारै आयो—जसरी रातपछि बिहान आउँछ, जसरी हिउँदपछि बिस्तारै वसन्त फर्कन्छ।
उसले रातको आवारापन छोड्यो। फेरि किताब समात्न थाल्यो। आफूलाई अनुशासनमा बाँध्न खोज्यो। बिहान चाँडै उठ्ने, समय मिलाएर पढ्ने र अनावश्यक संगतबाट टाढा रहने प्रयास गर्न थाल्यो।
परिवर्तन सजिलो भने थिएन। कहिलेकाहीँ ऊ फेरि थाक्थ्यो। सहर फेरि उसलाई निल्न खोज्थ्यो। पुराना साथीहरू भेटिन्थे।
“अभय, फेरि त्यही पुरानो जीवन सुरु गरिस् कि क्या हो?” एकजनाले ठट्टा गर्दै भन्थ्यो।
“अहिले मलाई अर्कै दौड जित्नुपर्छ,” अभय मुस्कुराउँदै उत्तर दिन्थ्यो।
“यति धेरै दुःख गरेर के पाइन्छ र?”
त्यसको जवाफमा ऊ केवल मुस्कुराउँथ्यो। किनकि अब उसले अरूलाई होइन, आफैँलाई बुझाउन सिकिसकेको थियो।
तर हरेकपटक बाबुको आवाज सम्झिन्थ्यो। अब त्यो आवाज आदेशजस्तो लाग्दैनथ्यो; बरु अँध्यारो बाटोमा कसैले काँधमा हात राखेर—
“तिमी हार्नु हुँदैन।”
भनेजस्तो लाग्थ्यो।
वर्षहरू बिते। संघर्षका दिनहरू बिस्तारै उपलब्धिका दिनतिर मोडिन थाले। अनगिन्ती रातहरू किताबसँग बिते। कतिपय क्षणमा निराशा आयो, कतिपय क्षणमा आत्मविश्वास डगमगायो। तर अब उसले हार मान्न सिकेको थिएन।
एकदिन लोकसेवा आयोगको नतिजा आयो। अभयको नाम पहिलो सूचीमै थियो।
त्यो क्षण ऊ धेरैबेर स्क्रिन हेरेर बसिरह्यो। वरिपरिका आवाज धमिला भइरहेका थिए। उसको आँखाअघि भने गाउँको पुरानो आँगन, बाबुको पसिनाले भिजेको अनुहार र आमाको धुवाँले पोलिएको आँखा आइरहेका थिए।
उसका हात हल्का काँपिरहेका थिए।
उसले तुरुन्त बाबुलाई फोन गर्यो।
“हेलो, बाबु...”
उताबाट परिचित स्वर आयो।
अभय केही क्षण बोल्नै सकेन।
“के भयो, बाबु? सबै ठिक छ नि?” तेजबहादुरको स्वरमा चिन्ता मिसिएको थियो।
अभयको घाँटी भरिएको थियो।
“बाबु... नतिजा आयो।”
“अनि?”
“मेरो नाम निस्कियो।”
उताबाट केही क्षण मौनता आयो। त्यो मौनताभित्र वर्षौँको प्रतीक्षा अड्किएजस्तो लाग्थ्यो।
त्यसपछि तेजबहादुरको भर्रिएको स्वर सुनियो--“साँच्चै, बाबु?”
अभय मुस्कुरायो। तर उसका आँखाहरू रसाइसकेका थिए।
“हो, बाबु… अब तपाईंको छोरो हार्दैन।”
उताबाट लामो सुस्केरा सुनियो।
“भगवान्लाई लाख–लाख धन्यवाद,” तेजबहादुर बिस्तारै बोले, “आज त मेरो जीवनको सबैभन्दा ठूलो दिन भयो।”
त्यो सुस्केराभित्र वर्षौँको डर, दुःख र प्रतीक्षा पग्लिरहेको थियो।
फोन काटिएपछि अभय धेरैबेर चुपचाप बसिरह्यो। उसलाई लाग्यो—आज उसको मात्र होइन, उसका बाबुआमाका सपनाले पनि सफलता पाएका छन्।
केही महिनापछि अभय गाउँ फर्कियो।
त्यो बिहान वर्षापछिको घामले पहाडहरू सुनौलो बनाएको थियो। सल्लाघारीबाट आउने हावामा माटोको ताजा सुगन्ध मिसिएको थियो। आँगनछेउको नासपातीको रूखमा नयाँ पालुवा पलाइसकेको थियो।
तेजबहादुर आँगनमै उभिएका थिए। सायद उनी बिहानैदेखि बाटो हेरिरहेका थिए।
अभयले टाढाबाटै बाबुलाई हेर्यो। उनलाई अचानक धेरै थाकेका, धेरै साना, तर असाध्यै महान् लागे।
ऊ नजिक गयो।
तेजबहादुरले उसका काँध समाते। उनका हात कठोर थिए, तर स्पर्शमा अनौठो न्यानोपन थियो।
केही क्षण दुवै केही बोल्न सकेनन्।
जमुना ढोकामै उभिएर त्यो दृश्य हेरिरहेकी थिइन्। उनका आँखाहरू पनि रसाएका थिए।
तेजबहादुरले बिस्तारै भने—
“अब मलाई कुनै डर छैन, बाबु।”
अभयले बाबुतिर हेर्यो।
“अब तिमी जीवनसँग हार्दैनौ।”
त्यो सुन्दा अभयको घाँटी भरियो।
“तपाईंको विश्वासले नै जिताएको हो, बाबु,” उसले कठिनाइले शब्द निकाल्यो।
तेजबहादुर हल्का मुस्कुराए।
“मैले त बाटो मात्रै देखाएको हुँ। हिँड्ने काम तिमीले गर्यौ।”
अभयले वरिपरि हेर्यो—त्यही घर, त्यही आँगन, त्यही पहाड। तर आज ती सबै अभावका प्रतीक होइन, संघर्ष जितेका साक्षीझैँ लागिरहेका थिए।
पहाडमाथि घाम झन् उज्यालो हुँदै थियो। सल्लाघारीको हावा पुरानै थियो, तर आज त्यसमा एउटा नयाँ मिठास मिसिएको जस्तो लाग्थ्यो।
अचानक उसलाई महसुस भयो—
उपदेश भनेको केवल कठोर शब्द रहेनछ। त्यो त एउटा पुस्ताले अर्को पुस्तालाई डुब्न नदिन बनाएको पुल रहेछ।