19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अहिलेलाई यस्तै भयो कार्की सर !

निबन्ध नारायण मरासिनी July 14, 2026, 6:31 pm
नारायण मरासिनी
नारायण मरासिनी

ज्ञानबहादुर कार्की सर र म एउटै जिल्लावासी । कार्की सर स्याङ्जा, आँधीखोलाको नजिक पौवैगौंडेको र म ज्याग्दीखोलाको । अहिले पछिल्लो समय पनि हामी एउटै जिल्लावासी; अझ एउटै पालिकाकावासी । उहाँ पोखराको बिच भागतिर र म पुछारतिर । अचेल हाम्रो भेट हुन थालेको छ ‘बन्धु अफसेट प्रेस’, महेन्द्रपुलमा । उहाँ विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको सम्पादनका क्रममा त्यहाँ आइपुग्नुहुन्छ र म पनि ‘ज्याग्दीखोलाको तरङ्ग’ साहित्यिक त्रैमासिकको प्रकाशनका लागि बरोबर सोही प्रेसमा पुग्ने गरेको छु । एक किसिमले भन्ने हो भने बन्धु प्रेस स्याङ्जाली बौद्धिक जगत् तथा स्रष्टाद्रष्टाहरुका लागि भेटघाट गर्ने थलो बनेको छ । प्रेसका सञ्चालक गोविन्दप्रसाद रेग्मी सहयोगी स्वभावका भएकाले पनि हामीलाई उक्त प्रेसमा घन्टौंघन्टासम्म गफ गरेर बस्न सहज भएको छ ।

उक्त प्रेस पोखराको सेन्टरमा हुनाले पनि हामीलाई साथीहरुका बिच एकापसमा भेटघाट गर्न सजिलो भएको हो । यहाँ बसेर चिया पिउँदै कहिले म यतिहास विषयका प्रा.डा.द्वय दिलबहादुर क्षत्री र ज्ञानबहादुर कार्कीसँग गफ्फिएको हुन्छु भने कहिले स्याङ्जाका विशिष्ट स्रष्टाद्वय विश्वप्रेम अधिकारी र देवेन्द्र लम्सालसँगको भलाकुसारीमा जमेको हुन्छु । यही प्रेसमा बेलाबखत साहित्यका पारखीहरु प्रा.डा. यमबहादुर पौडेल क्षेत्री र त्रिभुवन शर्मासँग पनि भेट हुन्छ । कुनै कुनै समयमा बुद्धिविलासमा जम्न चाहने जीवलाल काफ्ले र टीकाराम वाग्लेहरु पनि भेटिन्छन् । प्रा.डा. जगन्नाथ रेग्मी, परशुराम कोइराला, कृष्णप्रसाद पौडेलजस्ता साहित्यिक क्षेत्रमा लागिपर्न चाहने साहित्यकारहरु पनि यहीँ नै भेटिएका हुन्छन् ।

यही २०८२ सालको माघमा प्रेसमा पुग्दा ज्ञानबहादुर कार्की सर कम्प्युटरमा एउटा लेखको शुद्धाशुद्धि हेर्दै हुनुहुन्थ्यो । प्रेसका प्रोप्राइटर गोविन्द रेग्मीजीले उहाँलाई सहयोग गर्नुभएको थियो । मैले उहाँहरु दुवैको पछाडिपट्टि उभिएर कम्प्युटरको स्क्रिनमा देखिएको लेखमा आँखा डुलाएँ । त्यो ज्ञानबहादुर सरकै बारेमा कोही कसैले लेखेको लेख थियो । लेखक यही नै थियो भन्ने चाहिँ अहिले बिर्सें । अनि कार्की सरसँग जिज्ञासा राखेँ– ‘कस्तो खालको लेख हो सर यो ? लेख त तपाईंकै बारेमा पो छ त !’ कार्की सरले पुस्तकका साथै प्रकाशकका बारेमा पनि सङ्क्षेपमा जानकारी गराउनुभयो र मलाई पनि एउटा लेखका लागि अनुरोध गर्दै ‘निवृत्त प्राध्यापक समाज’, पोखराको प्रकाशन ‘निवृत्त प्राध्यापक मञ्चः सङ्क्षिप्त जीवनी– एक’ दिनुभयो । यो उहाँको प्रधान सम्पादन र अन्य प्राध्यापकहरुको सहसम्पादन तथा सम्पादनमा प्रकाशित रहेछ । विषय सूची हेरेँ– प्रायः सबै चिनेजानेका प्राध्यापकहरुकै जीवनी रहेछ । अधिकांश पृथ्वीनारायण क्याम्पस, पोखरामै प्राध्यापन गरेर निवृत्त प्राध्यापकहरुका जीवनी रहेछन् । सर्सर्ती हेर्दा जीवनीहरु एक–दुई पृष्ठका अर्थात् सङ्क्षिप्त आकारका रहेछन् ।

‘काजीले लेख लेख्न भनिहाले, नलेख्नु पनि कसरी ? लेख्नका लागि फुर्सद निकाल्न असाध्यै गाह्रो !’ (यहाँ मैले ज्ञानबहादुर कार्कीलाई ‘काजी’ भनेँ । कारण के भने प्रा.डा. रविलाल अधिकारी गुरु जसले मलाई कक्षाकोठामा त पढाउनुभएन, उहाँ र ज्ञानबहादुर सर पृथ्वीनारायण क्याम्पस र कालिका क्याम्पसमा सँगै प्राध्यापन गर्नुहुन्थ्यो । रविलाल सरले ज्ञानबहादुर सरलाई ‘काजी’ भन्नुहुन्थ्यो ।) अँ त साँच्ची, काजीले कज्याएपछि नकजिएर भयो त अब ! कजिनै पर्‌यो । यद्यपि म इतिहासको विद्यार्थी होइन । कार्की सर इतिहासका बारेमा शोधखोज तथा अनुसन्धान गर्ने प्राध्यापक । उहाँका लेख–रचनाहरु पनि इतिहास र संस्कृतिसँग नै सम्बन्धित । उहाँका प्रकाशित कृतिहरु पनि तिनै विधासँग सम्बन्धित मात्रै । म इतिहास नपढेको मान्छे, अब ज्ञानबहादुर सरका इतिहाससम्बद्ध कृतिहरुको चर्चा वा विश्लेषण गर्ने क्षमता ममा हुने कुरा पनि भएन । बुढाका साहित्यिक पुस्तकहरु भएका भए त बरु तिनैको टेको लिएर केही गफगाफका टुक्राटाक्रीहरु जोड्न सजिलो हुन्थ्यो नि ! कार्कीजीका साहित्यिक किताबहरु पनि रहेनछन् । अब परेन फसाद !

अँ साँच्ची, कार्की सर ! तपाईं पढाउनका लागि पृथ्वीनारायण क्याम्पसमा छिर्दा मैले सोही क्याम्पसबाट आई.ए. सकेको थिएँ सायद् ! त्यति बेलाको मेरो केटौले उमेरमा त तपाईं र मेरा बिच त्यति राम्रो जानपहिचान भएन होला । तर जब हामी २०५० पछिका सालहरुमा ‘स्याङ्जाली सम्पर्क सदन, पोखरा’ मा जोडियौँ त्यसपछि हाम्रो भेटघाट केही बाक्लिन थाल्यो । तपाईं साहित्यिक रुचि भएको मान्छे; तपाईंको सङ्गत र सहकार्य पनि पीताम्बर नेपाली, कुलप्रसाद खनाल, रविलाल अधिकारी, घनश्याम ढकालजस्ता साहित्यकारहरुसँग । तपाईं म संलग्न संस्था ‘गण्डकी साहित्य सङ्गम’, ‘प्रगतिशील लेखक सङ्घ’, ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ लगायतका संस्थाहरुद्वारा साहित्यिक कार्यक्रमहरुमा नियमितजसो भेटिने साहित्यिक शुभेच्छुक । साहित्यिक सङ्घसंस्थाहरुलाई सहयोग गर्ने र साहित्यिक कृतिहरुको पठनमा रुचि रहेको व्यक्ति ।

विभिन्न पुस्तक तथा पत्रपत्रिकाको सम्पादनमा तपाईंको क्षमता अर्थात् कुशलतालाई मैले नजिकैबाट अनुभूत गरेको छु कार्की सर ! तपाईंले बिर्सनुभएको त छैन नि, हामी दुई भाइ मिली लगभग छ महिना लगाएर एउटा ग्रन्थ सम्पादन गरेको इतिहास । तपाईंले सम्झनुभएको छ कि छैन कुन्नि ! प्रेसबाट बिहानको खाना खान घरमा जाँदा ढिला हुन सक्छ भनेर हामीले नजिकै चिप्लेढुङ्गा स्थित थकालीको होटलमा गएर ढिँडो निलेका थियौँ अनि तुरुन्तै प्रेसमा फर्केर पुनः सम्पादनको कामलाई नै निरन्तरता दिएका थियौं । त्यो किताब आकारमा अलिक ठुलो पनि थियो; लगभग सात सय पृष्ठको । किताबको नाम थियो– ‘पीताम्बर नेपालीः व्यक्ति एक, व्यक्तित्व अनेक’ ।

तपाईं साहित्यिक कार्यक्रममा श्रोता बनेर कविता सुन्न खुब मन पराउनुहुन्छ है कार्की सर ! २०७५ सालतिर कविता सुन्नकै लागि हामीसँग पोखराबाट स्याङ्जाको सुदूर पूर्व हरिनासको जङ्गलमा आयोजित साहित्यिक महोत्सवमा पनि तपाईं पुग्नुभएकै हो । त्यति बेला नेपालका सातै प्रदेश र भारतको सिक्किमबाट समेत गरी लगभग डेढ सय जनाको उपस्थितिमा ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ले उक्त जङ्गलमा दुई दिने बृहत् साहित्य सम्मेलन गरेको थियो । विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागिता जनाउने र सम्पादन एवम् भाषिक शुद्धाशुद्धिमा लागिपर्ने कार्की सरका साहित्यिक सिर्जनाहरु केकस्ता होलान् ? कहाँ र कति प्रकाशित होलान् भनेर गम्दै थिएँ; मानसपटमा प्रतिविम्बित हुन पुग्यो एउटा संस्मरण । संस्मरण त कार्कीजी तपाईंले थुप्रै लेख्नुभएको छ । रविलाल अधिकारी, पीताम्बर नेपालीलगायत धेरै व्यक्तिहरुका सन्दर्भमा तपाईंले संस्मरण नै लेख्नुभएको छ । तर अहिले यति नै बेला मेरो मानसपटमा विम्बित हुन पुगेको संस्मरण हो– ‘पोखरामा पहिलो बास’ शीर्षकको संस्मरण ।

‘लौ न कार्की सर ! हाम्रो पत्रिकाका लागि एउटा साहित्यिक वा इतिहास विषयक लेख तयार पार्नुस्’ भनेर केही वर्षदेखि यताका धेरै भेटहरुमा कार्की सरलाई अनुरोध गर्दै आएको थिएँ । अनुसन्धानमूलक लेखहरु त उहाँबाट केही आएकै थिए तर एकपटक भने उहाँबाट आफ्नै किशोरकालीन संस्मरण आइपुग्यो । ‘ज्याग्दीखोलाको तरङ्ग’ साहित्यिक त्रैमासिकको वर्ष– ९, अङ्क– २, पूर्णाङ्क– ३३ (कार्तिक–पौष, २०८०) मा प्रकाशित संस्मरण हो कार्कीजीको ‘पोखरामा पहिलो बास’ । उक्त संस्मरण पढेर म मनमनै हाँसेको थिएँ । कार्कीजीको त्यो संस्मरण पढ्दा म पनि मेरै किशोर वयको स्मृतिमा डुबेको थिएँ ।

पोखरेली प्रकृतिको मनोरम शब्दचित्रको उतारबाट सुरु भएको उक्त संस्मरणमा कार्की सरले आफ्नै नितान्त व्यक्तिगत भोगाइलाई लिपिबद्ध गर्नुभएको छ । कार्कीजीले पोखरामा बिताएको त्यो पहिलो रात लेखकका निमित्त त अबिस्मरणीय हुने नै भयो; पाठकका लागि पनि उत्तिकै रोचक छ । कृष्ति–बक्रेकतिरको बाटो कस्सिएरै पैदल हिँड्ने हो भने पनि कार्कीजीको घरबाट पोखरा तीन–चार घन्टाको बाटो हो । उहाँ तन्नेरी उमेरमा त्यही बाटो हुँदै पैदलै यात्रा गरेर धेरैपटक पोखरा पनि आइपुग्नुभएको छ । यो बाटो कुनै समय मलामीका रुपमा र कुनै समय ढुङ्गेसाँघुको मेला हेर्ने निहुँमा पनि आउनुभएको छ । केटाकेटीमा आमाको पछि लाएर उहाँ पौवैगौंडेबाट हिँड्दैहिँड्दै सेती नदीमा नुहाउन आइपुग्नुभएको छ । अग्रजहरुसँग मलामीका रुपमा पनि गाउँबाट हिँडेरै पोखरा आइपुग्नुभएको छ तर त्यस समयमा पोखरामा आफ्ना इष्टमित्र तथा आफन्तजनहरु नभएकाले पनि हुन सक्छ, उहाँलाई पोखरामा बास बस्ने साइत जुरेको छैन ।

तत्कालीन पौवैगौंडे निम्न माध्यमिक विद्यालय, स्याङ्जाबाट आठ कक्षा पास गरेपछि परिस्थितिबस एक वर्ष घरमै गाईगोरू, भैँसी, बाख्रा चराएर बस्नुभयो । पौवैगौंडेमा त्यस समयमा माध्यमिक शिक्षाको व्यवस्थापन नभएको कारण २०३० सालमा कार्कीजी गाउँबाट करिब १० किलोमिटरको दुरीमा रहेको स्याङ्जा बजारस्थित त्रिभुवन आदर्श मा.वि.मा कक्षा ९ मा भर्ना हुनुभयो । भर्खर भर्खर सिद्धार्थ राजमार्ग खुलेको समय थियो त्यो । केटौले उमेरका कार्कीजीको भैरहवा–पोखरावाला बसमा स्याङुजा टु बाढखोला अनि बाढखोला टु स्याङ्जा कहिले भित्र उभिएर, कहिले छतमा र कहिले त पछाडि झुन्डिएरै पनि स्कुल जाने–आउने उपक्रम चल्न थाल्यो । विद्यार्थीकाल, पैसाको अभाव, बसमा सकेसम्म भाडा नतिरीकन गुड्न चाहनु स्वाभाविक पनि हो ।

बेलामौका स्याङ्जा बजारको स्कुलबाट बाढ्खोलासम्म आउने परिचित–अपरिचित विद्यार्थी साथीहरुको समूहमा बसमा चढेर फ्रीमा आवतजावत गर्न पल्केका कार्कीजी र उहाँका केही साथीहरु बस भाडा नतिरीकन एक दिन अर्थात् २०३० सालको चैतमा ‘नेपाल दर्शन बस सेवा’ नामक बस चढ्ने क्रममा कन्डक्टरले यो एक्सप्रेस बस हो, बीचमा रोक्दैन, तपाईंहरु नचढ्नुस् है ! भन्दाभन्दै पनि स्याङ्जाबाट चढेछन् । पन्जाबी फेता गुतेका दारीवाल ड्राइवरले बाढखोलामा बस रोकेनछ । नागडाँडामा बसले ओराल्न खोज्दा कि हामीलाई बाढखोला नै लगिदे होइन भने फ्रीमै पोखरा पुर्‍याइदे भनेर कार्कीजीको समूहले हल्ला गर्न थालेछ । हुल्लडवाज केटाहरुका लागि भनेर पाँच–सात किलोमिटर पछाडि बस किन फर्काउँथे र ड्राइवरले । कार्कीजीको गोजीमा दामका नाममा जम्मा एक रुपैयाँ । कार्कीजीले पनि जे पर्ला टर्ला भनेर साथीहरुसँगै पोखरा जाने सोच बनाउनुभयो । भालुपहाडमा ड्राइभर र कन्डक्टर मिलेर समूहलाई नै जबरजस्ती झार्न खोज्दा केटाहरुको समूहले मजैले मुकाबिला गर्‍यो ।

मोटर चढेर पोखराका लागि गरेको यो यात्रा कार्कीजीका लागि पहिलो थियो । चौध वर्षको केटो बसमा बस्दा त मजै मान्यो तर पोखराको एयरपोर्टमा झरेपछि भने रात गुजार्ने बास र खानपिनका समस्या अनि भोलिपल्टको ट्रकको यात्राले भने केही दुःख दियो नै । प्रहरी दाजुको सहयोग, बसका साहूलाई जरिवाना तिराएको सन्दर्भलगायत धेरै प्रसङ्गहरु यस संस्मरणमा जेडिएका छन् । जे होस्, कार्कीजीको यात्रा अविस्मरणीय रहेको छ । हामी ग्रामीण परिवेशका केटाकेटीले गर्ने उपद्रोका रुपमा पनि यस यात्रा अर्थात् घटनालाई लिन सकिन्छ ।

हो कार्की सर ! मैले तपाइँलाई इमान्दारीका साथ अर्थात् आफूलाई कत्ति पनि नढाँटी यस्तै खालका संस्मरणहरु लेख्नुहोस् भनेर प्रत्येक भेटमा अनुरोध गर्दै आएको हुँ । आफू उदाङ्गिन सकेन भने संस्मरणमा यथार्थ आउँदैन र रोचक पनि बन्दैन । जतिसक्दो लेखक उदाङ्गिन सक्नैपर्छ । अनि बल्ल पाठकहरुको मानसपट पनि लेखकसँगै विचरण गर्न पुग्छ ।

म त बहकिएँ कि क्या हो कार्की सर ! तपाईंले लेख लेख्न लगाउनुभएको, मैले त गन्थन गरेर टारिदिएँ कि कुन्नि ! अब के गर्नु त खै ! अहिलेलाई यस्तै भयो । अलि फुर्सद भएको बेला पछि कुनै दिन अह्राउनुभयो भने तपाईंको कज्याइलाई शिरोपर गर्ने नै छु ।


पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।