सोलुखुम्बुको हरियाली जङ्गलको घेराभित्र बसेको मेरो गाउँ,
चारपाटे र मेरा पिक हिमालको आँगनमा हाँस्छ मेरो ठाउँ।
धर्मडाँडाको काखैमा रमाएको कति प्यारो छ यो शेर्पा गाउँ,
सुन्दर, शान्त अनि मनमोहक रक्सीखर्का हो यसको नाउ।
खोला–नाला र हरियालीले सिँगारिएका लेकाली पाखा–पखेरामा,
कठिन परिश्रम, इमान र इज्जत, प्रत्येक हृदयमा बसेको छ।
लोभ, लालसा र बाहिरी दुनियाँको कोलाहलबाट निकै नै टाढा,
सकारात्मक ऊर्जाले भरिएको छ गाउँको यो पावन पाखा।
चराचुरुङ्गीको मीठो त्यो चिरिबिरीसँगै, धर्म र देखाम खोलाको धुन,
सुसेली हाल्दै घाँस-दाउरा गर्नेहरूको लोकभाका वनैभरि गुञ्जिन्छ।
मुरालीको त्यो मधुर लयसँगै प्रकृतिको काखैमा सजिएको,
हाम्रो गाउँ त साङ्गीतिक रूपमा स्वर्ग झैँ राम्रो बुनिएको छ।
विकट लेकमा एउटा र दुइटा घरहरू मात्र छन् जहाँ,
पाहुना कोही नौलो मान्छे आउँदा चल्छ अनौठो रीत यहाँ।
खोकेर आगन्तुकले आगमन जनाउँछन्, घरधनीले चियापानीले सत्कार गर्छन्।
रक्सीखर्काको यो मौलिक संस्कारले हरेक मनलाई लोभ्याउँछ।
लेकमा फलेका आलु र मकैसँग बेँसीको चामल र कोदो साट्दै,
त्यही साटासाटले छिमेकीबीचको सम्बन्ध अझ प्रगाढ बनाउँछ।
मितेरी नाता र आत्मीय भावले लेक र बेँसीको दूरी मेटिन्छ,
सुख र सन्तोषको यही पाखामा पुस्तौँदेखि जीवनगाथा लेखिन्छ।
थुलुङ दुधकोशी गाउँ पालिका -९, रक्सीखर्का, सोलुखुम्बु