लन्डिनियम सुन्दै अनौठो नाम । शीर्षक कसरी छनोटमा पर्यो ! मनमा अनेक खुल्दुली मच्चियो । पढ्दै गएपछि यसको रहस्य खुल्यो । यहाँ रोमनकालीन इतिहास अन्वेषण छ । रोमन इतिहासका केस्रा केस्रा केलाइएको छ । सन् ४३मा बेलायत आएर ३६७ वर्षसम्म शासन गर्दा लन्डिनियम नाम राखेको इतिहासको अभिलेख छ । त्यस समयमा तिस हजारमात्र जनसङ्ख्या रहेको लन्डिनियममा रोमन उपनिवेश मौलाएको इतिहासको सूचना प्रस्तुति छ । खाद्य, पेय पदार्थ र दासहरूको समेत निर्यात गरिने सन्दर्भको खुलासा गरिएको छ । त्यही लन्डिनियम शब्द वर्तमानमा बोलिने लन्डनले पुर्खाको शाख जोगाएर राखेको अभिमत छ । रोमन कालीन इतिहासको गर्भ गृहमा रहेका तात्कालीन अवस्थाको सभ्यता, संस्कृति, विकासको आधारस्तम्भ जीवन्त रहेको तथ्यलाई आधार मानेर सूचना प्रवाह गर्ने उद्देश्य राखिएको छ । त्यस बाहेक युरोपका स्थानगत भिन्नताको पहिचान, नर संहारको भयाबहता, न्याय र शान्तिका लागि गरिएका प्रयासको चर्चा छ । वैश्विक योगदान पुर्याउने ख्याति प्राप्त दार्शनिक, साहित्यकार तथा कलाकारको योगदानको ससम्मान उल्लेख गरिएको प्रसङ्ग तथ्य र जानकारीमूलक छ । प्राकृतिक उर्जा उत्पादनको नालीबेली, प्रकृति प्रियताका पक्षपोषक, विध्वंश पछि शान्तिको कामनाका प्रतीक स्तम्भ, पर्यटकीय संभावनाका बहुक्षेत्र, एकतर्फी प्रेमप्रतिको समर्पण, विश्वास अन्धविश्वास, प्राकृतिक तथा मानव निर्मित भौतिक विकाससँग जोडिएका सत्य तथ्य प्रसङ्गहरू समेटिएको ग्रहण योग्य सामग्रीको प्रस्तुति भएको दस्तावेज ओजपूर्ण रहेको प्रमाणित हुन्छ । यस लेखको उद्देश्य नियात्रा सिद्धान्तका कसीमा, कृतिभित्र पसेर विश्लेषण गर्नु रहेको छ ।
कृष्ण बजगाईं वि.सं २०२४ असार ९ गते सुनसरी जिल्लाको धरानमा जन्मेका हुन् । एमबीएको अध्ययन गरेका बजगाईँको पहिलो रचना संसार साप्ताहिक २०४१मा प्रकाशित भएको हो । सुरूमा युरोपको बेल्जियम र पछि बेलायतलाई कर्मभूमि बनाएर डायस्पोरिक जीवन गुजार्दै लेखनमा सक्रिय रहेका छन् । लन्डिनियम लगायत छ वटा नियात्रा सङ्ग्रह, लघुकथा सङ्ग्रह छ, हाइकु तीन, बालसाहित्य नौ, कमरेड भाउजू कथासङ्ग्रह एक र पछिल्ला प्रकाशनमा रहेका बाल उपन्यास र कथा गरी जम्मा छतिसवटा कृति प्रकाशन गरिसकेका छन् । दशभन्दा बढी सम्पादन, अनुसन्धानमूलक पत्रिका ‘प्रवासन’ र अनलाइन साहित्यिक पत्रिका ‘समकालीन साहित्य’को अध्यक्षको जिम्मेवारी बहन गरिरहेका छन् । पेन इन्टरनेशनलमा पनि संलग्नता रहेको छ ।
चारदशकभन्दा बढी समयदेखिको निरन्तर र सक्रिय साधनाबाट जन्मिएका गुणस्तरीय रचनाहरूले त्रि.वि., नेपाल संस्कृत, पूर्वाञ्चल र लुम्बिनी विश्वविद्यालयका स्नातक तहका पाठ्यक्रममा स्थान पाएका छन् । त्रि.वि.बाट नै ‘कृष्ण बजगाईंको व्यक्तित्व र कृतित्व’ शीर्षकमा लघु अनुसन्धानसमेत भइसकेको छ । नेपालका विद्यालयस्तरका विभिन्न कक्षामा एक्काइसवटा कथा र अमेरिकाको तह तिनका पाठ्यक्रममा पनि समावेश गरिएका छन् ।
अन्य डायस्पोरिक कविहरू साथसाथै बजगाईंका कवितामासमेत विद्यावारिधि भइसकेको छ । त्यस्तै डायस्पोरा लिटरेचर अवार्ड, साहित्य सम्मान रजत पदक, सुप्रभा साहित्य पुरस्कार बेलायतबाट पुरस्कृत भएको देखिन्छ भनें वनिता श्री व्यथित काव्य साधना, हरिप्रिया, हरिप्रसाद साहित्य सन्ध्या, नइ रजत पदक, सत्यमोहन जोशी शताब्दी पदक, देवकोटा शताब्दी स्वर्ण पदक नेपालबाट र नारायण जयन्ता लिटरेरी वेव जर्नालिजम एवार्ड, डायस्पोरा नृपध्वज पुरस्कार अमेरिकाबाट प्राप्त गरिसकेका छन् । पछिल्लो समयमा मुलुक बाहिर बसेर भएपनि नेपाली भाषा साहित्यका क्षेत्रमा अनवरत साधकका रूपमा अमूल्य योगदान पु¥याउन सक्षम देखिन्छन् ।
लघुकथा समाजका अन्तर्राष्ट्रिय संयोजक, वरिष्ठ उपाध्यक्ष, अनेसास महासचिव २००८–२०१०, अनेसास बेल्जियम च्याप्टर २००७–२०११, संस्थापक महासचिव साहित्य अनुसन्धान परिषद् सुनसरी वि.सं.२०५५–२०६० आदि संस्थामा आबद्ध भएर साहित्यिक योगदान पुर्याएका छन् ।
विवेच्य कृतिमा उल्लेख गरिएअनुसार लन्डनले प्राचीन, मध्यकालीन, आधुनिक सभ्यता, इतिहास, कला र संस्कृतिको सङ्गमका रूपमा विरासत धानेर गौरवमय इतिहासलाई अक्षुण्ण राखेको छ । नियात्रा केवल आत्मपरक ढङ्गबाट गरिने यात्रा वर्णन मात्र नभएर यात्रीद्वारा अन्तरबाह्य दृष्टिबाट गरिएकोे यात्राको अभिलेख पनि हो । यसमा साहित्यिक अभिव्यक्तिका साथ पाठकलाई सही सत्य र तथ्यपरक सूचना सम्प्रेषित गर्नु पनि रहेको छ । जुनजुन स्थानको यात्रा गरिएको छ त्यहाँको प्रस्तुतिमा निजात्मकता, कल्पनात्मकता, चित्रात्मकता का साथ अभिव्यक्ति दिन सफल देखिन्छन् ।
रोमन इतिहासको अन्वेषण, कला र संस्कृतिले पारेको प्रभाव अवर्णनीय छ । वर्तमानमा उभिएर रोमन साम्राज्यको अतीतको कायाकैरन छ ।
अर्ध गोथिक शैलीले सुसज्जित भवनको स्क्यान गरिएको प्रसङ्ग छ । लन्डनको बैभवको पूर्व कथाभित्र अनेकानेक जिज्ञासाहरू अटेसमटेस भएर बसेका छन् । त्यहाँका कला र संस्कृतिका प्राचीन, मध्य र आधुनिकताको झल्को पाइन्छ । आर्ट ग्यालरीमा सुसज्जित चित्रकलाले अद्वितीय आनन्दानुभूति दिएको बेजोडको चर्चा छ ।
नियात्राकारको गद्य भाषा, कवितामा रुपान्तरित भएको छ । सत्य, तथ्य र यथार्थको चित्रण÷वर्णन गर्दै गर्दा भावुक बनेको अवस्थाको सुन्दर अभिव्यक्ति छ । निर्जीव वस्तुलाई मानवीकरण गरिएको स्थितिको चित्रण गर्दै दुर्लभ, बहुमूल्य र मन नै लोभ्याउने चित्रकलाहरू ग्यालरीका भित्तामा मुस्कुराइ रहेका छन् भनेर मानवीय मूल्य प्रदान गरिएको छ । कलाका माध्यमबाट संस्कृतिको प्रतिबिम्बन गरिएको छ । चित्रहरूले कथा भनेको अनुभूत हुन्छ । यहाँ कविता प्रतिबिम्बित हुन्छन् । चित्रहरू अवलोकन गर्दै जाँदा उदास प्रकृतिका चित्रले मन उदास बनाएको अभिव्यक्ति दिंदा दिंदै रोमान्टिक चित्रकलाले अन्तरमन प्रफुल्लित भएर मुसुक्क मुस्कुराएको प्रसङ्ग अत्यन्त भावात्मक छ । चित्रकलाले सबै दुःख सुखका कथाको मर्म पर्गेलिएको अनुभूत हुन्छ । नियात्राकारको अभिव्यक्तिको भाषा सिनेमाको रिल बगेजस्तै बगेको छ र त्यही भाषामा अभिव्यक्त छ, कलाको गहिरो अर्थ । पेन्टिङ रङहरूको खेल रहेको सुललित प्रस्तुति छ । त्यसबाट नयाँ विचार, सन्देश र सन्दर्भ जोड्दै चित्रकारका भावनाहरूलाई गहिरिएर मात्र बुझ्न सकिन्छ भनिएको छ । प्रस्तुतिमा गतिशीलता पाइनु यसको फरक विशेषता मानिन्छ ।
बेलायतको गौरवमय इतिहासको चर्चासँगै युद्धसँग सम्बन्धित कला र संस्कृतिका अतिरिक्त प्रेम र जीवनका रङभित्र अनन्त खुसीका रङहरूसँग साक्षात्कार हुँदा मन एकोहोरिएको भनाइ छ । मनभित्रै चित्रहरूले अमिट छाप छाडेको अर्थ व्यक्त भएको छ ।
पेन्टिङभित्र ‘द क्यान्टरवरी टेल्स’ का ख्यातिप्राप्त कवि तथा दार्शनिक चौसर उभिएका छन् । उनका कृतिले नै अङ्ग्रेजी साहित्यमा आधुनिक युगको शुभारम्भ गरेको तथ्यको उल्लेखले महत्त्वपूर्ण साहित्यिक इतिहासको सूचना प्राप्त भएको छ । अर्का प्रसिद्ध कवि, समालोचक तथा नाटककार जोन ड्राइडनले चौसरलाई अङ्ग्रेजी कविताका जनक मानेको सन्दर्भको प्रस्तुतिले अङ्ग्रेजी साहित्यको इतिहास रच्ने व्यक्तित्वको एउटा सिङ्गो पाटोको उद्घाटन भएको जानकारी प्राप्त छ ।
गद्यलेखन भएपनि अभिव्यक्तिमा स्वस्फूर्तता छ । त्यही कृतिका नामबाट बेलायतमा क्यान्टरवरी भन्ने कुनै स्थानले आज पनि उच्च महत्त्व राखेको देखिन्छ । कवि चौसरको समाधिस्थलमा श्रद्धाभाव व्यक्त गरेको सन्दर्भ उल्लेख्य छ, जुन एउटा अङ्ग्रेजी कविलाई अर्को नेपाली कविले आफ्नै भाषामा श्रद्धाका फूल अर्पण गर्नु संयोग नै मान्नु पर्दछ । भौगोलिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पक्षको उद्घाटन गर्न सफल भएको स्थिति टड्कारो छ ।
आर्ट ग्यालरीमा रहेको कामुक सुन्दरीको मूर्तिले आकर्षण गरेको सुन्दर वर्णन छ । आकर्षक त्यो मूर्ति ग्रिक मिथकअनुसार टाइटन्स ओशनस र टेथिसकी छोरी क्लाइटीको रहेको पुष्टि हुन्छ । मूर्तिवत् सुन्दरीलाई सेक्स अपिल गरिरहेको अवस्थामा देखिएको चित्रण गर्दै त्यसमा वृद्ध पुरुषहरूको समेत ध्यानाकर्षण हुन सक्ने अभिव्यक्ति दिनुमा मूर्तिको आकर्षण त छँदैछ त्यसमा पनि मूर्तिकारको शिल्प पक्ष पनि त्यतिकै प्रशंसा योग्य छ भन्ने अर्थमा लिनु पर्दछ । स्रष्टाको प्रस्तुतिको शैली पनि मूर्तिकारको जतिकै लस्सादार छ । यात्रारत अन्य सुन्दरी युवतीहरू, निर्जीव तर कामुकजस्तो लाग्ने मूर्तिलाई जीवन्तरूपमा साधारणीकरण गर्दै आफ्नो रूप सौन्दर्यसँग तुलनीय रहेको प्रस्तुित सान्दभर््िाक लाग्दछ । यो तुल्यातुल्य अभिव्यक्ति हो । विपरीत लिङ्गप्रतिको आकर्षण प्राकृतिक हो र यसमा उमेर हदको सीमा लागु हुँदैन भन्ने अर्थमा बुझ्नु पर्दछ । आखिर त्यो मूर्ति नै हो तर सबैको ध्यान आकर्षण गर्न सक्ने क्षमता राख्नु भनेको कुशल कला शिल्पीको हातको सफाइ नै मान्नु पर्दछ । प्रस्तुति पनि त्यत्तिकै दमदार रहेको पुष्टि हुन्छ । यहाँको सेक्सी मूर्तिको सौन्दर्यभन्दा लेखकको वर्णन बढी सुन्दर लाग्दछ । यसैमा उनको आन्तरिक–बाह्य गतिशीलता प्रतिबिम्बन भएको छ ।
क्लाइटीलाई जलपरीका रुपमा पनि हेरिनु, उनको प्रेम सूर्य देवता हिलियोससँग रहेपनि पछि प्रेममा धोका पाएको पीडादायी सन्दर्भ छ । समाधानको बाटो अपनाएर ल्यूकोथको बाबुसँग हिलियोस मेरो प्रेमी हो भन्नुमा कारूणिक प्रसङ्ग टिठ लाग्दो छ । जहाँ क्लाइटीलाई गाडियो त्यहाँ सूर्यमुखी फूल बनेर उम्रिएको विश्वास गरिएको छ । यहाँ विश्वास–अन्धविश्वास दुबैको समिश्रण छ । सूर्यमुखी फूलरूपी क्लाइटीले आफ्नो प्रेमी सूर्यलाई हेरिरहेको चर्चा भित्र आत्मिक प्रेम प्रसङ्ग पनि पीडा छ । यस सन्दर्भलाई ग्रिक मिथकका रूपमा विश्वास गरिएको रोचक जानकारी छ । ग्रिक मिथकसँग जोडेर हिन्दू देवी देवताका प्रेम, विरह, वेदना, विछोड, सम्भोग आदि विविध पुराणसम्मत कथा उपकथाहरू रहेको चर्चामा तथ्यपरकता देखिन्छ ।
नियात्राकार बजगाईंले हिन्दू, ग्रिक र रोमन देवी देवताहरूका बिचमा पनि केही सम्बन्ध र समभाव छ कि भन्ने जिज्ञासा राखेको अभिव्यक्तिभित्र त्रिपक्षीय सांस्कृतिक अन्वेषणको अपेक्षा राखेको अर्थ द्योतन भएको छ ।
क्लाइटीका पे्रमका सम्बन्धमा प्राचीन ग्रिक, रोमन तथा अङ्ग्रेजी भाषामा पनि कविहरूले कविता सिर्जनाको सन्दर्भ छ । बेलायती कवि विलियम ब्लाकद्वारा रचित कवितात्मक अभिव्यक्तिमा क्लाइटीले प्रेममा स्थान पाउनुको रहस्योद्घाटन यसरी गरिएको छः
ओ सूर्यमुखी ! समयबाट थाकेकी
सूर्यको कदमलाई गनिबस्छे
आफ्नो चिहानबाट उठ...(पृ.९९) ।
यहाँ नियात्राभित्र कविताले स्थान पाएको प्रसङ्गभित्र विधा मिश्रण, विधा भञ्जन गरिएको अर्थमा लिइन्छ । प्रस्तुति प्रतीकात्मक छ ।
एम्पिथिएटरको इतिहासको खोजी छ । गिल्डहल आर्ट ग्यालरी मुनि रोमन एम्पिथिएटर फेला परेको छ । यसलाई मनोरञ्जन गर्ने र कार्यक्रम आयोजना स्थलका रूपमा हेरिएको छ । मनोरञ्जनात्मक कार्यक्रम गरिने अपराध पूर्ण काम गर्नेलाई सार्वजनिक रूपमा मृत्यु दण्ड दिने स्थलका रूपमा प्रयोग गरिन्थ्यो भनिएको छ । भय र आतङ्कको क्रीडास्थल रहेछ । यसमा इतिहासको खोजीतर्फ चासो छ ।
सन् ७०मा निर्माण गरिएको थिएटरको संरचनाले संसारलाई खानेपानी आपूर्ततिको व्यवस्था, सडक, ढलनिकास र सार्वजनिक स्नानगृह निर्माणको सूचना प्राप्ति छ । यस दृष्टिले रोमनहरू सभ्यता प्रारम्भ कर्ता गुरु मानिन्छन् । यसलाई वस्तु तथ्यमा उभिएर दिइने अभिव्यक्ति भित्र राखिन्छ । वर्णन गर्दै जाँदा पाठकलाई तत् तत् ठाउँमा नै पु¥याएका छन् । दृश्यात्मक चित्रणले सबै परिदृश्य प्रतिबिम्बत भएका छन् । पुरातात्विक अन्वेषणको अपेक्षा छ ।
रोमनहरू अनौठो खेलमा रूचि राख्दछन् भन्ने कुरा जनावर र मानिसका बिचमा लडाइँ गराइएको सन्दर्भले पुष्टि गर्दछ । यसले मानवता विहीन क्रूर व्यवहार र त्यस समयको झल्को देखाउँछ । मानिस र पशुका बिचको युद्ध हुँदा बगेको रगत सोस्ने बालुुवालाई मानवीकरण गरिएको वर्णन छ ।
लन्डिनियमको रहस्य, रोमन सभ्यताले पारेको प्रभावको चर्चा सामयिक लाग्दछन् । पेन्टिङ र आर्टग्यालरीको महत्त्व उच्च रहेको छ । क्लाइटीको आत्मिक प्रेमको अमरत्वको प्रसङ्ग उदाहरणीय मान्नु पर्दछ । अनेकानेक सुन्दर र क्रूरप्रसङ्ग तथा गुप्त रहस्यको अन्वेषण गरिएको छ । शासकहरूले आफूले मनोरञ्जन लिन र अरूलाई मनोरञ्जन दिन पशुसँग युद्ध गर्नु पर्ने बाध्यात्मक स्थितिको चित्रण विदीर्णपूर्ण रहेको उद्घाटित छ । निरीह भएर जीवन भोग्नु र मृत्यु वरण गर्नु यहाँका उज्याला र अँध्यारा दुबै पाटा जोड घटाउकै रूपमा देखिन्छन् । यहाँ मानवीय पक्षको ह्रास र उदण्ड दानवी प्रवृत्ति मौलाउँदो अवस्थामा रहेको प्रमाणित हुन्छ ।
‘पानी माथि तैरिरहेकाशब्द’ शीर्षकभित्र सर्वप्रथमतः शब्द ब्रह्मको प्रसङ्ग छ । शब्दलाई ईश्वरका रूपमा स्वीकार गरिएको छ । संसारको गतिशीलता शब्दको प्रेरणाबाट सम्भव भएको सन्दर्भभित्र शब्दाद्वैतवादले व्याख्या गरेको अभिव्यक्ति उच्च स्तरीय लाग्दछ । शब्दको नालिबेली केलाइएको छ, कहिले रूखका बोक्र्रामा त कहिले ढुङ्गामा कुँदिएर7 खोपिएर अभिलेख बनेको स्वीकारोक्ति छ । विगतको सन्दर्भ, वर्तमानमा मोबाइल र कम्प्युटरमा रूपान्तरित भएका शब्दहरू भविष्यमा कसरी र कुन कुन रूपमा शब्दगुच्छा बनेर अस्तित्व कायम गर्न सक्लान् भन्ने सुन्दर अभिव्यक्ति छ ।
जीवन यात्रामा शरीरभन्दा चाँडो मन दौडेको छ । मनले बुद्धिलाई भन्छ तँ चिता म पु¥याउँछु’ को रिलेरेसमा शब्द दौडेका छन् सुपरसोनिक जेटको उडाइभन्दा पनि बेगमय तरिकाले । एउटा कुनाको भूगोल, इतिहास, भौतिक विकास, अर्को कुनामा बसिबसी सुन्न र देख्न पाइन्छ, शब्दका माध्यमले कलमबाट खेलाइएर । सुन्दर वर्णन छ, लन्डनको किङ्सक्रस अन्डर ग्राउन्ड ट्रेन स्टेशनको । भीडभाडको चर्चा छ । जहाँ मानिसहरू कसैले कसैलाई हेर्ने र बोल्ने फुर्सद पाउँदैनन् । मसिनो ढङ्गबाट टुरिस्ट गाइडले आफ्ना ग्राहकहरूलाई बताएजस्तै गरी स्टेशनबाट कुन कुन मुलुक जाने हो त्यहाँको एटलस अगाडि सारिदिएका छन् । फ्रान्स र बेलायतको पचास किलो मिटरको समुद्र मुनिको सुरूङ मार्गले तत् तत् स्थानमा पु¥याउने मार्ग निर्देश गरेका छन् । यहाँ तथ्यपरकतासँगै गतिशीलता हाराहारीमा देखिन्छन् । नियात्रा पढ्दै जाँदा जिपिएस जडित गुगल म्याप देखाइएको अनुभूत गर्न सकिन्छ ।
भीडमा मानिसका शारीरिक मानसिक स्थितिको पर्यावलोकन गरिएको छ । आफू र भीडका मान्छेको तुलना छ । उनीहरूका भित्रको पीडा खोजिएको छ । दुःख पर्गेलिएको छ । मनमा अन्तरनिहित चिन्ताका बारेमा चिन्तन छ । थोरै शब्दमा धेरै भन्न खोजिएको छ । शब्दको बचत गरिएको छ । बाँकी शब्दको प्रयोग कुनै स्थानको इतिहास कोट्याउन, भौतिक विकासको बयान गर्न सञ्चित छन् । कुनैमा सांस्कृतिक र आप्रवासीका अन्तर पीडा केलाउन र प्रतिबिम्ब उतार्न ।
मान्छेको त्यही भीडमा आफूले आफैलाई पीडाको पोको ठानेका छन् स्रष्टाले । अभिव्यक्ति खुलस्त छ । आप्रवासी हुनुको पीडा अन्तरमनमा कति गडेर बसेको छ भन्नेकुरा लामालामा वाक्यमा व्याख्या गरिरहनु उचित ठान्दैनन् । भीडमा कथा र व्यथाका पत्रहरू केलाउन नै नपर्ने गरी आफ्नै काव्यात्मक प्रस्तुतिलाई स्थान दिन थाल्दछन् सन्दर्भ मिलाएर । कवितामा डायस्पोरिक जीवन भोगाइलाई प्रतिबिम्बन गरेका छन् । कविताले विषय भङ्ग गरेर विधा उलङ्घन गरेको अर्थ द्योतन छ । यहाँ नियात्राकार होइन कवि भन्छन् ः
थेम्स नदीको पानीमा
जब ठोकिन्छ फुर्सदको एक टुक्रा समय
तैरिन्छन् समयका आँखाहरू पानीमा
उम्रिन्छन् आँखामा सपनाहरू हरेक पल
परदेशमा समयको पल भन्नु
घरदेशको एक टुक्रा सपना पनि हो
त्यही सपनामा जोडिएका हुन्छन्
बा, आमा, श्रीमती र छोराछोरीका खुसीहरू (पृ.८) ।
कहाँ नियात्राको कायाकैरन, कहाँ डायस्पोरिक चिन्तन ! कहाँ गद्यात्मक प्रस्तुति कहाँ काव्यात्मक अभिव्यक्ति ! जोड घटाउ जीवनजस्तै जीवनको तारतम्य । रहस्मय जीवनको उतार चढावजस्तै पानी र शब्दका बिचको तादात्मय सम्बन्धको खोजी छ । प्रस्तुतिमा निजात्मकता प्रस्टै छ । परम्परागत र आधुनिक गगनचुम्बी भवनहरूबाट बेलायतको विगत र वर्तमानको ऐना देखाइएको छ । आन्तरिकता त के छ के, भनिएको छैन तर वर्तमानका पोटिला अनुहार कुम जोडेर देखापरेका छन् । सडक सकस मानेर गुडाइरहेछ असङ्ख्य यातायातका साधनहरू र नाक बन्द गर्नु पर्ने अत्तरका बासना छरेर हिंडिरहेका छन् स्वछन्द युवतीहरू स्वतन्त्रताको उच्चतम् उपयोग गरेर । उपभोक्तावादी जीवन जिइरहेका छन् अधुनातन संसारमा । लेखकभित्रको लुकेको कवि मन यसरी प्रस्तुत भएको छ, सौन्दर्य प्रशाधन गर्दै मानवीकरणको राम्रो उदाहरण यस्तो छ यहाँः ... गुनगुन सुनिरहेको छ सडकले (पृ.९) । कहाँ सुन्छ त सडकले ? सडक त निर्जीव होइन ? प्रश्न उठ्न र उठाउन सकिन्छ प्रशस्तै तर स्रष्टाको मन न हो कता हो कता बहकिन्छ र भताभुङ्ग बनाइदिएको छ जीवनका योजनाहरू ।
सडक र पेटी सँगसँगै पुल माथि चढेको रहस्योद्घाटन छ । नहरमा पुर्याएको दृष्टि होइन खसेका आँखा, बगिरहेको शान्त नहर र तैरिरहेका डुङ्गाहरू र पानी माथि तैरिरहेका शब्दहरूको खोजी यात्रीको । शब्दको प्रतिबिम्ब उतार्न सिपालु छन् लेखक । प्रकृतिसँगको तादात्म्य सम्बन्ध छ, हाँसका बथानको । शायद मानव चेतना भएका भए बताउँदा हुन् उनीहरूले पनि, देख्यौ ..! हामी पौडिरहेको !
नहरका पानीमा अग्ला अग्ला र सुन्दर प्रतिबिम्ब । तर अवाक छन् तिनीहरू । शायद हुन सक्छ सूर्यको प्रतिछायामा झिलिमिली देखिदो हो पानी र सुनिन सक्दो हो उसले गुनगुनाउँदै गरेको बैंसको गीत ।
वाह ! कति सुन्दर प्रस्तुति । कुनै स्वच्छन्दतावादी भाव धाराका ख्यातिप्राप्त कविका कलमले सिर्जना गरेका सुकोमल काव्यात्मक बान्कीहरूभन्दा कम लाग्दैनन् शब्दका संयोजन ।
कहीं सडक, कही नहर र नहरभित्र बगिरहेको पानी गुनगुनाइरहेको देख्छन् र सुन्छन् । त्यत्रो विशाल सहरभित्रको नहरको पानीको स्वच्छताको बयान गर्दै जाँदा नेपाल पुगेको प्रसङ्ग उठेको छ । आँखा अगाडि आइपुगेको छ, पवित्र बागमती । मनभित्र पवित्र छ तर त्यहाँको फोहोरको बयान फरक ढङ्गको लाग्दछ । उनले दृश्य चित्रहरू देखिएको उल्लेख गरेका छन्, जुन सत्यतामा आधारित छन् । स्वधर्तीप्रति अगाध माया प्रदर्शित भएको नजानिदो ढङ्गबाट गुपचुप गुपचुपप्रस्तुति छ । यसलाई पश्चकालिकताको प्रयोगका सन्दर्भमा लिइन्छ । प्रदूषित भएको छ वातावरण भन्दैनन् बरू आँखा चिल्चिल्याएको प्रसङ्ग मात्र छ । अभिव्यक्ति घुमाउरो छ । आँखा चिल्चिल्याउने त अन्य कारण पनि हुनसक्छ नि ! तर नेपालको वातावरणीय दुर्गतितर्फ शासकका आँखा चिल्च्ल्यिाएकै छन् त ? व्यङ्ग्यात्मक अभिव्यक्ति छ यहाँ, पानीको निर्मलीकरणमा किन चेतना नआएको ?
वर्णन गर्दै जाँदा जन्मभूमिले आकर्षित गरेको छ र सजगता अपनाइएको छ सरसफाइको । इच्छित भूमिमा बसेर पनि स्वधर्तीकै ताजा सम्झना छ, ‘फूलको आँखामा फूलै संसार’ । आफ्नो भनेपछि सात समुद्रपारिबाट एकै झल्कोमा जन्मेको ठाउँमै पुगेजस्तो सुन्दर वर्णन । मातृभूमिप्रतिको प्रेम र तुलनीय पक्ष बलियो देखिन्छ । ऐनाजस्तै नहरको पानीको बयानमा उपमा अलङ्कार प्रयोग छ । सुनसान वातावरण छ । सडक र नहरको तुलना छ, अपूर्वताका साथ । नहरको पानी बगेजस्तै लेखकको समय बगेको पत्तै भएनछ । कस्तो एकाग्रता ! हुन सक्छ त्यही ध्यान मग्न सोचबाट नै ‘पानी माथि तैरिरहेको शब्द’ (वर्ड अन द वाटर) को रहस्य खोतलिएको छ । पानीले निरन्तरता पाएको छ, आफ्नै पारामा डुङ्गा अडिग छ । तर एउटा आश्चर्य लाग्दो कुरा के छ भनें त्यहीं रोकिएको डुङ्गामा किताव पसल तैरिरहेको छ, लेखक भन्छन्ः आफ्नै लयमा बगिरहेको छ, त्यही डुङ्गाभित्र अनौठो किताव पसल, पानी माथि तैरिरहेको छ । उडिरहेका छन्, हावामा कितावका सुगन्धहरू (पृ.१०) । यहाँ मानवीकरण गरिएको छ । पठन संस्कृतिको उन्नत विकास भएको अवस्थाको चित्रण छ । किताव पसलका लागि कुनै भव्य र सुन्दर आधुनिक भवनको आवश्यकता नहुने अभिव्यक्ति छ । नेपाली टुक्काको सुन्दर प्रयोग छ ‘पानी माथिको ओभानो ।’ वाच्यार्थमा भन्दा बढी लक्ष्यार्थका लागि प्रयोगमा आउने भाषिक एकाइ नै टुक्का हो । यसले अभिव्यक्ति पक्षलाई विशिष्ट बनाउने पद समूहात्मक भाषिक अवयवका रूपमा आफूलाई परिचित गराएको छ । भाषाका लेख्य र कथ्य दुबै रूपमा उपयोगमा आउँछ । टुक्कामा प्रयोग हुने अलग अलग पदावलीलाई संयुक्त रूपमा प्रयोग गर्दा एउटा सुमधुर तथा विशेष अर्थ दिन्छ भनें छुट्याएर अर्थ खोज्दा लक्ष्यार्थको अर्थ द्योतन हुन सक्दैन । पानीको पर्यायवाची शब्द जल र नीर पनि हो तर यहाँ जलमाथि ओभानो र नीर माथि ओभानो भन्यौं भनें टुक्काका रूपमा लिन सकिदैन । कुनै खास शब्दको निकटवर्ती सम्बन्धबाट मात्र टुक्का बन्ने प्रक्रिया हुन्छ । खास खास शब्दको अन्वयबाट भाषिक अभिव्यक्तिलाई विशिष्टता प्रदान गर्ने पदावली विशेषका रूपमा उपयोग गर्दा साहित्यिक सिर्जनाले उत्कृष्टता प्राप्त गर्दछ । साँच्चै डुङ्गा माथिको पुस्तक पसलले मानिसको स्वच्छताको पहिचान गराएको छ ।
यहाँ एउटा सूचना प्राप्त छ, सुन्न र बस्न सकिने आवास सुबिधा भएका तैरिरहने हाउसबोटहरूमा तिस हजार मानिसहरू बस्छन् भनिएको छ । तर एउटैमा होइन । वातावरण शान्त छ । मथिङ्गल हल्लाएको छ, डुङ्गाभित्रका पुस्तकका चाङले । लेखकको स्वधर्ती स्मरण प्रतिबिम्बित छ । यहाँ बुद्धको मूर्ति देखेपछि र बुद्ध भगवान र आफ्नो मातृभूमि एउटै भएकाले गौरवको अनुभूति गरिएको छ । बुद्धप्रति श्रद्धाभाव प्रकट गर्दा मन नै शान्त भएको अभिव्यक्ति सुन्दर छ । व्यक्ति जो जहाँ बसेपनि आफ्नो भूमि, आफ्नो मौलिक दर्शन भनेंपछि कति हुरूक्क हुन्छ भन्ने टड्कारो उदाहरण पाइन्छ । अर्को पक्ष पनि दर्बिलो र गर्बिलो छ, त्यो हो क्रिश्चियन मुलुकमा बुद्धका अनुयायी विस्तारित रूपमा रहँदा मन नै फुलेल हुन्छ । घर र अफिसमा बुद्धका मूर्ति सजाएर राखेको देख्दा सबैले शान्तिको कामना गरेको प्रस्ट रूपमा अनुभूत गर्न सकिन्छ । यसै सन्दर्भमा ‘पानीमाथि तैरिरहेको शब्द’(डुङ्गा)ले पछिल्लो समयमा स्थायित्वको प्रसङ्ग आएपनि यो जतिबेला पनि ढलपल हुन सक्ने वा नासिन सक्ने अर्थमा पनि बुझ्न सकिन्छ ।
म्याक्समुलरको ‘द धम्मपाद’ पुस्तक देख्दा आनन्दित बनाएको सन्दर्भ छ । आफ्नो भाषाप्रतिको अगाध स्नेह प्रकटित छ । नेपाली लेखकको अङ्ग्रेजीमा अनुवाद गरिएका कुनै पुस्तक पाइन्छन् कि भन्ने आशा पनि छ । यहाँ नेपाली भाषाप्रतिको अगाध प्रेम रहेको प्रसङ्गमा बाह्य संसारमा जति र जुनरूपमा सेवा, सुविधा, लोकप्रियता प्राप्त गरेपनि आफ्नो जन्मभूमिलाई कहिल्यै विर्सन सक्दैन भन्ने अर्थमा लिनुपर्दछ । अर्को एउटा रोचक प्रसङ्ग पनि छ, त्यो हो नोआ हरारीको ‘नेक्सस’ किताव । त्यसमा राम्रो संवाद प्रस्तुत गरिएको छ । बेलायतीसँग गरिएको संवादले विधा मिश्रण7विधा भञ्जन अर्को उदाहरण प्रस्तुत गरेको छ । कितावप्रतिको रूचि र लगावसम्बन्धमा गहिरो अभिव्यक्ति छ ।
पुस्तक किन्न पुग्ने पैसा यातायातमा खर्च हुँदा पनि रूचि त्याग्न नसकेको सन्दर्भले पठन संस्कृति जब्बर भएर बसेको अनुभूत हुन्छ । पुस्तक पसलको इतिहासको खोजी छ । रूचि मिलेपछि मन पनि मिल्छ भन्ने उदाहरण उच्च शिक्षा प्राप्त गरेका पुस्तक पसल सञ्चालकको पहिचानबाट खुलेको छ । डुङ्गाको स्थिरता नहुँदा ग्राहक घटेको उल्लेख छ । पछि पुस्तक प्रेमी र शुभ चिन्तकहरूको सहयोगबाट तैरिरहने डुङ्गाले स्थायी बासस्थान प्राप्त गरेको सूचना छ ।
कोभिडको समयमा पनि पुस्तक पसलको लोकप्रियता वृद्धि भएको, पुस्तक प्रेमीहरूसँग नियमित सम्पर्कमा रहेको पठन अभ्यासलाई पृथक् ढङ्गले व्यवस्थापन गरिएको अभिव्यक्ति छ । पुस्तक पसलको वरिपरिको वातावरण शान्त र सौन्दर्यमय छ । नहरमा रहेको डुङ्गा र पुस्तक पसलको कुरा मात्र होइन यसको प्रभावले यहाँ हुने बहुआयामिक कार्यबाट यस क्षेत्रकै महत्त्व बढेको प्रस्तुति छ । लेखकका मनले, मस्तिष्कले र आँखाले यात्रा गरिरहेको उल्लेख रूचिपूर्ण छ । एउटा पाठक पुस्तक पसलदेखि टाढा रहन नसकेको प्रस्तुति छ । निर्दिष्ट विषयमा केन्द्रित रहेर दिइएको सूचना लाभप्रद छ ।
‘पशुपतिको दर्शन सिद्राको व्यापार’भन्ने नेपाली लोकोक्ति मिल्ने सन्दर्भ पनि त्यतिकै मननीय छ । यो पक्कै पनि कितावको बासना लन्डनको अध्ययनशील जीवन पद्धति इङ्गित छ । इवी उड्सको ‘द लस्ट बुकसप’ शीर्षकको उपन्यास र तैरिरहेको डुङ्गाले बासस्थानको स्थायित्व नपाउने परिस्थिति झेल्दै भएपनि आवासीय अनुमती प्राप्तिपछिको डुङ्गाभित्रकै किताव दुकानमा नै औपन्यासिक कृति खरिदको सन्दर्भ अपत्यारिलो संयोगका रूपमा प्रतिबिम्बित छ ।
‘पोएट्री फार्मेसी’मा भूमिगत रेल यात्राको रोचकता र यात्राकै क्रममा उत्प्रेरित गराउने कविता पठनको मिठो चर्चा छ । फेसन प्रेमी नर नारी, अर्ध नग्न वैंसालु युवतीहरू र उमेर ढल्किएका महिलाहरूसमेत फेसन कै बैशाखी टेकेर उभिएको प्रसङ्गलाई सुन्दर प्रस्तुति मान्नु पर्दछ । अभिव्यक्ति दिने आफ्नै शैली छ लेखकको । युवतीप्रतिको मोह र घाइते बनाएको स्वीकारोक्ति भिन्न लाग्दछ । मन मनका कुरा गरिएका छन् । एक किसिमको मिठो वार्तालाप । औषधीका रूपमा बिक्री गरिने कविताको चर्चा कम्ती रोचक छैन । यहाँ कविताको शक्तिको कुरा छ । समाज प्रतिबिम्बित भएको प्रसङ्ग छ ।
कवितालाई अनेक किसिमले उपयोग गर्न सकिने अभिव्यक्ति राम्रो छ । मानसिक रोगग्रस्त मानवका लागि अचुक औषधी मानिएको छ, कवितालाई । वैदिक साहित्यमा कविताको उच्च महत्त्व रहेको दर्शाइएको छ । इस्कोनको कार्य र क्रिश्चियनहरू पनि विस्तारै हिन्दू र बौद्ध धर्मप्रति आकर्षण वृद्धि हुन थालेको प्रसङ्गभित्र धार्मिक आस्था दिनप्रति दिन बढ्दो रूपमा रहेको अर्थमा बुझ्नु पर्ने हुन्छ ।
बेलायतका अस्पतालमा औषधी उपचारका अतिरिक्त कविता श्रवण गराएर स्वस्थ्य बनाउन सहयोग पु¥याएको रोचक वर्णन छ । ‘पोयम इन द वेटिङ रूम’ जस्ता संस्थाहरू सक्रिय रहेको, अक्सफोर्ड विश्वविद्यालयले ‘पोयट्री अफ मेडिसिन’ नामको वक्र्ससप सञ्चालन गरेर औषधी विज्ञान र उपचार विधिमा प्रयोग गरेको उल्लेख गराइले कहाँ के के भइरहेको छ र त्यसको सकारात्मक पक्षको सूचना दिइएको छ । कवितालाई दर्शन, ज्ञानको ढुकुटी, जीवनको उज्यालो र औषधीका रूपमा व्याख्या गरिएको छ । खासमा औषधी विज्ञानका अनेक उपायहरू हुँदाहुँदै केवल कविता वाचन र श्रवणबाट उपचार गरिने विधि अनौठो नै मान्नु पर्दछ । यसबाट बुझिने कुरा भनेको मानसिक उपचार नै अचुक हुने अभिव्यक्ति छ । त्यसैले कवितालाई औषधीका रूपमा र एक्लै हुँदा साथीका रूपमा स्वीकारिएको छ ।
‘पोएट्री फार्मेसी’ नाम मात्र होइन, यो एउटा औषधी उपचारको ब्राण्ड नै हो । यहाँको राम्रो पक्ष भनेको आगन्तुक आउँदा के भएर आउनु भएको ? औषधी लिनु हुन्छ कि ? भनेर सोधनी हुनु र संवादात्मक शैलीमा रोग निको पार्ने क्याप्सुलको सन्दर्भ आनौठो र रोचक नै मान्नु पर्दछ । त्यसमा पनि रोचक संवाद छ । उपमा अलङ्कारको प्रयोग भएको वाक्य ‘फूलजस्तै म पनि मुस्कुराएँ’ (पृ.२१) । यो अभिव्यक्ति तथ्यपरक, अत्यन्त सान्दर्भिक र सुन्दर लाग्दछ ।
लन्डनको अक्सफोर्ड स्ट्रिटमा हालसालैदेखि सञ्चालन हुन थालेको औषधी पसलजस्तो ‘पोएट्री फार्मेसी’मा करूणा, आत्मविश्वास साहस, थकान, खुसी, प्रेरणा, स्फूर्ती, प्रेमआदि मनोबल बढाउनेदेखि लिएर अनेक मानसिक समस्याको उपचारमा सहयोगी सिद्ध हुने कविताका क्याप्सुल बेचिन्छन् । लेखककै टाउको चकराउने बिषका क्याप्सुल तथा आत्महत्या गर्ने मोडमा पुगेको व्यक्तिलाई समेत जीवन जिउनका लागि उर्जा दिने क्षमता राख्ने पनि कविता छन् । त्यसै सन्दर्भमा बेलायती कवि स्वाइन बर्नको कविताले बाँच्ने प्रेरणा दिएको प्रसङ्ग छ । औषधीरूपी कविता यस्तो हुनु पर्छ भनिएको छः
म चाहन्छु, यस धरतीमा तिम्रो शरीर फलामजस्तै होस,
कुनै साँपबाहेक अरू कसैले तिमीलाई मीठो नसम्झिउन् (२४) ।
सर्पले घेरेको प्रसङ्ग मायाले हो भन्ने अर्थमा लिइएको छ । मृत्यु वरण गर्न तयार भएको मानिस अस्तित्वको रक्षा कवच भिर्न तयार हुने औषधी नै कविता रहेको चर्चा छ । यहाँ डेनिस लोबर्टोब, उड्रियन रिचआदिका जीवनमा उर्जा दिने कविताको चर्चा छ ।
‘फ्लेसीबो इफेक्ट’ यो एउटा उपचारको अचुक विधि हो, जहाँ साहित्य छ र कुनै पनि एलियोपेथिक, आयुर्वेदिक, होमियोपेथिक वा अन्य झारफुकले निको हुँदैन । हुन त केवल कविताका क्याप्सुल विरामीलाई औषधी दिएको भ्रममा पारेर स्वस्थ्य बनाइन्छ । कवितामा प्रयुक्त शब्दले आनन्द दिने हुँदा पनि नसोचेको शान्ति प्राप्त हुने विश्वास छ । मनमा शान्ति छ भनें रोग निको हुन्छ । यो कुनै खास औषधी नभए पनि औषधीको काम गर्छ ।
कविताका सन्दर्भमा नियात्राकारको विचार आएको छः कविता त साधना हो । बोक्रे कविताका सम्बन्धमा चोटिलो व्यङ्ग्य पनि छ । कहाँ नियात्राको प्रसङ्ग कहाँ पोएट्री फार्मेसी, कहाँ गणेश प्रवृत्ति, यो चर्चा योग्य छ । कविता सिर्जनामा देखिएको बेथिति कोट्याइएको छ । पुरुषलाई बलात्कारी र अपराधी करार गरिएको सन्दर्भ होस् वा नारीका अङ्ग प्रत्यङ्गको वर्णन गरी आत्मरतिमा रमाउनेहरूप्रति व्यङ्ग्य छ । नियात्राकार मन मनमा वार्तालाप गर्छन्,मनका कुरा पोख्छन् र भन्छन् कवितालाई के भनेर बिक्री गर्लान् ? अनेक प्रश्नहरू अटेसमटेस भएर उर्लिएका छन् । कविताको शक्तिको कुरा गर्दै आफैंभित्रै कतै हराएजस्तो तर त्यसैभित्र आफूले आफैंलाई भेटेजस्तो र आफू एक्लो नभएको अनुभूति हुने अभिव्यक्ति दिन्छन् । यहाँ प्रस्तुति सुन्दर छ र व्यक्त गर्ने तरिका पनि भिन्न छ । त्यसैमा उनी पृथक् देखिन्छन् । नियात्राको आत्मासँग गाँसिएको निजत्वअनुभूति, आत्मस्वीकृति, सूचना प्रवाह आदिको समुचित समन्वयले नियात्राको ओज बढेको छ ।
कविता उत्पे्ररणा जागृत गराउने, एक्लो हुँदा साथीजस्तो बनून्, मानसिक पीडाबाट मुक्त हुने हुन् भन्ने भनाइ उपयुक्त लाग्दछ । आफ्ना शरीरका अङ्ग जुन सुकै हुन उत्तिकै मन पर्छन् र उत्तिकै महत्त्व राख्ने हुन्छन् । एउटाको रिक्तता अर्कोले पूरा गर्दैनन् । यी नियात्रा पनि त्यही बान्कीका छन् ।
यहाँ सन्दर्भ कविता फार्मेसीको छ अनि कविता रचनाको प्रसङ्ग जोडिएर आएको छ । कविता सम्बन्धमा यस्तो शुभेक्षा राखिएको छः औषधीजस्ता कविता लेख्ने कवि जन्मिऊन भन्ने धारणा रहेको छ । कविताका बारेमा आआफ्ना दृष्टिकोण छन् । कविता कला होइन औषधी हो । कविताले मानसिक पीडालाई समन गर्छन् । यसले शान्ति, शक्ति र उर्जा दिन्छ । कुरै कुरामा कवि नेपाल पुग्छन् । नेपाली कविका केही अंश फार्मेसीमा पाइएलान् कि भन्ने मनमा खुलदुली चलेको प्रसङ्ग सान्दर्भिक छ । उनी भित्र कहीं कतै स्वधर्ती प्रेम पल्लवित भएको छ । धन्यवाद छ, लेखकलाई मातृभूमिको स्मरण पल पलमा आइरहेको सन्दर्भले देशप्रेमको भावना अगाध छ भन्ने पुष्टि हुन्छ ।
‘लिटिल भेनिसमा रोमाण्टिक मन’को प्रसङ्गको चर्चा गर्दा इटलीको भेनिस हो कि ? भन्ने लाग्दछ तर होइन रहेछ । यो त लन्डन शहरभित्रको भेनिस पो रहेछ । लन्डन शहरको एक किनारबाट बग्ने रिजेन्ट नहर ताल, समुद्र र नदीसँग आबद्ध छ । रिजेन्ट नहर र ग्राण्ड युनियन नहरको संयुक्त रूप रहेको छ लिटिल भेनिस । यो तलाउ ठूलो छ र यसलाई ब्राउनिङ पुल भनिदो रहेछ । यसले अलिकति इतिहास बोकेको सूचना छ । बेलायती कवि रोबर्ट ब्राउनिङको स्मरणलाई ताजा बनाइ राख्न तालको नै नाम राखिएको हुनु पर्छ भन्ने अड्कल गरिएको छ । उनै कवि ब्राउनिङले यस तालको नाम ‘लिटिल भेनिस’ राख्न सल्लाह दिएको तथा बेलायती कवि लर्ड बायरनले पनि सोही नाम सदर गरेको तर्क रहेको छ । आखिर जे भए पनि इटलीको भेनिसको सम्झनालाई कायम राख्ने लिटिल भेनिस आत्मरतिमा रमाएको सूचनाप्रद वर्णन छ । जे होस मानिस अल्मलयाउने काममा व्यस्त छ, आकर्षक लिटिल भेनिस । पुरानो कथा व्यथा फरक छ । पछि यसले आफ्नो रूप रङ नै फेरेछ । चर्चामा आएपछि धनीमानीहरू बस्ने क्षेत्रका रूपमा चिनिन थालेको चर्चा छ । तर नहरको पानीमा तैरिरहेका हाउस बोटमा चाँहि गरीबहरूले मात्र बासस्थान बनाएका रहेछन् ।
यी हाउस बोटहरू व्यापार व्यवसायका लागि उपयोगमा ल्याइएको भएपनि पछि प्रविधिको विकास हुन थालेपछि वाटरबसका रूपमा चोला फेरेर रुपान्तरित भएको सूचना प्राप्त छ । यहाँ क्यामडन शहरको स्मृति बिम्ब छ, लेखकमा । पुरानो स्मरणलाई ताजा स्मृतिमा ल्याइएको छ । कवि तुलसी दिवस र सन्ध्या जोशीसँगको भेटघाट, साहित्यिक चर्चा परिचर्चा स्मृति बिम्बमा ताजै रहेको उल्लेखमा स्ांस्मरणले स्थान पाएको सङ्केत छ ।
समय बलवान छ, त्यही कारणले हुनुपर्छ वाटरबसमा यात्रा गर्ने अवसर नजुटेकामा थक्थकी छ । यहाँको सौन्दर्यपूर्ण दृश्यावली मनमोहक र प्रेरणदायक स्थान रहेको वर्णन छ । यस सुन्दर परिवेशमा कलम चलाउनेहरूलाई उत्प्रेरित गरेको प्रसङ्ग लाभलाग्दो रहेको देखिन्छ । यो ठाउँ लेखक, कलाकार र फोटोग्राफरहरूका लागि सिर्जन भूमिका रूपमा चित्रित छ । द्वितीय विश्व युद्धको स्मरण छ ।
लिटिल भेनिसमा नै ‘पानीमाथि तैरिरहेको शब्द’ जन्मिएको सूचना प्राप्त छ । ऐतिहासिक तथ्यको खरो साक्षी बसिरहेको सूचना प्रवाह गर्दछ । व्यवसायिक हाउस बोटहरू, क्याफे र रेष्टुरेन्टमा रुपान्तरित छन् । यहाँ पुनः पूर्वस्मृतिमा आएको छ, रेडियो नेपाल । त्यहाँको रेडियो स्टेशन, अडियो पुस्तक आदिको रेकर्ड गर्ने स्टुडियोको स्मरण भएको छ । भेनिसको प्राकृतिक सौन्दर्य र तैरिरहेको कक्षा कोठाको मनमोहक वर्णन छ । लिटिल भेनिस कवेल जलयात्रा मार्ग मात्र नभएर एउटा इतिहासको दस्तावेज बनेको छ । पर्यटकहरूको रुचिको गन्तब्य स्थल बनेको छ । कवि कलाकार तथा सूचना र सञ्चारसँग सम्बन्धित प्रशिक्षणको केन्द्र नै बनेको छ । वास्तवमा नाम लिटिल भेनिस भनिए पनि यहाँको काम र वर्णनले बृहद् भन्न सकिने यथेष्ट तथ्य प्रमाण रहेकाले मन पनि रोमान्टिक बनेको स्वीकारोक्ति छ ।
माक्र्सवादी सिद्धान्तमा केन्द्रित रहेर किङ्स कलेज लन्डनबाट विद्यावारिधि गरेका डा.हेइको नियात्राकारका टुर गाइड बनेका छन्, ‘शरणार्थी कार्ल माक्र्सका पाइला पछ्याउँदा’मा । ‘न्यूयोर्क डेली ट्रिव्युन’ पत्रिकामा माक्र्सका वैचारिक लेखहरू प्रकाशित हुने भएकाले विश्वव्यापी रुपमा माक्र्सलाई परिचित बनाएको सूचना प्राप्त छ । त्यस समयमा एकातिर बाइबल र अर्कोतिर माक्र्सका फोटाहरूले चर्चा पाएको प्रसङ्ग छ । ती दुईका बिच तुलना छ । मार्क्सका विचारमा धर्म भनेको अफिम हो भनिएको छ ।
मार्क्सलाई देवत्वकरण गरिएको सन्दर्भ मननीय लाग्दछ । मार्क्सको जन्म दिनमा स्मृति दिवस मनाउँदै उनको फोटो अगाडि उभिएर हातका मुठी कसेर चर्को भाषण गर्ने तर वर्षमा एकदिन आफ्ना आमा बाबुको श्राद्ध गर्न रूचि नराख्ने ढोंगी प्रवृत्तिप्रति ढाड खुस्किउञ्जेल व्यङ्ग्य प्रहार गरिएको छ । मूर्तिपूजाको विरोध गर्नेहद्वारा नै संसारभर नै बुद्धका मूर्तिहरू राखिएकामा विरोधाभाषयुक्त व्यवहारको घुमाउरो ढङ्गबाट विरोधको अभिव्यक्ति छ ।
जर्मनी, फ्रान्स र बेल्जियमबाट कार्ल माक्र्स निकालिएको जानकारी दिइएको छ । त्यसको कारण थियो, समाजवादी आन्दोलनमा संलग्न हुनु । अन्त्यमा बेलायत नै उनको आश्रय स्थल बन्यो । शरणार्थीका रूपमा जीवनमा नपाउनु दुःख पाएर सम्पूर्ण कुरा सिद्धिएपछि आफू पनि यस संसारबाट विदा भएको वर्णन छ ।
कम्युनिष्ट घोषणा पत्र लेख्नका लागि सामग्री जम्मा गरेर लेखनको कार्यको जिम्मेवारी दिइएको सूचना प्राप्त छ । गरीबीको दारूण चित्रण छ । मुल्स रेष्टुरेन्ट र त्यहाँको तीतो घटनाको जानकारी दिइएको छ । नयाँ दर्शनका प्रतिपादक मार्क्सको दुःखदायी जीवन भोगाइ कहाली लाग्दो रहेको टिठ लाग्दो वर्णन छ । यात्राका क्रममा चाइना गेट, चिनियाँ भाषा र संस्कृति आएको छ । मार्क्सले भाडामा लिएको घरको सदुपयोग कति गरे त्यो त फरक कुरा छ तर घर मालिकले अहिलेपनि माक्र्स बसेको भनेर नाम बेच्दै महङ्गो भाडा असुल्दै आएकामा व्यङ्ग्य छ । माक्र्सकले प्राय ः सबै विधामा कलम चलाए पनि उनका पछि पछि गरिवीले पछ्याएपछि भएभरका चिज सबै बेचेको र अन्त्यमा आफ्नो पेन्टसमेत धरौटी राख्नुपरेको दुःख लाग्दो सूचना छ ।
यात्रा लन्डनको छ तर मन भनें नेपाल पुगेको सन्दर्भ छ । माक्र्सको नाम भजाएर शासन सत्तामा पुगेर अकुत सम्पत्ति कुम्ल्याउने नव धनाढ्यप्रति चोटिलो व्यङ्ग्य छ । माक्र्सको सांस्कृतिक विचलन र मित्र एङ्गेल्सका कारणले इज्जत जोगिएको प्रसङ्गभित्र गुण दोष पर्गेल्नु पर्ने अभिव्यक्ति छ । एङ्गेल्सले पुर्याएको योगदानबाट मित्रताको कुनै किनारा हुँदेन भन्ने उदाहरण स्वीकार गर्नु पर्दछ । मार्क्सले त्यस बेला गरेको चिन्तन र वर्तमानको चिन्तनमा भिन्नता रहेको वर्णन छ ।
मार्क्सवादका सम्बन्धमा नियात्राकारले महत्त्वपूर्ण प्रश्न उठाएका छन् । मार्क्सवादको गुणात्मक विकासको कुरा अघि सार्दै चौथो चरणमा मार्क्सवादको थप विकास र व्याख्या जरूरी छ भन्नु सान्दर्भिक देखिन्छ । त्यो समयको चिन्तन र अहिलेको उत्तर आधुनिक समयमा आकाश र पातालको भिन्नता रहेको ठम्याइ छ । थप व्याख्यासहितको माक्र्सवाद आयो भनें कस्तो संसार होला ! यहाँ खुला राखिएको अभिव्यक्तिलाई जसरी पनि अर्थ लगाउन सकिन्छ । ज्याक डेरिडाको ‘टेक्स्ट आफैं विसंरचित छ, त्यसलाई विनिर्माण गरिरहनु पर्दैन’ भन्ने सिद्धान्त आकर्षित हुनसक्ने तर्क अघि सार्न सकिन्छ ।
मार्क्सले निर्वासित7शरणार्थी जीवन व्यतीत गर्दाका पीडा, सङ्घर्ष, कहालिलाग्दो जीवन भोगाइ, वर्गहीन समाज निर्माण गर्ने महान् सपना बोकेर हिंड्दा गरिवीको चपेटामा परेका अनेकौं पक्ष–पाटा केलाइएको छ ।
यात्राका क्रममा मार्क्स र उनले प्रतिपादन गरेको मार्क्सवादको सिर्जनात्मक प्रयोग र व्याख्या आफैंमा उच्च महत्त्व राख्ने रहेको छ । मार्क्सवादी सिद्धान्तले जबसम्म समाजमा वर्ग विभेद रहन्छ तबसम्म वर्गसङ्घर्ष भइरहन्छ भनेको कुरा शाश्वत लाग्दछ । तर नेपालका सन्दर्भमा नेपाली कम्युनिष्टहरूको आडम्बरी तथा ढोंगी चरित्रलाई उदाङ्गो पारिएको छ । यसबाट के प्रस्ट हुन्छ भनें सिद्धान्त बोली व्यवहार र आचरणमा पनि एकरूपता हुनु पर्छ भन्ने सन्देश प्रवाह भएको छ ।
‘लन्डनमा पोएट्री वाक र बुक बार’मा नियात्राकारले सानादेखि भब्य महलहरू, गल्लीदेखि लोभ लाग्दा सडकहरू त कति देखे कति । नदीलाई टाढा र नजिक दुबैतिरबाट कति हेरे हेरे । त्यहाँ भित्रको जीवन भोगाइ प्रतिबिम्बित छ । भौतिकरूपमा मात्र होइन कवितामा, कथामा, नियात्रामा भेट्नुको तात्पर्य त्यसको सौन्दर्यको बयान । उना मार्सन लाइब्रेरी भेट्नुको हतारो भित्रको अन्तर्य पनि त्यत्तिकै महत्त्व राख्ने छ । जिन्दगीको सुन्दर सपना बोकेर आएका मानिसको पीडाको कथा बुन्छन् तर चित्त बुझाउँछन् र भन्छन्, खुसीसाथ बाँचौं, आखिर आप्रवासीको अन्तरमा लुकेर बसेको जन्मभूमि र आफन्तसँग टाढिनुको असह्य वेदना त होलान् । यहाँ डायस्पोरा पीडा प्रतिबिम्बित छ । जन्मभूमि र कर्मभूमि बिचको बाध्यात्मक सम्झौता । आशावादी जीवन दृष्टि ।
उनामार्सनको नालिबेली दर्शाउँदै रङ्गभेदभन्दा माथि उठेर प्रजातान्त्रिक संस्कार देखाएको प्रसङ्ग सान्दर्भिक छ । नियात्राकार, कवि मनबाट पोखिन्छन् छताछुल्ल भएर । उनी शब्दहरूसँग यात्रा गर्छन् । यात्रामा चार्ली च्याप्लिनको जन्मस्थान इस्ट स्ट्रिट आउँछ सिनेमाको पर्दाको रिलझैं । च्याप्लिनको मानवतावादी चिन्तनका साथ हुन्छन् हिटरीय पात्रका रूपमा ।
परम्परा धान्ने किसानको सन्दर्भमा नेपाल पुगेको अभिव्यक्ति7अन्वेषणीय पक्ष अङ्कित छ, पूर्वस्मृतिभित्र । पुनः आएको छ रोबर्ट ब्राउनिङको कविता, थोमसका मुखरावृन्दबाट । ब्राउनिङको कविताको सन्दर्भिक प्रस्तुतिसँगै जून महिनाको चर्चाभित्र जन्म महिना र रेडियो नेपालको जागीरको फ्रस्टेसन अनि गुलाफ फुलाउने सपना देखेर प्रवास भासिएको सन्दर्भमा तादात्म्यता छ, ब्राउनिङको कविता र बजगाईंको जीवन भोगाइसँग । तुलना छ जन्मभूमि र कर्मभूमिबिचमा । दिनरात पुख्र्याैली भूमि (मातृभूमि)को र आफन्तको स्मरणले आन्तरिकतामा डायस्पोरा जीवन भोगाइको पाटो छर्लङ्ग पार्छ । आहा ! कति राम्रो सोच अनि मातृभूमिप्रतिको अगाध प्रेम ! मस्जिद र हिन्दूका मन्दिरको प्रसङ्गमा धार्मिक सहिष्णुताको नमूना रहेको उल्लेख छ । नेपालमा पनि मन्दिर, मस्जिद र गुम्बाका सन्दर्भले सहिष्णुताको उदाहरण प्रस्तुत गरेकालाई सकारात्मक मान्नु पर्दछ भन्ने घुमाउरो सन्देश दिइएको छ । मस्जिदको निकट रहेको जेल त्यत्तिकै महत्त्व राख्ने देखिन्छ । त्यस जेलमा विश्व प्रसिद्ध उपन्यासकार चाल्र्स डिकेन्सका पितालाई थुनिएको प्रसङ्गमा, सानफ्रान्सिस्कोको अल्काट्राज जेलको स्मरण आउँछ । यदि गल्ती भयो भनें जति नाम चलेका व्यक्तिका नातेदार भए पनि कारबाही हुन्छ, नेपालमा जस्तो भनसुन, नातावाद र कृपावाद चल्दैन भन्ने अर्थ लगाउन पनि सकिन्छ । यहाँ श्याम व्यङ्ग्य छ ।
यात्राकै क्रममा जेल परिसरको भूँइमा ओछ्याइएका ढुङ्गामा कुँदिएका कुनै कविका कविताहरू कुल्चदै हिड्दा दुःखेको मन अनि छेउ लागेर हिडेको प्रसङ्गसँगको उल्ल्ोख हृदयस्पर्शी छ । यस बेला हलिउडका फुटपाथमा कलाकारका नाम र स्टार चिह्न राखेको सम्झना दिलाउँछ । यी दुईमा समानता देखिन्छ । यसमा भावनात्मक पक्ष प्रबल भएर आएको छ ।
यात्रा गर्दै जाँदा कवि जोन फिचेटको, राजा अल्फ्रेड द ग्रेटका बारेमा लेखिएको एकलाख उनन्तीस हजार आठसय सात हरफका कविताको सूचना दिइएको छ । यो पाठकका लागि नयाँ लाग्न सक्छ । मुलुकको सार्वभौम सत्ता जोगाएको सन्दर्भ सूचनाप्रद छ । त्यस्तै चौसरको काव्यात्मक भावना, शेक्सपियरको योगदानको स्मरण, पोएट्री लाइब्रेरीको अवलोकन र कविता वाचनपछि कवि मन उत्साहित भएको अभिव्यक्ति सुन्दर लाग्दछ । नेपालको स्मरण छ । मन नेपाल पुग्दछ । मनमा नेपालको पूर्वस्मृति सलबलाएको छ । यसलाई पश्चकालिकताको राम्रो उदाहरण मानिन्छ ।
टि.एस एलियट र हवर्ट रिडले खोलेको पोएट्री लाइब्रेरीको इतिहास आएको छ । नेपालको स्मृति बिम्ब छ, लाइब्रेरीसँगै । कवि मन भएका नेपालका पूर्वमन्त्री र सचिबहरू अनि बहालवाला मन्त्रीहरूले पोएट्री लाइब्रेरी खोल्ने प्रयत्न गरे हुन्थ्यो भन्ने आशय व्यक्त गरिएको छ र मनमा धेरै हुटहुटी देखिन्छ । नेपालमा पनि कविता यात्रा गर्ने वातावरण बनाउन पाए हुन्थ्यो भन्ने धारणा अभिव्यक्त छ । बागमती नदी किनारबाट पैदल यात्रा गर्ने अवसर उपलब्ध गराउने हो भनें कति मान्छेहरू यात्रा गर्थे होलान् भनिएको छ । जीवित वा दिवङ्गत नेपाली कविका घर अगाडि गएर कविता वाचन गर्न पाए कविको सम्मान तथा कविताको प्रवद्र्धन र प्रेरणा प्राप्ति हुने कुरा आएको छ । विदेशमा बसेर पनि मातृभूमिको उज्वलताको कामना गर्नु स्वधर्ती प्रतिको स्मरण र सम्मान नै हो भन्नु पर्दछ ।
बुक वार अर्थात् किताव र रक्सी भट्टी विरोधाभासपूर्ण सम्बन्ध छ तर वियर पिउँदै पुस्तक पढ्दाको आनन्द नै अर्कै हुन्थ्यो भन्दै सकारात्मक दृष्टिले लिदा पठन संस्कृतिको विकासका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको छ । बुक वारमा बसेर कविता रचना गर्ने अवसर पाएको भए हाम्रा राम्रा कविहरू भूपि र हरिभक्तले पनि गहकिला र चोटिला कविता सिर्जना गर्थे होलान् भनी सकारात्मक सोच राख्दै उनीहरूको स्मरण गरिएको छ । भूपि र कटुवालको स्मृति वर्णनमा जादूगरी छ ।
प्रकृतिवादीहरू हुन् नाङ्गा नाङ्गी । रूप, सौन्दर्य, जवानी सामान्य लाग्दछन् यो सुन्दा । यसको प्रस्तुतिको शिल्प शैली सुन्दर छ । उनीहरूको बासस्थान हेर्ने तिब्र इच्छा भए पनि नाङ्गै हुनु पर्ने हुँदा केही शङ्कोच पनि छ लेखकमा । हुट्हुटी पनि त्यतिकै छ । झट्ट सुन्दा अफ्ठ्यारो लाग्ने छ । अभिव्यक्ति कलाले पाठकलाई तानेको छ, पहिलो अनुच्छेदमा नै । कौतुहल जगाइएको छ । त्यसो गर्नु लेखकको निजी कला अनि निजात्मकता पनि हो । के अर्थमा भनें पाठक सबै खाले हुन सक्छन् तर कुन संस्कार र संस्कृतिलाई अवलम्बन गरेका छन् भन्नेमा निर्भर रहन्छ । नेपाली संस्कार वरण गरेकालाई नाङ्गा नाङ्गीका गाउँमा उनीहरूले गरेजस्तै व्यवहार गरेर बस्न ह्वात्तै नसकिने स्थिति जन्मजात नै छ भन्नु पर्दछ ।
विश्व प्रसिद्ध साहित्यकार जर्ज बनार्ड शालेसमेत भ्रमण अवलोकन गरेको ठाउँमा किन पछि पर्ने ? एक किसिमको दृढता पनि छ, स्रष्टामा । जीवन भनेको नयाँ अनुभव लिने पनि त हो । सिर्जना पछि त पाठक नै सर्बोपरि हुने हुनाले बहुबिध संस्कार र चालचलनका बारेमा पनि त सूचना होस भन्ने लेखकको आन्तरिक चाहना पनि हुन सक्छ भन्ने लाग्दछ ।
अर्को पनि सूचना प्राप्त छ । नाङ्गा नाङ्गीहरूले किङ्स कलेज अगाडिको विरोध प्रदर्शन स्मरणमा आएको छ ।
स्रष्टाको निर्धक्क भनाइ छ, जीवन त आफ्नो लागि बाँच्ने हो नि ! जन्म र मरणमा नाङ्गै स्वरुप हुन्छ । कहीं पूर्ण र कहीं अर्ध नग्न हुने परम्परा विद्यमानमा पनि मान्य नै छ । फेरि नेपाल तुलनीय भएर आएको छ, लेखकको मानसपटलमा । झट्ट स्मरण हुन्छ काठमाडौँ पशुपतिनाथ मन्दिरको परिसरमा नाङ्गा बाबाहरूले परम्परा धानेको उदाहरण वस्तु तथ्य छ । अश्लील साहित्य पढ्ने र यौन विकृति फैलाउने चलचित्र लुकीछिपी हेर्ने अनि फेरि प्रकृतिवादीहरूप्रति हेर्ने दृष्टिकोण किन नकारात्मक होला भनेर मनमा अनेक कुरा खेलेको सन्दर्भ, रोटे पिङसँग तुलना गरेर सुन्दर प्रस्तुति दिन सफल देखिन्छन् । एउटै दृश्य लगातार देखिरह्यो भनें त्यसप्रतिको चाहना घट्दै जाने हुँदा यसले समाजमा पार्ने असरका बारेमा चिन्तन गर्नु पर्ने कुरा आएका छन् ।
‘व्रिकेड उड’का प्रकृतिवादीलाई हेर्न जाँदा गरिएको वर्णनमा हाम्रो संस्कार र संस्कृति बर्जित भएकाले झट्का हानेजस्तो भएको उल्लेख उचित लाग्दछ । यो हाम्रो जन्मजात गुण हो । आफ्नो पन हो । मन तम्तम्याइलो भएको र असमञ्जसमा परेको जस्तो लागेको अभिव्यक्ति राम्रो छ । पुस्तकालय, पुस्तक पढ्ने वातावरण र पौडी पोखरी पनि उपलब्ध देखिने जानकारी दिइएको छ । एकान्त र शान्त ठाउँको वर्णन छ । पूर्ण नग्न नभएपनि हुने तर आफू पनि प्रकृतिवादी हुँ भन्ने हो भनें नग्न हुनु नै उपयुक्त हुन्छ, भनिएको छ ।
कामोत्तेजनाले हेरिएन भनें यो दृश्य सामान्य नै हो तर लेखकमा आन्तरिक भय उत्पन्न छ । नाङ्गो शरीर हेर्न हतारिएको भन्ने आरोप त लाग्दैन ...भन्ने डर छ । तर त्यहाँ त रूप, यौवन र सुन्दरताको महत्त्व कम हुँदो रहेछ । प्रकृतिवादीहरूको दर्शनअनुसार संसारका प्रत्येक पुरुष र महिला सुन्दर हुन्छन् भन्ने कुरा उल्लेख छ । त्यसभित्रको शिष्टता, सभ्यता पृथक् रहेको चर्चा छ । लेखकको निष्कर्ष छ, आवरण विहीन भएर बस्ने अधिकार स्वयम्को निर्णय र स्वैच्छा हो यसलाई अतिवादी भएर नकारात्मक सोच बनाइहाल्नु पनि जरूरी छैन भन्ने लाग्दछ । नाङ्गा प्रकृतिवादीहरू लाइब्रेरीमा, जिम खानामा, रेष्टुरेन्टमा पनि सहजरूपमा नाङ्गै रहने भएपनि सार्वजनिक रूपमा सम्भोग बर्जित रहेको अभिव्यक्ति पाइन्छ । उनीहरू नाङ्गो शरीरलाई सेक्स अब्जेक्टका रूपमा नलिने हुनाले ढुक्कसँग नाङ्गिन रूचि लिन्छन् भनिएको छ । महिला र पुरूषहरू आफैमा सबैभन्दा सुन्दर भएको स्वीकार गर्ने हुँदा रूप, सौन्दर्य र यौवनलाई गौण ठान्ने सोच रहेकाले नाङ्गिनु कुनै बर्जित र समाजिक बहिष्कारजन्य कार्य मानिदैन । त्यसलाई स्वतन्त्रपूर्वक जीवन जिउने एउटा तरिका मात्र हो भन्ने निष्कर्ष निकालिएको छ । प्रकृतिवादी बेलायतीले भ्रमणमा एक्लै हो भनेर प्रश्न गर्दा ढाँटेका छन् तर त्यसभित्र ढाँटेको कुरालाईपनि सत्य बोलेको भनेका छन् । यो उनको इमान्दारी पन हो । खासमा यो विषय अत्यन्त नवीन लाग्दछ तथापि उनीहरूको संस्कृति नै भइसकेको सन्दर्भमा भनें औचित्यपूर्ण नै लाग्दछ । परिवेशमा केन्द्रित भएर लेखिएको यो नियात्राले फरक संस्कार, रहन सहन, चालचलन, जीवन भोगाइको प्रतिबिम्ब उतारेको छ ।
‘कोस्र्वीमा नर्दन लाइटस्’को जानकारी दिने सन्दर्भमा उत्तरी ध्रुवबाट देख्न सकिने लाइटस्को दृश्यावलोकनको पर्खाइमा रहेको मृगतृष्णा छ । लीड्स र लिभरपुल जोड्ने नहरको कथा छ । त्यसभित्र श्रमिकको शोषणको पीडादायी कथा पनि जोडिएको छ । आगामी दिनमा उज्यालो प्रतीक्षाको प्रसङ्ग छ । नहर किनारमा राखिएको जमिनमा आधा गाडिएको बाहिर चाहिँ अर्धकदको देखिने श्रमिकको मूर्तिले साङ्केतिक अभिव्यक्ति दिएको अर्थमा व्याख्या गरिएको छ ।
नहरको पानीमा किनाराका रूखका छायाँ तैरिरहेका दृश्यलाई शब्दमा कैद गरिएको छ । हाँसका बथान कम्ती रमाइला छैनन् ! चित्रात्मक÷दृश्यात्मक परिवेश चित्रित छ । गर्मी मौसमको बयान छ । वियर पिउने इच्छा नहरको पानीमा बगेको र आनन्दको संवेग बगिरहेको छ मनमा भनेर मिठो काव्यात्मक अभिव्यक्ति दिइएको छ । रहस्यमयी नर्दन लाइटस् सूर्यबाट निस्कने चमत्कारिक बिजुली चम्काइ, एक किसिमको उर्जावान् कणहरूको सामूहिक चमक । बहुरङ्गी प्राकृतिक दृश्य । दैवी शक्तिका रूपमा प्राचीन ग्रीक र रोमनहरूले दैवी शक्ति स्वीकार गरेका । सोचाइहरू फरक फरक रहेका । चिनियाहरूले असल र दुष्ट ड्रागनको आगोलगाइ भनेका, हेराइ आफ्नो आफ्नो । जापानीहरूले यसलाई शुभ सङ्केत मानेको देखिन्छ । यसमा अन्धविश्वास पनि छ । लाइट्स् देखिने बेलामा गर्भ धारण गरी जन्मेको बच्चा बुद्धिमान्, सौभाग्यशाली र सुन्दर हुने विश्वास गरिएको छ । यसैलाई स्वीडेनमा शुभ सङ्केत दिन,े ज्वालामुखी गर्मी र प्रकाश प्रदान गर्ने भन्ने गरिएको उल्लेख छ । हिन्दूहरूले लाइट्स्को परिकल्पना रङहरूको आभाको परिकल्पनाबाट चकित भएको उल्लेख छ । चन्द्रमा र बादलको लुकामारीको सुन्दर अभिव्यक्ति पाइन्छ । वर्णनकै सन्दर्भमा आन्टोनी गोर्मद्वारा निर्मित पूर्णकदका ढलोटका सयवटा मूर्तिहरू समुद्रतर्फ फर्काएर तीन किलोमिटरसम्म पङ्क्तिबद्ध राखिएका छन् । ती मूर्तिहरूले प्रकृति, अन्तरिक्ष र मानव शरीरबिचको सम्बन्ध तथा विश्वासलाई कायम राखेको अर्थमा लिइएको अनौठो सङ्केत प्राप्त हुन्छ । नर्दन लाइट्स हेर्ने पर्खाइमा भए पनि त्यो अवसरप्राप्त नभएको अवस्थामा निराशा छाएको अभिव्यक्ति छ । केही आशा केही निराशा तथा भ्रम त्याग्दै फर्किएको प्रसङ्गले उत्साह मर्न नदिइ मनले मनलाई थुम्थुम्याएर घर फर्केको वर्णन गरिएको छ ।
शेक्सपियरको मन्दिरमा नेपाली भक्त, स्रष्टाले गन्तब्य तय गर्नुको उद्देश्यका बारेमा प्रस्ट रूपमा सूचना दिएका छन् । यात्राको समयको निर्धारणले लेखनमा विश्वसनीयता र सत्यापन साबित गर्दछ । तथ्यको पुष्ट्याइँ गर्न सतर्कता अपनाइएको छ । शेक्सपियरको मन्दिर उनको जन्मभूमिमा मात्र नभएर वैश्विक बन्न पुगेको उल्लेख छ । स्टार्डफोर्ड–अपन–एवन(लन्डन)मा जन्मिएर र माथि उठेर मात्र होइन उडेर पनि विश्वव्यापी बनेको सन्दर्भ छ । अभिव्यक्तिमा काव्यात्मकता छ । कल्पनाशील अनुभूति र भावात्मक प्रस्तुतिले स्तरीयता कायम गरेको छ । मन्दिर नजिकको थेम्स नदी किनारमा युगल जोडी चौरमा ठूलो तौलिया ओछ्याएर सूर्यस्नान गरिरहेका र कामुक देहमा घामले चुम्बन गरेको प्रस्तुति सुन्दर लाग्छ । प्रेम अन्धो हुन्छ भन्ने शेक्सपियरको भनाइलाई जोड्दै घाम ताप्ने जोडीको चुम्बनको दृश्य चित्र उतारेका छन् । मानव र मानवेत्तर प्राणीहरू प्रेम प्रदर्शन गर्दै गरेको सुन्दर र मनोरम वातावरणको चित्रण छ ।
सूर्यको किनारको प्रतिछायामा मुस्कुराइरहेको शेक्सपियरको मन्दिरको संरचना हिन्दू मन्दिरकैजस्तो अनुभूत हुन्छ । मन्दिरको गुम्बजको शिखर भागमा गजुर÷त्रिशुल राखिदिंदा हिन्दू मन्दिरको संरचना बन्थ्यो भन्ने लाग्दछ । यस अभिव्यक्तिमा जहाँ गए पनि हिन्दू संस्कृतिको अमिट छाप परेको अनुभूति हुन्छ ।
शेक्सपियर क्लबका अध्यक्ष तथा महान् अभिनेता डेभिड ग्यारिकका पहलमा मन्दिर बनेको सूचना प्राप्त छ । यो उज्यालो मूर्तिको कलाशिल्प रौबिलियाकको रहेको र ग्यारिकको उपहारका रूपमा निर्मित मन्दिर र त्यसभित्रको जिवन्तजस्तो लाग्ने मूर्तिप्रति लेखक अन्तरहृदयदेखि नै श्रद्धाभाव प्रकट गर्दछन् । यसलाई एउटा स्रष्टाले अर्को बहुचर्चित स्रष्टाप्रतिको सम्मान नै हो भन्नु पर्दछ । यसरी श्रद्धाभाव प्रकट गरिरहँदाको परिवेशलाई समतुल्य परिस्थितिमा तुल्यतुल्यरूपमा हेर्ने हो भनें स्रष्टा ताना शर्माले लन्डनमा शेक्सपियरको जन्मजयन्ती मनाउने क्रममा सहभागी भएर श्रद्धाभाव प्रकट गर्दा दुई थोपा आँशु झारेको उल्लेख गरेका छन् । यसबाट स्रष्टा स्रष्टा बिचको भावनात्मक एकता प्रतिबिम्बित भएको ठानिन्छ । यसलाई स्वाभाविक पनि मानिन्छ ।
यहाँ अर्को खोलुवा पनि दिइएको छ । त्यो के भनें शेक्सपियरको सेतो रङको पूर्ण कदको उज्यालो मूर्ति नजिकै अर्धकदको डेभिड क्यारिकको चिटिक्क परेको मूर्ति स्थापना गरिएकोलाई सकारात्मक मानिएको छ । महान स्रष्टाप्रति श्रद्धाभावबाट अभिपे्ररित भएर रचना गरिएको र नेपालीमा अनुवाद गरिएको ग्यारिकद्वारा रचित कवितांश यस्तो रहेको छ ः
त्यो आत्मा र प्रकृति मसँगै छ
त्यो भावनाको हर विशेषतामा सास लिन्छु
जुन मलाई मन पर्छ, त्यो म चाहन्छु
शेक्सपियर, म तिम्रो सबै कुराप्रति ऋणी छ,(९०)।
नियात्राभित्र कविताको प्रस्तुति विधा मिश्रणको राम्रो उदाहरण हो ।
मन्दिरभित्र शेक्सपियरप्रतिको क्रेज देख्दा नियात्राकारले आफूमा नयाँ उर्जा प्राप्त भएको अनुभूत गरेका छन् । शेक्सपियरको भनाइलाई उद्यृत गर्दै ‘कुनै चिज पनि राम्रो या नराम्रो हुँदैन, हाम्रो सोचले त्यसलाई राम्रो या नराम्रो बनाउँछ ’ भन्ने अभिव्यक्ति अर्थ पूर्ण लाग्दछ ।
वाथ शहरमा घाम पानीको स्नान, सुन्दर एवन उपत्यकाका रहेको छ वाथ शहर । खेती योग्य जमिन काठमाडौँको भूसंरचना मिल्ने पहाडको फेदीमा रहेको उपयुक्त मानव वस्ती मानिन्छ । प्राचीन र आधुनिक शैलीमा निर्मित सुसज्जित आकर्षणका केन्द्र विन्दुमा रहेका देखिन्छन् । नवशास्त्रीय शैली र रोमन जर्जियन मिश्रित शैलीका निर्माणले आकर्षणको केन्द्रविन्दुमा रहेको उल्लेख छ । स्रष्टाको मन काठमाडौँ पुग्दछ । तुलनात्मक सन्दर्भ छ । पर्यटटकलाई आकर्षण गर्न सक्ने शहर सबै गुणले सम्पन्न देखिन्छ । रोमन वाथ र राजा रानी स्नान गर्ने छुट्टा छुट्टै तर फरक फरक समयमा निर्माण गरिएका । सडकमा कविता बेच्दै हिड्ने र कला प्रदर्शन गर्ने पनि भेटिएको प्रसङ्ग छ । यस दृष्टिबाट हेर्दा कला साहित्यको उर्बर भूमि प्रमाणित हुन्छ ।
जेन अस्टिनका उपन्यास कवि टोम आदम्सका कवितामा वाथ शहरको परिवेश केन्द्रित रहेको अभिव्यक्ति छ । रोमन वाथसँग गाँसिएका करा प्राकृतिक औषधीय गरण रहेको पानीमा स्नान गर्दा विभिन्न किसिमका रोगबाट मुक्ति हुने विश्वास गरिने अभिव्यक्ति छ । यस प्रसङ्गमा नेपालको तातोपानीकोचर्चा आउनुमा जन्मभूमिप्रतिको अगाध प्रेम उद्घाटित भएको अर्थमा बुझ्न सकिन्छ । यसको घुमाउरो भनाइ आफ्नो धर्तीमा पनि यस किसिमको स्वास्थ्यबर्धक गुणकारी पानीका स्रोतहरू रहेका छन् भन्ने सन्देश दिनु रहेको छ ।
रोमन वाथको प्रसङ्गमा रोमनहरूकी देवी सुलिस मिनर्वाको मन्दिरको चर्चासँग सांस्कृतिक इतिहासको झल्को प्रस्तुत भएको छ । नेपालको बागमती र मुक्तिनाथमा स्नान गरेर मनोकाङ्क्षा पूरा हुने विश्वाससँग जोडिएको छ । जर्मन–बेलायती खगोल शास्त्री विलियम हर्शेलले युरेनस ग्रह पत्ता लगाएको प्रसङ्ग विज्ञानसँग जोडिएर आएको छ ।
वाथ शहरको गौरवमय पक्षभनेको कला साहित्यको उन्नति, युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हुनु, दोस्रो विश्वयुद्धमा बम आक्रमणबाट क्षति बेहोर्दै युद्धको संत्रास बोकेर भएपनि पर्यटकलाई आकर्षण गराएर हाँसिरहेको सन्दर्भ लोभ लाग्दो छ ।
रोमन कालीन यतिहास, आधुनिकता बिचको सङ्गम बनेको यो शहरले स्वास्थ्यका लागि वाथ लिने परम्राको प्रारम्भ गरेको तथ्य छ । यो गौरवलाई आत्मसात् गर्दै शारिरीक रूमा वाथ लिने अवसर नपाए पनि मानसकि रूपले पौडी खेलेर आनन्दित भएको अभिव्यक्ति सारपूर्ण रहेको पुष्टि हुन्छ । यहाँ मनसँगको संवाद मिठो छ ।
प्रकृति, कला, साहित्य, पुरातत्व, इतिहास, प्राचीनता, आधुनिकता, वैज्ञानिक आविष्कार, विध्वंश र त्रासद्पूर्ण जीवन भोगाइभित्र पनि सम्भावनाका द्वारहरू खोल्दै र संसारलाई आकर्षित गर्दै आधुनिकतामा रमाइरहेको सन्दर्भ स्तुत्य छ । तथ्यपरकता, ऐतिहासिक संयोजन, स्वधर्ती प्रेम, सूचना प्रवाह, सभ्यता, धार्मिक विश्वास, संस्मरण, कला, साहित्य, संस्कृति, प्रकृति, विज्ञानसम्मत् युद्ध संत्रास र स्वतःस्फूर्त चित्रात्मक अभियक्तिले नियात्राको गरिमा उच्च रहेको पुष्टि हुन्छ ।
हेगको न्यायालयमा शान्तिसँग जम्काभेटमा, अन्तर्राष्ट्रिय न्यायालय जहाँ पदमा आशीन हुँदा पदीय आचरणभन्दा बाहिर गएर मानव अधिकारको हनन् गरेको छ वा युद्ध अपराध कर्म गरेको भनेर दाबी गरी हालिएको मुद्धामा दूधको दूध पानीको पानी हुने गरी न्याय सम्पादन गरिन्छ भन्ने विश्वास छ । मानव अधिकारको उलङ्घन गर्ने चाहे राष्ट्र प्रमुख होस वा जुनसुकै अपराध कार्य कसुर र प्रमाणका आधारमा छानविन बिना सङ्कोच फैसला गरी प्रमाणित भए अपराधअनुसार बिगो जरिवाना तोकी सजायको भागी बनाइन्छ ।
खासमा द हेग शान्ति र न्यायका लागि अन्तर्र्र्राष्ट्रिय शहरका रूपमा चिरपरिचित छ । युद्ध र सङ्घर्षले विध्वंश र र विखण्डन ल्याउने हुनाले त्यस कर्मतर्फ होइन विश्व शान्तिका लागि न्यायबाट मात्र सम्भव हुन्छ । हेगको नाम सुन्नासाथ मनमा एक किसिमको भय, त्रास र आतङ्क उत्पन्न हुन्छ तर गल्ती गरिएको छैन भनें त्यसरी आत्तिहाल्नु पर्ने हुँदैन भनिएको छ । कुनै पनि व्यक्तिले गल्ती गरेको सबुत प्रमाणले पुष्टि नभए सजायको भागी बन्नु पर्दैन भन्ने अभिव्यक्ति छ ।
जसले अपराध गरे, मानवताका विरूद्धमा हिंशाको बाटो अङ्गाले, तानाशाही प्रवृत्तिलाई अङ्गीकार गरे तिनीहरूको मात्र मुटु हल्लिन थाल्छ । तर स्रष्टाले हेगको नाम उच्चारण गर्दा मनमा शान्तिको धुन गुञ्जने अभिव्यक्ति दिएका छन् ।
हेगको अन्तर्राष्ट्रिय न्यायालय अगाडि पुग्दा अङ्ग्रेजी ‘द पिस प्यालेस’ अर्थात् शान्तिको महल र त्यस वरिपरिको वातावरणले न्यायालयको आकर्षण रहेको सुन्दर वर्णन लोभ लाग्दो छ । आगन्तुकहरूलाई फूलले मुस्कुराएर स्वागत गरेको प्रसङ्गभित्र मानवीकरण गरिएको सन्दर्भ मुखरित छ । फूलबारी भएकै स्थानमा ‘शान्ति’ भन्ने शब्द मार्बलमा कुँदिएको देख्दा स्रष्टलाई साँच्चीकै शान्तिसँग भेट भएको अनुभूति भएको छ ।
यहाँ वैदिक साहित्यमा प्रसिद्ध भएको संस्कृतको शान्ति मन्त्र मनमनै गुनगुनाएर लिपिबद्ध गरिएको छ । अपार शान्ति प्राप्तिको अनुभव भएकामा हर्षविभोर भएको अभिव्यक्ति सुन्दर छ । यस सन्दर्भमा शान्तिप्रतिको प्रतिबद्धता प्रकट हुन्छ । संस्कृत भाषामा रचित शान्ति मन्त्रमा आकाश, अन्तरिक्ष, पृथ्वी, पानी, औषधी, वनस्पति, देवता, आत्मा अनि सबैतिर शान्ति नै शान्ति होस भन्ने धारणा सान्दर्भिक लाग्दछ ।
यात्राकै क्रममा त्यहाँको कृषिकार्य, उत्पादित कृषि उपज आदि देख्दा स्रष्टा नेपाल पुग्छन् । स्वदेशको कृषिकर्मको प्रसङ्ग कोट्याउँदा स्वधर्ती प्रेम प्रकट भएको पाइन्छ । आफ्नो पनको मायाले धपक्कै ढाक्दछ । सरकार जनउत्तरदायी बन्न नसकेकामा तीखो व्यङ्ग्य प्रहार छ । पुरानो तथा जेठो औधोगिक प्रतिष्ठान विराटनगरको जुट मिलको स्मरण छ । यसलाई पश्चकालिक सन्दर्भसँग जोडिन्छ । सरकारले कृषि क्षेत्रमा दीर्घ कालीन योजना तर्जुमा गर्न नसकेकामा चिन्ता छ । सरकारप्रति शौम्य भाषामा कटाक्ष छ । उद्योगको संरक्षण र प्रोत्साहन गर्ने नीति नबनेकामा आक्रोश देखिन्छ । कृषि मल, वीउ, उत्पादन र त्यस पछिको उचित व्यवस्थापनको नियति भोग्न पर्ने अवस्था माथि तीष्ण व्यङ्ग्य छ ।
नेपालले कुनै समयमा भारतमा धान चामल निर्यात गरेको स्मरण गरिएको छ । वर्तमानमा भएका उद्योगहरू बेचिएका, सञ्चालकहरूलाई उत्साहित बनाउन नसक्दा उत्पादित सामग्रीले उचित मूल्य प्राप्त गर्न नसकिएको अवस्थाप्रति चिन्ता व्यक्त छ ।
नेदरल्याण्डको बतासे गाउँमा हावा मिल शीर्षकमा बतासलाई शक्ति, उर्जाका रूपमा लिइएको छ । त्यही उर्जाबाट चलेका छन् हावा मिल । मौलिक शैलीका आकर्षक हावा मिलले खास गरी उर्जा उत्पादन हुने, त्यसपछि भण्डारण गरिने र सेन्ट्रल ग्रिडमा जोडेर वितरण गरी विद्युतीय आवश्यकता पूर्ती हुन्छ । यहाँ अन्तर्देशीय पर्यटकहरूको आकर्षणको केन्द्र बनेको जानकारी छ । मिलहरू गौरवमय इतिहासको सूचना प्रवाह गराउन तम्सिएको प्रसङ्ग छ ।
अतीतको स्मरण गराइएको छ । कागजको फिरफिरे र हावा मिलको सञ्चालन प्रक्रियामा एकरूपता छ । हावा मिलमा शक्ति उत्पादन छ तर फिरफिरे केवल बाल्यावस्थामा मनोरञ्जनका लागि खेल्न बनाइएको हो जुन जति बेला पनि बिग्रन सक्छ, भनिएको छ । हावाले पङ्खा मात्र होइन घुमाएको, जान नदीको पानीलाईसमेत नचाइरहेको छ प्राकृतिक हिसाबले । यहाँ स्रष्टाको भावना बगेको छ, बच्चुकैलासको गीतसँगै । नजानिदो ढङ्गले विधा मिश्रण गरिएको छ । गीतको बोल यस्तो छः
बहकिदो मन तँ बहकी नजा
मायाको देश कहाँ छ कहाँ
आश नदेखा न ए चञ्चल हावा...(१२३) ।
समय सन्दर्भ मिलाउन कति जानेको ? गहिरो अर्थ दिने गीत र मिल चल्ने हावाको बिचको तादात्म्य सम्बन्ध पुष्टि हुन्छ । सुन्दर दृश्यको वर्णन गरिएको छ । हाँसका हुल पौडिदै नजिक आएको र फर्केर गएकत्र, सामान्य कुरालाई विशिष्ट अर्थ दिने सन्दर्भ जोडिएको छ । नदीको पानीलाई अञ्जुलिभरि उठाएर पुनः त्यही नदीमा खसालिएको दृश्यलाई सूर्य देवलाई पानी अर्पण गरिरहेको त होइन ... भन्ने सन्दर्भसँग जोडिएको छ । यहाँको पानीको प्रसङ्गको उल्लेख गर्दै गर्दा हिन्दू धर्मका वायु देवतालाई प्राण देव भनिन्छ भनी जानकारी गराइएको प्रासाङ्गिक लाग्दछ । अझ भन्दै जाँदा वेदमा उल्लेख गरिने देवता र हिन्दू धर्ममा वरूणलाई जलदेवता मानिएको सन्दर्भ तादात्म्ययुक्त मानिन्छ ।
ग्रिक र रोमन देवी देवताको तुलना छ । सांस्कृतिक पक्ष गाँसिएर आएको छ ।
हिलियस(सूर्यदेवता) र रोमन सोल इन्भिक्टस्, ग्रिकका समुद्रका देवता पोसाएडन र रोमनका नेप्च्युन लगायतको तुलना उपयुक्त लाग्दछ । धर्मका नाममा विवाद उब्जाउनु भनेको राजनीतिक खेल मान्नु सान्दर्भिक छ । यस किसिमको झगडाले विनास निम्त्याउने हुँदा युद्धप्रति घृणा भाव छ, शान्तिको कामना गरिएको छ । जुन विषय टिप्यो त्यसको गहिराइमा पुगेर सत्य तथ्य जानकारी दिनु नियात्राकारको इमान्दारी र निजी पहिचान पनि हो ।
पुरानो प्रविधिको विस्थापन र नवीन प्रविधि भित्रिदा द्रूत विकासमा सहयोग पुग्दछ भन्ने प्राविधिक सल्लाह प्राप्त छ । परापूर्वकालदेखि सञ्चालित पानी घट्टबाट पर्यटकहरूको आकर्षण बढ्ने र कम लागतमा पिस्ने, पेल्ने, पिध्ने काम गर्नसके मितव्ययिता हुने सङ्केत गरिएको छ ।
नेपाल स्मरणको अर्को सन्दर्भ आएको छ, काठका जुत्ताको । मेसिनले बनाएका काठका जुत्ता, छाला र कपडाका भन्दा महङ्गा लागेकाले हजुरबुबाले लगाएका खराउको स्मरण गरिएको छ । हातको सिप प्रयोग गरेर तयार गरिएका खराउ ऋषिमुनिहरूकै समयदेखि निर्माण र उपयोग गरिएको सूचनाले हस्तकला शताब्दियौेंदेखि विकसित भएको सङ्केत प्राप्त हुन्छ । नियात्राकारले विषय सन्दर्भ मिलाएर आफ्नो मनमा हावा मिलले एक किसिमको विचारको हावा चलाएको प्रसङ्ग जोडेका छन् । नेदरल्याण्डको पुरानो छवि भनेको प्राचीन कला, प्रविधि र इतिहास भन्ने निष्कर्षमा पुगेका छन्, नियात्राकार ।
भानभोगलाई खोज्दै आम्सटर्डाममा, आकर्षक पेन्टिङजस्तो देखिने आम्सटर्डाम शहरको कलात्मक वर्णन छ । त्यहीं नै प्रसिद्ध चित्रकार भान गोगले आफ्नी प्रेमिकालाई आफ्नै कान काटेर दिएको प्रसङ्गबाट नियात्राको शुभारम्भ गरिएको छ । सुरूका पङ्क्तिबाट यो लेखको सार प्राप्त हुन्छ । असाध्यै आकर्षक र सबैका आँखामा राख्न सकिने आम्सटर्डाममा प्रेमी प्रेमिका बिचको आत्मीयता हार्दिकताले गर्दा नै अङ्ग काटेर दिने काम भएको हुँदो हो । थाकका थाक जिज्ञासाहरू लाइन लागेर आउँछन् । सम्भवत मन पर्दा सबै थोक गर्ने र सम्बन्ध धुमिल भएमा मुटुको टुक्रा भनिएकालाई मुटुबाटै निकालेर फालिदिने पनि हुन सक्छन् । लामो तर्क वितर्क छ ।
भानगोग म्युजियममा कलाकार भानको जीवनगाथासम्बन्धी सामग्री रहेको वर्णन छ । अभ्यास भन्दा प्रतिभाले भानलाई जितेको छ । सामान्य चित्रकारिताबाट प्रारम्भ गर्दै फ्रान्स गन्तव्य बनेको सूचना छ । आर्ट म्युजियम र ग्यालरीको राजधानी मानिने पेरिस साधना स्थल बनेको अभिव्यक्ति छ । पेरिसले कलाकारितामा प्राप्त गरेको कलात्मक वर्णन छ । यसलाई कलाकारहरूका लागि उर्जा उत्पादन केन्द्र मानिएको छ । त्यसै बेला स्रष्टा बजगाईं नेपाल पुगेका छन् र स्मरणमा छन् प्रसिद्ध चित्रकार लैनसिंह बाङ्देल । यसलाई पश्चकालिकतासँग अन्वय गरिन्छ । सपनामा पनि चित्रको आकृति आउने र त्यसैलाई चित्रको पूर्णता खोज्ने गोगका आफ्नै चित्र, पोटेटो इटर्स र सन्फ्लावरजस्ता चित्र विश्व प्रसिद्ध मानिएको जानकारी पाइन्छ ।
मानिसहरूको आकर्षण, उनको कलात्मक रङ्ग संयोजन गरिएका चित्रहरूले सजीवता प्राप्त गरेको उल्लेख छ । स्रष्टाको सिर्जनाबाट थाहा हुन्छ उनी भित्रको चाहना । त्यसलाई रङमार्फत् बासनादार बनाउँछन् । सुनमा सुगन्ध नभए पनि भन्ने गरिएको सुनको सुगन्धजस्तै । फूलका चित्रको वर्णनसँगै फूलको प्रतीकात्मक अर्थ खोज्ने प्रयत्न छ । मनभरि रङ्गी विरङ्गी फूलहरू फुलाउँछु भन्नुमा गहिरो अर्थ लुकेको छ । जीवनको हरियालीको अर्थमा लिन सकिन्छ । फूलको सौन्दर्यभन्दा पनि स्रष्टाको प्रस्तुति बेजोड पाइन्छ । फूल बगैंचामा फुलाइन्छ मनमा होइन तर स्रष्टाले फूलको सुकोमलता र सुन्दरतालाई सजाएर राखेको सन्दर्भ अनुकरणीय छ ।
पुनः नेपाल पुगेको, ग्रामीण दृश्यावली र अपनत्व प्राप्तिको प्रसङ्ग भानसँग जोेडेर प्रस्तुत गरिएको छ । चित्रमा कविता प्रतिबिम्बित छ । उत्प्रेरणा प्राप्ति छ । चित्रकार तथा मूर्तिकार माइकल एन्जेलोको ‘व्यक्ति आफ्नो दिमागबाट पेन्टिङ गर्छन आफ्नो हातबाट होइन’ र फ्रायडले ‘कला अचेतन मनको अभिव्यक्ति’ भन्ने भनाइलाई भानको कलाकारितासँग सन्दर्भ मिलाएर प्रस्तुति दिनु कलमको जादुगरी हो भन्ने लाग्दछ ।
कान काटेको चित्रकलाले भानको जीवनको साङ्गो पाङ्गो चित्र उतारेको छ । भानको असफल प्रेम कथाले भावविह्वल बनाउने सन्दर्भबाट चित्रकलामा सफल भए पनि प्रेमका सम्बन्धमा सफलता पाउन नसकेकामा मन दुःखित बनाउँछ । उनको आत्मीय प्रेमले स्थान पाएन । प्रेमकै लागि आफैले आफ्नै कान ब्लेडले काटेर उपहार दिएको जानकारी प्राप्तिपछि प्रसिद्ध चित्रकार भए पनि बहुलठ्ठी पनि रहेछन् भन्न सकिन्छ ।
यद्यापि प्रेममा असफल भए पनि उत्तरार्धको जीवन सिर्जनात्मक रहेको उनका सिर्जनाले प्रमाणित गर्दछन् । जीवनको केवल दश वर्षको कला साधनामा ‘पोेटेटो इटर्स’ निकै उच्च मानिन्छ । उनका चित्रकला म्युजियममा सुरक्षित राखिनु तथा उपन्याससमेत लेखिनुलाई स्तुत्य कार्य मानिएको छ । पागल प्रेमी भनिएका चित्रकारले पोस्ट इम्प्रिेनिस्ट चित्रकारका रूपमा ख्याति प्राप्त गरेको कुरा बिर्सन सकिदैन । उनको रङ संयोजन र भावनात्मक अभिव्यक्ति अब्बल रहेको प्रतीत हुन्छ । छोटो समयमा शिखर यात्रारोहण गर्ने महान् कलाकारको जीवन भोगाइसँग जोडिएका हरेक सन्दर्भभित्र स्वार्थले बिगबिगी भएको समाजमा प्रतिभावान् व्यक्तिले पनि इज्जत र प्रतिष्ठापूर्ण जीवन जिउन पाउँदैन भन्ने प्रस्तुति राम्रो छ । भानको मृत्यु पछि मात्र महत्त्व बढेको सूचना प्राप्त छ । जीवनको केवल नौ वर्ष मात्र चित्रकला क्षेत्रमा काम गरेर दुई हजार भन्दा बढी चित्रकलाको जन्म दिनु चानचुने कुरा होइन ।
भौतिक र मानसिक दृष्टिबाट पनि जीवन निर्वाह गर्न सकस भएको अवस्थाका कलाकारका बारेमा गहिरो अध्ययन गरी अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएजसरी भान गोगको बाह्यान्तिरिक पक्षको उद्घाटन गरेर सम्मान प्रकट गरिनु स्तुत्य कार्य मानिन्छ । स्रष्टाका दृष्टिमा कला र साहित्य भूगोलको सीमाभित्र कैद हुँदैनन् भन्ने सोचाइले व्यापकता पाएको छ ।
आम्सटर्डामको सडकमा बरालसिङ, आधुनिकता र प्राचीनताको सुन्दर शहर यौवन बेचेर परिचय दिन आतुर देखिन्छ । नियात्राकारले प्रारम्भमा नै आफूलाई सर्तक बनाएका छन् कतै फसिएला कि भनेर । मनलाई दह्रो पारेका छन् । भनाइमा, सडकमा बरालसिङ भए पनि आन्तरिकता बलियो बनाइएको छ । यो उनको दृढता पनि हो । यहाँ इतिहास प्रस्तुत छ । वास्तुकला लगायतका परिदृश्यभित्र आकर्षण केन्द्र बनेको छ, शहर । सेक्स म्युजियमको हब बनेको अनुभूत हुन्छ तर यसलाई शिष्ट र शौम्य ढङ्गबाट प्रस्तुत गर्दै प्राकृतिक क्रियाकलापसँग जोडेर हेरिएको छ । प्रतीकात्मक रूपमा ‘भिनस’ देवीको चर्चा सामयिक नै लाग्दछ । कामुकताका अर्थमा लिइएकता पनि प्रजननका आँखाले हेर्दा अन्यथा लिन नहुने मनोविश्लेषणत्मक अभिव्यक्ति भित्र सकारात्मकता आएको छ । लन्डनको योनी म्युजियम लगायत यौन कार्य गरिने ठाउँलाई नकारात्मक दृष्टिले हेरिनु हुन्न भन्ने धारणा प्रस्तुत छ । यौनका बारेमा जानकारी लिनै हुँदैन भन्ने कुरा गर्नै बर्जित छ भन्नेजस्ता सङ्कुचित विचारभन्दा माथि उठेर चर्चा गर्नु सान्दर्भिक लाग्दछ । यौनलाई उद्योग र व्यवसायका रूपमा अबलम्बन गरी त्यसमा संलग्न भए पनि गौरव गर्ने भएपछि कसैले होचो अर्घेलो गर्ने कुरै भएन । बाह्यरूपमा आडम्बरी देखिने अनि भित्रभित्र दुष्कर्मतिर लाग्ने प्रवृत्तिभन्दा पृथक् अर्थमा लिइएको देखिन्छ ।
आम्सटर्डाममा भएका अनेकौं नहरहरूको उचित व्यवस्थापनले शहर जोगिएको र मौलिकताको पहिचानसहित सौन्दर्यपूर्ण रहेको सूच्यात्मक प्रस्तुति उपयुक्त लाग्दछ । क्याटबोट, समलिङ्गी जोडी, उनीहरूको राजधानी र स्वर्ग भनेर चित्रण छ । समलिङ्गी विवाहको चर्चा गर्दै नेपालको स्मरण गरिएको छ र राम्रा कुराभन्दा यस्तै यस्तैमा जकडिएको भनेर व्यङ्ग्य गरिएकोछ । स्वास्थ्य, शिक्षाआदि कार्यमा अन्य मुलुकभन्दा पछाडि परेको भएपनि भ्रष्टाचारमा अग्रता कायम गरेकामा मन कुँडिएको अभिव्यक्ति तिख्खर छ ।
हावा आफैमा गजेडी हुदैन तर लेखकको लेखन शैली फरक छ , नभन्नु पर्ने कुरा सोझै नभनेरै व्यक्त गरिएको छ । राज्यले नागरिकको व्यवस्था गर्न नसकेको अभिव्यक्ति छ । यौनकार्यमा स्रष्टाका निजी विचार आएका छन् ।
जर्मनीमा पाब्लो पिकासोसँगमा, जर्मनीको यात्रा गर्ने क्रममा नेदरल्याण्डको प्राकृतिक स्थितिको चर्चाभित्र धेरै जानकारी पाइन्छ । नेदरल्याण्डस्को एकतिहाइ जमिन समुद्री सतहभन्दा मुनिरहेको जानकारी पाइन्छ । नेपालको प्रसङ्ग छ । मनमा ठूलो पहिरो जान्छ भनिएको छ । पहिरो त पहाडको डाँडाबाट माटो स्खलन हुने हो तर कवि मनबाट भावनात्मक अभिव्यक्ति दिंदै गर्दा अनेक कुरा उठ्छन् । दुःख, सुखका अनुभूति छताछुल्ल हुन्छन् भन्ने अर्थमा केन्द्रित छ ।
महान् चित्रकार पिकासोको म्युजियम मुन्सटर शहरमा स्थापना गरिएको जानकारी पाइन्छ । यस शहरका चोक र सडक किनारमा कलाकार, साहित्यकार, इतिहासकार, दार्शनिक, राजनीतिज्ञ मूर्तिहरू ठड्इाइएको वर्णन छ । द्वितीय विश्वयुद्धमा ध्वस्त भएका यहाँका सुन्दर भवनहरूलाई मौलिकता जोगाउने उद्देश्यले पुनः निर्माण गरिएको सूचना छ ।
जर्मनहरूको अगाध श्रद्धा र प्रेम रहेको देखिन्छ । यात्राकै क्रममा वर्णन गर्दै जाँदा नेपाल झलक्क सम्झनामा आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर शहरका मौलिक संस्कृतिका धरोहरलाई आधुनिक शैलीका भवनहरूले ओझेलमा पारेर कुरूप बनाएकामा चिन्ता व्यक्त गरिएको छ । प्राचीन मौलिकता गुम्ने डरले छट्पटी रहेको अभिव्यक्ति छ । यो अभिव्यक्तिभित्र संस्कृतिप्रतिको प्रेम अकाट्य रहेको पुष्टि हुन्छ । मुन्सटर शहर प्राचीनता आधुनिकता÷नवीनताको संगम बनेको छ । आधुनिकताले स्पर्श गरेको भए पनि ऐतिहासिकता र परम्परालाई जीवन्त राख्न गरिएको प्रयास स्तुत्य रहेको छ । युरोपियन मुलुकहरूको चर्चागर्दै हिन्दूहरू पौराणिक ग्रन्थको चित्रकलाको बयान गर्न रमाएका छन् । पिकासो खोज्दै हिडेको अविरल यात्री पिकासो प्लाजामा भेटिन्छन् म्युजियममा । सन्दर्भ पिकासो छ तर एशिया, मध्यपूर्व र युरोपको कुरा उठाएका छन् ।
रोबर्ट क्यापाले युद्ध पत्रकारका रूपमा युद्धस्थलमा पुगेर खिचेका फोटाहरूले केवल दृश्य चित्रमा मात्र उतारेका छैनन् त्यहाँ त फोटाहरूले युद्धको कथा भनिरहेको अभिव्यक्ति दिएका छन् । फोटाहरूले युद्धको भयाबहता, क्रूरता र मानव पीडाको दृश्य झल्झली देखाइरहेका छन् ।
स्पेनिस पिकासोले जर्मनीमा स्पर्श नगरिकनै त्यत्रो सम्मान पाएकामा ‘विद्वान् सर्वत्र पुज्यते’ भन्ने भनाइले सार्थकता पाएको अर्थमा लिइन्छ । मानवमूल्यसँग निकटता राख्ने कलाले अतियथार्थ र प्रतीकवादलाई कलात्मकता प्रदान गर्ने चित्रकारितामा घनवादको जन्मदाता महान् मानवतावादी कलाकार मानिन्छन् । कलामा श्रमजीवी वर्गप्रति सहानुभूति राखेर चेतना जागृत गराएकाले हुनु पर्छ, रूसले अन्तर्राष्ट्रिय लेनिन शान्ति पुरस्कार प्रदान गरेर उच्च सम्मान गरेको तथ्य खुलस्त छ ।
बर्लिनमा भाइचारा चुम्बनमा, अतीत र वर्तमानको संगमस्थल बनेर आएको छ, बर्लिन । कला, संस्कृति, गीत, सङ्गीत, इतिहास सङ्ग्रहालयको सपनाको शहर । ऐतिहासिक र आधुनिक वास्तुकलाको उर्बर र आकर्षक गन्तब्य । गीत र नृत्य अघाउञ्जेल हेरेपनि नअघाइने सुन्दर ठाउँ । वर्णनमा आकर्षण छ ।
राष्ट्रको पहिचान, त्यहाँको भाषा संस्कार र संस्कृति ऐतिहासिक गौरब हुन् । बर्लिनको पर्खाल जसले एउटा कालखण्डको इतिहासको प्रस्तुति छ । यसले इतिहासको कालो पाटोकोे प्रतिबिम्बन गर्दछ । महाविनासकारी द्वितीय महासमरको सिकार बनेर उभिएको बर्लिनको पर्खाल, कहालिलाग्दो युद्ध विभीषिका बोकेर बस्न अभिशप्त छ । एउटै मुलुकलाई पृथक् गराउन बाध्य भएको अन्धकारमय पीडा अङ्गीकार गर्न पुगेको अवस्थाको मार्मिक इतिहास छ ।
हिटलरी नरसंहारको मारमा परेका यहुदीका पीडादायी कथा र व्यथाले मुटु हल्लाउँछ । अति दम्भले विनास निश्चित छ । हिटलरको उदय र पतन, आतङ्क र विध्वंस सिनेमाका रिल घुमेजस्तै घुमेका छन् स्रष्टाका मेमोरिकार्ड भित्र । विदीर्णपूर्ण इतिहासको स्मरणले थकित र व्यथित बनाएको छ । अखण्ड जर्मनी दुई टुक्रामा विभजित भएको दुःखद् कथा र दुईवटा राजधानीमा विभाजित भूगोल मात्र नभएर मानसिकतामा पनि आघात पुगेको जीवन भोगाइको यथार्थ प्रतिकृति उतारिएको छ । शीतयुद्धको कोपभाजनको चित्रण छ । पर्खालले छाती चिरेर दुई फ्याक लगाएको पीडा त्यत्तिकै दर्दनाक छ । भौतिक सीमाङ्कनले परिवारका सदस्यहरूले भोग्नु परेको मानसिक पीडा बाह्य वर्णनले मात्र सहानुभूतिका डोबहरू मेटिने छैनन् । तर तिनीहरूले कुनै दिन ती दुईका बिचमा एकाकार हुने सपना साँचेर बसेको हुनु पर्छ भन्ने अभिव्यक्ति छ । हिटलरीय क्रूरता, अमानवीय तथा दानवीय व्यवहार, नृसंश हत्या प्रकरणले आफ्नै पतन भएको र आत्म हत्या रोज्नु पर्ने स्थितिले अति गर्दा खति हुन्छ भन्ने भनाइ चरितार्थ भएको छ । अरूलाई दुःख दिंदा आफू आनन्द लिने परपीडक हिटलर क्रूरताको प्रतीक मानिएको छ ।
छुटेर फुटेर होइन एकीकृत भएर मात्र सपना साकार हुन्छन् भन्ने सकारात्मक धारणा राखेका छन्, नियात्राकारले । यहाँको जीवन्त वर्णन गरिरहँदा त्यही भूगोलमा उभिएर प्रत्यक्ष्य प्रशारण गरिरहेको र भिडियो क्यामेराका रिल आँखाका अगाडि आफै रोलिङ भइरहेका छन्जस्तो लाग्दछ । यस्तो सुन्दर प्रस्तुति भित्रको दृश्याङ्कनले आफैं त्यस स्थानमा भ्रमण गरेजस्तै अनुभूति गराउनुले लेखन कलाको उत्कृष्ट शिल्प मान्नु पर्दछ । भ्रमण पछिको वर्णनमा इतिहास बकिरहेको भग्नावशेषको चित्रण छ । प्रस्तुतिको शैली चित्रात्मक रहेको छ । हेर्नेलाई भन्दा भोग्नेलाई भएको पीडाको लेखाजोखा गर्न सकिने कुरा त भएन तर शासकहरूका अहम् र कुकृत्यले शारीरिक मानसिक रूपमा पारेको असर कल्पना बाहिरकै छ । ती नरसंहारकारी शासकहरूप्रति क्रुद्ध हुनुबाहेक के नै हुन सक्छ र ..। एउटै भाषा,जाति र धर्म भएपनि राजनीति नै प्रमुख कारक बनेको तथ्य प्रस्तुत छ । बोन र बर्लिनको पीडादायी कथा र शीत युद्धबाट ग्रसित जर्मनी आन्तरिकतामा युद्धको गह्रुङ्गो सन्त्रास बोकेर बस्न बाध्य भएको स्मृति बिम्ब उतारिएको छ ।
कुनै समयको आतङ्क, विध्वंश, विनास त्यसले सिर्जना गरेको विभाजनले अठ्ठाइस वर्षसम्म जे जति र जुन रूपमा क्षति पु¥यायो तर पर्खाल भत्काएपछि भनें आपसी एकता, समझदारी, सहकार्य र पुनः निर्माणको सन्देशलाई अत्यन्त सकारात्मक पक्ष मान्नु पर्दछ ।
क्षतविक्षत भएर हारको मानसिकता बोकेर जीर्णशीर्ण बनेको जर्मनीमा राजनीतिक रूपले मात्र नभएर पारिवारिक, सामाजिक, पारस्पारिक भाइचाराको विकास गराएर सिङ्गो मुलुकको विकासमा एकजुट हुँदै अगाडि बढ्ने दृढता छ । यी नै निकै महत्त्व राख्ने पक्ष मानिन्छन् भन्ने अभिव्यक्ति दिन सफल भएका छन्, स्रष्टा बजगाईं । यस किसिमको नियतिको शिकार हुनुमा राजनीतिक विषय नै प्रमुख रहेको प्रस्ट छ ।
बर्लिनको भ्रमणमा यात्राका क्रममा जे देखेर जे अनुभूत गरिएको छ तात्कालीन अवस्थामा उनीहरू भित्र मडारिएको पीडा र आर्तनादलाई संवेदनशील भएर प्रस्तुत गरिएको छ । क्यामेराको लेन्सबाट देखिएका दृश्यजस्तै गरी पारखी कलमबाट प्रस्तुत गरिरहँदा नेपालको स्मरण गर्दै भाइचार चुम्बन गर्न किन नसकेको होला भन्छन् । उनका भनाइभित्र विदेशीको नक्कल गर्न सक्छन् भनें नेपालका कम्युनिष्ट पार्टीहरू किन विभाजित हुन्छन् ? भन्दै स्वदेश प्रेमको भावना व्यक्त गर्दछन् ।
पर्यटकहरूको आकर्षक केन्द्र बनेको चार्लीचेक प्वाइन्ट, शीत युद्धको स्मरण, भविष्यमा हुने सम्भावित विनासकारी युद्ध आतङ्कबाट जोगिएको र वर्तमानमा त्रासद् अवस्थाबाट मुक्त रहेर शान्त अवस्थामा बसेको अभिभव्यक्ति भित्र मन शान्त भएको र त्यहाँबाट शान्त मन लिएर शान्तिको कामन गर्दै यात्रा टुङ्ग्याएर गन्तब्यतिर फर्किएको अर्थ भित्र विश्व शान्तिको कामनाप्रति प्रार्थाना रहेको पाइन्छ ।
हिटलरको उदय, दम्भ र पतन छिनका छिनका घटनाजस्ता लागेका छन् । विश्वमा विध्वंश मच्चाउने क्रूर निरङ्कुश हिटलरीय नाजी सत्ताको नाइके आखिर आत्महत्या गर्न बाध्य छ । अति गर्नु अत्याचार नगर्नु भनेझैं आफ्नै अहम् टकराएको छ । विश्व इतिहासमा सत्ता, शक्ति, सङ्घर्ष र विनासको गहिरो घाउ पुनः नदोहोरियोस भन्ने कामना व्यक्त भएको छ ।
हिटलरको यातागृहमा रोएको मन, यो शीर्षकले नै वर्णित विषयले मानवीय सन्त्रास, भयाबहता, विरह, व्यथा, वेदना, मृत्यु र मृत्युसन्दर्भ छ भन्ने अर्थ प्रवाहित छ । यात्रा तय गर्दै गर्दा सम्भावित घटनाको पूर्वसङ्केत छ । उराठलाग्दो र शोक मग्न वातावरणले अँध्यारो पाटो, अपशगुन भएर आएको अनुभूत हुन्छ । जीवन भोगाइ नै सधैं दुःखै दुःख र सोचेजस्तै सधैं सुख नै सुख त कहाँ हुन्छ र ? चाहेजस्तो होस वा नहोस आखिर जीवनमा यात्रा त गर्नै पर्छ ।
जर्मनीको यात्राका केही मनोरम दृश्य पनि अङ्कित छन् । सुन्दर वस्तीको वर्णन छ तर बिगतको कहालीलाग्दो यातना शिविर (कन्सन्ट्रेसन क्याम्प) वर्तमानमा स्मारक र सङ्ग्रहालय बनेको छ । विश्वयुद्धमा घटित घटनाको विवरण, श्रव्य दृश्य सामग्रीहरूले एउटा कालो इतिहासको पर्दाफास गरिरहेको देखाउँछ । विश्वयुद्धकै दर्दनाक हार व्यहोर्न बाध्य जर्मनी र जापानका बिचको तुलना स्तुत्य छ । त्यस समयको साक्षी बनेर बसेका सङ्ग्रहालयले नाजी शासकहरूद्वारा विशेष गरी यहुदीहरूलाई गरिएको नृशंस हत्या र कहालीलाग्दो इतिहासको अत्याचारको कथा भनिरहेको जस्तो लाग्दछ ।
कैदीहरूलाई कैद गर्न कैदीहरूकै रगत पसिनाले बनेका यातना गृह तथा अन्य कामकाजी भवनहरूको निर्माणमा संलग्न भइरहँदा उनीहरूको मनमा उत्पन्न त्रासद् र पीडादायी अवस्था निरङ्कुश शासकको क्रूर व्यवहारप्रति कति धारेहात लगाए होलान् तर बाध्यता र विवशता बाहेक अरू के नै प्राप्त गर्न सक्थे र .. त्यो बेला, भन्ने भाव व्यक्त छ ।
नाजी शासकका कोपभाजनमा परेका देशी विदेशी महिला पुरूष सबैलाई यातनासहित राखिने यातना गृहमा मानवीय भावनाको धज्जी उडाइएको वर्णन भित्र आङ् सिरिङ सिरिङ बनाउँछ । मानवता माथि क्रूर व्यवहारको घिनलाग्दो उदाहरण बनेको अवस्थाले भावुक बनाउन पुगेको चित्रण छ । खान नपाएर मृत्यु वरण गर्नु नाजी शासकका लागि सामान्य लाग्दछ । विरामी हुँदा उपचार नपाउनु र उल्टै उनीहरू माथि नै औषधीको परीक्षण गरिनु निचताको पराकाष्टा नै मान्नु पर्दछ । इतिहासका पानामा साठी लाख यहुदीहरू (महिला,पुरूष र बालबालिकासमेत)को नृशंस हत्या गरिएको घटना मात्र सुनिएको अवस्थामा यो वा त्यो नभनी नाजी शासनको विरोधमा सबैले बाध्यतापूर्वक जीवन समर्पण गर्नु परेको प्रत्यक्ष्य वर्णनले हृदय छिया छिया बनाएको अनुभूत हुन्छ । एक किसिमले भन्ने हो भनें यातना गृह त्यस काल खण्डको क्रूरतापूर्ण इतिहासको अभिलेख रहेको छ । कैदीले भोग्नु परेको यातनाको वर्णनभित्र मानसपटलमा शासकहरूका कुकृत्यको राक्षसी प्रतिबिम्ब आउँछ । कैदीलाई सजाय दिन नाङ्गा खुट्टाले तीखा ढुङ्गामा दोडाउँदा पैतालाबाट बगेको रगतको सन्दर्भ विदीर्णपूर्ण छ ।
अवलोकनपश्चात् कैदीका रगतबाट स्नान गरेर बसेका ढुङ्गाहरू पनि उदास देख्छु भनिएको छ । यसलाई मानवीकरण गरिएको राम्रो उदाहरण मान्नु पर्दछ । यो अभिव्यक्तिसँग जोडिएर आएको दर्दपूर्ण स्थिति स्मरण गर्दा मात्र पनि मन दुखित हुन्छ । यहाँ भएको शब्द संयोजन जादूगरीपूर्ण छ । स्रष्टाले संवेदनशील भएर निर्जीव ढुङ्गाहरू पनि उदास देख्छु भनेको उदाहरण यस्तो रहेको छ ः
‘ट्र्याकमा सजाय दिनका लागि कैदीहरूाई खाली खुट्टा दौडाइन्थ्यो । तिखा ढुङ्गा र उबडखाबड ठाउँमा खाली खुट्टा कुद्नु पर्दा कस्तो पीडा भयो होला तिनलाई । कति रगत बगेहोलान् तिनका पैतालाबाट । कैदीका पैतालाका रगतले स्नान गरेर बसेका ती ढुङ्गाहरू पनि उदास देख्छु । त्यहाँको कहालीलाग्दो कथा सुनेर खङ्ग्रङ्ग भयो मेरो मन (१७३) ।’
यस अभिव्यक्तिमा संवेदना छ । नरसंहारको कथा भनिरहँदा कैदीका मनमा उत्पन्न हुने त्रासद्पूर्ण मनोविज्ञान मृत्युभन्दा कहालीलाग्दो भएको अभिव्यक्तिले द्रबित बनाउँछ । कैदीकै अगाडि अर्को कैदीलाई यातनापूर्वक झुण्ड्याउँदा वा अन्य तरिकाले मृत्यु दण्ड दिएको अवस्थामा कस्तो हुन्छ मन...। अब आफ्नो पालो कति बेला आउला भनेर भयभित हुँदा देखिने मनोभाव कस्तो हुँदो हो भनेर कल्पना गर्दा मन नै सिरिङ भएको प्रस्तुति भित्र नै एक किसिमको अदृश्य पीडा देख्न सकिन्छ । यहाँ स्रष्टा भन्छन्ः कैदीहरूलाई झुण्ड्याएर मारिने स्थानमा पुग्छु । यस स्थानमा कैदीहरूलाई अरू कैदीकै अगाडि मारिन्थ्यो ! मेरो मन सिरिङ भयो (पृ.१७४) ।
कैदीहरूको श्रम शोषणको प्रसङ्ग र मृत्यु सन्त्रासले मृत्यु बोधको स्मरण गराउँछ । आफन्तलाई सखाप पार्ने गोला बारूद बनाउन पर्दाको अवस्थामा वरिपरि नै मृत्यु मडारिरहेको चित्रण विदीर्णपूर्ण देखिन्छ । बेलायतलाई ध्वस्त पार्न नक्कली पाउण्ड जर्मनीले छाप्ने षडयन्त्रपूर्ण कुख्यात काण्ड डरलाग्दो नै मान्नु पर्दछ ।
विश्वयुद्ध समाप्ति पछि पनि रूसी गुप्तचर संस्थाले अड्डा जमाएको, साठी हजारलाई बन्दी गृहमा कैद गरिएको अवस्थामा बाह्र हजारको मृत्यु भएको दुःखद् सूचना सम्प्रेषित छ । त्यस समयको क्रुरताको प्रतीकका रूपमा खडा गरिएको चालिस मिटर अग्लो स्तम्भ, निराश सैनिकका मूर्ति अनि उदास मुद्रामा स्तम्भ र त्यहींभित्र असङ्ख्य दुःख पीडा तथा यातनाका डोबहरू मृत्यु वरण गर्नेहरूप्रति श्रद्धाभाव प्रकट छ । यो दर्दनाक र अद्भूत दृश्यचित्र लाग्दछ ।
अघिल्लो पुस्ताका निरङ्कुश शासक वर्गले गरेको नरसंहारकारी कार्य तिनीहरूले गरेको बर्बर आतङ्क, पूर्वजहरूले भोगेको पीडा, पाएको दण्ड र अन्त्यमा कहालीलाग्दो घटनाचक्रले हृदय विदारक बनाएको दुःखद् प्रसङ्ग समेटिएको छ । यसलाई मानिसद्वारा मानिस माथि नै गरिएको बर्बरतापूर्ण हत्या मानवता बिहीन कार्य मानिन्छ । मानव अनुहारका जङ्गली र दानवका काला करतुतलाई आफैंले नजिकबाट नियालेर गरेको लिखित बयान छ, यस दस्तावेजमा । घटनाको साङ्गो पाङ्गो बर्णन गरेर गह्रुङ्गो मन लिएर तात्कालीन यातना गृहबाट विदा भएको उल्लेखले जुनसुकै मानव मन आद्र बन्न सक्छ । यो घटना विश्व इतिहासमा अँध्यारो पाटाका रूपमा अङ्कित छ ।
हाम्बर्गमा बिटल्सलाई खोज्दामा,कुनै समय स्वतन्त्र राज्य रहेको हाम्बर्ग अहिले जर्मनीको दोस्रो ठूलो शहरका रूपमा परिचित छ । पोल्याण्ड र डेनमार्कको गिद्दे दृष्टिभित्र परेर बौरिएको हाम्बर्ग वर्तमानमा प्राचीनतालाई अक्षुण्ण राख्दै सुन्दर शहरको परिचय पाएर बसेको वर्णन छ । आन्तरिक बाह्य पर्यटकलाई आकर्षण गर्ने क्षमता राख्दछ । जलयात्रा, घुमघाम आत्मीयता आदानप्रदान मनोरञ्जन आदिको चर्चा गर्दै गर्दा नजिकिन्छ एल्बे नदी ।
चेक रिपब्लिक हुँदै आएको नदी उत्तरी समुद्रमा मिसिन पुगेको स्मरण भित्र नेपालका हिमाल र पहाडको गर्भगृहबाट निस्केर बग्दै बग्दै भारतीय भूमितर्फ लागेको यथार्थबाट स्वधर्ती स्मरणको झल्को प्राप्त हुन्छ । यही नदीले बाह्य जगत्लाई जोड्दै हाम्बर्गको आर्थिक उन्नतिमा सहायक सिद्ध बनाएको पगरी गुथेर बसेको छ । हाम्बर्गको समृद्धिमा सहायक सिद्ध बनेको एल्बेले कति कति बेला इटलीको भेनिसको झल्को प्रदान गर्दछ । व्यस्ता एल्बे माथि दौडिरहेका छन् बोट र फेरीहरू । व्यापार व्यवसाय र पर्यटनको प्रचुर सम्भाबना रहेको शहरले आग्रह गर्दै भनिरहेको छ, ‘आउ, बस, घुम र स्पर्श गर ।’ यहाँनेरको वर्णनमा कलात्मकता, कथात्मकता, काव्यात्मक छ । स्थानीयताको समिश्रण छ । आकाशबाट पर्न लागेको पानी र एल्बे नदीमाथि दौडिरहेको फेरी मुनिको पानीको बगाइलाई काव्यात्मक अभिव्यक्तिसाथ व्यक्त गरिएको छ । यहाँको आनन्दमयी क्षणको अनुभूति गर्दै लेखक भन्दछन् ः ‘माथि पनि पानी र मुनि पनि पानी ...यो कस्तो जिन्दगानी ? (१८०) ।’ गेयगुणले भरिपूर्ण कविताले गीति गुण अङ्गाल्छ । हाम्बर्गको आफ्नै संस्कार छ । संस्कृति छ । मानिसलाई सहृदयी बनाएर सम्मान गरेर उसको मन जित्न सकिने फराकिलो सोच विकास गराएको छ । यहाँ सबै किसिमका परिदृश्य प्रतिबिम्बित छन् ।
बिटल्सको खोजीमा हिड्दै गदार्, पुस्तकालय सहितको चर्चा छ । पठन संस्कृतिको अबलम्बन सराहनीय लाग्दछ । यात्री बसमा किताव पढ्ने सुबिधाको व्यवस्था हुनु अनौठो सकारात्मक पक्ष मान्नु पर्दछ ।
बिटल्स चोकमा चारजना कलाकारको आकृतिले पूर्वस्मरण गराएको सन्दर्भ आएकोछ । बेलायतमा बिटल्सब्याण्डको ‘रक एन्ड रोल’ ले लाखौ. करोडौं प्रशंसक प्राप्त गरिसकेको भए पनि यसमा हाम्बर्गको योगदान उल्लेख्य छ ।
कलाकार बिटल्स र त्यस टोलीका अन्य कलाकारको कला प्रस्तुतिले विश्वव्यापि ख्याति कमाएको वर्णन छ । हाम्बर्ग र बिटल्स एक अर्काका पुरक रहेको उल्लेखभित्र कला र मनोरञ्जन अनि त्यसैले मानिसको मन जित्ने कुरासम्म सविस्तार आएको छ ।
लन्डिनियमका अठारवटा नियात्राले एउटा सुन्दर फूलबारीका सयौं फूलहरूको प्रतिनिधित्व गरेका छन् । यी वासनादार फूलहरूले सौन्दर्यको पारख गरेका छन् । यिनले पुरातत्व, इतिहास, समाज, धर्म, सभ्यता, कला र संस्कृति, रीति, थिति, रहनसहन, भाषा, साहित्य, प्रकृति, राजनीति, भूगोल आदिको प्रसङ्गगत प्रयोगमा स्थान पाएका छन् । फुक्कीफाल भएर यात्रामा निस्केको यात्रीले आफ्ना अगाडि जे जे देख्यो त्यसलाई यात्राको विषय बनाएर अनुभूतिमा आएका कुरालाई एउटा विशाल कल्पनाको संसार खडा गरेर भाषा र भावको संयोजन गरी सत्य तथ्यको मौजी मसलाले मोलमाल गरेर स्वादिस्ट बनाएको छ । बजगाईंद्वारा स्थानगत परिवेशलाई आत्मसात् गरी लन्डिनियममा धर्म÷कर्म निर्वाह गरिएको छ । खास गरी धेरै नियात्रामा विदेशी परिवेश केन्द्री र कुनै कुनै नियात्रामा स्वदेशी विदेशी संस्मरणकेन्द्री रहेको छ । कतिपयमा त आफ्नो जन्मभूमिप्रतिको प्रेम तुलनात्मक प्रस्तुतिमा आएको छ । विषयवस्तुको प्रस्तुतिका सन्दर्भमा प्रसङ्ग मिल्दो ढङ्गले अन्वित भएर आएका छन् संस्मरणहरू । यस किसिमका प्रस्तुति धेरथोर जे भए पनि सघन रहेका छन् ।
भिन्न भिन्न ठाउँमा यात्रारत रहँदा स्थानगत परिवेश पनि भिन्न भिन्न हुँदा तत्तत् स्थानको जाति,, धर्म, संस्कृति, भाषाआदिको प्रतिबिम्ब उतारिएको छ । पाठक पछि पछि दौडेको अनुभूति हुन्छ । संस्कृति आफैंमा एउटा जीवन शैली भएकाले विविधताको प्रस्तुति हुनु स्वाभाविक मानिन्छ । ठाउँअनुसारको रीति थिति, रहनसहन, चालचलन खानपान, धर्म संस्कृति सन्दर्भगतरूपमा आएका छन् । हाम्बर्गको यात्रामा हाम्बर्गरको प्रसङ्ग यसको राम्रो उदाहरण हो ।
यायावरीय प्रस्तुतीकरणमा विषयअनुसार ऐतिहासिक सन्दर्भहरू पनि खोतलिएका छन् । तथ्यपरक प्रस्तुतिभित्र आएका विषयले पाठकलाई नयाँ कुराको जानकारी पनि प्राप्त भएको छ । यसमा रोमन कालीन सभ्यता, संस्कृति र इतिहास अभिलेखीकरण भएर आउनु पाठक लाभन्वित हुनु हो भन्ने लाग्दछ । जुनसुकै भ्रमणको नालीबेली प्रस्तुतिमा पाठकलाई आफूसँगै यात्रा गराउन बजगाईं सफल भएका छन् । इतिहासको प्रस्तुतिसँग जोडिनु भन्नुको तात्पर्य ठाडो यात्रा वर्णन मात्र होइन । इतिहास मास्ने ढलाउने, नामेट गर्ने प्रयत्न नहोस, यस्तो भूल गर्न हुँदैन । यथोचित सम्मान गर्नु पर्दछ भन्ने दृष्टिकोण रहेको छ । लन्डिनियमले पनि त्यसरी नै प्राचीनतालाई कायम गर्न खोज्नु प्रशंसनीय कार्य मान्नु पर्दछ । इतिहाासको गौरव कायम राख्नु राम्रो हो तर यसलाई दुत्कार्नु हानीकारक बन्न सक्छ भन्ने सङ्केत प्राप्त छ । इतिहासले समाज, परम्परा, संस्कृतिलाई जर्गेना गर्छ ।
कोलम्बस, भास्कोडीगामा, हुयानसाङ आदिका यात्राका चिरस्मरणीय ऐतिहासिक तथ्यले पाठकमा विषयको जानकारीका साथै तीब्र जिज्ञासा पलाउँछ त्यसलाई आत्मसात् गरेर घरै बसीबसी विश्व भ्रमण गरेको आनन्दानुभूति दिलाउनु नियात्राकार बजगाईंको विशेषता हो ।
यसमा यथार्थको चित्रणका साथै कल्पनाको खोलो खोल्सो तथा सागर नै बगाउन सके सार्थकता प्राप्त हुन्छ । महाभारतका कृष्णका अपारलीला भएजस्तै कल्पनाको संसार खडा गरेर अर्का कृष्णले प्रस्तुतिलाई रोचक बनाएका छन् ।
नियात्रामा पनि आख्यानमाजस्तो कुनै न कुनै रूपमा पात्रको प्रस्तुति हुन्छ नै ती पात्र र विषयको संयोजनबाट कुनै स्थान र परिवेशको चित्र उतार्दै चित्रात्मक अनुभूति दिएर कलात्मक पक्षलाई खँदिलो बनाएको पाइन्छ ।
नियात्राले बिम्ब, प्रतीक, उपमा, रूपक, अलङ्कार र मानकीकरणको पनि स्वाभाविक रूपमा अपेक्षा गर्दछ त्यसको थोर बहुत संयोजन गरेर बजगाईंले हरेक ठाउँमा आफूसितै तानेका छन् । उपमा अलङ्कारमा उपमान, उपमेय,सादृश्य र धर्मका बिचमा अन्योन्याश्रित सम्बन्ध कायम रहने हुन्छ । उपमाको प्रयोगबाट अभिव्यक्ति कसिलो, खँदिलो, खिरिलो र प्रभावपूर्ण बन्ने हुन्छ । यहाँ उपमाको प्रयोग यसरी भएकोे छ ः मोतीजस्ता पानीका मसिना दानाहरू । फूलजस्तै म पनि मुस्कुराएँ । कवितारूपी औषधीका बोतलहरू । वैंशालु युवतीजस्तै मुसुक्क मुस्कुराएको छ वर्लिन’आदिलाई नमूनाका रूपमा लिन सकिन्छ । यस किसिमका प्रयोग लन्डिनियमभित्र यत्रतत्र नै छन् ।
मानवीकरणको तात्पर्य नियात्रामा वर्णित विषयभित्र मानवेत्तर वस्तुलाई मानवीकरण गरेर अभिव्यक्तिलाई सुन्दर बनाउनु हो । नियात्राकारले मानवेत्तर बस्तु नदी, खोला, पुल पुलेसा, बस, पानी, आकाश, बादल, ढुङ्गा, बालुवा, हावा, बतास, रेल, गाडी आदिको प्रयोग गरी घुमाउरो प्रस्तुति दिइन्छ । अङ्ग्रेजीको टेक्चर शब्दलाई नेपालीमा रूपान्तर गर्दा रूपविन्यास वा बुनोटको अर्थमा लिइन्छ । यसले संरचनाका लागि निश्चित आधार वा आकृति दिन्छ । बृहत् रूपविन्यासभित्र उपमा, रूपक, बिम्ब, प्रतीक,पूर्व प्रसङ्ग, व्यङ्ग्य, विचलन, मानवीकरण, अन्योक्तिमूलक प्रयोग, लक्षणा, उच्च प्रयुक्ति, उखान टुक्का आदिको प्रयोग गरिन्छ ।
यहाँ मानवीकरणको प्रयोग सबैभन्दा बढी गरिएको छ । ‘कफी मेरो टेबलमा आइपुग्छ’ । ‘गुनगुन सुनिरहेको छ,सडकले’ । ‘पानीले गुनगुनाउँदै होला वैंसालु गीत’। ‘टायलका छाना भएका होचा घरहरू आफ्नो जवानी सम्झेर बसिरहेका छन्’ । ‘के सम्झेर बहँदो हो त्यो पानी ?' ‘ सुनिरहेका छन् हाउस बोटले गाडीका हल्ला’ । ‘कविताका सङ्लो नदी फैलिन्छ मनभरि’ । ‘थेम्स नदीको पानीमा आफ्नै मुहार हेर्दै बसेको छ शेक्सपियरको मन्दिर’ । ‘मन्दिर बाहिरको चौरका घाँसहरू घाम तापिरहेका छन् । ‘उतिबेलाका ती बालुवाले सायद कैयौं मानिस र जनावरका रगत पिएका होलान्’ । ‘बरू बादल र बर्षाले पो पीर मानेकि आफूभन्दा माथिबाट जहाज उड्दा ।’ ‘ कालो बादल बेपत्ता दौडिरहेको छ’। ‘पच्चीस वर्षदेखि चुटिरहेको छ, युरोपको घाम पानीले मलाई’ । ‘ दौडिरहेछन् सफा पानी नहरहरूमा’ । ‘साउती मारिरहेछ कानमा बतासले’ ।‘ चलिरहेको हावाले कानमा सुनायो हत्याका भयङ्कर कथाहरू’ । ‘ घाम पानीसँग जिस्किदै पुगेथ्यो ट्रेन हाम्बर्ग’ । ‘हार्दिकतसाथ स्वागत गर्छ हाम्बर्गले हरेकलाई ।’ ‘हामीलाई पनि खुला हृदयले स्वागत गरेथ्यो ।’ ‘अझ यहाँ भित्रिने हरेक पानीजहाजलाई विशेषरूपमा स्वागत गर्छ हाम्वर्गले आदि प्रशस्त मात्रामा मानवेत्तर÷निर्जीव वस्तुलाई मानवीकरण गरिएका उदाहरणहरूले अभिव्यक्तिलाई सघन बनाएका छन् ।
खुत्रुकखुत्रुक, लमकलमक, सिरिङ, सिमसिम, लचक्क, गड्याङगुडुङ आदि अनुकरणात्मक शब्दले प्रस्तुति सुमधुर बनेको छ ।
अभिव्यक्तिमा अङ्ग्रेजी शब्दहरू बाथ, पोएट्री, वाक, बुकबार, क्रेज, प्रेस्क्राइब, प्रेस्क्रिप्सन, क्याप्सुल, फिक्सन, नन फिक्सन, ट्रेन, स्टेसन, वाटर ट्याक्सी, पेन्टिङ, अण्डरग्राउण्ड, कन्सन्ट्रेसन क्याम्प, एल्लो हाउस, पोटेटो इटर्स, सेल्फ पोट्रेट, डिप्रेसन, ट्राजेडी, कर्नर, नेचुरिस्ट, स्टार्ट, आदि र हिन्दीको नजर आएको छ । वैदिक संस्कृतमा रचना भएको शान्ति मन्त्रलाई नेपालीमा रूपान्तर गरिएको समेत गरी चारवटा भाषा प्रयोग गरिएको छ । नेपाली भाषाको गोर्खाली भाषिकाको पूर्वेली प्रभाव हिडिबसेको छु खाइ बसेको छु, हेरिबसेको छुको प्रयोगजस्तै एक ठाउँमा ‘गाडीको हल्ला सुनिबसेको देख्छु यहाँका पुराना घरहरूले’(५५) । यस किसिमको प्रयोगमा मानक विचलन भए पनि अर्थमा भिन्नता भनें देखाएको पाइँदैन बरू श्रुतिमधुरताको अनुभूति गरिन्छ । विधा भञ्जन÷विधा मिश्रण प्रशस्त भएका उदाहरण छन् । सन्दर्भअनुसार कविता, गीत, हाइकु, संवाद, मनोवादको प्रयोग उपयुक्त नै लाग्दछ । मनमा बागमती बग्दैन तर बग्न थालेको प्रसङ्ग मिठो छ । मिथकीय प्रयोग पनि त्यत्तिकै महत्त्व राख्ने रहेको छ ।
समग्रमा लन्डिनियममा नियात्राकार बजगाईंले रोमन सभ्यता, कला संस्कृति, ऐतिहासिक सन्दर्भको प्रस्तुति, वस्तुपरक अभिव्यक्ति भित्र कल्पनाशीलता, यथार्थलाई चित्रात्मक ढङ्गबाट वस्तुपरक यथार्थको नालीबेली, युद्धको दीर्घकालीन असर, नाजी शासकका क्रूरतापूर्ण अमानवीय व्यवहार र त्यसले उत्पन्न गराएको मानवीय अन्तरद्वन्द्व बढी पेचिला बनेर आएका छन् । नियात्राकार आफै गतिशील भएर हिडेका छन् त्यसका हाराहारीमा नियात्रा पनि आफै दगुरेकोजस्तो लाग्दछ । प्रस्तुतिको यो कलात्मक पक्ष नै बजगाईंका नियात्रागत विशेषता मानिन्छन् । पूर्व दीप्ति, स्वधर्ती प्रेम, स्थानीयताको चित्रणका साथै कला, साहित्य, सङ्गीत,धर्म संस्कृति, जनजीवन, रीति रिवाज,शैक्षिक, नैतिक, धार्मिक, प्राकृतिक, सामाजिक, भौगोलिक, उद्योग, व्यापार, कृषि, स्वास्थ्य, आदि विविध पक्षको जीवन्त चित्रण यस कृतिका महनीय पक्ष मानिन्छन् । शब्द र वाक्य विन्यासमा जादूगरी छ भनें भाषा प्रयोगमा सरलता, सहज सम्प्रेष्यता र अभिव्यक्तिमा चुम्बकीय बान्की छ । कतिपय नियात्राको विषयको चयनमा किन रूचि देखाएको होला भन्ने प्रश्नको उत्तर खोज्दाखोज्दै त्यसको तर्कपूर्ण पुष्टि दिने आधार दिएर सत्यतामा रूपान्तरित गराउँछन् । यात्राका क्रममा पनि नचिनेका नजानेका मानिसलाई कुनै न कुनै किसिमले संवादमा तान्ने आकर्षक कला छ । यात्रारत ठाउँको नाउँ रहनुको कारण, संस्कार संस्कृति, काम क्रियाकलापआदि नालीबेलीबुझी पाठकलाई पस्कन्छन् । यस सङ्ग्रहका प्रायः सबै नियात्राले त्यस धर्मलाई निर्वाह गरेका छन् ।
कहिले काहीँ बर्जित ठाउँमा जाउँ नजाउँ भन्दै पुग्दछन् र त्यसको फेहरिस्त प्रस्तुत गर्दछन् । सबै नियात्रामा समयको निश्चित अङ्कन गराएको छ । यसले ऐतिहासिक सन्दर्भ र सूचना प्रदान गर्दछ साथै विश्वसनीयता दिलाउन सहयोग पु¥याएको छ । स्वधर्म, स्वधर्ती, स्वसंस्कृतिप्रतिको अगाध स्नेह प्रतिबिम्बित छ । लेखाइका क्रममा डायस्पोरिक जीवन भोगाइ र पीडाको अभिव्यक्ति ठाउँ ठाउँमा अभिलिखित छ । रोमनकालीन तथा द्वितीय विश्वयुद्ध कालीन मानव जीवन खण्डहर÷खण्डित बनेको अर्थमा लिनु पर्ने हुन्छ । यद्यापि मानवीय पक्ष प्रबल भएर आएको छ । शारिरीक र मानसिक प्रताडनामा परेकाहरूप्रति सहानुभूति प्रकट छ । ठाउँ ठाउँमा रागात्मक भाव व्यक्त छ तर शिष्ट र शालीन छ ।
नेपाली नियात्राको इतिहासतर्फ फर्केर हेर्दा पहिलो मानिएको नियात्रा लेखन राजा गगनिराजको यात्रा (वि.सं.१५५०) लाई पृष्ठभूमि काल मान्दै सुवेदार मेजर शेरसिंह रानाको मेरो लन्डन राजतिलक यात्रा (वि.सं. १९७०) हुँदै वर्तमानसम्म आइपुग्दा शैली निर्माण, तथ्यपरकता, विषय र परिवेशमा व्यापकता, आत्मपरक प्रयोगतर्फ उन्मुखता, भाषिक अभिव्यक्तिमा शालीनता, शैलीगत विशिष्टता, विषयवस्तु र भावको सन्तुलित समन्वय, स्थानीयताको वर्णन, कुतूहलता, कल्पनाशीलता, तुलनात्मकता, सन्देशमूलकता, जीवन्तता, स्वच्छन्दता, रोचकता, चित्रात्मकता, स्वधमर्, स्वधर्ती, भौगोलिक र सांस्कृतिक पक्षको समन्वयात्मक अभिव्यक्तिका कसीमा लन्डिनियम खरो रूपमा प्रस्तुत भएको छ । पुरातात्विक, ऐतिहसिक, समाजशास्त्रीय र सांस्कृतिक दृष्टिले यो कृति नियात्रा विधाकै पृथक् प्रस्तुति दिन सफल भएको छ ।
विषयको चयन, सरल सम्प्रेष्य काव्यात्मक भाषा शैली र कुतूहलतापूर्ण प्रस्तुतिले पाठकलाई स्वस्फूर्त रूपमा दौडाइएको छ । पाठकले पनि आफू मौरीको महको स्वाद प्राप्त गर्न पाएकामा धन्य ठानेको छ भन्ने लागेको छ । सारमा नियात्रा ऐतिहासिक, कारूणिक, मार्मिक, संवेदनात्मक, सन्देशमूलक, चित्रात्मक र पठनीय रहेको हुँदा नियात्राकार स्रष्टा बजगाईंलाई बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।
सूर्यविनायक २, बालकोट भक्तपुर ।