19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार विमला प्रधान जोशीसँग एक सृजन संवाद

वार्ता बैद्यनाथ उपाध्याय July 25, 2026, 2:10 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

भारतीय नेपाली साहित्यमा संवेदनशील कवि, समालोचक तथा बालसाहित्यकारका रूपमा परिचित विमला प्रधान जोशीको जन्म २६ जनवरी १९६० मा दार्जिलिङ जिल्लाको कालेबुङमा स्व. रत्नाकुमारी प्रधान र स्व. नहकुलमणि प्रधानकी सुपुत्रीका रूपमा भएको हो। शिक्षाप्रति समर्पित व्यक्तित्व जोशीले स्नातक तहसम्म अध्ययन गरी जुक्तिमान प्राथमिक पाठशालामा शिक्षिकाका रूपमा दीर्घकालीन सेवा पुर्‍याइन्। हाल उनी अवकाशप्राप्त शिक्षिका भए पनि साहित्य, समाजसेवा र सांस्कृतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएकी छन्। उनका पति दिलिप जोशी हुन् र हाल उनी नागरी फार्म चियाबारी, दार्जिलिङमा बसोबास गर्छिन्। विमला प्रधान जोशीको साहित्यिक यात्रा सन् १९८४ मा ‘फूल’ शीर्षकको कवितामार्फत भएको हो। त्यसयता उनले कविता, बालसाहित्य, व्यक्तित्व–कृतित्व तथा समालोचनाका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। उनका प्रकाशित कृतिहरूमा ‘ऐनाभित्र जिन्दगीको रङ्ग’ (कविता सङ्ग्रह, २०२०), ‘राङभाङ भेगका सर्जक र सृजना’ (व्यक्तित्व–कृतित्व, २०२३), ‘कोपिलाहरू’ (बाल कविता सङ्ग्रह, २०२४) र ‘सर्जक र सृजनाहरूको चर्चा’ (समालोचना, २०२४) विशेष रूपमा उल्लेखनीय छन्। उनका रचनामा मानवीय संवेदना, सामाजिक यथार्थ, जीवनका विविध रङ्ग, बालमनको सरलता तथा साहित्यिक मूल्याङ्कनको सन्तुलित दृष्टि पाइन्छ। सिर्फ लेखनमा मात्र सीमित नरही उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थासँग आबद्ध रहेर साहित्य र समाज सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनी नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, ‘बसुधा’ भारतीय नेपाली नारी साहित्यिक मञ्च, त्रिफला अन्तर्राष्ट्रिय पुस्तकालय, सृजनाञ्जली वैचारिक मञ्च लगायतका संस्थाकी सदस्य हुन् भने मानव उत्थान सेवा समिति, मिरिक तहसिलको नागरी शाखाकी अध्यक्षका रूपमा पनि कार्यरत रहेकी छन्। उनको साहित्यिक, शैक्षिक तथा सामाजिक योगदानको कदर गर्दै भारत र नेपालका विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले सम्मानित गरेका छन्। कला साहित्य संस्थान नाम्ची, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन शिक्षा विभाग, नेपाली साहित्य सम्मेलन दार्जिलिङ, जंगवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान नेपाल, दुलियाजान कला–साहित्य मञ्च आसाम लगायतका प्रतिष्ठित संस्थाबाट प्राप्त सम्मानहरूले उनको सिर्जनात्मक योगदानको व्यापक स्वीकृतिलाई प्रमाणित गर्छन्। शिक्षण, साहित्य सिर्जना, समालोचना, बालसाहित्य र समाजसेवाको सन्तुलित समन्वय गर्न सफल विमला प्रधान जोशी भारतीय नेपाली साहित्यकी समर्पित स्रष्टा हुन्। उनका कृतिहरूले नेपाली साहित्यलाई समृद्ध बनाउँदै नयाँ पुस्तालाई सिर्जना, संस्कार र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गरिरहेका छन्। साहित्यप्रतिको उनको निष्ठा, समाजप्रतिको समर्पण र सृजनाप्रतिको निरन्तरताले उनलाई समकालीन भारतीय नेपाली साहित्यमा सम्मानित र विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गरेको छ। प्रस्तुत छ यहाँ उनीसँग गरिएको साहित्यिक कुराकानी-

वैद्यनाथ उपाध्यायः हजुरको लेखनको शुरूवात कहिले र कसरी भयो?
विमला प्रधान जोशीः अस्सीको दशकतिर जब म बाह्रौं कक्षाको खुड़किला पार गर्दै जाँदा साहित्य भन्ने नामको बीज अंकुरित भएको हो। उसबेला कवि गोष्ठीहरूमा, भानु जयन्तीमा भाग लिने अवसरहरू प्राप्त भए। मनमा बढ़दै गएको अङ्कुरलाई मलजल तथा गोड़मेल गरी बिरूवासम्म बनाईदिने सहयोगी मनहरूको नाम लिनु पर्दा नर बाहादुर दाहाल, भगीरथ रावत, हर्क बाहादुर छेत्री, अरूण प्रकाश राई आदिलाई आज सम्झनामा राखेकी छु। यसरी एकदिन भानु जयन्तीमा पठनको निम्ति एउटा कविता रचेकी थिएँ। जुन रचना नर बाहादुर दाज्युलाई देखाएकी थिएँ। त्यो कविता हेरेर दाज्युले श्याबासीको थपथपाहट दिनुहुँदा दर्पले गद्गद् भएकी थिएँ। जुन कविताको शिर्षक थियो फूल। जहाँसम्म मलाई थाह छ उसबेला नेपाली पत्रिका बैंशालु खुबै लोकप्रिय थियो। नर बाहादुर दाज्युले त्यो कवितालाई त्यसै पत्रिकामा प्रकाशित गरिदिनुभएछ। यसरी आफ्नो सृजना पहिलोपल्ट प्रकाशित हुँदा अति हर्षित भएकी थिएँ।

वैद्यनाथ उपाध्यायः हजुर किन लेख्नुहुन्छ?
विमला प्रधान जोशीः वर्तमान समयमा हाम्रो समाजमा कुरीति-रिवाज, कुसंस्कारहरूले जरो गाड्न पुग्दा नै वर्तमान स्थितिहरू दुर्भाग्यपूर्ण बन्दै गइरहेका छन्। यसरी युवावर्गमा भ्रम र दुविधाहरूले मस्तिष्कमा प्रभाव पार्नु नै कुसंस्कारको प्रादुर्भाव हुनु हो। यदि आजको युवा जमातहरूबाट शान्तिमय, समृद्धिशाली साँचो स्वच्छ प्रेममय र सदाचारमय जीवनशैली चाहन्छौं भने त्यस्तै संस्कार हामीले हाम्रा सन्तानहरूलाई दिन सक्नुपर्छ। यसरी आफ्नो उब्रेको समयलाई यस्तो ज्ञानमय लेखहरू लेखेर, लेखकहरूले कृतिलाई मनन, चिन्तन गरेर उनीहरूले दिएको योगदानको मुल्यांकन गर्दै दुइ शब्द लेखेर उनीहरूको ओठमा थोरै भएपनि मुस्कान ल्याउनलाई नै कनिकुथी केही लेख्ने बानी बसालेकी छु। यसरी लेख्दा आफैं आनन्दित हुने गर्दछु।

वैद्यनाथ उपाध्यायः हजुरको लेखनमा आफुले भोगेको भोगाईको के कस्तो प्रभाव छ?
विमला प्रधान जोशीः हाम्रो जीवन विविधताले भरिएको भूगोल हो। जहाँ प्रत्येक जन-जीवन आफैंमा एउटा जिउँदो कथा हो। हामीले भोगेका कतिपय भोगाईहरू, कथा-व्यथाहरू लेखिदैंनन्। ती कथाहरू मौन रहन्छन्, गुम्सिन्छन्, हराउँछन्। साहित्य तिनै मौन कथाहरूको खोज हो। हाम्रो लेखाईले, सृजनाले समाजलाई मात्रै होइन स्वयंलाई पनि परिवर्तन गर्छ। लेख्दा लेख्दै लेखकहरू गहिरो हुन्छ। भोगेको विषय-वस्तुलाई भावनात्मक ढ़ंगमा पस्किने काम पनि हुने गर्छ। साहित्यले न त केवल मनोरञ्जन दिन्छ न त केवल ज्ञान। यसले विवेक दिन्छ। आजको युगलाई चाहिएको सबैभन्दा ठुलोकुरा विवेक हो। यही विवेकद्वारा समाजलाई चाहिने खुराक दिनु एउटा साहित्यकारको धर्म हो।

वैद्यनाथ उपाध्यायः जीवनमा के बन्छु भनेर सोच्नुभएको थियो र अहिले के बन्नुभयो?
विमला प्रधान जोशीः मानव जीवनको आरम्भ अनुभवहीन हुन्छ। तर जब शिशुको रूपदेखि युवावस्थामा पुग्छौं तब जीवनमा घटेका घटना तथा परिवेशको माध्यमबाट अनुभव अर्जित हुँदछ। मानिसको जीवनमा आ-आफ्नै प्रकारका गाह्रो-अप्ठ्याराहरू हुन्छन् तर मेरो जीवनमा त्यस्तो केही भएन। बी.ए. सम्मको शिक्षा हासिल पछि शिक्षिका हुने रहर पुरा भयो। यस पेशाबाट अवकाश लिएपछि जीवनको यात्रामा भेटिने अनेकौं गौंड़ाहरू उक्लेपछि समयले हुत्याएर गोधुली रङ्गमा छ्याप-छ्याप्ति भिजेको डाँडामा आइपुगेपछि वाक्य सृजनाको रफ्तार बढ़ेको छ।

वैद्यनाथ उपाध्यायः के आफ्नो वर्तमान जीवनप्रति सन्तुष्ट हुनुहुन्छ?
विमला प्रधान जोशीः मानिसले यस संसारमा जन्म लिएर आएपछि भोग्नुपर्ने जीवन भोगाईका सत्यताहरू कतै केही क्षण अडन नपाई निर्बाध निरन्तर हिँडिरहनुपर्ने वाध्यताका प्रतिविम्बहरू नै जीवनका पर्याय हुन्। यसैले वर्तमान जीवन प्रति सन्तुष्ट छु।

वैद्यनाथ उपाध्यायः पारिवारिक जीवन र लेखकीय जीवनमा कसरी तालमेल राख्नुहुन्छ?
विमला प्रधान जोशीः मानिसका जीवनमा आ-आफ्नै पाराको गाह्रो-अप्ठ्याराहरू हुन्छन्। जीवनको गोरेटोमा हिँड़दै गर्दा अनेक प्रकारका तानाबानामा बुनिएरै अघि बढ़नु पर्ने हुन्छ। परिवारमा भइरहने जाल-जञ्जालहरूलाई अलिक पर सारेर आफ्नो लेखकीय धर्मलाई प्राथमिकता दिएर समय दिने गर्छु। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तो आफूलाई आनन्द दिने खुराक नै साहित्य भएकै कारण यस क्षेत्रलाई अंगालेर आइरहेकी छु।

वैद्यनाथ उपाध्यायः हाम्रो समाजमा एकजना लेखक हुनुमा के कस्तो जटिलता र सरलता देख्नुहुन्छ?
विमला प्रधान जोशीः हामी सामाजिक प्राणी हौं। समाजमा बसिसके पछिका सामाजिकता र सामाजिक संलग्नता अर्कोतिर जीवन-जगतका जाल-जञ्जालहरूमा झेलिनु पर्छ। यस्तो क्रममा एकजना लेखक भएर लेखकीय धर्म निभाउनु धेरै गाह्रो हुन्छ। तर पनि हामी शिक्षित भएपछि साहित्य लेखनका कामहरूलाई प्राथमिकता दिएर आफ्नो नेपाली भाषा-साहित्य, संस्कृति, परम्पराहरूको जगेर्ना गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गरेर साहित्य अध्ययन, मनन, चिन्तन बिना मानव जीवन निरर्थक हुने हुनाले नै यस क्षेत्रमा साहित्यकारहरू लागि परेका छन्।

वैद्यनाथ उपाध्यायः हजुरले पढ़नुभएको कुनै उल्लेखयोग्य पुस्तकको विषयमा केही भन्नुहोस।
विमला प्रधान जोशीः यस विषयमा भन्नुपर्दा मैले हालैमा पढ़ेका गौरी नेम्बाङकृत हामीले उज्यालो पाएको हुनुपर्छ नामक कविता संग्रह खुबै रोचक अनि प्रशंसनीय लागेको छ। उनका कविताहरूमा कविले देशप्रेम, प्रकृतिप्रेम, बासभूमिको समस्या, आफ्ना जीवनमा भोगेका अनुभव, आरोह-अवरोह, जीवनका नागवेली, सफलता-असफलता प्रसस्त उद्गारहरू व्यक्त गरेकी छन्। जस्ले गर्दा त्यो पुस्तक पठनयोग्य अनि स्तरीय रहेको छ।

वैद्यनाथ उपाध्यायः अहिले पुस्तक पढ़नेहरूको संख्या अति नै नगन्य हुँदै आएको छ। यसो हुनुको कारण के हो जस्तो लाग्छ। यसमा हामीले गर्नुपर्ने केही छ कि?
विमला प्रधान जोशीः वर्तमान समयमा हाम्रो समाजमा साहित्य पठनको संस्कृति प्राय बिलुप्त भइसकेको छ। समय साह्रै दुखलाग्दो र भयानक भइरहेको छ। लेखकहरूका पुस्तक बिक्रि हुँदैनन्। अब हाम्रो समाज कतातिर, कुन दिशातर्फ ढ़ल्किँदैछ, यो एउटा सोचनीय विषय बनेको छ। वर्तमान युवा जमात आफैंमा विज्ञ, ज्ञानी अनि बाठा छन्। तरपनि उनीहरूले कुनैपनि सफलता हासिल गर्नु हो भने अनुशासन, भक्ति अनि समर्पण लिएर अघि बढ़ेमा कठिन भन्दा कठिन कार्यमा सफलता हासिल गर्नेछन्। अनि साहित्यकारहरूले पनि आजको युवा जमातको रूचिलाई मध्य नजर राखेर आफ्नो सिर्जनाहरू पस्किन सके असल हुनेछ।

वैद्यनाथ उपाध्यायः लेखकीय जीवनमा दिनचर्याको के कस्तो स्थान हुनुपर्छ जस्तो लाग्छ? हजुरको दिनचर्याको विषयमा खुलाउनुहोस।
विमला प्रधान जोशीः लेखकीय जीवनमा लेखकहरूको आ-आफ्नो प्रकारको लेख्ने तरीका हुन्छ। नारी साहित्यकार विशेषतः विवाह पश्चात प्राय नारीहरू घर परिवारमा समर्पित हुन्छन्। यसकारण उनीहरूको जीवन तथा दिनचर्याको कुनै निश्चित समय हुँदैन। तर आजको समयमा नारी साहित्यकारहरूले घर-परिवार र आफ्नो लेखन क्षेत्रलाई पनि यथावत राखि साहित्यको सेवा गर्न सक्षम बनेका छन्। मेरो विषयमा भन्नुपर्दा मेरो घरमा सानो दोकान पनि स्वयंले चलाउनुपर्ने हुँदा दोकानमा बस्दाको फुर्सदको समय अनि राती आठ बजेदेखि दस बजेसम्म लेख्ने-पढ़ने काम गर्छु। यो मेरो तालिका नै बनिएको छ।

वैद्यनाथ उपाध्यायः आफ्नो पारिवारिक र सामाजिक स्थितिले हजुरलाई लेख्नमा के कस्तो प्रभाव पारेको छ?
विमला प्रधान जोशीः अवकाशप्राप्त पछि नै म साहित्य क्षेत्रमा पूर्ण रूपमा होमिएको हो। लेखन क्षेत्रमा प्रवेश गरेपछि मेरो परिवारबाट पूर्ण सहयोग पाइरहेकी छु। यसैले समाज सेवा अनि साहित्य सेवाका कार्यहरूमा संलग्न भएर यो अवकाशको छोटो अवधिमा पनि चारवटा कृतिहरू प्रकाशित गर्न सक्षम भएकी छु। आजसम्म स्वतन्त्र रूपमा आफ्नो काम गरिरहेकी छु। भोलि के हुन्छ त्यो थाह छैन। इच्छा भएर मात्र पनि नहुँदो रहेछ। घर परिवारका सदस्यहरूको साथ सहयोग, विश्वास र माया साथै आफ्नो परिश्रम, मेहनत, समर्पण, धैर्य, आत्मविश्वास पनि त्यत्तिकै खाँचो पर्दछ।

वैद्यनाथ उपाध्यायः नेपाली साहित्य जगतले हजुरलाई कसरी याद राखोस भन्ने ठान्नुहुन्छ?
विमला प्रधान जोशीः कुनै पनि प्राणीको जन्मदेखि मृत्युसम्मको अवधि नै जीवन हो। जीवन उत्सव हो। जीवन जिउन जान्यो भने जीवन अवसर हो। मानिसहरूको जीवन जीउने कला आ-आफ्नै प्रकारको हुन्छ। साहित्य पनि जीवन कै एउटा अंग हो। जीवनमा मानिसहरूले अनेक प्रकारको कर्महरू गर्छन। त्यही कर्ममध्येको एउटा कर्म साहित्य लेखन पनि हो। त्यही क्रममा मेरा लागि साहित्य लेखन मेरो जीवन जिउने माध्यम बनेको छ। मैले जीवन कै परिपुरकको रूपमा साहित्य जगतलाई अँगालेकी छु। अनि मलाई साहित्य जगतले भविष्यमा एउटा सिकारू साहित्यकार भनेर नै याद राखोस।

वैद्यनाथ उपाध्यायः नयाँ लेखकहरूलाई हजुर के भन्न चाहनुहुन्छ?
विमला प्रधान जोशीः कहिलेकाहीँ अहिलेका नयाँ पुस्ताप्रति चिन्ता लाग्ने गर्छ। नयाँ पुस्ताले नेपाली भाषा, संस्कार र संस्कृति बिर्सिदैँ गएको छ। ठुला बड़ालाई आएर सत्कार गर्ने परिपाटी कमजोर भएको छ। हाम्रा नवोदित साहित्यकारहरूले साहित्यको विभिन्न विधामा आफ्ना सृजनाहरू सृष्टि गर्दै भाषा-साहित्यको निम्ति खटिरहनुभएको छ। त्यस उर्जा शक्तिलाई दिगो राख्नुपर्छ। आफुलाई एक स्थापित साहित्यकारको रूपमा हेर्न चाहनुहुन्छ भने पुस्तकहरू पढ़न र स्वच्छ समाजको निर्माण गर्न अनि प्रकृतिलाई प्रेम गर्ने भावनाहरू राख्नुपर्छ। आजको पुस्ता एउटा सिङ्गो आकाश हुन्। उनीहरू हाम्रा लागि अमूल्य रत्न हुन्। आज जसरी आफ्नो लेखन सृष्टि गर्नु हुँदैछ त्यसको कदापि अन्त्य नहोस भन्ने शुभकामनाको सन्देश दिन चाहन्छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।