ओसिएको भविष्यलाई घाममा सुकाउन,
ठूलो चौतारा, देउराली र दोभान हुँदै
बाँझिएका मनका गह्राहरूमा
आशाको बीउ छर्दै
जिन्दगीले सिकाएको कठोर रीत
एक कठिन साँघु तर्नैपर्छ भन्ने सत्य बोकेर
जोर खोलाको किनारैकिनार
असीम सुखको एउटा मीठो भ्रम पाल्दै
झरेको त्यो दिन
आज पनि हिजोझैँ लाग्छ ।
पाखा पखेरा, वन बुट्यान छिचोल्दै
बिहान बेलुकाको छाकसँगै
भोलिको उज्यालो खोज्ने रहरमा
मनभरि सपनाका पोका बोकेर
मधेस झर्ने आकांक्षाले
इर्खुवाको झोलुङ्गे पुल तर्दै
अविश्रान्त पथिक बनेको म
लन्खुवा, ब्यान्खुवा, मझुवाबेंसी हुँदै
चिर्खुवा र बालुवानीका बाटाहरू नाप्दै
कात्तिके घाटमुन्तिर
भाले बास्नुअघि नै झरेका ती बिहानहरू
आज पनि हिजोझैँ लाग्छन् ।
प्रेमका कोमल पानाहरू
मनको कुनै कुनामा थन्क्याएर
जीवनको कठोर चित्र कोर्न
आफैँलाई समयको तराजुमा जोख्दै
भदौरे भेलले उर्लिएको
कात्तिके घाटको सेताम्मे छालमा
दुई रुपैयाँको भरोसामा
माझी दाइले सिमलीको बोटमुनि राखेर
पारि तारिदिएको त्यो क्षण
आज पनि हिजोझैँ लाग्छ ।
मन कहिले अरुणको वेग बन्छ,
कहिले छालझैँ छताछुल्ल भएर बग्छ ।
कहाँ पुगेर थामिने हो यो यात्रा?
कहाँ कोरिने हो सुखको सजीव चित्र?
सूर्यको पहेँलो विम्ब हेर्दै
अरुणको किनारैकिनार
ओरालो झर्दा
ब्रेकफेल भएको गाडीझैँ
जीवन पनि अनियन्त्रित बगेको
त्यो अनुभूति
आज पनि हिजोझैँ लाग्छ ।
दुर्घटनाबाट जीवनलाई बचाउन
आफ्नो सामर्थ्य र साहसले भ्याएसम्म
कम्मर कसेर हिँडेको छु ।
उखर्माउलो गर्मीमा पसिना पुछ्दै
तुम्लिङटारको तेर्सोमा
विवेकलाई छाम्दै, छिमोल्दै
अनिश्चितताको आँगन छिचोल्दै
आफ्नै वास्तविक स्वरूपलाई
आफैँभित्र खोज्दै हिँडेको
त्यो यात्रा
आज पनि हिजोझैँ लाग्छ ।
आफन्तका न्यानो हातहरू छोडेर,
आमाको ममतामय आँगन छोडेर
“मधेस भनेको कहाँ हो?” भन्ने कौतुहल बोकी
असजिला बाटाहरू पार गर्दै
सबायको साँघु तरेर
एकपटक फर्केर आएको बाटो हेर्दै
लामो सुस्केरा हालेको त्यो साँझ
आज पनि हिजोझैँ लाग्छ ।
अरुण आफ्नै वेगमा बगिरह्यो,
म आफ्नै गन्तव्य खोजिरहेँ ।
बाटाभरि डँडाल्नोमा जीवन बोकेका
बटुवाहरू भेटिए
कसैले चाडका रङ्गीचङ्गी कपडा बोकेका थिए,
कसैले घर फर्किने खुसी बोकेका थिए ।
तर म भने
साझा धर्ती र साझा आकाश ओढेर
अर्कै दिशातर्फ हिँडिरहेको थिएँ ।
त्यो एक्लो यात्रा
आज पनि हिजोझैँ लाग्छ ।
त्यो समयका ती लामा बाटाहरूमा
न गाडी गुड्थे, न सपना दौडन्थे,
मात्र तुम्लिङटारको आकाशमा
चिलझैँ उड्ने जहाजहरू थिए ।
रनवन थर्काउँदै
समय र जीवनसँगै
आफ्नो भाग्य खोज्न उडेको त्यो भ्रमित मन
आज पनि हिजोझैँ लाग्छ ।
आमाझैँ माया गरेर
अरुण सुसाइरहन्थ्यो,
आफ्नो सम्पूर्ण सौन्दर्यको पोको खोलेर ।
मनका उकुसमुकुस पोख्न नसके पनि
सुम्सुम्याउँदै बग्थ्यो सबाय खोला ।
सुर्तीबारी, पिलुवा र अक्करहरू पार गर्दै
कहिले चट्टानसँग ठोक्किँदै,
कहिले शान्त भएर बग्दै
माङ्मायासम्म पुगेको त्यो डोब
आज पनि हिजोझैँ लाग्छ ।
मनभित्र अझै खेलिरहेका छन्
अनगिन्ती इच्छाका रङहरू ।
उकालो चढ्दै,
दियाले र डिकुरेका सुनसान बाटाहरूमा
उचाइ र गहिराइ नाप्दै
सूर्योदयदेखि सूर्यास्तसम्म
हिँडिरह्यो यो मन ।
पाख्रीबास, हिले हुँदै
मनसँग मन मिल्ने बाटाहरू खोज्दै
उकाली चढेको त्यो थकाइ
र तेर्सो पाख्रीबासमा अडिएको त्यो क्षण
आज पनि हिजोझैँ लाग्छ ।
मान्छे एउटा भन्छ,
समय अर्कै गराउँछ ।
भन्नु, गर्नु र बुझ्नुबीच
कति ठूलो दूरी हुँदोरहेछ ।
मेरो शिर ढाक्ने पसिना थियो,
मनभित्र अनगिन्ती प्रश्नहरू थिए ।
हिलेको डाँडामुनि चियाउँदै
“कहाँ छ मैले खोजेको तराई?” भन्दै
सल्लाघारीको सुसाइ सुन्दै
अतीतको निर्मल सम्झनामा हराएको त्यो मन
आज पनि हिजोझैँ लाग्छ ।
कहिले वैराग्यले छोप्छ मन,
कहिले सपनाका रङहरूले भरिन्छ ।
अनन्त इच्छाको भारी बोकेर
धनकुटा पुगेँ म ।
अझै तर्नु थियो तमोर,
अझै पार गर्नु थियो जीवनको अर्को मोड ।
थाकेको शरीर भए पनि
अडिग रह्यो यात्राको पाइला ।
सागुरी भञ्ज्याङ उक्लँदै
फुस्रे र फुस्रेसम्म झर्दै
सर्दुको पानीले बिहान धोएको
त्यो नयाँ संसारको बिहान
आज पनि हिजोझैँ लाग्छ ।
धरान
त्यो मादक सहर,
जहाँ सपनाहरूले नयाँ नाम पाउँथे ।
घोपा क्याम्प, चारकोसे झाडी,
देशीलाइनको सिद्राको सुवास,
भानुचोक, चतरालाइन, पुतलीलाइन,
छाताचोक र विजयपुरका गल्लीहरू ।
सर्दु र सेउतीको कलकल,
पानमारा, भेडेटार र पञ्चकन्याको सौन्दर्य,
जोडी धरानेहरूको हाँसो,
सोल्टिनीहरूको भीड,
कालो बङ्गुरको स्वाद
र तीनपानेको चुस्कीसँगै रमाएको त्यो धरान
मेरो आँखाले देखेको,
मेरो मनले बाँचेको
मेरो पहिलो यात्राको अन्तिम अध्याय
आज पनि
हिजोझैँ लाग्छ ।
ब्रसेल्स, बेल्जियम ।