19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यो विश्वकप र त्यो बाल्यकालको भकुण्डो

संस्मरण/स्‍मृति रमाकान्त शर्मा July 25, 2026, 2:21 pm
रमाकान्त शर्मा
रमाकान्त शर्मा

फिफा विश्वकप २०२६ फुटबल चलिरहेको छ । ४८ राष्ट्रका खेलाडीहरूले खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । युवाहरुले मात्र होइन खेतबारीमा काम गर्ने अधबैसें कामदारले समेत विभिन्न देशका जर्सी लगाएको देखिन्छ । चियापसलमा फुटबल, विद्यालय कलेजमा फुटबल, घरघरमा फुटबल, पत्रपत्रिकाका पृष्ठमा फुटबल जताततै फुटबलमय भएको छ । खेलाडीलाई मात्र होइन टेलिभिजन पर्दामा बस्ने दर्शकलाई समेत मादक पदार्थ लागेजस्तै फुटबल लागेको छ । यो वातावरणले मेरो पनि भकुण्डोसँगका विगतका यादहरु मस्तिष्कमा सलवलाए । विद्यालय जानु भन्दा पहिला हाम्रो भलिबल भने पनि, फुटबल भने पनि फाटेको मोजा भित्र थोत्रो कपडा कोचेर बाँकी रहेको भागलाई दोबारेर भित्र खाँदी पारिएको गोलो आकार थियो । थोत्रो टोपी उल्टाउने र कपडाखाँदेर डल्लो आकार निकाली सियोले खुटेर बनाउनु अर्को विकल्प थियो । त्यो पनि नभए सिन्दुरे झारालाई कच्याककुचुक् पारेर डल्लो बनाउने र त्यसलाई माकुराको जालोले बाहिरबाट बेर्ने गरेर पनि बल तयार हुन्थ्यो । खुट्टाले खेले पनि हातले खेले पनि या लठ्ठीले खेले पनि चिज एउटै थियो र नाम पनि एउटै भकुण्डो । त्यसलाई हातले उराल्ने, छानामा फ्याकेर खस्दा हातमा पर्ने र पुन उराल्ने, हान्ने, पुन: फर्काउने । समूहमा दुई चारजना भएर खेल्ने ति नै डल्ला थिए । आँगनको एउटा कुनाबाट फ्याकेर त्यसैसँग अर्को कुनामा कुद्न पनि तिनै प्रयोग गरिन्थ्यो । म र मेरो उमेरका गाउँका प्राय: त्यसै गर्थ्यौ । त्यतिबेला बल र फुटबल खेल्न पाएको भए अहिले पनि विश्वकप हेर्न अन्य युवा जस्तै लालायित हने थिएँ कि ?

पाँच वर्ष नपुग्दै हजुरबाले एक वर्ष उमेर बढाएर गाउँफर्क प्राथमिक विद्यालय कोलपाखामा भर्ना गरिदिनु भयो । त्यो कक्षामा पढेका साथीहरुसँग अहिले छलफल गर्दा त्यतिबेला कक्षामा सबै भन्दा कम उमेरको फुच्चे म नै रहेछु । छ जनाको कक्षामा एकजना त म भन्दा पाँच वर्षले जेठो पनि हुनुहुँदो रहेछ । त्यो कोलपाखाको शिशु कक्षा देखि कक्षा तीनसम्म पढाइ हुने विद्यालयमा हावाभरेको छाला तथा रबरको भकुण्डो खेल्ने मैदान कहाँ पाउनु । साँगुरो विद्यालयको चौर । खेल्ने भनेको लुकामारी, एकखुट्टे, कबड्डी यस्तै यस्तै जसलाई खेल्न बजारबाट किनिएका कुनै सामग्री चाहिँदैनथ्यो । कहिले काँही विद्यालयले किनेका ल्याएका सेलरोटो जस्ता रवरका रिङ भने खेलिए होला ।

कक्षा चार पढ्न हामी घरबाट अलि टाढाको मिडिल स्कुल जनता निम्नमाध्यमिक विद्यालय, पोखरीबारी वाग्लेको चौरमा जानु पर्ने भयो । त्यहाँ कक्षा चार देखि कक्षा सातसम्म पढाइ हुन्थ्यो । विद्यालय भवन बनाउँदा खेल्ने चौर धेरै बाँकी थिएन । मुस्किलले एउटा भलिबल कोर्ट र त्यसको लागि छेउछाउमा दर्शक उभिन पुग्ने जमिन थियो । तल जमिन उठाएर बनाएको त्यो चौरको छेउबाट ह्वात्तै भिरालो थियो तथा अग्लो कान्लो थियो । त्यतिबेला १०-१२ जना ठूला ठूला विद्यार्थी र शिक्षकले मात्र भलिबल खेल्थे अरु सबै विद्यार्थी दर्शक हुन्थ्यौं । हामीले कहिलेकाहिँ खेल्न पाउने खेलको सामग्री त्यही सेलरोटी जस्तो रिङ् हो । रिङ् पनि हामी भन्दा ठूला विद्यार्थीले नखेलेर छाडेको अवस्थामा मात्र । भलिबल त केबल अरुले खेलेको हेर्ने मात्र । जब बल खेलाडीले एकातर्फको कोर्टबाट अर्को कोर्टतर्फ फ्याँक्दा तथा एकआपसमा पास गर्दा तथा सर्ट हान्ने र छेक्नेको बीचमा तारतम्यता नमिल्दा फुत्किएर रेखा भन्दा बाहिर गयो भने दर्शकको हातमा पुग्थ्यो । दर्शकहरुमध्येका अग्ला र बलिया दर्शकले छोप्थे र खेलाडीलाई पास गर्थे ।

तिनीहरुको पहुँच भन्दा बाहिर गयो भने त्यसपछिका दोस्रो तहका विद्यार्थीको पालो आउँथ्यो । उत्तरपूर्वमा अग्लो भित्ता थियो त्यस भन्दा माथि रहेको बाटोमा बल यदाकदा मात्र जान्थ्यो । बलले विद्यालयको एकतले ढुङ्गाले छाएको दुईतर्फ भिरालो परेको छाना नै कटेर वाग्लेको बारीतर्फ गयो भने अलि ठूला गराहरु भएको हुनाले बल धेरै तलसम्म पुग्न पाउँदैनथ्यो । जव विद्यालयको भवन नाघेर बल गएको देखिन्थ्यो अनि दौडको प्रतिस्पर्धा सुरू हुन्थ्यो अघिपछि बल छुन नपाउनेहरु बिचमा । भित्ता र विद्यालय भवन भएभन्दा विपरीतमा अग्लो कान्लो, छेकबार थिएन । बल प्राय: त्यतै फुत्किन्थ्यो ।

जब कुनै गल्तीले खेलमैदान भन्दा तल बल पुग्थ्यो अनि हामीजस्ता भलिबल छुन नपाउनेहरू त्यही भलिबलसँगै हामफाल्ने प्रतियोगिता सुरु हुन्थ्यो । ती बारिका कान्लाहरु जसले छिटो हामफाल्न सक्यो, बारीका गरामा बजारिदै उर्लदै गरेको बलसँग जो खेतसम्म पुग्न सक्थ्यो बलछुने कुरामा उसैको विजय निश्चित हुन्थ्यो । आजका फुटबल ग्राउन्ड जस्ता कहाँ सुरक्षित थिए र ती बारिका कान्ला, खरबारी र त्यो भिर । दौडने क्रममा कतिका हात, खुट्टानै भाँचिए । शरीर र टाउकोमा लाग्ने चोट त कति हो कति ? त्यो हामफालाइको सफलता हामीलाई अहिलेको विश्वकपको गोल सरह हुन्थ्यो । हुन त विश्वको कुन कुनामा खेलेको खेलमा गोल हुँदा नेपालका मान्छे त एकआपसमा चोट लाग्ने गरी उफ्रिन्छन् भने त्यहाँ त भलिबल समात्नै पाइन्थ्यो । बल छोप्नासाथ एकदुई पटक भुइँमा बजारेर उफ्रिँदा समात्न, पक्रिन समेत पाइन्थ्यो । गुडेको तथा अग्ला कान्ला पार गर्दै उफ्रिँदै जाने बल प्राय तल रहेको ज्यामिरे खेतसम्म पुग्थ्यो । सरासर सोझोबाटो हिँड्दा पन्ध्र बीस मिनेट लाग्ने त्यो खेतसम्म पुग्न बारीका त्यति अग्गा कान्ला कसरी हामफालियो फर्केर हेर्दा तथा सम्झँदा आफैलाई जिरिङ्ग हुन्छ । हावा भरिएको बल ती बारिका सुर्का सुर्कीमा अडिने कुरा हुँदैनथ्यो । बल सोझै जान्थ्यो ज्यामिरे खेतका गरामा । हामी पनि बलसँगै ज्यामिरे खेतमा नै पुग्थ्यौं । त्यो गोलो आकारको हावा भरेको भकुण्डोसँगै कुद्नु भनेको पक्कै पनि सजिलो थिएन । फेरि ढिलो गरे आफ्नो भकुण्डो छोप्ने, छुने, समाउने र बोकेर विद्यालयको चौरसम्म पुग्ने मौका गुम्थ्यो । छोपेर उकालो लागेको समयमा माथिबाट जाँदै गरेको बलियो विद्यार्थी रहेछ भने उसले त्यो समातिरहेको बल खोसेर उकालो लागिहाल्थ्यो ।

त्यो भलिबल छोप्ने र समात्ने होडमा हुने दौडले खुट्टा भने दरा भएहोलान् । पहाडका उकाला-ओराला हिँड्ने सीप सिकियो होला । विश्वकप फुटबल प्रतियोगितामा अन्य देशका खेलाडीको जर्सी लगाएर अर्को जर्सी लगाउनेलाई शत्रुतापूर्ण व्यवहार भन्दा त त्यो हाम्रो ठूला भएपनि आफ्नै साथीहरु खेलेको भलिबल हेर्ने, राम्रो सट हान्दा ताली बजाउने र बल कम्पाउण्डबाट फुत्किदा लिन दौडने धेरै गुणा फाइदाजनक थियो जस्तो लाग्छ । अनि हामीले कहिल्यै पनि फलानाले जितेमा यति र फलाने जितेमा उती भनेर जुवा पनि खेलेनौँ । केबल खेलाडीको राम्रो खेलको लागि तालि बजायौँ । कसैको पक्ष र कसैको विपक्षमा पनि रहेनौँ ।

शिक्षामा काम गर्दा जानकारी भयो एउटै सालको पनि सुरुको महिना तिर जन्मेका र सालको अन्तिममा जन्मेका विद्यार्थीमा पनि शारीरिक र बौद्धिक विकासमा फरक हुँदो रहेछ । त्यतिबेला विद्यालयमा पढ्ने विद्यार्थीमा उमेरगत भिन्नता बढी हुन्थ्यो । त्यति बेला प्राथमिक विद्यालय पढ्दाका साथी भेट भएर भलाकुसारी गर्दा जानकारी भयो हाम्रो उमेरगत भिन्नता ठूलो रहेछ । एक कक्षामा पढ्दा म पाँच वर्षको थिए भने अर्को एकजना साथी दश वर्षका पनि थिए । त्यसले गर्दा हाम्रो खेलमा सहभागितामा प्रभाव पर्ने नै भयो । हजुरबाले कक्षा एकमा भर्ना गर्न न्यूनतम उमेर नपुगेर मेरो वास्तविक उमेरमा एक वर्ष थप गरेर भर्ना गर्नु भएको रहेछ । कक्षा तीनसम्ममा पढ्दा सबै भन्दा कम उमेरको म नै रहेछु ।

शिक्षा क्षेत्रमा काम गर्दा म पालिका स्तरीय, जिल्ला स्तरीय यस्तै यस्तै प्रतियोगितामा प्रमुख अतिथि समेत भइ टोपलिएँ । भलिबलको उद्घाटन गर्ने क्रममा हातले भलिबल हान्दा कहिल्यै पनि नेट कटाउ सकिन । एकपटक क्याम्पसमा पढाउँदाको मैत्रीपूर्ण खेल प्रतियोगितामा भाग लिने बाध्यता भयो । निजामती दिवसमा कार्यालय प्रमुखको रुपमा पनि जर्सी लगाएर खेलेँ । ती खेलमा म आफ्नो ठाउँमा बसेर बलपास गर्नु पर्ने तथा आफ्नो भूमिका निभाउनु पर्नेमा जताजता बल जान्छ त्यतै दौडेछु । पछि साथीहरुले "तपाईँ त बलको मात्र पछि लाग्नु भयो" भन्दा मात्र आफै लज्जित भए । एकपटक चितवन जिल्ला खेलकुद प्रतियोगिताको प्रमुख अतिथि भै टोपल्दै थिए । खेलको सुरुवात दौडबाट रहेछ । त्यतिबेला आयोजकले रिवन काटेर खेल उद्घाटन गर्ने योजना बनाएका रहेछन् । मेरो पालो खेल पनि काहीँ रिवन काटेर उदघाटन गर्ने ? दौडेर गरौँ, भन्ने प्रस्तवा राखेँ । त्यसो गर्दा धेरैजना पनि सहभागी हुन पाइने । विद्यालयका प्रअहरु, स्रोत व्यक्तिहरु र शाखा अधिकृत र विद्यालय निरीक्षकहरु पनि उदघाटमा सहभागी भयौँ । नभन्दै त्यो दौडमा म अगाडि पुगेछु । मलाई त्यो भलिबल समात्न गरेको दौड र जागिरको क्रममा पहाडी र हिमाली जिल्लाका विद्यालयसम्म पुग्नको लागि लामो समय दौडेको सीप काम लागेछ । कुनै पनि व्यक्तित्व जन्मदैन निर्माण हुन्छ भनेको यही त होला । म पनि समथर चौर भएका स्थानमा जन्मेको भए फुटबल सानै उमेरदेखि खेल्न र रमाउन पाएको भए विश्वकप मेरोलागि पनि महत्त्वपूर्ण हुन्थ्यो होला ।

आफूले बल खेल्न त के कुरा छुन पनि नपाएको कुण्ठा छोराछोरीमा नहोस् भनेर सानैमा दुईवर्ष नपुग्दैबाट हल्का, साना बल र उमेर बढ्दै जाँदा त्यसै अनुसार भलिबल र फुटबल किनिदिएँ । ब्याडमिन्टनको कक र ब्याट समेत किनिदिए । छोरी ब्याडमिन्टन खेल्न रमाउने भइन् । छोरा विश्वविद्यालयमा पढ्दा आफ्नो कक्षाको टिमबाट गोलकिपर भएर खेलेको देखेको थिए । उसले गोलकिपर भएर खेल्नुको पनि आफ्नै मजा भएको कुरा बताउदैँ थियो । मूल खेलाडी हुँदा नपर्न पनि सकिने तर किपर हुँदा सधैँ परिने अनि सक्रियता साथ खेल हेर्न पाइने हुनाले गोलकिपर हुन चाहने बताउदै थियो ।

विश्वकपको माहोलमा फुटबलका विभिन्न स्थानमा विभिन्न प्रतियोगिता सञ्चालन भइरहेका छन् । बालबालिकाहरू पनि खेत र बारीका गराहरुमा, खाली चौरहरूमा र सडकमा समेत फुटबल खेलिरहेका छन् । यसले पक्कै पनि भविष्यमा नेपालले पनि राम्रा खेलाडी पाउनेछ र सबै नेपालीले गौरव गर्दै विश्वकप फुटबल हेर्ने दिन पनि आउनेछ ।

रमाकान्त शर्मा

हाल चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।