उसको घरेलु नाम सबनम । उसको सोख खानपिन र मनोरञ्जन । घरकी कान्छो छोरी, लाडप्यारकी । जेठीभन्दा अलिक चन्चले । जेठी सहनशील र धीर । सानो भाइ चुलबुले । चौबिसै घन्टा मोबाइलबाट गीत, सङ्गीत सुनिरहनुपर्ने । घरिघरि फोन आउँदा घरबाहिर निक्लेर कुराकानी गरिरहने । आमा-दिदीले कसको फोन भन्दा साथीको भन्दिदा भै हाल्ने । उसको शरीर उमेरभन्दा अलिक बढीकै देखिने । अरूले देख्दा दिदीचाहिँ बहिनीजस्तो । बहिनी दिदी भन्न सुहाउने । मोबाइल शरीरको अङ्गभन्दा प्यारो । पाइखाना जाँदा पनि साथै घन्कने । हरपलको साथी ।
एकदिनको कुरो । कलेज जाने बेलामा फोन आयो । कुराकानी गर्दागर्दै समय बितेको पत्तै भएनछ । लुगाको टाँक बाहिर निस्केर मिलाउँदै दौडेकी सबनमले मोबाइल भने ओछ्यानमै छाडेर हिँडिछ । बाबुचाहिँले अफिस जाने बेलामा आफ्नै ठानी त्यही मोबाइल गोजीमा हालेर हिँडेछन् । बाटैमा फोन आयो - हेल्लो त भनेँ, फोन काटियो । गौर गरेर फोन हेरे - केटामान्छेको । ए फोन त छोरीको पो रहेछ । आफ्नो फोन छुटेको मेसो पाए ।
अफिसमा नेटको सुविधा । सबै काम छाडेर उनको ध्यान मोबाइलतिरै केन्द्रित भयो । छोरीको फेसबुक, मेसेन्जरमा लेखिएका स्टाटस र केही चित्रहरूले त उनलाई रिङ्गटा नै लाग्यो । काम गर्न सकेनन् । आधा दिनको छुट्टी लिएर घर फर्के । उता छोरी पनि मोबाइल नभएर छटपटिदै पूरै कक्षा नलिँदै फर्किई ।
अब सुरु भो वाक्युद्धको महाभारत । बीचमा उभिदै आमा सम्झौता गर्न उभिइन् तर असफल । भातपानी त्यो दिन बन्द भो ।
भोलिपल्ट बाबुले भने, “यस्तो पीडा खप्नुभन्दा त तेरो केटो लिएर आइज म टीको लगाइ दिएर यो पीडाबाट मुक्त हुन चाहन्छु ।” आमाले भनिन्, “छोरी सानी छ भनेको त यो मोबाइलले छिप्प्याएछ । ठीकै छ दिदीभन्दा पहिले यसैलाई विदा गरौँ । सबनम भने घोसेमुन्टो लगाएर निहुरिरहेकी थिई ।