"ए, छोरी आई !"
आमाको स्वर सुन्नासाथ बाबा आँगनतिर निस्किए । गेट खुल्यो । सिर्जनाले झोला भुइँमा राख्दै मुस्कुराई । आमाले अँगालो हालिन् ।
"ज्वाइँ खोइ?"
"केही महिनाका लागि विदेश जानुभएको छ ।"
"अनि त एक्लै आयौ?"
"हो । यसपालि एक महिना जति बस्छु भनेर सासू–ससुरासँग सल्लाह गरेर आएकी ।"
आमाको अनुहार उज्यालियो ।
"राम्रो गरिस् । घर त तिमी गएदेखि सुनसानै छ ।"
चिया पिएपछि सिर्जना आफ्नो पुरानो कोठातिर लागिन् । ढोका खोलेर पस्नेबित्तिकै उनी रोकिइन् । भित्तामा टेकिएका धानका बोरा, पुराना बाकस, भाँडाकुँडा र कुनामा थन्किएको सिलाइ मेसिनले कोठा भरिएको थियो । उनले वरिपरि आँखा डुलाइन् ।
"आमा... मेरो सामानहरू?"
आमा ढोकामै उभिइरहिन् ।
उत्तर दिन नसक्दा बाबाले सहज स्वरमा भने, "तिम्रो बिहेपछि यो कोठा भण्डार बनायौँ । तिम्रा केही सामान राखेका छौँ, केही काम लाग्नेहरू आफन्तलाई दिएका थियौँ ।"
सिर्जनाले भित्ताको एउटा कुनामा हात फिजाइन् । त्यहीँ उनको उचाइ नापेर बनाइएका पेन्सिलका रेखा अझै मेटिएका रहेनछन् । ओठमा मुस्कान आयो, तर आँखामा चमक रहेन ।
"अनि म कहाँ बस्ने?"
"पाहुना कोठा तयार छ," आमाले बिस्तारै भनिन् ।
सिर्जनाले झोला उठाइन् । पाहुना कोठामा पुगेर ओछ्यानछेउ राखिन् । झ्यालबाट आफ्नो पुरानो "कोठाको ढोका देखिन्थ्यो ।
आमा पानीको गिलास लिएर भित्र आइन् ।
"मन दुखायौ कि?"
सिर्जनाले हल्का मुस्कुराउँदै गिलास समातिन् ।
"दुखाएकी होइन, आमा... एउटा कुरा बल्ल मात्रै थाहा पाएँ ।"
"के?"
"छोरीको बालापन माइतमै रहँदो रहेछ, छोरीचाहिँ बिहेसँगै पाहुना भइहाल्दी रहिछे ।"
आमाको हातमा रहेको गिलास हल्का काँप्यो । ढोकाबाहिर उभिएका बाबाले भण्डार कोठातिर एक नजर लगाए, फेरि चुपचाप फर्किए ।
"माइती घरको आफ्नो कोठा भण्डार कोठामा रूपान्तरण भएपछि बस्न पनि अब छुट्टै कोठा चाहिने रहेछ ।"
ढोकाबाहिर उभिएका बाबाले केही भन्न खोजे, तर शब्दहरू ओठमै रोकिए ।
पोखरा, नेपाल