19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देउता

निबन्ध काशीनाथ मिश्रित July 25, 2026, 2:37 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

नियन्त्रण गर्न खोज्दाखोज्दै पनि आजकल मेरो लेखनमा ठट्टा मिसिन थालेजस्तो आभास पाउँछु आफैले । मान्छेको प्रवृत्ति हुँदोरहेछ कि कुन्नि! यो आलेखमा भने सकेसम्म नियन्त्रण गर्ने कोशिस गर्छु भनेर तम्सेको छु । मैले देउताका बारेमा सोच्दा अरुले सोचेभन्दा बेग्लै ढङ्गले सोच्न पुगेँ । ‘दे उता’लाई छिटोछिटो भन्न खोज्दा देउता बनेको हो भन्ने लागेको छ मलाई । ‘ले यता’मात्र भन्नेहरू चाहिँ राक्षस हुन् । आफैले मात्र खान खोज्ने र आफ्नै स्वार्थ पूरा गर्न खोज्नेलाई केको देउता मान्नु? जसले अरुलाई दिनुमा आनन्द मान्छ, कहिल्यै कसैको कुभलो गर्दैन, सबैलाई समान व्यवहार गर्छ त्यो नै देउता हो ।

हाम्रा पुराणहरूले पनि स्वर्गका वासिन्दालाई देउता भनेका छन् । स्वर्ग भनेको दुःखकष्ट नभएको, सारा वैभव र ऐश्वर्यको उपभोग गर्न पाइने ठाउँ हो । त्यहाँ कसैले कसैको कुभलो चिताउँदैन र गर्दैन पनि । नरक, जहाँ सधै हत्या, हिंसा, चोरी डकैती, दुराचार, दुर्व्यवहार भैरहन्छ । कुनै न कुनै हिसाबले दुःखको जालमा परेकै हुन्छ नरकवासी ।अतिशयोक्ति नगरी भन्ने हो भने जहाँ सुख छ त्यहाँ स्वर्ग र जहाँ दुःख छ त्यहाँ नरक हो । कल्पनामा भनिएको कुनै त्यस्तो स्वर्ग लोक वा नरक लोक छैन यो पृथ्वीबाहेक । स्वर्ग पनि यहीँ छ, नर्क पनि यहीँ । देउता पनि यहीँ छन्, दानव पनि यहीँ ।

असल आचरणयुक्त मानिस नै देउता हुन् भने दुष्टात्माहरू राक्षस हुन् । असल र खराब पनि निरपेक्ष छैनन् । एउटै व्यवहार कसैलाई असल लाग्न सक्छ त कसैलाई खराब! तर अरुलाई दुःख दिने काम कहिल्यै असल हुन सक्दैन । त्यसैले देउताले अरुलाई दुःख दिने काम गर्दैनन्, गर्नु हुँदैन । दुःखको पनि त ठोस परिभाषा छैन । वास्तवमा दुःख के हो? कसैलाई सम्मानपूर्वक मिठामिठा भोजन खुवाएर जेलमा आनन्दका साथ थुन्नु दुःख हो कि स्वतन्त्रतापूर्वक पसिना काढ्दै आफ्नै खेतमा हलो जोत्न दिनु दुःख हो? त्यसैले दुःख पनि निरपेक्ष छैन । सम्मानपूर्वक जेलमा थुनिएको कैदीभन्दा कैयौँ गुणा सुखी त असिनपसिन भएर हलो जोत्ने किसान हुन्छ ।

दुःख र सुख केबल अनुभूति गर्ने कुरा हुन् । शारीरिक रूपमा मात्र हैन मानसिक रूपमा पनि दुःख दिन सकिन्छ । कसैले कसैलाई मर्ममा चोट पुग्ने गरी बाण वा गोली हान्नुपर्छ भन्ने छैन । चसक्क बिझ्ने गरी नमिठो बोलीले पनि चित्त दुखाउन सकिन्छ र दुख्छ ।वास्तवमा कुनै प्रकारको दुखाइ नदिने जो छ त्यो नै देउता हो । हामीले लोक जीवनमा भन्ने गरेको पनि सुनेका छौँ नि ! कोही बच्चा शान्त स्वभावको रहेछ भने कस्तो देउताजस्तो रहेछ भनेर । त्यसैले देउता बन्नु छ भने कसैलाई दुःख दिनु हुँदैन । सके भलाइ गर्ने हो नसके कुभलो गर्ने त हुँदै हैन । पक्षपात गर्ने चिन्तन कसैमा छ भने त त्यो देउता हुनै सक्दैन ।

हामीले सुन्ने गरेका छौँ कसैलाई देवत्वकरण गरियो । देवत्वकरण कसैले गरेर हुने होइन । उसमा देवत्व छ भने स्वतः भैहाल्छ । अरुले बनाउँदैमा कोही देउता बन्न सक्दैन ।त्यो त एक किसिमको चित्रण मात्र हो । वास्तमा अत्यन्त असल आचरणको रहेछ भने मानिसमा देउताको आभास मात्र हुने हो, देउता चाहिँ कदापि हुन सक्दैन मान्छे । अझ भगवान त बन्नै सक्दैन । यहाँ हामीले कसैलाई भगवान मानिरहेका हुन्छौँ, छौँ । यो हाम्रो अज्ञानता र भ्रम मात्र हो ।

कोही पनि सदाका लागि देउता वा भगवान बनिरहन सक्दैन । अप्ठेरोमा परेका बेला जसले सघाउँछ र उद्धार गर्छ त्यो त्यसबेला देउता बन्न पुग्छ । जसले सामान्य अवस्थामा हुँदा अनावश्यक दुःख दिन्छ त्यो राक्षस बन्न पुग्छ । अदृश्य र अप्राप्य वस्तु रहस्यमय हुने हुनाले देउता वा भगवानका रूपमा चित्रण गरी हामीलाई एक प्रकारको मनोवैज्ञानिक अनुशासनमा राख्न खोजेका हुन् हाम्रा पुर्खाले । धर्म र पापको डर देखाएपछि मानिसलाई अनुशासनमा राख्न सकिने भएकाले यसो गरिएको हो । कानुन बनाउने प्रचलनको विकास हुनुपूर्व धर्मले नै शासन चलाएकाले हामी अझै पनि ईश्वर, भगवान वा देउतामा विश्वास गर्न विवश छौँ । जुन वस्तु अदृस्य छ, त्यसको शक्ति कति छ भन्ने अनुमान गर्न नसकिने हुनाले हामीलाई ईस्वरमा विश्वास गर्नुपर्ने बाध्यता भएको हो । यदि ईश्वर वा भगवान भनिएकाहरू पनि निराकार नभएर साकार हुन्थे भने कसैले विश्वास गर्ने थिएन ।

प्रकृति नै सबभन्दा ठुलो ईश्वर हो । जसलाई मानिसले बनाउन सक्दैन त्यो देउता हो । प्रकृति त मानवनिर्मित होइन नै । संसारका प्राणीहरूलाई पालनपोषण गर्ने यही प्रकृति हो । त्यसैले प्रकृतिको पुजारी नै सच्चा आस्तिक हो । कवि भूपिले भनेझैँ यहाँ देउताले बनाएका मानिसहरू पनि छन्, मानिसले बनाएका देउताहरू पनि छन् ।हो, मानिसलाई देउताले त बनायो होला तर देउतालाई मानिसले बनाउन चाहिँ पटक्कै सक्दैन । केबल कल्पनामा आधारित देउताका मूर्ति वा चित्रहरू नै मानिसले बनाउने हो । जसले मूर्ति वा चित्रलाई देउता सम्झन्छ त्यसले खोक्रो आडम्बर देखाएको मात्र हो, धर्ममा आस्था राखेको होइन । हुन त एक हिसाबले ती निर्जीव मूर्ति वा चित्रलाई देउता मान्नु पनि ठिकै हो किनभने तिनीहरूले कसैको हानीनोक्सानी वा कुभलो गर्दैनन् । जसले अर्कालाई दुःख दिँदैन उसलाई देउता नभनेर कसलाई भन्ने त?

तर्क उठ्न सक्छ प्रकृतिले पनि विभिन्न प्रकोपमार्फत हामीलाई हानी गरिरहेकै हुन्छ । भूकम्प, बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपले मानिसको दुर्गति भैरहेछ । यस्तो प्रकृतिलाई पनि देउता भनिरहेछ यो पागलले! भन्ने लाग्न पनि सक्छ । कुरो स्वाभाविकै हो । अति भएपछि खति हुन्छ भन्ने उक्तिअनुसार मानिसकै लापर्वाहीले प्राकृतिक प्रकोप बढेको हो । मानिसका खराब हर्कत घटाउने हो भने स्वतः प्रकोप सन्तुलनमा आउँछ । यस मानेमा प्रकृतिलाई देउता भनेको हुँ मैले कि प्रकृतिले विनाभेदभाव प्राणीलाई सेवा दिएको हुन्छ । भूकम्प, हावाहुरी, बाढीपहिरो जस्ता प्रकोपले धनी-गरीब, पुरुष-महिला, छुत-अछुत, काला-गोरा कसैलाई पक्षपात गरेको हुन्छ र? गरेकै हुँदैन ।

सूर्यले राजालाई धेरै प्रकाश दिने र जनतालाई थोरै दिने गर्दैन । हावा पनि धनीको नाकबाट छिर्ने र गरीबको नाकमा पस्न नमान्ने गर्दैन । आगोले ठुल्ठुला महल मात्र हैन ससाना झुपडी पनि जलाउँछ । बगिरहेको नदीमा मै हुँ भन्ने एउटा नेता हाम फाले पनि बग्छ, खान नपाएर जीवन लीला समाप्त गर्न चाहेको गरीब रहेछ भने पनि बग्छ । अर्थात् जलले पनि कसैलाई विभेद गर्दैन । समग्रमा भन्दा हावा, पानी, आगो, घाम जस्ता सबै प्रकृतिका पदार्थ भगवान हुन् । सबैलाई समान व्यवहार गर्ने हुनाले तिनीहरूलाई भगवान भन्न सुहाउँछ पनि । त्यसैले हाम्रा धर्मग्रन्थहरूले पनि सूर्यदेव, वायुदेव, अग्निदेव भनेर सम्बोधन गरेका हुन् ।

देव गुणयुक्त मानव त को होला र खै! तर पनि मामाले हामीलाई ‘झोलीका देउता’ भन्नुहुन्छ । भान्जालाई किन झोलिको देउता भनिएको होला भन्ने तर्कले मलाई एकाएक समात्न पुग्छ । घरमा चकचक गरे पनि मामाघर गएपछि थपक्क बस्ने भएर त्यसो भनिएको होला भन्ने जवाफ दिन्छु आफैले आफूलाई । मेरो यो अनुमान ठिक नहुन पनि सक्छ । त्यसो त ममा देउताका लक्षण नै के छन् र! तर एक जना पण्डितले मलाई बोलाउँदा ‘देउता’ शब्दले सम्बोधन गर्थे । किन त्यसो भन्नुहुन्छ? भनेर सोध्दा नबोली नबोली हिँड्ने भएर भन्ने उत्तर पाउँथेँ । देउताहरू नबोल्ने भएकाले नबोलेकाहरूलाई देउता मानिएको पनि हुन सक्छ । आम मानिसको बुझाइ यस्तै त रहेछ । अहिले पनि हाम्रा देउता बोलेका छैनन् खै । पण्डितले ममा देखेको देवत्व त्यो भए पनि दानवत्व पनि मसँग छ । बेलाबेलामा त्यो विस्फोटन भएर निस्कँदा मैले कसैलाई पिटेको छु, धम्क्याएको छु, लुटेको छु । आफ्नो अधिकार नभएकी नारीलाई कुदृष्टि लगाएको छु । अब म राक्षस नभएर के हुन्छु त! वास्तवमा देवत्व र दानवत्व पनि एउटै शरीरमा अट्दो रहेछ ।कुनै बेला म देवता हुन्छु भने कुनै बेला दानव बनिदिन्छु । मैले अत्याचार जसमाथि गरेँ उसले त कुनै हालतमा पनि मलाई देउता मान्न सक्दैन र मान्दैन पनि ।

देउता पूजनीय हुनुपर्छ । निष्कपटता,निर्मलता एवम् निर्दोषिता नै देउताका लक्षण हुन् । त्यसैले त हजुरआमाले बिस्कुन छिरलिरहेको सानो बच्चालाई पनि स्वतन्त्र छोडिदिनुहुन्थ्यो । बालकमा भगवान बसेका हुन्छन् भन्ने उहाँको धारणा थियो । अबोध शिशुमा के आपराधिकता पलाएको हुन्छ र? पटक्कै हुँदैन । त्यसैले त होला जीवित देवीको रूपमा कुमारीलाई पूजा गरिएको !! नत्र त एउटी वयस्क सुन्दरीलाई देवी मानिदिने परम्परा बसालेको भए पनि त हुन्थ्यो । ठिकै गरेका हुन् हाम्रा पुर्खाले । मानवलाई देउता नै मान्ने हो भने यस कुरामा म पनि सहमत हुन सक्छु । बालकलाई नै देउता मान्नुपर्छ, अल्लारे ठिटालाई होइन । अझै म नै भगवान हुँ भनेर आफैले आफैलाई घोषणा गर्ने दुराचारी प्रभुहरूलाई त देउता मान्नै सकिँदैन । भित्रभित्रै राम्रा राम्रा सुन्दरीसित भोगविलास गर्ने र सूचना बाहिरिने अवस्था आए मारेर दबाउने ढोँगी प्रभुहरूलाई देउता ठान्नु हाम्रो अज्ञानता मात्र हो ।

गुल्मी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।