19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इदि अमिनको टाउको

कथा नारायण मरासिनी July 25, 2026, 2:41 pm
नारायण मरासिनी
नारायण मरासिनी

मोफसलबाट पत्रिका प्रकाशन गर्ने म एक साहित्यिक पत्रकार ! एउटा साहित्यिक पत्रिकाको सानोतिनो सम्पादक नै भनुँ । यद्यपि नियमित रुपमा पत्रिका प्रकाशनका लागि विभिन्न कठिनाइहरू भोग्नुपरेको छ । बेलामौकामा आइपर्ने समस्याहरूसँग जुधिरहनुपर्ने हुन्छ । ती समस्या समाधानका लागि निकै कसरत गर्नुपर्ने हुन्छ । साहित्यिक पत्रिकाका लागि विज्ञापनदाता तथा चन्दादाताहरूबाट खुल्ला हृदयको सहयोग छैन; जे जति छ अपुग छ । प्रकाशनको व्यवस्थापनमा आर्थिक रुपले मजबुत छुट्टै आफ्नो कोष छैन । मोफसलबाट गरिने प्रकाशन सहज छैन र स्रष्टाहरूलाई पारिश्रमिक दिन पनि सकिएको छैन, यसै अर्थमा लेखरचनाहरूको अनुरोधका लागि बढी ताकेता गर्न पनि समस्या छ । सामान्य निबन्धात्मक लेख एवम् कविता, गीत, गजलहरू त आउँछन् नै तर अलिक स्तरीय लेख–रचना पाउन कठिन छ । सिकारु लेखकहरूले लेख–रचना पठाएर सहयोग गर्नुहुन्छ तर सिद्धहस्त स्रष्टा–द्रष्टाहरूका लेख–रचना सधैँभरि निःशुल्क रुपमा माग्न भने उहाँहरूलाई पारिश्रमिकको व्यवस्था गर्न नसकेका कारण केही अप्ठेरो नै परेको छ ।

साहित्यिक पत्रिका भनेपछि कथा, कविता, लेख–निबन्ध, समीक्षा, नाटक–एकाङ्की, गीत–गजल आदि विधाहरूलाई समावेश गर्नै पर्‍यो । विधागत समावेशितामा सन्तुलन मिलाउन खोज्दा हालका दिनहरूमा कथाहरूको प्राप्तिका सन्दर्भमा अलिक कठिनाइ पर्दै गएको छ । यद्यपि प्रकाशनको सुरुवाती दिनहरूमा त विशिष्ट कथाकारका कथाहरू माग्दै आएको थिएँ र उहाँहरूले आफ्ना कथा पठाएर राम्रै सहयोग पनि गर्नुभएको थियो तर धेरै समयसम्म सहयोग मागिरहनु पनि अप्ठेरो ! उहाँहरूलाई समय निकालेर सिर्जना गर्न पनि त गाह्रो छ । लेखकहरूको यस मर्मलाई एउटा सम्पादकको नाताले मात्र नभएर साहित्यिक शुभेच्छुकका नाताले पनि मैले बुझिदिनै पर्ने हुन्छ । लेखक–स्रष्टाहरू जो हुनुहुन्छ, उहाँहरूलाई यस्तो लाग्न पनि त सक्छ– पारिश्रमिक नपाइने ठाउँमा बडो मिहिनेतपूर्वक तयार पारिएका रचनाहरू किन पठाउनु ! यस्तो अवस्थामा उहाँहरूकोे समयको व्यस्ततालाई पनि मैले ध्यान दिनै पर्ने हुन्छ, यसै अर्थमा म दोधारमा छु– यसपटक उहाँहरूसँग रचनाका लागि अनुरोध गरुँ कि नगरुँ !

मागेर कति साध्य हुन्छ र ! दुई दसकभन्दा बढी हुन लाग्यो माग्न थालेको पनि । नमागुँ पत्रिका निस्कँदैन, मागुँ भने कतिन्जेलसम्म माग्नु ! बडो अप्ठ्यारामा परेको छु म । चिन्ताको विषय नै यही हो– अबको अङ्कमा कथाको जोरजाम कसरी गर्ने होला ?

यसभन्दा पहिलेका दर्जनौं अङ्कहरूमा धेरै कथाकारहरूले कथा लेखी पठाएर सहयोग गर्नुभएकै हो । मैले उहाँहरूको गुन बिर्सन मिल्दैन । पत्रिका प्रकाशनमा हौसला दिएर रचनात्मक सहयोग गर्ने त्यस्ता कथाकारहरूमा दिल साहनीको भूमिका निकै महत्वपूर्ण रहेको छ । लगभग पचासको दसकदेखि आजसम्म पनि उहाँले निरन्तर रुपमा कथाहरू पठाइरहनुभएकै छ । हरिहर खनाल, उहाँका कथाहरू पनि मैले बेलामौकामा प्रकाशन गरेको इतिहास छ । खनालजीले निकै राम्रा कथाहरू पठाउनुहुन्थ्यो तर यतिबेला भने बुढ्यौलीमा लेखनका लागि केही कठिनाइ हुन्छ कि भनेर उहाँलाई मैले अनुरोध र ताकेता गर्न सकेको छैन । यसैगरी पत्रिकाका लागि विगत आठ–दस वर्षदेखि यता कथा पठाएर सहयोग गर्ने अर्का स्रष्टा हुनुहुन्छ– इस्माली । उहाँले पनि पहिले–पहिले नियमित रुपमा कथाहरू पठाउनुहुन्थ्यो । अचेल उहाँलाई पनि कथा सिर्जनामा गाह्रो हुँदै गएको मैले अनुभूत गरेको छ ।

समस्या हालमा प्रचलित लघुकथाको होइन; तीभन्दा केही लामा कथाहरूको हो । लघुकथाहरूको त बरू त्यति समस्या छैन, आइरहन्छन् तर केही लामा कथाहरूको अभाव भयो । वनमाली निराकारले समय समयमा राम्रा कथाहरू पठाउनुहुन्थ्यो । कपिल लामिछानेका कथाहरू पनि आउँथे । अनुरोध गरेअनुरुप नै पुण्य खरेलले पनि बेलाबेलामा कथाहरू पठाएर सहयोग गर्नुभएकै हो । महेश्वर शर्मा, श्यामजीकेशव पराजुली, सरूभक्त, भवानीप्रसाद पाण्डे ‘भास्कर’, गङ्गा कर्माचार्य, कृष्णराज अधिकारी, रीता ताम्राकार, हिरामणि दुःखी, रोहित दहाल, लक्ष्मण थापा, विद्याविमल बराललगायत धेरै कथाकारका कथाहरू मागेर मैले विगतमा प्रकाशन गरेकै हुँ । प्रवासबाट भविलाल लामिछाने, छत्रमान सुब्बा, रुद्र बराल लगायतका कथाकारहरूले कथाहरू पठाएर गरेको सहयोगलाई पनि मैले बिर्सन मिल्दैन । तर अहिले चाहिँ मैले उल्लिखित कसैसँग पनि कथा माग्न सकिरहेको छैन । कति माग्नु ! कति हात पसार्नु ! लाजको मर्नु ! आफूले दिनु केही छैन, जहिले पनि मागेको छ; मागेको छ !

यस अङ्कका लागि मैले माथि नाम उल्लेख भएका कथाकारहरूसँग कथा नमाग्ने विचार गरेको छु । माग्दा–माग्दा शर्मै पनि लाग्यो ! बरु म आफै लेख्छु कथा, यद्यपि म कथाकार होइन र आजका मितिसम्म कथा लेखेको पनि छैन तर जिन्दगीमा जाबो एउटा कथा लेख्न पनि नसकिएला त ? मान्छेले कत्रा–कत्रा उपन्यासहरू लेख्छन् भने मैले जम्मा अठार-उन्नाइस सय शब्दको कथा लेख्न पनि नसकुँला त !

कथा त लेख्ने, तर कसरी ? साँझको खाना खाएपछि लेख्नकै लागि भनेर घोरिएँ । निकै बेर घोरिएँ तर दिमागमा केही पनि आएन, पहिले–पहिले पनि लेख्ने गरेको भए पो आउँथ्यो ! लेख्ने बानी नभएकालाई त गाह्रै रहेछ । बरू केही समय मोबाइल चलाएर बस्न मन लाग्यो । मोबाइल खोलेर अनलाइन पत्रपत्रिकाहरू हेर्न थालेँ । कान्तिपुर, रातोपाटी, अनलाइनखबर लगायतका पत्रपत्रिकामा प्रकाशित केही लेख तथा समाचारहरू पढेपछि साहित्यिक अनलाइनहरू– समकालीन साहित्य र साहित्यपोस्टका केही रचना पढेँ । मन कता–कता बरालिन थाल्यो । केही समय युट्युब हेर्ने मानसिकता बनाएर युट्युब खोलेँ । अघि अनलाइनमा एकजना विदेशी कथाकारको कथा पढेको थिएँ । कथा अरबी कथाकारको थियो र शीर्षक थियो– ‘एउटा तानाशाहको दुःखद् अन्त्य’ । त्यस कथाले मस्तिष्कमा निकै गहिरो छाप बसाल्यो । शासकहरू कतिसम्म क्रूर हुँदारहेछन् भन्ने यथार्थलाई कथामा विषय बनाइएको थियो । मलाई यस संसारमा सबैभन्दा क्रूर शासकहरू कहाँ कहाँका र को को रहेछन् भनेर बुझ्ने कौतुहल जाग्यो । कुतूहलता मेटाउनलाई युट्युबको सर्च बारमा गएर ‘विश्वका क्रूर शासकहरू’ टाइप गरी खोजेर हेर्न थालेँ ।

औरङ्गजेव, निरो, चङ्गेज खान, हिटलर, पोल पोट, इदि अमिन लगायत थुप्रै क्रूर शासकहरूका कुकृत्यका बारेमा चर्चा गरिएका श्रव्य–दृश्य सामग्री अर्थात् भिडियोहरू रहेछन् । ती नरभक्षी शासकहरूको कुकृत्यको वर्णन सुन्दैमा पनि आङ जिरिङ्ङ भयो । तिनीहरूका हत्याहिंसा, बलात्कार र अत्याचारका कथाहरूले हाम्रा पौराणिक ग्रन्थहरूमा भेटिने राक्षस तथा दैत्यहरूलाई पनि माथ गरेका रहेछन् । मलाई यस्तै लाग्यो ।

ऐतिहासिक ती नरभक्षीहरूका जीवन–वृत्त र तिनका क्रियाकलापहरू हेर्दै गएँ । मोबाइलको स्क्रिन सारेर हेर्दै जाँदा मलाई अफ्रिकी महादेशमा पर्ने युगान्डाको राष्ट्रपति इदि अमिन त एउटा पिचास नै रहेछ जस्तो लाग्यो । हेरिएमध्ये सबैभन्दा बढी क्रूर तानाशाह त्यही नरभक्षी इदि अमिन जस्तो लाग्यो । अति नै दम्भी र घमन्डी शासक । अहङ्कारी पनि उत्तिकै । कसैको सल्लाहसुझाव नलिने र अरुले भनेको पनि नटेर्ने । के के नै सर्वज्ञाता जस्तो बनेर चाहिँदो–नचाहिँदो अन्टसन्ट कुराहरू गर्ने ! अरूको कुरै नसुन्ने ! उसले यतिसम्म अत्याचार गरेको रहेछ कि त्यो यहाँ वर्णन गरेर साध्य पनि छैन । जिउँदो मान्छेकै मासु खाने नरभक्षी रहेछ ऊ ।

सामान्य मुसलमान परिवारमा जन्मिएको इदि अमिन बाल्यकालदेखि नै क्रूर र निर्दयी स्वभावको रहेछ । खासै शिक्षादीक्षा नपाएको अमिनलाई अफ्रिकाको बौलाहा तथा सन्काहा शासकको रुपमा पनि चिनिँदो रहेछ । अनुहार कालो न कालो, देख्दै डरलाग्दो । जिउडाल पनि ठुलो, एक सय पैंतिस किलाको शरीर । अग्लो पनि उत्तिकै । वैधानिक रुपमा छवटा श्रीमती, अवैधानिक त कति हुन् कति ! हिसाब गरिसाध्यै रहेनछ । सन्तान पनि लगभग चार दर्जन जति ! मासु खान खुब मन पराउँदो रहेछ– मान्छेको मासु ! स्कुल, कलेज पढ्दै गरेका राम्रा–राम्रा र भर्खरका कलिला युवतीहरूलाई उसले आफ्नो सिकार बनाउँथ्यो रे । उसले आफ्नो शासनकालमा छ लाखभन्दा धेरै मान्छेको हत्या गरेको रहेछ । आफ्नै क्रूरताका कारण राष्ट्रपतिको गद्दीबाट च्युत भई ऊ युगान्डाबाट लखेटिएको रहेछ ।

यतिसम्म निर्दयी कि आफ्ना विरोधीहरूको कत्लेआम गर्थ्यो रे । कत्लेआम गरिएको शरीरका कोमल अङ्गहरू अर्थात् भित्र्याँस– मुटु, कलेजो, मृगौला आदि भुटेर खाने गर्थ्यो रे । कतिपय रिस उठेका शत्रुहरूको अण्डकोष काटी पोलेर पीडितलाई नै जबरजस्त खुवाउँथ्यो रे र आफू पनि खान्थ्यो रे । यतिसम्म सन्काहा कि विरोधीहरूको टाउको काटेर दरबारभित्र बैठक कक्षमा, टेबुलमा, फ्रिजमा, दराजमा जताततै सजाएर राख्ने गर्थ्यो रे !

आफूलाई मन परेपछि वा राम्री लागेपछि चाहे कसैकी श्रीमती होस्, छोरी होस् अथवा बुहारी होस्; उसले बलात्कार गरिछाड्थ्यो र यौनबाट तुष्टि मिलेपछि त्यस्ता बलात्कृत युवतीको हत्या गरेर मासु खान्थ्यो रे ।

स्त्रीहरूलाई काखमै राखेर टोकी टोकी मार्थ्यो रे । कलिला युवतीहरूको स्तन काटेर फ्राइ गरी खान्थ्यो रे । मान्छेहरूलाई हतियार प्रयोग नगरी प्रायः खेलाई खेलाई मार्थ्यो रे । मान्छेलाई छ्याकछ्याक पारी ससाना टुक्रा बनाएर आफूले पालेको गोहीलाई खुवाउँथ्यो रे । आफ्ना विरोधीहरू एक लाख जति मानिसहरूलाई त उसले मारेर नाइल नदीमै फालेको रहेछ ।

उसको क्रूरताका विरुद्ध गरिएको आन्दोलनले उग्र रुप लिएपछि युगान्डाबाट उसको सत्ता ढलेछ । ऊ भागेर लिबिया पुगेछ र अन्तिममा साउदी अरबमा अठहत्तर वर्षको उमेरमा सन् २००३ मा उसको मृत्यु भएछ ।

मैले आफ्नो मोबाइलको स्क्रिनमा इदि अमिनको यही चर्तिकला हेर्दै र पढ्दै थिएँ; अचानक पछाडिपट्टि आएर मेरो छोरो उभियो । छोरो जो उमेर समूहमा जेन–जी हो र अचेल मैले उसलाई नामै जेन–जी दिएको छु अर्थात् जेन–जी भनेर बोलाउने गरेको छु ।

पछाडि उभिएको उही जेन–जी कराउन थाल्यो– ‘क्या हो बाबा ! जति बेला नि मोबाइल, फेसबुक र युट्युबमा मात्रै ! यसरी एकलकाँटे भएर कतिन्जेल आफ्नो कोठामा मात्रै बसिरहनुहुन्छ ?’

‘भर्खर मोबाइल खोलेर यस्सो हेर्न मात्रै लागेको थिएँ, फेरि यहीँ आएर कचकच गर्न थालिस् हैन !’ मोबाइलबाट आँखा नहटाई उसलाई गाली गरेँ ।

‘छोरासँगै बस्नुपर्छ, छोरालाई नि समय दिनुपर्छ भन्ने त कुरै छैन है ! अलि बेर त आफ्नै आँखालाई पनि आराम दिँदा राम्रै हुन्थ्यो क्यारे !’ उसले प्रत्युत्तरका रुपमा यिनै शब्दहरू पठायो र अगाडि थप्यो– ‘आज त म नि तपाइँसँगै सुत्ने हो ।’

म मोबाइल बन्द गर्न खोज्दै थिएँ; समय केही घर्किसकेकाले होला सायद् व्यङ्ग्यमिश्रित स्वर निकाल्यो उसले– ‘कति बज्यो, थाहा छ ?’

मोबाइलको स्क्रिनमा हेरेँ– सवा एघार बजेको रहेछ ।

ऊ प्रायः आफ्नै कोठामा सुत्थ्यो भने कहिलेकाहीँ मेरो कोठामा आई मसँगै टाँसिएर सुत्थ्यो । आज ऊ मसँग मेरै खाटमा सुत्ने भयो । खाट अलिक सानो भएको हुँदा दुई जना सँगै सुत्न नपरे हुन्थ्यो जस्तो लाग्छ मलाई । यद्यपि छोराको चाहना विपरीत जानलाई मेरो मनले मानेन ।

बिस्तरामा पल्टिँदा पौने बाह्र जति भएको थियो सायद् । निद्रा लागेन । उही इदि अमिनका कुकृत्यहरू झलझली आए र मस्तिष्कमा मडारिए । कुनापट्टि सुतेको छोरो निदाइसकेको थियो । तर म भने... ... ।

तर म भने कति बेला निदाएँछु कुन्नि ! एकैचोटि छोरो ‘के गरेको बाबा ? किन समा’को ?’ भनेर च्याँट्ठिँदा पो झल्याँस्स ब्युँझेँछु । दुवै हातले च्याप्प समाएर उसलाई अँगालामा बेरेको रहेछु । उसले आफ्नो शरीरबाट मेरा हात हटाएपछि म होसमा आएँ । मुटुको धड्कन निकै छिटोछिटो चलेको महसुस गरेँ । छातीमा पसिना पनि आएको रहेछ । पसिनाले भिजिसकेको रहेछ छाती ।

कुरो के भने छोरो जेन–जी र म दशरथ रङ्गशालामा फुटबल हेर्न गएका रहेछौँ । खेल स्वदेशी क्लवहरूकै बिचमा रहेछ, प्रतियोगितात्मक खेल । साँझपखको अँध्यारामा फ्लड लाइट बालेर खेलाइएको थियो । हामी बाबुछोरा दर्शकदीर्घामा बसेर खेल हेरिरहेका थियौँ । खेलाडीहरू प्रायः भर्खरका केटाहरू थिए । अधिकांशले दाह्री पालेका थिए । दाह्री पालेकाहरूको अनुहार आर्यहरूको जस्तो थियो । थोरै केही खेलाडीहरूले दाह्री पालेका थिएनन् । ती दाह्री नपालेका खेलाडीहरू मङ्गोलियन जस्ता थिए । मुख्य रेफ्री कैलो कपाल भएका गोरा र अग्ला थिए भने सहायक तथा असिस्टेन्ट रेफ्रीहरू केही काला अनुहारका थिए तर ती अफ्रिकी मूलका हब्सीहरू भने थिएनन् ।

अनौठो त यो थियो कि– खेलाडीहरू परम्परागत छालाको फुटबल खेलिरहेका थिएनन् । बल नक्कली छाला, सिन्थेटिक वा प्लास्टिकको पनि थिएन । उनीहरू त मान्छेको टाउकालाई नै फुटबल बनाएर एकापसमा किक हानिरहेका थिए । घाँटीबाट अलग पारिएको थियो त्यो टाउको । मलाई त्यो टाउको इदि अमिनकै जस्तो लाग्यो । अलिक घोरिएर हेरेँ– इदि अमिनको टाउको त कालो रङको हुनुपर्ने तर यो टाउको त त्यस्तो रङको छैन ! फ्लड लाइटको उजेलामा मेरा आँखाले राम्ररी ठम्याउन सकेनन् । टाउकाको पहिचानका लागि आडैमा बसेको छोरासँग सोध्ने विचार गरेँ– ‘बाबु जेन–जी ! हेर् त हेर्, त्यो टाउकाको कलर कस्तो छ ?’

‘किन र बाबा ? त्यो त गहुँगोरो छ ।’ उसले टाउकाको कलर बतायो ।

‘बाबु ! त्यसको नाक हेर् त, नाक कस्तो छ ?’ मैले पुनः उसलाई काम अह्राएँ ।

हातको पाली लगाएर उसले केही बेरसम्म हेर्‍यो र जबाफ फर्कायो– ‘नाक त केही चुच्चो–चुच्चो खालको छ बाबा !’

‘अनि, टाउको केटाकेटीको जस्तो छ कि, अलि पाको मान्छेको जस्तो छ ?’ मैले फेरि एकपटक टाउको हेर्न पठाएँ ।

‘खुरूखुरू गेम नहेरेर कति कचकच गरेको होला !’ छोरो रिसायो र झिँजो मान्दै अगाडि थप्यो– ‘बुढो मान्छेको जस्तो छ ।’

यसपछि भने मैले उसलाई प्रश्न गरिन । बरू मैले मनमनै आफैलाई प्रश्न गरेँ– के यो टाउको नेपालीकै हो त ? त्यसो भए कसको हो त यो टाउको ? तँछाडमछाड गर्दै प्रश्नहरू आएर मस्तिष्कमा मडारिन थाले । मैले यकिन गर्न सकिरहेको थिइन– कुन चाहिँ नेपालीको हो त यो टाउको ? म फुटबल बनेको त्यही टाउकाकै बारेमा घोत्लिइरहेको थिएँ, एउटा खेलाडीले निकै लामो फ्रि किक हान्यो । टाउको आएर मेरो छोरो जेन–जीकै छातीमा बज्रियो र गुड्दै तलतिर झर्‍यो । मेरै आडमा मसँगै बसेको छोरालाई टाउकाले भुक्लुक्क ढलाएको देख्दा म आत्तिएँ र रुँदै दुवै हातले छोरालाई अँगाल्न पुगेँ । चपक्कै समाएछु अर्थात् मज्जैले कसेँछु उसलाई आफ्नो अँगालामा । हो, यतिबेलै हो, छोरो जेन–जीले ‘के गरेको बाबा ? किन समा’को ?’ भनेर चिच्याएको र म झल्याँस्स ब्युँझेको ।


हालः पोखरा- १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।