19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इत्यादि प्रेमांश

कथा प्रदीप गुरुङ July 25, 2026, 2:46 pm
प्रदीप गुरुङ
प्रदीप गुरुङ

अलिक हल्का हल्का घामको याम । अब लाग्दो हिँउदले केही रमाइलो उग्राएजस्तो यता, त्यता । हिउँको सास छैन हावामा ।

अहो नीलो उठेको आकाश माथि माथि अझै सीमाहीन । तुवॉंलो छैन । पुछ्यो झरीको सप्कोले क्षितिज पखालेर ।

उही स्थल, ठूलो डॉंडा । कथा लुकेको पोथ्रा पोथ्रीतिर । चरीहरूको मीठो स्वर झ्याङ झ्याङतिर उडदै ।

चरीजस्तै दुरूस्तै स्वर सुनिन्छ् ।

‘हजुर, भन्नुहोस् न’

‘के ?’

‘हजुरलाई के प्यारो लाग्छ?’

‘मलाई ? विस्मित शङ्कामा रोकिन्छ । एकै क्षण फेरि भङ्ग गर्छ मौनता–‘मलाई तिमीसँगै सम्पूर्ण मन पर्छ । माया अँगालोको सम्पूर्णता हो ।

‘अरू? चरीमय स्वर ।

‘मलाई यो दिन मन पर्छ जसको उज्यालोमा कोही प्रतिविम्वित छ’ ।

क्रमशः स्वरको लर्को लाग्छ– ‘दिनै मीठो, किन भने रात छटपटीमा वित्छ । यो ठाउँ मन पर्छ, कारण हामी यहाँ साविक भेट्छौँ । यो फूलमय लहराले बेह्रेको वुच्का मन पर्छ । यो हामीसँग घनिष्ट छ । हाम्रो उपस्थितिको वोध यसलाई हुन्छ । अनि त्यही वास्तविकता मन पर्छ जहाँ तिम्रो उपस्थिति छ ।’

‘उँ हुँ, अनि, अनि हजुर?’

‘म कतै बड्दैछु कुनै विन्दुतिर ।’

‘भइ गयो नि । मेरो आयतनतिर हो हजुरको विन्दु।’

खित्का छाडेर ।

‘किन ?’

‘आफैलाई सोध्नु होस् त मेरो हजुर ।’

‘मैले यहॉं आफैबाट प्रत्येक विषयमा उत्तर पाउने भए यहाँ नितान्त एक्लो रहने थिएँ ।’

‘वस् त्यही कारणले मात्र हजुर मकहाँ आउनु हुन्छ?’

‘होइन, कारण छ नि । तिम्रो सम्पूर्णताभित्र म पूर्णतः अपूर्ण तर जब तिम्रो सामुन्ने हुन्छु, स्वयम्लाई सम्पूर्ण रीतमा पाउँछु ।’

‘कसरी?’

‘इः यसरी...।’

उच्छावास ज्वारभाटा बन्छ । केही शुष्क कर्ण पीडित आवाज बज्छ? घुर्यानको सानो हाँगो भाचिन्छ । प्रश्वासको तीव्रताले शून्यता बिथोलिन्छ ।

‘हजुरले एकोहोरो बनाउनु भएको छ यसरी ।’

पल पलपछि मौनता भत्किन्छ ।

‘ कसलाई?’

‘मै विचरीलाई ।’

‘है त्यो मोहनी मसँग कहाँ छ र?’

‘विश्वास गर्नु हुन्न हजुर? सुन्नु होस् न यहाँ ।’

फेरि शुष्क प्राणको क्रन्दन ।

‘यहाँ हजुरकै नाउँ गुञ्जिन्छ ।’

फेरि गुञ्जिन्छ–उनीहरूकै अगाध मायाको प्रतिध्वनि ।

दिनमणि अस्ताचल पुग्छ । विदाईमा पारि हिमाल मुस्काउँछ । क्षितिजसँग मायाको चुम्वन छाडेर दिनमणि पूर्णतःओर्लिन्छ ।

‘किरिया खान्छु–जुन दिन हजुरलाई हराउँछु त्यसै दिन यही नै हाम्रो प्रेम कथा पुरेर आफैलाई हराइदिन्छु ।’

आवेगमा अनन्त साथको प्राण फुस्कि दिन्छ ।

‘अँ, यो प्रेमिल थलो नै मेरो साक्षी नहोस् त्यस्तो तर तिमीलाई गुमाउनु नै मेरो अस्तित्व हराउनु हो ।’

वुटयानमा बेरिएको लहरामा फक्रेछ सानो कोपिला । एउटा भमरा उड्दै आएर बस्यो । आलिङ्गन सम्मोहनमा बाँधिन्छन् ।

‘फूलको प्रारब्ध नै त्याग हो ।’ सोधिन्छ ।

‘होला हजुर।’ उत्तर दिइन्छ ।

‘अनि भमरा?’ फेरि उस्तै प्रश्न ।

‘सायद हजुरको प्रेमको आकस्मिकता...।’

अघि उडी आएको भमराले धर्तीलाई कलिलो ठान्दैन ।

रस निख्रिन्छ । भमरा उड्छ । दिनभरिको मोहक क्षणलाई लुध्राएर निस्तब्धताले खोस्टो ओडाएदिन्छ ।

अनि शून्य त्यहाँ । क्रमशः...कति दिन ।

समय कति दौडियो नि द्रुततासित ।

प्रकृति चित्रकार बन्छ । कुचीले हरियो रङ्ग लिपि दिन्छ । दृश्यमा रङ्गीन थोप्लाहरू बिन्दुसरी खस्छन् । फेरि फूल । फेरि भमरा ।

तर त्यो बुट्यानले किन अनुहार फेरेन अचम्म । त्यसको यौवन सुस्ताएछ बरा । हावामा उदासी सुसेल्छ ।

उ आउँछे । नितान्त एक्लो आउँछे । टिठ्याएर हेर्छे । डाँडा काप्छन् । अब के हुने हो । भविष्यको दिशा कता जाने हो । भरोसाको त्यो हात कता पुग्यो नि । विश्वासको साथ कता छुट्यो हँ । एक्लो भएर एक्लैलाई किन कुर्नु परेको ?

दिनमणि र हिमालको प्रेमिल मिलन जुट्छ उसरी नै छुट्छ त्यसरी नै । हावा चलेको चलेकै । पानी बगेको बगेकै । समयको सयौ चक्र छोएर हावा कहाँ कहाँ पुग्यो । झरनामा नुहाएर पानी कहाँ कहाँ पुग्यो । त्यो समय वृद्ध भएर सम्झनाको पिठ्यूँमा उक्लेछ । अहो त्यहाँ त नयाँ बुट्यान पलाएछ डाँडाको फेदमा । तर अँगालो छैन लहराको, समयको त्यो स्वव्निल समिपसम्म पनि पुग्नै नसकेको भएर । मुनिको त्यो गोरेटो पहिला जस्तो सुनसान पनि रहेन । यदा कदा बटुवाहरू हिँडिरहेछन् ।

‘के पर्खेकी हो उः माथि ? विचरी एक्लै छे त ।’

गोरेटोबाट आवाज आउँछ ।

‘होइन, कुनै कवियत्री होलिन् । उः पारी हिमाल र गुराँसको थुङ्गा हेरेर टोलिएजस्ती छिन् त।’

मर्म बुझि दिने आवाजभित्र सान्तवना त रहेछ । दुनियाँदारी सबै कहाँ स्वार्थी हुन्छ र । तर उ चल्दिन । स्थिर चट्टान न हो अहिले । अब उभित्र मन मान्छे बन्छ । एउटा सोध्ने मान्छे, अर्को उत्तर दिने मान्छे ।

‘तिमी बाँच्नु पर्छ ल ।’

‘किन ? कसको निम्ति यो बचाइ ?’

‘आफ्नो निम्ति । ’

‘किन आफ्नै निम्ति ?’

‘आफ्नो स्वत्व सत्तको निम्ति । ’

‘बेकार शून्य ।’

‘होइन अर्थ छ नि शून्यता ।’

‘भयो पर्दैन, शून्य निरर्थक ।’

‘कहाँ जान्छौ, कुन दिशामा ?’

‘दिशा छैन मेरो , यही बुट्यान छेउ पूर्ण बुटी बनाइ बस्न पाए हुन्थ्यो ।’

अचानक तल सडक हल्ला गर्छ । को कता हरायो, खोज्छन् । केही बटुवाहरू ।

मनका दुई मानिसहरू कता हराउँछन् कता । बरा मौन मानिसहरू ।

उ आकाश हेर्छे । रङ्ग उस्तै नौलो, बादल छिमल छिमन । आकश उसको मौनताको प्रतीक । भावनाको प्वाँख फिजाएर उड्छ मन त्यतै । तर शून्य, शून्य यस अर्थमा कि त्यहाँ उसँगै हुने युगल उपस्थिति छैन ।

त्यो बुट्यान स्थलदेखि मन बसाइँ सर्यो ।

ए कोठाभित्र खुम्चिएकी छे ।

सेविका सहेलीले टेवलमाथि कलसमा फूल भरेर राखिछ । फूल छ वासनासरी । वासना मोहनी हो । मोहनीले तान्यो । कति दिन पछि आयो नि भमरा । पस्यो फूलकै पत्रमा । रस खोजेको होला । रसमय रहेछ जीवन । भमरा उडेर गयो । केही त छाड्यो होला फूलभित्र । तर उसकै मुटुमा पो खील बिज्यो ।

चञ्चली सेविका सहेली । कहाँ गइछे । हावासँगै उड्ने पात न हो । कहिले यता, कहिले उता । ओखती लिने बेला भइसक्यो । भात पकाउँदै होली । प्रस्टै गाउँदै छे – एउटा प्रेम राग । रोगग्रस्त उ तकियामा टाउको पिसाएर सुतिरहेकी छे । आँखा बन्द छ । त्यहाँ सपना छ । सपनाभित्र अथाह संसारको विचरण छ । .... कस्तरी खेला सुसाइ रहेछ । मनका ती मान्छेहरू फेरि आए । बोल्न थाले । उँधो बगार उस्तै सपाट छ ।

‘प्रिये, तिमीसँग बोल्ने शब्द छैन ?’

“होइन सोचिरहेछु जीवन ।’

’कस्तो?’

..............

’नभन्ने ?’

’जान्दिन हजुर ।’

’म बिनाको?’

तर्सियो केही । तर को तर्सियो, को तर्सियो ।

‘निराला छ रीत । जीवन थाहा छैन –के हो ।’

‘होइन फूल फुलेको होस, घुम्न पाउँ यहाँ ।’

‘हुन्छ यस्तो ?’

‘हजुर होस् हाम्रो । ’

‘अनि ?’

..... छत्याङ्ग । ढुङ्ग खस्यो पानीमा । किनार छोएर पानी बगीरहेको छ उस्तै । फेरि ढुङ्ग खस्यो बग्दो पानीमा । फेरि उस्तै आवाजले साउती दियो खुशीको । पानी बगेर छोइरहेछ कलिलो पाइतला ।

‘नभन्ने ?’

‘हजुरकै हो यो जीवन ।’

‘साच्ची कसम ....?’

‘यही खोला ...।’

‘बगि रहुँ सधैँ ।’

‘एक अञ्जुली पानी उघाएर दिने मेरो अधरलाई । ’

‘उः खाली भावुकता हजुरको ।’

‘यो भावुकता, तिम्रो मेरो ।’

सपना उडेर गयो । त्यो अघिसम्म अर्ध विपनाभित्र छिर्यो ।

अहिले छैन । सेविका सहेलीले पथ्य, ओखती ल्याई । अब खानु छ । ज्यान फर्काउनु छ । कति दिन भइसक्यो. क्षय रोगले छाती गाँजेको ।

रातले खोस्टो ओढ्छ । उसरी नै ।

पात्रा पसी सपना सदनमा ।

बक्रहरूमा सतेको बगर छ । मित मिलनमा बगरको लम्पाट छेउहरू छोएर बग्दो छ खोला । बगरमा पाइलाका डोबहरू बसाउँदै हिँडिरहेछ सपना पात्रा पात्रा । उँभो हरियो भञ्ज्याङदेखि एक झोकको बतासले बगरलाई सुम्पेका केही फूल छ छरिएको त्यतै, कतै ।

‘कति कोमल फूल नि । ’

‘कोमल अञ्जुलीभरी फूल छ । ’

‘तिम्रो लागि फूल केवल ।’

‘होइन हजुर अञ्जुलीभरिको मेरो माया ।’

‘कस्तो ?’

‘असीम असीम ।’

‘तर फूल एक दिन ओइलन्छ, होइन ?’

.......।

‘ओइलदैन र ?’

‘होइन, मेरो फूल वस्तवमा दृश्यको होइन र यो ओइलदैन ।’

‘फूलको सफलता प्रिये ?’

..............। (लाजभरि छट्पट)

‘मिलन ?’

तर सपना भाग्यो । विपनाले चित्कार गर्यो – मिलन होइन , विछोड ।

सपना सदनको ढोका खोलियो । सेविका सहेली आएर झ्याल खोली । बाहिर आँगनमा एक जुँवा घाम उँभो उठिसकेछ । सेविका सहेली गई । तुरुन्तै आई । पथ्य र ओखती आयो । उस्तो खान मन थिएन । तर कर गरेरै खुवाई अनि पछिल्तिर खित्का छाडेर घ्वाप्प अँगालो हाली । वास्तवमा उसलाई अँगालो मन पर्दैन आजकाल । अँगालोबाट उसको खुशी फुत्किएर हराएको छ ।


तर के गर्ने । क्षय रोगले शिथिल पारेको उसको ज्यान उम्कन सकेन । उसको कानमै फुसफुसाई – तपाईसँग छ तस्बीर ? पुरानो खास मान्छेको, उस्तै ....तला हेर्नु नि, आउँदै गरेको .... दुरुस्तै तपाईको मनको मान्छे जस्तै ..।

भनेर सेविका सहेलीले खित्का छाडी । अनि उसलाई छाडी । अनिच्छा छ आँखामा । तर सडकतिर ओर्लियो दृष्टि गोचर । उफ् यस्तो पनि हुन सक्छ । उस्तै प्रारुपमा त्यो पुरानो अनुहार ? गुराँस फुलेको अनुहार, भमरा बसेको अनुहार, हिमाल झल्केको अनुहार ।

सडक रित्तो भयो हेर्दा हेर्दै ।

दुरुस्तै मान्छेले घुम्ती काट्यो ।

रित्तो सडक हेरेर फेरि सेविका सहेली हाँसी । उ नकरात्मक बनी । छायाँ झैँ भागी सेविका । उ सपना विपना जोडिएको दोभानमा पुगी । दोभानमा जीवन र मृत्युको प्रतिविम्ब देखिए । त्यही उ उभिन् पुगी । एकापट्टी जीवन, अर्कोपट्टी मृत्यु । मृत्युले उसलाई आउने साउती दियो । जीवनले उसको पुरापुरी खाइरह्यो ।

उ माझ धारमा परी । फेरि हिमालकै दिशाबाट भमरा उडेर आयो ।

उसले मृत्यु रोज्न खोजी । भमरा नकरात्मक गुन्गुनायो । उसले भमरालाई हेरेर सम्झी –त्यो प्रेमको परिणति त यस्तै रहेछ । उसले भाकेर बोलाई – मृत्यु आद्र तिमी मभित्र समाहित हुन । त्यो प्रेमको पर्व चुडान्त चाहना निखार रह्यो ।

तर अनायस भमरा त्यही दुरुस्तै मान्छे बन्यो । अँगाल्यो । त्यही प्रेमिल अँगालो । त्यही स्थल, त्यही बुट्यान, त्यही फूलमय लहराले बेरिएको बुट्यान ।

कानै बर्बरायो –मृत्यु किन रोज्ने ? किनः?

If I speak of death

Which you fear now greatly

It is without answer

Except that each

One we know is

In our blood

Dout recall graves

Memory in parmanent .

( to a sad daughter)

From cinnamon Petter)

Michel Ordeatjr)

माइकलले केही भने कानमा रक्तविन्दुसँगै मिलेर आएको अकाट्य मृत्युबारे

जीवन जिवन्त घडीसम्मकै लागि रहेछ । केही प्रविष्ट भए उसको मुटुमा । कसैले उसको मुटुलाई नै चुम्न लागेछ । अब किन पो भाक्ने नि कपुस्थानलाई । सम्झना स्थायी रहेछ । उनकै हो कि सम्झना ।

सपना विपनाको तरल कुण्डमा तैरिरहेकी थिई उ । बाहिर निस्की । उसले मनमनै प्रार्थना गरी –प्रभु त्यो असिम आनन्दको क्रम दोहोरियोस् ।

गुराँस हाँगा हाँगाभरि फुलेको छ । त्यसको नेपथ्यामा स्फटिक हिमाल । हावाको लहरसँगै रमाइ उड्ने पुतलीहरू छन् छिमल छिमल । मनमा केही उत्तल छ । प्रकृति हरियो भञ्ज्याङको तरेली ओर्लदै रमाए जस्तो आकांक्ष कति उच्चताका साथ हाँकिएको । यस्तो दिन के सँधै स्थिर बन्न सक्तैन ।

तल सडक साविक झैँ तेर्सिएकै छ

सडकमा सम्भावना बाँच्छ ।

सडकको अनुपस्थितिमा सायद मर्नेछ त्यो ।

कालेबुङ, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।