19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

टिकटकले सम्झाएको ढुङ्गेडाँडा र लुम्देली खवर !

संस्मरण/स्‍मृति विमल लामिछाने July 28, 2026, 3:04 pm
विमल लामिछाने
विमल लामिछाने

उपत्याकामा घाम झुल्किसकेको थियो । एउटा आलिसान घरको चौधौँ तलाको यो फ्ल्याट यस्तो सुविधासम्पन्न थियो, जहाँ हावा पनि मेशिनले छानेर मात्र भित्र पठाउँथ्यो । बाहिर साउनको झिम्झिमे पानी परिरहेको थियो । बसन्तले हातमा समातेको कफीको कपबाट तातो बाफ उडिरहेको । त्यो बाफमा उसले बाल्यकाल विताएको दूर्गम गाउँ घुमिरहेको देख्यो ।

हातमा कफीको कप बोकेर वरपर डुल्छ, उसका आँखा क्षणभरमै चारैतिर डुल्दै थिए, भेन्टिलेटर माथिको हावा फिल्टर गर्ने मेसिनमा गएर थुरिन्छन् । त्यो मेसिन यसरी घुम्दैथिया कि, उ बेलाको खमारे बेँसीमा चँदाराले काठको ठेकी कुँदाउँन घुमाएको घुर्रो जस्तै । उसलाई लाग्यो कि, समय पनि यसरीनै रफ्तारमा घुमिरहेको होला !

उ सामुन्नेको टी टेवलमा कप राखेर स्पीरिङवाला तर भुवाजडित लचकदार बेडमा गर्लम्म पल्टियो र स्मार्टफोन अन ग¥यो । फेसबुकको टाइमलाइनमा महेनद्र, अरुण, बद्री, लेखनाथ, पूर्ण, गीता, टेकबहादुर, प्रदिप, मुक्ती, दिपेन्द्र, सुदिप, लोकबहादुर, तिविन्द्र, जगत, मुस्कान, मास्टरबाका आधुनिक तस्बिरहरू टाइमलाइनमा एकपछि अर्को गर्दै लस्करै निस्किए । कसैको ब्याकग्राउन्डमा सिमेन्टका महल र गमलामा सजिएका रङ्गी चङ्गी फूलका सीनहरु थिए, कोही विदेशका चिल्ला सडकमा उभिएका थिए । ती तस्बिरहरू हेरिरहँदा बसन्तको मानसपटलमा अचानक एउटा धेरै पुरानो तर विगत सम्झाउँने आवाजको गुन्जनसहित रिल घुमेर आयो– ‘ओइ लामिछाने भाञ्जा...! आज पोखरीमा फुटसल गेम छ है नाङ्रुङेलाई हराएर एथवालीसँग भिड्नुपर्छ, रविडाँडा, हुलाक र पाङ्द्वाली मिलेर तोबाङेसँग भिड्ने पनि आजै अरे । लान्छन् होला रविका केटाले शिल्ड !

भोलीपल्ट विहानको अर्को टपिकमा– ‘ओइ लामिछाने भाञ्जा...! आज गाई भष्मे पाखामा लानुुपर्छ है, कट्टुमा लुुकाएर सलाइ वोक्यौ के त ?’ तल्लाटारका सुठुनी र भष्मेका बनतरुल पोलेर खानुपर्छ नि ।

माथ्ला टारको डिलबाट सेते मामाको घोक्रो फुलेर निस्किएको त्यही रैथाने स्वर ! गाईबस्तु बुटाबारीबाट ओरालो खेदेपछि खासै गोठाला लागिरहनु नपर्ने, बेलुकीपख आफै गोठ फकिन्थे । धरापमा परे कि, या बन्यजन्तुले लखेट्यो कि मात्रै टहल्नुपर्ने । बसन्तलाई ओखरबोटे र ढाँडबारीका पाखामा झुम्मिएका महगाग्री, लहरे आँप, लप्सी र वनतरुल मनपथ्र्यो । दिन त्यसैले भुल्याउँथ्यो । यो सबै सबै घुम्यो उसको दिमागमा ।

बसन्त कोल्टे फर्किन्छ र फेरि टिकटकको फोल्डर खोल्छ । एउटा पुरानो चलचित्र रिलिज भएझै फनफनी घुम्यो, ढुंगेडाँडाको महेन्द्रोदय स्कूल, अलिमाथिका पहेँलपुर भएर टप्किएका ऐसेलुका झुप्पा, बुढाथोकी डाँडाको भद्राक्षे र काफल, आचार्यका टारको नास्पाती र दाहालका घरमुनीको चुथ्रो । अलि तल भट्टराई बाका छोरीहरुको लोकदोहोरी, बराल मामाहरुको बालने नाच । आहा, कति मजाको थियो त्यो समय । हजुरबासँग बेँशी झर्दा भट्टराई बा, टीमुरी दिदी, फूलथुँगा र लुइटेल बासँग ट्याम्के डाँडाको फेदीको चौतारोमा बाघचाल खेल्दाका ति यादगर दिनहरु सबै सबै टिकटकका वालहरुमा घुमिरहेका थिए ।

बसन्त गुगलको अर्को फोल्डर यूट्युवमा आफ्ना औंलाहरु घुमाउँदै खोजीरहेछ, ‘के त्यो काजी र मुन्सीको गाउँ अर्थात मसले गाउँ अझै उस्तै होला त ?’ बसन्तको मनभित्र एउटा गहिरो खुल्दुली कुदिरहेछ ।

उसको कानमा राधा मामा र कान्छी माइजुको स्नेह अझै मलिन भएर गढेको थियो, कान्छी माइजुः जो एक हातमा नुनको पोको र अर्को हातमा नौनी टाँसिएको दुँधेरो बोकेर लप्सीका डिलबाट ओखरबोटेतिर फर्केर बोलाउँछिन्– ‘चरनको मालीगाई फर्काउनुु... भानिज !

त्यो बेला गाउँ एउटा सिंगो परिवार जस्तो थियो । तर आज ...? बसन्त अझै गहिरिएर सोच्न थाल्यो– घरडाँडे दाइका कानमा सिउरेको कटुसका पातको सूूर्तीको लुुडो र मसले बाबैको तमाखुको त्यो आत्मीय धुवाँ आधुनिकताको आँधीले निभायो कि अझै सल्केकै छ ? वैदारनी दिदी र रनेनी आमैको घाँस–दाउरा गर्दा बन–पाखा जुरुक्कै उचाल्ने संगिनी, अनि भट्टराई र बरालबाहरुले ढुंगेडाँडा र लुम्देको एथवासम्म थर्किने गरी अधिकारी मामाको आँगनमा खेलेको बालनको लोक–रनक अझै बाँकी होला कि गाउँका पढालेखाहरुले ती मौलिक लोक भाकालाई टिकटकको र्याप र युट्युबको भ्युजमा साटिसके ?

बसन्त अझै भावुक भएर गहिरिन्छ । समयले मान्छेलाई धेरै टाढा पुर्याइसकेको छ । बर्तमानलाई पनि गुगलको साहारा नलिएसम्म भेट्न सकिन्न । तर उसले अझै गाउँको आफ्नोपन गुगलमा खोजिरहेकै छ । नाङ्रुङ स्कुलमाथिका न्यौपाने बाबैका घरमुनीको जिब्रो नै कालो बनाउँने अमिलो चुथ्रो र केशरी, बुढाथोकी बाबैका घरै छेउको रातो काफल, र खनाल ठूलेका कुवामाथिको ऐसेलु अहिले कसका लागि पाक्तै होलान् ? कि चिराइतो र किबी रोप्ने आधुनिक कृषि प्रविधिले ती झाडी र रैथाने वनस्पति सबै विस्थापित गरिसके ? समुहमा बल हुन्छ भन्ने युवा जमातको सक्रियतामा कामीडाँडाको भद्राक्षे र टाँगे साईलाका घरमुनीको वनतरुल खनेर माघी पर्व र लुतेसरो र धतुरो खोजेर साउने संक्रान्तिको उत्सव मनाउने त्यो संस्कार र आदिम सस्कृति कसले बचाउँदै होला ?

बसन्त जुरुक्क उठ्यो । पँधेराबारीको त्यो ठूलो कुवा, अलिमाथिको धर्के जनैढुङ्गो, भञ्ज्याङ माथिको मुस्कान डाँडा, राईगाउँ माथिको वर–पिपल चौतारो, माल्टेनी खोलाको झरना र रवि मुनीको ओडारे गुफा... ढुङ्गेडाँडाका शिरको बाटो, अलि परको घोर्लेभिर, माल्टेनी र हुलाकका स्पोर्टस्थलहरु यी केवल भूगोलका नाम मात्रै थिएनन्, बसन्त र उसका समकक्षीहरुका लागि यी त जीवन जिउने अक्सिजन थिए । उबेलाका आन्तरिक पर्यटकीय क्षेत्र थिए । अनि मनोरञ्जनका साधक र उ बेलाका चलचित्रका यथार्थ कथा थिए । ‘के यी सबै अझै उस्तै रैथाने यथार्थ बोकेर बाँचिरहेका छन्, कि विदेशी घुम्ने ‘पर्यटकीय स्थल’ बनिसके होलान ?

टिकटकको म्यासेन्जरमा टिङ टिङ घण्टी बज्यो, अरु थुप्रै साथीहरु टाइमलाइनमा थिए । लुम्देली र नाङ्रुङे मित्रहरुका म्यासेनजरको डिजिटल ठेगानामा भने हरियो थोप्लाको संकेत थिएन । बसन्तले आफ्नै नङ्ग्रे औंलाहरूले एउटा लामो सन्देश टाइप गर्न थाल्योः

‘ढुंगेडाँडा र लुुम्देली खबर के छ ? च्यानेखेत माथिको ट्याम्के डाँडाबाट फुङ्खोला पारिका ल्याप्टन काकाहरुको बाजागाजा सहितको रोपाइँ अझै देखिन्छ कि टारीखेत बाँझिइसके ? उधौली र उभौलीमा गजुरमुखीदेखि ढुंगेडाँडा हुँदै लुम्दे र फुएतप्पा कोप्चे र आङ्चेर सम्मका चेली माइती भेला भएर रातभर खोओओओ.. गर्दै नाच्ने धान नाचको रोनक सकियो कि उस्तै छ ? पानी पर्दा स्वाँ गरेर कराउने नाङ्रुङ स्कूल मुनीको जंगल अझै सुसाउँदैछ, कि त्यहाँ पनि मङ्की रिसोर्ट बनिसक्यो ? अनि मित्रहरु, दमाई गाउँको कुलो र देवीथान उस्तै छन् ? अलि माथिका दाहाल तिविन्द्र, खनाल पुरुशोत्तम र राम घिमिरे र कान्छा रानाहरु रवि ब्यापार गर्दैछन् कि मधेशतिरै झरिसके ? अनि पोखरी गाउँका अरुण, टेकबहादुर, दिपेन्द्र र अरुहरुको के छ नि हालचाल ? सबै सबै फेसवुकमा अपलोड गरौंन ।’

म्यासेन्जरभित्रको सन्देशको अन्त्यमा पुग्दा बसन्तका आँखाहरू कुहिरो लागेको बेला रविडाँडा मुनिको भञ्ज्याङ जस्तै धुमिल भइसकेका थिए । फेसबुकको ग्रुप बक्समा गएर बसन्तले अर्को म्यासेज लेखे–‘गाउँ त भूगोलको एउटा टुक्रा मात्र कहाँ हो र ? यो त हरेक मान्छेको चेतनाको देवीथानमा बलिरहेको अखण्ड दियो हो । उ बलिरहन्छ । जो जो विदेशमा वा स्वदेशकै सहरको महलमा बसेर ऐश्वर्य भोग्दै गरेपनि आफ्नो बाल्यकाल भुलाउने गाउँलाई नविर्सनु होला । यूट्युव, टिकटक र फेसबुकमा अप्लोड गरिरहनु होला ढुङ्गेडाँडा र लुम्देली खवर ! उही लामिछाने भान्जो अर्थात बसन्त ।’

दमक, झापा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।