मेरो नाम समीरा हो।
समीर—शीतल हावाको अर्को नाम। तर मेरो जीवनमा धेरै वर्षदेखि कुनै शीतलता बगेको छैन। कहिलेकाहीँ लाग्छ, मानिसको नाम उसका लागि होइन, अरूका अपेक्षाका लागि राखिन्छ। जीवनले भने आफ्नै अर्थ रोज्दो रहेछ।
म अहिले काठमाडौंको एउटा घरको झ्यालअगाडि बसेर यो डायरी लेखिरहेकी छु। झ्यालबाहिर बिहान विस्तारै उज्यालिँदै छ। सडकमा सवारीको चहलपहल सुरु भइसकेको छ। टाढाबाट मन्दिरका घण्टीहरूको मधुर ध्वनि हावासँगै आइपुग्छ। यो सहर हरेक बिहान नयाँ आशाका साथ ब्युँझन्छ, तर मेरा लागि धेरै बिहानहरू एउटै साँझको निरन्तरता जस्ता लाग्दै आएका छन्।
विवाहको सुरुवाती दिनहरूमा मैले पनि यही सहरलाई फरक आँखाले हेरेकी थिएँ। लाग्थ्यो, सम्बन्ध भनेको दुई जनाले एउटै भविष्यतिर हिँड्ने यात्रा हो। पछि बुझ्दै गएँ—एउटै बाटोमा हिँडिरहेका मानिसहरू पनि भिन्न–भिन्न गन्तव्य बोकेर हिँडिरहेका हुन सक्छन्।
मेरो श्रीमान् मोहन नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत हुनुहुन्थ्यो। कार्यालयमा उहाँको छवि अनुशासित, विवेकशील र निर्णय क्षमता भएको कर्मचारीको थियो। कानुनका दफाहरू, प्रशासनिक निर्णय र सेवाग्राहीका समस्याहरू समाधान गर्न उहाँ निपुण मानिनुहुन्थ्यो। कार्यालयका सहकर्मीले उहाँको प्रशंसा गर्थे। अधीनस्थ कर्मचारीहरू सम्मानका साथ बोल्थे।
कहिलेकाहीँ म सोच्थेँ—अरूका जटिल समस्या सहजै सुल्झाउने मानिसले आफ्नै घरभित्रको मौनता किन बुझ्न सकेन?
सुरुमा मैले उहाँको व्यस्ततालाई जिम्मेवारी सम्झिएँ। जिम्मेवारीलाई सम्मान गर्नु पनि त दाम्पत्यको एउटा कर्तव्य हो। तर समयसँगै मैले महसुस गर्न थालेँ—मानिस कामका कारण मात्र टाढिँदैन, मनका कारण पनि टाढिन्छ।
त्यो टाढिनु कुनै एक दिन सुरु भएको थिएन। न कुनै ठूलो घटनाले हाम्रो सम्बन्धमा चिरा पारेको थियो। त्यो त चिसो मौसममा ऐनाको सिसामा जम्ने तुसारो जस्तै थियो—बिस्तारै, मौन रूपमा, थाहा नपाई।
मोहन बिहान कार्यालय जानुहुन्थ्यो। ढोका बन्द भएको आवाजसँगै घरभरि एउटा गहिरो सन्नाटा फैलिन्थ्यो। सुरुका केही महिना त्यो सन्नाटाले मलाई रुवायो। पछि त्यही सन्नाटाले मलाई किताबतिर डोर्यायो।
पुस्तकालयको एउटा कुनामा लोकसेवा आयोगका पुराना प्रश्नपत्र, नेपालको संविधान, सार्वजनिक प्रशासन, समसामयिक विषय र सामान्य ज्ञानका पुस्तकहरू बिस्तारै थुप्रिन थाले। ती किताबहरू कसैलाई देखाउनका लागि होइन, आफूलाई बचाइराख्नका लागि थिए।
मोहनले कहिलेकाहीँ मलाई किताबमा डुबेको देखेर मुस्कुराउँदै भन्नुहुन्थ्यो, "अझै पनि पढ्ने बानी गएको रहेनछ।"
म पनि हल्का मुस्कानले टारिदिन्थेँ।
"बानी त सजिलै कहाँ जान्छ र?"
उहाँले त्यसलाई समय काट्ने बानी सम्झनुभयो। मैले कहिल्यै भनिनँ—म समय काटिरहेकी थिइनँ। म आफ्नो भविष्यसँग भेट्ने तयारी गरिरहेकी थिएँ।
त्यतिबेला मलाई जागिरको त्यति लोभ थिएन। तर एउटा प्रश्नले भने बारम्बार मेरो मनको ढोका ढकढक्याइरहन्थ्यो—
"के म जीवनभर कसैकी श्रीमती भएर मात्र चिनिनुपर्ने हो? कि आफ्नै नाम, आफ्नै कर्म र आफ्नै निर्णयले पनि मेरो एउटा परिचय हुन सक्छ?"
त्यो प्रश्नको उत्तर म किताबका पानामा खोजिरहेकी थिएँ। सायद त्यसैले मैले पढाइलाई कहिल्यै गोप्य रहस्य मानेकी थिइनँ। त्यो त मेरो मौन प्रतिरोध थियो—कसैका विरुद्ध होइन, आफ्नै असहायताका विरुद्ध।
तर त्यसबेला मलाई थाहा थिएन, जीवनले मेरो धैर्यको परीक्षा केवल किताबका पानामा मात्र लिनेवाला थिएन।
किताबहरू मेरा मौन साथी बन्दै गएका थिए। कुनै दिन संविधानका धाराहरू पढ्थेँ, कुनै दिन सार्वजनिक प्रशासनका सिद्धान्त। पढ्दापढ्दै थाकेको बेला डायरी खोल्थेँ।
डायरीमा मैले मोहनका दोषहरूको सूची कहिल्यै लेखिनँ। त्यहाँ त आफ्नै मनका प्रश्नहरू मात्र लेखिरहेकी थिएँ।
"सम्बन्धलाई बचाइराख्न प्रेम पर्याप्त हुन्छ कि सम्मान पनि आवश्यक पर्छ?"
त्यस प्रश्नको उत्तर मसँग थिएन। मोहनसँग थियो कि थिएन, त्यो पनि मलाई थाहा थिएन।
समय आफ्नै गतिमा अघि बढिरह्यो। काठमाडौंको मौसम फेरिएझैँ क्यालेन्डरका पाना फेरिँदै गए। वर्षा आयो। दशैँ आयो। तिहार पनि बित्यो। तर हाम्रो घरभित्रको मौसम भने उस्तै रह्यो। एउटै छानामुनि बसेर पनि हामी दुई जना फरक–फरक मौनतामा बाँचिरहेका थियौँ।
त्यतिबेलासम्म मैले एउटा कुरा स्पष्ट देख्न थालेकी थिएँ। मोहन मानिसहरूसँग सहजै घुलमिल हुनुहुन्थ्यो। त्यो स्वभाव मलाई सुरुमा मन पर्थ्यो। तर बिस्तारै मैले एउटा सूक्ष्म भिन्नता महसुस गरेँ।
उहाँको आत्मीयता विशेष गरी विवाहित महिलाहरूसँग बढी लम्बिन्थ्यो। कहिले सहकर्मीको श्रीमतीको समस्यामा अत्यधिक चासो। कहिले पुरानी चिनजानकी कुनै महिलासँग लामो टेलिफोन संवाद। कहिले सामाजिक सञ्जालमा रात अबेरसम्म चल्ने सन्देश आदानप्रदान।
यीमध्ये कुनै पनि घटना आफैँमा अपराध थिएन। तर सबै घटनाहरू एउटै दिशातिर संकेत गरिरहेका थिए।
मैले धेरैपटक आफूलाई सम्झाएँ—
"समीरा, मानिसमाथि विश्वास गर्न सिक। प्रत्येक आत्मीयता शङ्काको विषय हुँदैन।"
सायद त्यो सम्झाइ अरूलाई होइन, आफैँलाई दिइरहेकी थिएँ।
एक साँझ मैले सहज रूपमा सोधेँ,
"आजकल तपाईंको फोन धेरै व्यस्त देखिन्छ।"
उहाँले पानीको गिलास टेबुलमा राख्दै भन्नुभयो,
"कार्यालयको काम बढेको छ।"
म मौन रहेँ। कार्यालयको कामले आधी रातमा आउने मुस्कानको अर्थ बुझाउँदैन भन्ने कुरा मलाई पनि थाहा थियो। तर त्यस रात मैले कुनै प्रतिवाद गरिनँ। किनभने सम्बन्धमा कहिलेकाहीँ मानिस सत्य खोज्दैन, आफ्नो विश्वास बचाउने अन्तिम प्रयास गरिरहेको हुन्छ।
त्यो प्रयास म अझै गरिरहेकी थिएँ।
केही दिनपछि एउटा शनिबार म नयाँ बानेश्वरतिर किताब किन्न निस्किएकी थिएँ। लोकसेवाको नयाँ संस्करण आएको भन्ने सुनेकी थिएँ। किताब किनेर फर्कने क्रममा एउटा कफी पसलअगाडि मेरो पाइला आफैँ रोकियो।
भित्र मोहन बसिरहनुभएको थियो। उहाँसँग एउटी महिला थिइन्। उनीहरूको टेबुलमा दुई कप कफी थियो। कुराकानीमा एउटा सहज आत्मीयता थियो। त्यो आत्मीयता श्रीमान्–श्रीमतीबीचको थिएन, तर सामान्य चिनजानभन्दा धेरै पर पुगेको थियो।
म केही क्षण त्यहीँ उभिरहेँ। न मैले भित्र पस्ने साहस गरेँ, न उहाँले मलाई देख्नुभयो।
म चुपचाप फर्किएँ।
घर आइपुग्दा मेरो हातमा किताबहरू थिए। तर त्यो दिन पहिलोपटक मलाई लाग्यो—कतिपय किताबले भन्दा जीवनले धेरै कठोर पाठ पढाउँछ।
त्यही रात डायरीमा मैले एउटा वाक्य लेखेँ—
"विश्वास एकैचोटि भाँचिँदैन। त्यो हरेक सानो लुकाइमा, हरेक अधुरो उत्तरमा, हरेक अनावश्यक मौनतामा अलिकति–अलिकति क्षय हुँदै जान्छ।"
डायरी बन्द गरेपछि धेरैबेर झ्यालबाहिर हेरेँ। टाढा देखिने काठमाडौंका बत्तीहरू एक–एक गरेर बलिरहेका थिए।
अचम्म लाग्यो।
यति धेरै उज्यालो भएको सहरमा पनि मानिसको मन यति अँध्यारो हुन सक्दो रहेछ।
★★
मोहनसँग मैले झगडा गर्न छोडेकी थिएँ। कहिलेकाहीँ मौनता पनि तर्कको एउटा परिपक्व रूप हुँदो रहेछ। जसले सुन्न चाहँदैन, उसलाई शब्दले होइन, समयले मात्र उत्तर दिन सक्छ भन्ने विश्वास ममा बिस्तारै पलाउन थालेको थियो।
हामी एउटै भोजनकक्षमा बसेर खाना खान्थ्यौँ। उहाँ कार्यालयका प्रसङ्ग सुनाउनुहुन्थ्यो—कुन फाइल रोकियो, कुन निर्णय गर्नुपर्यो, कुन सेवाग्राही सन्तुष्ट भएन। म शान्त भएर सुनिरहन्थेँ। तर मैले महसुस गर्न थालेकी थिएँ, उहाँका दिनका सबै घटना मेरो सामु आउँथे, तर उहाँको मन कहिल्यै आउँदैनथ्यो। त्यसैले मैले पनि आफ्नो मन उहाँको अगाडि राख्न छोडेँ।
मेरो संसार विस्तारै दुई भागमा विभाजित भयो—बाहिरको संसार, जहाँ म मोहनकी श्रीमती थिएँ; र भित्री संसार, जहाँ म आफ्नै भविष्य निर्माण गरिरहेकी थिएँ।
बिहान उहाँ कार्यालय जानुहुन्थ्यो। म केहीबेर घरको काम सिध्याएर किताब खोल्थेँ। कहिलेकाहीँ संविधानका धाराहरू बुझ्न धेरै समय लाग्थ्यो। सार्वजनिक प्रशासनका सिद्धान्तहरू पहिलोपटक पढ्दा जति कठिन लागेका थिए, दोस्रोपटक त्यति लागेनन्। सायद किताबहरू होइन, म आफैँ बदलिँदै गएकी थिएँ।
लोकसेवाको तयारी मेरो लागि केवल परीक्षा पास गर्ने योजना थिएन। त्यो आफ्नै आत्मविश्वासलाई बिस्तारै पुनःनिर्माण गर्ने अभ्यास थियो।
डायरीको एउटा पानामा मैले लेखेँ—
"आत्मनिर्भर हुने निर्णय कुनै दिन अचानक लिइँदैन। त्यो त आत्मसम्मानमा लागेको साना–साना चोटहरूको दीर्घ अभ्यासबाट जन्मिन्छ।"
डायरी बन्द गरेपछि धेरैबेर आफ्नै हस्ताक्षर हेरेँ। मनमा एउटा अनौठो प्रश्न उठ्यो—
"के कुनै दिन मेरो हस्ताक्षर मेरा आफ्नै निर्णयहरूको प्रमाण बन्नेछ?"
त्यो प्रश्नको उत्तर अझै भविष्यसँग थियो।
एक साँझ मोहन सामान्यभन्दा निकै ढिलो घर फर्कनुभयो। मैले समय सोधिनँ। उहाँले कारण पनि बताउनुभएन। सम्बन्धको एउटा यस्तो बिन्दु आउँदो रहेछ, जहाँ प्रश्न सोध्ने अधिकारभन्दा उत्तर नपाउने निश्चितता ठूलो हुन्छ।
उहाँ स्नान गर्न जानुभयो। मोबाइल बैठकको टेबुलमै छुटेको थियो। त्यही बेला एउटा सन्देश आएको सूचना देखापर्यो। मैले मोबाइल छोइनँ। केही वर्षअघिसम्म म सायद त्यो सन्देश पढ्ने प्रलोभनमा पर्थेँ। तर त्यो रात मैले महसुस गरेँ—विश्वास खोज्न अरूको मोबाइल होइन, आफ्नै मन हेर्नुपर्छ। र मेरो मनले धेरै कुरा धेरै अघिदेखि बुझिसकेको थियो।
झ्याल खोलेर बाहिर हेरेँ। काठमाडौंको रात विस्तारै गहिरिँदै थियो। सडकका बत्तीहरू बलिरहेका थिए। मानिसहरू आ–आफ्ना गन्तव्यतिर हिँडिरहेका थिए। त्यस भीडलाई हेर्दा पहिलोपटक मलाई लाग्यो—
एक्लोपन मानिस वरिपरि कोही नभएको अवस्था होइन। एक्लोपन त आफूलाई बुझ्ने एउटा मन पनि साथमा नहुनु रहेछ।
त्यही रात मैले किताब फेरि खोलें। बाहिरको मौनताभन्दा भित्रको संकल्प बलियो हुँदै गइरहेको थियो।
समयको एउटा विशेषता रहेछ—ऊ कहिल्यै कसैका लागि रोकिन्न। मानिस भने उही ठाउँमा धेरै वर्षसम्म अड्किन सक्छ। म भने अड्किन चाहन्नथेँ। त्यसैले बिहानदेखि बेलुकासम्मको मेरो दिनचर्या बिस्तारै निश्चित हुँदै गयो। घरका काम सकिएपछि किताब खोल्नु, टिपोट बनाउनु, अघिल्लो दिन पढेको कुरा दोहोर्याउनु र साँझपख डायरीमा त्यो दिनको मनस्थितिलाई केही हरफमा उतार्नु मेरो दैनिकी बनेको थियो।
कलेज पढ्दादेखि नै डायरी लेख्ने बानी थियो। खुसीका दिनहरूभन्दा उत्तर नपाएका प्रश्नहरू त्यसका पानामा धेरै सुरक्षित थिए। कहिलेकाहीँ लाग्थ्यो, संसारमा सबैभन्दा धैर्यवान् श्रोता यदि कोही थियो भने त्यो मेरो डायरी नै थियो।
मोहनले मेरो पढाइलाई कहिल्यै गम्भीरतापूर्वक लिनुभएन। उहाँलाई लाग्थ्यो, पढ्नु मेरो पुरानै रुचि हो, समय बिताउने एउटा बानी मात्र। सायद त्यसैले उहाँले कुनै दिन सोध्नुभएन—
"के तयारी गर्दैछौ?"
र मैले पनि कुनै दिन भनिनँ—
"म आफ्नो खुट्टामा उभिने अभ्यास गर्दैछु।"
त्यो मौनता हामी दुवैका लागि सुविधाजनक थियो।
लोकसेवा आयोगको विज्ञापन प्रकाशित भएको दिन मैले अखबार धेरैबेरसम्म हातमा समातिरहेँ। आवेदन फाराम भर्ने निर्णय मैले त्यही दिन गरिसकेकी थिएँ। तर त्यो निर्णय कसैलाई सुनाइनँ। मलाई लाग्यो, केही निर्णयहरू घोषणा गरेर होइन, पूरा गरेर मात्र अर्थपूर्ण हुन्छन्।
फाराम भरेको दिन घर फर्कंदा मन अनौठो रूपमा हलुङ्गो थियो। मैले कुनै ठूलो उपलब्धि हासिल गरेकी थिइनँ, तर पहिलोपटक आफ्नो जीवनका लागि आफैँले एउटा ठोस कदम चालेकी थिएँ।
त्यो रात डायरीमा एउटा वाक्य थपियो—
"आशा बाहिरबाट आउँदैन। कहिलेकाहीँ एउटा सानो निर्णयले नै जीवनभित्र आशाको पहिलो झ्याल खोलिदिन्छ।"
दिनहरू फेरि आफ्नो लयमा बग्न थाले। मोहनको व्यवहारमा भने कुनै परिवर्तन आएन। उहाँ अझै उस्तै व्यस्त देखिनुहुन्थ्यो। कहिलेकाहीँ कार्यालयको बैठक, कहिले तालिम, कहिले सहकर्मीहरूसँगको भेट। उहाँका व्यस्तताबारे मैले प्रश्न गर्न धेरै पहिल्यै छोडिसकेकी थिएँ।
एक दिन बेलुका उहाँले सहजै भन्नुभयो,
"भोलि पोखरा जानुपर्छ। मन्त्रालयको कार्यक्रम छ। दुई दिन लाग्न सक्छ।"
"हुन्छ," मैले छोटो उत्तर दिएँ।
उहाँले मेरो अनुहारतिर एकछिन हेर्नुभयो। सायद उहाँले पहिलेकी समीरालाई सम्झनुभएको थियो—जो यस्ता कुरामा धेरै प्रश्न गर्थी। अहिले भने मेरो मौनताले उहाँलाई पनि अलमल्याउन थालेको थियो। तर त्यो मौनता रिसको थिएन। त्यो मौनता निर्णयको गर्भ थियो।
त्यो रात मैले किताब बन्द गर्दा अचानक मनमा एउटा विचार आयो—
यदि कुनै दिन म यो घरबाट बाहिरिनुपर्यो भने, के म आफ्नो जीवन आफ्नै बलमा चलाउन सकुँला?
त्यो प्रश्नले मलाई डराएन। बरु पहिलोपटक लाग्यो—म त्यस प्रश्नको उत्तर खोज्ने दिशामा धेरै अघिदेखि हिँडिरहेकी रहेछु।
लोकसेवा आयोगको परीक्षा नजिकिँदै जाँदा मैले घरको घडीभन्दा आफ्नै समयलाई बढी नियाल्न थालेँ। बिहान सबेरै उठ्ने बानी पर्यो। काठमाडौं अझ पूर्ण रूपमा ब्युँझिनुअघि नै म किताबको पहिलो पाना खोलिसकेकी हुन्थेँ। बाहिर चिया पसलहरू खुल्दै हुन्थे, पत्रिका बोकेका केटाहरू गल्ली–गल्ली दौडिरहेका हुन्थे, र मेरो दिन भने एउटा प्रश्नबाट सुरु हुन्थ्यो—
"आज हिजोभन्दा एक कदम अगाडि बढ्न सकेँ कि सकिनँ?"
परीक्षाको दिन पनि आयो। परीक्षा केन्द्रतिर जाँदा मैले वरिपरि धेरै अनुहारहरू देखें। कसैको आँखामा आत्मविश्वास थियो, कसैको आँखामा चिन्ता। मेरो मन भने अनौठो रूपमा शान्त थियो। मैले त्यो परीक्षा कसैलाई जिताउनका लागि दिएकी थिइनँ। त्यो त आफ्नै असहायतामाथिको पहिलो विजय थियो।
तीन घण्टापछि परीक्षा हलबाट बाहिर निस्कँदा आकाश खुलिसकेको थियो। मैले लामो सास फेरें। परिणाम जे आए पनि एउटा कुरा निश्चित भइसकेको थियो—म अब पहिलेकी समीरा थिइनँ।
घर फर्केपछि मोहनले औपचारिक रूपमा मात्र सोध्नुभयो,
"आज कतै गएकी थियौ?"
"एउटा काम थियो," मैले छोटो उत्तर दिएँ।
उहाँले फेरि केही सोध्नुभएन। मैले परीक्षा दिएको कुरा बताइनँ। कहिलेकाहीँ मौनताले सम्बन्धलाई जोगाउँदैन, तर मानिसलाई भने जोगाइराख्छ।
★★★
दिनहरू फेरि बित्न थाले।
एक शनिबार म असनतिर केही घरायसी सामान किन्न निस्किएकी थिएँ। बजार सधैँझैँ भीडले भरिएको थियो। मानिसहरू आफ्नै हतारमा थिए। त्यही भीडमा पछाडिबाट कसैले नम्र स्वरमा भन्यो,
"माफ गर्नुहोस्... तपाईं समीरा दिदी होइन?"
म फर्किएँ। करिब सत्ताइस वर्षजतिकी एक महिलाले विनम्र मुस्कानसहित मलाई हेरिरहेकी थिइन्। अनुहार कताकता चिनेको जस्तो लागे पनि मैले तुरुन्त सम्झन सकिनँ। उहाँ र मेरो उमेरमा दुई वर्षभन्दा बढीको फरक नहुन सक्छ।
उहाँ आफैँ बोल्न थाल्नुभयो।
"हामी दुई–तीन पटक भेटेका थियौँ। मोहन सरसँग..."
उहाँ त्यत्तिमै रोकिनुभयो। त्यो अधुरो वाक्यले नै धेरै कुरा बोलिसकेको थियो।
मैले शिष्टतापूर्वक नजिकैको कफी पसलतिर देखाएँ।
"यदि समय छ भने, केहीबेर बसौँ?"
उहाँले हल्का टाउको हल्लाउनुभयो।
हामी झ्यालछेउको एउटा टेबुलमा आमनेसामने बस्यौँ। केही क्षण दुवै मौन रह्यौँ। त्यो मौनता असहज थिएन; शब्दहरू कसरी सुरु गर्ने भन्ने द्विविधाको मौनता थियो।
अन्ततः उहाँले कप समाउँदै बिस्तारै भन्नुभयो,
"दिदी, धेरै दिनदेखि तपाईंलाई एउटा कुरा भन्नुपर्छ भन्ने लागिरहेको थियो। तर यो कुरा भन्नु उचित हो कि होइन, त्यसैमा अल्झिरहेँ।"
मैले केही भनिनँ।
उहाँ फेरि बोल्नुभयो,
"म तपाईंको सम्बन्धमा हस्तक्षेप गर्न चाहन्नँ। तर मौन बसेर पनि म शान्त रहन सकिनँ..."
मैले केही भनिनँ। उहाँले पनि केही क्षणसम्म कफीको कपतिर मात्र हेरिरहनुभयो। लाग्थ्यो, शब्दहरू उहाँको मनमा धेरै अघिदेखि तयार थिए, तर ओठसम्म आइपुग्न अझै संकोच मानिरहेका थिए।
"मेरो नाम आर्या हो," उहाँले बिस्तारै भन्नुभयो, "सायद तपाईंले सम्झनुभएको नहुन सक्छ। एउटा कार्यक्रममा मोहन सरसँग भेट भएको थियो। त्यसपछि कहिलेकाहीँ उहाँको सम्पर्क हुन थाल्यो।"
मैले शान्त आँखाले उहाँतिर हेरेँ।
"सुरुमा मैले त्यसलाई सामान्य चिनजान नै ठानेँ। उहाँ शिक्षित हुनुहुन्थ्यो, शिष्ट ढङ्गले बोल्नुहुन्थ्यो। केही प्रशासनिक विषयमा पनि कुरा हुन्थ्यो। त्यसैले मैले कुनै अस्वाभाविक कुरा महसुस गरिनँ।"
उहाँ केहीबेर रोकिनुभयो।
"तर बिस्तारै उहाँका सन्देशहरू विषयभन्दा बाहिर जान थाले। कुनै विशेष कारणबिनै फोन आउन थाले। भेट्ने आग्रह हुन थाल्यो। सुरुमा मैले सभ्यतापूर्वक टारिरहेँ। पछि स्पष्ट रूपमा दूरी बनाएँ।"
मैले अझै केही सोधिनँ। मौनताले उहाँलाई आफ्नो कुरा पूरा गर्ने साहस दिइरहेको थियो।
"दिदी," उहाँको स्वर अझै मृदु भयो, "उहाँले कहिल्यै अशोभनीय व्यवहार गर्नुभएन। त्यसैले म उहाँमाथि कुनै आरोप लगाउन चाहन्नँ। तर उहाँको त्यो निकट हुने चाहनाले मलाई असहज बनायो।"
उहाँले सिधै मेरो आँखामा हेर्नुभयो।
"मैले दूरी बनाएपछि केही समयमै उहाँ अर्कैतिर व्यस्त हुनुभयो। त्यसपछि मैले बुझें—समस्या म होइन रहेछु।"
कफी चिसिइसकेको थियो। तर त्यो क्षणमा मेरो मनभित्र वर्षौँदेखि जमेको एउटा भ्रम भने बिस्तारै पग्लिरहेको थियो।
आर्याले फेरि भन्नुभयो,
"आज यो कुरा भन्नुको उद्देश्य तपाईंलाई दुःख दिनु होइन। बरु तपाईं आफैँलाई दोष दिइरहनुभएको छ भने, त्यसबाट मुक्त गराउनु हो। धेरै महिलाले श्रीमान् टाढिँदा आफूमा नै कमी खोज्न थाल्छन्। मैले पनि तपाईं त्यसै गर्नुहुन्छ कि भन्ने डर लाग्यो।"
म धेरैबेर मौन बसेँ। त्यसपछि पहिलोपटक बोलें।
"धन्यवाद।"
उहाँले अचम्मित भएर मलाई हेर्नुभयो।
मैले फेरि भनेँ,
"तपाईंले मेरो शङ्का बढाउनुभएको होइन, मेरो भ्रम हटाइदिनुभएको हो।"
उहाँको अनुहारमा हल्का राहत देखियो।
"म धेरै दिनदेखि यही एउटा वाक्य भन्न चाहन्थेँ," उहाँले मुस्कुराउँदै भन्नुभयो।
हामी दुवैले बाँकी कफी विस्तारै सक्यौँ। उठ्ने बेला आर्याले एकछिन संकोच गरेर भनिन्,
"यदि एउटा कुरा भन्न अनुमति दिनुहुन्छ भने..."
"भन्नुहोस्।"
"तपाईंले जे निर्णय लिनुहुन्छ, त्यो आवेगमा होइन, आफ्नो आत्मसम्मानका आधारमा लिनुहोस्। आवेग शान्त हुन्छ, आत्मसम्मानसँग भने जीवनभर बाँच्नुपर्छ।"
मैले टाउको मात्र हल्लाएँ।
कफी पसलबाट बाहिर निस्कँदा काठमाडौं उस्तै व्यस्त थियो। सडकमा सवारीसाधनको लाम थियो। मानिसहरू हतार–हतार आफ्ना गन्तव्यतिर हिँडिरहेका थिए। तर मेरो भित्र भने अनौठो शान्ति थियो। त्यो शान्ति खुसीको थिएन। त्यो सत्य स्वीकार गरिसकेपछि आउने शान्ति थियो।
घर फर्किने बाटोभरि मैले एउटा कुरा मात्र सोचिरहेँ—
कुनै सम्बन्ध एकैदिन भाँचिँदैन। त्यो धेरै पहिलेदेखि भित्रभित्रै चर्किसकेको हुन्छ। कुनै दिन एउटा सानो घटना केवल त्यसको आवाज बनेर बाहिर सुनिन्छ।
त्यो साँझ डायरी खोल्दा मैले धेरै लेखिनँ। केवल एउटा वाक्य लेखेँ—
"आज मैले कसैलाई गुमाएकी छैन। आज मैले आफूलाई झूटो आशामा बाँधिराख्ने अन्तिम कारण गुमाएकी छु।"
डायरी बन्द गरेँ।
झ्यालबाहिर हेर्दा पश्चिमतिर अस्ताउँदै गरेको घामले स्वयम्भूको डाँडामाथि सुनौलो आभा छरेको थियो। केही क्षणका लागि त्यो दृश्यलाई म मौन भएर हेरिरहेँ। मनमा पहिलोपटक एउटा अनौठो हल्कापन महसुस भयो। सत्य स्वीकार गर्नु पीडादायी हुन्छ, तर असत्य बोकेर बाँचिरहनुभन्दा हल्का पनि हुँदो रहेछ।
त्यही रात मैले आफ्नो पढाइको तालिका फेरि एकपटक मिलाएँ। अब किताबका पानाहरू केवल भविष्यको जागिरका लागि थिएनन्। ती मेरा आफ्नै जीवनतर्फ फर्किने बाटा बनिसकेका थिए।
त्यही रात मैले अर्को निर्णय पनि गरेँ।
भोलि म मोहनसँग शान्त भएर कुरा गर्नेछु। आफ्नो निर्णय उहाँलाई सुनाउनेछु। उहाँले के भन्नुहुन्छ, त्यो उहाँको अधिकार हुनेछ। मलाई सम्झाउन खोज्न सक्नुहुन्छ। आफ्ना गल्ती स्वीकार्न सक्नुहुन्छ। सम्बन्धलाई फेरि जोड्ने प्रयास पनि गर्न सक्नुहुन्छ।
तर मैले आफ्नो निर्णयमा एक इन्च पनि परिवर्तन गर्ने छैन।
किनभने यो निर्णय मैले क्षणिक आवेगमा होइन, वर्षौँको मौनता, आत्मसम्मान र आत्मबोधपछि लिएकी हुँ।
भोलिपल्ट बिहान घर असाध्यै शान्त थियो। मोहन कार्यालय जानुअघि बैठककोठामा बसिरहनुभएको थियो। म उहाँको सामुन्ने गएर शान्त स्वरमा बसेँ।
"म तपाईँसँग एउटा महत्त्वपूर्ण कुरा गर्न चाहन्छु।"
उहाँले मेरो अनुहारतिर हेर्नुभयो। सायद उहाँले मेरो स्वरको गम्भीरता पहिलोपटक महसुस गर्नुभएको थियो।
मैले कुनै भूमिका बाँधिनँ।
"धेरै वर्षदेखि म यो सम्बन्धलाई जोगिने आशामा मौन बसेँ। आफूलाई बदल्न खोजेँ। बुझ्न खोजेँ। पर्खिएँ पनि। तर अब म त्यो ठाउँमा छैन।"
उहाँ धेरैबेर केही बोल्नुभएन। त्यसपछि बिस्तारै भन्नुभयो,
"यदि म बदलिन खोजेँ भने...?"
मैले शान्त स्वरमै उत्तर दिएँ,
"कहिलेकाहीँ परिवर्तन सही समयमा नआउँदा त्यसको अर्थ पनि हराउँछ। यो निर्णय मैले आवेगमा लिएकी होइन। धेरै सोचेर लिएकी हुँ।"
उहाँ फेरि मौन हुनुभयो। त्यो मौनतामा न रिस थियो, न आरोप। केवल धेरै ढिलो भएको एउटा स्वीकारोक्ति लुकेको थियो।
त्यस दिन हामीले एकअर्काप्रति कुनै कटु शब्द बोलेनौँ। केही सम्बन्धहरू झगडाले होइन, लामो मौनताले अन्त्यमा पुग्दा रहेछन्।
दिनहरू फेरि अघि बढ्दै गए। जीवनमा बाहिरबाट हेर्दा खासै केही परिवर्तन भएको थिएन। तर मेरो भित्र भने धेरै कुरा बदलिइसकेको थियो।
केही सातापछि लोकसेवा आयोगको नतिजा प्रकाशित भयो। इन्टरनेटमा आफ्नो सिम्बोल नम्बर खोज्दा मेरा हात हल्का काँपिरहेका थिए। एक क्षणपछि स्क्रिनमा आफ्नो नम्बर देखेँ।
म उत्तीर्ण भएकी थिएँ।
त्यो क्षणमा मैले कुनै ठूलो उत्सव मनाइनँ। डायरी निकालेर शान्तसँग एउटा वाक्य मात्र लेखेँ—
"आज मेरो सफलताको सुरुवात जागिरबाट होइन, आफूमाथि विश्वास गर्न सिकेको दिनबाट भएको हो।"
डायरी बन्द गरेँ।
मोहनलाई पनि त्यो खबर सुनाएँ।
उहाँ केही क्षण मौन रहनुभयो। त्यसपछि भन्नुभयो,
"बधाई छ। तिमीले राम्रो गर्यौ।"
उहाँका शब्दमा औपचारिकता थियो, तर त्यसले मलाई अब कुनै पीडा दिएन। किनकि मैले धेरै अघिनै बुझिसकेकी थिएँ—अरूबाट आउने स्वीकृतिभन्दा आफ्नै आत्मस्वीकृति धेरै मूल्यवान् हुन्छ।
झ्यालअगाडि उभिएर मैले बाहिर हेरेँ। बिहानको घाम बिस्तारै पशुपतिनाथको दिशाबाट फैलँदै सहरभरि उज्यालो छर्दै थियो। मैले गहिरो सास फेरें।
डायरीको अन्तिम पानामा अन्तिम पटक हस्ताक्षर गरेँ।
त्यो हस्ताक्षर कुनै डायरीको अन्त्य मात्र थिएन। त्यो मेरो मौन यात्राको साक्षी थियो।
वर्षौँदेखि खोजिरहेकी परिचय अब कसैको सम्बन्धबाट होइन, आफ्नै निर्णयबाट बनेको थियो। पारपाचुकेका लागि भोलि उहाँसँग अदालत जानु थियो।
झ्यालबाहिर हेर्दा काठमाडौं आफ्नै अस्तित्वमा उभिएको थियो।
र पहिलोपटक मलाई लाग्यो—
"म पनि।"