19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लोखिम

कविता सेर्कु शेर्पा July 28, 2026, 3:19 pm
सेर्कु शेर्पा
सेर्कु शेर्पा

हिमालको काखमा हरियो वनले घेरिएको,
भाषा, भेष र संस्कृतिले मनमोहक छ लोखिम।
झरना, कुवा, कञ्चन खोलाको कलकल धुनमा,
स्वर्गको एक टुक्रा झैँ मुस्कुराउँछ लोखिम।

दुधकोशीको किनारदेखि धर्मडाँडाको शिरसम्म,
विशाल छातीमा फुलेका छन् सयौँ रङ्गका फूल।
टुङ्ना, डम्फु र बिनायोको सुमधुर संगीतमा,
गुञ्जिरहन्छ लोखिमे भाका।

गुम्बा, चैत्य र देवथानले छरेको शान्तिको ज्योतिमा,
सेलो, स्याब्रु र मारुनीका लयमा रमाउँछन् गाउँलेहरू।
हरेक पाइलामा मितेरी साइनो र आत्मीयता गाँस्दै,
उकाली–ओराली हाँस्दै पार गर्छन् गाउँलेहरू।

खोला–नाला, वन–जङ्गल र भिर–पाखापखेरामा,
घाँस–दाउरा गर्दै लामो स्वर तानेर गाउँदा,
सुख–दुःख प्रकृतिसँग बाँड्दै,
गुञ्जिरहन्छ लोखिमे लाहरी भाका।

सुसेलीसँग मिसिएको मुरलीको मिठो धुनमा,
प्रकृतिको काखमा सधैँ गुञ्जिरहन्छ लोखिमको स्वर।
साँच्चै, विविधताको काँधमा सुन्दरताको गाथा बोकेर,
हृदयको गहिराइमा अनन्त धुनझैँ गुञ्जिरहन्छ हाम्रो लोखिम।


थुलुङ दुधकोशी गाउँ पालिका -९, रक्सीखर्का, सोलुखुम्बु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।