19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लण्डनदेखि दुबईसम्मको यात्रा

नियात्रा गायत्रीकुमार चापागाईं August 1, 2026, 5:24 pm
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

१८ अप्रिल २०१९ । आज हामीले लण्डन छाड्ने दिन । लगभग दुई हप्ता हामी अनुपा (सालीबहिनी) को पाहुना भएर यो शहरमा बितायौँ । यो हाम्रो पारिवारिक सद्भाव यात्रा । छ जना छौँ नेपालबाट आएका । उनका छोरा बुहारी र नातिनी पनि हामीलाई साथ दिन छुट्टै बसे पनि यहीँ आइपुगेका छन् । यत्रो नौ जनाको बसोवास, खानपिन र डुलाइको प्रबन्ध मिलाउन सक्ने उनको कुशलताको हामी प्रशंसा गर्दछौँ । युरोप त्यसमाथि इङ्लैण्डको गौरवमय इतिहास । भौगोलिकरूपमा युरोप मात्र होइन एशिया, अफ्रिका, अमेरिकासम्म आधिपत्य स्थापित गरेर घामै न अस्ताउने उपाधि पाएको देश । न्याय, स्वतन्त्रता र मानव अधिकारको निम्ति सर्वाधिक चर्चित समृद्ध मुलुक । यस्तो देशको मुटु मानिने लण्डन शहर । त्यही शहरको नोर्वरिक भन्ने ठाउँमा अनुपाको एपार्टमेन्ट भवन । दश तलाको भवन भए पनि भुइँतलामै बसोबास भएकाले लिफ्ट चढिरहनु नपर्ने । यातायातका सन्जालले जोडिएको । जता जान पनि एकैछिनको पैदल यात्रापछि स्टेशन पुगिने । प्रायः धेरै मानिसहरूले सार्वजनिक बस, रेलकै उपभोग गरेको देखियो । हामीले पनि त्यसको उपभोग नगर्ने कुरै भएन ।
लण्डनका प्रमुख दर्शनीय स्थल अनुपाकै छोरा आकाशले घुमाए । उनी हप्तामा दुई दिन मात्र काम गर्ने हुनाले फुर्सदिला रहेछन् । स्कटलैण्डको एडेन्वर्गसम्मको यात्रामा पनि उनको परिवारले नै हाम्रो साथ दियो । जो हाम्रा लागि अविस्मरणीय रह्यो । मिलनभन्दा बिछोड पीडादायी हुने । आकाश उज्यालो थियो । घाम लागे पनि मन भने भारी । अनुपा भावुक थिइन् । उनी हिम्मतिली, जाँगरिली साहसी महिला । मेरो घरको सपना नामक कथाकी नायिका । जुन कथा पढेर उनी रोएकी थिइन् । मैले छुट्टिनु अघि उनीसँग छोटो अन्तर्वार्ता लिने विचार सुनाएँ । उनी तुरुन्तै राजी भइन् । उनको भित्री एकान्त कोठामा लगिन् । उनको जीवन अत्यन्त सङ्घर्षपूर्ण छ । उनको यो सङ्घर्षमय जीवन कहानी सार्वजनिक गर्दा आपत्ति हुन्छ या हुँदैन ? मेरो पहिलो प्रश्नमा उनी सकारात्मक देखिइन् । हुन्छ, आपत्ति क्यै छैन । उनी एक्लै पहिलोपटक नेपाल छाडेर कामदारका रूपमा इज्रायल पुगिन् । आफ्नै कमाइले छोरो आकाशलाई बोर्डिङमा राखेर पढाइन् काठमाण्डूमा । तीनवर्षे इज्रायल बसाइपछि पनि उनी नेपाल फर्किनन् । विद्यार्थी भिसामा लण्डन आइन् । त्यतिवेलाको प्रसङ्ग कोट्याउँदा उनले भनिन् ः– तीनबजे उठेर काममा जान्थेँ । तीनबजेदेखि छ बजेसम्मको काम पनि सजिलै नपाइने । अनुभव खोज्थे । एउटी गोरी महिलाले धन्न मलाई विश्वास गरेर काम दिइन् । मैले इमान्दारीपूर्वक उनलाई रिझाएँ । नौ बजेदेखि पाँच बजेसम्म कलेजको पढाइ । फेरि पाँच बजेदेखि १० बजेसम्म अर्को ठाउँमा काममै । यसरी तीनतिरको बोझ बोकेर यो शहरमा कति भौँतारिएँ कति । कठिन मेहनतले नै अहिले स्थापित हुन सकेँ । अब त्यस्तो दुःख गर्नु पर्दैन । उनले सन्तोषको सास फेरिन् ।
मेरो अर्को प्रश्न थियो– उनको दोस्रो बिहेको सन्दर्भको । उनको यो बिहे अन्तरजातीय मात्र नभएर अन्तर धार्मिक पनि । यसले पारिवारिक विचलन ल्याएको छैन ? उनको सहज उत्तर थियो– यो मुलुक व्यक्तिगत स्वतन्त्रता अत्यन्तै महŒव दिन्छ । म चाडपर्वमा माइती मानेका दाजु भाउजूकोमा दशैँ, तिहार मनाउँछु । उनी मलाई गाडीमा राखेर पु¥याउन जान्छन् । रोजाको बेला इदमा म उनीसँगै व्रत बसिदिन्छु । धर्मले हामीलाई केही विचलित पारेको छैन । उनी नमाज पढ्छन्, अल्लाह पुकार्छन् । म आफ्नै देवताको पूजा गर्छु । उनी सहनशील, समझदार, मिलनसार छन् परिवारको कान्छो छोरा । १९९० देखि नै बेलायत बसेका । उनका बाबु उनी आठ महिना हुँदा नै बितेका रे ! मेरो उनीसँग २००८ देखि नै मित्रता कायम भयो । मैले मेरो पूर्व जीवन नलुकाइ बताएँ । छोरो आकाशलाई नेपालबाट ल्याउने विचार राखेँ । उनले नाइँनास्ती गरेनन् । २०११ मा हाम्रो बिहे भयो । त्यसपछि आकाश पनि आयो । उसले दक्षिण भारतीयमूलकी तर मरिससमा बस्ने यहीँ काममा आएकी प्रीतिसँग बिहे ग¥यो । छोरी जन्मी । आकाश २८ वर्षको भयो । अब गरिखाउन् भनेर छुट्टै बस्ने प्रबन्ध गरिदिएकी छु । प्रीति हिन्दु नै हो ।
मन मिलेपछि के जात के धर्म । केहीले पनि नछेक्ने रहेछ । हुनत धर्म, संस्कृति, जात मान्छेले सामाजिक बन्धनका रूपमा आफैले विकास गरेका हुन् । संसारमा जहाँ जन्मे पनि ऊ मान्छे उदारतापूर्वक सोच्ता मान्छेका यी बन्धनहरू टुट्न र जुट्न सक्ने रहेछन् । उच्च मानवतावाद यही हो ।
मसँग अरू धेर प्रश्न बाँकी थिएनन् । उनको घरको सपना कहिले पूरा होला ? यो प्रश्न भुइँमा खस्न नपाउँदै उल्लसित हुँदै भनिन्, “आशीर्वाद दिनुस्, अबको दुईवर्षभित्र हामी आफ्नो घरमा हुनेछौँ । अर्कोपटक म आफ्नै घरमा तपाईंहरूलाई स्वागत गर्नेछु ।” अन्तिम प्रश्न अनुपाका जम्ल्याहा दुई छोरीहरूको बारेमा थियो । ती गत महिनामात्र जन्मेका, मुख हेरेर हाँस्न थालेका थिए । धेरै वर्षको वैवाहिक जीवनपछि पारिवारिक चासो र दरारलाई पुर्ने गरी जन्मेका यी गुडियाहरूले पछि बाबुको धर्म पछ्याउलान् कि आमाको ? यो प्रश्नले उनी भक्कानिइन् । आँखामा आँसु छचल्कियो । भनिन्, “म हस्तक्षेप गर्दिन । उनीहरू बाबुकै होउन् । उनले मेरो उपकार गरे । मेरो अंश पनि अवश्यै क्यै रहला ।” उनी रोइन् । नारी हृदय पग्लियो । मेरा पनि गहभरि आँसु भरिए । आफ्ना कुरा खुलस्त राखिदिएकोमा धन्यवाद दिएँ । अन्तर्वार्ताको क्रम टुङ्गियो । कोठा बाहिर निस्कियौँ ।
फोटो शेसन चल्यो । खाना तयार थियो । ११ः३० मा एयरपोर्ट हिँड्नु पर्ने । त्यहाँ पुग्न दुइटा गाडी चाहिने । त्यसको व्यवस्थापन अनुपाकै बूढाले गरे । एउटा गाडी आफैँ हाँक्ने भए । अर्को ट्याक्सी चालक आइपुग्यो । लामो दारीवाल बङ्गालीमूलको इटलीबासी । उसले आफ्नो परिचय दिँदै भन्यो – म ४९ वर्षको मान्छे, दारीले बूढोजस्तो देखिन्छु । सात वर्षको छोरो पढाउन लण्डन बसेको, ट्याक्सी चलाउँछु । रसिलो, हँसिलो मान्छे रहेछ । म उसका गफमा लहसिएँ । नोर्वरीलाई छोड्दा, बिदावारी हुँदा नै १२ बजिहाल्यो । यहाँबाट हित्थ्रो विमानघाट पुग्न दुई घण्टा लाग्यो । चार नं. टर्मिनल अगाडि पुगेर अनुपाका बूढा र ड्राइभर बिदा भए ।
झोला भिर्दै सुटकेस गुडाउँदै तल्लै तलाको रिवनले बेरिएको निर्धारित घुम्ती बाटो पछ्याउँदै काउन्टरमा लाइन लाग्यौँ । काउन्टरमा थिए – अङ्ग्रेज गोरा । सनसेरा ट्रावलले पठाएको हाम्रो भिसा थियो दुबईको । हाम्रो टिकट भने अबुधावीको । उनी अलमलिए । सातवटा देशको युनियन छ, कुनै एउटा देशको भिसा भए अन्यत्र घुम्न मिल्छ, हाम्रो तर्क । ऊ विश्वस्त भएन । हाम्रो टिकट, भिसा, पासपोर्ट बोकेर आफूभन्दा माथिल्लो अफिसरलाई सोध्न सिँढी चढेर माथिल्लो कोठातिर लाग्यो । करिब १० मिनेटमै स्वीकृतिको परिसूचक सिँढीबाटै बूढीऔँठा देखायो । उसले आज नयाँ कुरा जान्यो । हामीलाई फटाफट पासपोर्ट, भिसा र टिकट दिँदै भन्यो – तिमीहरूलाई दुःख नहोस् भनेर समय लिएँ । क्षमा गर । उसको विनयशीलतामा हामी पग्लियौँ र भन्यौँ – हार्दिक धन्यवाद । आउँदाजस्तो फर्कदा इमिग्रेसनको झन्झट नपर्ने । हामी माथिल्लो तलामा उक्लियौँ । सेक्युरिटीको डालीमा मोबाइल, घडी, औंठी, पेटी, टोपी राखिदियौँ । झोला बेग्लै । धेरबेर लागेन । अब जहाज चढ्ने प्रतीक्षा । कुर्सीमा बस्यौँ । जहाज बस्तै उड्दै गरेका दृश्य पर क्षितिजसम्म । तीन नं. को हामी उत्रेको टर्मिनल नजिकै देखियो । जहाजतिर जाने सन्देश आइहाल्यो । ठूलो ओढारजस्तो ढ्वाँङको सुरूङ यात्रा, सिधै जहाजमै पुगिने । यही ढ्वाँङमै जहाज जोडिएको । एकै लहरको छेउपट्टि तीन सिट बीचमा चार अर्को छेउमा तीन गरेर लहरै दस यात्री । लहर गन्न मन लाग्यो । पन्ध्र गनेँ । एकसय पचास यो तलामा । माथिल्लो तलामा यति नै होलान् । एयर बसका एयर होस्टेस गोरा गोरी केटाकेटी सराबर । संयोगले मेरो सिट झ्यालको छेउमा परेछ । सँगै कान्छो नाति । अरू चारको सिट बीचमा, एउटै लाइनमा । कुराकानी गर्न मिल्ने ।
जहाज उड्नु अघि नै सबै यात्रुलाई एयरफोन बाँडियो । आफू अघिको कम्युटर स्व्रिmनमा गीत सुन्दा वा फिल्म हेर्दा अरूलाई बाधा नपुगोस् भन्ने हेतु होला । अरेवियन भाषामा र पछि अङ्ग्रेजीमा शुभ यात्राका लागि मन्त्रहरू पढिए । जतिसुकै वैज्ञानिक आधुनिक यन्त्रको प्रयोग गरिए पनि धार्मिक अनुशासनको अनुसरण यथावत । दैविक शक्ति जीवन्त । ३९,००० फिटको उचाइमा जहाज उडाउने क्याप्टेनका नामहरू पढिए । यात्राको समय र आकाशीय दूरी बताइयो । उडानको समय तीन बजे भने पनि बीस मिनेट ढिलो भएको थियो । विकसित देशमा पनि आकाशीय मार्ग ढिलो नै हुने रहेछ । व्यवस्थापन र अनुमति पर्खदा ढिलो भएको हुनसक्छ । ठूलो जहाजको ठूलै पारा । भुइँ छाडेको सम्म थाहा पाइने तर हल्लाएको, ढल्केको केही अनुभूति नहुने । केटाकेटीहरू धेरै रहेछन् । जहाज उड्नेबित्तिकै कहालिएर चिच्याए । पछि शान्त हुँदै गए । यात्रुहरू आआफ्नै सुर र तालमा । गीत सुन्ने, फिल्म हेर्ने, पढ्ने पनि । परिचारिकाहरू कफी, चिया बाँड्दै हिँड्ने । जहाज उडेको एक घण्टाभित्रै टहलिन, रेस्टरूम खोज्न हिँडेका बूढाबूढीहरू । कोही त हरियो आढ्ने ओडेर सुत्ने तरखर गरेको पनि देखियो । हामी लण्डन आइपुग्दा बिहानको सात बजेको समय थियो । छोड्दा अपरान्हको समय । बाहिरी दृश्यावलीमा रमाउन सकिएला भन्ने लागेको थियो तर माथिबाट तल किरमिर नदी बगेको फाँट, गुजमुज्ज शहर, जङ्गल, समुद्रको पानीको सतह मात्र देखिने ।
बाहिरी दृश्यले मन त्यति रमाएन । कान्छालाई कम्युटरमा हामी उड्दै गरेको बाटो मिलाउन लगाएँ । जहाज कहाँ छ ? थाहा हुने । थेम्स नदीको किनारै किनारा उडिरहेको जहाजले इङ्लिस च्यानेल पार गरेर फ्रान्सको भूमि छोयो । पूर्वपट्टि ग्रीसको एथेन्स पश्चिमपट्टि इटलीको रोम । प्राचीन युनान, कला, संस्कृति, साहित्यको जननी, नागरिक सभ्यताको ढोका उघारेको थलो । श्रद्धाले टाउको निहुरियो । स्मृतिमा उभिए महाकवि होमर दार्शनिक सुकरात । रोमन सभ्यताको केन्द्र रोम, ल्याटिन महाकवि भर्जिल पनि सम्झनामा आए । जहाज जब भूमध्यसागरभित्र पस्यो । त्यहाँको मनोरम हावापानी र फलफूलको लागि संसारको बगैँचा मानिने ती क्षेत्रको भूगोलले मलाई तान्यो । दोभानमा उभिएर दुई सभ्यताको तुलना गरिरहेको मेरो मन जहाजले अफ्रिकाको उत्तरी भागको नाइल नदीलाई छुँदा त्रिवेणी सङ्गम भएको अनुभूति दिलायो । युनानी, रोमन र मिश्र सभ्यता । जहाजैबाट सगरमाथा हेरेर उफ्रिएका विदेशीजस्तै म पनि जहाजबाटै ती क्षेत्रको भ्रमणमा रौसिएको थिएँ ।
जहाजले जब रेड सी छोयो मेरो आङ सिरिङ्ग भयो । यो सागर त्यति गहिरो त छैन तर यसका वरिपरि अझै युद्धका काला धुँवाहरू मडारी रहेकै छ । प्यालेस्टाइनको भूमि हडपेर यहुदीहरूको बस्ती बसाइएको इज्रायल, नजिकको लेवनान । यही भूमिमा धर्मका नाममा भएका क्रुसेड युद्धमा लाखौँको ज्यान गएको छ । मुसलमान र क्रिस्चियनहरूका बीचको यी युद्धमा लाखौँको ज्यान गएको छ । इज्रायलमा मात्र होइन यो क्षेत्रमा हजारौं नेपालीहरू रगत पसिना बगाएर श्रम गरिरहेछन् । आकाशमा बमवारी हुन थालेपछि बङ्कर खोज्दै लुक्नु परेको उनीहरूको भोगाइको व्यथाले मन विह्वल भयो ।
यहीबेला एयर होस्टेस युवती सोध्दै थिइन् –तिमी शाकहारी हिन्दु हौ ? मैले मुसुक्क मुस्काएर भने – कसरी जान्यौ, तिमी त अन्तर्यामी रहिछौ । उसका ओठमा पोतिएको लिपिस्टिक, गालामा पोतिएको क्रिम हाँसोमा चम्कियो । ऊ फुरूङ्ग परी । भनी – विशेष शुल्कमा अर्डर भए खाना पनि पाइन्छ । मैले भनेँ– सब्जी र रोटी भए म खुशी हुन्छु । ऊ हिँडी । केहीबेरपछि भने अनुसारकै खाना ल्याइदिई । खानापश्चात् रेस्टरूम खोज्न उठेँ । सबै प्याकाप्याक बिजी । १५ मिनेट उभ्भिएपछि एउटा ढोका खुल्यो । हत्त न पत्त काम तमाम गरियो ।
जहाजले ओमान, बहरेन हुँदै रातको एक बजे अवुधावीको भुइँ छोयो । १० घण्टाको लामो यात्रा । लन्डन जाँदा ट्रान्जिटमा यही भूमि टेकेकाले इमिग्रेसनमा अलमल भएन । सामान लियौँ, होटेलका मान्छेहरू लिन आइ पुगेनन् । प्रतीक्षालयमा सोधखोज गर्दा केही थाहा लागेन । झन्डै आधा घण्टाको कुराइपछि दुई भाइ केटाहरू हामीलाई लिन आइपुगे । गाडीमा उनीहरूले नै मिलाएर राखे ।
अग्ला अग्ला घरहरू, झिलिमिली बत्तीको चहक, खुला चौडा सडक, क्रसिङ ब्रिज कति हो कति । सातघुम्ती फनफनी । मेलोमेसो नपाइने । सडक यात्रा दुई घण्टाभन्दा बढी नै लाग्ने रहेछ । बिहानको साढे तीन बजे वेलकम डिपार्मेन्ट होटल पुगियो । त्यहाँ हाम्रा लागि दुई रुम बुक थिए । रिसेप्सनमा नेपाली । कोठामा सामान पु¥याउने नेपाली । थाकेर लखतरान । हैरान शरीरले आराम पाउने भयो । यो मरुभूमिमा हामी तीन रात बिताउनेवाला थियौँ । बिहान सात बजे नै व्रेकफास्ट तयार हुने जानकारी दिए नेपाली भाइले । कचल्टिएको रातको निद्रालाई दुबईको यही होटेलमा चारै घण्टा भए पनि विश्रान्ति दिएर पोलिरहेका आँखा चिम्लियौँ । एसीयुक्त कोठा । गहिरो मीठो निद्रा । धन्य आजको यात्रा । शुभम् ।
०००
दुबईको दोस्रो दिन
१९ अप्रिल २०१९ । बिहान सात बजे नै ब्रेकफास्ट तयार हुने सूचना हिजो बेलुकी पाएकै थियौँ तर हामी उठ्तै साढे सात भइसकेको । बेलकम डिपार्मेन्ट होटलको दोस्रो तला, एसीयुक्त कोठा । नित्यकर्म छिटो छिटो सकेर तल्लो फ्लोरमा ओर्लियौं । हिजो हाम्रो पासपोर्ट स्क्यानिङ गरेर स्वागत गर्ने धराने भाइ काउन्टरमा देखिएनन् । हुनसक्छ उनको रातिको ड्युटी थियो । त्यहाँ अर्कै मानिस थिए । ब्रेकफास्ट टेवलमा तयार । ढिलो भएको होला । हामी मात्र त्यहाँ । जे चाहिने हो, आफैँले लिनुपर्ने, सेल्फ सर्भिस । छन त केटाहरू थिए तर पानीको गिलास पनि नसार्ने । अटेरी । रोटी, तरकारी, पाउरोटी, जाम, सलाद, दही, केही मिठाई । मांसहारीलाई अण्डा । चाहनानुरूप लियौँ । एकाध परदेशीहरू थपिए ।

दुबई

हामीलाई प्रमुख दर्शनीय पर्यटक क्षेत्र घुमाउने टुर गाइड नौ बजे आइपुगे । पाकिस्तानी रहेछन् । बकबके बोलक्कड । उनकै गाडीमा यात्रा सुरु भो । शहरका अग्ला टावरजस्तै घरहरू । सफा फराकिला सडकहरू । सडक किनारामा फूलहरू, हरियो दुबोले सुसज्जित, पानीको फोहोराले सिँचाइ गरिँदै । तैपनि कतै कतै ङिच्च रातो बालुवाले आँखामा ठुङ मार्न आइपुग्ने । हामी लण्डन घुमेर आएका । त्यहाँको तुलना गर्दै भन्दै थियौँ– होइन यो शहर लण्डनभन्दा कम छ र ? गाइड भन्दै थिए – सातवटा राज्यको संयुक्त राज्य इमिरेट्स । सबैभन्दा ठूलो अवुधावी, असी प्रतिशत भूभाग यो राज्यमा । दोस्रो दुबई सात प्रतिशत जमिन यसको । अरू तेह्र प्रतिशत जमिनमा रहेका शारजहाँ, अजमान, उम्म अल कुवै, फुज इराह र रस अल खैमा । यीमध्ये शारजहाँमा रहेको अन्तर्राष्ट्रिय व्रिmकेट मैदान बारे त तपाईंहरूलाई थाहा होला नि ? ऊ सोध्दै थियो ।
“हो त्यहाँ हुने खेलहरू बेला बेलामा हामीले हेरेका छौँ । व्रिmकेटप्रेमीहरूका लागि यो स्थल चर्चित छ ।” ऊ भन्दै थियो, “सबै राज्यका कार्यालय क्षेत्र, शपिङ्ग सेन्टर, दर्शनीय क्षेत्रभन्दा पहिले म तपाईंहरूलाई दुबईको राजभवन
लाँदैछु ।”

जÞाबील दरबार

दरबारको मूल गेटमा पुगेर उसले गाडी रोक्यो । ओर्लनसाथ हप्हपी गर्मी । उसले हामीलाई दरबार अगाडिको फूलबारीमा छिरायो । फूलबारीभरि चिनियाँ र युरोपियन यात्रीहरू । तापक्रम ३८ डिग्री । सुनौला घोडाहरूका मूर्तिहरू । विविध जातका फूलहरू । आकर्षक । घर त दुई तीन तलाका । भित्र घुम्न जान अनुमति रहेनछ । राजाहरूको प्रशंसा गर्दै उसले भन्यो, “हाम्रा सबै राजाहरू देशप्रेमी छन् । उनीहरूले आफ्नो कोशमा भएको सबै रकम झिकेर देश निर्माणमा लगाएका छन् । हाम्रो भूगर्भभित्रको कालो कोइला सकेपछि हाम्रो हालत के होला ? भनेर राजाहरू चिन्तित छन् । त्यसैले धनको सदुपयोग गर्न र पर्यटकलाई तान्न हरेक दुई वर्षमा एउटा न एउटा नयाँ संरचना हरेक राज्यमा थपिदै आएका छन् । मुख्य गरी चिनियाँ र भारतीय पर्यटकहरूलाई लक्ष्य गरेर आकर्षण केन्द्र निर्माण गरिँदै छ ।” हो अरबको धन भनेकै ग्याँस र पेट्रोल हो । यसको भण्डार रित्तिन सक्छ । अर्को कुरा यी इन्धनको विकल्पको खोजीमा संसारकै वैज्ञानिकहरू लागिपरेका छन् । यदि यिनीहरूको विकल्प निस्कियो भने संसारभर इन्धन बेचेर अकुत धन आर्जन गरिरहेका यी राज्यहरूले भोग्नुपर्ने नियतिबारे कस्तो दूरदर्शी सोच । म आफ्नो देश सम्झन्छु, “हामीले त माल पाएर चाल नै पाएनौँ । हिमाल, नदी, जङ्गल, जडिबुटी पर्यटक लोभ्याउने कति प्राकृतिक स्रोत छन् हाम्रा तर सोच खै ? खन्चुवा र लुटाहाको देश भएको छ ।” मन खिन्न हुन्छ ।
फूलबारीबाटै पर हेरियो राजदरबार । फोटो खिचियो । गर्मीले धेरैबेर बस्न नसकिने । आधाघण्टा जसोतसो धानियो । त्यसपछि गाडीकै एसी प्यारो । दोस्रो ठाउँ पु¥याए गाइडले – रक सि पोर्ट (ढुङ्गे वीच) । गाडीबाट उतार्दै उनले भने – समुद्रलाई बाँध बाँधेर यी ढुङ्गे चट्टान बिछ्याएर विस्थापित गरी यहाँको पानी नदीकै रूपमा शहरभित्र पु¥याइएको छ । दुबईदेखि अवुधावीसम्म तपाईहरू नदी बगेको देख्न सक्नुहुन्छ ।
मरुभूमिमा नदी त्यो पनि समुद्रको पानी । ठूलठूला होटल तथा टावरहरूमा यही पानी पुगेको । चट्टानका ढुङ्गाहरू कुनै त छ टनसम्मका छन् रे ! यो मरुभूमिमा कुन देशको पहाडै उठाएर त्यत्रा ढुङ्गाहरू थुपारेका होलान् । यी ढुङ्गाहरू जोड्न बाहिरको बालुवा काम लागेन रे, मेसिनबाट समुद्रको पिँधबाट धाराजस्तै बालुवा निकालिएको रे, यो संरचना बन्न झन्डै दस वर्ष लागेको रे, संसारभरका नामी इन्जिनियर, वातावरणविदको योगदान छ रे, यो बाँध बाँधेर पानी लाँदा समुद्रका जीवजन्तु र वनस्पति नबिग्रिने शोध गरिएको रे । यसको निर्माणपछि जीवजन्तु वनस्पति नयाँ देखिए रे । किंवदन्ती जस्तो लाग्ने कथा । हाम्रोमा यस्तो खोज गर्ने दिन कहिले आउला । खिन्न हुँदै फोटाहरू खिच्यौँ । खुट्टाले चट्टानहरू स्पर्श ग¥यौँ । ईष्र्यालु नजरले त्यसको पानीलाई छोयौँ ।
बाँधकै किनारामा रहेका एकैप्रकारका एपार्टमेन्ट घरहरू देखाउँदै गाइडले भने, “यी घरहरू माथि आकाशबाट हेर्दा खजुरको रूखजस्तै देखिन्छन् । पातहरू फैलिएका । बीचमा यही बाँधबाट समुद्रको पानी लगिएको छ । यी घरहरू संसारका धनी व्यापारी, उद्योगी, खेलाडी, सिनेकर्मीहरूले निर्माण अगाडि नै खरिद गरेका हुन् । पाम जुमेरा भनेको यही हो ।”

पाम जुमेरा

घरहरूको डिजाइन नै आकर्षक, फूलबारी, पार्किङ्ग स्थल, समुद्रको किनार झनै आकर्षक । आधाघण्टा जति गाडीमा राखेर पुनः गाइडले अलिक परको अर्को कृत्रिम टापु निर्माण गरेर बनाइएको एउटा आकर्षक होटललाई देखाउँदै भने, “यो घरको डिजाइन कुमबाट पछ्यौरी खसाएर उभिएकी सुन्दरी महिलाजस्तै लाग्दछ । कसै कसैले पानी जहाजको पछिल्लो भागको झण्डासँग पनि तुलना गर्दछन् ।” नीलो पानीको समुद्रभित्रै टापु निर्माण गरेर भूकम्प र सामुद्रिक आँधीबेहरीले क्षति गर्न नसक्ने, माथिल्लो तलामा हेलीप्याड भएको यो होटलको उद्घाटनमा संसारकै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो रे । समुद्रका जीवजन्तुदेखि आकाशको समेत अनुभूति एकै ठाउँमा सँगाल्न पाइने, त्यहाँको दृश्य, सुविधा आदिलाई हेरेर एकजना ब्रिटिस राइटरले भनेका थिए रे – सात स्टारको संज्ञा दिनमिल्छ भने यो होटलको सुविधा र आकर्षणलाई म त्यही संज्ञा दिन्छु ।
हामीले हाम्रो देशमा सोल्टी, हायातजस्ता सीमित पाँच स्टारका होटेल देखेका । यो सात स्टारको होटेलमा एक रात बिताउन नेपाली दुईलाख चाहिने रहेछ । सुन्दै सातो जाने । अब समुद्रको आनन्द लिनुस् भन्दै गाइडले समुद्रको किनारमा हामीलाई छाडिदिए । हामीले समुद्रको लहर आउँदा खुट्टा भिज्ने सम्मको मात्र आनन्द लिन सक्यौँ र त्यही सातस्टारे होटललाई पाश्र्वमा पारेर धेरै फोटाहरू खिच्यौँ । युरोपियन जोडाजोडीहरू अर्धनग्न भेषमा पानीमा पौरदै अनि बालुवामा पल्टदै देखिन्थे । कुनै चाहिँ आफ्ना बच्चाहरूलाई बालुवामा खेलाउँदै थिए । तिनीहरू घर, चित्र बनाउँदै रमाएका देखिन्थे । केही चाइनिज यात्रीहरू हामीजस्तै पानीमा खुट्टा चोपल्दै थिए ।
“आज शुक्रबार । हाम्रो नमाज पढ्ने दिन । तपाईहरू शपिङ्ग गर्दै गर्नुस् म मस्जिदमा जान्छु” भनेर गाइडले हामीलाई एउटा शपिङ्ग सेन्टरमा छाडिदिए । महिलाहरूको आकर्षण गहनामा । बेच्ने कति खप्पिस । फिलीपाइनी, चाइनिजजस्ता गोरी, चिटिक्क जिउडाल परेका युवतीहरू । एउटामा आँखा लगाए दसवटा सामग्री निकाल्ने । आँखाको इसारा बुझ्ने, हंसमुख । महङ्गै भए पनि केही खरिद गरे नानीहरूले । गाइड आइपुगे । कार्यालयहरूका आकर्षक भवन, बजार क्षेत्र घुमाउँदै हाम्रै होटल नजिक रहेको एक दिरामदेखि दस दिरामसम्मका सामग्री पाइने पसलमा उनले हामीलाई छाडिदिए ।
तीनबजेपछि हामी मरुभूमिको एडभेन्चेर यात्रामा निक्लने । अर्को गाइड टोली लिन आउने । समय बाँकी नै बचतमा । म पसलको भित्री किनारामा उभिरहेँ । झन्डै एक घण्टा लगाएर नानीहरूले घर सजावटका र कोसेलीयोग्य केही सामग्रीहरू खरिद गरे । सस्तो भन्थे । हामी हिँडेरै होटल पुग्यौँ । बाटामा एक दिरामदेखि बीस दिरामसम्मको अर्को पसल देखियो । यहाँ अझ राम्रा चिजहरू पाइने होटलवालाले बताए । हामी भोकाएका थियौँ । बाहिरबाट रोटी, तरकारी मगायौँ । अत्यन्तै सुस्वादु । भोक मीठो कि भोजन ।
मरुभूमिको यात्राका निम्ति साढे तीन बजे गाडीसहित गाइडहरू आइपुगे । शहर छाडेर हामी मरुभूमिभित्र पस्यौँ । कतै कतै सस्याना झाडी । खेती तरकारी हरियो ठाउँ ठाउँमा । कुखुरा, भेंडा, खसी पाल्ने टहरा । यिनै टहरामा काम गर्न आउने नेपाली दाजुभाइ । अग्लो होचो रातो बालुवाको थुप्रो जताततै । आँखाले देखुन्जेल उस्तै ।
लगभग साठी किमि जतिको यात्रापछि एउटा एडभेन्चर केन्द्रमा हामीलाई छाडेर गाइडहरू तालिमप्राप्त ड्राइवरको खोजीमा हिँडे । युरोपियन, चाइनिज अनि अरेबियनहरूकै भीडभाड । रेस्टुरेन्टहरू बाक्लै । अगाडि पार्क त्यही पार्कमा बसेर मान्छेको भीड, ऊँट, मोटर साइकलको रेस हेर्दै बसिरह्यौँ । फोटो खिच्यौँ । तातो हावा चल्दै थियो । कान्छो नाति रोमिकले चारपाङ्ग्रे मोटर साइकल मरुभूमिमा कुदायो । ऊँट पनि चढ्न पाइने रहेछ तर हामी चढेनौँ ।
यहाँ ड्राइभर पाइएन, अर्को सेन्टरमा जाऔँ भन्दै गाइडहरू एक घण्टापछि हाजिर भए । पुनः मरुभूमिकै यात्रा । साँझ पर्न लागिसकेको थियो । मरुभूमिकै उद्यान, तरकारी खेती, हरियाली बनाउन गरिएको सिँचाइ । यिनीहरूको देशप्रेम हेर्दा मरुभूमिमा माटो पनि ल्याउलान् जस्तो । सुन्दरता, पर्यटक तान्न कति जानेका । शहरमा मात्र होइन मरुद्यानमा पनि हामीलाई भुल्याउने । झन्डै अघिकै जति साठी किलोमिटरको यात्रापश्चात् अर्को केन्द्रमा हामी पुग्यौँ ।
ड्राइवर सलिम, औपचारिक सेतो अरेबियन ड्रेसमा, हँसिला युवक । दुईटा गाडी तयारीमा । आइपुग्नासाथ हामी एउटै गाडीमा चढ्यौँ । अर्को गाडीमा अफ्रिकन यात्रीहरू । जमिन उवडखावड । गाडीको चक्काले बनाएको बाटो । गाडीले बालुवाको छारो उडाउँदै पैøयाँ ठोक्यो । बाल्यकालमा चाकाचुली खेलेजस्तै रमाइलो । कतै कतै त दुइटा पाङ्ग्राले मात्रै गाडी थामेर हेलीकेप्टरमा उडेजस्तै भान हुने । हँसिलो ड्राइभर हामीतिर हेरेर भन्दै थियो ः– “डरायौ कि रमायौ ?” आन्द्रा बटारिने यात्रा । लगभग आधाघण्टाको मात्र तर रोमान्चकारी । अन्तिम स्टेसन यही हो भन्दै सलिमले हामीलाई उतारे । रोमिक बालुवामा सुत्यो र रमायो । ज्वाइँ दौडेर ओरालो कुद्नुभयो । पुनः सबै एकत्रित भयौँ । सलिमले नै फोटो खिचिदियो । अफ्रिकनहरू पनि सँगसँगै । सूर्य नाङ्लोजस्तै नजिकै बालुवामा रातो, डुब्न लागेका । सुन्दर दृश्य । केहीबेरको विश्रामपछि हामी उही बाटो उस्तै अनुभूति सँगाल्दै फर्कियौँ । हल्लिदै, चाकाचुली खेल्दै । मरूभूमिको एड्भेन्चर यात्रा सकियो ।
यात्रापश्चात् खुला आकाशमुनि साँझको भोजन यहीँ गराउने प्रचलन रहेछ । पचास दिराम तिरे आरामसँग कुर्सी, टेवल र सेवक पनि पाइने रे । नतिरे आफैँले झिकेर ल्याउनु पर्ने । भेज, ननभेज दुवैको व्यवस्था । बफे सिस्टम । भुइँमा दरी, होचो टेवल, त्यो टेवलमा पनि ड्राइभरको नाम, त्यसैमा बसेर खानुपर्ने पलेटी मारेर । खानामा रोटी, तरकारी, सलाद, जुस, चिया सबै इच्छाअनुसार । हामी सबै शाकाहारी । हाम्रो नजिक उनै अफ्रिकनहरू । पियक्कड रहेछन् । ब्रान्डेड बोतल एकेक गर्दै रित्याए । सस्याना नानीहरूले पनि साथ दिए । महिलाहरूको घुङ्ग्रिएको केसको श्रृङ्गार । हामीले आआफ्नै रूचिअनुसार रोटी, तरकारी, सलाद र चिसो पेयले भुँडी भ¥यौँ । शौचालय अलिक पर रहेछ । बालुवामा हिँड्नुपर्ने खोच्याउँदै ।
खानापछि अर्को रमाइलो हेर्न पाइने रहेछ । सबैभन्दा पहिले एउटी गोरी सुन्दरी महिलाले ब्याले डान्स देखाइन् । पूरै जिउ हल्लाएर नाच्ने उनको कला प्रशंसनीय । उनी आफूमात्र नाचिनन् दर्शकहरूलाई उत्प्रेरित, उत्तेजित गराएर आफैसँग नचाइन् पनि । दुईचार जनाले साथ दिए । त्यसपछि अर्का एक युवक रङ्गीन कपडामा नाच्न आए । उनी नाचेर घुम्दा बिजुली बत्ती शरीरभरि झिलिकमिलिक बल्दै निभ्दै गरेको देखिने, उनी रूमाल नचाउने विभिन्न दृश्यमा डाली नचाउने, जादुमय डान्स । अर्का युवकले आगोको चिराग नचाउने, खेलाउने, खानेजस्ता उस्तै रोमान्चक डान्स देखाए । डान्सका तीनवटा मात्र आइटम भए पनि सबै दर्शक मख्ख । पर्यटक तान्ने, मनोरन्जन दिने कति राम्रो दीर्घकालीन सोच । अनुकरणीय । त्यो केन्द्रमा सातसय दर्शक छन् भन्थे ।
पूर्णिमाका पूर्णचन्द्र उदाए । आठबजे फर्कन तयारी भए पनि साथी पर्खने निहुँमा गाइडहरूले निक्कैबेर कुराए । हामीले अनुमान गर्यौँ – यिनीहरू लेनदेनमा गलबद्दी गर्दै छन् क्यारे ।
होटल आइपुग्दा साढे नौ बजेको थियो । दिउँसो किनेका सामान राख्ने झोला, सुटकेसको खोजीमा अरू बजारतिर लागे । म भने आनन्दले सुतेँ । यस्तै आनन्द हरेक दिन लिन सके जीवन कति सार्थक हुन्थ्यो होला ।
०००
दुबईको तेस्रो दिन आज हामी होटल छाड्दै थियौँ, बेलुका अवुधावीमा बास बस्न पुग्ने । दिनभर दुबईकै भ्रमण । बिहान आठ बजे नै हिजैको जस्तो ब्रेकफास्ट । नौ बजे आज दिनभरका लागि घुमाउने गाइडसहित ड्राइभर लिन आइपुगे । सामान चेक आउट गर्दै उनीहरूले नै गाडीमा राखे । १० बजे संसारकै अहिलेसम्मको अग्लो मानिएको बुर्ज खलिफा टावरमा पु¥याउँदै उनीहरूले भने, “यो दुबईकै सबैभन्दा अग्लो, ठूलो शपिङ सेन्टर, मल तथा टावर हो । तपाईंहरूलाई यहाँ घुम्ने रमाउने तीन घण्टा समय दिन्छौँ, त्यसपछि फोन गर्नुहोस्, हामी लिन आउँछौँ ।” यो टावर बन्नु अघि हामीले सामान्य ज्ञानमा न्यूयोर्क शहरको १०२ तलाको टावर विश्वकै अग्लो टावर हो भनेर पढेका थियौँ । जुन टावर आतङ्कवादीको निसानामा ध्वस्त भयो –२०११ को सेप्टेम्बरमा । अहिले यही दुबईमा मात्र १७ वटा यस्ता स्काई स्व्रmेपर (गगनगुम्बी) टावर छन् रे । तीमध्ये छ वर्ष लगाएर बनाइएको ८२८ मिटर अग्लो बुर्ज खलिफा टावर । १४१ तलाको । १२४ तलासम्म यात्रुहरूलाई चढ्ने अनुमति । यसको गजुर मात्र साढे तीनसय टनको छ रे । यसको निर्माण ताका यहाँ लगाइएका सिसाहरूको फैक्टरी नै यहीँ स्थापना गरिएको रे ! विश्वका ठूल्ठूला इन्जिनियर, वास्तुविद र भवन तथा निर्माणविदहरू भिडेर बनाइएको गोलाकृतिको टावर । साँझमा रङ्गीचङ्गी बत्तीहरूले झिलिमिली आकर्षक देखिन्छ रे तर हामी मध्य दिनमा
त्यहाँ पुगेका ।

बुर्ज खलिफा टावर

टावरमा पस्ने बित्तिकै रङ्गीन सामुद्रिक माछाहरूको एक्वेरियम । टाउको उठाएर हेर्नुपर्ने । कति जात जातका माछाहरू पानीमा खेलिरहेका, सुन्दर । फोटो नखिच्ने कुरै भएन । तलैपिच्छे यस्ता अनेकौँ आकर्षक केन्द्रहरू छन् रे तर हामीलाई यो सबै नियाल्न त सात दिन लाग्दो हो । खै समय ? हतारो थियो लिफ्ट चढेर १२४ तला पुग्ने अनि शहर, समुद्रको दुबई हेर्ने । एक तलामाथि रहेछ लिफ्ट । यात्रुहरूको भागादौड, घुइँचो । दगुर्दै पुग्यौँ । तीनवटा लिफ्टहरू तल माथि गर्दारहेछन् । कोच्चिएर ३०–३५ जना अट्ने एउटामा । कुर्नुपर्ने रहेछ । बल्ल पालो आयो । एउटी युरोपियन केटी सेन्डो गन्जीमा, न छोऔं भन्दा पनि टाँसिनै पर्ने बाध्यता । आङ सिरिङ्ग । लिफ्ट हल्लिँदा एक अर्काकै भर । मिलिक्कै गन्तव्य पुगियो ।
अहा ! कति सुन्दर टाढासम्म शहर र समुद्रको मनोरम दृश्य । अग्ला टावर, होटल, पानीका पोखरीहरूको दृश्य, आँखा अगाडि नाचिरहने । बार्दलीमा बसेर फोटो खिच्ने ठाउँ, पाश्र्वमा शहर देखिने चाइनिज फोटोग्राफर युवायुवतीहरू– फोटो खिच्न अनुमति माग्ने मन परे तल्लो तलामा फोटो लिन पाइने रे नलिए पनि हुन्छ भन्दै फोटो खिच्तै । आफू खुशी फोटो खिच्ने पनि उत्तिकै । टेवलमा कम्युटर । कम्युटरबाट पनि शहरको दृश्यावलोकन गर्न सकिने रहेछ । हामीले घुमेका ठाउँहरू त्यहाँबाट नियाल्ने कोसिस ग¥यौँ । साततारे होटल, रक सी फेला पारे पनि एड्भेन्चर यात्राको क्षेत्र देखिएन । मैले यहाँको चिनो भन्दै एउटा भिर्ने झोला घरेलु बुनोटको किनेँ । संसारकै अग्लो टावरमा हामीले एकघण्टा बितायौँ । ओर्लन त मन नै थिएन तर गाइडको समय । तल झरेर आफ्नो समूहको फोटो त भेट्यौँ तर दामभने एउटैको तेह्रसय जति । मन मा¥यौँ । माथि खिचेका फोटाहरू तल कम्युटरमा सेट हुँदो रहेछ ।
श्रीमती, नानीहरू किनमेलका लागि डुल्न थाले । म र ज्वाइँ एउटा कफी हाउसको खाली कुर्सीमा बस्यौँ । बस्नचाहिँ पाइने तर सुत्न नपाइने रहेछ । निद्राले झुलेर उङ्न थाले चौकिदार उठाउन आइहाल्ने । कफी खाने मानिस भने शून्य । यात्रुहरूको भीड । आवतजावत गर्ने प्रायः विदेशीहरू नै । मङ्गोलियनहरू बढी । एक बज्न लागेपछि हामी सबै जुट्यौँ तर हामीलाई नै खोज्न हिँडेको रोमिक कान्छो बेपत्ता । ज्वाइँ र सेनीले १५–२० मिनेट कुदाकुद गर्दा पनि ऊ भेटिएन । माइकिङ्गको व्यवस्था रहेनछ । कहाँ खोज्नु ? यत्रो भवसागरमा । तलामात्रै कति हो कति ? अन्यमनस्क स्थितिमा ट्वाँ पर्दै बाटो कुरेर बसिरह्यौँ । झन्डै १५ मिनेट पछि ऊ टुप्लुक्क हामीलाई नै खोज्दै आइपुग्यो । भनाभन पनि भयो । हामी बाहिरियौँ । ड्राइभर गाइड निराश । हामीले फोन उठेन भनेर बच्ने प्रयास ग¥यौँ ।
हामी भोकाएका थियौँ । कुनै सस्तो राम्रो रेस्टुरेन्टमा लान गाइडलाई अनुरोध ग¥यौँ । सानो टी शप जस्तो पसल । छ जनालाई टेवल जोडेर रोटी, तरकारी, दही खुवाउन पसले तयार भए । गाइडले बाहिरै बसेर चिया पिए । त्यसपछिको हाम्रो गन्तव्य थियो – मिराकल पार्क, मरुभूमिको फूलबारी, उद्यान । डेढघण्टा समय दिए गाइडले । ठूलै एरियामा फैलिएको रहेछ –उद्यान । गेटबाट प्रवेश गर्ने बित्तिकै वरिपरि बाँसजस्तै हरिया रुखहरूले घेरिएको क्षेत्र देखियो । यस्तै आँखा अगाडि नै बिरालो, हाँस, घोडा, हात्तीहरूको संरचनामा झ्याउ, लहरा र फूलले बेरिएका हरिया मूर्तिहरू । आकर्षक संयोजन । पुराना मोटर, हवाईजहाज, स–स्याना गाडीहरूमा पनि यस्तै हरियाली झ्याउ र फूलहरू फुलाएर सजाइएको । भुइँ फूलहरू कति हुन् कति ? सूर्यमुखी लर्किरहेका, मस्जिदको नमूनामा फूलबारी नै फूलबारी ।
आकाशतिर माथि तारमा गमला झुन्ड्याएर फूल फुलाइएका, छाता ओढाइएका सुन्दर दृश्यहरू हेर्दै अगाडि बढ्दा कतै कतै झुलनमा झुल्न पनि पाइने । लहराले घेरेको कुन्जमा बस्न पनि पाइने कुर्सी पनि ठिक्क । उकालो चढ्दै, फूलका ड्याङहरू नियाल्दै, फूलका जातहरू खुट्याउन पनि नसकिने । फूलहरूको थुम्की, लहरा, अग्ला बुट्यान, रुखहरू हेरेरै नअघाइने । पानीको फोहोरा, सुँढबाट उकेलिरहेका हस्तमूर्तिहरू । कतै पोखरीबाट आफैँ निस्किरहेका फोहोरा । ठाउँ ठाउँमा चमेनागृह । अगाडि कुर्सीमा बसेर रमाइरहेका पर्यटकहरू –पेय पदार्थमा । रकेटको नमूना पनि । यस्तै अग्ला चट्टानहरूको थुप्रो पनि देखियो । मरुभूमिमा खोला किनारको याद आउने ।
अधिकांश सुरक्षाकर्मी काला जातिका देखिए । तिनीहरूका लागि यहाँको गर्मी उपयुक्त हुँदो हो । दिनभरिको समय पाए पनि डुलेर नसकिने क्षेत्रफल रहेछ । डेढ घण्टा मिलिक्कै सकियो । १५ मिनेट जति ढिला गरेर निस्कियौँ । गेटमै भेटिए –गाइड । हामी बाटो लाग्यौँ । हामीलाई दिइएको सूचनाअनुसार अझै एउटा स्वर्णजडित अवुधावीको प्रख्यात मस्जिद भ्रमण बाँकी नै थियो तर हाम्रा सहयोगी गाइड हामीलाई दुबई फर्कन ढिला हुन्छ भनेर बाहिरबाटै देखाउने शर्त राख्न थाले । ज्वाइँले उनीहरूको आशय बुझेर हाम्रो व्यवस्था मिलाउने ट्रावल एजेन्सीसँगै फोन सम्पर्क गर्नुभयो । उनीहरूले नै गाइडलाई भित्रै भ्रमण गराउन आदेश दिए ।
हामी त्यहाँ अपरान्ह साढे चार बजे पुग्यौँ । गाइडले ४५ मिनेटको समय दिए । २३ क्यारेटको सुन प्रयोग भएका गजुरहरू टल्किरहेका थिए । तलको तला एउटै सिङ्गमरमरले छापिएको भन्थे । सोझै गेटबाट विदेशीलाई प्रवेश नदिइने रहेछ । मस्जिदभन्दा झन्डै हजार मिटर टाढा सिसैसिसाको भकुन्डो आकारको घरबाट तल छिरेर सुरुङ मार्गबाट जानुपर्ने रहेछ । कडा सुरक्षा । विदेशीहरूको ओइरो । स्वचालित लिफ्ट भ¥याङबाट तल झरेपछि पनि स्वचालित ठाउँ ठाउँमा प्राभेलेटरहरू नाचिरहेका । खुट्टा राख्नासाथ परै पुगिने । भित्रभित्रै गाडीको सुविधा पनि रहेछ । थोरैले यो सुविधा लिएको पनि देखियो । सुरुङ मार्गभित्र पनि शपिङ्ग सेन्टरहरू । झिलिमिली बत्ती । युरोपियन, चिनियाँ, भारतीय यात्रीहरूको भागादौड । महिलाहरूले विशेष खैरो रङको कपडा लगाउनुपर्ने अनिवार्य नियम रहेछ । सबैको एकै प्रकारको लुगाले छुट्टै रौनक ल्याउने । पंजाबीहरूको गुरुद्वारामा पस्ता टाउको बेर्ने पहेँलो कपडा दिन्थे, त्यस्तै याद आयो । मुसलमान महिलाहरूले कालो लुगा लगाउँछन् तर यहाँ खैरो । जे भए पनि छोरी, बूढी बेग्लै देखिए । सुरुङ पस्नु अघि १५ मिनेट पैदल, सुरूङमै आधा घण्टा अनि प्राभेलेटरबाट सोझै मस्जिद अगाडि फूलबारीमा निस्कदा हामी फुलेल भयौँ ।
फूलबारीमा फोटो खिच्न र मूलगेटबाटै भित्रको दृश्यावलोकन गर्नसम्म भ्यायौँ । मस्जिद प्रार्थनागृह मुस्लिमको । तल्लो तलामै लाखौंले एकैपटक नमाज पढ्न सक्छन् रे ! यस्तै एकैपटक लाखौंले सहभोजन गर्न पनि । माथि अरू दुई तीन तला । सङ्गमरमरका चम्किला खम्बाहरू । गजुर सुनका अनगिन्ती त्यहाँ सूर्यको किरण चम्किरहेकै थिए । मस्जिद घुम्ने हामीसँग समय रहेन । हामी बाहिरियौँ । फोन सम्पर्कमार्फत हाम्रा सहयोगीहरू आइपुगे ।
बेलुकी सवा सातमा अवुधावीको मुख्य बजार क्षेत्र आइपुगियो । दूताबासहरूको एरिया रहेछ । धेरै देशका झन्डाहरू फर्फराइरहेका देखिन्थे । यस्तै समुद्र बाँधेर बनाइएको नदीको किनारको एउटा पुल देखाउँदै गाइडले भने, “यो सुटिङ स्पट हो ।” उनी यहाँ सुटिङ गर्ने हिन्दी फिल्मका हिरो हिरोइनको नाम लिँदै थिए । आठ बजे अवुधावीको होटेल होलिडे इनमा हामीलाई छाडेर गाइडहरू फर्किए । रिसेप्सनमा रहेकी काली पातली युवतीले हाम्रा पासपोर्टहरू स्क्यानिङ गर्दै चौधौं तलाका दुई रुमको कार्ड थमाइन् । ढोकाको चाबी यही कार्ड रहेछ । सामानहरू होटेलका सहयोगीहरूले कोठैमा पु¥याइदिए ।
होटल त आइपुगियो तर यस्ता होटेलमा बेलुकीको खानाको व्यवस्था नहुने । अरू बेलुका घुम्ने र उतै कतै इन्डियन रेस्टुरेन्टमा खाना खाने मनस्थितिमा पुगेँ, मभने कोठैमा आराम गर्न चाहने । अरू सबै निस्किए । मेरा लागि बाहिरबाटै रोटी तरकारी ल्याइदिने सहमति भयो । घुम्ने ठाउँ धेरै गुगलले देखाउँथ्यो तर रातमा कहाँ जाने ? सिक्का आकृतिको घर हेर्ने इच्छा त्यसै बिलायो । मेरा एकजना विद्यार्थी यतै छु, भेट्नुपर्छ भन्दैथे । त्यो पनि सम्भव भएन । यही चौधौँ तलाबाट देखिने बाहिरको झिलिमिलीमै सन्तोष मान्नुपर्ने भयो ।
झन्डै डेढ घण्टा जति घुमेर र बेलुकीको खाना बुत्याएर अरू आइपुगे । मेरा लागि ल्याइदिएका चार रोटीमध्ये मैले दुइटा मात्र च्याप्न सकेँ । मीठो थियो तर रोटी ठूल्ठूला । दुइटैले पेट भरिने । तरकारी स्वादिलो । उब्रेका रोटी डस्टपिनमा ।
ज्वाइँ र म एउटै कोठामा । अरू चारैजना अलिक पर्तिरको कोठामा । नजिकै । भोलि बिहान छ बजे नै ब्रेकफास्ट । सात बजे एयरपोर्ट प्रस्थान । सवा नौको उडान । भोलिकै सपना बुन्दै हामी निदायौँ ।
०००
अवुधावीदेखि काठमाण्डूसम्म
२१ अप्रिल २०१९ । बिहान झिसमिसेमा नै उठेर नित्यकर्मतिर नलागे ढिलो हुने । सबेरै उठियो । नुहाएर टवेल बेर्दा आफूभन्दा लामा टवेल देखेँ । अनौठो लाग्यो । ब्रेकफास्ट पहिलो तलामा । लिफ्टबाट झ¥यौँ । पाउरोटी, चिया, आइसक्रिम, मिठाइका धेरै परिकार । फलफूल पनि । दुबईको भन्दा स्तरीय लाग्यो । हरियो रङ्गको स्याउ चाखियो । काट्ता एउटा उछिट्टियो, खस्यो । एक जोडी मलेसियन प्रौढ–प्रौढा । यो उमेरमा पनि उनीहरूको चुस्त दुरुस्त स्वभाव र सहयोग एक अर्कामा अनुकरणीय । छिटो छिटो गरेर फेरि कोठामै पुगेर सामान बाहिर निकाल्यौँ । होटलकै सहयोगीहरूले लिफ्टबाट तल झारिदिए ।
सात बजे नै हामीलाई एयरपोर्ट छाड्ने गाडी आइपुग्यो । केरलाका इन्डियन ड्राइभर रहेछन् । एक घण्टामै एयरपोर्ट पु¥याउँछु भने । हिजो हिँडेकै दुबईतिर नै जाने बाटो रहेछ । उही दूताबासहरूको क्षेत्र, उही अभिनय गरिने सुटिङ्ग स्पट । आठ बजे एयरपोर्ट पुगेर लाइन लागियो । एउटी स्यानी बालिका जस्तै केटी फ्लाइट अनुसारको तालिका भट्याइरहने । उनले लाइनकै बीचबाट कनेक्टिङ्ग फ्लाइटमा जाने यात्रीहरू तान्दै पठाएको पनि देखियो । रोम, पेरिस, कायरो जाने यात्रीहरूले चाँडै पालो पाए । म एउटी नेपालीजस्तै लाग्ने युवतीलाई हेर्दै थिएँ, उनको सानो झोलामात्र देखेर म छक्क परिरहेको थिएँ । उनी त प्यालेस्टाइनी युवती रहिछन् । उनीसँगको कुराकानीले इज्रायलको इतिहास र त्यहाँ प्यालेस्टायनहरूले भोगेको सङ्घर्षमय जीवनको स्मरण गरायो । आधा घण्टाभन्दा बढी लाइनमा उभिनुपर्दा हाम्रा खुट्टा गलिसकेका थिए । बल्ल इतिहाद एयरलाइन्सबाट काठमाण्डू जाने यात्रीहरू बोलाइए । हामी अघि स¥यौँ । फटाफट चेक भयो । माथिल्लो तलामा सेक्युरिटी चेक । हामी अभ्यस्त भइसकेका थियौँ । डालीमा राख्ने वस्तु अनि शारीरिक चेक । आफ्नो डाली दिने भाइ नेपाली रहेछन्, उमेर नै नपुगेजस्ता । मैले अनायास कान्छा भनेछु । उनले मुसुक्क हाँस्तै हजुर भने । हामी फेरि तल्लै तलामा उत्रेर बस्नुप¥यो । बेन्चमा । बिहानै भएकोले केही युरोपियन युवकहरू चट्टी फैल्याएर सुतेको पनि देखियो । कोही शौचालयतिर । मेरी श्रीमतीले शौचालयमा झापातिरका यहीँ काम गर्ने महिलाहरू भेटिछन्, कुराकानी भएको सुनाइन् । पुरूष शौचालयमा लाइन लाग्नुपर्ने भीडभाड । केही समय कुरेर मैले पनि पेट साफ गरेँ । ढिलो गर्दा आफैँलाई शर्म हुने । धन्न कसैले आपत परेर ढोका ढक्ढकाएनन् ।
छोरी सेनी र मेली ड्युटी फ्री सपतिर किनमेलमा हराए । ज्वाइँ पनि हराउनु भो केही क्षण । जहाजमा चढ्ने माइकिङ्ग भैसक्यो तर हाम्रा मान्छे बेपत्ता । श्रीमतीको अनुहार कालोनिलो भैसक्यो । उनको हडबडाउने बानी । टुप्लुक्क सबै उपस्थित । जहाज चढ्दाचढ्दै दुई बालकहरूका कुराले म झस्किएँ । ठूलो एयर बस देखाउँदै एउटा सानो बालकले आफूभन्दा ठूलो दाइलाई भन्यो, “यो विमान अट्ने हाम्रो नेपालमा ठाउँ छैन हो ?” उसको भनाइको कति गहिरो अर्थ । म सङ्कोचले आफै खुम्चिएँ । हो, विकासका गुड्डी हाँक्ने हाम्रा नेताले एउटा एयर बस उत्रने विमानघाट बनाउन सकेका छैनन् । त्यसैले त युरोप, अमेरिका जाने यात्रुहरूले कनेक्टिङ्ग फ्लाइटका लागि घण्टौँ अर्काको एयरपोर्ट कुर्नुपर्छ । योजना त छ, निजगढ, भैरहवा, पोखरामा अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बनाउने तर ती कतै विवादित कतै डल्लिएर आफैँ अलपत्र । एउटै काठमाण्डूको हवाई अड्डाले यही सानो विमानको भार थामिरहनु परेको छ । कस्तो लाजमर्दो ।
हाम्रो सिट पछाडि नै परेछ । मेरो सिटमा एउटी अङ्ग्रेज युवती बसिरहेकी । विमान परिचारिकाले उनलाई झ्यालतिर सारिन् । विद्यार्थी रहिछन् । उनको यो पहिलो विमान यात्रा रहेछ । चितवन, पोखरा घुम्ने सुरमा रहिछन् उनी । उनले मेरो सिट रोज्नुको अर्थ मैले त्यतिबेला बुझेँ जतिबेला उनले मलाई उठाउँदै भनिन्, “मेरो यो पहिलो यात्रा हो, पटक पटक शौचालय गइरहन्छु ।” झ्यालतिर बस्नेले अरू दुई यात्रुहरूलाई नउठाई जान सक्दैनथ्यो । त्यो लहरे सिटमा उनीसहित म र कान्छो रोमिक थियौँ । हाम्रो विमान ३७००० फिटको उचाइमा उड्ने रहेछ । सुरुमा शहरको झल्याकझुलुक दृश्य देखिन्थ्यो तर पछि कुहिरो मात्र ।
मेरो काम त उही स्यानै स्क्रिनमा भए पनि आफ्नो अगाडिको कम्युटरमा हवाईमार्ग हेर्दै रमाउने । मार्गमा देखिएका हिन्दुकुस, सुलेमान पर्वत श्रृङ्खलाले मलाई मानव उत्पत्तिको, सभ्यताको त्यो इतिहासलाई सम्झायो जहाँ हाम्रा पुर्खाहरू प्रकृतिसँग लड्दै गाँस र बासका निम्ति भौंतारिन्थे । अङ्ग्रेज केटीले एयरफोन घुसार्ने ठाउँ देखिनन्, मैले मद्दत गरेँ । कान्छो रोमिक गीतमा मस्त थियो । अब यी केटी नानी पनि गीतमै मख्ख पर्लिन् । मभने सिन्धुकिनारको हरप्पा र मोहनजोदाडो खोज्दै थिएँ । जहाजभने ओम्मन मस्कट हुँदै अरब सागरतिर नै सुरेली खेल्दै थियो । मैले पढे पढाएको इतिहास र भूगोलले मलाई अझ रोमान्चित पारिराखेको थियो ।
बेला बेलामा कफी जुस र खानाका पोका लिएर विमान परिचारिकाहरू ओहोर दोहोर गरिरहेका थिए र हाम्रो ध्यानलाई अर्कैतिर मोडिदिन्थे । पाकिस्तानको तलतलै हुँदै जहाजले भारतको पश्चिमीभूमि जयपुरको आकाश छोयो । मलाई मुम्बईको आकाश देखिएला कि भन्ने लागेको थियो तर छोएन । दिल्ली, लखनउ ठिम्याइए । फाटफुट नजिकको शहर धनगढी, अन्य शहरी घरका दृश्यहरूमा रमाउँदा रमाउँदै चार बजे काठमाण्डूको एयरपोर्टमा जहाज अवतरण । इमिग्रेसनमा छाप ठोकेर बाहिर निस्कदा जाँदाजस्तै फाटफुट वर्षा हुँदै रहेछ ।
ट्याक्सीबाट घर आइपुग्दा साँझको बत्ती बाल्ने बेला भैसकेको थियो । त्यो रात धेरैबेरसम्म यात्राका उपलब्धि र यात्राका सुखद तथा दुःखद अवस्थाका कुराकानीमै हामी अलमलियौँ । हाम्रा खुट्टा भने भुइँमा न भारमा थिए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।