19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ध्रुव लोहागणको मन नाटकमा सामाजिक चिन्तन

कृति/समीक्षा नवीन पौड्याल August 1, 2026, 5:29 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. विषयप्रवेश-

नेपाली साहित्यको विकासमा सिक्किमको पनि ठुलो योगदान रहेको छ। त्यहाँ पनि एकसाएक नेपाली लेखक छन्, कलाकार छन्। त्यहाँको समाजमा पनि नेपाली भाषा, साहित्य, संस्कृति, कला, वाङ्मय बाँचेको छ, सुरक्षित छ। सिक्किम सरकार नै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लागिपरेका छन्। नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किममा धेरै साहित्यिक संस्था सक्रिय छन्। सिक्किमका विभिन्न सरकारी र गैरसरकारी निकायहरूले संस्थाहरूले नेपाली साहित्यकारलाई प्रोत्साहन दिन र मूल्याङ्कन गर्न पुरस्कार, अभिनन्दन, समवर्द्धना दिने गरिन्छ। सिक्किमले वितरण गर्ने गरेको केही प्रमुख पुरस्कारहरूमा भानु पुरस्कार, शोभाकान्ति थेगिम स्मृति पुरस्कर, तुलसीराम कश्यप स्मृति पुरस्कार, शिवकुमार राई स्मृति पुरस्कार, लालमान-सञ्चरानी स्मृति पुरस्कार, साहित्यश्री पुरस्कार, निर्माण पुरस्कार, स्रष्टा पुरस्कार आदि हुन्। यीबाहेक पनि अन्य साना ठुला बजार र गाउँतिरबाट पनि पुरस्कार प्रदान गरिन्छ।

२. नाटककार ध्रुव लोहागण-

सिक्किमेली नेपाली साहित्यको परम्परामा ध्रुव लोहागनको नाम र स्थान उल्लेखनीय छ। उनी आफ्नो जीवनकालभरि प्रायः साहित्यसेवामा नै दिन बिताए। उनी विशेषगरी नाटकका क्षेत्रमा अग्रणी थिए। उनले आफ्नो जीवनकालभरि साहित्यमा डुबे, नाटक लेखे, अभिनय गरे, जीवन बुझेर कथा लेखे। नेपाली साहित्यको संस्थागत उत्थान गर्न साहितच्यिक संस्था खोले। पश्चिम सिक्किमको नयाँ बजार भनिने एक सुन्दर पार्वत्य स्थानका निवासी पिता स्व. छबिलाल लोहागण र माता स्व. गणेशमाया लोहागणको परिवारमा १० जून १९५७ को दिन जन्म भएको थियो। उनको प्रारम्भिक शिक्षाको शुरूआत स्थानीय प्राथमिक पाठशालाबाट नै भयो। उनी नयाँ बजार प्राथमिक पाठशालाको चौथो श्रेणीको विद्यार्थी छँदा पाठशालाका प्रधान शिक्षक श्री बी.बी. मुखियाले लेखेको एकाङ्की नाटक ‘साहेब अनि बेरा’-मा उनले प्रथमपल्ट अभिनय गरेर आफ्नो कला देखाउने अवसर पाएको जानकारी पाइन्छ। उक्त नाटक जोरथाङ बजारमा 4 अप्रेल 1966 को दिन तत्कालीन सिक्किमका राजा छोग्याल पाल्देन थोन्डुप नामग्यालको जन्मोत्सवको उपलक्ष्यमा मञ्चन गरिएको थियो। त्यसपछि पनि उनले विद्यार्थी जीवनमै अन्य धेरै नाटकहरूमा आफ्नो अभिनय कला देखाउने र त्यस दिशातिर दक्षता हासिल गर्ने अवसर पाए। उनले अभिनय गरेका ती नाटकहरू थिए – गौतम बुद्ध (सन् 1967), चित्रकार (सन् 1967), आमा (सन् 1969), प्रायश्चित (सन् 1970), हिरण्यकशिपु (सन् 1971), धने मुखिया (सन् 1971) आदि। प्रारम्भिक कालमा उनलाई नाटकमा अभिनय गर्न सिकाउने र यस क्षेत्रमा अघि बढ्न प्रेरणा दिने व्यक्तिका रुपमा उनका आदरणीय गुरु बी.बी.मुखियाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ। यसप्रकारले नाटकहरूमा अभिनय गर्दै युवा उमेरसम्म आइपुग्दा नाटक कसरी लेख्नुपर्छ भन्ने कुरा उनले राम्ररी बुझे र उनी स्वयं नाटककार बन्ने प्रचेष्टामा लागे। यसरी सन् १९७७ मा उनले प्रथमपल्ट ‘बौलाहा’ नामक एकल नाटक (Mono-act) लेखेर मञ्चन गराएका थिए। त्यस समय उनी कलेजका विद्यार्थी थिए। यस नाटकमा उनको आफ्नै एकल अभिनय रहेको थियो। उनको यो नाटक निकै चर्चित र लोकप्रिय भयो।

१) सिद्धार्थ (रेडियो नाटक) सन् १९९९, २) कटुसत्य (रेडियो नाटक) सन् २०००, ३) टिस्टा रंगीतको बगरै बगर (तेह्र भागमा रेडियो धारावाहिक नाटक) – सन् २००१, ४) ममता (चार भागमा रेडियो धारावाहिक नाटक) – सन् २००३, ५) मन (रेडियो नाटक) – सन् २००५, ६) सम्मोहन (चार भागमा रेडियो धारावाहिक नाटक) – सन् २००६, ७) नयाँ बिहानी (रेडियो नाटक) – सन् २००८, ८) पूनर्जन्म (रेडियो नाटक) – सन् २०१०,।

पुस्तक रुपमा प्रकाशित उनका कृतिहरू यसप्रकार छन् :-

१) आँधी आएपछि (पूर्णाङ्की नाटक) – सन् १९९७, २) कटुसत्य (नाटकसङ्ग्रह) – सन् १९९९, ३) रजनीगन्धा (कथा सङ्ग्रह) - सन् २००१, ४) मृगतृष्णा (पूर्णाङ्की नाटक) – सन् २००४, ५) त्यो पारि गाउँमा (पूर्णाङ्की नाटक) – सन् २००६, ६) मन (नाटक सङ्ग्रह) – सन् २०१०, ७) सम्मोहन (पूर्णाङ्की नाटक) – सन् २०१८, ८) फेसबुकको पन्नादेखि पुस्तकका पन्नाहरूमा आइतबारे कोसेली (कविता, मुक्तक सङ्ग्रह)-सन् २०१८, ९) तितो सत्य (कविता सङ्ग्रह) २०१९, १०) समय चक्र (कथा सङ्ग्रह) – २०१९।

ध्रुव लोहागण जाति, भाषा समाज, स्वभूमि र स्वदेशका सचेत व्यक्तित्व थिए। उनका लेखनमा नै यी कुरा झल्केका पाइन्छ। उनको मुख्य विधा नाटक हो भने कथामा पनि अघि बढेका छन्। आफु बसेको समाजमा भाषा र साहित्यको प्रभाव र दायित्वका निम्ति गोरेटो बिसौनी नामक साहित्यिक संस्था खोलेका थिए। त्यस संस्थाले सिक्किमको पाकिम बजारमा मासिक भेला कार्यक्रम सञ्चालन गर्दथ्यो। यसका साथै सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिम पनि स्थापना गरेका थिए। यीबाहेक नेपाली साहित्य परिषद्, सिक्किमका आजीवन सदस्य र उपाध्यक्ष रही सेवा गरेका थिए। उनी आफैं एक अभिनय कलाकार सिक्किम कलाकार सङ्घका पनि आजीवन सदस्य थिए। उनी बाँचुञ्जेल नाटक र साहित्य भनेर नै मरिमेटेका थिए। उनी धेरै ठाउँमा साहित्यिक गोष्ठी, समारोह र प्रस्तुतीकरण गर्न पुगेका हुन्थे।

३. ध्रुब लोहागणको नाट्यप्रवृत्ति

ध्रुब लोहागण मूलतः नाटककार हुन्। अभिनय कलामा दक्षता हासिल गरेका ध्रुव लोहागणका अधिकांश नाटकहरू मञ्चित छन्। उनी एक कुशल अभिनेता, नाट्यकलाकार हुनाले उनको नाटक अभिनेय किसिमका हुन्छ। नाटकका निम्ति आङ्गिक, सात्विक, वाचिक र आहार्य गरी चार किसिमका हुन्छन्। लोहागुनले यी चार अभिनयहरूलाई राम्रोसँग निर्वाह गरेका छन्। उनी नाट्यक्षेत्रमा नै जीवन बिताएका हुन। नाटक र चलचित्र लेखन र अभिनय गरेका छन्। हालसम्म उनले लेखन, निर्देशन र अभिनय गरेका चलचित्रहरू हुन्- साइनो (अभिनय), असली- नक्कली (टेलिफिल्म, अभिनय), रानी खोला (अभिनय र लेखन), देवता (टेलिशृङ्खला, अभिनय), हाम्रो गाउँको कथा (टेलिफिल्म, निर्देशन), जीवन गोरेटो (टेलिफिल्म, अभिनय र निर्देशन), हरियाली और प्यार (ध्रारावाहिक, अभिनय-लेखन र निर्देशन)। उनको टेलिफिल्म र धारावाहिक दूरदर्शन केन्द्र गान्तोक, दिल्ली र गुवाहाटीबाट प्रशर्न भएका हुन्। आकाशवाणी गान्तोकबाट उनका रेडियो नाटकहरूमा सिद्धार्थ, कटुसत्य, टिस्टा रङ्गीत बगरै बगर, ममता, मन, सम्मोहन, नयाँ बिहानी पुनर्जन्म गरी आठवटा छन्।

ध्रुव लोहागणका एकाङ्कीहरूमा सामाजिक सुधार, मानसिकताको विकास व्यक्ति सुधार आदि जस्ता आदर्श र उदात्त भावना व्यक्त गरिएको पाइन्छ। कथावस्तुलाई केन्द्रमा राखेर त्यससित सम्बन्धित अन्य सन्दर्भलाई आंशिक रूपमा जोडिएको हुन्छ। कतै सिक्किमेली समाजको वास्तविकता र आदर्शता देखाइएको पाइन्छ। गाउँ-घरका भित्री सामाजिक यथार्थतालाई देखाउने प्रयास गरिएको छ। एकाङ्कीभित्र एकै दृश्य हुनुपर्दछ भन्ने भनाइ रहे पनि कतिपय विद्वानले एक अङ्कमा परिस्थितिगत आवश्यक्ता अनुसार केही दुई तीन दृश्यको प्रयोग गर्न सक्दछ भन्ने भनाइ रहेको छ।

४. मन नाटकको समीक्षा

२०१० मा पहिलो र २०२२ मा दोस्रो संस्करणमा प्रकाशित ध्रुब लोहागणको एकाङ्कीसङ्ग्रह मन विभिन्न कोण-दृष्टिकोणले परिपूर्ण छ। पहिलो संस्करणको प्रकाशनपछि यसै कृतिले सिक्किमको प्रतिष्ठित लालमान-सञ्चरानी पुरस्कार पाएको हो। यसमा जम्मा छवटा एकाहेकी नाटकहरू समावेश छन्। पुस्तकको भूमिका पेम्पा तामाङको रहेको छ। यी छवटालाई लेखकले नाटक सङ्ग्रह भनेका छन्। यी छवटा नाटकहरूले एकेक मुख्य विषयलाई नाट्यवस्तु बनाएको छ। एकाङ्की नाटकमा हुनुपर्ने अन्वितित्रय, वस्तु योजना, पात्र विधान, परिवेश सिर्जना सबै पक्षबाट विचार गरिएको छ।

ध्रुब लोहागण समाजशास्त्रीय अध्ययनका क्रममा समाजका दृष्ट-अदृष्ट विभिन्न घटना प्रसङ्गलाई आफ्नो नाटकीय पटकथा तयार पारेका छन्। उनी समाजको राम्रोसँग अध्ययन गरेर, समाजभित्रका राम्रा पक्ष, नराम्रा पक्ष, कमी-कमजोरी सबै पक्षको राम्रोसँग निरीक्षण गरेका छन्। हाम्रो समाज भनेको मिश्रित सांस्कृतिक परम्परा, जात जातिले भरिएकतको छ तर पनि एउटै समाज छ। समाजमा विविधतामा एकता छ। वल्लो घर र पल्लो घरका छिमेकीहरू नै भिन्नाभिन्नै सांस्कृतिक परम्पराका हुन सक्छन्। यद्यपि हाम्रो समाजमा केही सांस्कृतिक व्यवधान पनि आंशिक रूपमा रहेको छ।

मन नाटकलाई नाटकसङ्ग्रह भनिए तापनि मूलतः एकाङ्कीसङ्ग्रह मान्न सकिन्छ। यसमा जम्मा छवटा एकाङ्कीहरू छन्- तीन दिशा, सिद्धार्थ, ममता, मन, लौ परमेश्वरा र कलगर्ल। यी छवटा एकाङ्कीहरूले छवटै विषयलाई केन्द्रीकृत गरेर रचिएका छन्। मूल विषयवस्तुसँग सम्बद्ध अन्य गौण विषयहरू पनि नाटकीय कथाभित्र समेटिएका छन्। नाटकीय त्रयअन्वितिको राम्रोसँग निर्वाह भएको छ। नाटकीय तत्व र रङ्गमञ्चीय प्रावधानहरूलाई यसमा पालन गरिएको छ।

पुस्तकको भूमिकामा समालोचक पेम्पा तामाङले मन नाटकसङ्ग्रहका रहेका नाटकका बारेमा संक्षिप्तमा भए पनि प्रकाश पारेका छन्। लेखक स्वयम्‌ले पनि नाटकबारे आफ्नो धारणा राख्दै यसमा रहेका नाटकहरूका बारेमा केही सङ्केत गरेका छन्।

तीन दिशा एकाङ्कीमा एकै घरका तीन पुस्ताको वैचारिक सामाजिक सांस्कारिक अन्तरालको जुन खाल्डो छ त्यो निकै गम्भीर छ। बाजेदेखि बाबु पुस्ता र नाति पुस्तामा आएको भिन्नताले हमाम्रो समाज कतातिर जाँदैछ भन्ने कुरा सङ्केत गर्दछ। जन्मदिन मनाउने चलनले नै धेरै कुरा खुलाएको छ। वृद्धको विचार जन्मदिन बत्ती बालेर मनाउनु पर्दछ, नातिका लागि ममबत्ती निभाएर केक काटेर र मासु बियर रक्सी खाएर मनाउऩु पर्दछ। पहिले र अहिलेको सामाजिक स्थितिमा ठिक विपरीतता एको छ। यसरी नै हाम्रो जाति विभिन्न पक्षबाट स्खलित हुँदै गइरहेको तीतो सत्यलाई नाटकले चिन्तन गरेको छ।

सिद्धार्थ नाटकमा भने सिद्धार्थ र देवदत्तबिचको तर्कलाई मूल विषयवस्तु बनिएको छ। देवदत्तको काँड़ले घाइते भएको हाँसलाई सिद्धार्थले बचाएको तर देवदत्तले मेरो हो, मलाई दिनु भनेकाबाट विवाद शुरू भएको छ। राजा शुद्धोधनले दुवैको तर्क सुनेपछि निष्पक्ष रूपमा मार्नेभन्दा बचाउनेको अधिकार हुन्छ भन्ने निर्णय दिन्छन्। यसलाई गौतम बुद्धको मिथकीय कथालाई पुनर्लेखन गरेका छन्। तर्कले झुटोलाई पनि जिताउन सक्छ तर वास्तविक न्यायले सत्यतालाई नै जिताउने गर्छ।

ममता नाटकमा सिक्किमका दुई समुदायबिचको सामाजिक परिवेशलाई राम्रोसँग उठान गरेका छन्। भोटिया समुदायको पाल्देन र नेपाली समुदायकी ममताको बिचमा चलेका प्रेम नै मूल विषशयवस्तु रहेको छ। छिमेकीका छोराछोरीबिच प्रेम हुनु स्वभाविक कुरा हो। प्रेम विषयमा दुई संस्कारका प्रेमी प्रमिकालाई जोड्ने काम भने आधुनिक र सज्जन लमीका रघुनन्दको भूमिका नै उल्लेखयोग्य छ। दुई परिवारको पुरानो दुश्मनीलाई प्रेममा परिणत गरेर दुईको विवाह गराइदिएको रोचक कथा बुनिएको छ। समाजमा रघुनन्द जस्ता सज्जन व्यक्तिहरू रहेका छन् समाज साँच्चै नै शान्तिमय बन्नेछ। अर्कातिर दुई भिन्न जातिका घरमा काम गर्ने बिर्खे र आदिवासी समुदायकी मायाका बिचमा पनि प्रेम रहेको देखिएको छ। नरनारीका प्रेम सबैका निम्ति हो, चाहे धनी होस् वा गरीब होस्, चाहे कुनै कुनै जात वा जाति सबैलाई उत्तिकै हुन्छ। अन्तमा ममता र पालदेनको प्रेमले सफलता पाउँछ। दुई जातिका बाचमा कौटुम्बिक सम्बन्धित गाँसिएर शत्रुता मित्रतामा परिणत हुन्। सिक्किम दार्जिलिङ भरी नै भोटे लाप्चे नेपालीका बिच त्रिकोणीय विवाह हुनु सामान्य छ। यसकारण सिक्किमेली समाज भन्नु नै भोटे लाप्चे नेपालीको तीन चम्का हुन्। बिर्खे र आदिवासी कालीकेटी माया पनि प्रेममा परेर दुईको विवाह भएको संकेत गरिएको छ।

मन नाटकमा पनि वर्तमानको एउटा जटिल सामाजिक समस्या बुढेसकालको अवस्थालाई विषयवस्तु बनाइएको छ। रस चुसिसकेका उखुको खोस्टा जस्तै बुढाबुढी आफुले नै बनाएको घरमा परित्यक्त भएर बस्न बाध्यतालाई संवेदनशील भएर प्रस्तुत गरिएको छ। बडो कारूणिक अवस्था देखाएको छ जो युगको कलङ्क हो, सबैको समस्या हो। आफ्ना बुढा भएका आमाबुका निम्ति छोराछोरीको उपस्थिति नै सबैभन्दा ठुलो सेवा हो। बाहिरबाट धनदौलत र सामान कोसेली पछाइदिएर छोराछोरीको दायित्व पूरा हुँदैन। अहिलको युगमा सबैभन्दा ठुलो समस्या नै बाबु-आमाको बिस्याहार र कारणिक स्थिति हो। नाटकका बाबुआमा भानुराज र सुलोचना उमेरको सत्तरी वर्ष नाघेपछि स्याहार सुसारको आवश्यकता परेका बेला छोरा बुहारी प्रदीप र करूणाले सामानहरू दिएर नै दायित्वबाट पन्छिएका छन्। बाजे बोजूका निम्ति नाति-नातिनालाई हेर्ने इच्छालाई समेत पूरा गरिदिदैनन्। बुढेसकालमा श्रीमान श्रीमतीको प्रेम नै सबैभन्दा ठुलो आधार सिद्ध हुन्छ। आमा बुले दुःख गरेर हुर्काएका कर्तव्य पूरा गरेका आफ्नै आमा-बाबुलाई बुढेसकालमा बेसाहारा छोड्नु ठुलो पाप हो, कलङ्क हो। तीन पुस्ताको अन्तराललाई नाटकमा साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। आफ्नो नानीहरूलाई बाजो बोजूका नलग्ने प्रदीप र करूणाको बुढेसकाल झन कति विकराल हुने सम्भावना देखिन्छ। यो त रोपेको कर्म हो, परम्पराको क्रमिकता हो, पालोको पैंचो हो। यस नाटकको उद्देश्य आफ्ना वृद्ध मातापिताको स्याहार सुसार गर्नुपर्दछ किनभने त्यो नै भविष्यमा आफ्नो लागि पनि हो भन्ने सन्देश रहेको छ।

लौ परमेश्वरा एकाङ्कीमा धामी झाँक्रीको चलन र अन्धविश्वास अझैसम्म कायम रहेको र त्यसको वास्तविकता अर्कै भएको देखाइएको छ। छोरलाई प्रेमरोग लागेको भनेर चिन्ता बसाएको तर चिन्ता सकेपछिपछि धामीसितै छोरी पोइला गएको घटना देखाइएको छ। यसलाई परिहास नाटक मान्न सकिन्छ। नाटकमा सरिता र धामी उसका आमा बाबु र चिन्ता बस्ता साथ दिने धुपौरेहरूलाई पत्र बनाइएको छ।

कलगर्ल नाटकमा कसरी युवतीहरू अवैध र अनैतिक धन्धामा लागेका हुन्छन् भन्ने कुरामा चिन्तन गरिएको छ। यसका कर्लगर्लकी रूपमा रहेकी अस्मितालाई राम्रो संगत दिएर समाजले उद्धार गर्न सकिन्छ भन्ने सन्देश दिइएको छ।

५. नाटकका संरचना पक्ष-

मन नाटकसङ्ग्रहमा जम्मा छवटा नाटक रहेका छन्। यी नाटकहरूलाई एकाङ्की मान्न सक्छौं। यसमा दुई तीन दृश्य रहेता पनि एकेकवटा अङ्क रहेका छन्। दृश्यविभाजन भएता पनि अङ्क विभाजन नहुनाले यी नाटकहरूलाई एकाङ्की नै भन्ने सकिन्छ। प्रत्येक नाटकमा एउटै मूल विषयवस्तुलाई अघि राखेर त्यसको निष्कर्षसम्म पुग्न वस्तुलाई द्रुत गतिमा लगिएको छ। नाटकीय द्वन्द्व, कौतूहल पक्षहूको पनि राम्रोसँग निर्वाह भएको छ। ममता नाटक भने केही लामो रहेको छ। बबाँकी भने सामान्य आयामका रहेका छन्।


सं----एकाङ्की--दृश्य----मुख्य पात्र-पात्रा सन्देश

१ तीन दिशा---४---वृद्ध, नन्दे, अञ्जु, रघुवीर, विशाल, नेहा तीन पुस्ताका बीचको सामाजिक सांस्कृति अन्तराल, दुरत्व र त्यसबाट उब्जेको समस्या।

२ सिद्धार्थ---३---सिद्धार्थ, देवदत्त, यशोधरा,, शुद्धोधन, द्वारपाल र महान्त्री मार्नेभन्दा बचाउने ठुलो हो।

३ ममता---११----पालदेन, ममता, माया बिर्खे, समीरण, कुसुम, रघुनन्द, आपा, आमाला, रश्मि, प्रेमले जातीय भेद मान्दैन तर राम्रो परिवेश पाएर दुई जातिमाझ पनि प्रेमले सुधुरता ल्याउँछ।

४ मन---३---भानुराज, सुलोचना, प्रदीप, करूणा, सरमान, घरको वृद्ध माता पिताको मनोविज्ञान पनि नयाँ पुस्ताले बुझ्नु पर्दछ।

५ लौ परमेश्वर-२---रूपलाल, झाँक्री, मञ्जु, प्रिती, हर्कमान, विकर्म, मामा, झाँक्री संस्कृतिमा आएको विकृति। प्रेम परेकी युवतीलाई चिन्ता बस्ता उल्टै झाँक्रीले युवतीलाई भगाएको हास्यकथा।

६ कर्लगर्ल--४---मृणाल, अस्मिता, हवल्दार, निरीक्षक, उकिल, निर्मलादेवी, कल्याणी, धनमाया। कोही शुरूबाटै चरित्रहीन हुँदैनन् तर नारीलाई राम्रो परिवेश दिएर चरित्रहीनताको पनि सुधार हुन्छ।


६. नाटकको मूल्याङ्कन र उपसंहार
नेपाली नाट्य क्षेत्रमा ध्रुव लोहागण एक प्रखर नाम हो। उनी नाट्यभिनेता, नाट्यनिर्देशक नाट्यलेखक आदि सबै क्षेत्रमा सक्रिय थिए। उनको पछिल्लो नाटकसङ्ग्रह ‘मन” भित्र छवटा एकाङ्कीहरू समावेश छन्। यसमा एकाङ्की कतै उल्लेख नभए पनि सबै नाटक एकै अङ्कमा रहेका हुनाले एकाङ्की नै मानिन्छ। यी छवटा एकाङ्कीहरू छवटा नै मूल विषयवस्तुलाई समेटेको छ, सामाजिक पक्षहरूको उठान गरेको छ। यसमा कतै बुढेसकालका पारिवारिक र विस्याहारको समस्या, कतै दुई भिन्नाभिन्नै संस्कृति नरनारीमा प्रेम भएर समस्या भएको तर अन्तमा समाधान भएको, कतै तीन पुस्ताको बीचको वैचारिक सांस्कारिक अन्तरालबाट उब्जेका समस्या देखाइएका छन्। यसबारे अझै नयाँ तथ्य, रचना कौशल, संरचना, विषयवस्तु, प्रविधि आदिबारे अझै अध्ययन गर्न सकिन्छ। यसकारण ध्रुव लोहागणको मन नाटकसङ्ग्रह धेरै कोणबाट विशेष र विभूषित छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।