दार्जीलिङको सानो रेल जब छुकछुक-छुकछुक गर्दे, धुवाँ फ्याक्दै, र कुइनेटै पछि कुकुक-कुकुक गर्दै सिट्ठी बजाउँदै घुम, सोनादा, दिलाराम, हुँदै टुङ आइपुग्छ, तब बिरामी परेर ओछ्यानमैँ थलिएकी एस्थरलाई एक प्रकारको अन्तर्बोध हुन थाल्छ। उनको मन अकास्मत अवर्णनीय आनन्दले भरिएर आउँछ।
जब रेल सिपाही धुरा आइपुग्छ तब ट्रेनको छुकछुक-छुकछुक आवाज अलिअलि सुनाइदिन्छ। जस्तो रेलले कुकुक-कुकुक गरेर तीनपल्ट सिट्ठी फुक्छ उनी एक्कासि ओछ्यानबाट उठ्छिन्। अतालिँदै ऐनाको छेउमा राखेको रबर-ब्यान्डले कपाल बाँधेर उनी कोठाबाट झटारिँदै निस्कन्छिन्।
सिकुवामा राखेका जुत्ता लगाएर उनी उकालो डाँडातिर कुद्न थाल्छिन्। त्यसरी हठात् उठेर हतारिँदै उकालो लागेको देखेर आमा भान्साघरको खिड्कीबाट कराउँछिन्—“एस्थर! त्यसरी नकुद्न ज्वारो काँच्चै बल्झिन्छ। ऐ, भनेको सुन्न है!” तर आमालाई वास्तै नगरी उनी झन् तीव्र गतिमा कुद्न थाल्छिन्।
उनी डाँडामा आइपुगेर भुइँमा थ्याँच्च बस्छिन्। भुइँमा घोप्टिएर लामो-लामो सास लिन्छिन्। त्यसपछि अनुहारभरि आएका केशराशीलाई हटाउँदै आँसु पुछी झुरुक्क उठ्छिन् र चारैतिर निहाल्छिन्—पहाडका केही ठाउँहरू बादलबिचबाट छिरेका घामका किरणले सुनौला भएका रहेछन्, पहाड फेदको एउटा खोला चाँदीको खोलासरि बगिरहेको रहेछ, तल राजमार्गको सडकमा गाडीहरू गुडिरहेका छन्, र डाँडामा बतासे हावा चलिरहेको छ। तर उनी खुशीले चिच्याउन सक्दिनन्।
पहिले एस्थरले आँखा चिम्म गरेर रेललाई महसुस गर्छिन्, त्यसपछि आफ्ना दुवै हात फैलाएर रेलको धुवाँलाई आलिङ्गनमा लिन्छिन्। जब उनले आँखा खोल्छिन् त्यतिबेला सिपाही धुरा पछाडि छोड्दै अघि बढिरहेको रेललाई देख्छिन्। रेल पनि उनलाई देख्नसाथ खुशीले उत्तेजित हुँदै उनीतिरै आइरहेको जस्तो लाग्छ। जतिपल्ट रेलले कुकुक-कुकुक गर्दै जोरजोरले सिट्ठी फुक्छ त्यतिपल्ट “एस्थर! एस्थर!” भन्दै आवाज दिएको जस्तो उनलाई भान हुन्छ।
धुवाँको गन्ध मसुस हुँदैपछि उनको नयनबाट आँसु तरर बगिरहन्छ। उनले भित्री स्वरमा “तरुण! मेरो तरुण!” भनेर पुकार्छिन्। त्यसपछि उनले दुवै हातका औँलाहरू मुट्ठी पारेर थरर काम्दै चिच्याइ-चिच्याइ रुन्छिन्। राल-सिँगान हुन्छिन्। उनको अवस्थालाई बोध गरी समय आफै पनि डराएर रोकिँदै-रोकिँदै बिस्तारो बितिरहेको जस्तो लाग्छ। डाँडाका धरती र रुखहरूमा कम्पन आएको जस्तो महसुस हुन्छ। एक क्षण त्यहाँका खोलानाला, फलफूल, झार-जङ्गल, चराचुरुङ्गीदेखि लिएर किरा-फट्याङ्ग्रा सबै स्तब्ध भएका जस्तो आभास हुन्छ।