प्रसिद्ध रुसी साहित्यकार फ्योदोर दोस्तोएभ्स्कीको एउटा निकै घतलाग्दो भनाइ छ, ‘मानिसहरू नयाँ पाइला चाल्न र नयाँ शब्द बोल्न सबैभन्दा बढी डराउँछन् ।’ तर, कहिलेकाहीँ मान्छे डरलाई जितेरै मृत्युको बाटोमा किन लामबद्ध हुन्छ ? आफ्नै माटोको सुगन्धलाई चटक्कै भुलेर ऊ किन बिरानो जंगल पस्छ ? यी गम्भीर प्रश्नहरूले समकालीन नेपाली समाजलाई नराम्ररी गिज्याइरहेका छन् । विशेषगरी अमेरिका पुग्ने ‘भुत्ते भूत’ले हाम्रा युवाहरूलाई नराम्ररी गाँजेको छ । यही भ्रम र अन्धमोहको निर्मम शल्यक्रिया हो, ‘डङ्की’ ।
डा. चन्द्र गिरीको यो आख्यान हृदयविदारक र अत्यन्तै मार्मिक छ । यसले सपनाको आवरणमा लुकेको मृत्युको क्रूर खेललाई उदांगो पार्छ । यो केवल एउटा कागजमा छापिएको साधारण पुस्तक मात्र हुँदै होइन । यो त हजारौं हराएका अनुहारहरूको मौन र रुन्चे चिच्याहट हो । यसमा भ्रम, भोक, त्रास र मृत्युको डरलाग्दो आदिम नृत्य छ । उपन्यासको उपशीर्षक ‘सपनाको कालबाटो’ त झनै आफैंमा अत्यन्तै सटीक र बहुअर्थी छ । ‘डंकी’ कुनै चारखुट्टे घरपालुवा जनावरको कथा भने पटक्कै होइन । यो त मान्छेले मान्छेकै मूल्य भुलेको एउटा अमानवीय बाटो हो । अवैध बाटोबाट अमेरिका छिर्ने दुस्साहसलाई आम बोलीमा ‘डंकी’ भनिन्छ । यसले आशाको न्यानो खोल ओढाएर निराशाको चिसो विष पिलाउँछ । अब यो समीक्षाको यात्रा त्यही कहालीलाग्दो कालबाटोतिर मोडिन्छ ।
डा. गिरी विश्वमै चिनिएका एक विशिष्ट र वरिष्ठ वैज्ञानिक हुन् । म्याङ्ग्रोभ म्यापिङका विशेसज्ञ भनेर उनी प्राज्ञिक संसारभर निकै सुविख्यात छन् । अंग्रेजीमा चारवटा गहन पुस्तक लेखेर उनले आफ्नो बौद्धिक उचाइ बनाएका छन् । तर नेपाली मातृभाषाप्रतिको अगाध प्रेमले उनलाई यता साहित्यतिर डोहोर्याएको देखिन्छ । त्यही अदम्य हुटहुटीको सुन्दर प्रतिफल हुनुपर्छ, यो औपन्यासिक कृति । उनले आफ्नो पेसागत सिलसिलामा पनामाको ड्यारियन ग्याप पुग्ने अवसर पाए । त्यहाँ उनले दर्जनौं नेपाली दाजुभाइलाई मृत्युसँग पौंठेजोरी खेलिरहेको देखे । ती नेपालीहरूको आँसु र पीडाले उनको वैज्ञानिक हृदयलाई नराम्ररी पगाल्यो । त्यसपछि उनका औंलाहरूले कीबोर्डमा यो विक्षिप्त कथाको टाइप सुरु गरे । यो उपन्यास लेख्न उनले अनुसन्धान र अनुभूतिको गहिरो सागर मन्थन गरेका छन् । उनको यो पहिलो नेपाली कृति नै नेपाली साहित्यमा एक शक्तिशाली हस्तक्षेप हो । यसले आप्रवासनको मुद्दालाई एउटा नितान्त नयाँ र दार्शनिक उचाइ दिएको छ ।
इलामको सुन्दर गाउँ सलकपुरबाट यो त्रासदीपूर्ण कथा विस्तारै सुरु हुन्छ । सुन्तलाको मीठो सुगन्ध बोकेको त्यो गाउँ विस्तारै पछाडि छुट्दै जान्छ । त्यसपछि सुरु हुन्छ, भूगोलको एक अत्यन्तै कहालीलाग्दो र निर्मम नापजोख । पात्रहरू भारत, रुस, स्पेन हुँदै ल्याटिन अमेरिकाका विभिन्न देश पुग्छन् । ब्राजिल, कोलम्बिया र पनामाको त्यो यात्रा साँच्चै नै मुटु कमाउने खालको छ । लेखक आफैंले यी डरलाग्दा र अपरिचित बाटाहरू प्रत्यक्ष रूपमा छिचोलेका छन् । त्यसैले प्रकृतिको सूक्ष्म चित्रण उनको यस लेखनको प्रमुख शक्ति बनेको छ । किताबको आधाभन्दा बढी भाग पढ्दा विशुद्ध नियात्रा पढे जस्तो भान हुन्छ ।
तर यसमा आख्यानको मीठो रस पनि मज्जाले र सन्तुलित रूपमा घोलिएको छ । तथ्य र अनुभूतिको यस्तो सुन्दर र कलात्मक संगम नेपाली साहित्यमा विरलै पाइन्छ । जंगलका जीवन्त दृश्यहरूले पाठकलाई पनि पात्रसँगै सँगसँगै हिँडाउँछन् । सन्नाटा, सुस्केरा र मृत्युभयले कथालाई निरन्तर अघि बढ्न मद्दत गर्छन् । कथामा कतै वैयक्तिक डायरी छ त कतै संस्मरणका गहिरा डोबहरू छन् । नियात्रा र आख्यानको यो नौलो फ्युजन अत्यन्तै स्वादिलो र पठनीय छ । पारम्परिक उपन्यासको पुरानो ढाँचालाई लेखकले यहाँ साहसपूर्वक भत्काइदिएका छन् । त्यही भएर यो कृति समकालीन आख्यानभन्दा निकै नवीन र प्रयोगधर्मी लाग्छ । यहाँ मान्छेको लाचार र निरीह छायाँ प्रकृतिको विशाल काखमा रुन्छ ।
ड्यारियन ग्याप यस उपन्यासको सबैभन्दा भयानक र त्रासद मुकाम हो । कोलम्बिया र पनामाबीचको यो घना जंगल मृत्युको अर्को साक्षात् नाम हो । सात दिन लामो त्यो पैदल यात्रा नर्कको साक्षात् दर्शन जस्तै हो । घना जंगल, अनगिन्ती दलदल र हिंस्रक जनावरको पाइलापाइलामा डर छ । त्यो भन्दा पनि ठूलो डर त त्यहाँ मान्छेबाटै मान्छेलाई छ । हतियारधारी लुटेराहरूले हरेक पाइलामा बाटो ढुकेर बसेका हुन्छन् । त्यहाँ पुगेपछि आधुनिक र सभ्य भनिने मान्छेको सम्पूर्ण मुकुण्डो च्यातिन्छ । मान्छे नितान्त आदिम, स्वार्थी र पशुतुल्य बन्न पुग्छ । भोक र तिर्खाले मानवीय संवेदनाहरू सबै जरैदेखि मर्छन् । बाटोमा एक असहाय आमा आफ्नो हराएको बच्चा खोज्दै क्वाँक्वाँ रोएकी छन् । ‘मार्को, मार्को’ भन्दै चिच्याएको त्यो विक्षिप्त स्वरले पाठकको मुटु चिर्छ । त्यो मातृशोक पढ्दा पाठकको आँखाबाट पनि बलिन्द्र आँसु खस्छन् ।
मान्छे किन यति क्रूर र अमानवीय परीक्षा दिन विवश छ ? एउटा कृत्रिम सपनाको मूल्य यति विघ्न महँगो किन हुन्छ ? बाटोमा कतिपय साथीहरू भोकभोकै ढल्छन् र तड्पिएर मर्छन् । तिनलाई त्यहीँ खाल्डो खनेर सुकेका पत्करले हतारहतार पुरिन्छ । कुनै दागबत्ती छैन, कुनै मलामी छैनन्, केवल सन्नाटा छ । त्यो कारुणिक दृश्य सम्झँदा मात्र पनि शरीरको आङ जिरिङ्ग हुन्छ । मेक्सिकोमा रेलको छतमा यात्रा गर्नु अर्को भयानक दुःस्वप्न हो । ज्यान हत्केलामा राखेर गरिएको त्यो यात्रा एउटा शुद्ध ‘पागलपन’ हो । कसैका घुँडा फुट्छन्, कसैका दाँत भाँचिन्छन्, तर यात्रा भने रोकिँदैन । मान्छे संवेदनाहीन मेसिन जस्तो बनेर मात्र निरन्तर कुदिरहेको छ । उसलाई आफ्नो गन्तव्य थाहा छ, तर बाटोको कुनै टुंगो छैन । मरिन्छ कि बाँचिन्छ, कसैलाई पनि त्यसको केही अत्तोपत्तो छैन ।
पशुपति अर्थात् पस्पते यस विक्षिप्त कथाको मुख्य सूत्रधार पात्र हो । उसको झोलाभित्र सिङ्गो परिवारको उज्ज्वल भविष्यको सपना छ । उसको वैयक्तिक डायरीले नै यो कठोर र निर्मम यात्राको कथा बोल्छ । पार्वती र प्राचीको मौन पर्खाइले कथामा गहिरो भावुकता थपेको छ । उपन्यासमा भेटिने पण्डित बाजेको कथा झनै दर्दनाक र उराठलाग्दो छ । उता वीरबहादुर पन्ध्र वर्षदेखि सेन्ट्रल अमेरिकाको बिरानो र निष्ठुरी भूमिमा अल्झिएका छन् । उनको परिवारसँगको सम्पर्क अब सधैंका लागि टुटिसकेको छ । उनी बाटोमै हराएका हजारौं युवाका एक जीवन्त प्रतिनिधि पात्र हुन् । भेनेजुयलाकी मारिया र इजाबेलासँगको भेटले कथालाई छुट्टै सुगन्ध दिन्छ । पस्पते र मारियाबीचको आत्मीयता ज्यादै सुन्दर र मार्मिक ढंगले पोखिएको छ ।
दुःखको बेला मान्छेले मान्छेको आड कसरी खोज्छ भन्ने यो ज्वलन्त उदाहरण हो । यो सूक्ष्म पक्षलाई लेखकले अत्यन्तै कलात्मक रूपमा पस्केका छन् । अमेरिका पुगेपछिको मरुभूमि यात्रा आख्यानको अर्को कहालीलाग्दो र अँध्यारो पाटो हो । ‘ड्रिमल्याण्ड’ भनिने देशमा पुगेपछि पनि सोचेजस्तो सुख र शान्ति पाइँदैन । बरु त्यहाँबाट सुरु हुन्छ, मानसिक र सांस्कृतिक विस्थापनको अर्को मौन युद्ध । मान्छेले केही पैसा त कमाउला, तर आफ्नो आत्मा भने सधैंलाई गुमाउँछ । डलरले विलासी जीवन किन्न सकिन्छ, तर भित्री खुसी किन्न सकिँदैन । यो उपन्यासले यही कठोर र नग्न सत्यलाई बारम्बार प्रमाणित गर्छ । पात्रहरूको गहिरो मनोविज्ञानलाई नजिकबाट चिहाउन लेखक पूर्ण रूपमा सफल छन् ।
भाषा र शिल्पको हिसाबले ‘डंकी’ अत्यन्तै लयात्मक र काव्यात्मक छ । यसका वाक्यहरू छोटा र मिठा छन्, तर तिनले बोक्ने दार्शनिक अर्थ भने विशाल छ । प्रकृतिलाई लेखकले एक सशक्त र मौन बिम्बको रूपमा उभ्याएका छन् । कहिले प्रकृतिले रुखको जरा बनेर थाकेको मान्छेलाई सहारा दिन्छ । कहिले भने दलदल बनेर मान्छेको सिंगो अस्तित्व नै चटक्कै निलिदिन्छ । उपन्यासमा प्रयोग भएका सम्पूर्ण रूपकहरू मर्मस्पर्शी, सजीव र विम्बात्मक छन् । ‘चिच्याउने एक थुँगा चाहना’ जस्ता उपशीर्षकहरू निकै काव्यात्मक र प्रतीकात्मक छन् । ‘बाटोको मद्धिम उज्यालो’ले मान्छेको सुकेको अन्तिम आशलाई बुझाउँछ ।
दुःख र आँसुको पनि यहाँ आफ्नै एउटा चिसो लय छ । त्रास र डरको पनि आफ्नै एउटा डरलाग्दो र नमीठो संगीत छ । शब्दहरूले दृश्यको चित्र उतार्न यहाँ साक्षात् जादुगरीको काम गरेका छन् । लेखकले पाठकलाई कुनै खोक्रो उपदेश दिँदैनन्, केवल यथार्थको ऐना देखाउँछन् । त्यो निर्मम ऐनामा हाम्रो आफ्नै विकृत र लोभी अनुहार देखिन्छ । हामी कतिसम्म खोक्रो र कृत्रिम सपनाको पछाडि दौडिरहेका छौं ? यसले हाम्रो आधुनिक पुस्ताको वैचारिक दरिद्रतालाई छर्लंग उदांगो पारेको छ । राम्रो जीवनको सपना देख्नु पक्कै पनि कुनै ठूलो अपराध होइन । तर सपनाका लागि आफ्नो पहिचानको जरा नै काट्नु महाभूल हो ।
समग्रमा भन्नुपर्दा, ‘डंकी : सपनाको कालबाटो’ एक शक्तिशाली र वजनदार उपन्यास हो । यसले नेपाली समाजलाई झकझकाउने एउटा कठोर र अनुत्तरित प्रश्न सोधेको छ । आफ्नै देशको माटोभन्दा यो मृत्युको बाटो किन यति प्यारो लाग्छ ? यो हाम्रो सुतेको राज्यसत्ता र आँखा नदेख्ने समाज दुवैका लागि गतिलो झापड हो । केही ठाउँमा भूगोल र प्रक्रियाको वर्णन अलि बढी तन्किएको भान हुन्छ । तर कृतिको समग्र ओजसामु त्यो सानो कमजोरी पटक्कै पनि देखिँदैन । यो पुस्तक सपनाको पछि कुद्ने युवापुस्ताले अनिवार्य पढ्नैपर्ने एक अमूल्य ग्रन्थ हो । यसले सपनाको नाममा हुने डरलाग्दो आत्महत्यालाई रोक्न पक्कै पनि ठूलो मद्दत गर्नेछ ।
अन्त्यमा, यो कालबाटोको यात्राले एउटा अत्यन्तै गहिरो सत्य सिकाएर जान्छ । यस सन्दर्भमा विश्वप्रसिद्ध साहित्यकार टी. एस. इलियटको एउटा भनाइ निकै सान्दर्भिक जोड्नु अत्यन्तै सार्थक होला । उनी भन्छन्, ‘हाम्रो सम्पूर्ण खोज र यात्राको अन्त्य त्यहीँ पुग्नु हो, जहाँबाट हामीले आफ्नो यात्राको पहिलो पाइला सुरु गरेका थियौं । अनि त्यो आफ्नै ठाउँलाई पहिलो पटक वास्तविक रूपमा चिन्नु हो ।’ यो उपन्यास पढेपछि हामीले आफ्नो माटोलाई यसैगरी नयाँ सिराबाट चिन्नुपर्ने हुन्छ । विदेशी भूमिमा मृत्यु खोज्नुभन्दा आफ्नै आँगनमा पसिना बगाउनु श्रेयस्कर छ । किनकि, मान्छेको असली पहिचान र खुसी उसको आफ्नै माटोमा मात्र सम्भव छ ।