19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्को जुलुस

कविता प्रकाशचन्द्र खतिवडा August 7, 2026, 4:05 am
प्रकाशचन्द्र खतिवडा
प्रकाशचन्द्र खतिवडा

कविहरुको जुलुस देखेर
कविता तर्सन्छे
कविहरु कविता लेख्छन या नाराबाजी गर्छन
कविता द्विविधामा परेकी छे ।

म मातृशोकमा छु
मैले लेखेको छैन कविता
म सहभागि छैन जुलुसमा
म मौन समर्थन जनाई रहेछु
वलात्कृत भएका छन कविता
कविताको मौलिकता लुटेर
विकलाङ्ग बनाइएका कविता
जुलुसमा अनुपस्थित छन
जुलुस जित्नेहरुको मात्रै हुन्छ नठान
जुलुस हार्नेहरुको पनि हुन्छ
जुलुसमा जिन्दावद मात्रै लाग्दैन नारा
मुर्दावादको पनि लाग्ने गर्छ नारा ।

तिम्रो कु्ररताले सीमा नाघेर
विचारको डोरी चुँडाए पछि
बाध्य भएर कविहरु
जुलुसमा निस्किएका हुन
जुलुसमा तिम्रो पुत्ला बोकिएको छ
दहन गरिने छ तिम्रो पुत्ला
तिम्रो गद्धारी
जलाइने छ आर्यघाटमा
पशुपति तिम्रो सुरक्षा कवच बन्न सक्दैन
गुह्ेश्वरीमा सन्नाटा छाएको छ
बाँदरहरु तर्सिएका छन
कविताको जुलुुस देखेर ।

अब रुने छैन कविता
हाँस्ने छन कविहरु
लेख्ने छन क्रान्तिका कविता
गाउँने छन मुक्ति गीतहरु ।

म गिरफ्तार गरिएको छु
कविहरुको नेता कवि भन्ठानी
तिनीहरुको मालिक मलाई हप्कि दप्कि गर्छ
कोर्रा हान्छु भन्छ
तिघ्रा ठटाएर
हात्ती तर्साउँन खोज्छ ।

म निर्भयका साथ उभ्भिएको देखेर
मैले प्रतिवाद गरे पछि
मेरो आस्था र निष्ठा विरुद्ध
वकपत्र गराइने कुचेष्टा हुन्छ ।

म झुक्ने छैन
गर्ने छैन वकपत्र
मेरो निष्ठा र आस्थामा जति प्रहार गरे पनि
रोकिने छैन आन्दोलन
फर्कने छैन जुलुस
म कैद खानामै लगाउँनेछु नारा
जुरुक्क उठनेछन कैदीहरु
म गर्नेछु जुलुुसको अर्कोे नेतृत्व ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।