रात आधाभन्दा धेरै बितिसकेको थियो।
आकाशभरि बादलका पातला तहहरू बिस्तारै बगिरहेका थिए। बागमतीतिरबाट आएको चिसो हावाले उपत्यकालाई हलुकासँग स्पर्श गरिरहेको थियो। दिनभरि कोलाहलले भरिने काठमाडौँ रात पर्नासाथ अर्कै रूप धारण गर्थ्यो। टाढा डाँडाका काखमा टल्किएका बत्तीहरू ताराझैँ झिलिमिली देखिन्थे। सुन्दर देखिने त्यो सहरभित्र कतै एउटा अदृश्य पीडा पनि सँगै सास फेरिरहेको थियो।
अचानक...
टाढाबाट स्याल करायो।
सहरमा स्याल कराएको आवाज विरलै सुनिन्थ्यो। त्यसैले त्यो आवाजले धेरैको मनमा अनौठो शङ्का जन्माएको थियो। वरपरका केही घरका झ्याल एकछिन खुले, फेरि बिस्तारै बन्द भए। कसैले त्यसलाई सामान्य संयोग ठाने, कसैले प्रकृतिको आफ्नै सङ्केत।
त्यो रात मेरो पनि निद्रा खुलेको थियो।
म राष्ट्रिय दैनिकको सम्पादकीय विभागमा कार्यरत थिएँ। मध्यरातमा बज्ने फोनले प्रायः सुखद समाचार ल्याउँदैनथ्यो। मोबाइलको घण्टी बज्यो। स्क्रिनमा जलन उपचार कक्षमा कार्यरत मेरो पुरानो साथीको नाम देखियो।
"अहिले नै अस्पताल आउन सक्नुहुन्छ?"
उसको स्वरमा हतार मात्र थिएन, भारीपन पनि थियो।
"के भएको छ?"
मैले छोटो प्रश्न गरेँ।
उसले क्षणभर रोकिएर भन्यो,
"एउटा युवक गम्भीर जलनसहित ल्याइएको छ। अहिले धेरै भन्न मिल्दैन। तर मलाई लाग्छ, यो घटना भोलिको समाचार मात्रै भएर टुङ्गिने छैन।"
फोन काटियो।
मैले झोलाभित्र नोटबुक र कलम राखेँ। बाहिर निस्कँदा रातको चिसोले अनुहार छोयो। सडक प्रायः सुनसान थियो। टाढाबाट एम्बुलेन्सको साइरनले सहरको निस्तब्धतालाई चिर्दै नजिकिँदै गरेको अनुभूति हुन्थ्यो।
अस्पताल पुग्दा आपत्कालीन कक्षअगाडि केही मानिस भेला भइसकेका थिए। कसैले दुवै हातले टाउको समातेका थिए। कोही भित्तामा अडेस लागेर टोलाइरहेका थिए। कसैका आँखा रसाएका थिए, कसैका ओठबाट शब्द नै निस्किरहेका थिएनन्।
त्यही भीडको छेउमा करिब पचास वर्षकी एउटी महिला उभिएकी थिइन्। उनको अनुहार थकित थियो, तर आँखाभरि आफ्नै सन्तान फर्किने अन्तिम आशा अझै बाँकी थियो।
मैले केही बोल्न खोज्दै गर्दा उनले आफैँ बिस्तारै भनिन्,
"मेरो छोरो हो..."
त्यसपछि उनका ओठ चले, तर शब्द निस्केनन्।
त्यत्तिकैमा आपत्कालीन कक्षको ढोका खुल्यो। सेतो पोसाकमा एक चिकित्सक बाहिर निस्किए। त्यहाँ उपस्थित सबैको दृष्टि उनीतिर एकैचोटि मोडियो।
चिकित्सकले छोटो वाक्य मात्र भने,
"हामी उपचारमा कुनै कमी हुन दिने छैनौँ।"
चिकित्सकको त्यो आश्वासन सुनेपछि पनि त्यहाँ उपस्थित अनुहारहरूमा भरोसाको झिल्को देखिएन।
मैले नोटबुक खोलेँ।
त्यही क्षण मलाई लाग्यो—म एउटा समाचार सङ्कलन गर्न आएको थिएँ।
तर सायद, यो केवल समाचार रहनेवाला थिएन।
आपत्कालीन कक्षको ढोका फेरि बन्द भयो।
बाहिर प्रतीक्षामा बसेका मानिसहरूका आँखा भने त्यही ढोकामै अडिएका थिए। कसैले घडी हेर्थ्यो, कोही दुवै हात जोडेर टोलाइरहन्थ्यो। प्रतीक्षाभन्दा लामो पीडा सायद अर्को हुँदैन।
त्यही बेला एउटा नर्स छिटो–छिटो पाइला चाल्दै भित्र पसिन्। उनको हातमा रगतका केही नमुना थिए। केहीबेरपछि अर्को स्वास्थ्यकर्मी औषधिको बाकस बोकेर दौडियो। करिडोरमा देखिने प्रत्येक दौडले बाहिर बसेकाहरूको मुटुको धड्कन अझ बढाइरहेको थियो।
म त्यहाँ उभिएर ती दृश्यहरू नोटबुकमा उतार्न खोज्दै थिएँ।
तर त्यो रात मेरा औँलाले शब्दभन्दा बढी मानिसका अनुहार पढिरहेका थिए।
अलिक पर एउटी वृद्धा माला जपिरहेकी थिइन्। सायद उनी युवककी हजुरआमा थिइन्। प्रत्येक मणिका फेरोसँग उनका ओठ केही बर्बराउँथे। कसैले सुन्न सक्दैनथ्यो, तर त्यो प्रार्थना पक्कै एउटा जीवनका लागि थियो।
एक जना सानो बालकले आफ्नी आमाको सारी समाउँदै सोध्यो,
"आमा... दाइ घर कहिले आउँछन्?"
आमाले उत्तर दिइनन्।
उनले बालकलाई काखमा तानिन् र निधारमा चुम्बन गरिन्। कहिलेकाहीँ शब्दले भन्दा अँगालोले धेरै कुरा लुकाउँदो रहेछ।
त्यत्तिकैमा मेरो फोन फेरि बज्यो।
कार्यालयबाट सम्पादकको सन्देश थियो।
"घटनाको पुष्टि भयो भने पहिलो समाचार तयार गर। तर अनुमानका आधारमा केही नलेख।"
मैले छोटो उत्तर पठाएँ—
"म अस्पतालमै छु। तथ्य मात्रै पठाउनेछु।"
फोन फेरि खल्तीमा राखेँ।
समाचारका लागि घटना सङ्कलन गर्नु मेरो दैनिकी थियो। तर त्यस रात पीडित परिवारका आँसु, एउटी आमाको अनुरोध र हजुरआमाको प्रार्थना साथै वरिपरि छरिएको कारुणिक वातावरणले मेरो पेशागत दूरी भत्काइदियो। मैले समाचारभन्दा पहिले मान्छेको पीडा पढेर नजिकबाट बुझ्न थालेँ।
केहीबेरपछि ती महिलाले बिस्तारै मेरो नजिक आएर सोधिन्,
"तपाईं पत्रकार हो?"
मैले टाउको हल्लाएँ।
उनी केही क्षण मेरो अनुहार हेर्दै रहिन्।
त्यसपछि अत्यन्त नम्र स्वरमा भनिन्,
"एउटा कुरा लेखिदिनुहोस् है..."
म केही बोलिनँ।
"यस्तो पीडा अर्को आमाले भोग्न नपरोस्।"
उनको त्यो वाक्यले मेरो नोटबुकका सबै खाली पानाभन्दा ठूलो ठाउँ ओगट्यो।
त्यही क्षण मैले महसुस गरेँ—
'म एउटा जलनको घटना लेख्न अस्पताल आएको होइन।'
'सायद, एउटा आमाको अधुरो प्रार्थनाको साक्षी बन्न आएको रहेछु।'
त्यसै बेला उपचार कक्षको ढोका केही बेरका लागि खुल्यो।
भित्रबाट स्ट्रेचर सार्ने आवाज आयो। केही चिकित्सक र स्वास्थ्यकर्मी एकपछि अर्को गर्दै तीव्र गतिमा यताउता गरिरहेका थिए। सबैको अनुहारमा एउटै उद्देश्य स्पष्ट देखिन्थ्यो—एउटा जीवन जोगाउने।
मैले अनायासै भित्रतिर हेरेँ।
स्ट्रेचरमा पल्टिएको युवकलाई धेरै उपकरणले घेरिएको थियो। उसको शरीर सेतो पट्टीले ढाकिएको थियो। अनुहारको केही भाग मात्र देखिन्थ्यो। ती अर्धखुला आँखाहरूले वरिपरि केही खोजिरहेका जस्ता लाग्थे।पीडाले उसका ओठहरू निश्चल बनाएका थिए। तर ती आँखाले भने अझै जीवनसँगको सम्बन्ध टुट्न नदिने प्रयत्न गरिरहेका थिए।
त्यस दृश्यले केही क्षण मेरा हात स्थिर भए।
कलम समातेको थिएँ, तर केही लेख्न सकिनँ।
उपचार कक्षको ढोका फेरि बन्द भयो।
करिडोरमा उभिएकी ती आमाले दुवै हात जोडेर आकाशतिर हेर्दै बिस्तारै बर्बराइन्,
"भगवान्... मेरो छोरो बचाइदिनुहोस्।"
मैले अनायासै आँखा बन्द गरेँ। सायद, त्यस क्षण म पत्रकारभन्दा पहिले एउटा मानिस बनेको थिएँ।
वरिपरि उभिएका कसैसँग पनि त्यो प्रार्थनाको उत्तर थिएन।
बिहानको उज्यालो अस्पतालका झ्याल हुँदै करिडोरभित्र पस्न थालेको थियो। रातभरि जागा बसेका मानिसहरूको अनुहारमा थकान स्पष्ट देखिन्थ्यो। तर कोही घर फर्कन तयार थिएन।
अस्पतालको मूलढोकाबाहिर सञ्चारकर्मीहरूको सङ्ख्या बढ्दै गइरहेको थियो। क्यामेरा तेर्सिन थालेका थिए। प्रत्यक्ष प्रसारणका तयारी भइरहेका थिए। सामाजिक सञ्जालमा समाचार तीव्र रूपमा फैलिँदै थियो।
मैले नोटबुक बन्द गरेँ।
मलाई लाग्यो, अब यो घटनाले अस्पतालको यो करिडोरमा मात्र सीमित रहने छैन।
यसले घर–घरमा प्रश्न पुर्याउनेछ।
समाजलाई आफ्नै अनुहार ऐनामा हेर्न बाध्य बनाउनेछ।
र सायद...
कानुनका पानाहरू पनि फेरि एकपटक गम्भीर रूपमा पल्टाइनेछन्।
मैले उपचार कक्षको बन्द ढोकातिर एकटक हेरिरहेँ।
त्यो ढोकाभित्र एउटा युवक जीवनसँग संघर्ष गरिरहेको थियो।
त्यो ढोकाबाहिर भने आफ्नै जीवनका सङ्घर्षमा अल्झिएका असंख्य मानिसहरूले यो घटनालाई आ–आफ्नै दृष्टिले हेरिरहेका थिए। केही युवाहरू कानुनका कमजोरीतर्फ औँला उठाइरहेका थिए। कोही राज्यको भूमिकामाथि प्रश्न गरिरहेका थिए। केही अधबैँसेहरू युवकले त्यस्तो निर्णय लिनु हुँदैनथ्यो भन्ने तर्क राखिरहेका थिए। तर्क फरक थिए, दृष्टिकोण पनि फरक थिए। तर यस्ता घटना फेरि नदोहोरिऊन् भन्ने चाहना जलनपीडित परिवार, नागरिक समाज र राज्य सञ्चालनको जिम्मेवारी सम्हालेकाहरू सबैमा समान रूपमा पलाइरहेको थियो। अब त्यो भावना व्यवहारमा कति रूपान्तरित हुन्छ, त्यसको उत्तर समयले नै दिने थियो।
○ ○
बिहान पूर्ण रूपमा उज्यालो भइसकेको थियो।
रातभरि चुपचाप उभिएको अस्पतालको परिसर अहिले मानिसहरूको आवाजले भरिन थालेको थियो। कोही युवकको स्वास्थ्य अवस्थाबारे सोधिरहेका थिए। कोही हात जोडेर मन्दिरतिर फर्किएका थिए। कोही मोबाइलको पर्दामा आएका समाचारहरू फेरि–फेरि पढिरहेका थिए।
मैले अस्पतालको प्राङ्गणबाट सम्पादकीय कक्षमा पहिलो समाचार पठाएँ। समाचारको अन्तिम हरफ लेख्दा मेरा औँलाहरू केही बेर रोकिए।
"उपचार जारी छ। चिकित्सकहरू आशा नहार्न आग्रह गरिरहेका छन्।"
त्यति लेखेर मैले लामो सास फेरें।
समाचार प्रकाशित हुन नपाउँदै टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण सुरु गरिसकेका थिए। सामाजिक सञ्जालमा एउटै प्रश्न बारम्बार दोहोरिन थालेको थियो—
"किन यति ठूलो निर्णयसम्म पुग्नुपर्यो?"
तर त्यस प्रश्नको उत्तर कसैसँग तयार थिएन।
केही घण्टापछि अस्पताल प्रशासनले संक्षिप्त जानकारी दियो।
"बिरामीको अवस्था अझै गम्भीर छ। विशेषज्ञ चिकित्सकहरूको टोली निरन्तर उपचारमा संलग्न छ।"
यति भनिएपछि फेरि अस्पतालभित्र र बाहिर प्रतीक्षाको अर्को घडी सुरु भयो।
दिउँसोतिर सरकारी प्रतिनिधिहरू अस्पताल पुगे। उनीहरूले चिकित्सकहरूसँग छलफल गरे। सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिबीच एउटा घोषणा गरियो—
"आवश्यक परे थप विशेषज्ञ उपचारका लागि विदेश लैजाने व्यवस्थासमेत गरिनेछ।"
घोषणा सकिनासाथ क्यामेराका फ्ल्यास एकपछि अर्को चम्किए।
कसैले त्यसलाई राज्यको जिम्मेवारी ठाने।
कसैले ढिलो भए पनि सकारात्मक कदम भने।
अर्काथरीले भने यस्तो संवेदनशील घडीमा प्रचारभन्दा उपचारलाई पहिलो प्राथमिकता दिनुपर्ने टिप्पणी गरिरहेका थिए।
मैले ती सबै प्रतिक्रिया नोटबुकमा टिपिरहेँ।
त्यही बेला बिहानदेखि अस्पतालको बेञ्चमा बसेकी ती आमा फेरि उपचार कक्षतिर हेरिरहेकी थिइन्। उनलाई न क्यामेराको भीडसँग चासो थियो, न घोषणा सुन्ने फुर्सद। उनका लागि संसार एउटा मात्र प्रश्नमा सीमित थियो—
"मेरो छोरो निको हुन्छ कि हुँदैन?"
उनको त्यो प्रश्नसँग कुनै सरकारी विज्ञप्ति, कुनै प्रत्यक्ष प्रसारण र कुनै राजनीतिक टिप्पणीले प्रतिस्पर्धा गर्न सक्दैनथ्यो।
मैले फेरि नोटबुक बन्द गरेँ।
मलाई लाग्यो—
कहिलेकाहीँ एउटा अस्पतालको करिडोरले देशका सबैभन्दा कठिन प्रश्नहरू जन्माउँछ।
समय बित्दै गइरहेको थियो।
उपचार कक्षभित्र चिकित्सकहरूको प्रयास रोकिएको थिएन। नयाँ–नयाँ औषधि, निरन्तर निगरानी र आवश्यक सबै उपचार भइरहेका थिए। बाहिर प्रतीक्षारत परिवारका लागि भने प्रत्येक मिनेट एउटा वर्षजत्तिकै लामो लाग्थ्यो।
त्यसैबीच एउटा समाचार अस्पतालको करिडोर हुँदै सञ्चारमाध्यमसम्म पुग्यो।
आवश्यक परे भारतको राजधानी दिल्लीस्थित विशेष जलन उपचार केन्द्रमा लैजाने विषयमा आवश्यक तयारी भइरहेको भन्ने खबर फैलियो।
समाचार बाहिरिनासाथ अस्पतालबाहिर नयाँ बहस सुरु भयो।
कसैले त्यसलाई आशाको किरण माने।
कसैले चिकित्सकहरूको टोलीसहित त्यस्तो अवस्थामा बिरामीलाई विदेश लैजानु निकै चुनौतीपूर्ण हुने तर्क राखे।
कसैले हेलिकप्टर वा विशेष हवाई एम्बुलेन्सको सम्भावनाबारे चर्चा गरे।
तर उपचार, तयारी र समयको दौडबीच समय बित्दै गइरहेको थियो।
मैले ती सबै कुरा नोटबुकमा टिपिरहेँ।
तर बारम्बार मेरो ध्यान एउटै दृश्यतिर फर्किन्थ्यो।
ती आमा अझै उपचार कक्षको ढोकाअगाडि उभिएकी थिइन्। उनी न दिल्लीको चर्चा बुझ्न चाहन्थिन्, न सञ्चारमाध्यमका प्रश्नहरूको उत्तर दिन। उनका ओठमा एउटै प्रार्थना दोहोरिइरहेको थियो—
"मेरो छोरोलाई बचाइदिनुहोस्..."
त्यो साँझ अस्पताल परिसर एकाएक अस्वाभाविक रूपमा शान्त भयो।
टाढा कतै एउटा कुकुर लामो स्वरमा रोयो।
त्यहाँ उभिएका केही वृद्धहरूले क्षणभर एकअर्काको अनुहार हेरे। तर त्यस क्षण कसैले त्यसबारे केही बोलेन। सबैका आँखा उपचार कक्षको बन्द ढोकामै अडिएका थिए।
एक्कासि उपचार कक्षभित्र चहलपहल बढ्यो।
स्वास्थ्यकर्मीहरू छिटो–छिटो यताउता गर्न थाले।
केही क्षणपछि ढोका खुल्यो।
मुख्य चिकित्सक बाहिर निस्कनुभयो।
उहाँका आँखामा रातभरिको थकान स्पष्ट देखिन्थ्यो। अनुहारमा गहिरो विवशताको छाप थियो। उहाँले लामो सुस्केरा हाल्दै परिवारजनतिर पुलुक्क हेर्नुभयो। केही क्षण शब्द खोजेजस्तो गर्नुभयो।
त्यसपछि अत्यन्त संयत स्वरमा भन्नुभयो—
"हामीले सक्दो प्रयास गर्यौँ... तर उहाँलाई बचाउन सकेनौँ।"
त्यो एउटा वाक्यले अस्पतालभरि फैलिएको आशालाई एकै क्षणमा चकनाचुर पारिदियो।
आमा भुइँमै ढल्किनुभयो।
हजुरआमाको हातबाट माला खस्यो।
सानो बालकले फेरि उही प्रश्न दोहोर्यायो—
"आमा... दाइ किन बोल्नुभएन?"
यसपटक पनि उत्तर कसैसँग थिएन। अन्य परिवारजनको रोदन र विलापले वातावरणलाई शोकमय बनायो।
मैले नोटबुक खोल्ने प्रयास गरेँ।
तर केहीबेरसम्म एउटा अक्षर पनि लेख्न सकिनँ।
त्यो दिन मैले एउटा युवकको मृत्युको समाचार मात्र लेखिनँ।
'म केवल एउटा समाचार लेखिरहेको थिइनँ। एउटा परिवारको जीवन दुई भागमा विभाजित भएको क्षणको साक्षी बनिरहेको थिएँ। मेरो मनमा असंख्य प्रश्नहरू उब्जिरहेका थिए। ती प्रश्नहरूको उत्तर अब एउटा परिवारले मात्र होइन, सिङ्गो समाजले खोज्नुपर्ने थियो।'
मुख्य चिकित्सकको घोषणा भएको केही मिनेटमै अस्पतालभरि खबर फैलियो।
केहीबेरअघि करिडोरमा सुनिएको रुवाइ अहिले अस्पतालको परिसरभरि फैलिएको थियो। आफन्तजन एकअर्कालाई सम्हाल्ने प्रयास गरिरहेका थिए। तर त्यो पीडालाई सम्हाल्ने शब्द कसैसँग थिएन।
अस्पतालबाहिर उभिएका सञ्चारकर्मीहरूले आ–आफ्नो माध्यमबाट समाचार सम्प्रेषण गर्न थाले। केही क्षणमै टेलिभिजनका पर्दामा ‘ब्रेकिङ न्युज’ देखा पर्यो। मोबाइलका स्क्रिनमा सूचना एकपछि अर्को आउन थाले। देशभरि एउटा समाचार फैलियो। समाचार सुन्नेबित्तिकै धेरै घरमा कुराकानी आफैँ रोकियो।
अस्पतालको मूलढोकाबाहिर मानिसहरूको भीड झन् बढ्न थाल्यो। कसैले टाउको झुकाएर श्रद्धाञ्जलि व्यक्त गरिरहेका थिए। कसैले आँसु पुछ्दै यस्ता घटना फेरि दोहोरिन नहुने कुरा गरिरहेका थिए। धेरै अनुहारमा एउटै प्रश्न थियो—अब यसपछि के?
म भने केही पर उभिएर ती सबै दृश्य हेरिरहेको थिएँ।
पत्रकारका रूपमा मैले जीवनमा धेरै दुःखद घटनाहरू देखेको थिएँ। दुर्घटना, विपद् र मृत्युका समाचार लेख्नु मेरो पेशाको हिस्सा थियो। तर त्यो दिन मैले देखेको पीडाले मेरो अनुभवको सीमालाई पनि पार गरिदिएको थियो।
मैले अन्तिम पटक नोटबुक बन्द गरेँ।
त्यसका पानाहरूमा एउटा समाचार मात्र थिएन; एउटा आमाको प्रार्थना, एउटा हजुरआमाको माला, एउटा बालकको अनुत्तरित प्रश्न र एउटा अधुरो जीवनका असंख्य सपना पनि सुरक्षित भएका थिए।
अस्पतालबाट बाहिर निस्कँदा साँझ बिस्तारै छिपिँदै थियो। सहर उही थियो। सडक उस्तै थिए। मानिसहरूको चहलपहल पनि उस्तै देखिन्थ्यो। तर मलाई लाग्यो—आज यो सहरभित्र केही बदलिएको छ।
सायद एउटा युवकको जीवन मात्र समाप्त भएको थिएन।
एउटा प्रश्न जन्मिएको थियो।
र त्यो प्रश्न अब एउटा परिवारको मात्र रहेन; सिङ्गो समाजको साझा प्रश्न बनेर फैलिन थालेको थियो।
○ ○ ○
घटनाको केही दिन बितिसकेको थियो।
सहरको दैनिकी फेरि पुरानै लयमा फर्किन थालेको थियो। सडकमा सवारीसाधनको भीड उस्तै थियो। मानिसहरू आफ्नै काममा व्यस्त देखिन्थे। समाचारका शीर्षकहरू पनि दिनहुँ नयाँ विषयले भरिन थालेका थिए। तर मेरो नोटबुकको एउटा पाना भने अझै अधुरै थियो।
त्यस पानामा एउटा प्रश्न लेखिएको थियो—
"त्यो क्षणसम्म पुग्न वास्तवमा के भएको थियो?"
मैले फेरि घटनास्थल पुग्ने निर्णय गरेँ।
त्यहाँ पुग्दा सडकले कुनै असामान्य घटना भएको सङ्केत दिँदैनथ्यो। मानिसहरू आउँथे, जान्थे। सवारीसाधन रोकिन्थे, अघि बढ्थे। केही दिनअघि यही ठाउँमा एउटा जीवनले अप्रत्याशित मोड लिएको थियो भन्ने कुरा थाहा नभएको मानिसका लागि त्यो ठाउँ अरू सडकजस्तै सामान्य देखिन्थ्यो।
मैले वरिपरि रहेका केही पसले र प्रत्यक्षदर्शीसँग कुरा गर्न थालेँ।
सबैका भनाइ शब्दशः उस्तै थिएनन्। तर केही तथ्यहरू भने धेरैको कथामा दोहोरिइरहेका थिए।
उनीहरूले भनेअनुसार, त्यो दिन नगर प्रहरीले एउटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। त्यसै विषयलाई लिएर केहीबेर विवाद भएको रहेछ। विवादका क्रममा ती युवकले आक्रोश व्यक्त गरेका थिए। उपस्थित धेरैले त्यसलाई क्षणिक रिस ठानेछन्। कसैले परिस्थिति त्यति टाढासम्म पुग्ला भन्ने कल्पनासमेत गरेका थिएनन्।
एक जना प्रत्यक्षदर्शी केहीबेर टोलाएर भन्न थाले,
"हामीले उहाँलाई सम्झाउन खोजेकै थियौँ। तर केही क्षणमै सबै कुरा हाम्रो नियन्त्रणभन्दा बाहिर गयो।"
त्यसपछि उनी चुप लागे।
मैले थप प्रश्न सोधिनँ।
कहिलेकाहीँ मानिसका अधुरा वाक्यले पूरा उत्तरभन्दा धेरै कुरा भनिदिन्छन्।
घटनास्थलबाट फर्कने क्रममा मैले सम्बन्धित निकायका केही व्यक्तिसँग पनि कुरा गर्ने प्रयास गरेँ। सबैले आ–आफ्नो दृष्टिकोण राखे। कसैले नियमको कुरा गरे। कसैले परिस्थितिको। कसैले त्यो निर्णयलाई क्षणिक आवेग भने।
तर ती सबै भनाइ सुन्दै जाँदा मेरो मनमा एउटा नयाँ प्रश्न जन्मियो—
के कुनै एउटा क्षणले मात्र यति ठूलो घटना जन्माउँछ?
वा...
त्यस क्षणभन्दा धेरैअघि नै केही भित्रभित्रै सङ्ग्रहित हुँदै आएको थियो?
मैले नोटबुकको अर्को खाली पानामा पहिलो पटक एउटा नाम लेखेँ—
"गणेश"।
त्यही नामसँगै मलाई लाग्यो, अब म एउटा घटनाको होइन, एउटा मानिसको जीवनको कथा पढ्न थालेको थिएँ।
गणेश।
मैले नोटबुकमा लेखेको त्यो नाम धेरैबेरसम्म हेरिरहेँ।
अहिलेसम्म उनी मेरो लागि एउटा समाचारका पात्र मात्र थिए। तर नाम लेखिसकेपछि मलाई लाग्यो, अब यो घटनाभन्दा अघि बाँचेको एउटा जीवनलाई बुझ्ने समय आएको थियो।
त्यसपछि म उनको घरतिर लागेँ।
घरको आँगनमा शोक अझै उस्तै थियो। आफन्तहरू आउने–जाने क्रम रोकिएको थिएन। कोही सम्झनामा हराउँथे, कोही सान्त्वनाका शब्द खोज्थे। तर केही पीडाहरू यस्ता हुन्छन्, जहाँ शब्द आफैँ असहाय भएर फर्किन्छन्।
घरको एउटा कुनामा गणेशका केही तस्बिर राखिएका थिए।
कुनै तस्बिरमा उनी हाँसिरहेका थिए। कुनैमा साथीहरूसँग थिए। अर्को एउटा तस्बिरमा भविष्यप्रति विश्वस्त देखिने एउटा सामान्य युवक उभिएको थियो।
ती तस्बिरहरू हेर्दा अस्पतालको शय्यामा देखेको अनुहारसँग मिलाउन मलाई कठिन भइरहेको थियो।
त्यही बेला उनका एक आफन्त बिस्तारै मेरो नजिक आए।
"उहाँलाई धेरैले एउटा घटनाबाट चिने," उनले भने, "तर उहाँ त्यसभन्दा धेरै ठूलो मानिस हुनुहुन्थ्यो।"
म चुपचाप सुनिरहेँ।
उनले गणेशका बाल्यकालका केही कुरा सुनाए। संघर्ष, परिवारप्रतिको जिम्मेवारी, आफ्नै खुट्टामा उभिने चाहना र भविष्यका साना–साना योजनाहरू।
त्यो विवरण सुन्दै जाँदा मलाई बारम्बार एउटै कुरा महसुस भइरहेको थियो—
हरेक समाचारको शीर्षकभन्दा अघि एउटा लामो जीवन लुकेको हुँदो रहेछ।
सायद हामी धेरैजसोले त्यो जीवन पढ्ने समय पाउँदैनौँ।
घरबाट फर्कँदै गर्दा मैले फेरि नोटबुक खोलेँ।
यसपटक मैले कुनै तथ्य टिपिनँ।
मैले एउटा मात्र वाक्य लेखेँ—
"कुनै पनि मानिसलाई उसको अन्तिम क्षणले मात्र चिनाउनु न्याय हुँदैन।"
त्यो वाक्य लेखेपछि म केहीबेर टोलाएर बसिरहेँ।
किनकि मेरो खोज अब एउटा घटनाको कारणमा मात्र सीमित रहेन।
अब म बुझ्न चाहन्थेँ—
गणेशको जीवनमा त्यस्तो के–के थियो, जसले उनलाई त्यो अन्तिम क्षणसम्म पुर्यायो?
सरकार र आन्दोलनरत पक्षबीच अन्ततः सहमति भयो।
लामो छलफलपछि केही बुँदामा दुवै पक्ष सहमत भएका खबर सार्वजनिक भयो। त्यससँगै धेरै समयदेखि रोकिएको अन्त्येष्टिको प्रक्रिया अघि बढ्ने निश्चित भयो। अस्पतालको चिसो कक्षमा रोकिएको एउटा शरीर अब आफ्नै यात्राको अन्तिम चरणतिर अघि बढ्दै थियो।
त्यो दिन बागमतीको किनार असामान्य रूपमा गम्भीर देखिन्थ्यो।
नदी भने आफ्नै लयमा बगिरहेकी थिई। उसलाई न भीडले रोक्न सक्थ्यो, न नाराले। तर किनारमा उभिएका प्रत्येक अनुहारमा एउटै अनुभूति थियो—आज एउटा जीवन प्रकृतिमै फर्किँदै थियो।
परिवारका सदस्यहरू, आफन्त, शुभेच्छुक र सयौँ नागरिक त्यहाँ उपस्थित थिए। कसैले मौन रूपमा श्रद्धाञ्जलि अर्पण गरे। कसैले आँखाभरि आँसु लिएर अन्तिम बिदाइ दिए। धेरैले केही बोलेनन्। कहिलेकाहीँ मौनभन्दा गहिरो श्रद्धाञ्जलि शब्दले दिन सक्दैन।
म केही पर उभिएर सबै दृश्य हेरिरहेको थिएँ।
धुवाँ बिस्तारै आकाशतिर उक्लँदै थियो। चिसो हावाले त्यसलाई बागमतीमाथि फैलाइरहेको थियो। नदी निरन्तर बगिरही। समय पनि त्यसैगरी अघि बढिरह्यो। तर त्यहाँ उपस्थित धेरै मानिसका लागि त्यो दिन समय केही क्षण रोकिएजस्तै लागेको थियो।
मैले नोटबुक फेरि एकपटक खोलेँ।
यसपटक मैले कुनै बयान टिपिनँ, कुनै सरकारी प्रतिक्रिया पनि लेखिनँ। केवल एउटा हरफ लेखेँ—
"कुनै–कुनै आगो शरीरलाई मात्र जलाउँदैन; समाजको विवेकलाई पनि लामो समयसम्म पोलिरहन्छ।"
त्यो हरफ लेखिसकेपछि धेरै बेरसम्म म कलमतिर हेरिरहेँ। मलाई लाग्यो, यो कथाको अन्त्य अब एउटा व्यक्तिको मृत्युमा सीमित रहनेवाला छैन। अब यसले समाजसँग अर्को संवाद सुरु गर्नेछ।
अन्त्येष्टिपछि मानिसहरू बिस्तारै फर्किन थाले।
केही समयअघि सयौँ मानिसले भरिएको बागमतीको किनार फेरि विस्तारै खाली हुँदै गयो। नदी भने आफ्नै लयमा बगिरही। चिसो हावाले किनारका रुखका पातहरू हल्का हल्लाइरहेको थियो। साँझको घाम पश्चिमतिर ओझेल पर्दै जाँदा आकाशमा मधुरो उज्यालो मात्र बाँकी थियो।
म केहीबेर त्यहीँ उभिरहेँ।
नोटबुकका पानाहरू पल्टाएँ। पहिलो पानामा अस्पतालको मध्यरात थियो। त्यसपछि एउटी आमाको प्रार्थना, एउटा हजुरआमाको माला, एउटा बालकको अनुत्तरित प्रश्न, चिकित्सकहरूको अथक प्रयास, सडकमा उठेका बहस, सम्झौताका बुँदाहरू र अन्त्यमा बागमतीको किनार...
सबै एउटै कथाका फरक–फरक पाना बनेर बसेका थिए।
त्यतिबेला मैले पहिलो पटक उसको नाम लेखेँ—
गणेश।
त्यति मात्र।
किनभने त्यो नाम अब एउटा व्यक्तिको परिचयमा सीमित थिएन। त्यो नामसँग एउटा परिवारको विछोड, एउटा समाजको बहस, एउटा राज्यको जिम्मेवारी र असंख्य युवाका प्रश्नहरू जोडिइसकेका थिए।
मैले नोटबुक बन्द गरेँ।
बागमती निरन्तर बगिरही।
हावाले फेरि एकपटक मेरो अनुहार छोयो। मैले टाढिँदै गरेको सहरतिर हेरेँ। सडकमा गाडीहरू फेरि दौडिन थालेका थिए। मानिसहरू आफ्नै दैनिकीमा फर्किरहेका थिए। समयले आफ्नो गति फेरि समातिसकेको थियो।
तर मेरो मनमा एउटा प्रश्न अझै रोकिएको थियो।
के हामीले एउटा युवकलाई मात्र गुमाएका हौँ—
वा उसको आगोसँगै हामीले आफूभित्र जलिरहेका प्रश्नहरू फेरि एकपटक निभाइदिएका छौँ?