19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

“यता कि उता” कविता सङ्ग्रहमा अल्मलिदा

कृति/समीक्षा नम्रता गुरागाईं August 7, 2026, 4:14 am
नम्रता गुरागाईं
नम्रता गुरागाईं

“गाइगोठका कुरा भो… नसोधौ होला

गाउँबेँसीको दैनिकी, घाँसकुँडोको साँझबिहान

डालेघाँसको पुग नपुग सबै सबै

पुरानो चलचित्रको कथाजस्तै

विस्मृतिमा पुगेका कुरापनि सोध्दिन” - अक्षरभित्रको गाउँ

“यताकि र उता” का स्रष्ठा साहित्यकार डा.शरद परासरलाई हार्दिक बधाई । “अक्षरभित्रको गाउँ” मा नसोधेरैपनि सोधिएको गाउँको खबर घर छोडेर हिडने हामी सबैका खबर हुन् । यो कविता पढदा मन कटक्क हुन्छ, गला अबरूद्द हुन्छ । फोनमा कुरा गर्दा सोधिने हामी सबैका प्रश्न हुन यि । यो “यता कि उता” कविता सङ्ग्रहको पहिलो कविता हो।

पेशाले कृषिविज्ञ कवि परासरका धेरै कविताहरूले घर पुर्याउछन। यो कविता सङ्ग्रहका आधाजति कविता एक दुइ वर्षको सेरोफेरोमा लेखिएका छन । केही करिब करिव चार दशक अघि लेखिएका छन् । जहाँ बस्नुभयो त्यहीको माटोलाई छोएर लेखिएका कविताहरू पाठकका मन छुने खालका छन् । केही कविताका अँशहरूले मलाई असाध्य छोए -

भुइचालोहरू

एक्लिएको टापुमा जान्छन्, फैलिएको फाँटमा जान्छन्

अग्लिएको टाकुरामा जान्छन्, खुम्चिएको खोँचमा जान्छन्

—-

भुइचालोहरू-

तातो र चिसोले छुने मनमा जान्छन्, उकालो चढ्दै गरेका तनमा जान्छन्

आँखा झिमिक्क पार्दा सकिने यौवनमा जान्छन्। – भुइचालोपछिको स्तब्धता

भुइचालो शब्द सिधा अर्थ दिने ठाउँमा प्रयोग गर्दा सामान्य नै सुनिएको छ तर विम्बको रूपमापनि प्रयोग गरिएकोले कविता अझै छोइने भएको छ, कहाँ जादैन र भुइचालो - मनमा, तनमा र यौवनमापनि जान्छ, गइरहन्छ मात्र जाने तरिका फरक भन्दै भुइचालोलाई शुन्दर शब्दमा सजाएका छन् कविले।

“सीमा नानी

समयको रापिलो भट्टीमा साहसका गहनाहरू बनेर खारिदै गएकी

तिमी र तिमीजस्तै छोरीहरूलाई

थप परिपक्वताको शुभकामना, नारीदिवसको शुभकामना !

तिमी तारा बनेर टल्किदा सधै आकाश भएर अनन्त सीमासम्म हेर्दै

तिमीलाई निरन्तर माया गर्ने तिम्रो बाबा।”- प्रेमिल वायुका लहरहरू

हरेक बा-आमाले आफ्ना नानीहरूलाई मैलेभन्दा धेरै हिड, मभन्दा धेरै माथि पुग, आफ्नो आकाशभन्दा अझै माथि जाउ, तिम्रो उडानमा म तल बसेर साहसको तेल भरिरहु भनिन्छ, त्यसैको नमुना हो यो कविता।

“उहिले उहिले देखेका कुरा

दशैजस्तै तिन तिन दिन मनाइने जन्मोत्सबका कुरा

मौसुफ हजुरको दिर्घायूमा प्रायोजित खेलकुद सप्ताहको कुरा

हात्ती घोडा लावा लस्करका साथ सिन्दुर जात्राका कुरा।” - स्मृतिमा रहेको त्यो समय

राजारानीको जन्मोत्सको बेला बाल मनोविज्ञाले के देख्यो, त्यो लिपिबद्द भएर बस्छ दिमागमा तर समयले फटका मारिसकेपछि सबैकुरा परिवर्तन हुदै जान्छन्, आफूपनि समयसँगसँगै परिवर्तन होइन्छ तर सम्झना भने उस्तै आइरहन्छन, किन होला हगी ? भन्छन् कवि। सायद सम्झना नै होला जीवनभरी बस्ने त।

“पखेटा लागेका मनहरू टार बेसीहरूमा रोकिएनन्

बाछिटा सहेका तनहरू समुद्रको किनारमा रोकिएनन्

र त श्रम खोज्ने शहरको द्वारमा निरन्तर म स्वागत गर्दैछु।”-सपनाको शहरबाट

रोजगारी, उच्च शिक्षाको लागि जान खोज्नेहरूको आत्मबल बढाउनका, तिम्रो लागि म छु है भन्नका लागि लेखिए झै लाग्छ यो कविता।

“बसाइ लम्बिएको बेला, आत्मियता गहिरिएको बेला

मझदारका यात्रीजस्ता बा-आमाहरू

सम्हाल्नै गाह्रो गरी गरूङ्गा प्रश्नहरू गर्दै

यो वा त्यो विषयमा समिक्षा माग्छन्

आगामी यात्राको विकल्प खोज्छन्।” –बा-आमाका प्रश्न

धेरै समयपछि आफना छोराछोरी घर पुगेको बेला आमा-बाको खुशी कहाँ हुदैन होला तनमा, मनमा तर चिप्लिने समयलाई रोक्नपनि सकिदैन। छोराछोरीको आए भनेर खुशी हुँदाहुँदै फर्किने दिनले घण्टी बजाउन थाल्छ । फर्कने दिन नजिकिदै गर्दा आमा-बाको मन फेरी भारी भएरै होला सायद वहाँहरूले छोराछोरीमाथि बिसाउदै “अब कहिले आउछौ ?” भनेको। जुन कुरा सम्झेर अघि नै मन भारी पारेका छोराछोरीले चाहि त्यो गह्रौ मन कहाँ विसाउने होला ? सोचनिय कुरा हो। फर्किनु पर्ने फेरि एक्लिनु पर्ने यथार्थले भत्किन लागेका मनका बाँधहरू यस्ता कुराले दुबैतिरबाट भत्किरहन्छन । बा-आमाहरूलाईपनि घरदेशको त्यही एक्लो बसाईले दिन रात पिरोल्दा केही त सोच्लानकि आफना बच्चाहरूले लाग्दो हो र त सोध्नुहुँदो हो।

बुढाबुढी हुनुभएका बुवा आमाका प्रश्नका जवाफ कुनैपनि परदेशिएका छोराछोरीले दिन सक्दैनन।दिन नसक्नुसँग धेरै कुरा जोडिएका हुन्छन् । धेरैपटक लडदै उठ्दै गरेर बल्लबल्ल खुट्टा टेकेका तमाम हामीलाई सबैकुरा तुरून्तै छोडेर हिड्न मुस्किल नै हुन्छ तर आमाबुवालेपनि त त्यसैगरी हाम्रो बाटो हेर्नु भएको हो नि ! त्यो विचमा वहाँहरूपनि कति विरामी पर्नुभयो होला। टोल , छिमेकी अथवा आफन्तहरूबाट सुन्न नचाहेका आछेपहरूले कतिपटक जिउदै मर्नुभयो होला । तातो पानी खानदिने सन्तान आफूसँग नहुदा कति बिछिप्त हुनुभयो होला । वहाँको कथा कोट्याउदा के वहाँहरू चाहि सम्हालिनु होला र ! भन्ने नलाग्ने कहाँ हो र । त्यही भएर त न यतिखेर आउछु भन्न सक्छौ न आउदिन नै भन्न सक्छौँ हामी।

“भजन कीर्तनमा आमाहरू, स्कूल अड्डामा छोरीहरू

घाटमा दिदीबैनीहरू, सबै सबैले

सामाजिक विज्ञानका खुट्किला पढाउदै गर्दा

समान रूपी विद्यालयको शिक्षक फेरिएछ।” - सन्दर्भ मूलुकसँग

केहीपनि परिवर्तन भएको छैन भन्नेहरूका लागि लेखिएको कविता हो । आजकल छोरीहरूले उनिहरूका समय अनुसारका विभिन्न रूपहरू बुहारी, आमा, सासु जेसुकै जिम्मेवारी निभाएपनि पढेका छन्, अबसरकालागि लडेका छन र एउटा न एउटा इलम समाएका छन् । घर, विद्यालय र कार्यालय देखि निति निर्माणसम्म उनिहरू पुगेमा छन् भने पक्कै परिवर्तन भएको छ भनेर कविले आस्वास्त पार्छन्।यति हुनु भनेको केही त फेरिएको हो नि ! भन्ने सकारात्मक सन्देश दिन्छ कविताले।

“घर फर्कने गुण्टा कस्तै बुवाले सुस्तरी सोध्नुभयो

छोरा तँ यता बस्छस कि उता ?”
—---
“सुख नसोधौ होला, बरू सन्तुष्टि सोध्छु,

पसिना नसोधौ होला बरू तृप्ती सोध्छु।” - यता कि उता ?

यो एउटा साह्रै मन छुने यथार्थ बोकेको कविता हो यो । पुस्तकको शीर्षक नै रहेको यो कविताले परदेशमा बस्ने सबैका बाहरूको प्रतिनिधित्व गर्छ। रोजगारीकालागि धेरैपल्ट लडेर बल्लतल्ल उठेका आम छोराछोरी र छोराछोरीलाई भेट्न आउनु हुने तमाम बुवाआमाका प्रश्न हो यो। आफै दोधार भएको बेला न आउँछु भनेर विश्वस्त पार्न सकिन्छ न आउदिन भनेर मन दुखाउन सकिन्छ नै। दुबैतिरको दुखाइलाई कविले आफना कविता उतारेका छन, जुन पढ्दा हामी आफैलाई भेट्छौ ।

घर छोड्ने हरेक छोराछोरी अलिअलि ऋण नलिएका कमै होलान् । अहिले एउटा गाडी नहुनु भनेको उहिलेको समयमा एकहल गोरू नहुनु जत्तिकै नै रहेछ। जुनकुरा गरिखानुसँग जोडिएको हुँदोरहेछ। आधारभूत आबश्यक्ता पुरा हुनु भनेकै एउटा गाडी, घर र तिनिहरूको ऋण तिर्न सक्ने सामर्थ्य बनाउनु रहेछ विदेशमा तर सन्तुष्टि र तृप्ती भनेका अचम्मका कुरा रहेछन् । बाहिरको आधुनिकतामा जति नै फड्को मारेपनि आफू हुर्किएको माटो र आफन्तको न्यास्रोलाई केहीले नमेट्ने सास्वत सत्यलाई बुवाको माध्यामबाट कविले यो कवितामा उतारेका छन् ।

“हरेक वर्ष दशै आउँछ, जमरा आउदैन

“टाढाबाट आशिर्वाद आउँछ, टीका आउदैन

दशैपछि तिहार आउँछ मखमली आउदैन

दिदी बहिनीहरू आउछन ‘बहिनी’ आउदिन।” - लावण्यदेशसँगको दुरी

यो हामी सबैको हरेक वर्षका चाडबाड सम्झिएर दुख्ने मनको कविता हो । आफ्ना आमा-बा नजिकै नहुँदा अरूका आमा बाबाट टिका लाएर र आफना दिदीबहिनी नजिक नहुँदा अरूका दिदीबहिनीसँग चाडबाड मान्नु पर्ने अबस्थाको चित्रण हो यो कविता जसले हरेक पाठकलाई एकपटक घर पुर्याउछ।

“यता कि उता” कविता सङ्ग्रहमा धेरै खालका कविता छन् । केही माओवादी आन्दोलनका बेला लेखिएका कविताहरू छन्, जुनबेला आफना सन्तानको मृत्यूमा देश नै मलामी गइरहेझै लाग्थ्यो। खुला आकाशको चाहना हिजोजस्तो छैन । हरेक दिन पडकने गोलीहरू कतै मेरै घर वरिपरि त हैन भन्ने एक किसिमको त्रास बोकेर हिडनु परेको मान्छेको वर्तमान चित्रण पाइन्छ उनका कवितामा।

कहिलेकाहि नचाहेरपनि हाँसको बथानमा बकुल्ला हुँदाको बोक्रे भूमिका बरू नभए राम्रो हुन्थ्यो नि! भन्ने भाबको कविताले पाठकलाई धेरै छुन्छ।

कृषि विज्ञ हुनुको नातालेपनि उनि सापटीको बोझमा परेका किसान, रामलखनहरूका खेतबारीमा यसरी पोखिएका छन्

“शान्ति सुरक्षाका पहराहरू एम्बुसको ध्वनिसँगै उडेको बेला

शहरहरू मौन, बस्तीहरू स्तब्ध, सबै चुपचाप रहेको बेला

युगका बलिष्ट मानसपुत्रहरू धर्ती फोरीरहेछन,

रामलखनहरू अझै खेतजोतिरहेछन् ।” - रामलखनहरू अझै खेत जोतिरहेछन् ।

कविताले पाठकलाई त्यो परिवेशमा पुर्याउछ जुन परिवेशमा कसैसँग केही बोल्यो चियोचर्चो गर्यो भन्ने डर, कोही घरमा आए सुराकी आयो भन्ने डर थियो। बिहान उठ्दापनि डर बेलुका सुत्दापनि डर हुन्थ्यो तरपनि किसानहरूले खेत नजोती धरै थिएन। मल बीउ किन्दा महँगीको पहाड चढेका किसान अन्न बेच्ने बेलामा भाउ घटेर लडेका किसान सबैको प्रतिनिधिमूलक कविता हो यो ।

“आउनेजानेसँग मन छाम्दै मुस्कान साटने

बेँसी माइलो जुठा गिलासहरूको नाम हो

गह्रौ भएर मनको भारी, जिन्दगी उतार्न नमिल्ने रैछ क्यारे

र त सामान उतार्नेहरूको भीडमा मिसिन, घर छाडेर

सुनौली पुगेको बेँसी माइलो एउटा नाम्लोको नाम हो।”- बेसी माइलो

यो कविता केही गरेपनि समयले साथ नदिएका ति अभागी माइलाहरूको बर्णन हो। यसो गरे होला कि, त्यसो गरे होलाकि भन्दै काममा भौतारिरहेका हजारौ माइलाहरूको कविता हो यो । जसलाई न जुठा गिलासले साथ दिन्छ, न नाम्लो र बरियो न त बर्दीले नै।

“विज्ञानले स्वीकार्न नसकेको, ज्ञानले पर्गेल्न नभ्याएको

विवेकले ठम्याउन नसकेको कुनै अर्को ठाउँ छ भने कुरदै गर यार” - वादलपारीको यार

मिल्ने साथी गुमाएपछिको पिडा यो कवितामा आँशुजस्तै खसेको छ।

“अथवा यसो भनौ दशकौको सहयात्रामा

आफ्नो मान्छेसँग अनवरत साटिएका थिए

एक अर्काको मन र बेहिसाब आफ्नो पन”- टापुका क्षणहरू

यो छोटो कवितामा आफ्नो जीवनसाथीसँगको लामो प्रेमका कुरा छन् । सन्तानका जिम्मबारीले थिचिएका बेला साँच्चै कहाँ समय हुन्छ होला र लुकाएर माया गर्नेहरूलाई माया देखाउन! कविले रोजेको हवाइको टापु र टापुको कविताले एक अर्काको मायालाई अझै बाटेर बलियो बनाएको भान हुन्छ। कविका जोडीलाई शुभकामना!

“तल्लो बाटको यात्रा” कविता सङग्रहको अन्तिम कविता हो जसले आमाको मायाँ, जीवनसाथीको छाँया बोकी हिडने सयौ नेपालीहरूको कथा लेखेको छ ।

यो कविता सङ्ग्रहमा कविले राम्रा शोचहरूमा हात फैलाएका छन भने नराम्रा शोचहरूमा खुम्चयाएका छन् , यहाँ मैलिएको पानीको कुरा छन, दिनदिनै उत्पादन घट्दै गरेको कृषि र किसानका कुरा छन, माटोको कुरा छन, हिडिरहेको आफनै वाटो, समयको पाटोको कुरा छन, छन त धेरै घरका कुरा छन् । जहाँ गए त्यहीँको कुरा छन्। कतै हवाइको त कतै कवाइको कुरा छन् ।

५० को दशकदेखि लेख्न थालेका ४५ थान लामा र छोटा कविताको विटोलाई कविता सङ्ग्रह बनाएर साहित्यिक आकाशमा निस्किएका कविले धेरै देखेर कविता लेखेका छन् । कवि ऋषि बस्ताकोटीले भनेझै यिनको कवि मनले समय देख्यो परिवेश देख्यो, सँगती देख्यो, विसँगती देख्यो, देशको द्वन्द देख्यो र आफैभित्रको अन्तरद्वन्द देख्यो। कवि आफ्ना कविता लेख्दा वर्तमानबाट भागेका छैनन् । यि कविताहरू जुन बेला लेखिए त्यो बेलाको परिवेशलाई टपक्क टिपेर लेखिएका छन्। आफ्ना कवितामार्फत उनि जतिसुकै विग्रिएको वर्तमान भएपनि आशाका दियाहरू निरन्तर बालेर खुशी ल्याउन खोज्छन् सबैमा। उनका कवितामा घरदेशमा पहिरो जाँदा परदेशमा पिडाले बगेका छोराछोरीका कथा छन्। घरदेशमा भूइचालो जाँदा परदेशमा हल्लिएका मनहरूको कथा छन् र घर हाँसेको बेला परदेशमा साटेका सुखका कथा छन। समय र ठाउँ अनुसार जिम्मेबार बोध गरेर कलेज जान पैसा जोहो गर्न थाल्ने हामी सबैका छोराछोरीका कथा छन् ।

२५ देखि ३० वर्षको उमेरमा घर छोडेका सबै नेपालीका कथाब्यथा आफ्ना कवितामार्फत भन्ने कविले नेपालीकोमात्र नभएर एक देशबाट अर्को देशमा अबसर खोज्दै हिडेका सबै मान्छेहरूको कथा भनेका छन् यि कवितामा। दालभातको जोहो गर्न हिडनेले आफना धेरै रहरलाई थाँती राख्नु पर्ने हुन्छ तर कुनैकुनै रहरका सपनापनि पुरा हुन्छन् भन्ने नमुना आजको पुस्तक हो भन्न सकिन्छ। जस्मा प्रयोग भएका उपयुक्त बिम्ब, प्रतिक र अनुप्रासले कवितालाई जिबन्त बनाएका छन्।

आम आधा यता र आधा उता बाच्नेहरूको मनोभाब सजिलै कवितामा उतार्ने कवि परासरलाई फेरीपनि हार्दिक बधाई भन्दै अझै खदिला कविता लेख्न शुभकामना!

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।