चांगी विमानस्थलमा पाइला टेक्नेबित्तिकै एउटा बेग्लै संसारमा प्रवेश गरेको आभास भयो । यस्तो अनुभूति तब भयो, जब विमानस्थलको मुटुमा रहेको ‘ज्वेल’ (द जेवेल) भित्रको ४० मिटर अग्लो कृत्रिम झरना देखें । मन बोल्यो, ‘यहाँ प्रविधिले प्रकृतिलाई बन्दी बनाएको छैन, बरु श्रद्धापूर्वक पुजेको रहेछ ।’
जहाँ प्रविधि र प्रकृतिको यस्तो अद्भूत मिलन हुन्छ, त्यहाँबाट सुरु हुन्छ– सिंगापुरको विकास यात्रा । एउटा यस्तो देश, जसको आफ्नो पर्याप्त माटो छैन, पिउने पानी छैन, तैपनि आज विश्वको सबैभन्दा समृद्ध, स्वच्छ र आधुनिक राष्ट्रको सूचीमा सानले उभिएको छ ।
‘एसियाको अँध्यारो कुनो’देखि उज्यालोको उत्कर्षसम्म
आँसुको जगमा ठडिएको साम्राज्य भनें सिंगापुरलाई, जब ससर्ती घुमें । मरिना बेको चम्किलो पानीमा आधुनिक सिंगापुरको ऐना हेर्दैगर्दा मेरो मन भने सन् १९६५ अगस्ट ९ को त्यो उदास बिहानतिर फर्कियो । मलेसियाबाट छुट्टिँदा सिंगापुरका संस्थापक पिता ली क्वान युले टेलिभिजनको पर्दामा भक्कानिँदै झारेको आँसु सायद यही समुद्रमा कतै मिसिएको हुँदो हो ।
त्यतिबेला, जतिबेला सिंगापुर नामको त्यो टापुलाई विश्वले ‘एसियाको अँध्यारो कुनो’ भन्थ्यो । पिउने पानी थिएन, प्राकृतिक स्रोतको नाममा एक थोपा तेल थिएन । चारैतिर फोहोरको डंगुर, दुर्गन्धित बस्ती र लामखुट्टे भुनभुनाउने दलदल मात्र थियो, जतिबेला । भविष्य अन्धकार देखेरै सायद संसारले गिज्याउँथ्यो सिंगापुरलाई त्यसबेला । हो, त्यही सानो माछा मार्ने गाउँ आज कसरी विश्वकै वैभवशाली सहर बन्यो ? यो प्रश्नले मेरो मथिंगललाई झक्झक्याइरह्यो ।
‘क्लार्क क्वे’को किनारैकिनार हिँडिरहँदा मैले त्यो पुरानो सिंगापुर नदीको कल्पना गरें, जुन कुनै बेला ढल र फोहोरले गन्हाएर सास फेर्न नसकिने अवस्थामा थियो । सिंगापुरको इतिहास यही भन्छ । तत्कालीन प्रधानमन्त्री लीले सन् १९७७ मा ‘सिंगापुर नदीलाई १० वर्षभित्र सफा गर्ने’ अठोट लिए । जुन अठोटको प्रतिफल आज यो नदी सेतो सिसाजस्तै सङ्लो र पारदर्शी छ, जसमा दैनिक सयौं ‘फेरी’हरू शान्तसँग तैरिइरहेका छन् ।
विकास पत्रकारिता र वातावरणमैत्री सडक निर्माणको खोजमा वर्षौंदेखि भौंतारिइरहेका मेरा आँखाहरूले यहाँका पूर्वाधारलाई अलि फरक कोणबाट नियाले । थाइल्यान्डका उष्णकटिबन्धीय हरियालीबीचका सडकहरूले जस्तै यहाँका मार्गहरूले पनि मलाई गहिरो शान्ति दिए । जहाँ कालोपत्रे र कंक्रिटले माटोको प्राण लुटेका छैनन् । वायोइन्जिनियरिङको बरु यस्तो बेजोड नमुना छ, जहाँ सडकका डिभाइडरदेखि फ्लाइओभरका पिलरहरूसम्म हरिया लहराहरू बेरिएका छन् ।
मानौं, सहरले विकासको वस्त्र होइन, प्रकृतिको पछ्यौरी ओढेको छ । लाग्यो, यहाँ सडक खन्दा माटो रुँदैन, बरु नयाँ बिरुवाहरू उम्रिने उत्सव मनाउँछ ।
सहरका गल्लीहरू चहार्दै गर्दा मैले मानिसहरूका अनुहार पढें । हिजो भत्किएका झुपडी र सुकुम्बासी बस्तीमा बस्ने नागरिकहरूलाई सिंगापुरले ‘हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड’ मार्फत कसरी व्यवस्थित र सम्मानजनक आवास दियो भन्ने कुरा यहाँका गगनचुम्बी तर व्यवस्थित अपार्टमेन्टहरूले बोलिरहे झैं लाग्यो । सिंगापुरका नागरिकको अनुहारले भनिरहेथ्यो– विकास भनेको जमिनमाथि गिटी, बालुवा र सिमेन्ट खन्याउनु मात्र होइन, यो त भुइँमान्छेको आत्मसम्मानलाई माथि उठाउनु पनि हो ।
विश्वको आँखा परेको देशको त्यो विकासले नागरिकको अनुहारमा खुसी र मस्तिष्कमा कडा अनुशासनको बीउ रोपेको रहेछ । बहुजातीय समाजलाई एउटै राष्ट्रियताको मालामा उनेर सुशासनको धागोले कसरी कस्न सकिन्छ भन्ने पाठ त्यहाँका प्रत्येक चोकले सिकाइरहेको भान भएथ्यो । कानुनको कठोरताभित्र पनि एउटा लय रहेछ, जसले नागरिकलाई भयरहित जीवन दिएको छ ।
‘अर्चर्ड रोड’का बत्तीहरूको झिलिमिलीमा हिँड्दै गर्दा मलाई एक पल लाग्यो, ‘म कुनै सहरमा होइन, सपनाको एउटा विशाल क्यानभासमा हिँडिरहेको छु । जता हे¥यो उतै उज्यालो, जता टेक्यो उतै सफा ।’ कक्षा ६ अध्ययनरत छोरो अञ्चितले उड्नुअघि भनेको थियो, ‘बाबा, मामु ! नेपालमा जस्तो सिंगापुरका सडकमा नथुक्नु नि ! जरिवाना तिर्नुपर्ला ।’ हामी झसंग भएका थियौं ।
हिजो फोहोरले आक्रान्त र निराशाले भरिएको त्यो भूगोल आज आफैंमा एउटा ‘जीवन्त विश्वविद्यालय’ बनेको छ । जहाँबाट सिक्न र बुझ्न विश्वका ठूला हस्तीहरू धाउँछन् । विकास कुनै जादुको छडी होइन, यो त इमानदार नेतृत्व, कठोर नीति र नागरिकको पसिनाले लेखिने महाकाव्य रहेछ ।
‘मरिना बे’मा चल्ने सिरसिरे हावा र त्यहाँ उठ्ने पानीका फोहराहरूले मानौं त्यही महाकाव्यको संगीत गुन्जाइरहेका थिए म पुग्दा । सिंगापुरको त्यो चम्किलो आकाशमुनि उभिँदा लागेको थियो– ‘यदि दृढ संकल्प हुने हो भने खरानीको थुप्रोबाट पनि एउटा स्वर्णिम भविष्यको उडान भर्न सकिँदो रहेछ ।’ नेपालमा २०८२ भदौ २३ र २४ गते राजधानी काठमाडौं भएको जेन–जी आन्दोलनले मानौं नेपाललाई खरानी बनाएको थियो । अब कसरी उठ्ने ? भन्ने प्रश्नको जवाफ दिए झैं भयो विगतको भ्रमणले ।
सिंगापुरको त्यो यात्राले मलाई केवल विकासका भौतिक संरचनाहरू मात्र देखाएन, बरु ती संरचनाहरूभित्र धड्किरहेको एउटा सिंगो राष्ट्रको ‘ढुकढुकी’ सुन्न सिकाएको छ ।
कंक्रिटको सहरमा हुर्किएको ‘हरियो सपना’
सिंगापुरको सडकमा गुड्दै गर्दा मलाई नेपालका धुलाम्मे, साँघुरा र भत्किएका सडकहरूको झल्को आइरह्यो । त्यहाँका फराकिला सडकहरू केवल गन्तव्यमा पुग्ने कालोपत्रे माध्यम मात्र होइनन्, ती त दिगो विकास र ‘इको–फ्रेन्डली’ पूर्वाधारका जीवित नमुना रहेछन् ।
बाटाका दुवैतर्फ रोपिएका विशाल रुखहरू र भवनका बार्दलीबाट चिहाइरहेका हरियालीले भनिरहेका थिए– ‘यो ‘सहरभित्रको बगैंचा’ (गार्डेन इन अ सिटी) होइन, ‘बगैंचाभित्रको सहर’ (सिटी इन अ गार्डेन) हो । विकासको नाममा डाँडा खनेर कंक्रिटको थुप्रो लगाउने नेपाली नियति र सिंगापुरले सडक निर्माणसँगै जोगाएको वातावरणीय सन्तुलनबीचको खाडल निकै गहिरो महसुस भयो । जहाँका सडकहरूले केवल गाडी बोक्दैन रहेछन्, तिनले त स्वच्छ हावा र हरियालीको प्रत्याभूति पनि बोकेका हुँदा रहेछन् ।
‘गार्डेन्स बाई द बे’ पुगेपछि विकासको अर्को अध्याय खुल्यो, मानौं म कुनै भव्य आलिसान फाइभ स्टार होटलभित्र छिर्दैछु । त्यहाँका १८ वटा ‘सुपर ट्री’ केवल फलामे संरचना होइनन्; तिनले सौर्य ऊर्जा संकलन गर्छन्, वर्षाको पानी सञ्चय गर्छन् र सहरको तापक्रमलाई सन्तुलित राख्छन् । यो दिगो विकास लक्ष्य (युएनको एसडीजी) हरूको यस्तो सफल प्रयोग हो, जसले विश्वलाई सिकाउँछ कि आधुनिकता र वातावरण संरक्षण सँगसँगै हिँड्न सक्छन् ।
कुनै समय मलेसियाबाट पानी किनेर पिउनुपर्ने बाध्यताबाट गुज्रिएको सिंगापुरले आज ढलको पानीलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी पिउन योग्य ‘न्यु वाटर’ बनाउँदो रहेछ । आत्मनिर्भरको गतिलो पाठ सिकें त्यहाँ पुगेपछि । जलस्रोतको अपार धनी भएर पनि राजधानीकै धाराहरूमा पानी नआउँदा काकाकुल बनेका सहरवासी सम्झिँदा भने मन एकपटक अमिलो भयो, नमजाले कुँडियो । अभावलाई कसरी अवसरमा र प्रविधिलाई कसरी जीवनदायिनी शक्तिमा बदल्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो, सिंगापुर ।
भौतिक संरचना मात्रै विकास होइन, यसको असली आत्मा त समाज र मानवीयतामा लुकेको हुन्छ । सिंगापुरको अर्को सुन्दर पक्ष त्यहाँको अनुशासन र सामाजिक सद्भाव हो । चिनियाँ, मलाय, भारतीय र युरोपेली मूलका लाखौं मानिसको त्यो बहुसांस्कृतिक सहरमा कतै जातीय विभेद वा धार्मिक द्वन्द्व देखिँदैन । जहाँको सार्वजनिक आवास प्रणालीले धनी र गरिबबीचको दूरीलाई कम गर्दै सबै वर्गलाई एउटै छानामुनि मिलेर बाँच्न सिकाएको छ ।
सहरका कुनाकुना जोड्ने ‘एमआरटी’ रेल सेवा र व्यवस्थित सार्वजनिक यातायातले समयको मात्र बचत गरेका छैनन्, बरु हरेक नागरिकलाई समान पहुँच र सुविधा पनि दिलाएको छ । जहाँ कानुनको कठोरताभित्र नागरिकको खुसी, समानता र सुशासन अडेको छ ।
सन् १९६५ मा मलेसियाबाट अलग हुँदा दूरदर्शी नेता ली क्वानले आँसु झार्दै कस्तो सिंगापुरको कल्पना गरेका थिए होलान् ? जब चांगी विमानस्थल र बाहिरको अत्याधुनिक सहर पुगें, तब यो प्रश्न मनमा तेर्सियो । ‘मरिना बे स्यान्ड्स’को उचाइबाट सिंगापुर सहरलाई नियाल्दा त्यो परिकल्पनाको भव्यता र नागरिकको मिहिनेत स्पष्ट देखें । आखिर नागरिकको तत्परताबिना विकास कहाँ ? कसरी ?
विकास भनेको केही थान गगनचुम्बी भवन निर्माण गर्नु मात्र होइन रहेछ । यो त शून्य भ्रष्टाचार, नीतिगत स्थिरता, कठोर अनुशासन र नागरिकको देशप्रतिको अटुट समर्पणको योगफल रहेछ । सिंगापुरले सिकायो ।
सिंगापुरको हाम्रो यात्रा केवल एउटा टापुको भ्रमण होइन, त्यो त सहरी योजना र पूर्वाधार विकासको विश्वविद्यालयमा लिइएका सघन कक्षाहरू थिए । जसले सिकाएको छ कि दृढ इच्छाशक्ति हुने हो भने सीमित स्रोतसाधनका बाबजुद पनि समृद्धि फलाउन सकिन्छ ।
जबसम्म नीति निर्माताको सोचमा हरियाली छाउँदैन, तबसम्म सडकका किनारमा फूलहरू फुल्दैनन् । सिंगापुरले भौतिक विकासको उडान भर्दै गर्दा मानवीयता, संस्कृति र वातावरणको जरालाई जुन गहिराइसम्म समातेर राखेको छ, त्यो नेपाललगायत सम्पूर्ण विकासशील राष्ट्रहरूले पढ्नैपर्ने र बुझ्नैपर्ने अमूल्य ‘विकासको पाठ’ हो ।
चेतनाको उडानमा गरिबीको खरानीबाट ब्युँझिएको फिनिक्स
सन् २०१७ जुनको त्यो एक मध्यदिन मेरो स्मृतिमा अझै ताजै छ । थाइल्यान्डको पुरानो तर व्यस्त ‘डोन मुवाङ’ अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सिंगापुर एयरलाइन्स’को सुविधासम्पन्न जहाजमा उडान भर्दै गर्दा मेरो मनमा एउटा बेग्लै कौतूहल सल्बलाइरहेको थियो ।
विमानको झ्यालबाट तल नीलो प्रशान्त महासागर र त्यसमाथि छरिएका मसिना टापुहरू नियाल्दै गर्दा हामी सोचिरहेका थियौं– ‘नक्सामा एउटा सानो थोप्लाजस्तो देखिने देशले कसरी सिंगो विश्वलाई आफूतिर चुम्बकले झैं तानिरहेको छ ?’ जब विमानले सिंगापुरको धरती छोयो र हामी बाहिर निस्कियौं, कुनै अर्कै भव्य ग्रहमा अवतरण गरे झैं भान भयो ।
त्यतिबेला चांगी विमानस्थलको भव्यता देखेर हामी चकित मात्र भएका थिएनौं । त्यहाँको कृत्रिम तर जीवन्त वनस्पति, सिसाका विशाल पर्खाल, टल्किने भुइँ र कोलाहलविहीन शान्त वातावरणले हामीलाई लठ्ठ बनाएको थियो ।
तर, जब म नेपाल फर्किएँ र एउटा विकास पत्रकारको सूक्ष्म आँखाले सिंगापुरको भौतिक पूर्वाधार र विकास साहित्यका पानाहरू कोर्न थालें, तब एउटा गज्जबको तथ्यले मलाई झस्कायो । हामीले टेकेको र सामान्य रूपमा हेरेको त्यो चांगी त विश्वकै सर्वोत्कृष्ट (एक नम्बर) विमानस्थल पो रहेछ ! जसलाई विश्वले वास्तुकला, सेवा र प्रविधिको मन्दिर मान्दो रहेछ ।
एउटा देश, जसले कुनै बेला आफ्नो आकाश र धरतीको अस्तित्व जोगाउन भिख माग्नु परेको थियो, उसले कसरी विश्वकै उत्कृष्ट विमानस्थलको ताज पहिरिन सक्यो ? यो प्रश्नले मलाई सिंगापुरको त्यो कहालीलाग्दो विगततिर धकेल्यो ।
सन् १९६५ मा जब सिंगापुर मलेसियाबाट छुट्टिन बाध्य भयो, यो कुनै खुसीको नवजन्म थिएन; त्यो त एउटा अनाथ र टुहुरो सन्तानलाई मध्यरातमा सडकमा फालिएजस्तै थियो । त्यतिबेलाको सिंगापुर भनेको केवल भोक, रोग र गरिबीको पर्याय थियो । काठ, माटो र जस्तापाताले छाएका ‘काम्पोङ’ भनिने झुपडी बस्तीहरूमा खचाखच मानिस बस्थे ।
जहाँ न पिउने स्वच्छ पानी थियो, न त ढल निकासको गतिलो व्यवस्था नै । बेरोजगार युवाहरूको भीड र भोकले रोइरहेका बालबालिकाहरूको क्रन्दनले त्यो सहरको अनुहार सधैं मलिन हुन्थ्यो । खानेकुरादेखि लिएर पिउने पानीसम्म मलेसियाबाट आयात गर्नुपथ्र्यो । सडकमा फोहोरको डंगुर, जातीय दंगाको त्रास र भविष्यको चरम अनिश्चितताबीच बाँचेका सिंगापुरका ती नागरिकहरूको नियति निकै क्रूर थियो ।
एसियाको त्यो अँध्यारो कुनोमा न कुनै प्राकृतिक स्रोत थियो, न त उर्वर जमिन । थियो त केवल भोकले रन्थनिएका पेटहरू र कहिल्यै ननिभ्ने निराशाका आँखाहरू ।
तर, मानिसका चाहना र आवश्यकताले जस्तोसुकै चट्टानलाई पनि पगाल्न सक्दो रहेछ । त्यही चरम गरिबी र अस्तित्व मेटिने संकटले सिंगापुरलाई बाँच्न सिकायो । सिंगापुरको तीतो विगत बुझेपछि लाग्यो, ‘जब मानिसलाई भित्तामा पु¥याइन्छ र पछाडि हट्ने ठाउँ हुँदैन, तब उसले अगाडि बढ्न वा उड्न सिक्छ ।’
तत्कालीन नेतृत्वले आफ्ना नागरिकको त्यो भोक र गरिबीलाई नै ‘विकासको इन्जिन’ बनाए । भौतिक पूर्वाधारको जग हाल्नुअघि मानवीय पुँजी, अनुशासन र शिक्षाको जग हालेको रहेछ त्यो देशको नेतृत्वले । आजका गगनचुम्बी भवनहरू तिनै भोका पेटहरूले देखेका सपनाका उचाइ हुनुपर्छ, मनले यही निष्कर्ष निकाल्यो ।
इतिहास बोलिरहेथ्यो, चांगी विमानस्थलको त्यो भव्यता त्यही ‘गरिबीको चिहान’मा फुलेको ‘समृद्धिको कमल’ हो । त्यहाँको ‘इको–फ्रेन्डली’ सडक र बायोइन्जिनियरिङ केवल विज्ञान होइन, प्रकृतिको अभावले सिकाएको पाठ हो ।
जब अनुसन्धानकर्ता म सडक निर्माणमा वातावरणको प्रभाव, दिगो विकास र इको–फ्रेन्डली पूर्वाधारबारे अनुसन्धान गर्छु, सिंगापुरको त्यो यात्राले मलाई गहिरोसँग चिमोट्छ । गरिबीले थिचिएको त्यही देशले आज विश्वका धनाढ्यहरूलाई आफ्नो काखमा सुताइरहेको छ ।
चांगीको त्यो चम्किलो भुइँमा उभिएर इतिहासको पाना पल्टाउँदा जो कोहीले महसुस गर्छ– ‘सिंगापुरले गरिबीलाई सरापेर बसेन, बरु त्यही गरिबीको छातीमा टेकेर विश्वको सबैभन्दा उज्यालो गन्तव्य कोरिरह्यो ।’ यो यथार्थ फगत एउटा देशको कथा होइन, मानवीय अठोटको सबैभन्दा सुन्दर संकल्प हो ।
दोस्रो खण्ड
आँसुले सिञ्चित स्वाधीनता
९ अगस्ट १९६५ । यो त्यो दिन थियो, जुन दिन सिंगापुरले खुसीले स्वतन्त्रताको उत्सव मनाएको थिएन, बरु मलेसियाबाट ‘निष्कासित’ भएको पीडामा धुरुधुरु रोएको थियो । इतिहासका पाना पल्टाउँदै गर्दा र आजको झिलिमिली सिंगापुर नियाल्दै गर्दा मलाई तत्कालीन प्रधानमन्त्री लीले राष्ट्रिय टेलिभिजनमा आँसु पुछ्दै गरेको त्यो श्यामश्वेत दृश्यले चिमोटिरहन्छ । सन् १९६४ का जातीय दंगा र राजनीतिक खिचातानीले जन्माएको त्यो अनिश्चितता सिंगापुरका लागि मृत्युशैय्या जस्तै थियो ।
विकास पत्रकार, विकास साहित्यकार र विकासबारेकै अनुसन्धानकर्ताको आँखाले यो घटनालाई हेर्छु र सिंगापुर तन भए पनि मन सीधै नेपाल पुग्छ । हामीले कहिल्यै कसैको उपनिवेश बन्नुपरेन, हाम्रो स्वाधीनतामाथि कहिल्यै कसैले प्रश्न उठाउन सकेन । तर, विडम्बना ! अखण्ड र स्वतन्त्र नेपालका हामी नागरिक आज पनि राजनीतिक अस्थिरता, सत्ता–स्वार्थ र आन्तरिक कलहको भुमरीमा फसेर विकासको खोजीमा रुन बाध्य छौं । सिंगापुरले त्यो अलगावको आँसुलाई राष्ट्र निर्माणको शक्तिको स्रोत बनायो, हामीले चाहिँ हाम्रा अपार सम्भावनाहरूलाई नै आपसी द्वन्द्वको आँसुमा किन बगाइरह्यौं ?
सिंगापुरको समग्र विकासको अर्को गहिरो पाटो हो, यसको ‘जल–संघर्ष’ । सन् १९६१ र १९६२ मा मलेसियासँग गरिएको पानी सम्झौता सिंगापुरको जीवनरेखा थियो । पिउने पानीको एक थोपा प्राकृतिक स्रोत नभएको सिंगापुरले पानीलाई सामान्य उपभोग्य वस्तु मात्र मानेन, यसलाई सिधै ‘राष्ट्रिय सुरक्षा’को अभिन्न अंग मान्यो । सन् २०६१ सम्मको त्यो सम्झौताले सिंगापुरलाई सधैं झस्काइरहन्छ– ‘हामीले आफ्नै खुट्टामा उभिनुपर्छ, नत्र हामी तिर्खाएरै मर्नेछौं ।’
अर्कोतर्फ, जब म नेपालको जलस्रोत, हिमाल र छङ्छङ बग्ने नदीहरू सम्झिन्छु, तब मुटु कटक्क खान्छ । विश्वकै उत्कृष्ट जलस्रोतको धनी देशका नागरिक हामी ! तर पनि वर्षौंसम्म काठमाडौंमा मेलम्चीको पानी पर्खेर काकाकुल बन्यौं । अरनिको राजमार्ग आसपासका पहाडी गाउँहरूमा ‘फिल्डवर्क’ गर्दैगर्दा देखेका सुक्खा पँधेरा र पानीको खोजीमा भौंतारिएका आमाहरूका अनुहार मानसपटलमा घुम्न थाल्छन् । सिंगापुरले पानीको चरम अभावलाई प्रविधि (न्यु वाटर) र सुदृढ कूटनीतिले जित्यो । हामी भने भएको पानीलाई पनि व्यवस्थापन गर्न नसकेर विकासको तिर्खामा तड्पिरह्यौं ।
सन् १९६० को दशकको सिंगापुर आजको जस्तो पुँजी र प्रविधिको केन्द्र थिएन । चरम बेरोजगारी र पुँजी अभावले थिचिएको त्यो समाजलाई बदल्न सिंगापुरले आयात–प्रतिस्थापनको पुरानो नीति त्यागेको थियो अनि निर्यात–उन्मुख औद्योगीकरणको साहसिक बाटो समातेको थियो । जुरोङ औद्योगिक क्षेत्रको दलदल र जंगललाई आजको ‘हाइटेक हब’ बनाउने त्यो ‘आर्थिक विकास बोर्ड’को दूरदृष्टि साँच्चै नै चामत्कारिक थियो । जुरोङको त्यो कायापलट र त्यहाँ जोडिएका फराकिला, सुविधासम्पन्न सडक सञ्जाल देख्दा मलाई नेपालका बालाजु, हेटौंडा र भैरहवाका औद्योगिक क्षेत्रहरूको याद आयो, जुन कहिल्यै पूर्ण क्षमतामा चल्न सकेनन् ।
सिंगापुरले बहुराष्ट्रिय कम्पनीहरू भित्र्याएर युवालाई देशमै रोजगारी दियो । तर हामी ? हामीले हाम्रा युवालाई तिनै मलेसिया, खाडी र युरोपका कारखानाहरूमा पसिना बगाउन ‘निर्यात’ गरिरहेका छौं । रेमिट्यान्सको भरमा टिकेको हाम्रो आयातमुखी अर्थतन्त्र र सिंगापुरको त्यो निर्यात–उन्मुख औद्योगिक क्रान्तिबीचको खाडलले हाम्रो नीतिगत असफलताको जिउँदो कथा भनिरहेको छ । जब म मरिना बेको किनारमा उभिएर यी ऐतिहासिक तथ्यहरूलाई चलचित्रका दृष्य झैं हेरिरहेछु तब वर्तमानको चम्किलो प्रतिविम्बसँग दाँज्छु ।
यतिबेला लाग्छ– विकास भनेको माटोमा होइन, मानिसको मस्तिष्क र मनमा सुरु हुन्छ । सिंगापुरले मलेसियाबाट छुट्टिँदा भोगेको त्यो अलगावको पीडा, पानीको भोक र बेरोजगारीको दलदललाई जसरी समृद्धिको सुनौलो क्यानभासमा बदल्यो, त्यो नेपालका लागि केवल पाठ मात्र होइन बरु गम्भीर चेतावनी पनि हो । समय छँदै हाम्रा नदी, हाम्रा युवा र हाम्रो स्वाधीनताको सही सदुपयोग गर्न सकेनौं भने विकास इतिहासका पानाहरूमा हामी सधैं ‘चुकेको अवसर’को रूपमा मात्र दरिनेछौं ।
मरिना बे र मरलियन ः सभ्यताको धड्कन र इतिहासको शीतल स्पर्श
मरिना बे स्यान्ड्सको विशाल संरचनाको फेदमा उभिएर माथितिर शिर उठाउँदा लाग्यो, यो सिमेन्ट र काँचको महल होइन, सिंगापुरको सपनाको ‘आकाशगंगा’ चाहिँ हो । मोसे सफ्दीको वास्तुकलाले यहाँ केवल भवन बनाएको छैन, बरु एउटा सिंगो सभ्यताको प्रतीक ठड््याएको छ । २०० मिटर माथिको स्काईपार्कमा पुगेर तल फैलिएको सहरको दृष्य नियाल्दा, मेरो मनले अर्थतन्त्रको गणित बुझ्न खोज्छ । यहाँको होटल, क्यासिनो र कन्भेन्सन सेन्टरले कसरी विश्वभरका पर्यटकको पैसा मात्र होइन, तिनको समय र साखलाई पनि तानिरहेछ !
कला र विज्ञानलाई एकै ठाउँमा मिसाउने आर्टसाइन्स म्युजियमका ती २१ ग्यालरी घुमिरहँदा फेरि लाग्यो– विकास भनेको केवल भौतिक संरचना होइन, यो त ‘पर्यटन अर्थतन्त्र’को त्यो चलाखीपूर्ण जालो हो, जसले मानिसलाई मन्त्रमुग्ध बनाएर पुनः आउन बाध्य पार्छ । बेलुका जब ‘स्पेक्ट्रा लाइट एण्ड वाटर’का लेजर किरणहरू पानीको फोहरासँगै नाच्छन्, तब म सोचें– ‘हामीले हाम्रा सम्पदाहरूलाई यसरी ‘स्पेक्टकुलर’ बनाउन किन सकेनौं ?’
मरिना बेको सिधा अगाडि मरलियन पार्क छ । जहाँको चिसो हावामा उभिएर म मरलियनको त्यो अजंगको मूर्तिको आँखामा सिंगापुर नियाल्छु र त्यसको विगत खोज्छु । सिंहको शिर र माछाको शरीर ! यो पौराणिक जन्तुले सिंगापुरलाई उसको ‘माछा मार्ने गाउँ’को गरिब इतिहासदेखि आजको ‘लियन सिटी’सम्मको यात्राको कथा सुनाउँछ । ८.६ मिटर अग्लो र ७० टनको यो मूर्ति केवल एउटा ढुंगा होइन, यो त सिंगापुरको ‘ब्राण्डिङ’को मास्टरक्लास हो । सम्झन्छु, यसरी लाखौं, करोडौं पर्यटक तान्न नेपालको ‘ब्राण्डिङ’को दिव्य कर्म के गर्नेहोला ? यस्तै जीवन्त ।
सन् १९९७ मा यसलाई नदीको मुखबाट यहाँ सार्नु रणनीतिक कदम थियो, जसले पर्यटकको ओइरोलाई मरिना बेको मुटुसम्म डो¥यायो । छेउमै बगिरहेको नदीमा फेरी क्रुजहरूमा रमाउँदै गरेका पर्यटकका हाँसो सुन्दा लाग्यो– विकास भनेको इतिहासलाई यसरी पुनव्र्याख्या गर्नु हो कि त्यो वर्तमानको कमाइखाने भाँडो बनोस् । म सोच्छु, हाम्रो काठमाडौंको वसन्तपुर, ललितपुर वा भक्तपुरका गल्लीहरूले पनि यसरी नै विश्वको ध्यान तान्न सक्थे, यदि हामीले त्यहाँको इतिहासलाई सिंगापुरको मरलियन जस्तै ‘मार्केटिङ’को कलासँग जोड्न सकेको भए !
झुपडीको जगमा ठडिएको स्वाभिमान
सिंगापुरको सफा र फराकिला फुटपाथमा पाइला चाल्दै गर्दा मेरा आँखाहरू आकाश छुने ‘एचडीबी’ अर्थात् हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड अपार्टमेन्टहरूमा गएर ठोक्किन्छन् । बाहिरबाट हेर्दा यी केवल रंगीचंगी भवनहरू लाग्छन्, तर नजिकै पुगेर हेर्दा त्यहाँ सिंगो राष्ट्रको ‘आत्मा’ सास फेरिरहेको महसुस हुन्छ । कुनै बेला ४० प्रतिशत सिंगापुरवासी जस्तापाता र काठले बारेका, भोक र रोग गन्हाउने झुपडपट्टीमा रातहरू काट्थे । विकासमा विश्वलाई ‘च्यालेञ्ज’ गरिरहेको सिंगापुरको त्यो यथार्थ आज कसले पत्याउला ? तर आज तिनै मानिसहरू सुविधासम्पन्न गगनचुम्बी महलका मालिक भएका छन् ।
राज्यले ‘सेन्ट्रल प्रोभिडेन्ट फन्ड’ मार्फत हरेक नागरिकको पसिनाको कमाइलाई अनिवार्य बचत गर्न सिकाएर ‘सबैका लागि घर’को सपनालाई विपनामा बदलिदियो । जब ती अपार्टमेन्टहरूका बाल्कोनीमा फुलेका फूलहरू र चोकमा निर्धक्क खेलिरहेका केटाकेटीहरू देखें, लाग्यो– ‘विकास भनेको सहरमा इँटा थप्नु मात्र होइन, नागरिकको टाउकामाथि सुरक्षित र आफ्नै छानो ओढाउनु पनि रहेछ ।’ आज ८६ प्रतिशतभन्दा बढी सिंगापुरवासी आफ्नै सरकारी आवासमा गर्वका साथ श्वास फेर्छन् । हाम्रो देशमा भने वर्षौं के भनूँ ? दसकौं सहरमा पसिना बगाउँदा पनि मजदुरले एउटा सानो कोठाको भाडा तिर्न नसकेर सधैं छटपटाउनुपर्ने बाध्यता छ । सम्झिँदा पनि नियात्राको यो आनन्दबीच मन कताकता कटक्क खान्छ ।
सहर घुम्ने क्रममा एउटा स्थानीय कफी सपमा पस्छु । त्यहाँ चिनियाँ, मले र तमिल अनुहारहरू एउटै टेबुलमा बसेर चियाको चुस्कीसँगै ‘सिङ्गलिस’ (अंग्रेजीको स्थानीय रूप)मा गफिइरहेका भेटिन्छन् । सन् १९६० को दशकमा जब यो बहुजातीय समाजलाई एउटै सूत्रमा बाँध्नुपर्ने चुनौती आयो, सिंगापुरले ‘गज्जबको बाटो’ रोज्यो । विश्वसँग व्यापार र प्रविधिको भाषा बोल्न अंग्रेजीलाई प्रथम भाषा बनायो, तर आफ्नो माटो र संस्कृतिको जरा नछुटोस् भनेर मातृभाषालाई अनिवार्य दोस्रो भाषाको रूपमा कसिराख्यो ।
कफी सपको त्यो सुमधुर कोलाहल सुन्दा लाग्यो– अंग्रेजीले सिंगापुरलाई विश्वआकाशमा उड्ने पखेटा दियो भने मातृभाषाहरूले यसलाई जमिनमा टिकाइराख्ने बलियो जरा दिए । विकास भनेको भौतिक संरचना मात्र होइन, यो त अनेक अनुहार र संस्कृतिलाई एउटै भाषाको छातामुनि गोलबद्ध गर्ने एउटा मानवीय महाकाव्य पनि रहेछ । यति बुझेपछि नेपाल जातजाति, भाषाभाषी, बहुल संस्कृति र विविधता सम्झिएँ । हामीले पनि यस्तै केही गर्न पाए ?
यही चम्किलो आवरणभित्र सिंगापुरले एउटा अभेद्य र कठोर सुरक्षा कवच पनि लुकाएको छ । २०८२ को असार १९ गते अस्टेलिया र त्यसको अर्को साता इजरायलको यात्रा गर्ने अवसर मिल्यो । इजरायलको मरुभूमि र त्यहाँका बंकरहरू घुम्दै गर्दा भने मैले त्यहाँका १८ वर्षे तन्नेरीहरूले हतियार बोकेको देखें । यसरी देशको पहरेदारी गरेको जुन दृश्य देखें, ठ्याक्कै त्यही अनुशासन र अठोट सिंगापुरले पनि अपनाएको पाएँ । सन् १९६५ पछि मलेसियाबाट छुट्टिँदा र छिमेकीहरूको डरलाग्दो छायाँबाट आफ्नो अस्तित्व जोगाउन सिंगापुरले तिनै इजरायली सल्लाहकारहरूको सहयोगमा ‘सिंगापुर सशस्त्र बल’को जग बसालेको रहेछ । सैन्य रणनीतिकारहरू यसलाई ‘विषालु स्रिम्पको पुच्छर’को नीति भन्छन् । हो, भूगोलले सिंगापुर सानो (झापा जिल्लाको करिब आधाजति) छ, तर कसैले यसलाई निल्न खोज्यो भने त्यसको घाँटीमै विष बन्छ ।
हाम्रो नेपाल पनि दुई विशाल ढुंगाबीचको सानो तरुल नै हो, तर हामीले हाम्रो भूराजनीतिक संवेदनशीलतालाई यति चुस्त रणनीतिक शक्तिमा बदल्न सकेका छौं त ? मरिना बेमा साँझको मन्द हावा चलिरहँदा मेरो मनले एउटा गहिरो निष्कर्ष निकाल्यो– सिंगापुरको विकास फलाम र सिमेन्टको चमत्कार मात्र होइन, यो त झुपडीमा बस्नेलाई घरको मालिक बनाउने न्याय, अनेक भाषा बोल्नेलाई एउटै लयमा हिँडाउने संस्कृति र आफ्नो सानो भूगोललाई ‘विषालु स्रिम्पको पुच्छर’ जस्तै अभेद्य बनाउने राष्ट्रवादको सजीव क्यानभास रहेछ । यो सहर हिँड्दैन, दौडिन्छ; सँगसँगै आफ्ना हरेक नागरिकको मुटुको धड्कनलाई पनि सुरक्षित रूपमा जोगाउँदै ।
सिंगापुरको जादु र मेरो नेपाली सपना
‘गार्डेन्स बाई द बे’को २५० एकड जमिनमा पाइला टेक्दा यथार्थ पत्यारै लागेन । म कुनै पृथ्वीको सहरमा होइन, भविष्यको एउटा हरियो ग्रहमा छु भन्ने भान भयो । जहाँ १५ लाखभन्दा बढी बिरुवाले मानिसको कोलाहललाई आफ्नै सुगन्धमा बिलय गराएका छन् । ‘क्लाउड फरेस्ट’को चिसो श्वास फेर्दै गर्दा जब म विश्वकै अग्लो ‘इनडोर’ झरनाको सुमधुर संगीत सुनें तब दंग परें । यी ५० मिटर अग्ला ‘सुपरट्री’हरू केवल बिजुलीका खम्बा लागेनन्, ती त पर्यावरण र प्रविधिका नाममा विवाह गर्न योग्य बेहुला–बेहुली झैं लागे ।
‘सुपरट्री’हरूले सौर्य ऊर्जा सोच्छन्, वर्षाको पानी संकलन गर्छन् र रात पर्नासाथ ‘साउन्ड एण्ड लाइट शो’ मार्फत सिंगो सहरलाई एउटा उत्सवमा बदल्छन् । यो पार्क त एउटा ठूलो ‘इको–ल्याब’ हो, जहाँ सिंगापुरले प्राकृतिक स्रोतको अभावलाई आफ्नै सिर्जनात्मकताले जितेको छ । सोच्न बाध्य भएँ, हाम्रो काठमाडौं उपत्यकाका सिमेन्टका जंगलहरूभित्र यस्तै एउटा ‘क्लाउड फरेस्ट’ भइदिए ! हाम्रो ‘डोजर विकास’ले मासेका हरियालीलाई यसरी नै प्रविधिसँग जोड्न सकेका भए ? त्यसो भए नेपालका सहरहरू पनि अक्सिजनका कारखाना बन्न सक्थे ।
‘गार्डेन्स’को थकान बिर्सिन नजिकैको ‘नेशनल अर्किड गार्डेन’ पुग्छु । बोटानिक गार्डेनको काखमा रहेको ओडार यस्तो लाग्छ, मानौं त्यो प्रकृतिको पुस्तकालय हो । १५०० प्रजाति र ३००० भन्दा बढी वर्णशंकर अर्किडहरूको त्यो रंगवैभव हेर्दा दसकौंदेखि जरा गाडेका दिमागका तनावहरू सबै बिर्सिए झैं भयो । ‘कूल हाउस’ र ‘मिस्ट हाउस’को चिसोमा उभिएर ‘भिआईपी अर्किड’ ग्यालरीमा विश्वका दिग्गजहरूको नाममा राखिएका फूलहरू देख्दा महसुस भयो कि ‘फूलहरूले पनि इतिहास लेख्दा रहेछन् ।’ जुन व्यवस्थापन र संकलनको त्यो स्तर पाएँ, जसले सामान्य फूललाई पनि ‘राष्ट्रिय गौरव’मा बदलिदिन्छ ।
नेपालको फूलबारीमा पनि यस्तै अनुसन्धान र ‘भ्यालु एडिसन’ हुने हो भने हाम्रा जडिबुटी र रैथाने फूलहरूले विश्व बजारमा कति सुन फलाउन सक्थे होलान् ! दिनभरको दौडधुपपछि ‘थियन हक’ मन्दिरको शान्त प्रांगणमा पुग्छु । १९औं शताब्दीको त्यो कलाकृति जुन एउटा पनि किल्ला (नेल) नठुँगी बनाइएको थियो, चिनियाँ वास्तुकलाको उत्कृष्ट नमुना त्यो । ड्र्यागन र फिनिक्सका ती मुर्तिहरूले मलाई झस्काए । धुपको सुगन्धमा मानिसहरू प्रार्थना गरिरहेका थिए तर म मन्दिरको प्राचीनता र आधुनिकताको त्यो मिठो सन्तुलन हेरेर अचम्मित बनेछु । विस्मात तब लाग्यो जब यी दुई नयन ‘फोटो खिच्न निषेध छ’ शब्दमा परे । मन घण्टौं तड्पिरह्यो ।
एउटा कुनामा एकछिन सुस्ताउँछु र बिस्तारै मेरा आँखा लोलाउँछन् । निद्राको गहिराइमा सपना देखेछु– काठमाडौंको टुँडिखेलमा ‘गार्डन्स बाई द बे’को झल्को दिने सुपरट्रीहरू ठडिएका छन् । रानीपोखरीको छेउमा हाम्रै रैथाने अर्किडहरूको बगैंचा छ, जहाँ विदेशीहरू लाइन लागेर फोटो खिच्दैछन् । अनि, भक्तपुरको दरबार स्क्वायरजस्तै गरी हामीले हाम्रा मन्दिरहरूलाई आधुनिक प्रविधिसँग जोडेर विश्व सम्पदाको नयाँ मापदण्ड बनाएका छौं । सिंगापुरले इतिहास र प्रकृतिको कदर गरेरै यो सफलता पाएको रहेछ । जीवनसंगीले उठ्न हात दिँदा सपनामा रमाएको म झस्किएँ । ब्युँझिँदा त वरिपरि अझै सिंगापुरकै त्यही वैभव छ । सोचिरहेकै हुन्छु– हामीले पनि इतिहासलाई जोगाउने र प्रविधिलाई अँगाल्ने हो भने काठमाडौं वा पोखरा किन ‘नेपाली गार्डेन सिटी’ बन्न सक्दैनन् ?
कंक्रिटको गीतमा प्रकृतिको संगीत
‘¥याफल्स प्लेस’को एउटा व्यस्त तर सफा चोकमा बसेर गर्मी भगाउन आइसक्रिम लिइरहेको थिएँ । सामुन्नेबाट हतारहतार हिँडिरहेका मानिसहरूका पाइलाको आफ्नै लय देखिरहेथें । कोही युरोपेली, कोही चिनियाँ, कोही भारतीय त कोही मलय ! भनौं ? सिंगो विश्व सिंगापुरमा अटाएको छ ।
तर, जति सानो भूगोल, त्यति नै विशाल कूटनीतिक सुझबुझ ! इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाइल्यान्डसँग हात मिलाएर जब सिंगापुरले ‘आसियान’को जग बसाल्यो, त्यसले तब स्पष्ट सन्देश दियो– ‘हामी लड्न होइन, सँगै बढ्न चाहन्छौं ।’ जहाँ बसेर जुन निर्धक्क आर्थिक उडान देखिरहेको छु, त्यो समृद्धिको ‘रनवे’ त्यही क्षेत्रीय स्थिरता र सामूहिक सुरक्षाको कूटनीतिक मार्गबाट तयार भएको हुनुपर्छ ।
आइसक्रिमको रित्तो कप छेवैको ‘स्मार्ट डस्टबिन’मा खसालें र सडकको पेटीपेटी अघि बढें । स्विट्जरल्यान्डले जसरी युरोपमा तटस्थता र सहकार्यको बाटो रोजेर आफूलाई समृद्ध बनायो, सिंगापुरले एसियामा त्यही सिको ग¥यो जस्तो लाग्यो । हिँड्दै गर्दा सम्झिएँ, ‘हाम्रो सार्कको नियति, जुन आपसी अविश्वासको बन्धक बनेर सुस्ताइरहेछ । एउटा सानो देशले बाँच्न र विश्वमञ्चमा आफ्नो व्यापारको ढोका खोल्न छिमेकीहरूसँग कस्तो सन्तुलित र चतुर कूटनीति खेल्नुपर्छ भन्ने कुरा सिंगापुरले प्रमाणित गरिदिएको छ तर हामी किन त्यो लय र गति पक्रन सक्दैनौं ?’
मनले अर्को कोणबाट विश्लेषण ग¥यो– हामी बुद्धको शान्तिभूमि र अपार सम्भावनाको खानीमा बसेर पनि किन भूराजनीतिको जाँतोमा पिल्सिरहेका छौं ? अन्तर्राष्ट्रिय मञ्चमा कसरी आफ्नो उपस्थितिलाई अपरिहार्य बनाउने भन्ने ‘विकास कूटनीति’को यस्ता पाठ नेपालको नेतृत्वकर्ताहरू सिक्दैनन् ? सडक पार गरेर आकर्षक आकाशे पुलमा उभिएँ । लाग्यो– वरपरका गगनचुम्बी भवनका भित्ताहरू कंक्रिटका होइनन्, मानौं ती त हरियालीका ठाडो जंगल हुन् ! अचम्म ! बाल्कोनीबाट लहराहरू तलतिर बगेका छन्, छतहरूमा रूखहरू हावासँगै नाचिरहेका छन् ।
सन् १९७० तिरै तत्कालीन प्रधानमन्त्री युले देखेको त्यो ‘बगैंचा सहर’को सपना आज ‘प्रकृतिभित्रको सहर’मा रूपान्तरण भइसकेछ । औद्योगीकरणको कालो धुँवाले वातावरणलाई निल्न नपाओस् भनेर चालिएको त्यो कदम साँच्चै कति दूरदर्शी ! आज ‘गार्डेन्स बाइ द बे’को नजिकै पुगेर कृत्रिम तर जादुमयी ‘सुपरट्री’मुनि उभिँदा लागेथ्यो– विकासले प्रकृतिलाई मासेको छैन, बरु प्रकृतिको पाउमा शीर झुकाएर क्षमा मागेको छ ।
अस्ट्रेलियाको सिड्नीमा देखिने हरियाली र सिंगापुरको त्यो सजीव प्रकृतिको तुलना गर्दै सडकछेउको थकान मार्ने ठाउँमा सुस्ताउँछु । मुटुमा भने नेपालका डोजरले चिथोरेका उराठलाग्दा पहाडहरू बिझाउन थाल्छन् । हाम्रा प्राकृतिक जंगलहरूलाई ‘डोजर विकास’ले निल्दै गर्दा हामीले विकासको नाममा प्रकृतिको हत्या गरिरहेका रहछौं भन्ने पक्का भयो । तर, सिंगापुरले कंक्रिटको छातीमा माटो बोकेर त्यसमाथि जंगल हुर्काएको छ । वायोइन्जिनियरिङको योभन्दा उत्कृष्ट नमुना अर्को के हुन सक्ला ? सहरको त्यो विशाल कोलाहलबीच पनि सडकमा सुनिने चराको चिरबिराहटले मेरो कानमा खुसुक्क भनेथ्यो– ‘सिंगापुरमा विकास भनेको मान्छे, मेसिन र माटोबीचको मीठो प्रेमगीत हो । जहाँ कंक्रिटहरूको प्रेमगीतमा प्रकृतिको संगीत छ ।’
मरिना बेको किनारमा बसेर ‘नोट टेकिङ’लाई डायरीका पानाहरू पल्टाउँदै गर्दा समुद्री हावाले मलाई स्पर्श गरेको थियो । सिंगापुरले हरेक पाइलामा सिकाउँदै थियो– ‘एउटा सफल र जीवन्त राष्ट्र बन्न विशाल भूगोल होइन, केवल विशाल र इमानदार सोच चाहिन्छ ।’ कूटनीतिको सुगन्ध, भौतिक पूर्वाधारको उचाइ र हरियालीको श्वास मिसिएको त्यो सहर, साँच्चै नै विकासको एउटा यस्तो अजर पुस्तक हो, जसले हामी नेपालीलाई आफ्नै देशको माटोलाई अझ बढी माया गर्न र विकासको नयाँ बाटो कोर्न प्रेरित गरिरहेछ ।
तेस्रो खण्ड
सडकको लय र रेलको श्वास अनि सिंगापुरको ‘स्मार्ट’ यात्रा
सिंगापुरको सडकमा गुड्दा लाग्छ, हामी कुनै सहरमा होइन, प्रकृतिको काखमा रमाइरहेका छौं । सन् २०१७ को त्यो जुन महिना, म र जीवनसंगी जब सिंगापुरको एउटा लक्जरी बसमा चढेर सहरको ‘सिटी टुर’मा निस्कियौं, मेरो आँखा झ्याल बाहिरका ती हरियालीले ढाकिएका हाइवेहरूमा अडिए । ती सडक केवल कालोपत्रेका लामो धर्सो थिएनन्; ती त हरियाली ओढेका अनन्त मार्ग थिए ।
सिंगापुरले आफ्ना सडक बनाउँदा माटोको छाती चिरेर प्रकृतिलाई विस्थापित गरेन, बरु सडकका डिभाइडरदेखि फ्लाइओभरका पिलरहरूसम्म माटो ओछ्याएर त्यसमाथि लहरे फूल र रूखहरू हुर्काएर ग¥यो । जुन ‘इको–फ्रेन्डली’ इन्जिनियरिङको यस्तो चमत्कार थियो कि गाडीको कोलाहलमा पनि चराको चिरबिराहट सुनियो । उनले झ्यालबाट हात बाहिर निकाल्न खोज्दै भनिन्, ‘हेर्नुस् त, यहाँ त मान्छेभन्दा बढी रुखका हाँगाहरू सडकको नजिक छन् ।’ उनको त्यो भनाइमा सिंगापुरको ‘ग्रीन इन्फ्रास्ट्रक्चर’को सारा सार लुकेको थियो ।
त्यसपछि हामी चढ्यौं— ‘एमआरटी’ रेल । त्यो रेल यात्रा हाम्रो जीवनको अर्को ‘स्वर्गीय आनन्द’ थियो । न कतै धुलो, न कुनै धक्कामुक्की, न त इन्धनको गन्हाउने धुँवा । रेलका लिक यति संयमित थिए कि मानौं हामी गुडिरहेका थिएनौं, बरु हावामा तैरिरहेका थियौं । रेलको झ्यालबाट बाहिर देखिने दृष्य— कतै गगनचुम्बी भवनको छायाँ, कतै बगैंचाजस्ता लाग्ने व्यवस्थित आवासीय क्षेत्र— कुनै ‘साइन्स फिक्सन’ चलचित्रको दृष्यभन्दा कम थिएनन् ।
प्रियेसँग काँधमा टाउको राखेर बाहिरको हरियाली नियाल्दै गर्दा मेरो मनमा नेपालका खाल्डाखुल्डी सडक र खचाखच भरिएका बसहरूको चित्र कोरियो । यी त्यस्ता दृष्य हुन्, जुन बिर्सन खोज्दा झन् बढी सल्बलाउँछन् । सिंगापुरले रेललाई केवल ढुवानीको साधन मानेन, यसलाई सहरको ‘धड्कन’ बनायो । कति सहज यात्रा ! कति शान्त वातावरण ! कति धेरै समयको बचत !
हामी बसेको त्यो सुविधायुक्त होटलबाट रातको समयमा सडकको दृष्य नियाल्दा, सिंगापुरका हाइवेहरू मानौं एउटा लामो चम्किलो ‘नियोन सर्प’ झैं बगेको देखिन्थ्यो । बिहान उठ्दा ती सडकहरूमा देखिने हरियालीले मेरो मन प्रफुल्ल हुन्थ्यो । सिंगापुरले कसरी बनायो त यस्तो सहर ? यहाँका हरेक ‘अर्बन प्लानर’ले विकासको नक्सा कोर्दा एउटा नियम बनाएका रहेछन्– ‘जति क्षेत्रफलको जमिन भवनले ओगट्छ, त्यति नै क्षेत्रफलको हरियाली भवनको छत वा भित्तामा हुनुपर्छ ।’ अनि कसरी हुँदैन हरियाली ?
त्यो यात्राबाट फर्किंदा म केवल तस्बिरहरू लिएर फर्किइनँ, बरु नेपालका लागि एउटा ‘हरियो सपना’ बोकेर फर्किएँ । सिंगापुरको त्यो रेलको श्वास र सडकको लयले सिकाएको छ– यदि दृढ इच्छाशक्ति छ भने, विकासले प्रकृतिलाई मार्नु पर्दैन । बरु, प्रकृतिको काखमा विकासलाई यति सुन्दर ढंगले हुर्काउन सकिन्छ कि जहाँ मान्छे र रुखले एउटै हावामा सास फेर्न सकून् !
काठमाडौंका धुलाम्मे सडकहरूमा हिँड्दै गर्दा सधैं सम्झिन्छु— त्यो दिन कहिले आउला, जब हाम्रो राजधानीमा पनि रेलको त्यही मधुरो गुन्जन सुनिने छ र हाम्रा सडकका किनारहरूमा पनि यस्तै हरियाली सल्बलाउने छन् अनि तिनमा चराचुरुंगी रमाउने छन्, चिर्बिराउने छन् । सिंगापुरको त्यो रेल यात्राले मेरो मनमा सधैंभरि एउटा ‘विकासको रेल’ गुुुुुुुडाइरहेको छ, जसले भोलि मेरो देशलाई पनि समृद्धिको स्टेसनसम्म अवश्य पु¥याउनेछ ।
सुशासनको स्वर्णिम क्षितिज
सेन्टन वे– जसलाई सिंगापुरको ‘वाल स्ट्रिट’ पनि भनिन्छ– त्यहाँको एउटा गगनचुम्बी भवनको पारदर्शी सिसाभित्रबाट म बाहिर दौडिरहेको सहर नियाल्दै छु । मेरो हातमा ब्ल्याक कफी छ र आँखा अगाडि विश्वको तेस्रो ठूलो वित्तीय केन्द्रको चामत्कारिक उज्यालो । तल सडकमा सुट र टाई लगाएका मानिसहरूको व्यस्तता देख्दा लाग्छ, यहाँ समय पैसाभन्दा धेरै महँगो छ ।
सन् १९८० को दशकसम्म उत्पादनमा मात्र निर्भर यो देशले जब आफ्नो अर्थतन्त्रको ढोका उघारेर अन्तर्राष्ट्रिय बैंकिङलाई निम्तो दियो, तब यसको भाग्य नै बदलियो । आज विश्वका ४,२०० भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो एसियाली मुख्यालय यही सानो टापुमा राखेका छन् । ‘ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स’को पछिल्लो रिपोर्टले सिंगापुरलाई न्युयोर्क र लन्डनपछिको सर्वाधिक शक्तिशाली वित्तीय हब मान्छ ।
कफीको चुस्की लिँदै सोचेथें– एउटा सानो देशले कसरी विश्वको ढुकुटीको साँचो आफ्नो हातमा लिन सक्यो ?
कफीको अन्तिम चुस्कीसँगै म सडकमा निस्किएको थिएँ । त्यहाँका भवनहरू जति पारदर्शी छन्, शासन प्रणाली त्योभन्दा कैयौं गुणा छर्लंग रहेछ । स्वतन्त्रतालगत्तै व्याप्त भ्रष्टाचार र अव्यवस्थालाई चिर्न प्रधानमन्त्री ली कुआन युले ‘करप्ट प्राक्टिसेस इन्भेस्टिगेसन ब्युरो’लाई दिएको असीमित शक्ति इतिहासको एउटा कठोर तर सुन्दर निर्णय थियो । ‘उच्च तलब, कठोर सजाय’को नीति र ‘मेरिटोक्रेसी’ (योग्यताको आधारमा अवसर)ले आज सिंगापुरलाई विश्वकै सबैभन्दा कम भ्रष्ट देशहरूको सूचीमा उभ्याएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकले सधैं यसलाई शीर्ष स्थानमा राख्छ । जहाँको सफा सडकको पेटीमा हिँड्दै गर्दा मेरा पाइला एक्कासि भारी भएका थिए, जतिबेला मेरै देशको सिंहदरबार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका धुलाम्मे फाइलहरू सम्झिएँ । हामीकहाँ योग्यताभन्दा नातावाद र कठोर सजायभन्दा उन्मुक्तिको संस्कृतिले जरा गाडेको छ । सिंगापुरले शून्य भ्रष्टाचारको जगमा सिसाका महल ठड्यायो, हामीले भने भ्रष्टाचारको धमिराले हाम्रा सपनाका जगहरू भत्काइरह्यौं ।
बाटो काट्दै म ‘सिटीजन्स पार्क’ नजिकैको एउटा बेन्चमा बस्छु र डायरी पल्टाएर तथ्यांकहरू रुजु गर्न थाल्छु । विश्व बैंक (ध्यचमि द्यबलप) र सिंगापुरको राष्ट्रिय तथ्यांक विभागको आँकडा हेर्दा जोकोहीको सास रोकिन्छ । सन् १९६५ मा जम्मा ३० करोड अमेरिकी डलरको अर्थतन्त्र भएको यो देश, आज करिब ५ खर्ब (५०० बिलियन) अमेरिकी डलरको विशाल अर्थतन्त्रमा परिणत भएको छ (कतिपय सन्दर्भमा क्रयशक्ति समता वा स्थानीय मुद्राको विशाल रूपान्तरणलाई हेर्दा यो अझ विराट देखिन्छ) । प्रतिव्यक्ति आय ९०,००० डलरभन्दा माथि पुग्नु भनेको केवल खल्ती भरिनु होइन, यो त राष्ट्रिय स्वाभिमानको सगरमाथा चुम्नु हो । नेपालको स्वाभिमान भने ‘सगरमाथा’ चुचुरोमै सीमित छ ।
डायरीका पानाहरूमा म नेपाली युवाको औसत आय र उनीहरूले खाडीमा बगाइरहेको पसिनाको हिसाब खोज्छु, तर उत्तरहरू मौन छन् । विकास भनेको केबल गगनचुम्बी महल मात्र होइन रहेछ, यो त नागरिकको अनुहारमा देखिने सन्तुष्टि रहेछ । सिंगापुरका नागरिकको औसत आयु ८३ वर्ष हुनु, साक्षरता दर ९७.६ प्रतिशत पुग्नु र गिनी गुणांक ०.३६ मा सीमित रहेर समाज समतामूलक बन्नु नै यहाँको असली विकास हो भन्ने निष्कर्ष मैले निकालें ।
साँझ पर्न थालेको थियो । सिंगापुरका सडक बत्तीहरू एकएक गरी बल्न थाले । व्यापार–मैत्री वातावरण, नवप्रवर्तन, शिक्षा र स्वास्थ्य सेवामा सधैं शीर्ष स्थानमा रहने यो देशले मलाई त्यो सुन्दर साँझ एउटा नबिर्सिने पाठ पढाएको थियो । सडक छेउको आराम गर्ने ठाउँबाट उठ्दै गर्दा मलाई महसुस भएथ्यो, सिंगापुरको असली सुन्दरता यसको बैंकिङ प्रणाली वा अग्ला भवनमा मात्र छैन, यो त यहाँको सुशासनको अक्सिजन र नागरिकको नसामा बगिरहेको इमानदारीको रगतमा छ । विकासको यो जीवन्त अध्यायले मलाई झकझक्याइरहेछ– यदि नेतृत्वमा दृढ इच्छाशक्ति र मुटुमा देशप्रेम हुने हो भने, नेपालले पनि आफ्नो ‘सुनौलो बिहानी’ कोर्न सायद धेरै समय कुर्नुपर्दैन ।
सिंगापुर फ्लायरको उचाइबाट ‘एसियाको सपना’ नियाल्दा
सन् २०१७ को जुन महिना । मरिना बेको किनारमा उभिएर जब त्यो विशाल ‘सिंगापुर फ्लायर’लाई नियालें, लाग्यो– यो केवल एउटा घडीको सुईजस्तो घुम्ने फलामे पांग्रा मात्र होइन, यो त सिंगापुरको आधुनिकता र प्रविधिको ‘आँखा’ हो । १६५ मिटर अग्लो अर्थात् ४२ तले भवन बराबरको उचाइ भएको यो अब्जर्भेसन ह्वीलले सिंगापुरको मुटुलाई कति नजिकबाट छाम्छ भन्ने कुरा आज पनि सम्झना छ । जीवनसंगिनीको हात समातेर जब हामी त्यो क्याप्सुलभित्र पस्यौं, हाम्रो मनमा जिज्ञासा र रोमाञ्चको अनौठो संगम ऊर्जा बनेर भित्रियो ।
फ्लायर बिस्तारै घुम्न थाल्यो । हामी पृथ्वीको धरातलबाट माथि–माथि उक्लिरहेका थियौं । हाम्रा आँखाले तल सहरलाई नियाल्यो; मरिना बेको त्यो लोटस (कमल) आकारको ‘आर्टसाइन्स म्युजियम’ पानीको काखमा एउटा सेतो फूल झैं फुल्दै थियो । सिंगापुरको विकासमा पर्यावरणको कस्तो गज्जबको सन्तुलन छ ! कतै पनि कंक्रिटले प्रकृतिको घाँटी निमोठेको छैन ।
बरु, अग्ला–अग्ला भवनहरूको बार्दलीबाट हरियाली यसरी ओर्लिएको छ, मानौं सिमेन्टले रुखलाई अंकमाल गरिरहेको छ । विकास पत्रकार र विकास साहित्यकार मैले दुवैको आँखाले हेरिरहें– पूर्वाधारले कसरी ‘इको–सिस्टम’लाई सहयोग पु¥याउँछ भन्ने योभन्दा ठूलो पाठशाला अरू के होला ? सानुले छेवैमा आएर सोधिन्, ‘यति अग्लो ठाउँमा पनि रुखहरू कसरी यति सप्रिएका होलान् है ?’ उनको त्यो सरल प्रश्नमा सिंगापुरको विकासको रहस्य लुकेको थियो । जवाफ पूण भयो भएन थाहा भएन तर मैले भनेको थिएँ, ‘प्रकृतिसँग जुधेर होइन, प्रकृतिसँग सहकार्य गरेर ।’
फ्लायरको टुप्पोमा पुग्दा सिंगापुरको क्षितिज अझ फराकिलो भयो । क्याप्सुलको सिसाबाट टाढा–टाढासम्मका सामुद्रिक दृष्यहरू छर्लंग देखिन्थे । समुद्रको निलो पानीमा तैरिएका जहाजहरू, मलेसिया र इन्डोनेसियाका केही टापुहरूको धमिलो रेखा... त्यो उचाइबाट हेर्दा सिंगापुर एउटा सानो सहर मात्र लाग्थ्यो, तर उसको प्रभाव भने सारा एसियामै थियो, अझ विश्वमै । सोच्न बाध्य भएँ– एउटा सानो टापुले छिमेकीसँगको सम्बन्ध र व्यापारमा कसरी यस्तो कूटनीतिक कौशल प्रदर्शन गरेको होला ?
तल ओर्लिएपछि प्रिये र म धेरैबेर त्यहीँको किनारमा बस्यौं । मैले भनें, ‘प्रिये, हाम्रो नेपालमा पनि यस्तै एउटा ‘नेपाल फ्लायर’ बनेको भए कस्तो हुन्थ्यो होला ?’ उनको अनुहारमा एउटा सपनाको चमक देखियो । हामीले कल्पना ग¥यौं– यदि काठमाडौंको चन्द्रागिरि वा नागार्जुनको उचाइमा यस्तो कुनै ‘अब्जर्भेसन ह्वील’ हुन्थ्यो भने ! जहाँबाट सगरमाथा, हिमालका चुचुरा, उपत्यका र आसपासका दृष्य एकैसाथ हेर्न सकिन्थ्यो । हाम्रा नदीहरूको प्रवाह र हिमालको काखमा बसेको सहरलाई यसरी नै प्रविधिसँग जोड्न सकेका भए, पर्यटनको रङ कति गाढा हुन्थ्यो होला !
सिंगापुरको विकास कुनै जादु होइन, बरु ‘दूरदर्शिता’को प्रतिफल हो । उनीहरूले पर्यटनलाई ‘इन्जिन’ बनाए, पूर्वाधारलाई ‘गहना’ र प्रकृतिलाई ‘मुटु’ । सिंगापुर फ्लायरको त्यो भ्रमणले हामीलाई केवल एउटा सुन्दर दृश्य देखाएन, बरु यो सिकाएर पठायो कि यदि नेतृत्वमा इमानदारी र नागरिकमा अनुशासन छ भने एउटा सानो ‘पांग्रा’ले पनि सारा विश्वलाई आकर्षित गर्न सक्छ । हामीले पनि हाम्रा प्राकृतिक स्रोतहरूलाई यसरी नै ‘भ्यालु–एडेड’ पूर्वाधारमा बदल्ने हो भने, हाम्रो काखमा पनि सिंगापुर जस्तै समृद्धिको अर्को पांग्रा घुम्नेछ । प्रियेको हात समातेर फर्किंदै गर्दा मनमा एउटा दृढ संकल्प बोकें– ‘विकास भनेको इँटा थप्नु मात्र होइन, सपनालाई मूर्त रूप दिनु पनि हो ।’
गुडानअघिको संकल्प ः सिंगापुरको समृद्धिको क्षितिज र मेरो देश नेपाल
चांगी अन्तर्राष्ट्रिय विमानस्थल छाडेर सहरकै शान्त कुनामा बसेर मलेसिया पुग्ने डिलक्स बसको पर्खाइमा छौं । र त्यसको केही दिनपछि भने उडेर काठमाडौं पुग्नु छ । भव्य सडकमा आकर्षक त्यस्तै बसहरू आउनेजाने क्रम निरन्तर चलिरहेको छ ।
हातमा रहेको डायरीको अन्तिम पानामा भर्खरै अर्को निष्कर्ष कोरें– ‘सिंगापुरको कथा दूरदर्शी नेतृत्व, अनुशासन, व्यावहारिकता र सामूहिक इच्छाशक्तिको अनुपम संगम हो ।’ साँच्चै, परिवर्तनको हरेक चरणमा यसले ‘असम्भव’ मानिएका कामलाई ‘सम्भव’ बनाएको हुनुपर्छ– चाहे त्यो पिउने पानीको चरम अभाव होस्, भूगोलको सानो सीमा होस् वा सन् १९६० को दशकको त्यो डरलाग्दो जातीय तनाव । आजको उसको हरियाली र गगनचुम्बी विकासले सिंगो विश्वलाई अमूल्य पाठ पढाउँछ– आकारले होइन, दृष्टिले राष्ट्रको भविष्य लेखिन्छ ।
विमानस्थलको पारदर्शी सिसाबाट बाहिर हेर्दा विश्वका अन्य विकसित देशहरूको विकास मोडल सम्झिन्छु । डेनमार्कको कोपनहेगनले जसरी साइकल र हावाबाट निस्कने ऊर्जालाई आफ्नो सहरको मुटु बनायो वा जापानले जसरी भूकम्पको जोखिमका बाबजुद प्रकृतिसँग जुधेर होइन, प्रकृतिलाई बुझेर प्रतिरोधी पूर्वाधारहरू खडा ग¥यो– सिंगापुरको विकास दर्शन पनि यस्तै तर अलि फरक लिकमा हिँडेको प्रस्ट देखियो । युरोपदेखि एसियाका यी विकसित सहरहरूले प्रमाणित गरेका छन् कि कंक्रिटको विकास र प्रकृतिको संरक्षण कहिल्यै एकअर्काका शत्रु होइनन् । यो त अस्टे«लियाले पनि पुष्टि गरिसकेको छ ।
आफ्नो ल्यापटपमा रहेका वातावरणमैत्री सडक निर्माण र वायोइन्जिनियरिङका अनुसन्धानका फाइलहरू खोल्दा मलाई सिंगापुरका सडकहरूले गहिरो गरी गिज्याएजस्तो लाग्छ । मेरो प्राज्ञिक शोध र पानाहरूमा सीमित रहेका ‘इको–फ्रेन्डली पूर्वाधार’का सिद्धान्तहरूलाई सिंगापुरले आफ्नो हरेक सडक र फ्लाइओभरमा जीवित बनाएको भेटें । विकास भनेको डोजर लगाएर डाँडा भत्काउनु मात्र होइन, भत्किएको माटोमा पहिलो मलम लगाएर हरियाली हुर्काउनु हो । त्यहाँको सडक विज्ञानले अरूलाई यही सिकाउँछ ।
टिकट हातमा लिएर सुविधा सम्पन्न बसको ढोकातर्फ बढ्दै गर्दा मेरो मथिंगल एक्कासि नेपालको अरनिको राजमार्ग र काठमाडौंका धुलाम्मे सडकहरूमा पुगेर ठोक्किएथ्यो । हामीसँग सिंगापुरभन्दा कयौं गुणा ठूलो भूगोल छ, हिमालदेखि बगेर आउने कञ्चन जलस्रोत छ, अनि उर्वर माटो पनि । तर हामीसँग सिंगापुरको जस्तो ‘सामूहिक इच्छाशक्ति’ र ‘कठोर अनुशासन’ खोइ ?
हाम्रो विकास सधैं राजनीतिको गिलो माटोमा किन भासिन्छ ? सिटमा बसेर सिटबेल्ट बाँध्दै गर्दा मनमा पुनः गहिरो हुटहुटी चल्न थाल्छ । अब विकास पत्रकारिताको मञ्चबाट उठ्ने हाम्रा बहसहरू र सम्पादकीय पृष्ठहरूमा कोरिने अक्षरहरूले केवल राजनीतिको गुनासो मात्र गर्नुहुँदैन । बरु तिनले सुशासन, वातावरणमैत्री नीति र स्पष्ट मार्गचित्रको निर्मम वकालत गर्नुपर्छ ।
बसले पाइला चाल्यो र सिंगापुरका सडकहरू नाप्दै मलेसिया जोडिएको बोर्डरमा पुग्यो । सुविधा सम्पन्न बस यसै भनेको छैन । हो, बसको सिटमै मसाज महसुस हुन्छ । आधुनिक र सफा त्यो बसको सिटमा बसेको अनुभूति नै नभइरहँदा नेपालका साँघुरा र मैला सिट अनि भुइँमा यत्रतत्र छरिएका फोहोर आँखाभरि सल्बलाउन थाले ।
सिंगापुरदेखि मलेसियासम्मको यात्रा केवल एउटा भूगोलबाट अर्को भूगोलको फन्को थिएन; त्यो त चेतनाको महायान थियो । सिंगापुरको त्यो ‘विकास’ले सिकाएको थियो कि गरिबी र अभाव भाग्य होइन, त्यसलाई बदल्न सकिन्छ । केवल सुटकेसभरि सम्झना बोकेर स्वदेश फर्किरहेको थिइनँ, बरु एउटा दृढ संकल्प र आशाको उज्यालो बोकेर सगरमाथाको देश फर्कंदै छु । गाडी गुडिरहन्छ, मनले दोहो¥याइरहन्छ– यदि हामीले चाह्यौं र हाम्रो दृष्टि सफा भयो भने, हिमालको काखमा एउटा अर्को ’सिंगापुर’ वा भनौं ‘समृद्धि’ फुलाउन कुनै युग कुर्नुपर्दैन ।