फेसबुकमा फोटो आदानप्रदान भएकै हो। प्रारम्भिक तहको अनौपचारिक कुराकानी पनि भएकै हो। साथीहरूसँग 'केटीको रूप–रङ मन पर्यो, एकपटक भेटेरै कुरा गर्छु' भन्थे अरे।
हिजो दिउँसो कवितालाई हेर्न घरमै आएका थिए, एकजना तिनै कविजी।
कविजी मांसाहारी रहेछन्, कविता कट्टर शाकाहारी।
कविता वृत्ति–विकासका लागि विदेश जान चाहने, कविजी देशमै केही गर्न सकिन्छ भन्ने ठान्ने।
कविजीले भनेछन्, “गरिबी धेरै भोगियो। त्यसबाट मुक्त हुनु छ : कमाउनु छ। समाजले घुस, कमिसन जेसुकै भनोस् : आएको रकम छाडिँदैन; बाँकी कुरा– देखा जाला। ...र, लेखिन्छ सत्चरित्रका उम्दा कविता।”
कविताले भनिछे, “कमाउनु त हामीलाई पनि छ। म लगन र मेहनतमा विश्वास गर्छु। भ्रष्टाचार गरेर होइन, मेहनत गरेर कमाइन्छ।"
साँझमा "खाजा मात्र खान्छु, चिया खाने गरेको छुइनँ“ भनेर निस्केका थिए- कविजी।
अहिले बिहान म्यासेज बक्समा म्यासेज रहेछ – “कविताको भावसँग सहमत हुन सकिएन; कविताको शैलीप्रति नतमस्तक छु।"