19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नाम मात्रै

कथा तेजराज दाहाल August 9, 2026, 11:24 pm
तेजराज दाहाल
तेजराज दाहाल

बिहानको हिँडाइमा एउटा छुट्टै संसार भेटिन्छ।

सहर पूरै ब्युँझिसकेको हुँदैन। सडकमा रातको चिस्यान बाँकी हुन्छ। पसलका सटरहरू आधा खुलेका हुन्छन्। दूधका क्यान बोकेका साइकलहरू बिस्तारै गल्ली छिचोलिरहेका हुन्छन्। कतै मन्दिरको घण्टी सुनिन्छ, कतै भर्खरै उम्लिएको चियाको बास्ना।

र, हामीजस्ता केही मानिसहरू - शरीर चलाउन निस्किए पनि कहिलेकाहीँ अरूका जीवनका कथा बोकेर घर फर्किन्छौं।

बागमती कोरिडरको पदमार्ग हिड्दै गर्दा त्यो बिहान पनि त्यस्तै भयो।

अगाडि दुईजना महिला हिँडिरहेका थिए। उनीहरूको कुराकानी कहिले स्पष्ट सुनिन्थ्यो, कहिले हावामा हराउँथ्यो।

“थाहा पाउनुभयो?” एउटीले भनिन्, “हाम्रा छिमेकी धनीको छोरा धेरै दिन थलिएर अस्ति मरेछ नि!”

“ए हो र?” अर्की अचम्म मान्दै रोकिइन्, “मैले त थाहै पाइनँ। अनि उसको कामचाहिँ कहाँ हुँदैछ त?”

“धनीको घरमै। हिजो गएको थिएँ। बिजोग रहेछ।”

“बिजोग?”

“हो नि! यस्तो गर्मीमा न झुल छ, न पंखा। क्रियापुत्रीलाई ओढ्ने च्यादरसम्म रहेनछ। घर फर्केर एउटा ओढ्ने, एउटा सेतो झुल र टेबल फेन पठाइदिएँ। कम्तीमा कामभरि त सजिलो होस् भनेर।”

हामी उनीहरूलाई उछिनेर अघि बढ्यौं।

हाम्रो समूहका एकजना साथीले हाँस्दै भने, “धनी त नाम पो रहेछ!”

अर्काले थपे, “नाम धनी हुँदैमा घर पनि धनी हुने रहेनछ।”

सबै हल्का हाँस्यौं।

तर त्यो वाक्य मेरो मनमा कतै गडेर बस्यो।

"धनी"

नाममा सम्पत्ति, जीवनमा अभाव।

***

हिंड्दै गर्दा अलि पर एउटी अधबैंशे महिला बाटो काटेर गइन्।

उनको अनुहारमा थकान थियो। आँखामुनि कालो घेरा। ओठमा कुनै भाव थिएन। हामीमध्ये कसैलाई हेरेर मुस्कुराइनन्। अभिवादनको सामान्य शिष्टतासमेत बाँडिनन्।

हाम्रो समूहका एकजनाले उनलाई चिन्दारहेछन्। उनी केही पर पुगिसकेपछि उनले बिस्तारै भने, “उहाँको नाम खुशी हो।”

म मुस्कुराएँ।

“खुशी?”

“हो। नाम मात्रै।”

त्यसपछि उनले अलि बिस्तारमा सुनाए।

यिनका श्रीमान् विदेशमा छन्। उतै अर्की महिलासँग सम्बन्ध छ भन्ने हल्ला छ छरछिमेकमा। घरमा छोराछोरीहरूसँग मन मिल्दैन, सम्वन्ध राम्रो छैन। घरमा तनाव, सम्बन्धमा तनाव, मनमा तनाव।

“त्यसैले होला,” उनले अन्त्यमा भने, “नाम खुशी भए पनि अनुहारमा खुशी कहिल्यै देखिँदैन।”

हामी चुपचाप अघि बढ्यौं।

केहीबेरसम्म कसैले केही बोलेन।

म भने पछाडि फर्केर हेर्न चाहन्थें।

तर उनी त्यतिबेलासम्म अर्को गल्लीमा पसिसकेकी थिइन्।

"खुशी"

नाममा उज्यालो, आँखामा अँध्यारो।

***

त्यसपछि मलाई हरेक नामहरू पनि अनौठा लाग्न थाले।

केही दिनपछि छिमेकमा एउटी वृद्धा भेटिइन्।

सबैले उनलाई “माया आमा” भन्थे।

“माया आमा, चिया खान आउनुस्।”

“माया आमा, यता बस्नुस्।”

नाम सुन्दा मन न्यानो हुन्थ्यो।

तर एकदिन उनकै आँगनमा दुई छोराहरू सम्पत्तिको विषयमा झगडा गरिरहेका थिए।

“यो भाग मेरो हो।”

“आमालाई हेरेको कति वर्ष भयो, त्यो पनि हिसाब गर!”

“सम्पत्तिको कुरा गर्दा भावनाको कुरा नगर!”

माया आमा ढोकाको छेउमा चुपचाप बसिरहनुभएको थियो।

आँखाबाट आँसु झरिरहेको थियो।

कसैले उहाँलाई देखेन।

सायद त्यो दिन मलाई पहिलोपटक लाग्यो - कतिपय घरमा नाम त बाँकी रहन्छ, तर त्यसको अर्थ हराइसकेको हुन्छ।

***

अर्को दिन चोकमा “शान्ति” दाइ भेटिए।

उनी मोबाइलमा कसैसँग चर्को स्वरमा कुरा गरिरहेका थिए।

“मलाई शान्ति चाहिन्छ भनेको होइन? किन बारम्बार फोन गर्छौ?”

फोन काटेपछि पनि उनको रिस सकिएको थिएन।

उनको अनुहार हेर्दा लाग्थ्यो - संसारले उनको मनको शान्ति चोरेर लगेको छ।

हाम्रो समूहका एकजनाले कानमा भने, “नाम शान्ति, जीवन अशान्ति।”

म हाँस्न खोजेँ।

सकिँनँ।

किनकि अचानक लाग्यो - हामीमध्ये कति जना आफ्नै नामसँग बाझिएको जीवन बाँचिरहेका होलान्?

***

फेरि एकदिन बिहान सँधैजसो हिंड्दै थिएँ, एउटा मोटरसाइकलको पछाडि लेखिएको देखें, “सन्तोष”।

म मुस्कुराएँ।

तर मोटरसाइकल चलाउने युवक ट्राफिकको बीचमा कसैलाई उछिनेर अगाडि जान खोज्दै, हर्न बजाउँदै, रिसाउँदै थियो।

उसको नाम सन्तोष थियो, तर उसको मनलाई सन्तोष थिएन।

***

एक बिहान बाटोको छेउमा एउटा वृद्ध मानिस भेटिए।
कपडा पुराना थिए। हातमा सानो कपडाको झोला। चप्पलको एउटा फित्ता चुँडिएको थियो।

“उहाँ भाग्यमान बुबा हो,” कसैले परिचय गरायो।

म अडिएँ।

"भाग्यमान"

उहाँसँग न ठूलो घर थियो, न धन। काभ्रेमा गाउँको पुरानो घर छोराछोरीले छोडेर सहर पसेपछि उहाँ एक्लै हुनुहुन्थ्यो।

तर उहाँको अनुहारमा अनौठो शान्ति थियो।

कुरा गर्दै गर्दा उहाँले झोलाबाट दुईवटा सुन्तला निकाल्नुभयो।

“लिनुस् बाबु, गाउँबाट ल्याएको। सबैले बाँडेर खानुस्।”

मैले सोधेँ, “आफूलाई पुग्छ?”

उहाँ मुस्कुराउनुभयो।

“पुग्छ नि। बाँड्दा झन् पुग्छ।”

त्यो वाक्य मेरो मनमा निकैबेर गुञ्जिरह्यो।

भाग्यमानसँग धेरै थिएन। तर बाँड्न सक्ने मन थियो।

सायद भाग्यको अर्को नाम त्यही रहेछ।

***

महिनौं बिते।

एक बिहान फेरि बागमती कोरिडरको बाहिर गाडीहरू दौडने सडकमा हामीले ‘खुशी’लाई भेट्यौं।

यसपटक उनी एक वृद्ध महिलाको हात समातेर सडक पार गराउँदै थिइन्।

वृद्धाको पाइला लरबरायो।

“बिस्तारै आमा,” खुशीले भनिन्, “म छु नि।”

वृद्धाले बाटो पार गरेपछि उनको हात समातेरै भनिन्, “छोरी, तिमी सधैं खुशी रहनू।”

खुशी केही क्षण मौन भइन्।

त्यसपछि मुस्कुराइन्।

त्यो मुस्कान मैले उनको अनुहारमा पहिलोपटक देखेको थिएँ।

त्यो मुस्कान ठूलो थिएन।

तर साँचो थियो।

मलाई लाग्यो - सायद उनको जीवनका सबै दुःख सकिएका छैनन्। श्रीमान् बदलिएका छैनन् होला। घरका सम्बन्ध पनि पहिलेझैं जटिल होलान्।

तर त्यो क्षणमा उनले कसैको बाटो सजिलो बनाएकी थिइन्।

र त्यसै क्षण उनको आफ्नै बाटोमा पनि थोरै उज्यालो परेको थियो।

***

त्यस साँझ घर फर्किएपछि म लामो समयसम्म एक्लै बसिरहेँ।

बाहिर साँझ बिस्तारै गाढिँदै थियो, तर भित्र भने बिहान देखेका अनुहारहरू अझै उज्यालो भएर घुमिरहेका थिए।

"धनी"

"खुशी"

"माया"

"शान्ति"

"सन्तोष"

"भाग्यमान"

अनि त्यही भीडबीच, म आफैंतिर फर्किएँ।

आफ्नै नामतिर।

मनभित्र एउटा प्रश्न बिस्तारै उठ्यो—

“यदि कसैले मेरो नाम नसुनी, केवल मेरो व्यवहार हेरेर मलाई एउटा नाम दिनुपर्‍यो भने, उसले मलाई के नाम देला?”

मसँग त्यस प्रश्नको उत्तर थिएन।

सायद त्यही प्रश्नको उत्तर खोज्नु नै मानिस हुनुको एउटा लामो यात्रा हो।

हामी जन्मँदा यौटा नाम पाउँछौं।

तर नामको अर्थ?

त्यो त हामीले आफैं लेख्नुपर्ने रहेछ।

कहिलेकाहीँ एउटा सानो सहयोगमा।

कहिलेकाहीँ कसैको आँसु पुछिदिँदा।

कहिलेकाहीँ आफूलाई फाइदा नहुने सत्यको पक्षमा उभिँदा।

कहिलेकाहीँ कसैलाई केही नभनी, केवल उसको दुःखको छेउमा केही क्षण चुपचाप उभिइदिँदा।

नाम कागजमा लेखिन्छ। तर त्यसको अर्थ अरू मानिसहरूको स्मृतिमा लेखिँदो रहेछ।

त्यस रात मैले आफ्नो डायरी खोलेँ।

केही लेख्न खोजेँ।

कलम रोकियो।

अन्ततः एउटा मात्र वाक्य लेखें - “नाम अरूले दिन्छन्; त्यसको अर्थचाहिँ जीवनले लेख्छ।”

त्यो वाक्य लेखेर डायरी बन्द गरें।

बाहिर रात परिसकेको थियो।

तर मलाई लाग्यो - भोलि बिहान फेरि हिँड्न निस्कँदा म बाटोमा भेटिने मानिसहरूको नाम मात्र सुन्ने छैन।सायद उनीहरूको नामभित्र लुकेको जीवन पनि पढ्नेछु।

र हरेक बिहान, अरूको नाम पढ्दै गर्दा, चुपचाप आफ्नै नाम पनि फेरि एकपटक पढ्नेछु।

किनकि, "मानिसको नाम उसले जन्मँदा पाउँछ, तर उसको परिचय - उसले बाँचेर छोड्छ।"


कोटेश्वर, काठमाण्डौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।