19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘भ्यू टावर’को यात्रा

कथा विमल लामिछाने August 9, 2026, 11:26 pm
विमल लामिछाने
विमल लामिछाने

विश्वमा चर्चा पाएको सहरमा पाइला टेक्दा शरीर हर्षले फुरुङ्ग भएको थियो । पूर्वको क्षितिजमा घाम डुब्न लागेको त्यो बखत, रात र दिनको दोसाँधमा दमकका महल र घरका छतहरुमा ईन्द्रेणी लागेको बेला झै घामका बहुरङ्गी किरण टप्किरहेका थिए ।

पिठ्युँमा एउटा झोला भिरेर पूर्व घुम्न निस्किएको सोझो पर्यटक ती कृतिम घामका ज्योतिको रङ्ग देखेर अन्योलताको भुँवरीमा पर्छ । घरि आकाशतिर हेर्छ, घरि जमिनतिर । उसलाई दृष्टीभ्रम पो हो कि जस्तो लाग्छ, अनि आफ्नै टोपीले निधारको पसिना पुस्तै आँखा सुम्सुम्याउँछ ।

उसको मनमा प्रश्नै प्रश्न उम्रिए– ‘जसको भान्सामा अझै गुइँठाको धुवाँ निस्किँदैछ, तिनका धुरीबाट यो समृद्धिको घाम कसरी उदाएछ ?’

सडक पेटीमा उभिएर भुइँमान्छेका दुःख नियाल्दा–नियाल्दा थाकेपछि उसले सोच्यो— सडक पेटीबाट कति पो देखिन्छ र पूर्व ?

यहाँबाट न रतुवा, मावा, कनकाई र मेचीका सुस्केराहरू सुनिन्छन्, न कचनकवलको होचो भूमिदेखि सगरमाथाको शिरसम्मको लामबद्ध उचाइ नै देखिन्छ ? यस्तै अनेक अनेक....।

उसले अघिल्तिर बाटोको किनारमा छेउछाउका पसलतिर आँखा डुलाउँदै आफ्नै लयमा टक्टक्.. हिँडिरहेकी उच्च चेहरा, गहुँगोरो अनुहार, काँक्राका चिराजस्तै सलक्क मिलेको जिउडाल, पिल्पिले रातो सर्टमा मिनिस्कट र आँखामा कालो चस्मा भिरेकी एउटी उर्वसीलाई देख्छ र नजिकै गएर बोल्ने चेष्टा गर्छ,– ‘एक्सक्यूज मी म्याडम्’ मेरो मत्लव यहाँ घुम्ने ठाउँ पनि छन् ? उनले सरल र सटिक जवाफ दिन्छिन् – ‘छन् थुप्रै छन्, पछिल्लो समय चर्चा पाएको चाहीँ भ्यू टावर हो ।’

उसले भन्यो ‘थ्याङ्स ।’

‘दमक भ्यू टावर’को कुरा नाम सुन्ने वित्तिकै उसको मस्तिष्कमा रिल घुम्यो । वाउ, कस्तो संयोग ! उसको यही अलमलका सामुन्ने एउटा विकासको महास्तम्भ ठिङ्ग उभिएको थियो– ‘दमक भ्यू टावर ।’ अब उसलाई टावर चढ्ने इच्छा जागेर आउँछ ।

महोदय ! मलाई एकपटक यो टावर चढ्न दिनुस् न । उसले एउटा सुरक्षागार्ड जस्तो देखिने, तर राजनीतिक दलको कार्यकर्ता जस्तो इसारा गर्ने मान्छेसँग बिन्ती बिसायो ।

‘किन चढ्नुप¥यो तिमीलाई यो १८ तले... स्वर्ग ? बडो रवाफका साथ सोधिएको जस्तो प्रश्नको जवाफमा उसले भन्यो– ‘मलाई यो अस्थिरताले गल्र्यामगुर्लुम ढल्न लागेको संघीयताको शिरमा टेकेर, हाम्रो प्रिय गणतन्त्रको नाभी हेर्नुछ । म सुन्छु, गाउँका युवाहरू रोजगारी नपाएर भटाभट खाडी र युरोपतिर ओइरिँदैछन् । मलाई त यो टावरको टुप्पोमा पुगेर त्यो अलौकिक चाबी भेटाउनु छ, जसले ‘समृद्ध नेपाल’ को ढोका खोलोस् र युवाहरूलाई देशमै रोकोस् । म पनि यही देशको एउटा ‘सुखी नेपाली’ हुनुको नाताले १८ वटै तला गनी–गनी माथि उक्लिन चाहन्छु, घुमिघुमी चौतर्फी हेर्न चाहन्छु उकालो यात्रा, संस्कृति, इतिहास र संघीयतामा लिपिबद्ध हुनबाट हराएका थुमहरू ।’ यतिभएपछि बल्ल पालेले एउटा चिर्कटो थमाएर ढोका खोलिदिए । उ सटासट भित्र पस्यो ।

टावरबाट फर्किएपछि उसले १८ तले टावरको कथा यसरी सुनायो– ‘म त एउटा यात्रु न हुँ । पर्यटक वा घुमन्ते । म हतारमा थिएँ, म पहिलो तलाबाट क्रमशः माथि उक्लिन थालें । सिँढी चढ्दै जाँदा यहाँका रैथाने लिम्बू र किराती सभ्यताको ओझिलो इतिहास बोकेका थुम र सुम्निमाहरूलाई सम्झिएँ । चारखोला र समथर तराई अनि हिमाललाई एकै नजरमा कैद गर्ने मेरो इरादा थियो । महागुरु फाल्गुनन्दका सतकर्म र अहिंसाका वाणीहरू कतै यो कंक्रिटको टावरभित्रै त थुनिएका छैनन् ? मलाई ती पवित्र वाणी सँगाल्नु थियो, स्मारक स्थलहरू घुम्नु थियो ।

म अझै एक तला माथि उक्लिएँ । सन्त ज्ञानदिल दासको जन्मभूमि, साहित्य र तपस्याको थलो जोरधारा फाकफोकथुम (आमचोक) सम्झिएँ । लाग्यो, सन्त ज्ञानदिल दास आज जीवितै भइदिएको भए यो ‘भ्यू टावर’ देखेपछि पक्कै अर्को एउटा कडा व्यङ्ग्य–कविता लेख्थे होलान् !

उसले थप्दै गयो, मलाई अझै माथि चढ्नु छ जहाँबाट टावरको झ्यालबाट बाहिर हेर्दा सूर्योदयको जिल्ला इलामका हरिया चिया बगान, थुम्की र चुलीहरू पौडी खेलिरहेका देखिउन् । गोर्खाली पूर्खाहरुले इतिहास रचेको टिष्टा सुस्ताएको, सिक्किम र दार्जिलिङको सौन्दर्य आँखै नजिक आएझै छर्लङ्ग देखिउन् । आफ्नो पिठ्युँमा रक्तिम इतिहास बोकेर बग्ने देउमाई, माई र माईपोखारीको कञ्चन पानी कतै धमिलिएको त छैन ? मलाई टावरबाटै ताप्लेजुङकी पाथीभरादेखि खोटाङकाका हलेसीसम्म देवी देउराली यहीबाट दण्डवत् गर्नु थियो । तेह्रथुमको तीनजुरे, गुराँसेभिर, अनि अलि माथिका कुम्भकर्ण र मकालु हिमाललाई अंकमाल गर्नु थियो । पाँचथरको तिम्बुङ पोखरीको सुवास र अकबरे खुर्सानीको पीरोभित्रको राष्ट्रवाद चाख्नु थियो ।

अझ माथि चढेँ, ‘वाह ! कस्तो अचम्मको टावर ।’ म आफैंसँग बर्बराएँ । धनकुटाको भेडेटार, धराने बुढासुब्बा, बराहक्षेत्र र कोशी ब्यारेज हुँदै मोरङको विराट राजाको दरबारसम्म एकैपटक आँखा डुलाउन यो १८ तले टावरभन्दा उत्तम ठाउँ अरू के होला र ? जति–जति माथि चढ्दै गएँ, हावा उति नै चिसो र यथार्थ उति नै नग्न हुँदै गयो । मैले टावरको झ्यालबाट दुरबिन सोझ्याएँ– कोच र सन्थालका भित्री बस्तीहरूतिर । त्यहाँ त गरिबी उन्मुलन भएको होइन, गरिबहरू नै उन्मुलन हुने अवस्थामा रहेछन् ! सुलभ शिक्षा र स्वास्थ्यको पहुँच त केवल चुनावी घोषणापत्रका पानाहरूमा मात्रै सीमित भएको देखेँ । गाइने, चेपाङ, डोम र धिमालहरूको संस्कृति र कला लोप हुँदै गइरहेको केन्द्र स्पष्ट देखिन्थ्यो ।

हतार हतार अझ माथिको तला चढेँ, इतिहासको एउटा पाना मेरो मानसपटलमा गाढा भएर आयो । यही माटो त हो, जहाँ खेत जोत्ने हलो र एक मुठी अन्न नपाउँदा किसानले सामन्तको छातीमा टेकेर घाँटी रेटेका थिए ! त्यो झापा विद्रोहको राँको यहीँबाट अझै दनदनी बलेको देखिन्थ्यो ।

हो, परिवर्तनको नदीमा धेरै पानी बगिसक्यो । जनतालाई नदी तार्छु भन्ने ‘माझी’हरू आफैं तरेर आलिसान महलमा पुगिसकेका रहेछन् । घुसखोरी, भ्रष्टाचारीले त जरा गाडीसकेका रहेछन् । समयले पनि पाउलो फेरिसकेछ । मलाई कता–कता निरशाले छोप्यो । तैपनि मलाई यो टावरको टुप्पोबाट झापा विद्रोहको सिंगो एपिसोड पुनः ‘रिवाइन्ड’ गरेर हेर्नु थियो । ममा अझै माथिल्लो तला भए पनि उक्लिने साहस भरिएर आएको थियो । तर उन्नाइसौ तला थिएन ।

सबैभन्दा माथिल्लो तलामा पुगेर जब मैले तल भुइँतिर हेरें, आधुनिकताको चमकभित्र लुकेको एउटा कुरुप चित्र देखियो । निमुखा र भुइँमान्छेहरूको झुप्रोभित्र अझै मधुरो टुकी बलिरहेको थियो । भान्साबाट निस्किएको बाफ र गुइँठाको धुवाँले यो भव्य टावरलाई गिज्याइरहेको जस्तो लाग्थ्यो ।

बेरोजगार युवाहरू खाडी जाने लाममा पासपोर्ट समातेर बसिरहेका बेला, उता सडकमा भने ‘बेरोजगारमुक्त समाज निर्माण’ को नारा दिँदै यो आधुनिक ‘दमक भ्यू टावर’ सतिसाल झैं ठिङ्ग उभिएको थियो ।

मैले टावरको सबैभन्दा उच्च बिन्दुमा उभिएर चारैकुना आँखा डुलाएँ । ‘मेरो नेपाल, ग्रेट नेपाल’ को काल्पनिक झण्डा फहराएँ । अनि, मुसुक्क हाँस्दै सोचेँ– यही त हो त्यो पवित्र भूमि, जसले नेपाली राजनीतिका सबैभन्दा चतुर, खेलाडी र जादुगर ‘बा’ हरू जन्मायो ! यो सिंगो झापा, यो जननी जन्मभूमि साँच्चै अद्भुत छे ।’

म सुन्दै गएँ, उ थप्दै गयो– ‘महोदय, भुइँको यथार्थ बिर्सिएर आकाशको भ्रम बेच्ने यो कङ्क्रिटको विकास बुझ्नका लागि भए पनि, मलाई एकपटक ‘दमक भ्यू टावर’ चढ्नु नै थियो, र म चढेँ ।’ दमक भ्यू टावरको त्यो १८ तले संकीर्ण उचाइ केवल कंक्रिटका सिँढीहरूको समष्टि मात्र थिएन, त्यो त भुइँको यथार्थ र आकाशको भ्रमबीच उभिएको एउटा विशाल र क्रूर विरोधाभास पो रहेछ ।

टावरको शिखरबाट मैले लिम्बू, किराती र कोच सभ्यताका ओजिला पदचापहरू नियाल्न सकिनँ । सबैभन्दा माथिल्लो अर्थात अन्तिम तलाबाट कुर्कुचा उचालेर हेर्दापनि वर्तमानको बजारमा लिलाम भइरहेका तन्नेरीका सपनाहरू देख्न सकिनँ । इलामका कुहिरो खेल्ने थुम्कीहरू, पाथीभरा देवीप्रतिको आस्था र झापा विद्रोहको रातो इतिहास साक्षी राखेर ठिङ्ग उभिएको यो कंक्रिटको सतिसाल– ‘वास्तवमा आफ्नै पैतालामुनि निसास्सिएका गुइँठाको धुवाँ, कोच–सन्थालका आँसु र खाडीतिर लामबद्ध युवाका सुस्केराहरू लुकाउन संघर्ष गरिरहेको एउटा कृत्रिम स्मारक मात्र रहेछ ।

भ्यू टावर चढ्ने मेरो तिर्सना त मेटियो, तर चेतनाको भित्तामा एउटा शाश्वत प्रश्न अमिट भएर कोरियो– ‘आफ्नो शिरमा सगरमाथाको दम्भ बोकेको यो कंक्रिटको घमण्डले, पैतालामुनिको कचनकवल जत्तिकै होचो भएको गरिबको धरातललाई नियाल्न कहिले आफ्नो नजर झुकाउला ?’

मैले मुन्टो हल्लाइरहेँ उ बहकिन छाडेन । भन्छ – ‘एक्काइसौं सताब्दीका विवेकशिल युवाहरुलाई सम्झिएर मनमनै भने– ‘अबको नयाँ पुस्ताले यो कंक्रिटको भ्रमबाट ब्युँझिनु पर्छ । आफ्नै माटोको सुगन्ध, पूर्खाहरूको गौरवशाली श्रम र कचनकवलदेखि सगरमाथासम्मको साझा पहिचानलाई समृद्धिको मूल जग बनाउनुपर्छ । युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने बाध्यतालाई चिर्न अबको पुस्ताले प्रश्न मात्र गर्ने होइन, आफैं उत्तर बनेर, आत्मनिर्भरता र उद्यमको नयाँ क्रान्ति सुरु गर्दै स्वदेशमै रोजगारी र सम्भावनाका ढोकाहरू खोल्नुपर्छ ।’

‘आफैतिर फर्किएर आफैलाई सम्झाएँ– ‘ए मनुवा, तँ त एउटा यात्रु न होस्, पर्यटक बनेर विश्वले चिनेको दमक घुम्न आएको पर्यटक । विस्तारै सिँडी गन्दै गन्दै तल झरेँ । तल ओर्लिदा मेरो झोलामा पूर्वको सौन्दर्य होइन, एउटा गहिरो व्यङ्ग्य र प्रश्नहरूको चाँङ मात्र बाँकी थियो ।’ ०

दमक, झापा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।